अलगपनता - सैद्धान्तिक (भाग २)

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

‍कण्ठ गर्नुपर्ने पदहरू: रोमी १६:१७; १ कोरिन्थी १५:३३; २ तिमोथी ३:५

यसभन्दा अघिल्लो पाठमा हामीले अलगपनताको जग, अलगपनताको तरिका र अलगपनताको कारणलाई अध्ययन गर्‍यौं। यस पाठमा हामी अलगपनताको आधार, अलगपनताको कदम, अलगपनताको मनोभाव र अलगपनताको फलदायितालाई अध्ययन गर्नेछौं।

अलगपनताको आधार (२ तिमोथी २:१८)

प्रथमतः अलगपनताको रेखा ठ्याक्कै कहाँ कोर्नुपर्छ वा कुनै मण्डली वा फेलोसिपले बाटो बिराउन थाल्दा त्यसलाई ठ्याक्कै कुन बेला छोड्नुपर्छ आदि भन्ने सम्बन्धमा मैले प्रत्येक प्रश्नको जवाफ दिन सक्दिनँ। पवित्र शास्त्रमा केही स्पष्ट मार्गदर्शन र सिद्धान्तहरू दिइएका छन् र बाँकी कुराका लागि प्रत्येक विश्वासी र प्रत्येक प्रचारकले पवित्र आत्माको अगुवाइलाई पछ्‍याउनुपर्छ (२ तिमोथी २:७; १ यूहन्ना २:२०,२७)।

दोस्रो कुरा, अलगपनताको बाइबलीय आधार धेरैजसोले विश्वास गरेको र सिकाएको भन्दा धेरै नै साँघुरो छ।

प्रचलित इभान्जेलिकल अवधारणाको सारांश यो भनाइले व्यक्त गर्दछ: "सारभूत कुराहरूमा एकता; गैर-सारभूत कुराहरूमा स्वतन्त्रता; सबै कुराहरूमा दया" ("In essentials unity; in non-essentials liberty; in all things charity"). प्रमीस किपरहरू (Promise Keepers) को यही अवधारणा छ। उनीहरूको कार्यक्रमहरूका वक्ताहरूले थुप्रै "विभाजनमूलक" विषयवस्तुहरूलाई छुनै हुँदैन, जस्तै "अनन्त सुरक्षा, आत्माका वरदानहरू, बप्तिस्मा, पूर्व-सङ्कष्टकालीय अगमवाणी वा सङ्कष्ट-पश्चात् अगमवाणी, चर्चका संस्कार वा विधिहरू" (Promise Keepers Ambassador Booklet)।

चर्चित इभान्जेलिकल अगुवा चक स्वीन्डोल (Chuck Swindoll) को यही अवधारणा छ। उनले लेखे, "एक ताका मेरो जीवनमा मेरो यस्तो कट्टर अडान थियो कि म एक-एक बिन्दु र मात्राको लागि सङ्घर्ष गर्न तत्पर थिएँ। कतिओटा कुराहरूको लागि म मर्न तयार थिएँ भन्ने कुराको सूचीकरण गरी साध्य थिएन। म जति छिप्पिँदै गएको छु त्यति नै त्यो सूची छोटिँदै गएको छ" (Grace Awakening, p. 189)।

अलगपनताको मुद्दालाई अलमल्याउनलाई चक स्वीन्डोलले लोभ्याउने-र-बदल्ने (bait and switch) काइदा अपनाएको कुरालाई ख्याल गर्नुहोस्। शुरुमा चाहिँ उनले "एक‍-एक बिन्दु र मात्राको लागि सङ्घर्ष" गर्ने बारेमा कुरा गर्छन् तर त्यसपछि उनले विषयलाई आफू "मर्न तयार" भएका कुरामा बदल्छन्। १ कोरिन्थी ११ अध्यायमा भएको पुरुष र स्त्रीका केशको लम्बाइको सत्यताबारेमा र यस वर्तमान संसारमा पुरुष-स्त्रीको अधिकारको तुलनात्मक स्थानको निम्ति नै म ज्यान दिने त होइन, तर यो कुरा परमेश्वरको अचूक वचनको अंश भएको हुनाले म त्यसलाई प्रचार गर्न र त्यसलाई आक्रमण गरिएको खण्डमा त्यसको निम्ति सङ्घर्ष गर्न समेत आफू बाध्य भएको ठान्दछु।

धेरै स्वतन्त्र ब्याप्टिष्टहरू यस अवधारणालाई अपनाउँदैछन्। Thinking Outside the Box नामक पुस्तकमा चर्चित स्वतन्त्र ब्याप्टिष्ट पास्टर चार्ल्स कीन (Charles Keen) ले लेखे, "म बिस्तारै सिक्ने खालको हुँ तर मैले अन्तमा यो महसुस गरेँ कि सबै सत्यताहरू उत्तिकै महत्त्वका हुँदैनन्…क्रूसका शत्रु को हुन् निर्णय गरौं र तीदेखि अलग होऔं। अनि अनुग्रहका मित्र को हुन् निर्णय गरौं र तिनीहरूप्रति सहिष्णुता अपनाऔं" (पृष्ठ ८१)।

यस प्रचलित अवधारणालाई निम्न पवित्र शास्त्रका अधिकारमा रद्द गर्दछौं:

आज "गैर-सारभूत" वर्गमा पर्ने शिक्षाहरू पवित्र शास्त्रमा उल्लेखित अलगपनताका उदाहरणहरूमा पर्दछन्। २ तिमोथी २:१८ लाई विचार गर्नुहोस्। हुमेनियस र फिलेटसले सिकाएको असत्य "बौरिउठाइ भइसक्यो" भन्ने कुरा थियो । तिनीहरूले बौरिउठाइलाई इन्कार गरेनन् तर त्यसलाई लाक्षणिक अर्थ लगाए (spiritualized it)। यो भनेको आज लाक्षणिक व्याख्या विधिलाई अगमवाणी र रिप्लेस्मेन्ट थिअलजी (replacement theology) मा लागु गर्नु जस्तै हो जसमा मण्डली इस्राएलका प्रतिज्ञा र करारहरूको अधिकारी बनेको छ भनेर दाबी गरिन्छ। अगमवाणीको व्याख्या स्वन्त्रताको विषयवस्तु हो र त्यसकै कारण हामी अलग्गिनु हुन्न भन्ने कुरा व्यापक रूपमा ठानिन्छ तर पावलले प्रस्तुत गरेको अलगपनताको अवधारणा बेग्लै छ।

विश्वासीहरूलाई हामीले सबै कुराहरू सिकाउनुपर्छ भनेर ख्रीष्टले हामीलाई आज्ञा गर्नुभयो (मत्ती २८:२०)। यसको मतलब मण्डलीहरूले नयाँ नियममा भएका सबै कुरालाई आदर गर्नुपर्छ केवल "सारभूत" वा "आधारभूत" कुरालाई मात्र होइन।

पावलले परमेश्वरका सारा मनसाय प्रचार गरे (प्रेरित २०:२६-२७)। पावलले एफेससका एल्डरहरूलाई दिएको आफ्‍नो अन्तिम सन्देशमा यो कुरा बताएका थिए। उनले तिनीहरूलाई एउटा नमुना प्रस्तुत गर्दैथिए जसलाई उनीहरूले पछ्‍याउनुपर्थ्यो।

साँचो ख्रीष्टिय एकताको निम्ति वैचारिक एकता आवश्यक छ (१ कोरिन्थी १:१०)। यसअनुसार एकताको आधार ज्यादै साँघुरो हुन्छ भन्ने बुझिन्छ। साँचो ख्रीष्टिय एकता "अनेकतामा एकता" होइन। यो खण्डले शिक्षागत एकता (doctrinal unity) अनिवार्य ठानिएको एउटा स्थानीय मण्डलीमा अनुभव गर्न सकिने एकताको बयान गर्दछ। कुनै पनि एक्यूमेनिकल (एकतावादी) कार्यक्रममा भाग लिँदाहुँदी यो आज्ञा पालन गर्नु असम्भव हुन्छ, त्यो चाहे फ्रान्क्लीन ग्राहाम वा लुइस पलाउ जस्ताको एक्यूमेनिकल प्रचार कार्य (ecumenical evangelism) होस् या प्रमीस कीपर सम्मेलन जस्ता इभान्जेलिकल एकता (evangelical ecumenism) होस् वा वर्ल्ड काउन्सील अफ चर्चेज (World Council of Churches) जस्ताको उदारवादी एकता (liberal ecumenism) होस् वा इन्डिपेन्डेन्ट ब्याप्टिष्ट फ्रेन्ड्स इन्टरनेशनल जस्ता आधारभूतवादी एकता (fundamentalist ecumenism) होस्।

तिमोथीलाई प्रेरितहरूको शिक्षा "निष्कलङ्क" (दागरहित) राख्नुपर्छ भन्ने आज्ञा दिइएको थियो (१ तिमोथी ६:१३-१४)। कलङ्क (spot) भनेको त सानो दाग मात्र हो! यस पत्रमा पावलले सिकाएका शिक्षालाई आज "दोस्रो महत्त्व" को वर्गमा राख्ने गरिन्छ। यस पत्रमा सिकाइएका विषय अन्तर्गत मण्डली शासन र मण्डलीमा स्त्रीहरूको भूमिका पर्दछन्।

एकताको खातिर पवित्र शास्त्रको कुनै-कुनै भागलाई "दोस्रो महत्त्वको" (secondary) ठान्न मिल्छ भन्ने कुराको बाइबलमा कतै पनि सङ्केत छैन। यस प्रचलित सिद्धान्तको कुनै पनि बाइबलीय आधार छैन; "काम-बन्छ-भने-ठीक-छ" भन्ने अवधारणा (pragmatism) हो यो।

यसर्थ हामीले प्रचलित विश्वासअनुसार भन्दा धेरै साँघुरो हिसाबमा अलगपनताको रेखा कोर्नुपर्छ भन्ने कुरामा म निश्चित छु। जस्तै, केही वर्ष अघि एउटा आधारभूतवादी प्रेस्बिटेरियन कलेजमा प्रचार गर्न मलाई निमन्त्रणा गरिएको थियो। ग्रीक रिसिभ्ड टेक्स्टको प्रतिरक्षा र किङ्ग जेम्स बाइबल र आधारभूतवादी अडान जस्त धेरै कुरामा म ती भाइहरूसित सहमत छु तरैपनि मैले निमन्त्रणालाई अस्वीकार गर्नुपर्‍यो किनभने हाम्रो असहमतिका दुईटा कुरा -- शिशु बप्‍तिस्मा र सभरन ग्रेस क्याल्भिनवादी थिअलजी -- महत्त्वपूर्ण छन्।

सन् १९७० को दशकमा एक म नयाँ ख्रीष्टयन हुँदाखेरि डेविड नेटलटन (David Nettleton) को "सीमित सन्देश कि सीमित सङ्गती" (Limited Message or a Limited Fellowship) शीर्षक गरेको पुस्तिकाले मलाई ठूलो सहायता मिलेको थियो। त्यो जेनरल असोसिएशन अफ रेगुलर ब्याप्टिष्ट्स् (General Associaltion of Regular Baptists) द्वारा छापिएको थियो जुन बेला उक्त सङ्गतीले अलगपनता सम्बन्धी असल अडान लिने गर्दथ्यो र नव-इभान्जेलिकलवादमा ढालिएको थिएन। उनी जवान प्रचारक छँदा डेविड नेटलटनलाई अन्तर-सामुदायी युवा सम्मेलनमा प्रचार गर्न बोलाइएको थियो। जब उनलाई त्यहाँ तीनओटा कुराहरूमा प्रचार गर्न नमिल्ने नत्र ता त्यसले अन्तर-सामुदायी परिपेक्ष्यमा विभाजन ल्याउनेछ भन्ने कुराको अवगत गराइयो, तब आफूले अब एउटा निर्णय गर्नुपर्ने कुराको उनलाई महसुस भयो। कि त आफूले आफ्‍नो सन्देशलाई सीमित पार्नुपर्‍यो कि त सङ्गतीलाई सीमित पार्नुपर्‍यो। यदि पावलले जस्तै परमेश्वरका सारा मनसाय प्रचार गर्न रोजेको खण्डमा (प्रेरित २०:२६-२७) अन्तिम दिनहरूका सत्यत्याग र सम्झौताको वर्तमान घडीमा सङ्गती र सेवकाइ गर्ने आफ्‍ना अवसरहरू एकदमै सीमित हुने कुरा छर्लङ्ग देखियो।

जहाँसम्म अलगपनताको रेखा कहाँ कोर्ने भन्ने सवालमा, चौडा पक्षतिर कोरेर गलती गर्नुभन्दा साँघुरो पक्षतिर कोरेर गलती गर्नु नै उत्तम छ। अलगपनताको सम्बन्धमा खुकुलो हुनु भनेको सम्झौताको चिप्लो भीरमा बस्नु हो जहाँबाट धेरै विश्वासीहरूको आत्मिक पतन भएको छ।

साथै हामीले भावी पुस्ताको बारेमा पनि सोच्नुपर्छ। यदि एक वरिष्ठ प्रचारक अलगपनतामा खुकुलो भए भने त्यस कुराले उसकै जीवनकालमा उसको सेवकाइलाई नाटकीय ढङ्गले नै असर त नगर्ला, तर अर्को पुस्ताको हालत कस्तो होला? तिनका छोराछोरी र नातीनातिनीहरू कुन स्थानमा रहेनछन् र तिनीहरू कुन दिशातिर लाग्नेछन् होला? बुबाआमाले जे अलिअलि गर्छन् छोराछोरीले त्यही काम अत्यधिक मात्रामा गर्छन् भन्ने कुरा धेरैले अवलोकन गरेको कुरा हो।

अलगपनताको कदम (२ तिमोथी २:२०,२१)

अलगपनताको कदम चाल्‍नुपर्ने चाहिँ विश्वासीले हो। जस्तै, यदि कुनै मण्डली वा सङ्गती वा संस्था गलत मार्गमा समर्पित भएको मैले पत्ता लगाएँ भने मलाई निष्कासन गरिनु अगाडि नै म आफै अलग हुन मैले कदम चाल्नुपर्छ।

अलगपनताको मनोभाव (२ तिमोथी २:२४)

विश्वासको निम्ति सङ्घर्ष गर्ने क्रममा मैले सधैं ठीक आत्मा कायम राख्‍नुपर्छ। "अर्काबाट शैतान निकाल्न खोज्दा आफैभित्र शैतानलाई ठाउँ दिनु भएन!" घमन्ड वा घृणाले भरिनु सधैं गलत हो। वर्षौं अघि सुसमाचार प्रचारक मेल रटर (Mel Rutter) ले मलाई यो असल सुझाव दिएका थिए, "छोरा, आफ्‍नो अडानमा चट्टानजस्तै हुनु र आफ्‍नो मनोभावमा चट्टानबाटको महजस्तै।"

अलगपनताको फलदायिता (२ तिमोथी २:२५-२६)

सहायताको खाँचो परेकाहरूलाई हामीले सहायता गर्न खोज्नुपर्छ तर त्यो काम हामी अलगपन्थी स्थानबाट गर्नुपर्छ। मैले धेरैजना मानिसहरूलाई रोमन क्याथोलिक, नव‍-‍इभान्जेलिकल, क्यारिज्मेटिक, सेभेन्थ-डे-एडभेन्टिस्ट लगायत अन्य किसिमका झूटा र सम्झौतावादी मण्डलीहरूबाट निस्केर आएको देखेको छु, तर मैले यस्ता मण्डलीहरूसित आवद्ध भएर र तिनीहरूमा प्रचार गरेर त्यसो हुन गएको होइन। मैले सो काम लेखहरू छापेर, व्यक्तिगत कुराकानी गरेर र खाँटी मण्डलीहरूमा र अन्य अवसरहरूमा प्रचार गरेर र बाहिरकाहरूलाई निमन्त्रणा गरेर गर्दै आएको छु।

निष्कर्ष

१) अलगपनता आत्मिक सुरक्षाको मामिला हो। अलगपनतालाई रद्द गर्नु चिप्लो भिर हो (१ कोरिन्थी १५:३३)। सन् १९७० को दशकमा म पढेको बाइबल कलेज टेनेसी टेम्पल (Tennessee Temple) अलगपनतामा कमजोर थियो र ८० र ९० का दशकहरूमा बिस्तारै झन् झन् कमजोर बन्दै गयो। एक्काइसौं शताब्दी आइपुग्दा सम्म तिनीहरूले ख्रीष्टिय रक कन्सर्टहरू प्रदर्शनी गर्न थाल्दा र सदर्न ब्याप्टिष्ट कन्भेनसनमा गाभिँदा कुनै अचम्मको कुरा भएन।

२) अलगपनतालाई रद्द गर्ने काम मन्द र चुपचाप तवरले शुरु हुन्छ। यसलाई औंल्याएर तोक्न वा चिन्न त्यति सजिलो छैन। अनि जो-जो अलगपनतालाई रद्द गर्ने प्रकृयाको प्रारम्भिक चरणमा छन् कसैले तिनीहरूलाई त्यसो हुन लागिरहेको हुन सक्छ है भनेर चुनौती दिँदा तिनीहरू ठेस खाने गर्छन्। अलगपनतालाई रद्द गर्ने काम सकारात्मकतालाई बढ्दो रूपमा जोड दिने, गलत प्रति पहिला भन्दा बढी लचिलो हुन थाल्ने केवल मनोभावको परिवर्तनबाट शुरु हुन्छ। अलगपनतालाई रद्द गर्ने कामको पहिलो कदम कुनै प्रचारक वा मण्डली वा बाइबल कलेजले के गर्छ वा भन्छ भन्ने कुराबाट भन्दा त्यसले के गर्दैन वा भन्न चुक्छ भन्ने कुराबाट चिन्न सकिन्छ।

निम्न प्रश्नहरूद्वारा कुनै संस्थाले अलगपनतालाई परित्याग गर्दैछ कि छैन भनेर चिन्नलाई मदत पुर्‍याउन सक्छ: के त्यसले अलगपनताको विषयमा कहिल्यै सम्मेलन बोलाएको छ? के त्यसले अलगपनतामा प्रबल रहेका प्रचारकहरूलाई सम्झौताको विरुद्धमा प्रस्टै तुरही फुक्नलाई निम्त्याउने गर्छ? के त्यसले आफू अलगपनतावादीहरूको मित्रको रूपमा आफूलाई सार्वजनिक र स्पष्ट रूपमा चिनाउने गर्छ? के त्यसले आफ्‍ना सदस्यहरूलाई अलगपनता सम्बन्धी पाठ्य सामग्रीहरू सिफारिश गर्दछ? कि अलगपनता एक ताका प्रचार गरिने कुरो थियो, चर्चा गरिन्थ्यो र अभ्यास गरिन्थ्यो तर अब प्रायः अजेन्डामा समावेश नगरिने कुरा भएको छ? के उक्त संस्था आधुनिक ख्रीष्टिय सङ्गीत (Contemporary Christian Music) प्रयोग गर्नेहरूसित साँठगाँठ गर्दैछन् वा सम्भवतः आफै पनि यस्तो सङ्गीत अपनाउने दिशामा लम्कँदैछ? यदि त्यसो हो भने, यो ज्यादै ठूलो आवाज दिने सूचक हो किनकि आधुनिक ख्रीष्टिय सङ्गीत केवल सङ्गीत मात्र होइन; यो इसाईमतको एक अवधारणा हो जुनचाहिँ अलगपनताको विरुद्धमा छ अनि आधुनिक ख्रीष्टिय सङ्गीत र अलगपनताको अडान धेरै बेरसम्म मिलेर बस्न सक्दैन र बस्दैन पनि।

३) यदि असत्यलाई चाँडै रोक लगाइएन भने त्यसलाई कदापि रोक्न सकिन्न। यही कारणले गर्दा म अलगपनतामा नरम हुन थालेका स्वतन्त्र ब्याप्टिष्टहरूलाई चेतावनी दिने गर्दछु।

४) हामीले आफैलाई, हाम्रा मण्डलीहरूलाई र हाम्रा परिवारहरूलाई सधैं सिकाइरहनुपर्छ। नयाँ नियमका पत्रहरूले बारम्बार असत्यको सामना गरिरहेको देखिन्छ अनि यो नै हाम्रो सेवकाइको नमुना हो। तर धेरै बाइबल विश्वास गर्ने मण्डलीहरूले, यदि गरिहाले तापनि, विरलै झूटा शिक्षा र सम्झौताको बारेमा स्पष्ट चेतावनी दिने गर्दछन् र यस्ता कुराहरूको चेतावनी दिने सेवकाइहरूप्रति उनीहरू कृतज्ञ हुँदैनन् अथवा तिनीहरूको प्रयोग गर्दैनन्।

५) अल्पसङ्ख्यकमा परिएला कि भनेर हामी डराउनुहुन्न। सत्य सधैं अल्पसङ्ख्यकमा हुने गरेको छ। प्रभु येशूले चेतावनी दिनुभयो, "जब मानिसका पुत्र आउँछन्, तब के उनले पृथ्वीमा विश्वास पाउनेछन् र?" उहाँले मण्डली युगलाई "त्यो पूरै खमीरी नहोउन्जेल" भित्रपट्टि खमीर लुकाइराखेको पीठोसित तुलना गर्नुभयो (मत्ती १३:३३)। यसले सत्यत्यागको विस्तारलाई जनाउँदछ। मण्डली युगको अन्ततिर साँचो मण्डलीहरू थोरै हुनेछन् र झूटा मण्डलीहरू धेरै हुनेछन्।

६) अलगपनता महत्त्वपूर्ण कुरा हो तर अलगपनता अलगपनताकै निम्ति होइन। मैले मृतअवस्थामा रहेका कुनैकुनै अलगपन्थी मण्डलीहरूमा प्रचार गरेको छु। ख्रीष्टिय जीवनको मूल विषय अलगपनता होइन तर जीवित ख्रीष्टसँगको एक जिउँदो सम्बन्ध हो। अनि महान् आज्ञा अलगपनता होइन; अलगपनता केवल त्यो सुरक्षाको पर्खाल हो जसले हामीलाई महान् आज्ञा प्रभावकारी ढङ्गले पूरा गर्न सम्भव तुल्याउँछ। धेरै अलगपन्थी मण्डलीहरूमा आत्मिक जागृतिको नितान्त खाँचो छ।

अलगपनता भाग २ सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. विश्वासीले उसलाई सिकाउने परमेश्वरबाटको अभिषेक पाएको छ भनेर कुन पदले बताउँछ?
  2. "सारभूत कुरामा एकता; गैर-सारभूत कुरामा स्वतन्त्रता; सबै कुरामा दया" भन्ने प्रचलित अवधारणालाई हामी रद्द गर्दछौं। छओटा कारणहरू दिनुहोस्।
  3. हुमेनियस र फिलेटसले सिकाएको झूटो कुरा के थियो?
  4. मत्ती २८:२० मा हामीलाई कतिओटा कुराहरूको पालना गर्नुपर्छ भनेर भन्नुभयो?
  5. कुन पुस्तकको कुन अध्यायमा आफूले परमेश्वरको सारा मनसायलाई प्रचार गरेको कुरा पावलले बताए?
  6. कुन खण्डमा पावलले तिमोथीलाई सत्यतालाई निष्कलङ्ग राख्‍न आज्ञा दिए?
  7. कुनै पनि प्रचारकले किन सीमित सन्देश र सीमित सङ्गतीको बीचमा रोज्नुपर्ने हुन्छ?
  8. के बाइबलले प्रचारकलाई आफ्‍नो सन्देशलाई सीमित गर्न स्वतन्त्रता दिन्छ?
  9. अलगपनताको कदम चाल्नुपर्ने कसले हो?
  10. अलगपनता अभ्यास गर्दा हाम्रो मनोभाव कस्तो हुनुपर्छ?
  11. के हामीले अलगपनता अपनाएर पनि अरू मानिसहरूलाई सहायता गर्न र फलदायी हुन सक्छौं?
  12. खराब सङ्गतहरूले असल चरित्रहरू बिगार्छ भनेर कुन पदले सिकाउँछ?
  13. अलगपनतालाई रद्द गर्ने काम कसरी शुरु हुन्छ?
  14. असत्यलाई _________________ रोक लगाइएन भने त्यसलाई ___________________ रोक्न सकिन्न।
  15. के अन्तिम दिनहरूमा सत्यता बहुसङ्ख्यकले मान्नेछन्?

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course - 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो "एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू" शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9851-055734, 9818-399206; मूल्य: नेरू ३०० मात्र।