झूटा शिक्षा #८ -- शाकाहारीवाद (Vegeterianism)

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

एलेन ह्वाइटले मांसहारी भोजनको विरुद्धमा चेताउनी दिए र शाकाहारी सिद्धान्तको समर्थन गरे।

"प्रभुको आगमनलाई पर्खनेहरूको बीचमा मासु खाने काम एक दिन बन्द हुनेछ; उनीहरूको नियमित आहार मासुरहित हुनेछ। यस कुरालाई हामीले सदा ध्यानमा राख्नुपर्छ र त्यसतर्फ क्रमिक रूपमा प्रगति गर्दै जाने प्रयास गर्नुपर्छ। मासु खाने अभ्यास गर्दा हामी परमेश्वरको प्रकाशसित सहमत भइरहेका हुन्छौं भनी म मान्न सक्दिनँ, जुन प्रकाश हामीलाई दिन उहाँलाई असल लागेको छ। विशेष गरी स्वास्थ्य सम्बन्धी हाम्रा सबै संस्थाहरूले फलफूल, अन्न र सागसब्जीमा बाँच्न आफैलाई सिकाउँदै जानुपर्छ" (Ellen White, Counsels on Diet and Foods, pp. 380-81)।

"हाम्रा सेवकहरूले मासु खाने काम गरेर खराब नमुना नदेखाऊन्। तिनीहरू लगायत तिनका परिवारहरूले स्वास्थ्य सुधारको प्रकाशको मानदण्डमुताबिक जीवन बिताऊन्। हाम्रा सेवकहरूले आफ्नै प्रकृति र आफ्ना नानीहरूका प्रकृतिलाई पशुको जस्तो नबनाऊन्" (Ellen White, Spalding and Magan, p. 211)।

योचाहिँ एलेन ह्वाइटको स्वास्थ्य योजनाअन्तर्गतको शिक्षा थियो जुनचाहिँ उनलाई १८६३ मा ईश्वरीय प्रकाशद्वारा दिइएको थियो भनेर तिनले दाबी गरिन्।

आज सेभेन्थ-डे एड्भेन्टिस्टको जनरल कन्फरेन्सको न्युट्रीशन काउन्सील (General Conference of Seventh-day Adventist's Nutrition Council) ले मासु, माछा, कफी र चिया सेवन नगर्नलाई सल्लाह दिन्छ।

यहाँ हामी केवल शाकाहारीवादको विषयलाई मात्र छुनेछौं। आदमदेखि नूहसम्म, उत्पत्ति १:२९-३० को ईश्वरीय आज्ञाबमोजिम मानिस शाकाहारी थियो, तर जलप्रलयपछि मानिसलाई सागपातको साथसाथै मासु पनि खानलाई निर्देशन दिइयो (उत्पत्ति ९:३)। मोशाको व्यवस्थाअन्तर्गत इस्राएल जातिले मासु खाने कामलाई निरन्तरता दिइरह्यो, र कुनैकुनै प्राणीलाई शुद्ध भनेर तोकियो भने अरूलाई अशुद्ध। प्रभु येशू ख्रीष्ट एक यहूदीको रूपमा व्यवस्थाको अधीनमा हिँड्नुभयो। उहाँ शाकाहारी हुनुहुन्नथ्यो। उहाँले माछा खानुभएको कुरा हामीलाई थाहा छ (लूका २४:४२-४३) र उहाँले भेडाको मासु खानुभयो जुनचाहिँ निस्तार चाडमा आवश्यक वस्तु थियो (प्रस्थान १२:६-८)।

नयाँ नियममा भोजन सम्बन्धी केवल तीनओटा मात्र शिक्षा छन्।

पहिलो, पुरानो नियमका भोजन सम्बन्धी प्रतिबन्धहरू नयाँ नियम विश्वासीका लागि अबउप्रान्त लागु हुँदैनन् भन्ने शिक्षा पत्रुसलाई सिकाइयो (प्रेरित १०:९-१६)। यस कुराको सत्यतालाई जोड दिनका लागि उसलाई "उठ पत्रुस, मार र खाऊ" भन्ने आज्ञा तीतीन पटक दोहोराइयो। यस खण्ड एक्लैले पनि निम्न दाबीहरूलाई झूटो साबित गर्छ: व्यवस्थाअन्तर्गतका खानेकुरा सम्बन्धी प्रतिबन्धहरू नयाँ नियम मण्डलीहरूमा लागु हुन्छ भन्ने दाबी, व्यवस्थाअन्तर्गतका खानेकुरा सम्बन्धी प्रतिबन्धहरू स्वास्थ्यको आधारमा दिइएका थिए भन्ने दाबी (त्यसो भएको भए त परमेश्वरले तिनलाई आजसम्मै जारी राख्नुहुनेथ्यो), मासु खानु स्वास्थ्यकर होइन भन्ने दाबी, शाकाहारीवाद उत्कृष्ट अभ्यास हो भन्ने दाबी, र पशुहरूलाई मार्नु निर्दयी काम हो भन्ने दाबी।

दोस्रो, नयाँ नियमको प्रबन्धमा भोजनको विषय पूर्णरूपले व्यक्तिगत स्वतन्त्रता अन्तर्गत पर्दछ भन्ने कुरा सिकाइएको छ (रोमी १४:१-६) र यस्ता विषयमा हामीले अरूलाई न्याय गर्न हुँदैन भनेर सिकाइएको छ (रोमी १४:१३)।

तेस्रो, मांसहारी भोजनको विरुद्धमा सिकाउनेका बारेमा हामीलाई चेताउनी दिइएको छ (१ तिमोथी ४:१-६) र शाकाहारी भोजन खानुपर्छ भन्ने शिक्षाचाहिँ दुष्टात्माहरूको शिक्षा हो भनिएको छ। एलेन ह्वाइट शैतानको नियन्त्रणमुनि रहेकी झूटा शिक्षिका थिइन् भनेर चिन्न सक्नलाई तिनको यो एउटै मात्र झूटो शिक्षा पनि पर्याप्त छ।

यस विषयमा बाइबलको सुस्पष्ट शिक्षालाई नाघेर जानु र बाइबलीय आधार भएजस्तै गरी वा गैरबाइबलीय अगमवाणी वा अन्य स्रोतबाट ईश्वरीय समर्थन जुटाउन खोजेर खानेकुरा सम्बन्धी नियम बनाउनु झूटा शिक्षा हो।

नयाँ नियमले प्रस्टै बताउँदछ,

"परमेश्वरले सृष्टि गर्नुभएको हरेक वस्तु असल छ, र धन्यवादसाथ लिइयो भने कुनै कुरा पनि अस्वीकार गरिने लायकको छैन; किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा पवित्र गरिन्छ" (१ तिमोथी ४:४-५)।

यसर्थ, पवित्र शास्त्रअनुसार वर्तमान प्रबन्धअन्तर्गत भोजनको विषय निजी र वैयक्तिक कुरा हो। हरेक व्यक्ति फरक हुन्छ, हरेकको बेग्लै उपपाचन प्रक्रिया, स्वाद, संस्कृति, जीवन शैली, स्वास्थ्य र पेशा हुन्छ; र भोजन यिनै कुरामा आधारित हुनुपर्छ, बाइबलबाट लिइएको भन्ने कुनै कथित नियममा होइन।

सबै प्रकारका खानेकुरा उत्तिकै स्वास्थ्यकर हुन्छन् भन्ने होइन; तर कुरा यत्ति हो, बाइबलले कुनै एउटा खालको निश्चित भोजन हुनुपर्छ भनेर सिकाउँदैन, र पवित्रशास्त्रले शाकाहारीवादलाई जरुर समर्थन गरेको छैन।

हिब्रूको पुस्तकका लेखकले चेताउनी दिए:

"नाना प्रकारका र अनौठा शिक्षाहरूद्वारा यता र उता नलगिओ; किनकि अनुग्रहद्वारा हृदय स्थिर हुनु असल कुरा हो; खानेकुराहरूद्वारा होइन, जसद्वारा तिनमा भागी हुनेहरूलाई कुनै फाइदा भएन" (हिब्रू १३:९)।

मुक्ति र आत्मिक जीवन तपाईंको भोजनले निर्धारित हुने होइनन् तर तपाईंले ख्रीष्टको अनुग्रहको सुसमाचारको अधीनमा आफूलाई सुम्पनुभएको छ या छैन भन्ने कुराले निर्धारित हुने हुन्। मासुहरू र विशेष आहारको शिक्षा भनेको अनौठो र अबाइबलीय शिक्षा हो!

१८६३ मा उनले देखेका दर्शनका आधारमा मांसहारी भोजनको विरुद्धमा उनको आफ्नै शिक्षाको बाबजुद पनि एलेन ह्वाइटले आफ्नो प्रायः बाँकी जीवनभरि नै मासु खाइरहिन्। यसलाई विस्तृत रूपमा अभिलेख गरिएको छ (अङ्ग्रेजीमा) निम्न वेबपृष्ठमा: "Oysters and Herrings" by M. Chugg and D. Anderson, http://www.ellenwhiteexposed.com/contra6.htm.