निन्दा चर्चा गर्नु भनेको के हो?

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

निन्दा चर्चा एउटा भयानक खराबी हो र पतित मानव हृदयको भ्रष्टताको कारण यो एउटा ठूलो समस्या हो। पुरानो आदमीय स्वभाव यस्तो छ कि ऊ अर्काको निन्दो चर्चो सुन्न र फैलाउन मन पराउँछ। निन्दा चर्चा भन्ने कुरा “बूढी स्त्रीहरू” ले मात्र गर्छन् भन्ने छैन। भन्नु पर्दा, यो त स्वतन्त्र ब्याप्टिष्ट प्रचारकहरूका बीच एउटा ठूलो समस्या हो। म कहिलेकाहिँ आश्चर्यचकित भएको छु - पास्टरहरू र प्रचारकहरूले निन्दा चर्चा फैलाएका देखेर, र प्रभुको सामु मैले स्वीकार गर्नैपर्छ कि मेरो जीवनमा मैले पनि केही निन्दा चर्चा गरेको छु।

बाइबलमा निन्दा चर्चाको धारणालाई “चुक्ली हाल्नु”, “अर्काको काममा हात हाल्नु”, “निन्दा”, “कुराबोकुवा”, र “बकबक गर्नेहरू” भन्ने शब्दहरूले बयान गरिएको पाइन्छ। परमेश्वरका जनहरूले सचेत भई आफूहरूलाई यी पापहरूदेखि जोगाइराख्नुपर्छ। निन्दा चर्चा अत्यन्तै हानिकारक कुरा हो। निन्दा चर्चाले वास्तवमा एउटा प्रचारकको प्रभावकारितालाई नष्ट पार्न सक्छ र एउटा सिङ्गो मण्डलीलाई भताभुङ्ग पार्न सक्छ।

निन्दा चर्चा भनेको के होइन

तरैपनि एउटा महत्त्वपूर्ण कुरा के छ भने, निन्दा चर्चा र अन्य न्यायोचित अभ्यासका बीच भिन्नता राखिनुपर्छ, जस्तै:

उचित व्यक्तिहरूसित ईश्वरीय उद्देश्यका निम्ति सत्य कुरा बोल्नु निन्दा चर्चा होइन

त्यस्ता व्यक्तिहरूसित सत्यपूर्ण कुराहरू बाँड्नु गलत होइन जोहरूलाई त्यस किसिमका जनाकारी प्राप्त गर्ने अधिकार छ।

उदाहरणको लागि, क्लोएका घरानाले पावललाई कोरिन्थको मण्डलीका समस्याहरू बताउनु निन्दा चर्चा थिएन (१ कोरिन्थी १:११)। उक्त मण्डलीका संस्थापकका हैसियतले ती समस्याहरूको बारेमा जान्न पाउनु पावलको अधिकारभित्र पर्ने कुरा थियो। मण्डली सदस्यहरूका जीवनहरूको बारेमा एकजना पास्टरसित वा बाल सङ्गति शिक्षक/शिक्षिकासित वा डिकनसित कुरा गर्नु कुराबोकुवा बन्नु होइन जब ती कुराहरूको जानकारी हुनु उनीहरूलाई खाँचो छ। कुनै बाबु वा आमासित उनीहरूका छोराछोरीहरूलाई असर पार्ने विषयहरूमा कुरा गर्नु कुराबोकुवा बन्नु होइन।

क्रेटीहरूको राष्ट्रिय चरित्र कमसल छ भन्ने कुरा जनाउँदै त्यसको बयान गर्दा “सधैं झूट बोल्ने, दुष्ट पशु, अल्छे घिचुवा” (तीतस १:१२) जस्ता कडा शब्दावली प्रयोग गरीकन पावलले तिमोथीलाई सम्झना गराउँदा उनले निन्दा चर्चा गर्ने वा बदनामी फैलाउने काम गरेका होइनन्। जुन कुरा पावलले क्रेटीहरूको बारेमा बताए (उनीहरूकै एकजना कविलाई उद्दृत गर्दै), त्यो साँचो थियो, अनि उसको मनसाय उनीहरूलाई चोट पुर्‍याउनु थिएन तर उनीहरूलाई सहायता गर्नु थियो (“तिनीहरू विश्वासमा पक्का होऊन्”, १३ पद) र साथै क्रेटमा येशू ख्रीष्टको कामलाई अघि बढाउनु थियो।

एउटा ख्रीष्टियनले अर्को व्यक्तिलाई कुनै मण्डलीमा वा संस्थामा भएको कुनै गम्भीर समस्याको बारेमा चेतावनी दिनु गलत होइन, यदि उसलाई दिइएको जानकारी सत्य हो र मनसायचाहिँ कसैलाइ चोट पुर्‍याउनु नभईकन बरु सहायता गर्नु र चेतावनी दिनु हो भने। धेरैपटक मैले मानिसहरूलाई केही मण्डलीहरूको बारेमा र तिनमा भएका गम्भीर समस्याहरूको बारेमा चेतावनी दिएको छु। मैल यो काम व्यक्तिगत रूपमा र सार्वजनिक रूपमा गरेको छु। यो निन्दा चर्चा होइन र यो बदनाम गर्ने काम होइन।

परमेश्वरको महिमाको लागि सत्य बोल्नु निन्दा चर्चा होइन।

प्रचारकको शिक्षामा प्रश्न उठाउनु निन्दा चर्चा होइन

साथै पास्टरले दिएको शिक्षालाई पवित्र शास्त्रले जाँच्नु र नम्रतापूर्वक र ईश्वरीय ढङ्गले निजको सम्बन्धमा प्रश्न उठाउनु गलत होइन। वास्तवमा, परमेश्वरका सामु त्यसो गर्नु हाम्रो जिम्मेवारी नै हो। त्यो निन्दा चर्चा होइन र त्यो गलत छैन। निश्चय पनि, मैले आफ्‍नो आत्मा वा मनोभावको सधैं रखवाली गर्नुपर्छ ताकि म तीतो नबनूँ र खराब मनोभाव विकास नगरूँ र मण्डली सदस्यहरूका बीच वा जनसमाजमा पास्टरलाई चोट पुर्‍याउने उद्देश्यले कुराहरू फैलाउने काम नगरूँ।

साथै यस्ता कुराहरूमा आफू बुद्धिमानी हुनु जरुरत छ। जस्तै, कुनै कथित त्रुटी वा समस्याको बारेमा कुनै पास्टरको सम्बन्धमा सार्वजनिक रूपमा प्रश्न उठाउनु साधारणतया बुद्धिमानी वा जायज होइन। यस्तो कुरा व्यक्तिगत रूपमा व्यवहार गरिनु सर्वोत्तम हुन्छ, कम्तीमा पनि सुरुमा। त्यसो भए तापनि, अन्ततः पास्टरको शिक्षामाथि प्रश्न उठाउनु गलत होइन।

“यिनीहरूचाहिँ ती थेस्सलोनिकामा हुनेहरूभन्दा उत्तम रहेछन्; किनकि यिनीहरूले मनको पूरा तयारीको साथ वचन ग्रहण गरे, र यी कुराहरू यस्तै हुन् कि होइनन् भनी दिनहुँ पवित्रशास्त्रहरूमा खोजी गर्दथे” (प्रेरित १७:११)।

“सबै कुरा जाँच; जुन कुरा असल छ, त्यसलाई बलियो गरी समातिराख” (१ थेस्सलोनिकी ५:२१)।

“अनि भविष्यवक्ताहरूचाहिँ दुई वा तीनजना बोलून्, र अरूले जाँचून्” (१ कोरिन्थी १४:२९)।

पास्टरहरूलाई धेरै अधिकार छ, तर उनीहरू पोप होइनन् अनि उनीहरूको पछि अन्धो भएर लाग्नुहुँदैन। उनीहरूको अधिकार भनेको परमेश्वरको वचन हो, अनि उनीहरू यदि त्यसदेखि दयाँबायाँ लाग्छन् भने उनीहरूको कुनै अधिकार हुँदैन र उनीहरूको भूलदोष सुधारिनुपर्छ।

तैपनि धेरैजना ईश्वरीय ख्रीष्टियनहरूलाई त्यतिबेला निन्दक वा समस्या सृजना गर्ने व्यक्ति भनेर कलङ्क लगाइने गरिन्छ जतिबेला उनीहरूले प्रचारकले सिकाएको कुरामाथि प्रश्न उठाउने प्रयास गर्छन्। अति नै धेरै पास्टरहरूले मण्डली सदस्यहरूलाई आफ्‍नो हातमा लिन र आफूले गरेको कामकुरामाथि प्रश्न उठाउन खोज्नेहरूलाई निरुत्साहित पार्न “निन्दा चर्चा” भन्ने धारणाको दुरुपयोग गरेका छन्। यो ठीक होइन र यसले स्वस्थ नयाँ नियम माण्डलिक वातावरणको सृजना गर्दैन। पास्टरले यो यादमा राख्नुपर्छ कि निजले परमेश्वरका जनहरूमाथि आफ्‍नो प्रभुत्व लाद्नुहुँदैन। “परमेश्वरको सम्पत्तिमाथि हक नचलाओ, तर बगालका निम्ति नमुनाहरू बन” (१ पत्रुस ५:३)। यस खण्ड अनुसार पास्टरले आफ्‍नो हक चलाउन भन्दा आफू बगालका निम्ति एउटा ईश्वरीय नमुना बन्न बढी चिन्तनशील हुनुपर्छ।

यसको माने मण्डलीका अरू सदस्यहरूको भन्दा पास्टरको बढी अधिकार हुँदैन भन्ने होइन। ऊसित अधिकार हुन्छ (हिब्रू १३:७,१७)। यहाँ हाम्रो चर्चाको विषय भनेको अधिकारको दुरुपयोगको हो। आजका कुनै पनि पास्टरसँगभन्दा बढी अधिकार भएका पावल प्रेरितले धरि यसरी भने, “तिमीहरूको विश्वासमाथि हामी राज्य गर्ने होइनौं, तर तिमीहरूका आनन्दका सहायकहरू हौं; किनकि विश्वासद्वारा नै तिमीहरू खडा हुन्छौ” (२ कोरिन्थी १:२४)।

पाप र भूलदोषको बारेमा चेतावनी दिनु निन्दा चर्चा होइन

झूटा शिक्षकहरूलाई औंल्याउनु र सत्यलाई सम्झौता गर्नेहरूको बारेमा चेतावनी दिनु निन्दा चर्चा वा बदनामी गर्नु होइन। पावलले झूटा शिक्षकहरू र सत्यलाई सम्झौता गर्नेहरूको सम्बन्धमा तिनका नामै तोकेर १ र २ तिमोथीमा मात्र कम्तीमा पनि १० पटक चेतावनी दिए। कुनै मण्डली अगुवाले सार्वजनिक रूपमा गलत कुरा सिकाउँछ भने, परमेश्वरका जनहरूले त्यसको बारेमा सार्वजनिक रूपमै चेतावनी दिनु निन्दा चर्चा वा बदनामी गर्नु होइन। मैले बिल्ली ग्राहाम वा जेरी फलवेल वा जेम्स डब्सन जस्ताको नाम तोकेर तिनका गलतीहरूको बारेमा चेतावनी दिँदा मलाई धेरैपटक बदनामी वा अर्काको काममा हात हाल्ने भनेर दोष्याइएको छ। तर मैले त्यसो गर्नु निन्दा होइन। परमेश्वरको वचनबाट बाटो बिराउनेहरूलाई चिन्नु र औंल्याउनु मेरो अधिकार छ र प्रचारकको हैसियतले मेरो जिम्मेवारी छ। त्यसो गर्नलाई मैले उनीहरूको अनुमति लिनुपर्दैन, अनि म पहिले उनीहरूकहाँ जानुपर्दैन। उनीहरूको गलती सार्वजनिक र दोहोरिने खालको छ भने, मेरो जिम्मेवारी भनेको उनीहरूको बारेमा सार्वजनिक रूपमा चेतावनी दिनु हो, ठीक जसरी पावलले हुमेनियस र अलेक्जान्डरको बारेमा (१ तिमोथी १:२०), फुगेल्लस र हर्मोगेनेसको बारेमा (२ तिमोथी १:१५), हुमेनियस र फिलेटसको बारेमा (२ तिमोथी २:१७), डेमासको बारेमा (२ तिमोथी ४:१०) र तमौटे अलेक्जान्डरको बारेमा (२ तिमोथी ४:१४-१५) चेतावनी दिए। पावलले यो कुरा ती पत्रहरूमा गरे जुन पत्रहरू सबै मण्डलीहरूमा प्रसारित गरिनका निम्ति उनले लेखेका थिए।

बदनामी गर्नु भनेको कसैलाई चोट पुर्‍याउने मनसायले उसको बारेमा आधारहीन, असत्य हल्ला फैलाउनु हो।

एकअर्कालाई अर्ती दिनु निन्दा चर्चा होइन

“तर जबसम्म ‘आज’ भनिन्छ, तबसम्म दिनहुँ एक-अर्कालाई अर्ती देओ, र पापको छलद्वारा तिमीहरूमध्ये कोही कठोर नबनोस्” (हिब्रू ३:१३)।

“अनि आओ, प्रेम र असल कामहरूका निम्ति हौसला दिनालाई एक-अर्काको चिन्ता गरौं; र कसै‍-कसैको आदत भएझैं हामी एक ठाउँमा भेला हुन नछोडौं; तर एक-अर्कालाई उत्साह दिँदै रहौं; अनि त्यो दिन जति नजिक-नजिक आउँदै गरेको तिमीहरू देख्छौ, उति नै बेसी हामी यसो गर्ने गरौं” (हिब्रू १०:२४-२५)।

ख्रीष्टियनहरू एक-अर्कालाई अर्ती दिन जिम्मेवार छन्। यसको माने एक-अर्कामाथि निगरानी राख्नुपर्छ र एक-अर्कालाई त्यस्ता कुराहरूको बारेमा अर्ती दिनुपर्छ जुन कुराले ख्रीष्टसितको हाम्रो हिँडाइलाई असर पार्न सक्छ। यस्तो सेवाको कामलाई निन्दा चर्चासित जोड्नुहुँदैन।

तर कतिपय मण्डलीहरूमा ठ्याक्कै यस्तै हुने गर्छ। यदि कुनै परिपक्क्व मण्डली सदस्यले अरू मण्डली सदस्यहरूलाई अर्ती दिन वा सुधार्न खोज्यो भने, उसलाई निन्दा फैलाउने वा समस्या ल्याउने व्यक्ति भनेर कलङ्कित पारिन्छ।

अरूलाई अर्ती दिन परिपक्क्वता र ईश्वरीयता अथवा भक्तिपूर्ण जीवन चाहिन्छ।

“अनि हे मेरा भाइहरूहो, तिमीहरूको विषयमा म पूरा निश्चित भएको छु, कि तिमीहरू पनि भलाइले भरपूर भएका छौ, सबै ज्ञानले भरिएका छौ, एक-अर्कालाई चेताउनी दिन सक्ने पनि भएका छौ” (रोमी १५:१४)।

तर अर्ती चेतावनी दिने काम परिपक्क्व मण्डली सदस्यहरूले गर्ने न्यायसङ्गत काम हो। यो केवल पास्टरलाई मात्र गर्न दिइएको काम होइन।

मण्डलीका उमेरदार स्त्रीहरूले तरूणी स्त्रीहरूलाई कसरी सिकाउनुपर्छ र अर्ती दिनुपर्छ भन्ने कुरा तीतस २:३-५ ले बयान गरेको छ। तर मैले यस्ता मण्डलीहरू चिनेको छु जहाँ भक्तिपूर्वक जिउने उमेरदार स्त्रीहरूले यो सेवाको काम आत्मिक र शास्त्रसम्मत तरिकाले गर्न खोज्दा उनीहरूमाथि समस्या आइपर्न गयो। उनीहरूलाई यस्तो भनियो कि तरूणी स्त्रीहरूलाई सुधार्ने र चेलापनमा हुर्काउने काम केवल पास्टरको मात्र काम हो, तर बाइबलले त त्यसो भन्दैन। अरूहरूलाई सुधार्ने सेवाको एउटा यस्तो काम छ जसमा परिपक्क्व मण्डली सदस्यहरू सरीक हुनुपर्छ।

एउटा मण्डलीमा घटेको घटना म यहाँ स्मरण गर्दछु। एकजना जवान पुरुषलाई मण्डलीका केही परिपक्क्व सदस्यहरूले उसलाई उसको जागिर छोड्नुपर्छ भनेर सम्झाए किनकि उनी एक सांसारिक फिलिम हलमा काम गर्दैथिए र त्यो काम उसकै आत्मिक उन्नतिको लागि हानिकारक हुनुको साथसाथै मण्डलीका अरू जवान व्यक्तिहरू पनि उसको नमुनाले प्रभावित हुँदैथिए। जब उनले यस सल्लाहलाई पछ्याउन इन्कार गरे र आवेगमा आएर मण्डली छाडेर हिँडे, तब परमेश्वरको वचनबाट उसलाई सम्झाउनेहरूलाई समस्या ल्याउनेहरू भनेर कलङ्कित गरियो। वास्तवमा, उनीहरूले चेतावनी दिएर न्यायोचित बाइबलीय सेवाको अभ्यास गर्दैथिए।

निन्दा चर्चाको पाप र चेतावनीको सेवकाइका बीच भिन्नता कायम राख्नलाई ध्यान हुनुपर्छ।

निन्दा चर्चा यो हो

निन्दा चर्चा गर्नु भनेको कुराबोकुवा भएर घुमिहिँड्नु हो (लेवी १९:१६; हितोपदेश ११:१३; १८:८; २०:१९; २६:२०-२२)

निन्दा चर्चा गर्नु भनेको जिब्रोले बदनामी गर्नु हो (भजनसङ्ग्रह १५:३), जसको माने अरूहरूसित कसैको जीवनको व्यक्तिगत विवरणहरूको बारेमा उसलाई हानि गर्ने उद्देश्यले कुरा गर्नु हो।

निन्दा चर्चा गर्नु भनेको बदनामी फैलाउनु हो (गन्ती १४:३६,२७; २ शमूएल १९:२७; हितोपदेश १०:१८; यर्मिया ९:४-६; रोमी ३:८), जसको माने कसैलाई चोट पुर्‍याउनलाई उसको बारेमा झूटा कुराहरू बोल्नु हो। कुनै कुरा बदनामी फैलाउने कुरा हो भने त्यसमा झूट हुन्छ र चोट पुर्‍याउने उद्देश्य हुन्छ। कुनै पास्टरको पारपाचुके भएको छ भनेर कसैलाई भन्नु निन्दा चर्चा होइन यदि उक्त कुरा सत्य हो भने, तर उक्त पास्टरको पारपाचुके नभएको भए तापनि भएको छ भनेर भन्नु चाहिँ निन्दा चर्चा हो र बदनामी फैलाउनु हो। कसैलाई चोट पुर्‍याउनलाई उसको बारेमा हल्ला फैलाउनु दुष्ट निन्दा चर्चा गर्नु हो। हामीले कसैबाट सुनेका कुरालाई अर्को व्यक्ति वा व्यक्तिहरूलाई फैलाउनदेखि हामी अत्यन्तै होशियार हुनुपर्छ। कुनै कुरा सत्य हो या होइन भन्ने कुरामा यदि त्यहाँ कुनै प्रश्न छ भने, उक्त कुराको जानकारी भएको व्यक्तिबाट सो कुरा हो कि होइन भनेर प्रमाणित गर्नु अनिवार्य हुन्छ।

निन्दा चर्चा गर्नु भनेको अर्काको काममा हात हाल्नु हो (२ थेस्सलोनिकी ३:११; १ तिमोथी ५:१३; १ पत्रुस ४:१५), जसको माने आफू संलग्न हुनुपर्ने त्यहाँ कुनै न्यायोचित कारणै बिना अर्काको कामकुरामा मुछिन जानु वा हात हाल्नु हो।

यो लेख www.wayoflife.org वेबसाइटको मौलिक रचना What is Gossip? को नेपाली रुपान्तरण हो। यसलाई लेखकको अनुमतिले यहाँ प्रकाशित गरिएको छ।