पोपसित हातेमालो (भाग २)

यस पृष्ठलाई छाप्नुहोस्

सम्झौताको चिप्लो भीर

हैन, प्रतिष्ठित इभान्जेलिकल अगुवाहरू, माथि बयान गरिएजस्ता निष्कर्षहरूमा कसरी पुग्न सकेका? उहिलेदेखिका ऐतिहासिक अडानहरूलाई यसरी ठाडै कसरी परित्याग गर्न सकेका? विगत वा वर्तमानमा ख्रीष्टको मण्डलीभित्र के-कस्ता कुराको विकास हुन गएकोले इभान्जेलिकलवादले यस्तो नयाँ मोड लिन सक्यो?

एकजना व्यक्तिको व्यापक प्रभाव
रोमन क्याथोलिक चर्चको सम्बन्धमा विद्यमान सैद्धान्तिक गञ्जागोल (theological confusion) को अधिकांश श्रेय एकजना व्यक्तिलाई जान्छ -- बिल्ली ग्राहाम (Billy Graham)। अन्य कुनै एकल व्यक्तिभन्दा थुप्रै-थुप्रै इभान्जेलिकलहरूबाट अगाध श्रद्धा पाएका बिल्ली ग्राहाम नै इभान्जेलिकल समुदायलाई रोमको मण्डलीसितको न्यानो र निकट सम्बन्धमा डोर्‍याउनमा जिम्मेवार छन्। उनले धेरै वर्ष अगाडिदेखि नै क्याथोलिक धर्मतन्त्रलाई खुशी पार्ने खेल खेल्न थालेका हुन्। उनले बेलमन्ट आब्बी (Belmont Abbey) नामक रोमन क्याथोलिक प्रतिष्ठानबाट सम्मानार्थ उपाधि प्राप्‍त गरेका छन्। शहर-शहरमा समारोहको आयोजना गर्दा उनले रोमन क्याथोलिक अगुवाहरूको सहकार्यता मागेका छन्। सम्मेलनमा आएकामध्येबाट अघि बढ्न चाहेका नयाँहरूलाई उनले रोमन क्याथोलिक चर्चहरूमै फिर्ता पठाएका छन्। उनले रोमन क्याथोलिक अगुवाहरूको सार्वजनिक सम्मान र प्रशंसा गरेका छन्। उनले रोमका डरलाग्दा अबाइबलीय शिक्षाहरूका बारेमा एउटै चेताउनी दिन सकेका छैनन्। रोमन क्याथोलिक चर्चसित आत्मिक सङ्गति गर्ने कामलाई बिल्ली ग्राहामले कत्ति पनि समस्याजनक नठानेकाले, र इभान्जेलिकलहरूबीच उनको प्रभाव ज्यादै ठूलो भएको हुनाले, अरूले पनि उनकै पाइला पछ्याएकोमा हामीले त्यति अचम्म मान्नु पर्दैन।

शिक्षामा जोड दिने समर्पणतामा ह्रास
नो प्लेस फोर ट्रुथ (No Place for Truth, "सत्यतालाई छैन ठाउँ") नामक उल्लेखनीय कृतिका लेखक डेविड वेल्स (David Wells) ले "ह्वाटएभर ह्यापन्ड टु इभान्जेलिकल थिअलोजी" ("Whatever Happened to Evangelical Theology?", "इभान्जेलिकल ईश्वर-शास्त्रको किन यस्तो हालत?") भन्ने उपशीर्षकमै आफ्नो विस्मय प्रकट गर्दछन्। धेरैले वर्षौंदेखि अवलोकन गर्दै आएको एउटा बास्तविकताको उनले प्रशस्त प्रमाण दिन्छन् -- कैयौं इभान्जेलिकलहरूका लागि शिक्षा (doctrine) अब सर्वाधिक महत्त्वको विषय होइन। विगतमा सैद्धान्तिक पूर्णनिश्चयता (doctrinal convictions) लाई सङ्गतिको आधारशीला मानिन्थ्यो भने गत वर्षहरूमा "साझा अनुभव" लाई महत्त्व दिन थालिएको छ। "येशूलाई प्रेम गर्ने सबै नै" सैद्धान्तिक भिन्नतालाई बेवास्ता गरी आपसी एकतामा आउनुपर्छ अरे। समग्र इभान्जेलिकलवादलाई "न्यानो भावुकता" को नराम्रो रोगले पक्रेको छ। "यदि एकजना रोमन क्याथोलिकले येशूलाई प्रेम गर्छन् भने, मैले उसलाई ख्रीष्टमा आफ्नो भाइ सम्झेर अँगालो मार्नुपर्छ" अरे। धेरैको साझा धारणा यही छ।

क्यारिज्म्याटिक तत्त्व
चासोको विषय, चर्चित एक्युमेनिकल दस्तावेजको हस्ताक्षरको समाचार सम्प्रेषण गर्दा "राष्ट्रिय तथा अन्तराष्ट्रिय धार्मिक रिपोर्ट" ("National and International Religion Report") ले यस्तो टिप्पणी गर्‍यो: "यी दुई समुदायहरूलाई यहाँसम्म एक्यवद्ध बनाउन कुन कुरोले सम्भव तुल्यायो भन्ने कुराको सवालको जवाफमा कतिपय हस्ताक्षरकर्ताले क्यारिज्म्याटिक अभियानअन्तर्गत रहेर सँगै आराधना गरिँदाको अनुभवहरूलाई औंल्याए…"।3 आधुनिक क्यारिज्म्याटिक लहरले एक्युमेनिकलवादतर्फको गति शक्तिमा उर्जा थपेको यो अझ अर्को प्रमाण हो। क्यारिज्म्याटिकहरू साझा अनुभवलाई नै साझा धरातलको रूपमा हेर्दछन् र एकअर्कासितको पूर्ण सहकार्यलाई रोक्ने त्यहाँ कुनै सैद्धान्तिक व्यवधान देख्दैनन्। क्यारिज्म्याटिकहरू सबभन्दा बेमेल सैद्धान्तिक पक्षहरूलाई समेत कुनै समस्याबिना समेट्न सक्छन्।

साझा राजनीतिक मुद्दाहरू
गत वर्षहरूमा रोमन क्याथोलिक तथा इभान्जेलिकलहरू गर्भपतन, समलिङ्गता आदिजस्ता साझा मुद्दा लिएर तिनका विरुद्धको सङ्घर्षमा संयुक्त-शक्तिको रूपमा राजनीतिक रणभूमिमा उत्रेका छन्। यी संयुक्त कार्यकलापको कारणले दुवै पक्षका नेतृत्व वर्ग एक साथ हुन गएका छन् जब कि बिगतमा उनीहरू कहिल्यै सहकार्य गर्ने गरेका थिएनन्। व्यक्तिगत मित्रताहरू गाँसिएका छन्, र फलस्वरूप गम्भीर सैद्धान्तिक भिन्नतालाई एकातिर पन्छाउने काम हुन थालेको छ। कतिपय सामाजिक मुद्दामा सहमति भएको हुनाले, र यी मुद्दाहरू अमेरिकाको जन-जीवनमा यति धेरै महत्त्वको मानिएकाले "अमेरिका बचाऊ" अभियानमा सहकार्य गर्नुपर्छ भन्ने आधार बनाई दुवै पक्षका धेरैजना अगुवाहरू सैद्धान्तिक झगडालाई न्यूनीकरण गर्न इच्छुक छन्। [टिप्पणी: लेखकले खास गरी अमेरिकाको सन्दर्भमा यो लेख्‍नुभएको भए तापनि यो थाह भएको कुरा हो कि भ्रमका छालहरू प्रायः एकै ठाउँमा सीमित रहँदैनन्। त्यसैले क्याम्पस क्रूसेडका प्रमुख बील ब्राइट समेत उक्त दस्तावेजमा हस्ताक्षर गर्ने मध्ये एक भएका हुनाले नेपाल लगायत अन्य देशमा रहेका क्याम्पस क्रूसेड यस कदमबाट कसरी प्रभावित हुँदैछन् अनुसन्धान गर्नु आवश्यक देखिन्छ। जस्तै, के नेपालको क्याम्पस क्रूसेडले रोमन क्याथोलिकलाई सुसमाचार सुनाउनुपर्छ भन्ने धारणा राख्दछ?]

यी पृष्ठहरू डा. अर्नेस्ट पिकरिङ्गको Holding Hands with the Pope - The Current Evangelical Craze बाट नेपालीमा रूपान्तर गरिएका हुन्।