Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

ख्रीष्टियन जीवन र दुःखकष्टहरू (#२)

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

पद कण्ठ: २ कोरिन्थी १:८-९; २ कोरिन्थी १२:७-१०; २ तिमोथी ३:१२

अघिल्लो पाठमा हामीले ख्रीष्टियन जीवनमा आइपर्ने दुःखकष्टका चारओटा कारणहरू अध्ययन गर्‍यौं: (१) हामी एक श्रापित संसारमा बाँचिरहेका छौं, (२) परमेश्वरले पापको निम्ति ताडना दिनुहुन्छ, (३) विश्वासको जाँच, र (४) आत्मिक उन्नति। यस पाठमा हामी दुःखकष्टका अरू पाँचओटा कारणहरू अध्ययन गर्नेछौं।

उसले अरूलाई मद्दत गर्न सकोस् भन्ने हेतुले विश्वासीलाई दुःखकष्ट आइपर्छ (२ कोरिन्थी १:३-४)

कष्टदायी अनुभवहरूबाट सिकेका पाठहरूद्वारा हामीले अरूलाई मद्दत गर्न सक्नु हाम्रा दुःखकष्टको अर्को कारण हो। हामीले परमेश्वरको अनुग्रह र सान्त्वना अनुभव गरेका छौं भने हामीले अरूलाई सान्त्वना दिन सक्नेछौं। मेरो ३७ वर्षको ख्रीष्टियन जीवनमा सामना गर्नुपरेको हरेक परीक्षाले मलाई अरूलाई हौसला दिन मद्दत मिलेको छ।

उसले आफैमाथि भरोसा नराखोस् भन्ने हेतुले विश्वासीलाई दुःखकष्ट आइपर्छ (२ कोरिन्थी १:८-९)

दुःखकष्टद्वारा परमेश्वरले हाम्रो आत्मविश्वासलाई तोड्नुहुन्छ र हामीलाई उहाँमा भरोसा गर्न बाध्य तुल्याउनुहुन्छ। परमेश्वरले विशेषरूपमा चलाउनुहुने हरेक व्यक्ति यो प्रकृया भएर जानैपर्छ। मिस्रदेशमाथि उच्च अधिकारीको पदमा पदोन्नती गरिनुअघि, यूसुफले १३ वर्षसम्म दुःख भोग्नुपर्‍यो। इस्राएललाई नेतृत्व गर्न तयार बनाइनुअघि मोशाले उजाडस्थानको एउटा कुनामा बसोबास गर्दै ४० वर्षसम्म दुःख भोग्‍नुपर्‍यो। शाऊलको खेदोबाट लुक्दै-भाग्दै दाऊदले ६ वर्षसम्म दुःख भोग्‍नुपर्‍यो। ती दुःखकष्ट र पर्खाइ आत्मिक शुद्धिकरणको प्रकृया थिए।

उसलाई नम्र बनाउने हेतुले विश्वासीलाई दुःखकष्ट आइपर्छ (२ कोरिन्थी १२:७-१०)

घमन्ड पुरानो, पतित शरीरको अवगुण हो (मर्कूस ७:२१-२२)। सबभन्दा मूर्ख, अज्ञानी मान्छेसमेत घमन्डी बन्न सक्छ, अनि मान्छे जति सफल बन्छ त्यति नै उसले घमन्डसित लड्नुपर्ने हुन्छ। चार्ल्स स्पर्जनले आफ्नो सबभन्दा ठूलो लडाइँ घमन्डसितको हुने गरेको बताए। परमेश्वरले हामीलाई नम्र तुल्याउने उद्देश्यमा दुःखकष्टहरू पठाउने गर्नुहुन्छ। हामीलाई घमन्डदेखि जोगाउन कतिओटा परिस्थितिहरू उहाँले सृजना गर्नुहुन्छ, कतिओटा कुराहरू हाम्रा जीवनमा पठाउनुहुन्छ भन्ने कुरा प्रभु मात्र जान्नुहुन्छ।

दुःखकष्टलाई कसरी लिइनुपर्छ भन्ने कुरा हामीलाई पावलले सिकाउँछन्। पहिलो, उहाँको इच्छा भए त्यसलाई हटाइयोस् भनेर हामीले प्रार्थना गर्नुपर्छ। उनको शरीरको काँडा हटाइयोस् भनेर पवालले परमेश्वरले तीनपटक विन्ती गरे। दोस्रो, हामीले आफूलाई परमेश्वरको अधीनतामा सुम्पनुपर्छ र उहाँको इच्छालाई स्वीकार्नुपर्छ। पावलले परमेश्वरसँग प्रार्थना गर्दा, जबरदस्ती गर्न खोजेनन्; उनले केवल सहायता मागे। प्रार्थना गर्ने बाइबलीय तरिका यो हो। यसरी नै प्रभु येशू आफैले पनि प्रार्थना गर्नुभयो (लूका २२:४२)। परमेश्वरले पावललाई उसको कष्ट हटाउने उहाँको इच्छा नभएको कुरा जब प्रकट गर्नुभयो, पावल परमेश्वरसँग चिढिएनन् र उक्त समस्या हटाइयोस् भनेर अझै विन्ती गर्ने काम गरेनन्; उनले सिर्फ आफूलाई परमेश्वरको अधीनतामा सुम्पे। उनले यो आत्मिक सिद्धान्तलाई बुझे, "जब म कमजोर छु, तब म बलियो हुन्छु"।

प्रत्येक रोग चङ्गाइ हुनु परमेश्वरको इच्छा हो भनेर विश्वास गर्ने कतिपय पेन्टेकोस्टलहरूले पावलको दुर्बलताको तात्पर्य रोग होइन भन्ने तर्क राख्छन्, तर २ कोरिन्थी १२:९ मा "दुर्बलता" भनेर अनुवाद गरिएको ग्रीक शब्द (आस्थेनेइया) लाई अन्य ठाउँमा "रोग" (मत्ती ८:१७, यूहन्ना ११:४) र "बिरामी" (प्रेरित २८:९) भन्ने शब्दले अनुवाद गरिएको छ।

सतावटको कारणले विश्वासीलाई दुःखकष्ट आइपर्छ (२ तिमोथी ३:१२)

उसले ख्रीष्टमाथि विश्वास राखेको कारणले विश्वासीले दुःखकष्ट भोग्दछ। हामी शत्रुको इलाकाभित्र हिँडिरहेका छौं जुन शत्रुले परमेश्वरलाई र परमेश्वरमाथि विश्वास गर्नेहरूलाई घृणा गर्दछ। कति हिसाबमा हामीले मुक्ति पाएपछि पहिलाभन्दा बढी दुःख भोग्दछौं! किनकि हाम्रा अब नयाँ शत्रुहरू छन् जो पहिला थिएनन्: संसार, शरीर र शैतान। मुक्ति पाउनुअघि यी हाम्रा मित्र थिए। अब ती हाम्रा शत्रु भएका छन्। पावल प्रेरित उनका यहूदी देशवासीहरूद्वारा र उनले ख्रीष्टको प्रचार गरेका मूर्तिपूजकहरूद्वारा बेसरी सताइए। २३ वर्षको उमेरमा म नयाँ जीवनमा परिवर्तित हुँदा म आफ्ना पुराना मित्रहरूद्वारा, मेरो अफिसका सहकर्मीहरूद्वारा र अविश्वासी आफन्तहरूद्वारा सताइन थालेँ। यसमा हामीले अचम्म मान्नु पर्दैन।

जुन बेला हामीले ख्रीष्टको आज्ञापालन गर्दछौं र मुक्ति नपाएकाहरूलाई सुसमाचार प्रचार गर्दछौं त्यतिबेला हामीले विशेष गरी सतावट भोग्नुपर्ने हुन्छ। जब ज्योति चम्कन्छ, तब ज्योतिलाई घृणा गर्नेहरूले त्यसको विरोधमा आवाज उठाई छोड्छन्!

शैतानका आक्रमणहरूले गर्दा विश्वासीलाई दुःखकष्ट आइपर्छ (अय्यूब २:३-६)

उहिलेको अय्यूबले जस्तै विश्वासीले शैतानको हातबाट पनि दुःख भोग्दछ। त्यो हाम्रो शत्रु हो र उसको उद्देश्य भनेको हामीलाई निरुत्साहित पार्नु र हामीलाई नष्ट गर्नु हो (१ पत्रुस ५:८)।

शैतानले, अय्यूबको सवालमा जस्तै, उसलाई जति अनुमति दिइएको छ त्यतिसम्म मात्र गर्न सक्दछ भन्ने कुरा हामीले बिर्सनु हुँदैन, तर परमेश्वरले कष्ट आउन दिनुभएकोमा हामी परमेश्वरसित रिसाउनु हुँदैन। उक्त कष्टद्वारा शैतान हाम्रो विनाश चाहन्छ तर परमेश्वरले त्यसद्वारा हाम्रो भलाइ र उहाँको महिमा होस् भनेर त्यसलाई आउन दिनुहुन्छ। अय्यूबले यो कुरा बुझेका थिएनन् र उनी रिसाए र अलमलमा परे, तर हामीलाई उनलाईभन्दा बढी प्रकाश दिइएको छ र हामी परमेश्वरको चरित्रलाई दोष्याउन खोज्ने शैतानका झूटहरूलाई विश्वास गर्नेसम्मको मूर्ख बन्नुहुँदैन।

साथै शैतानलाई कुनै ठाउँ दिने काम नगर्नु विश्वासीका लागि ज्यादै महत्त्वपूर्ण कुरा छ। पाप स्वीकार नगर्दा हामीले शैतानलाई ठाउँ दिन्छौं (एफेसी ४:२२-३०)। साथै मूर्तिपूजासँग सङ्गत गर्दा हामीले त्यसलाई ठाउँ दिएका हुन्छौं (१ कोरिन्थी १०:२०-२१; २ कोरिन्थी ६:१४-१७)। म नयाँ विश्वासी हुँदा मैले शैतानसँग सम्बन्धित मेरा किताबहरूलाई र सङ्गीतहरूलाई र अन्य कुराहरूलाई नष्ट गरेँ किनकि "यस संसारको ईश्वर" सँग मेरो कुनै सरोकार राख्‍न चाहिनँ।

परमेश्वरका उद्देश्यहरू पूरा होस् भन्ने हेतुले विश्वासीलाई दुःखकष्ट आइपर्छ (यूहन्ना ९:१-३)

फेनी क्रस्बी सानैदेखि अन्धी थिइन्, र उनको जीवन र उनका गीतहरू अनगिन्ती मानिसका लागि आशिष र चुनौती बनेका छन्। युवावस्थामा तिनले लेखिन्:

ओहो, कति आनन्द छ मलाई
यद्यपि म देख्‍न सक्दिनँ
अठोट म गर्दछु यो
संसारमा सन्तुष्ट रहन!

कति धेरै छन् आशिष मेरा
जो छैनन् अरूसित
अन्धी भएकीले रून, सुस्केरा हाल्न
अहँ सक्दिनँ, त्यस्तो म गर्दिनँ।

निष्कर्ष

  1. दुःखकष्टहरू ख्रीष्टियन जीवनमा आवश्यक कुरा हुन्, तर हाम्रो दुःखकष्ट थोरै दिनका लागि मात्र हुन्। यो "केही समयका निम्ति" (१ पत्रुस १:६) हो। पछिको "सदा रहने भारी महिमा" को तुलनामा हाम्रो सङ्कष्ट "छिनभरको" मात्र हो (२ कोरिन्थी ४:१७)।
  2. कैयौंपटक हामीले आफ्ना सङ्कष्टहरूका कारण जान्नेछैनौं; हामीले केवल परमेश्वरमाथि भरोसा राख्‍नुपर्ने हुन्छ। अय्यूब यस कुराका प्रमुख उदाहरण हुन्। भजनसङ्ग्रहहरूमा "किन" भन्ने शब्द १५ पटक उल्लेख भएको छ (भजनसङ्ग्रह १०:१; २२:१; ४२:९; ४३:२; ४४:२३; ७४:१,११; ८८:१४)।
  3. परमेश्वरको योजनामा दुःखकष्टहरू प्रायः बहुउद्देशीय हुन्छन्। जस्तै, कुनै रोगबिमार वा कुनै कठीन परिस्थिति धैर्य र नम्रता सिकाउनलाई, सांसारिकपनबाट अलग गराउनलाई, हृदयलाई परमेश्वरको नजिक खिँच्नलाई, विश्वास बढाउनलाई र अरूलाई सिकाउन प्रयोग गर्ने सक्ने त्यस्ता पाठहरू उसलाई सिकाउनलाई आएको हुन सक्छ।
  4. हामी दुःखकष्टका समयहरू भएर जाने गर्छौं (१ पत्रुस ५:१०)। यो बोटबिरुवाको जीवनचक्रसित तुलना गर्न सकिन्छ। जस्तै, हामी बस्ने दक्षिण एशियाको पहाडी इलाकामा खेती गरिने चियाको बोटलाई लिऊँ। ती बोटका गजबका जीवनचक्रहरू हुन्छन्। ती बढ्छन् र पातहरू फैलाउँछन् र ती पात टिपिन्छन्; अनि समय-समयमा ती बोटहरूलाई बेसरी छिमलिन्छ, मानौं बोटहरू त मरे कि जस्तो लाग्न सक्छ, तर ती मरेका हुँदैनन्। बरु गुणस्तरीय चिया उत्पादन गर्न सकोस् भन्ने हेतुले ती बोटहरू एउटा आवश्यक चरण भएर जाँदैछन्। ख्रीष्टियन जीवन पनि यस्तै हुन्छ। हामी त्यस्ता अवधिहरू भएर जान्छौं जुन बेला हामीलाई हाम्रो आत्मिक जीवन मरेको जस्तो लाग्न सक्छ र "के भइरहेको होला" र "परमेश्वर कहाँ हुनहुन्छ होला" भन्ने कुराहरू हामीलाई बुझ्न गाह्रो लाग्न सक्छ। तर त्यस्ता समयहरू सधैं रहिरहन्नन्। परमेश्वर, महान् किसानले हामीले अझ फल फलाओस् भन्ने हेतुले हामीलाई छिमल्दैहुनुहुन्छ र तयार पार्दैहुनुहुन्छ (यूहन्ना १५)। हाम्रो कर्तव्य भनेको ती सबै चरणहरू भएर जाँदा विश्वासयोग्य रहनु हो, हाम्रो विश्वास उहाँमाथि राखिरहनु हो। यो प्रकृया रातारात हुने होइन। भन्नुपर्दा, हाम्रो जीवनभित्र विभिन्न कुराहरूको काम गर्नलाई परमेश्वरलाई वर्षौं लाग्न सक्छ, दशकौंसमेत।
  5. यदि तपाईं ख्रीष्टलाई चिन्नुहुन्न भने, तपाईंलाई यस संसारमा दुःखकष्टहरू हुनेछन् र झन् पछि सदाका लागि झन् ठूला दुःखकष्टहरू हुनेछन्।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course - 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो "एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू" शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9851-055734, 9818-399206; मूल्य: नेरू ३०० मात्र।


पृष्ठ संशोधन मिति: Sunday 16-Oct-11
WordofTruth.com.np © 2017