Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

ख्रीष्टियन जीवन र दुःखकष्टहरू (#१)

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

पद कण्ठ: अय्यूब ५:७; रोमी ८:१८-१९; हिब्रू १२:७-८; याकूब १:२-८

दुःखकष्ट आइपरेको देखेर विश्वासी जिल्ल पर्नु हुँदैन किनकि यो त ख्रीष्टियन जीवनमा एउटा आवश्यक कुरा हो भनेर बाइबलले खुलस्त बताएको छ। हामीलाई किन दुःखकष्ट आइपर्छ भन्ने कुरा समेत बाइबलले बताइदिएको छ।

दुःखकष्टहरू अनेकौं रूपमा आउने गर्छन्: रोग-बिमार लाग्नु र शारीरिक पीडा हुनु, मानसिक निराशा र अँध्यारोपनले छोपिनु, चीजबीच टुटफुट हुनु, खिइएर जानु, अभाव पर्नु, नोक्सानी भोग्नु, आशा टुट्नु, मनोरथ विफल हुनु, बदनाम गरिनु र अरूबाटको अन्य दुर्व्यवहारको शिकार बन्नु।

विश्वासीको जीवन परमेश्वरको नियन्त्रणमा हुन्छ जसरी आफ्नो चक्रका सामु कुमाले बस्दछन् अथवा जसरी एउटा किसानले आफ्नो दाखको बोटलाई छिमल्दछन् अथवा जसरी एउटा जुहारीले बहुमूल्य धातुलाई खार्दछन् (रोमी ८:२८)। उहाँ सुरुबाटै अन्तिम परिणाम जान्नुहुन्छ र हाम्रो जीवनमा उहाँका उद्देश्यलाई पूरा गर्न सक्ने बुद्धि र सामर्थ्य उहाँसित छ।

ऊ एउटा श्रापित संसारमा बाँचिरहेको हुनाले विश्वासीलाई दुःखकष्ट आइपर्छ (अय्यूब ५:७; रोमी ८:१८-२३)

यद्यपि हामीले मुक्ति पाएका छौं, हामी अझै पनि परमेश्वरले श्राप दिनुभएको संसारमा नै बाँचिरहेका छौं जसको फलस्वरूप हामी यहाँ आइपर्ने समस्याहरूको अधीनतामा नै छौं भन्ने कुरालाई यस महत्त्वपूर्ण खण्डले हामीलाई बिर्सन दिँदैन। हामी एक पापी संसारमा बाँचिरहेका पापीहरू हौं। पावलले यस वर्तमान जीवनलाई "विनाशको बन्धन", "ऐया-आत्था", "प्रसूति-वेदना", र "तड्पिरहेको" जस्ता शब्दले बयान गर्दछन्। यहाँ हामीलाई उत्पत्ति ३:१६-१९ को सम्झना गराइँदैछ जहाँ परमेश्वरले आदमको पापले गर्दा भूमिलाई श्राप दिनुभयो। परिणामस्वरूप हामीलाई झारपात, हिलोमैलो, ढुङ्गा-बालुवा, कीराफट्याङ्ग्रा, खिया, टुटफुट, क्षय, कठोर परिश्रम र पीडाको सामना गर्नु छ। परमेश्वरले दूरगामी परिणाम हुने गरी स्त्रीलाई पनि न्याय गर्नुभयो। "तेरो सुत्केरी-वेदना म ज्यादै गरी बढाइदिनेछु। दुःखसँग तैंले बालक जन्माउनेछस्। तेरो इच्छा पतितर्फ नै हुनेछ, र त्यसले तँलाई अधीनमा राख्‍नेछ" (उत्पत्ति ३:१६)।

दाँतको दुःखाइ जस्तो एउटा सानो कुरालाई विचार गर्नुहोस्। दाँत दुःख्‍ने भनेको प्रायः ज्यादा मीठाइ खाएर हुने गर्छ जसले दाँतलाई कुहाउने काम गर्छ। यो भनेको "मानिसले जे छर्छ त्यसैको कटनी पनि गर्नेछ" (गलाती ६:७) भन्ने सिद्धान्तको र हामी मर्दै गइरहेको एउटा नाशवान शरीरमा बाँचिरहेका छौं भन्ने तथ्यको नतिजा हो। स्वर्गमा यस्तो हुनेछैन! जीवन यस्ता दुःखकष्टले भरिभराउ छ। यस्ता कुरालाई लिएर परमेश्वरको विरुद्धमा गनगन गर्नु वा उहाँलाई शङ्का गर्नु बुद्धिमानी होइन। भन्ने नै हो भने, उहाँले हामीलाई हामीले पाउनु पर्ने भन्दा बढी नै दया देखाउनुहुन्छ।

यस पापले श्रापित संसारमा बस्दाको वास्तविकतालाई यसरी एउटा हास्यात्मक ढङ्गले व्यक्त गरिएको छ जसलाई मर्फीको नियम (Murphy's Law) भन्ने गरिन्छ: "गडबड हुन सक्ने जुनसुकै पनि कुरा गडबड भएर छाड्छ" (Whatever can go wrong will go wrong)।

हामी यस अवस्थाबाट फुत्कनेछैनौं जबसम्म ख्रीष्ट आउनुहुन्न, अर्थात् जबसम्म हामीले "शरीरको छुटकारा" पाउँदैनौं (पद २३)। यसले शारीरिक बौरिउठाइलाई जनाउँदछ। तबमात्र "शोक र सुस्केरा" को अवस्थालाई "रमाहट र आनन्द" ले विस्थापित गर्नेछ (यशैया ३५:१०)।

पापको र परमेश्वरको ताडनाको कारण विश्वासीले दुःखकष्ट आइपर्छ (हिब्रू १२:१-१३)

परमेश्वरले आफ्ना सन्तानलाई उनीहरूको पापको कारण ताडना दिने भएकोले विश्वासीले दुःख भोग्नुपर्ने हुन्छ (हिब्रू १२:१)। आफ्नो पापको कारण दाऊदले बेसरी दुःख पाए; तिनका अवैध सन्तान मरे र तिनका छोराहरूले विद्रोह गरे (२ शमूएल १२:१०-१२)। परमेश्वरले स्वीकार गरिएको पापलाई क्षमा त गर्नुहुन्छ, तर त्यसको असर भने अझै रहिरहन्छ। १२ कक्षा भ्याउने बित्तिकै स्नूकर खेल्ने ठाउँमा मैले आफ्नो पाँचओटा दाँत गुमाउनु परेको थियो। म प्रभुको विरुद्धमा विद्रोह गर्दै हिँड्दै थिएँ र त्यसको फल भोग्न थाल्दै थिएँ। २३ वर्षको उमेरमा मैले मुक्ति पाएँ तर मैले ती दाँत फिर्ता पाइनँ। कोरिन्थको मण्डलीमा कतिजना विश्वासीहरूले प्रभु-भोजको दुरुपयोग गरेका हुनाले तिनीहरू रोगी भए भने कोही मरे (१ कोरिन्थी ११:२९-३०)। परमेश्वरको प्रबन्धअन्तर्गत खटिएका अधिकारीहरूको कानूनी कारवाहीमा पर्नु पनि पापलाई ताडना दिने उहाँको एउटा उपाय हो (१ पत्रुस ४:१५)। परमेश्वरका जनहरूले कानून उल्लङ्घन गर्छन् भने उनीहरू दण्डबाट प्रतिरक्षित हुँदैनन्। भन्नुपर्दा, तिनीहरू नै पहिला पक्राइनलाई परमेश्वरले चाँजोपाँजो प्रायः मिलाउने गर्नुहुन्छ!

  1. परमेश्वरले गर्नुहुने पापको अनुशासन उहाँको प्रेमको काम हो (हिब्रू १२:६)
  2. परमेश्वरले गर्नुहुने पापको अनुशासन उन्नतिका लागि हो (हिब्रू १२:१०)। परमेश्वर एक असल पिता हुनुहुन्छ र उहाँले आफ्ना सन्तानलाई सुधार्नुहुन्छ। (के तपाईं एक असल पिता हुनुहुन्छ?)
  3. परमेश्वरले गर्नुहुने पापको अनुशासन मुक्तिको एउटा प्रमाण हो (हिब्रू १२:७-८)। "यदि अनन्त सुरक्षा साँचो हो भने विश्वासीले मनलाग्दी जिए भइहाल्यो नि" भनेर कोही-कोही भन्छन्, तर मनलाग्दी जिउनेहरूले आफूहरू कहिल्यै नयाँ गरी जन्मेका थिएनौं भन्ने कुराको प्रमाण दिइरहेका हुन्छन्।
  4. परमेश्वरले गर्नुहुने पापको अनुशासन आनन्दमय हुँदैन (हिब्रू १२:११)। यसलाई वाधा दिन सकिन्छ। हामीले हाम्रो जीवनमा प्रभुको अनुशासनलाई वाधा दिन सक्ने धेरै तरिका छन्। हामीले त्यसलाई तुच्छ ठान्न सक्छौं (हिब्रू १२:५), त्यसको कारण हताश हुन सक्छौं (हिब्रू १२:५), त्यसलाई अस्वीकार गर्न सक्छौं (हिब्रू १२:७), सेवा गर्न छाड्न सक्छौं ("लत्रिएका हातहरू", हिब्रू १२:१२), प्रार्थना गर्न छाड्न सक्छौं ("कमजोर घुँडाहरू", हिब्रू १२:१२), र बाटोबाट भड्किन सक्छौं (हिब्रू १२:१३)।
  5. मैले गर्नुपर्ने कर्तव्य भनेको आफ्नो पापलाई परमेश्वरका सामु स्वीकार गर्नु हो (भजनसङ्ग्रह ३८:१-४, १८)। यो भनेको आफ्नो पापलाई लुकाउनु वा त्यसको लागि बहाना बनाउनु वा अरूलाई दोष्याउनुको ठीक उल्टो कुरा हो।

उसको विश्वासको जाँच गरिनलाई विश्वासीलाई दुःखकष्ट आइपर्छ (याकूब १:२-८)

  1. दुःखकष्टहरूको एउटा प्रमुख उद्देश्य हाम्रो विश्वासलाई जाँच्नु हो। परमेश्वरले आफ्नो मूल्याङ्कनमा विश्वासलाई ज्यादै उच्च मूल्यको ठान्नुहुन्छ; बिना विश्वास उहाँलाई खुशी पार्नु असम्भव छ (हिब्रू ११:६)। ख्रीष्टियन जीवन नै विश्वासको बारेमा हो; यो "विश्वासदेखि विश्वाससम्म" को कुरा हो (रोमी १:१७)। आदम र हव्वाले परमेश्वरको विरुद्धमा जब पाप गरे र उनीहरूमाथिको उहाँको पूर्ण अधिकारलाई इन्कार गरे, तब परमेश्वरले आफूलाई मानव जातिदेखि लुकाउनुभयो र हामीले उहाँको वचनलाई विश्वास गर्नुपर्ने माग राख्‍नुभयो।
  2. विश्वास सँधै नै जाँचिन्छ। कसैले आफूले ख्रीष्टमाथि विश्वास गरेको कुरा स्वीकार गरेपछि त्यसको जाँच आउँछ नै। येशूले "ढुङ्गेनी जमिनहरूमा छरिएको बिउ" को बारेमा कुरा गर्नुभयो जुनचाहिँ तुरुन्तै उम्रन्छ तर "कष्ट" को कारण त्यो मरेर जान्छ (मत्ती १३:२०-२१)। हामीले जब नयाँ निर्णयहरू गर्दछौं त्यसपछि पनि जाँच आउँछ, जस्तै जब हामी मण्डलीप्रति विश्वासयोग्य हुने निर्णय गर्छौं वा दैनिक रूपमा बाइबल पढ्ने निर्णय गर्छौं वा दसौं अंश दिने निर्णय गर्छौं वा आयोजना गरिएको सुसमाचार प्रचारमा भाग लिने निर्णय गर्छौं। विश्वासमा आएका एकजना हिन्दूको मलाई याद आउँदछ जसले हिन्दूलाई विवाह नगर्ने निर्णय गरे किनकि उनी बेमेल जुवामा बाँधिन चाहँदैनथे। उनको विश्वास निकै जाँचियो जब उनका बाबु र दाजुले उनीमाथि दवाव दिन थाले। उनीहरूले विन्ती गरे, धम्की दिए, र ठूलै रकम समेतको प्रस्ताव राखे।
  3. त्यहाँ "नाना प्रकारका परीक्षाहरू" हुन्छन् (पद २)। समस्याहरू धेरै किसिमका रूपमा आउने गर्छन्। यहाँ शैतानका परीक्षाहरूको कुरा गरिएको होइन जसद्वारा त्यसले हामीलाई पाप गराउन खोज्न। यहाँ ती समस्या वा कष्टहरूको कुरा गरिएको हो जुनचाहिँ हाम्रो विश्वासलाई जाँच्न परमेश्वरद्वारा पठाइन्छन् वा उहाँको अनुमतिले आउँछन्।
  4. हामी परीक्षाहरूमा "पर्दछौं" (पद २)। हामीले सोच्दै नसोचेको बेलामा ती आउने गर्छन्।
  5. हाम्रो कर्तव्य भनेको धैर्य गर्नु हो र परमेश्वरलाई आफ्नो इच्छा पूरा गर्न दिनु हो। धैर्यता विश्वासद्वारा आउँछ (२ थेस्सलोनिकी १:४)। अनि दुवै नै परमेश्वरको वचनद्वारा आउने कुरा हुन् (रोमी १०:१७; १५:४)।
  6. दुईचित्ते बन्न सक्ने एउटा खतरा छ त्यहाँ (पद ६-८)। यसले शङ्का गर्ने, पछि हट्ने, आत्मिक रूपमा अस्थिर बन्ने कुरालाई जनाउँदैछ।
  7. परमेश्वरले हरेक घडी सिद्ध विश्वास हुनैपर्छ भन्ने माग राख्‍नुहुन्न; केवल हामी आफ्ना शङ्कामाथि विजयी भएका र हामीले उहाँको सेवा गर्न नछोडेका उहाँ चाहनुहुन्छ। अब्राहाम र सारालाई नयाँ नियममा विश्वासका वीरका रूपमा कदर गरिएका छन् (हिब्रू ११:११, १७), तर उनीहरूको जीवनको एउटा घडीमा परमेश्वरको प्रतिज्ञा सुनेर दुवैजना हाँसेका थिए (उत्पत्ति १७:१७; १८:१२)। पछि उनीहरू आफ्नो शङ्कामाथि विजयी बने र पछि गएर विश्वासका वीरहरूको नामाङ्कन गरिँदा उनीहरूले पनि स्थान पाए। शाऊलद्वारा खेदो गरिएका दाऊद र शैतानद्वारा पीडीत भएका अय्यूबको सवालमा पनि यही कुरा पाउँछौं।

आत्मिक उन्नति गराउनलाई विश्वासीलाई दुःखकष्ट आइपर्छ (रोमी ५:१-५)

  1. सङ्कष्ट सामान्य ख्रीष्टियन जीवनको एउटा भाग नै हो (रोमी ५:३)। "सङ्कष्ट" भनेर अनुवाद गरिएको ग्रीक शब्द (थ्लिप्सीस) को माने थिच्नु हो। यसले हरेक प्रकारको दुःखकष्टलाई जनाउँछ। यसलाई अन्य ठाउँमा "कष्ट" (मत्ती १३:२१, १ कोरिन्थी ७:२८), "प्रसूति-वेदना" (यूहन्ना १६:२१), "भार पर्नु" (२ कोरिन्थी ८:१३) भन्ने शब्दले अनुवाद गरिएको छ।
  2. हाम्रो कर्तव्य भनेको आफूलाई ठीक मनोभावनामा राख्‍नु हो। "आनन्द मनाउँछौं" को माने कुनै कुरामा निर्धक्क हुनु वा भरोसा गर्नु हो (१ कोरिन्थी १:३१; ३:२१; ४:७)। यसको ग्रीक शब्द "काउखाओमाइ" लाई "गर्व गर्नु" भनेर पनि अनुवाद गरिएको छ (रोमी २:१७,२३)। आफ्नो मार्गमा जस्तोसुकै कष्ट आए पनि विश्वासी परमेश्वरमा निर्धक्क रहनुपर्छ।
  3. यदि विश्वाससहित त्यसलाई लिइयो भने सङ्कष्टले ख्रीष्टियन जीवनमा अनुभव दिलाउँछ जसको कारण विश्वासी अरूका लागि आशिषको बन्न सक्दछ।
  4. यदि विश्वासहित त्यसलाई लिइयो भने सङ्कष्टले परमेश्वरमाथि अझ निर्धक्क बनाउँदछ (रोमी ५:४-५, "आशा")।
  5. यदि विश्वासहित त्यसलाई लिइयो भने सङ्कष्टले आत्मिक रूपमा बढाउँदछ (रोमी ५:३-५)। सुनलाई खार्न आगो चाहिन्छ। पाको विश्वासीलाई कदर गर्नुपर्ने एउटा कारण यो हो।

  6. पृष्ठ संशोधन मिति: Sunday 16-Oct-11
    WordofTruth.com.np © 2017