अचम्मको देहधारण

यस पृष्ठलाई छाप्नुहोस्

परमेश्वर एक मानव बन्नुभयो!

"वचन शरीर हुनुभयो अनि हाम्रा माझमा...वास गर्नुभयो"
(यूहन्ना १:१४)

"परमेश्वर शरीरमा प्रकट हुनुभयो"
(१ तिमोथी ३:१६)

जर्ज जेलर

विचार गर्नुहोस्, देहधारण कति अचम्मको कुरा थियो। बाइबलले यसको बयान ज्यादै सरल भाषामा गरेको छ:

"वचन परमेश्वर हुनुहुन्थ्यो...अनि वचन शरीर हुनुभयो अनि हाम्रा माझमा...वास गर्नुभयो (यूहन्ना १:१,१४)।

असीम परमेश्वर एक मानव बन्नुभयो। अनन्ततामा बास गर्नुहुने, समयको घेराभित्र प्रवेश गर्नुभयो (गलाती ४:४)। परमेश्वर जसको शरुआत नै थिएन, जो सधैंदेखि हुनुहुन्थ्यो, एक बालक भई जन्मनुभयो (मीका ५:२; यशैया ७:१४; ९:६)। सर्वशक्तिमान्, एक शिशु बन्नुभई मरियमको काखमा आश्रय लिनुभयो। सर्वस्वका सृष्टिकर्ता पशुको एउटा खाने भाँडोमा लेटाइनुभयो (लूका २:१२)। जो "अग्लो र उच्च सिंहासनमा विराजमान" हुनुहुन्थ्यो (यशैया ६:१), उहाँ लपेट्ने लुगाहरूले बेरिएर एउटा सानो डुँडमा राखिनुभयो र त्यसपछि नम्र गोठालाहरूद्वारा स्वागत गरिनुभयो।

सायद देहधारण सम्बन्धी सबैभन्दा अचम्मको कुरा यो थियो कि यसद्वारा अमरता पहिरहनुभएको परमेश्वर मृत्युको स्वाद लिन सक्ने तुल्याइनुभयो! जीवित परमेश्वर त मर्न सक्नुहुन्न। मानिस पापको कारण मृत्युको योग्य थियो, त्यो अनिवार्य थियो (रोमी १:३२; ६:२३), जसले गर्दा मानिस अनन्त कालसम्म परमेश्वरको जीवनदेखि बञ्चित हुनुपर्ने थियो (यशैया ५९:२; २ थेस्सलोनिकी १:८-९)। परमेश्वरले आफ्नो प्रेममा, आफ्नो न्यायपरायणतामाथि र धार्मिकतामाथि कुनै आँच नपुग्ने गरी, पापी मानिसको उद्धार गर्ने उपाय रच्नुभयो। उहाँले मानिसको सट्टामा, पापी मानिसका निम्ति आफैं मृत्यु-दण्ड भोगिदिने उपाय गर्नुभयो। यो सम्भव गराउन, परमेश्वर आफैं मानिस बन्नुपर्ने भयो र "यसरी उहाँले परमेश्वरको अनुग्रहद्वारा प्रत्येक मानिसका निम्ति मृत्युको स्वाद चाख्नुनभयो" (हिब्रू २:९)। अमर त मर्न सक्नुहुन्न, तर परमेश्वरले आफूमा हाम्रो मनुष्यत्व धारण गर्नुभयो अनि उहाँ ईश्वर-मानव (God-Man) भइकन मर्न सक्नुहुन्थ्यो र उहाँ त्यसरी हाम्रा पापका लागि मर्नुभयो (१ कोरिन्थी १५:३; १ पत्रुस ३:१८)।

हो, उहाँ मर्नलाई जन्मनुभएको थियो। पापीहरूलाई मुक्ति दिनलाई उहाँ यस संसारमा आउनुभएको थियो (१ तिमोथी १:१५; यूहन्ना ३:१७), र उक्त उद्धार-कार्य उहाँले बेतलेहेमको डुँडबाट पूरा गर्नुभएन तर गलगथाको क्रूसमा सम्पन्न गर्नुभयो। उहाँको जन्मले उहाँको मृत्यु सम्भव गरायो; उहाँको मृत्युले हाम्रो मुक्ति सम्भव गरायो। बाइबलले यस कुराको बयान यसरी गरेको छ: "किनकि तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह जान्दछौ - उहाँको गरिबीद्वारा तिमीहरू धनवान् होओ भनेर उहाँ धनवान् भएर पनि तिमीहरूका निम्ति गरिब हुनुभयो" (२ कोरिन्थी ९:८)।

देहधारणको महत्त्वलाई कसैले गलत नबुझोस्। परमेश्वर शरीर बन्नुभयो, र परमेश्वर एक मानव बन्नुभयो, तर उहाँ त्यतिखेर पुत्र बन्नुभएको चाहिँ होइन। उहाँ "मासु र रगतका भागीदार" हुनुभयो, र उहाँ "आफ्ना भाइहरूसमान" हुनुभयो (हिब्रू २:१४,१७), तर उहाँ देहधारणद्वारा परमेश्वरको पुत्र बन्नुभएको भने होइन। यूहन्नाको पहिलो अध्यायले बताउँछ कि अनन्तको वचन शरीर हुनुभयो (पद १,१४)। पावल लेख्छन्, पुत्र "शरीरअनुसार दाऊदको वंशबाट जन्मनुभयो" (रोमी १:३)। जो सधैंदेखि परमेश्वरका पुत्र हुनुहुन्थ्यो, उहाँ मानव जन्मद्वारा दाऊदका पुत्र हुनुभयो। अनन्त परमेश्वर, दाऊदको घराना र वंशमा जन्म लिनुभई एक मानव बन्नुभएको हो। अनन्त परमेश्वर, परमेश्वरका पुत्र बन्नुभएको चाहिँ होइन।

प्रभु येशूले एकपल्ट फरसीहरूलाई एउटा प्रश्न सोध्नुभयो जसको उत्तर उनीहरूले दिनै सकेनन्: "ख्रीष्ट (मसीह) को विषयमा तिमीहरूको के विचार छ? उनी कसका पुत्र हुन्?" तिनीहरूले उहाँलाई भने: "दाऊदका पुत्र।" उहाँले तिनीहरूलाई भन्नुभयो: "त्यसो भए कसरी दाऊदले आत्मामा उनलाई यसो भन्दै(भजनसङ्ग्रह ११०:१ मा) 'प्रभु' भने त?" (मत्ती २२:४२-४५)। यस प्रश्नले फरसीहरूको मुख चूप गरायो, तर वर्षौं पछाडि यही प्रश्नको उत्तर अर्को फरसीले दिए जसका आँखा परमेश्वरको अनुग्रहले खोलिएका थिए। उक्त जवाफ पावल प्रेरितद्वारा दिइएको छ जनुचाहिँ रोमी १:३-४ मा भेट्टाउन सकिन्छ। मसीह कसका पुत्र हुन्? उहाँको मनुष्यत्वले ("शरीरअनुसार") उहाँ दाऊदका पुत्र हुनुहुन्छ (रोमी १:३)। उहाँको ईश्वरत्वले उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ (रोमी १:४) जसले गर्दा उहाँ दाऊदका प्रभु हुनुहुन्छ। उहाँले आफू जो हुँ भनी दाबी गर्नुभएको थियो त्यसलाई उहाँको बौरिउठाइले पूरै प्रमाणित गरेको छ।

प्रभु येशू देहधारणले परमेश्वर बन्नुभएको होइन, न ता पुत्र बन्नुभएको हो। देहधारणद्वारा परमेश्वरका अनन्त पुत्रले हाम्रो मनुष्यत्व धारण गर्नुभयो तर परमेश्वर हुन छाड्नुभएन। हामी, मानिसका पुत्रहरू, परमेश्वरका पुत्रहरू [सन्तान] बनिन सकौं भनेर परमेश्वरका पुत्र मानिसका पुत्र बन्नुभयो (यूहन्ना १:१२; गलाती ३:२६)। हामीलाई यति माथि उकास्न उहाँ त्यति तल होचिन राजी गराउने उहाँको कृपालु प्रेम र अनुग्रह सम्झेर हामी उदेक मान्न कहिल्यै नछोडेका होऔं, प्रशंसा गर्न कहिल्यै नबिर्सेका होऔं! "हेर त, पिताले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ - हामी परमेश्वरका सन्तान कहलिँदछौं" (१ यूहन्ना ३:१)।