यूहन्नाको पुस्तकअनुसार महान् आज्ञा

यस पृष्ठलाई छाप्नुहोस्

उसरी नै म पनि तिमीहरूलाई पठाउँछु!
यूहन्ना २०:२१


पिताले पुत्रलाई पठाउनुभयो, र त्यही प्रकारले पुत्रले आफ्‍ना चेलाहरूलाई पठाउनुभएको छ। ख्रीष्टद्वारा पठाइनुको माने यदि हामीले बुझ्ने हो भने, हामीले ख्रीष्ट पिताद्वारा पठाइनुको माने बुझ्नु आवश्यक छ।

हाम्रा प्रभु कसरी पठाइनु भयो? पठाउने व्यक्तिसँग उहाँको सम्बन्ध कस्तो थियो? यूहन्नाको सुसमाचारले उक्त सम्बन्धको अर्थलाई स्पष्टसाथ वर्णन गरेको छ। तपाईंको आफ्‍नै व्यक्तिगत अध्ययनमा तपाईंले तल उल्लेख भएका पदहरूलाई हेर्न सक्नुहुन्छ र तिनीहरूलाई प्रार्थना गर्दै ध्यानपूर्वक पढ्न सक्नुहुन्छ।

निम्न खण्डहरू यूहन्नाको सु-समाचारमा भेटिन्छन्। यी खण्डहरूले ख्रीष्ट उहाँको पिताद्वारा पठाइनुभएको बारेमा बताउँछन्।

  1. ख्रीष्ट उहाँको आफ्‍नै इच्छा पूरा गर्न होइन, तर उहाँलाई पठाउनुहुनेको इच्छा पूरा गर्न पठाइनुभयो (यूहन्ना ४:३४; ५:३०; ६:३८)। अन्य कुनै पनि कुराका निम्ति भन्दा यसका निम्ति प्रभु बढी तृष्णा गर्नुहुन्थ्यो; आफूले गर्नलाई चाहनुभएको कुरा होइन, तर पिताले चाहनुभएको कुरा गर्नलाई; आफ्‍नो इच्छा होइन, तर केवल पिताको इच्छा मात्र। उसरी नै, हामीले पनि भन्न सक्नुपर्छ,"मेरो भोजन मलाई पठाउनुहुने ख्रीष्टको इच्छा पूरा गर्नु हो -- ख्रीष्टले जे चाहनुहुन्छ र इच्छा गर्नुहुन्छ केवल त्यो गर्न मात्र। मेरो इच्छा होइन, तर ख्रीष्टको इच्छा पूरा होस्!"
  2. ख्रीष्ट आफैलाई खुशी पार्न होइन, तर उहाँलाई पठाउनुहुनेलाई खुशी पार्न पठाइनुभयो (यूहन्ना ८:२९)। उसरी नै, हामीले पनि भन्न सक्नुपर्छ,"किनकि उहाँलाई खुशी पार्ने कुराहरू म सधैं गर्दछु" (२ कोरिन्थी ५:९-११; एफेसी ५:१०; १ कोरिन्थी ७:३२; फिलिप्पी ३:७-१०)। पावलको एउटै मात्र चाहना ख्रीष्टलाई खुशी पार्नु थियो (गलाती १:१०)। उनको एउटै मात्र डर भनेको प्रभुलाई कतै खुशी पार्न नसकूँला कि भन्ने थियो। सुसमाचार प्रचार कार्यको सवालमा एउटा विद्यमान समस्या के छ भने हाम्रो हेराइ मास्तिर भन्दा धेरै नै तेर्सोतिर हुने झुकाव छ – परमेश्वरमुखी भन्दा मान्छेमुखी भएको छ। हाम्रो ध्याउन्न मानिसलाई कसरी जित्ने भन्ने बारेमा झन् झन् बढ्दै जाने क्रममा हामी परमेश्वरलाई कसरी खुशी पार्ने भन्ने बारेमा भने झन् झन् कम महत्त्व दिन थाल्नु सम्भव छ। परिणामस्वरूप हामीले यस्ता तरिकाहरूद्वारा मानिसहरूलाई जित्ने कोशिस गरौंला जसले परमेश्वरलाई खुशी पार्दैन। हामीले कहिल्यै पनि नबिर्सौं कि हाम्रो प्राथमिक जिम्मेवारी भनेको परमेश्वरलाई खुशी पार्नु हो जसले हामीलाई पठाउनुभयो ताकि एक दिन हामीले उहाँको "स्याबास" सुन्न पाऔं।
  3. ख्रीष्ट आफ्नै महिमा खोज्न होइन, तर उहाँलाई पठाउनुहुनेको महिमा खोज्नलाई पठाइनुभयो (यूहन्ना ७:१८)। ख्रीष्टले पहिचान, प्रशंसा वा ध्यान आफूतिर खिँच्न चाहनुभएन। उहाँले ध्यान पितातर्फ खिँच्न चाहनुहुन्थ्यो। उहाँ पिता परमेश्वरको साक्षी हुनुहुन्थ्यो -- उहाँलाई पठाउनुहुनेलाई स्पष्टसँग र निरन्तर रूपमा देखाउने साक्षी। उसरी नै, हामीले पनि आफू चिनिन चाहनुहुँदैन र आफ्‍नै प्रशंसा खोज्नुहुँदैन। हामी हाम्रो जीवनले आफ्‍नै कुरूपतातिर नभएर हाम्रा प्रभु येशूको सुन्दरतातिर ध्यानाकर्षण गर्न चाहन्छौं जसले हामीलाई पठाउनुभएको छ। हामी उहाँका साक्षीहरू हौं! हाम्रो जीवनले उहाँलाई मात्र देखाएको होस् (प्रेरित १:८; यशैया ४३:१०; यूहन्ना ३:३०)।
  4. ख्रीष्ट यस संसारमा उहाँका अदृश्य प्रेषक (पठाउने व्यक्ति) को प्रतिनिधित्व गर्न पठाइनुभयो (यूहन्ना ५:३७; तुलना गर्नुहोस् यूहन्ना १:१८)। मानिसहरूले पितालाई देख्न सकेनन्, तर उनीहरूले ख्रीष्टलाई देख्न सके। ख्रीष्टले अदृश्य परमेश्वरको प्रतिनिधित्व गर्नुभयो। उसरी नै, हामीलाई पनि संसारमा अदृश्य ख्रीष्टको प्रतिनिधित्व गर्न पठाइएको छ (२ कोरिन्थी ५:२०)। संसारले शिरलाई देख्न सक्दैनन् (यूहन्ना १६:१०-"अनि तिमीहरूले मलाई फेरि देख्दैनौ") तर तिनीहरूले शरीरलाई देख्न सक्छन्, जोचाहिँ उहाँको मण्डली हो। कुनै पनि मानिसले ख्रीष्टलाई कहिल्यै पनि देखेको छैन (उहाँ स्वर्ग फर्कनु भएदेखि यता), तर उहाँलाई घोषणा गर्न र उहाँलाई चिनाउन मण्डली यस संसारमै छ (१ तिमोथी ३:१५-१६)।
  5. ख्रीष्ट यस संसारमा पठाइनुभयो यस हेतुले कि मानिसहरूले, उहाँलाई हेर्दा, उहाँलाई पठाउनुहुनेलाई देख्न सकोस् (यूहन्ना १२:४४-४५)। तुलना गर्नुहोस् यूहन्ना १४:९ ("जब तिमी मलाई देख्दछौ, तिमीले यथार्थमा पितालाई देखेका छौ जसले मलाई पठाउनुभयो")। उसरी नै, जब पुरूष वा स्त्रीहरूले हाम्रो जीवनलाई हेर्दछन् तब उनिहरूले हामीलाई पठाउनुहुनेलाई देखेको हुनुपर्दछ, हाम्रा प्रभु येशू सम्मै (गलाती २:२०; ४:१९; ५:२२-२३; १ कोरिन्थी १३:४-७)। "ख्रीष्टको सुन्दरता देखियोस् आत्मा जित्ने प्रयासमा; माध्यम भूली देखून् सबले केवल येशूलाई!" (केट विकिन्सन्) जसले हामीलाई यस संसारमा पठाउनुभयो उहाँको स्वरूपलाई हामीले प्रतिबिम्बित र प्रकट गर्न सकौं (हेर्नुहोस् २ कोरिन्थी ३:१८)।
  6. ख्रीष्ट यस संसारमा उहाँका जीवित पिताद्वारा पठाइनुभयो र उहाँलाई पठाउनुहुनेद्वारा नै उहाँ जिउनुभयो (यूहन्ना ६:५७)। उसरी नै, जीवित ख्रीष्टले हामीलाई पठाउनुभएको छ र हामी उहाँद्वारा बाँच्छौं। ख्रीष्ट हाम्रो जीवन हुनुहुन्छ (कलस्सी ३:३-४; फिलिप्पी १:२१)। हाम्रो जीवन उहाँमा केन्द्रित छ (गलाती २:२०) जसरी उहाँको जीवन पितामा केन्द्रित थियो। स्मरण होस्, एउटा साक्षीको हैसियतले हाम्रो प्राथमिक जिम्मेवारी भनेको ख्रीष्टको जीवनलाई प्रकट गर्नु र जान्ने तुल्याउनु हो (हेर्नुहोस् २ कोरिन्थी ४:१०-११)।
  7. ख्रीष्ट यस संसारमा आफ्‍नै वचन र शिक्षा नभएर उहाँलाई पठाउनुहुनेका वचन र शिक्षाका साथ पठाइनुभयो (यूहन्ना ३:३४; ७:१६; १२:४९-५०)। प्रभु येशूको शिक्षण तथा शिक्षामा मौलिकता थिएन। उहाँले सिकाउनु भएका सबै कुराहरू पिताबाटका थिए! उसरी नै, ख्रीष्टले पनि हामीलाई यस संसारमा पठाउनुभएको छ, हाम्रो आफ्‍नै सन्देश लैजान होइन तर ख्रीष्टको सुसमाचार सुनाउन र ख्रीष्टले आज्ञा गर्नुभएको सबै कुराहरूहरूलाई पालना गर्न सिकाउनलाई (मत्ती २८:२०)। सन्देशवाहकको काम मौलिक बन्नु होइन तर मात्र राजाको सन्देशलाई घोषणा गर्नु हो। हामी राजाहरूका राजाको सन्देश बोक्ने सन्देशवाहक बन्नुपर्छ (मर्कूस १६:१५; २ कोरिन्थी ५:१९-२०; २ तिमोथी ४:१-२)। सन्देश परमेश्वरबाटको हो। परमेश्वरले केही कुरा भन्नुभएको छ, हामीले त्यसलाई मात्र पुर्‍याइदिनुछ।
  8. ख्रीष्ट उहाँलाई पठाउनुहुनेबिना केही गर्न सक्नुभएन (यूहन्ना ५:३०)। उहाँ पूरै आफ्‍ना स्वर्गीय पितामा आश्रित हुनुहुन्थ्यो। उसरी नै, हामी पनि पूरै हामीलाई पठाउनुहुनेमाथि आश्रित छौं र उहाँबाट अलग भएर हामी केही पनि गर्न सक्दैनौं (यूहन्ना १५:५)। जसले हामीलाई पठाउनुभएको छ उहाँले नै हामीलाई हाम्रा मार्गका हरेक कदमहरूमा समर्थ तुल्याउनुपर्छ!
  9. ख्रीष्ट एक्लो हुनुहुन्नथ्यो, उहाँलाई पठाउनुहुने उहाँको साथमा हुनुहुन्थ्यो (यूहन्ना ४:३४; ९:४)। उसरी नै, हामीमा पनि एकजनाको प्रतिज्ञा छ जसले हामीलाई पठाउनुभएको छ; "म...तिमीहरूको साथमा छु" (मत्ती २८:२०); र तुलना गर्नुहोस् मर्कूस १६:२० र हिब्रु १३:५। जसले हामीलाई पठाउनुभयो उहाँ हामीमा पनि हुनुहुन्छ।
  10. ख्रीष्ट उहाँलाई पठाउनुहुनेको काम गर्न व्यस्त हुनुहुन्थ्यो (यूहन्ना ४:३४; ९:४) र जब उहाँको काम समाप्त भयो, उहाँलाई पठाउनुहुनेको घरमा सँगै बस्नको निम्ति उहाँ जानुभयो (यूहन्ना ७:३३; १६:५)। उसरी नै, हामी पनि सधैं हाम्रा प्रभु येशूको काममा प्रशस्तै हुँदै जानुपर्छ (१ कोरिन्थी १५:५८), र जब हाम्रो काम समाप्त हुन्छ तब हामीलाई पठाउनुहुनेको घरमा सँगै बस्नको निम्ति हामी जानेछौं (यूहन्ना १४:३; १७:२४; फिलिप्पी १:२३; २ तिमोथी ४:६-८)। अलग हुनु र ख्रीष्टसँग रहनु धेरै असल छ (फिलिप्पी १:२१; २ कोरिन्थी ५:८)।

जब हामी यस आज्ञालाई ध्यान दिन्छौं हामी एउटै कुरा मात्र भन्न सक्छौं; "प्रभु, यी कुराहरूका लागि को पर्याप्त छ र? यो हामी कसरी गर्न सक्छौं र? म यस आज्ञामा हर्षित छु तर जे असल छ त्यो म कसरी पूरा गर्ने त्यो म भेट्टाउन सक्दिनँ।"

यो कसरी गर्न सकिन्छ त? जब हामी यूहन्नाको सुसमाचारको अध्ययन गर्दछौं हामीले एउटा अचम्मको कुरा भेट्टाउँछौं। ख्रीष्टले हामीलाई पठाउनुभएको मात्र छैन, तर उहाँले अर्को एक व्यक्तिलाई पनि पठाउनुभएको छ: "तापनि म तिमीहरूलाई सत्य कुरा भन्दछु, म गएकोमा नै तिमीहरूलाई फाइदा छ; किनकि म गइनँ भने शान्तिदाता तिमीहरूकहाँ आउनुहुनेछैन; तर म गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाउनेछु" (यूहन्ना १६:७)। परमेश्वरको पवित्र आत्माबाट अलग भएर हामीले कहिले पनि हाम्रो काम (उहाँको आज्ञा) लाई पूरा गर्न सक्दैनौं। उहाँबाट मात्र हामीले ठीकसँग ख्रीष्टलाई चिनाउन सामर्थ्य प्राप्त गर्न सक्छौं (लूका २४:४९; प्रेरित १:८)। आज प्रत्येक विश्वासीभित्र पवित्र आत्मा हुनुहुन्छ (रोमी ८:९; यूहन्ना ७:३८-३९) जसको भरिपूर्णताद्वारा हामी "जसरी मेरा पिताले मलाई पठाउनुभएको छ, उसरी नै म पनि तिमीहरूलाई पठाउँछु" (यूहन्ना २०:२१) भन्ने हाम्रा प्रभुको वचनलाई गएर पूरा गर्न सक्नेछौं।