शरण लामाको संक्षिप्त संस्मरण

यस पृष्ठलाई छाप्नुहोस्

प्रदेश श्रेष्ठ

शरण लामा (स्याङ्तान) को जन्म २०४८ साल भदौ ३० गते भएको थियो र २२ वर्षको कलिलो उमेरमा ब्लड क्यान्सर रोगको उपचार गर्दागर्दै काठमाडौंमा २०७० साल बैशाख १२ गतेका दिन उहाँको मृत्यु भयो। उहाँ मकवानपुर जिल्ला, टिष्टुङ्ग गाविसको चित्रे गाउँको बासिन्दा हुनुहुन्थ्यो।

शरण लामा, कृष्ण बहादुर स्याङ्तान र सानु स्याङ्तानका चार छोराछोरी मध्येमा कान्छा छोरा हुनुहुन्थ्यो। उहाँ मृदुभाषी र कोमल स्वभावको हुनुहुन्थ्यो र उहाँकी आमाको अनुसार बचपनदेखि नै कुनै सानो कुराले चोट पुर्‍याइँदा पनि साह्रै दुःखित बन्ने खालको एक भावुक व्यक्ति हुनुहुन्थ्यो। सानो केटो छँदा उहाँ गाउँघरमा विवाह आदिमा बजाइएको जस्तोसुकै बाजाको तालमा पनि नाँच्न सक्ने भनेर चिनिनुभएको थियो।

१४ वर्षको उमेरमा उहाँ सुसमाचारको सार्वजनिक प्रचार सुन्नलाई आफ्‍नो पूरै परिवारका साथ उपस्थित हुन थाल्नुभएको थियो र त्यसको थोरै समयपछि नै येशू ख्रीष्टलाई आफ्‍नो व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा सार्वजनिक रूपमा स्वीकार गर्नुभयो। टिष्टुङ्ग देउरालीमा शरणकै घरको छिँडीबाहिरको एउटा साँघुरो खुला बरन्डामा भेला हुने गरेको एक दर्जन जति मानिसहरूको सभामा, सबैभन्दा कम उमेरको भएता पनि, परमेश्वरलाई आफ्‍नो मुख खुलेर सार्वजनिक रूपमा प्रार्थना गर्ने पहिलो व्यक्ति उहाँ नै हुनुहुन्थ्यो भनेर शरणकी आमा सम्झना गर्नुहुन्छ। त्यसपछि उहाँ प्रभु र मुक्तिदाता येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा नियमित रूपमा बढ्दै जानुभयो र खाँटी शिक्षाको सठीक ज्ञान हासिल गर्नुभयो र अरुहरूलाई उनीहरूका प्रश्नहरूको जवाफ दिएर सहायता गर्न सक्ने मात्र नभई विश्वासीहरूलाई आवश्यक पर्दा शास्त्रसम्मत तवरले अर्ती र चेतावनी दिन पनि सक्ने हुनुभयो।

सङ्गीतमा झुकाव भएको शरणले चाँडै गीतार बाहेक, एउटा सानो निर्देशिका पुस्तिकाको मदतले, किबोर्ड बाजा समेत बजाउन आफै सिक्नुभयो र त्यसलाई सुन्दर ढङ्गले बजाएर प्रभुको सेवा गर्न थाल्नुभयो जुनचाहिँ पालुङ मण्डलीको साप्‍ताहिक सार्वजनिक आराधनाको एक महत्त्वपूर्ण अङ्ग थियो। उहाँले दर्जनौं आत्मिक गीतहरू रचना गर्नुभयो जसमध्ये उहाँलाई विशेष मन पर्ने एउटा चाहिँ थियो: "ख्रीष्टको प्रेमदेखि हामीलाई, कसले अलग पार्ला?" जुनचाहिँ रोमी ८:३५-३८ मा आधारित छ र विजयउल्लोसित लयमा रचिएको छ। उहाँले मण्डली क्लर्क र लाइब्रेरियनको रूपमा पनि विश्वासयोग्य सेवा पुर्‍याउनुभयो। आफ्‍नो उमेरभन्दा पाको हुनुभएकोले उहाँलाई अगुवाहरूको बैठकहरूमा पनि समावेश गरिन्थ्यो जसमा उहाँले नम्रतापूर्वक मूल्यवान् सल्लाह-सुझाव दिने गर्नुहुन्थ्यो।

द्वन्द्वकालको खतराले ५ कक्षामा पढाइ छुटाउनुपरे तापनि पछिबाट उहाँले पढ्ने नै अठोट गर्नुभयो र १८ वर्षको उमेर पुगेर पनि पुनः स्कूलमा भर्ना हुनुभयो। जेहनदार र मेहनती विद्यार्थी हुनुभएकोले उहाँले प्रायः प्रथम वा द्वित्तीय स्थान हासिल गर्नुहुन्थ्यो र एक पटक स्कूलको उत्कृष्ट विद्यार्थीको उपाधि पनि प्राप्त गर्नुभयो। तर ९ कक्षाको वार्षिक परीक्षा दिने बेलातिर लूकेमिया रोगका गम्भीर लक्षणहरू देखा पर्ने थाले जुन बेलाको कठिन अवस्थामा पनि चर्चमा चलिरहेको बाइबल तालिममा सहभागी भई किबोर्ड बजाएर सेवा गर्न पछि हट्नुभएन। तर अस्पतालमा भर्ना भएर आफ्‍नो जीवन यात्रा छिट्टै अन्त हुन सक्ने कुराको महसुस गर्न थाल्नु भएपछि, प्रभुले उहाँलाई पुनः उठाउनुभएको खण्डमा, स्कूल फिर्ता नगईकन आफ्‍नो पूरै जीवनले प्रभुको सेवा गर्ने आफ्‍नो इच्छा पटक-पटक व्यक्त गर्नुभयो जुन स्कूलको पढाइले उहाँलाई सायद बढी नै व्यस्त बनाएको पनि थियो। तर त्यसो नहुनु रहेछ। सीमित समयको लागि, राम्रै उद्देश्य राखेर पनि, दोस्रो स्थानका कुराहरूलाई प्राथमिकता दिनुको सट्टा, पढाइ, पेशा, बसाइ-सराइ, विवाह जस्ता हरेक महत्त्वपूर्ण निर्णयमा प्रभुको सिद्ध इच्छा खोज्दै कति होशियारीसाथ हामी हिँड्नुपर्ने रहेछ भन्ने कुरा यसबाट सिक्न सकिन्छ।

तरैपनि शरणको जीवनको सायद सबैभन्दा उल्लेखनीय कुरा चाहिँ उहाँका अन्तिम तीन हप्‍ताका दिनहरू थिए जब उहाँ अस्पतालमा भर्ना गरिनुभयो जुन अवधिभित्र हाम्रा बुद्धिमानी र अनुग्रही र सार्वभौम परमप्रभुले उहाँको विश्वासलाई सिद्ध बनाउन उहाँलाई शारीरिक दुःखहरूको जाँच भएर जान दिनुभयो जुन विश्वास आगोले जाँचिएको सुनभन्दा बहुमूल्य हुन्छ। आफ्‍नो यात्राको अन्ततिर नजिकिँदै जाने क्रममा उहाँ आफ्‍नो विश्वासको आँखाले स्वर्गीय क्षितिजलाई अब पहिला भन्दा ज्यादै सफासँग देख्न सक्ने भएको जस्तै हुनुभयो र उहाँ विश्वासको कर्ता र सिद्ध पार्नुहुने येशूलाई मात्र हेर्दै त्यस अन्तिम निशानातिर दगुर्नुभएको जस्तै लाग्यो हामीलाई। उहाँले अघिल्तिर हेर्नुभयो, पछिल्तिर होइन। उहाँले आफूलाई परमेश्वरको सिद्ध इच्छामा खुशीसाथ पूरै सुम्पनुभएको छ भन्ने कुरामा कसैलाई शङ्का थिएन। उहाँलाई अस्पतालमा भेट्न जानुभएको लिण्डा दिदीले यसरी बयान गर्नुभयो, "शरणको बारेमा भन्नुपर्दा उसको उत्साह ज्यादै माथि छ। एकदमै उज्यालो मुख गरेर उसले भन्यो, 'प्रभुले मलाई साँच्ची नै सहायता गर्दै हुनुहुन्छ र डाक्टरहरूले मेरो खुट्टाको पैतालादेखि टाउकोको टुप्पासम्मै क्यान्सर भेटे भने पनि ठीकै छ किनकि म प्रभुको इच्छा चाहन्छु, त्यो जेसुकै किन नहोस्।'"

उहाँले विशेष गरी आफ्‍ना अन्तिम दिनहरूमा बोल्नुभएका शब्दहरूले र उहाँको व्यवहारले दुवै विश्वासी र अविश्वासीहरूलाई  मेटेर नमेटिने छाप छोडेर जानुभएको छ। उहाँ आफ्‍नो एउटा खुट्टा पृथ्वीमा र अर्को खुट्टा स्वर्गमा टेकिरहनुभएको व्यक्ति जस्तो कुरा गर्नुहुन्थ्यो। आफ्‍नो मृत्यु अब कुनै पनि घडी हुन सक्ने र अनन्ततामा प्रवेश हुने कुराको गहिरो महसुस गर्दै हरेकका निम्ति येशू ख्रीष्टको सुसमाचारको गवाही बन्न आफ्‍नो प्रयासलाई उहाँले तीब्र गतिले अघि बढाउनुभयो। अस्पतालमा रहेको पहिलो हप्‍ताको अन्ततिर व्यक्तिपिच्छेलाई सुसमाचार पर्चाहरू आफ्‍नै हातले बाँड्ने उद्देश्यले उहाँले आफ्‍नो व्हीलचेरलाई कोठा-कोठामा गुडाइयोस् भन्ने चाहनुभयो। अस्पतालमा भर्ना हुनुभएको शुरुतिर डाक्टरले ढाडको हड्डीबाट मासीको केही नमुना निकाल्न लाग्दै गर्दा शरणले सोध्नुभयो, "यो कत्तिको दुःख्छ?" डाक्टरले जवाफ दियो, "१०० मा ८० दुःख्छ, २० दुःख्दैन।" डाक्टरले उक्त भयङ्कर पीडादायी प्रकृयालाई अगाडि बढाउँदै गर्दा आफूले परमेश्वरसित प्रार्थना गरेको कुरा शरणले बताउनुभयो र डाक्टरले काम सकेपछि शरणले सोध्नुभयो, "डाक्टर, तपाईंले १०० मा ८० दुःख्छ, २० दुःख्दैन भन्नुभएको थियो, तर मलाई त १० मात्र दुःख्यो र ९० दुखेन। तपाईंलाई थाहा छ किन?" डाक्टरले भन्यो, "तिमी ज्ञानी भएको होला।" शरणले जवाफ दिनुभयो, "होइन। तर मेरो वास्ता गर्नुहुने जीवित परमेश्वरलाई मैले चिनेकोले हो।"

उहाँलाई फोन गर्नुहुने विश्वासीहरूलाई उहाँले हाँसीखुशी सान्त्वनाका वचनहरू बाँड्नुहुन्थ्यो र उहाँको खातिर निराश नहुन आग्रह गर्नुहुन्थ्यो। "विरामी म पो हुँ। म निराश भएको छैन। तपाईं किन हुने?" उहाँलाई सान्त्वना दिन खोज्नेहरूलाई उल्टो उहाँले आफ्‍नो निष्कपट विश्वास र जिउँदो आशाले भरिएको बोलीद्वारा सान्त्वना र उत्साह दिनुहुन्थ्यो। त्यतिबेला उहाँलाई देखाइएको प्रेमको प्रत्येक अभिव्यक्तिले उहाँ एकदमै प्रभावित बन्नुहुन्थ्यो। उहाँलाई दिनहुँ भेट्न गइरहनुभएको लिण्डा दिदीलाई एकपटक आफू एकदम कमजोर अवस्थामा हुँदा उहाँको हात पक्रेर बारम्बार अङ्ग्रेजीमा दोहोर्‍याएको-दोहोर्‍याई गर्नुभयो, "आई लभ यू, अण्टी; अाई लभ यू, अन्टी!" उहाको निम्ति प्रार्थना गरिरहनुभएका सबैका निम्ति उहाँ ज्यादै नै धन्यवादी हुनुहुन्थ्यो र विशेष गरी उहाँको लागि रक्तदान गर्नेहरूका निम्ति; उनीहरूलाई उहाँको तर्फबाट व्यक्तिगत रूपमा धन्यवाद दियोस् भनेर उहाँले बारम्बार आग्रह गर्नुभयो जुन रक्तदान कार्य करिब हरेक दिन नै आवश्यक परिरहन्थ्यो। उहाँले कुरुवा मित्रहरूसित प्रायः मत्ती २५:३४-४० को कुरा गर्नुहुन्थ्यो र त्यसलाई आफ्‍नो सन्दर्भमा लागु गर्दै उहाँको निम्ति गरिएको सबै सेवा प्रभुकै निम्ति हो भनेर उत्साह दिन खोज्नुहुन्थ्यो। बेलाबखत उहाँका बन्द आँखाका कुनातिरबाट शान्त आँसुहरू उहाँको गम्भिर अनुहारमा बगिरहेको देख्‍न सकिन्थ्यो। शुरुतिर यसको कारण बुझिएको थिएन। प्रश्न गरिँदा उहाँले जवाफ दिनुभयो, "म बिरामी भएँ भनेर म रोएको होइन तर विश्वासीहरूको प्रेम देखेर हो।" उहाँ निरन्तर अरुहरूको बारेमा सोचिरहनुहुन्थ्यो। उहाँले पटक-पटक भन्नुभयो, "फलानो बिरामी निको भएर घर पठाइयो भनेर मलाई भन्छन्। तर तिनीहरू निको भएका छैनन्। यहाँ म मात्र निको छु। मलाई उनीहरूको [आत्माको] फिक्री लाग्छ।" उहाँले विशेष गरी मण्डलीका युवाहरूलाई फोन गरेर कुरा गर्नुभयो र उनीहरूलाई प्रशस्त आत्मिक उत्साह र अर्तीहरू दिनुभयो। उहाँले आफ्‍नो परिवार र मण्डलीलाई प्रेम गर्नुहुन्थ्यो। मृत्युपश्चात् उहाँको परिवारलाई सान्त्वना दिन र मण्डलीको सामु उभिएर उहाँको तर्फबाट "मेरो निम्ति धेरै शोक नगर्नुहोस् किनकि हामी स्वर्गमा फेरि भेट्नेछौं" भन्ने सन्देश बाँड्नलाई उहाँले अगाडिबाटै बुद्धरामलाई जिम्मा सुम्पनुभयो। साथै मण्डलीले दफनको विषयमा फेरि सतावटको सामना गर्नुपर्ने हुन्छ भन्ने कुराको उहाँलाई फिक्री थियो। तर सबभन्दा बढी उहाँ आफ्‍नो मुक्तिदाताको सङ्गतिबाट एकक्षण पनि अलग नहुने बरु आफ्‍नो पीडा र कष्टमा अनि नजिकिँदै गरेको मृत्युमा पनि उहाँमाथि भरोसा गर्ने र उहाँको महिमा गर्ने अठोट लिनुभएको जस्तो देखिनुहुन्थ्यो। उहाँले रामुसित भन्नुभयो, "प्रभु येशूसितको मेरो सम्बन्धको सवालमा, उहाँ र मेरो हृदयको बीचमा सानो एउटा कुरा पनि छैन। सब सफा छ। प्रभुसित मेरो सानो भन्दा सानो गुनासो पनि छैन।" साँच्ची नै, यदि कुनै व्यक्ति परमेश्वरको सन्तान हो भने उसले यस्तो निर्धक्कताको अनुभव गर्न सक्दछ किनकि हाम्रा सबै अधर्महरूलाई आफ्‍नो नजरबाट हटाउन हाम्रो पाप‍को क्षमा र छुटकाराको दाम अर्थात् प्रभु येशू ख्रीष्टको रगत क्रूसमा बहाइएको थियो।

जुनबेला उहाँलाई अलिकति मात्र पनि आराम महसुस हुन्थ्यो त्यतिबेला उहाँलाई कुरा गर्न मन लाग्थ्यो र उहाँ भित्र भएको त्यो शान्त किसिमको ठट्यौली पारा पनि निस्कन थाल्थ्यो। एकजना नर्ससित उहाँ जिस्किनुभयो, "तपाईंहरूले त मेरो रगत तानेर नै मलाई मार्ने भयो!" मलाई आफूकहाँ बोलाएर एउटा जान्ने किसिमले मुस्कुराउँदै भन्नुभयो, "चैत्र २६ गते पालुङ मण्डलीमा युवाहरूले याकूब १ अध्यायको जाँच लिँदैहुनुहुन्थ्यो। मैले त जाँच यहाँ अस्पतालमा पो लिँदैछु।" हो पनि, अनि उहाँ आफ्‍नो यो "प्राक्टिकल" जाँचमा सर्वोत्कृष्टता हासिल गर्न तल्लीन देखिनुहुन्थ्यो ताकि जीवनको मुकुट पाउन सकियोस्। उहाँकी आमाले फोनमा सोध्नुभयो, "तिमीलाई दुख्छ?" शरणले ठट्यौली पाराले जवाफ दिनुभयो, "नर्सहरूले मेरो जीउभरि घोचेको घोचै छ, किन नदुख्नु नि?" आफ्‍नो दुखाइको बारेमा यति हल्का प्रकारले कुरा गरेको सुनेर आमाचाहिँलाई पनि केही हलुका अनुभव भयो, अनि छोरा त पक्कै पनि निको भएर घर फर्कन्छ होला भन्ने भान पर्‍यो। उहाँले  रातको सपनामा आफू सुन्दर-सुन्दर ठाउँहरूमा पुगेको बयान गर्नुभयो बुद्धरामसित। "ए। तिमीले त पावलले जस्तै स्वर्गको दर्शन देख्यौ कि के हो!" भन्दा शरण पनि उहाँसँगै हाँस्नुभयो।

तर त्यहाँ प्रचूर पीडाका घडीहरू धेरै थिए। झण्डै सधैं साथमा रहनुभएको रामुसित, पीडा सहनै नसक्ला जस्तो भएर आफूले पटक-पटक आफ्‍नो प्राण त्याग्न खोजेको तर नसकेको कुरा बताउनुभयो। एक पटक मेरी श्रीमतिसित शरणले भावुक भएर भन्नुभयो, "अन्टी, हिजो त प्रभुले मलाई लानुहुन्छ जस्तै लागेको थियो।"

यी दुःखहरूबाट ख्रीष्टलाई अझ व्यावहारिक रूपमा चिन्ने र उहाँको ज्ञानमा बढ्ने अठोट लिनुभएको शरणले आफ्‍नो अवस्थालाई, एक पछि अर्को समस्याहरू ओइरिएर आएको, अय्यूबको अनुभवसित तुलना गर्नुभयो जब उहाँको स्वस्थ्यमा निमोनिया, जीउ सुन्निने, संक्रमण, ज्वरो, उल्टी, रगत खोक्ने, स्वाँ-स्वाँ हुने र आँखा धमिलो हुने जस्ता एक पछि अर्को समस्याहरू ओइरिन थाले। उहाँले भन्नुभयो, "प्रभुले मलाई अस्पतालमा ल्याउनुभएदेखि मैले धेरै कुरा सिक्न पाएको छु। म घरमै भएको भए मैले सायद पापहरू गर्न पुग्ने थिएँ होला।" उहाँले भन्नुहुन्थ्यो, "प्रभुले मलाई यहाँ मेरा कमजोरीहरू र मेरा गलतीहरू प्रकट गरेर मेरो विश्वासलाई खार्नलाई ल्याउनुभएको छ।" उहाँ प्रार्थनामा दृढतापूर्वक लागिरहनुहुन्थ्यो। धेरैजनासित उहाँले यो भन्नुभयो, "म प्रभुसित प्रार्थना गर्दैछु; उहाँले मलाई एकपटक उठाउनुभयो भने म मेरो सम्पूर्ण जीवनले उहाँको सेवा गर्नेछु, तरैपनि मेरो इच्छा होइन, तपाईंकै इच्छा पूरा होस्।" मैले सोधेँ, "मैले तपाईंको लागि केही गरिदिन सक्छु कि?" अनुहार हँसिलो बनाएर उहाँले एउटै शब्द भन्नुभयो, "प्रार्थना"। एकपटक खाना लिनु अघि उहाँले यसरी प्रार्थना गर्नुभयो, "पिता, तपाईंले नै मेरो शरीरका एक‍ एक अङ्ग बनाउनुभयो। तपाईंले मलाई मेरी आमाको गर्भमा रच्नुभयो। मेरो रोगको बारेमा, डाक्टरलाई होइन, तपाईंलाई सबै थाहा छ। तपाईं आफ्‍नो इच्छा बमोजिम गर्नुहोस्।" उहाँले भन्नुभयो, "मेरो बिरामी अवस्थाले प्रभुको महिमा हुँदैछ। धेरैजना मेरो लागि प्रार्थना गर्दैछन् अनि यसरी धेरैजनाबाट प्रभुको महिमा हुँदैछ।"

सङ्ष्टको शैयामा पनि, निराश र अल्छी भएर बस्नुको सट्टा, उहाँले केही आत्मिक गीतहरू रचना गर्नुभयो जसमा परमेश्वरले उहाँलाई सिकाउन खोज्नुभएका कुराहरू आफूले सिक्ने र बढ्ने र आफूलाई यति धेरै वास्ता गर्ने परमेश्वरलाई चिन्ने अठोट लिएको कुरा राम्ररी झल्कन्छ। त्यसमध्ये एउटालाई उहाँले सुमधुर लयमा मोबाइल फोनमा रेकर्ड पनि गर्नुभएको पाइयो:

के जानूँ र म? तपाईंको वास्ता
मेरो जीवनमा निरन्तर बहन्छ।
के जानूँ र म?

हर दुःख, क्लेशमा, अनिकाल, अभावमा
तपाईंको वास्ता निरन्तर छ ममा।
कसरी जानूँ उदेकको वास्ता?
तपाईंले गर्नुभो मेरो जीवनमा।

अरु रचनाहरूमा उहाँले परमेश्वरसित आफ्‍नो कमजोरीमा पनि उहाँको महिमा गर्न र उहाँको प्रशंसा गर्नलाई सामर्थ्य माग्नुभएको छ र उहाँको प्रेम र वास्ताको बारेमा सिक्न सक्नलाई सहायता माग्नुभएको छ र निरन्तर साथमा रहनुभएकोमा धन्यवाद चढाउनुभएको छ। हामीलाई यो छर्लङ्ग छ कि परमेश्वर हाम्रा पिता उहाँका ती प्रार्थनाहरूसित खुशी हुनुभएको थियो।

अन्तमा आएर उहाँको यात्राको अन्ततिर एउटा अविस्मरणीय घडी आयो। झण्डै २० घण्टादेखि उहाँले एकछिन-एकछिन बाहेक नरोकीन मुखबाट रगत खोकिरहनुभएको थियो र समस्या झन्-झन् गाह्रो मात्र हुँदै थियो र त्यसरी नै अझै ७ घण्टासम्म हुनेवाला थियो। छिन-छिनमा सानो प्लास्टिकको बाटामा जम्मा हुन गएको ताजा रगतलाई फ्याँकिनुपर्थ्यो। एकपटक मैले उहाँको निधारलाई थामिरहेको थिएँ अनि बुद्धराम भाइले उहाँको देब्रे हातलाई समाइरहनुभएको थियो किनकि सलाइनको नलीबाट रगत चढाइँदैथियो। अहिलेसम्म त्यो भयङ्कर पीडादायी अनुभवको बीचमा खासै धेरै नबोल्नुभएको शरण भाइले तामाङ भाषामा बुद्धरामलाई केही कुरा भन्नुभयो। भाइले के भन्नुभयो भनेर मैले बुद्धराम भाइलाई सोधेँ। "नाकबाट रगत आएको हो कि भनेर…आत्तिएको जस्तो छ।" शरण, शैयाको एकापट्टि स्टुलमा बसेर घोप्टो परेर बसिरहनुभएको थियो, आँखा बन्द गरी टाउको देब्रेपट्टि फर्काइएको थियो। लामो-लामो सास तान्दै, शरण भाइले आफ्‍नो मौनता तोड्नुभयो, "आत्तिएको? को आत्तिएको?  म आत्तिएको छैन। म प्रभुको हातमा छु।" भाइको यो सुन्दर भनाइले हामी निकै प्रभावित भयौं। मैले केही सोध्ने आँट गरेँ, "के प्रभु तपाईंसँग हुनुहुन्छ?" जोडसँग उहाँले टाउको हल्लाएर "हुनुहुन्छ" भन्ने इशारा गर्नुभयो। "के अहिले पनि उहाँको अनुग्रह तपाईंको लागि प्रशस्त छ?" फेरि त्यसरी नै टाउकोले इशारा गर्नुभयो। जवाफ हामीलाई प्रशस्त भयो। जुन घडी भाइको पीडा देखेर हाम्रो आफ्‍नै हृदय सम्हाल्न नसकिएला जस्तो गरी चुरचुर हुँदैथियो, ठीक त्यही घडीमा उहाँको जवाफले गर्दा हाम्रो हृदयहरूमा एउटा अनौठो शान्तिले छायो र शरणको निम्ति सबभन्दा वास्ता गर्ने र आफ्‍नो छोराको कमजोरीको अन्तिम सीमासम्म आफ्‍नो सामर्थ्यलाई सिद्ध गरेर देखाइरहनुभएको परमेश्वरलाई आराधना चढाउन हाम्रो आत्मालाई उत्तेजित गरायो।

त्यस रात भाइलाई भक्तपुरको क्यान्सर अस्पतालबाट सारेर आइ सी यू सुविधा भएको कुपण्डोलस्थित सर्वाङ्ग अस्पतालमा सारेर उहाँको अवस्थामा सुधार ल्याउने अन्तिम प्रायस गरियो जहाँ उहाँलाई लट्याउने औषधी दिएर भेन्टिलेटरमा राखियो। ७२ घण्टाभित्र शरण लामा भाइ प्रभु येशू ख्रीष्टको साथमा हुन जानुभयो र अनन्त विश्राममा प्रवेश गर्नुभयो। भोलिपल्ट, बैशाख १३ गतेका दिन, उहाँको शरीरलाई सम्मानपूर्वक दफन गर्न परमेश्वरले सहायता गर्नुभयो।

* * * * *

पाठकले यादमा राख्‍नुपर्ने एउटा कुरा यो छ कि शरणले आफ्‍नो निष्कपट विश्वासद्वारा परमेश्वरको वास्तविकतालाई प्रमाणित गर्नुभयो। आफू चाँडै मृत्युको नजिक गइरहेको उहाँलाई थाहा थियो, तर उहाँ मृत्युलाई देखेर हास्नुभएको जस्तै देखिनुहुन्थ्यो; यसले हामीलाई पवित्र शास्त्रको त्यो खण्डको सम्झना गराउँछ जहाँ लेखिएको छ, "हे मृत्यु, तेरो खील कहाँ छ? हे चिहान, तेरो विजय कहाँ छ?" अनि मृत्युको खील पाप हो; अनि पापको शक्ति व्यवस्था हो। तर परमेश्वरलाई धन्यवाद होस्, जसले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हामीलाई विजय दिनुहुन्छ" (१ कोरिन्थी १५:५५-५७)। हाम्रा पापहरूको ऋण तिर्न क्रूसमा बहाइएको ख्रीष्टको रगत र हामीलाई अनन्त जीवन दिन उहाँको मृत्युमाथिको विजय र उहाँको बौरिउठाइ मानिसको निम्ति एकमात्र आशा हो जो मानिस, नत्र भने, पापको बन्धनमा रहेको छ र नरकतिर लम्कँदैछ। शरणले सत्य र जिउँदो परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टमाथिको आफ्‍नो जिउँदो विश्वासद्वारा उहाँ बौरिउठ्नुभएकै हो र उहाँ जीवित हुनुहुन्छ भन्ने कुरा र आफूभित्र उहाँको उपस्थिति र सामर्थ्य रहेको कुरालाई प्रमाणित गर्नुभयो जसको कारण शारीरिक कष्ट र भयङ्कर पीडाको बाबजुद पनि उहाँले जोशिलो उर्जासहित उहाँको प्रेम र पूर्ण-प्रशस्त अनुग्रहको गवाही दिन सक्नुभयो।

निःसन्देह, शरण भाइको जीवनका अझ कति कुराहरू यहाँ उल्लेख गर्न सकिन्थ्यो। हुन त हाम्रो प्रिय भाइको जीवनमा कुनै कमी कमजोरी थिएन भनेर हामी भन्दैनौं किनकि उहाँ हामीजस्तै एक कमजोर पात्र हुनुहुन्थ्यो। तर समग्रमा हेर्दा शरण भाई ख्रीष्टको एक विश्वासयोग्य र सुन्दर चेला हुनुहन्थ्यो; उहाँ आफ्‍नो जीवनलाई पवित्र आत्माको नियन्त्रणमा सुम्पेर हिँड्ने अठोट लिनुभएको व्यक्ति हुनुहुन्थ्यो। उहाँको जीवनमा १ तिमोथी ४:१२ मा बयान गरिएको चरित्र हामीले देख्‍न पायौं र हामी सबैका लागि सुन्दर नमुना छोडेर जानुभएको छ, जसरी त्यहाँ लेखिएको छ "कुनै मानिसले पनि तिम्रो जवानीलाई तुच्छ ठान्न नपाओस्; तर वचनमा, चालचलनमा, प्रेममा, आत्मामा, विश्वासमा, शुद्धतामा तिमी विश्वासीहरूका लागि नमुना बन"।

शरण भाइको जीवनको लागि हाम्रा परमेश्वर पितालाई धेरै धन्यवाद छ! हे हाम्रा मुक्तिदाता प्रभु येशू, तपाईंको सामु चाँडै शरण भाइसित हाम्रो मिलन हुनेछ भन्ने निश्चयतामा हामी हर्षको आँसु झार्दै तपाईंको महान् प्रेमको प्रशंसा गर्दछौं!

ख्रीष्टको प्रेमदेखि हामीलाई कसले अलग पार्ला?

के सङ्कष्टले, वा क्लेशले, सतावटले, अनिकालले
वा नाङ्गो अवस्थाले, वा खतराले, वा तरवारले?

ख्रीष्टको प्रेमदेखि हामीलाई कसले अलग पार्ला?

न मृत्युले, न जीवनले, स्वर्गदूतले, प्रधानताले
न उचाइले, न गहिराइले, न अधिकारले, न अरु सृष्टिले।

ख्रीष्टको प्रेमदेखि हामीलाई कसले अलग पार्ला?

तर यी सबै कुरामा विजेताभन्दा बढी छौं!
अलग पार्न सक्नेछैन पूरा निश्चयता हामीलाई छ!!

ख्रीष्टको प्रेमदेखि हामीलाई कसले अलग पार्ला?

आमेन।