Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

सेभेन्थ-डे एड्भेन्टिस्ट शिक्षा - भाग ७

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

झूटा शिक्षा #७ -- मोशाको व्यवस्थाको दुरुपयोग

मोशाको व्यवस्थालाई दुरुपयोग गर्नु सेभेन्थ-डे एड्भेन्टिस्टवादको एउटा मूलभूत त्रुटि हो। पावलका समयमा धेरै यहूदीहरू यही झूटा सिद्धान्तका दोषी थिए। यही झूटा सिद्धान्तलाई सामना गर्दै उनले गलातीहरूलाई एउटा पत्र पनि लेखेका थिए।

व्यवस्था सम्बन्धी एड्भेन्टिस्टवादका तीनओटा त्रुटिहरू

१) एड्भेन्टिस्ट शिक्षाअनुसार व्यवस्था र अनुग्रह विपरित सिद्धान्तहरू होइनन् बरु यी दुवै नै आपसमा मिलेर मानिसलाई मुक्ति दिलाउनका लागि काम गर्दछन्।

"उद्धार पाएका सबै अनुग्रहले बचाइन्छन् भन्दैमा उक्त तथ्यले कुनै कालखण्ड [dispensation, प्रबन्ध] मा पनि परमेश्वरको व्यवस्थालाई अरू कालखण्डमा भन्दा अनावश्यक तुल्याउँदैन। (Charles Everson, Saved By Grace, p. 11)।

२) एड्भेन्टिस्ट शिक्षाअनुसार मोशाको व्यवस्था नै परमेश्वरले विश्वासीहरूलाई न्याय गर्ने मानदण्ड हो।

परमेश्वरको व्यवस्था "न्यायको दिनमा मानिसका चरित्र र जीवनलाई जाँच्ने मानदण्ड हो। ...न्यायमा "योग्य ठहरिएकाहरू" ले धर्मीहरूको बौरिउठाइमा भाग पाउनेछन्" (Ellen White, The Great Controversy, pp. 423-425)।

३) एड्भेन्टिस्ट शिक्षाअनुसार मोशाको व्यवस्था विश्वासीको जीवनको नियम हो।

"अनुग्रहले बचाइएको भन्दैमा ऊ व्यवस्थालाई बेवास्ता गर्न वा तोड्न स्वतन्त्र हुँदैन, बरु ऊ दोबर गरी त्यसको पालना गर्न बाध्य हुन्छ। ...त्यसैले, नयाँ करारमा व्यवस्था महत्त्वहीन भएको देख्दैनौं बरु यसले करारको केन्द्रीय स्थान ओगटेको पाउँदछौं भन्ने कुरा ज्यादै स्पष्ट छ" (Charles Everson, Saved By Grace, pp. 23,26)।

"आज यस संसारमा व्यवहार सम्बन्धी सिद्ध नियम केवल दस आज्ञा मात्र हुन्। परमेश्वरले मानिसलाई दस आज्ञा जीवनको नियमको रूपमा दिनुभयो" (J.L. Shuler, The Great Judgment Day, pp. 113-114).

बाइबलले के भन्दछ?

व्यवस्था सम्बन्धी नयाँ नियमका सबै खण्डका सारांशलाई यहाँ सूचित गरिएको छ। प्रत्येक खण्डलाई बाइबलमै पल्टाएर अध्ययन गर्नलाई पाठकलाई आग्रह गरिन्छ। विश्वासीलाई ख्रीष्ट येशूमा दिइएको महिमित र अनन्त स्वतन्त्रतालाई जानेर तपाईंले प्रभुमा सान्त्वना र उत्साह पाउनुहुनेछ भन्ने कुरामा हामी निश्चित छौं।

१) मोशाको व्यवस्थाको प्रमुख उद्देश्य एउटै छ, त्यो हो मानिसलाई येशू ख्रीष्टतर्फ डोर्‍याउनु। मानिस व्यवस्थाबिना केवल विश्वासद्वारा र केवल अनुग्रहले मुक्ति पाउँछ र धर्मी ठहरिन्छ। मानिसको पतित अवस्थाले गर्दा व्यवस्थाले उसलाई केवल दोषी ठहराउन मात्र सक्छ। व्यवस्था साँच्चै पवित्र र असल छ तर यसले पापी मानिसलाई उसको दुष्ट अवस्थाको महसुस गराउनु र उसलाई ख्रीष्टकहाँ डोर्‍याउनु बाहेक अरू केही गर्न सक्दैन। हेर्नू: रोमी ३:१९-२०; ५:२०; रोमी ७:७-१३; १ कोरिन्थी १५:५६; २ कोरिन्थी ५:५-१३; गलाती २:१६; ३:९-२४; १ तिमोथी १:६-११।

"व्यवस्थाले कुनै बल नभएकोलाई 'तिमी बलियो हुनुपर्छ' भन्ने माग राख्छ र उसले त्यो पूरा गर्न नसके उसलाई सराप दिन्छ। सुसमाचारले कुनै बल नभएकोलाई बल दिन्छ र त्यो प्रकट गरेकोमा उसलाई आशिष दिन्छ। व्यवस्थाले आज्ञाकारिताको परिणामस्वरूप जीवन दिने प्रस्ताव राख्छ, सुसमाचारले आज्ञाकारिताको एउटै मात्र उचित जगको रूपमा जीवन दिन्छ" (C.H. Mackintosh, Notes on the Pentateuch, pp. 232-233)।

२) विश्वासीमाथि मोशाको व्यवस्थाको कुनै अधिकार छैन; ऊ व्यवस्थाको पकडबाट पूरै बाहिर ख्रीष्टमा स्थापित गरिएको छ। विश्वासी ख्रीष्टमा सिद्ध बनाइएको हुनाले व्यवस्थाले जसरी ख्रीष्टमाथि दण्डको आज्ञा ल्याउन सक्दैन त्यसरी नै विश्वासीमाथि पनि सक्दैन। जिउँदो पत्नीमाथि मरेको पतिको जसरी कुनै अधिकार हुँदैन त्यसरी नै विश्वासीमाथि व्यवस्थाको कुनै अधिकार छैन। विश्वासीले आफ्नो जीवनलाई बौरिउठ्नुभएको ख्रीष्टको शक्तिले व्यवस्थाको मानदण्ड अनुरुप बनाउनुपर्छ र यदि ऊ त्यसो गर्न असफल भएको खण्डमा न्यायको दिनमा व्यवस्थाले उसलाई दोषी ठहराउनेछ भन्ने एड्भेन्टिस्ट शिक्षालाई प्रेरितहरूले सिकाएनन्। रोमी ५:१-२,६-११; ६:३-७; ८:८-१०; १०:४; ७:४; गलाती ३:२४-२९।

३) दस आज्ञा मृत्युको करार हो जुनचाहिँ ख्रीष्टमा हटाइएको छ। एड्भेन्टिस्टहरू यसमा आपत्ति जनाउँछन्: ख्रीष्टको क्रूसले दस आज्ञामा निहित नैतिक व्यवस्था (moral law) लाई हटाएको होइन केवल विधिहरूको व्यवस्था (ceremonial law) लाई मात्र हटाएको हो अरे। तर नयाँ नियममा दस आज्ञालाई समेत मृत्युको करारको रूपमा बयान गरिएको छ! समग्रमा मोशाको व्यवस्थाको प्रमुख उद्देश्य एउटै थियो; पतित मानिसलाई उसको पाप देखाउन र मुक्तिदाताको खाँचो देखाउन नै उक्त व्यवस्था परमेश्वरद्वारा दिइएको थियो। हेर्नू: २ कोरिन्थी ३:६-१३।

प्रेरित पावलअनुसार ढुङ्गामा लेखिएको व्यवस्था ख्रीष्टमा हटाइयो; यो दस आज्ञाकै कुरा गरिएको हो। दस आज्ञा मृत्यु र दण्डको सेवा थियो भन्दै पावल प्रेरितले हामीलाई दुई‍-दुई पटक बताउँछन्! कुरा योभन्दा पनि स्पष्ट कति हुनुपर्‍यो? एड्भेन्टिस्ट शिक्षक विश्वासीकहाँ आएर मोशाको व्यवस्था उसको जीवनको नियम हो भन्नु भयङ्कर खराबी हो।

४) मोशाको व्यवस्था विश्वासीको जीवनको नियम होइन। विश्वासीलाई त ख्रीष्टलाई पहिरन र पवित्र आत्मालाई पछ्याउन पो आज्ञा दिइएको छ। विश्वासीको लक्ष्य व्यवस्थाको रूपमा ढालिनु नभएर ख्रीष्टको रूपमा ढालिनु पो हो (रोमी ८:२९)। पवित्र आत्माले विश्वासीको जीवनलाई बदलेर प्रभु येशूको रूपमा ढाल्ने काम गर्नुहुन्छ। रोमी ८:११-१४; ८:२९; १३:१३-१४; २ कोरिन्थी ३:१८; गलाती ५:१६-२५; एफेसी ४:२०-२४; कलस्सी ३:९-११।

"यदि व्यवस्था साँच्चै विश्वासीको जीवनको नियम हो भने, त्यो कुरा नयाँ नियममा कहाँ उल्लेख छ त? परमेश्वरको प्रेरणाले लेख्दा पावलको विचारमा त्यस्तो कुनै कुराको छनक कतै पाइन्न: "किनकि ख्रीष्ट येशूमा न खतना, न बिनाखतना केही कामको छ, तर नयाँ सृष्टि। अनि जतिजना यस नियममुताबिक हिँड्छन्, उनीहरूमाथि र परमेश्वरको इस्राएलमाथि शान्ति र कृपा रहिरहून्" (गलाती ६:१५-१६)। कुन "नियम"? व्यवस्था? अहँ; तर "नयाँ सृष्टि"। कहाँ भेटिन्छ त यसलाई, के प्रस्थान २० अध्यायमा? त्यहाँ त "नयाँ सृष्टि" को बारेमा एक शब्द छैन। बरु उल्टो त्यसले मानिसलाई उसकै अवस्थामा -- उसको प्राकृतिक अथवा पुरानो-सृष्टिको अवस्थामै -- सम्बोधन गर्दछ र उसले वास्तवमा के गर्न सक्छ भनेर उसलाई परीक्षणमुनि राख्ने काम गर्दछ। अब यदि विश्वासीहरू हिँड्ने नियम व्यवस्था हुँदो हो त, पावल प्रेरितले उसको आशीर्वाद किन अर्कै नियममुताबिक हिँड्नेमाथि उच्चारण गरे? किन उनले 'जतिजना दस आज्ञाको नियममुताबिक हिँड्छन्' भनी नभनेका होलान्? जीवनमा हिँड्नका लागि परमेश्वरको मण्डलीसित अझ उच्च नियम छ भन्ने कुरा के यस खण्डबाट स्पष्ट हुँदैन र?" (C.H. Mackintosh, Notes on the Pentateuch, pp. 232-233)।

"एउटा ख्रीष्टियन भएको हैसियतले म दस आज्ञाका सबै नैतिक नियमहरूको पालना गर्दछु, ती नियमहरू व्यवस्थामा भएकाले होइनन्, तर सुसमाचारमा भएकाले। परमेश्वरको उपासना गर्न नयाँ नियममा पचास पटक आज्ञा गरिएको छ; मूर्तिपूजा बाह्र पटक निषेध गरिएको छ; ईश्वर-निन्दा चार पटक; बाबुआमालाई आदर गर्नुपर्ने आज्ञा छ पटक; व्यभिचार बाह्र पटक निषेध गरिएको छ; चोरी छ पटक; झूटा गवाही चार पटक; र लोभ नौ पटक। [मार्टिन] लुथर भन्छन्, 'दस आज्ञा हामी अन्यजाति र ख्रीष्टियनहरूलाई लागु हुँदैन तर केवल यहूदीहरूलाई मात्र'। त्यसैले त पावलले आफ्ना चौधओटै पत्रहरूमा एकपटक पनि विश्रामदिनको नाउँ लिँदैनन् -- केवल एउटै खण्डमा मात्र जहाँ त्यसलाई उनले सिङ्गो व्यवस्थासँगै वर्गीकरण गर्दै त्यो पूरै खारेज भइसकेको कुराको घोषणा गर्छन्। यही नै शुरुको मण्डलीको मान्यता थियो" (William C. Irvine, Heresies Exposed, p. 165)।

५) व्यवस्था र अनुग्रह दुई बेग्लाबेग्लै सिद्धान्तहरू हुन् जसलाई मुक्तिका लागि समिश्रण गर्न सकिन्न। हामीले यस तथ्यलाई सेभेन्थ-डे एड्भेन्टिस्टको अनुग्रहसित व्यवस्था मिसाइएको झूटा सुसमाचार उपशीर्षक अन्तर्गत हेरिसकेका छौं। हेर्नू: प्रेरित १५:८-११; रोमी ३:१८-२५; ४:४-५; ११:६; एफेसी २:८-१०।

६) विश्वासीहरूलाई जीवनको नियमस्वरूप मोशाको व्यवस्थामा फर्काउनु भनेको उनीहरूलाई फेरि व्यवस्थाको बन्धनमा थुन्नु हो। यो झूटा शिक्षा सिकाउने र त्यसलाई पछ्याउने दुवैले आफूमाथि सराप निम्त्याउने काम गर्दछन्। विश्वासीहरूलाई जीवनको नियमस्वरूप मोशाको व्यवस्थामा फर्काउन खोज्नेहरूलाई प्रेरितहरूले कडाभन्दा कडा शब्दले दोषी ठहराएका छन्। धर्मी ठहरिएको मानिसका लागि व्यवस्था एक आशिष हो भन्ने सेभेन्थ-डे एड्भेन्टिस्ट शिक्षालाई यस तथ्यले रद्द गर्दछ। हेर्नू: गलाती १:७-९; २:४; ३:१-९; ४:९-११, १९-२१; ५:१-९।

येशू ख्रीष्ट मानिसलाई व्यवस्थाको बन्धनबाट छुटकारा दिन आउनुभयो। मान्छेको पापको कारण व्यवस्थाले माग गरेको दण्ड हटाउन उहाँले छुटकाराको दाम तिर्नुभयो। विश्वासीहरूलाई व्यवस्थामा फर्काउन खोज्नेहरूले मानिसहरूलाई धोका दिने काम गर्दैछन् अनि ख्रीष्टले सम्पन्न गरिसक्नुभएको कार्य र उहाँमा पाइने साँचो बाइबलीय स्वतन्त्रतादेखि अन्यत्र डोर्‍याउने काम गर्दैछन्। उनीहरूको झूटा सुसमाचारको कारण उनीहरू आफैं श्रापमुनि छन्, र उनीहरूले अरूहरूलाई समेत सत्यतादेखि भड्काउने काम गर्दैछन्। मुक्तिको लक्ष्य विश्वासीलाई व्यवस्थातर्फ डोर्‍याउनु होइन, तर उसलाई ख्रीष्टमा सिद्धरूपमा उपस्थित गराउनु हो!


पृष्ठ संशोधन मिति: Sunday 17-Apr-11
WordofTruth.com.np © 2017