Εmail
Name
भिडियोहरू
नरकको आगो
प्रीतिको मालिक
परमेश्वर र विज्ञान
नयाँ सामग्री

विदेशी रोजगार सम्बन्धी चेताउनी

यस पृष्ठलाई छाप्नुहोस्

डेविड क्लाउड

परमेश्वरका छोराछोरीहरूले हरेक महत्त्वपूर्ण निर्णय असल सल्लाह लिएर मात्र गर्नुपर्छ भनेर बाइबलले सिकाउँछ (हितो. १२:१५; १३:१८; २०:१८)। आफ्नै समझमाथि भर नपरीकन उसले परमेश्वरको बुद्धि खोज्नुपर्छ (हितो. ३:५-६)।

विदेशी रोजगारको सम्बन्धमा एक ख्रीष्टियनलाई बाइबलीय सल्लाहहरू यस प्रकार छन्:

१. तपाईंले मण्डलीलाई त्याग्नुहुँदैन (हिब्रू १०:२५)। एउटा बाइबलीय मण्डली छोडेर असल मण्डली नै नभएको ठाउँमा जानु विश्वासीको लागि परमेश्वरको इच्छा होइन। विदेश जाने धेरैजसो मानिसहरूले असल मण्डली पाउँदैनन्। आत्मीय खाँटी ख्रीष्टियानहरूको सङ्गत पाउँदैनन्। मण्डली पाइएको खण्डमा प्राय: कमजोर खाले वा क्यारिज्म्याटिक मण्डली पाइन्छ। साथै सभाहरू साधारणतया अङग्रेजीमा सञ्चालन हुने गर्छन् जब कि विदेश जाने प्राय: नेपालीहरूले बाइबलीय शिक्षालाई बुझ्न सक्ने गरी राम्रोसित अङग्रजी जानेका हुँदैनन्।

२. तपाईंले परिवारप्रतिको आफ्‍ना जिम्मेवारीहरूलाई त्याग्नुहुँदैन। पति आफ्नी पत्नीसँगै बस्नुपर्छ र उनलाई बेवास्ता गर्नु हुँदैन (१ कोरिन्थी ७:३-५; १ पत्रुस ३:७)। उसले आफ्नो छोराछोरीलाई तालिम दिनुपर्छ (एफेसी ६:४)। विदेश बसेर यी कुराहरू गर्न सम्भव छैनन्। कामको लागि विदेश गएर कति ख्रीष्टियान पुरुषहरूले आफ्ना छोराछोरीलाई संसारको हातमा गुमाएका छन्। कतिले आफ्ना पत्नीहरूलाई परपुरुषहरूका हातमा गुमाएका छन्। १ तिमोथी ५:८ लाई उल्लङ्घन गर्दै कतिपय पतिहरूले आफ्ना पत्नीहरूलाई जिउनलाई पर्याप्त खर्च बिना छोडेर जान्छन्।

३. तपाईंले संसारको तरिका पछ्याउनुहुँदैन (यर्मिया १०:२; मत्ती ६:३२)। सबै थोकभन्दा पहिला पैसाको खोजी गर्नु संसारको तरिका हो। ख्रीष्टलाई चिन्ने विश्वासीसँग त यो भन्दा ठूलो बुद्धि हुनुपर्छ। पैसा नै जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा होइन भनेर उसले जानेको हुन्छ।

४. धनको खोजी गर्नुमा खतरा छ (हितोपदेश २३:४-५; २८:२०; १ तिमोथी ६:६-११)। लोत सदोममा बसाइ सरे र धनको खोजीमा सदोमको दुष्टताप्रति आफ्‍ना आँखा चिम्ले, अनि उनले सब थोक गुमाए। पहिला उनले सदोमनेरको जग्गाजमिनको चाह गरे र सदोम नजिक बस्न गए (उत्प. १३:१०-१२)। सदोमका मानिसहरू साह्रै दुष्ट छन् भन्ने कुरालाई उनले वास्तै गरेनन् (उत्प. १३:१३)। आफ्नो परिवार हुर्काउनलाई यो राम्रो ठाउँ होइन भनेर लोतले जान्नुपर्थ्यो, तर लोभले उनी अन्धा बनेका थिए। चाँडै उनी सदोममै बस्न थाले (उत्प. १४:१२)। त्यसपछि उनी सदोमका एक गन्नेमान्ने व्यक्ति वा न्यायधीष बने (उत्प. १९:१)। उनी मूलढोकामा बसेका कुराले उनी शहरका एक मुख्य मान्छे थिए भन्ने कुरा देखाउँछ। सदोममा बसेकाले र परमेश्वरको आज्ञा नमानेकाले लोतले आफ्ना विवाहित छोराछोरीहरू र पत्नी गुमाए, र उनका अविवाहित छोरीहरूले आफ्नै बुबासँग व्यभिचार गरे (उत्प. १९:१४, २६, ३०-३८)। लोतले सदोमको दुष्टता मन पराएका त थिएनन् (२ पत्रुस २:८), तर परमेश्वरको इच्छाभन्दा उनले पैसालाई बढी प्रेम गरेका थिए।

५. छिटो धन कमाउने प्रतिज्ञा झूटो हो (हितोपदेश १३:११; २८:२२)। हरेक “छिटो धनी हुने” योजना झूटो हो जसले हानि ल्याइपुर्याउँछ। एउटा बुद्धिमानी अाहान छ, “यदि कुनै कुरा पत्याउनै नसक्ने गरी बढी राम्रो सुनिन्छ भने, त्यो साँच्चै पत्याउनै नहुने कुरा हुनुपर्छ!” छिटो धनी बन्ने यस्ता सपनामा धेरैजना फस्छन् किनकि लोभले उनीहरूलाई अन्धा बनाउँछ र उनीहरू असल सल्लाह सुन्न मान्दैनन्। जस्तै, केही विश्वासीहरू ‘ग्रीन टी’ (हरियो चिया) व्यापारको पछि लाग्दा ऋणमा डुबे। ग्रीन टीले लगभग सबै कुरा निको हुन्छ भनेर विज्ञापन गरिन्छ। मूल व्यक्त्तिले चिया बेच्ने मान्छेहरू बटुल्छन् र जति मान्छे बटुल्यो त्यति नै उनी धनी बन्ने सपना देख्छन्। तिनलाई यो भान पर्छ कि अब आनन्दसाथ बसेर पैसाको खोलो बगेर आएको देख्न पाइन्छ किनभने सबजना यो काममा लाग्नेछन्! समस्या यो हो कि (१) नेपालीहरूलाई हरियो चियामा त्यति चासो छैन, (२) त्यही चीज बजारमा चार गुणा सस्तो मूल्यमा पाइन्छ, (३) यो काममा छिर्नु र चिया किन्नु धेरै खर्चिलो छ, (४) मान्छेले यस योजनामा कमाएको भन्दा बढी पैसा गुमाउँछन्। एकजना ख्रीष्टियानले यस धन्दामा छिर्न लगभग ३ लाख ऋण लिए र केही पाएनन्।

अर्को धन्दा छ जसमा सुरुमा करिब रू ५०,००० मागिन्छ। तपाईंलाई प्रेसर कुकर, डेक्ची, कराही र यस्तै केही चीजहरू दिइन्छ, र तपाईंलाई भनिन्छ यी सर्वोत्तम गुणस्तरका सामान हुन्, बजारमा पाइने भन्दा उच्चकोटीका हुन्। मान्छेहरूले यी सामान धमाधम किन्नेछन् र तपाईंले छिट्टै थुप्रै पैसा कमाउनुहुनेछ भनेर तपाईंलाई फकाइन्छ। साथै तपाईंले अरू मान्छेहरूलाई पनि यस काममा लगाउनुभयो भने, तिनीहरूले कमाएको पैसाको कमिशन पनि पाउनुहुनेछ। पैसा सजिलै कमाइन्छ जस्तो देखिन्छ। समस्या यो हो कि ती सामानहरूको मूल्य ज्यादै बढी राखिएको हुन्छ र पसलमा सस्तै पाइने सामानहरू भन्दा ती खासै राम्रा पनि हुँदैनन्। त्यसैले तपाईंको सामान धेरैले किन्दैनन् र तपाईंको लगानी उठ्ने जति पैसा पनि कमाउनुहुन्न।

६. विश्वासीले झूट बोल्नु, छल्नु, र नियम उल्लङ्घन गर्नु सधैं नै गलत हो (हितोपदेश २१:५-६; १ पत्रुस २:१३-१६; ४:१५)। इमानदार नबनेका हुनाले थुप्रैले दु:ख पाएका छन्। बेइमान गर्नु संसारको तरिका हो, परमेश्वरको सन्तानको तरिका होइन। मार्च २४, २०१६ को काठमाण्डौं पोष्ट समाचार पत्रिकामा लेखिएको थियो, “देशको आप्रवास नियम उल्लङ्घन गरेका हुनाले पक्राउ परेका अनुमानित १०,००० नेपालीहरू मलेशियाली थुनामा आ-आफ्ना अवधि पूरा गर्दैछन्।” अरू ५०,००० जति नेपालीहरू त्यहाँ गैरकानूनी काम गरिरहेका छन् भनिन्छ। त्यो त एउटा मात्र देशको कुरा भयो। यदि विश्वासीले विदेश जाने नै निर्णय गर्छ भने उसले नियम पालन गर्नुपर्छ। यसको माने यो हो कि उसले नेपालका नियम साथै आफू काम गर्न जान लागेको देशका नियम समेत पालन गर्नुपर्छ। आफ्नो सबै कामकाजमा ऊ इमानदार भएन भने उसले आफ्नो ख्रीष्टियान गवाही बिगार्नेछ र परमेश्वरले न्याय गर्नुहुनेछ (२ कोरिन्थी ५:१०; कलस्सी ३:२३-२५)। यदि कसैले तपाईंलाई झूट बोल्न वा नियम भङ्ग गराउन खोज्छ भने यो परमेश्वरको इच्छा होइन भनेर तपाईंले जान्नुपर्छ र यस्ता कुराहरूबाट अलग रहनुपर्छ।

७. तपाईं गलत मानिसहरूसित नजिक हुनुभयो भने तपाईंलाई हानि हुनेछ (हितोपदेश १३:२०; १ कोरिन्थी १५:३३)। विदेशमा काम गर्न जानेहरू प्राय:जसो सांसारिक वातवरणमा अविश्वासीहरूसँगै बस्नुपर्छ जो आत्मिक जीवनको लागि एकदमै हानिकारक हुन्छ। पत्रुसको जीवनमा हामी यो देख्छौं। येशू पक्राउ पर्नुभएपछि पत्रुस उभिएर ख्रीष्टका शत्रुहरूसँग आगो तापे (यूहन्ना १८:१८), त्यसपछि उनी तिनहरूसँगै बसे (लूका २२:५५)। धेरै समय नबित्दै उनी सराप्दै ख्रीष्टलाई इन्कार्दैथिए! यस संसारका अविश्वासीहरूको सङ्गतबाट पूर्ण रूपमा अलग बस्नु असम्भव कुरा हो साथै उचित पनि होइन, तर आफ्नो मन शुद्ध राख्न र परमेश्वरसँग हिँड्न सक्नलाई विश्वासीले जहिले पनि आफूले सक्ने कुरामा आफ्नो परिस्थिति र वातवरणको नियन्त्रण गर्नुपर्छ।

८. यदि तपाईंले पैसा ऋणमा लिनुभयो भने तपाईं ऋण दिनेको दास बन्नुहुन्छ (हितोपदेश २२:७)। चोर्नु परमेश्वरको सामु अपराध हो (प्रस्थान २०:१५)। यदि विश्वासीले पैसा ऋणमा लिन्छ र फेरि तिर्ने प्रतिज्ञा गर्छ भने उसले आफ्नो वचन पूरा गर्नुपर्छ, नत्र भने ऊ फटाहा र चोर हो। धर्मी जनले कसम खाएपछि आफ्नै हानि खाए तापनि कुरा बदली गर्दैन (भजन. १५:४)। धर्मी मानिस आफ्नो वचन पूरा गर्ने मान्छे हो। थुप्रै पैसा कमाएर सजिलै ऋण तिर्नेछु भनेर सोचेर कति मानिसहरूले विदेश जानलाई धेरै-धेरै पैसा सापट लिएका छन्। तर कतिपटक उनीहरूलाई भनिएको भन्दा कम ज्याला दिइन्छ र ऋण चुक्ता गर्न गाह्रो पर्छ। ऋण तिर्न मात्र वर्षौं काम गर्नुपर्ने हुन्छ। मलेशियामा “कामदारहरूले जानलाई खर्च गरेको पैसा मात्र कमाउन लगभग एक वर्ष काम गर्नुपर्छ” (Kathmandu Post, Feb. 2, 2016)। उनीहरू ऋण दिनेको दास बन्छन्। वास्तविकता बुझेपछि उनीहरू त्यो करारबाट उम्कन पाउँदैनन्। एक जवान ख्रीष्टियान विदेश गए र थाहा पाए विदेश जानु परमेश्वरको इच्छा होइन रहेछ। उनी नेपाल फर्कन र बाइबल कलेज पढ्न चाहे तर सकेनन् कारण उनलाई धेरै पैसाको ऋण थियो। उनी अविश्वासी मानिसका दास बनेका थिए र परमेश्वरको इच्छा पछ्याउन स्वतन्त्र थिएनन्। तुलनामा उत्तम मार्ग त परमेश्वरमाथि भरोसा गर्नु हो र उहाँले जुटाउनुभएका कुरामा सन्तुष्ट रहनु हो (हिब्रू १३:५-६)। लोभ गर्नु चाहिँ आफुसँग भएको कुराहरूमा सन्तुष्ट नहुनु हो। अझ धेरै चाहनु र अझ धेरै पाउनलाई कडा परिश्रम गर्नु नै बेठीक होइन, तर तपाईंसँग वर्तमान समयमा जति छ त्यत्तिमा तपाईं सन्तुष्ट हुनुपर्छ र लोभी हृदय हुनुहुँदैन।

९. साँचो धन परमेश्वरको आज्ञा मानेर र उहाँसँग हिँडेर पाइन्छ। लूका १६:११ मा येशूले साँचो धनको विषयमा चर्चा गर्नुभयो। परमेश्वरलाई जान्नु र उहाँको इच्छामा हिड्नु नै साँचो धन हो (हितोपदेश २२:४)। परमेश्वरसँग हिँड्ने र उहाँको वचन पालन गर्ने विश्वासीले साँचो धन भेट्टाउनेछ, जुन धनको साथमा कष्ट र शोक हुँदैन। साँचो धन अनन्त धन हो। ती स्वर्गीय धन हुन् (मत्ती ६:२०)। धेरैजसो मानिसहरूले यस संसारको धनको खोजी गर्छन, तर तिनीहरू चाँडै मर्छन् र आफूसँग केही लाँदैनन्। बुद्धिमान् मानिसले जान्दछ कि यो जीवन छोटो छ र यसलाई मध्यनजर गरी उसले सबै निर्णयहरू गर्छ। उसले अनन्तसम्म रहने साँचो धन खोज्छ, व्यर्थको क्षणीक धन होइन।

१०. उहाँका जनहरू कडा परिश्रम गर्छन् र सन्तुष्ट रहन्छन् भने उनीहरूको खाँचोहरूको लागि उनीहरूसित पुग्दो हुनेछ भनेर परमेश्वरले प्रतिज्ञा गर्नुहुन्छ (हितोपदेश १०:४; १२:११; १३:२३; हिब्रू १३:५)। तपाईं विदेश जानु पर्दैन। कडा परिश्रम गर्न, इमानदार हुन, र आफ्नो पैसाको सम्बन्धमा बुद्धिमानी हुन तपाईं तत्पर हुनुहुन्छ भने परमेश्वरले तपाईंलाई एउटा काम जुटाउनुहुनेछ जसले तपाईं र तपाईंको परिवारका खाँचोहरू पूरा गर्नेछ। एक बर्षीय चेलापन शीर्षक अन्तर्गत यस सम्बन्धी पाठहरू छन्।

११. विश्वासीले आफ्नो जीवनमा परमेश्वरलाई पहिलो स्थानमा राख्नुपर्छ र आफ्नो खाँचोहरूको लागि परमेश्वरमाथि भरोसा राख्नुपर्छ (मत्ती ६:२५-३४)। परमेश्वरले उहाँलाई र उहाँको इच्छालाई पहिलो स्थान दिने जनहरूको रेखदेख गर्ने प्रतिज्ञा गर्नुभएको छ। विदेश जाने बारेमा फिक्री गर्नु भन्दा बरु विश्वासीले परमेश्वरको आज्ञा मान्न र उहाँलाई चिन्नलाई ध्यान दिनुपर्छ। उसले आफ्नो बाइबल दिनहुँ अध्ययन गर्नुपर्छ, मण्डली सभाहरूमा विश्वासयोग्य हुनुपर्छ, प्रार्थना सभाहरूमा समेत, आफ्नो परीवारको हेरविचार गर्नुपर्छ, आफ्नी पत्नीलाई प्रेम गर्नुपर्छ, आफ्ना छोराछोरीहरूलाई सिकाउनुपर्छ, आफ्नो जीवनको निम्ति परमेश्वरको इच्छा खोज्नुपर्छ, प्रभुको निम्ति गर्ने एउटा सेवकाइ भेट्टाउनुपर्छ। म एकजना नेपाली विश्वासीलाई चिन्छु जो रेस्टुरेन्टमा म्यानेजर थिए। उनलाई पार्टिहरूको जिम्मा दिइएको थियो जहाँ वातवरण सांसारिक थियो। त्यहाँ रक्सी-चुरोट पिउने, सराप्ने, मूर्ख बोली र व्यभिचार हुन्थ्यो। उनले थाहा पाए, त्यहाँ काम गर्नु परमेश्वरको इच्छा होइन र उनले त्यो काम छोडे। उनले विश्वासैद्वारा उक्त काम छोडे यद्यपि त्यसपछि के गर्ने, कसरी जिउने र आफ्नो परिवार कसरी पाल्ने उनी जान्दैनथे। उनले प्रार्थना गरे, उपवास बसे र परमेश्वरले उनलाई सामान विक्रेताको काम दिनुभयो। यसरी परमेश्वरलाई पहिलो स्थान दिने र सांसारिक ठाउँमा काम नगर्ने अठोट गरेपछि उनी आत्मिक रूपमा बढ्न थाले। अहिले उनी पूरै समय वचनका प्रचारक हुन्।

१२. विश्वासीले आफ्नो आँखा नेपालका खेतबारीहरूतिर उठाउनुपर्छ (यूहन्ना ४:३५-३६)। नेपालको लागि सुसमाचार सुन्ने दिन अाज हो। हजारौं वर्षसम्म नेपालको ढोका थुनिएको थियो। नेपालमा सुसमाचार करिब ५० वर्ष अगाड‍ि मात्र आयो, र अझै पनि धेरै नेपालीहरूले सुसमाचार कहिल्यै सुनेका छैनन्, मुक्त्ति पाउने उपाय जानेका छैनन्। उनीहरूलाई कसले बताउलान्? प्रत्येक नेपाली विश्वासी यस महान् काममा ख्रीष्टका राजदूत हुन् (२ कोरिन्थी ५:२०)। परमेश्वरले मान्छेलाई उसको आफ्नै काममा लागिराख्नलाई बचाउनुहुन्न। उहाँले उसलाई उहाँको काम गरोस् भनेर बचाउनुहुन्छ (१ कोरिन्थी ६:२०)। परमेश्वरले थुप्रै नेपालीहरूलाई बचाउनुभएको छ, तर परमेश्वरको इच्छा पूरा गर्दै नेपालमा सुसमाचार फैलाउनुको सट्टा उनीहरू आफ्नै कामको पछि लाग्छन् अनि विदेश जान्छन्। यसैले नेपालमा सुसमाचारका खेतालाहरू जहिले पनि थोरै हुन्छन्।

समाचारबाट र विदेशमा नेपाली कामदारहरूका वास्तविक अनुभवबाट केही चेताउनी:

NepalNews.com (डिसेम्बर २, २०१३) अनुसार २०१२ सालमा मात्र विदेशमा काम गरिरहेका ८३४ नेपालीहरूले आफ्‍नो ज्यान गुमाए। गल्फ राष्ट्रहरू र मलेशियामा मात्र यति सङ्ख्यामा नेपाली कामदारहरू मरे। अनि यो नियमित यस्तै भइरहेको देखिन्छ किनकि २०१० मा पनि यिनै राष्ट्रहरूमा ८२६ ले ज्यान गुमाएका थिए। समाचारअनुसार धेरैजसो निन्द्रामै मरेका भेटिए। अरू कारणहरू हुन् - सडक दुर्घटना र आत्माहत्या। गल्फ राष्ट्रहरूको झुराउने तापक्रम पनि एउटा कारक हुनुपर्छ भन्ने अनुमान गरिएको छ।

The Guardian को एउटा समाचार अनुसार काठमाण्डौं विमानस्थलमा औसत ३-४ ओटा शव प्रत्येक दिन आउने गर्छन् ("At 16, Ganesh Got a Job in Qatar," Sept. 25, 2013)। समाचारमा “कलङ्कात्मक दुरुपयोग र शोषण” को चर्चा गरिएको छ। समाचारमा उल्लेख छ, “कबुल गरिएको तलब र प्रत्याशाको साटोमा धेरै कामदारहरूलाई शोषण, भ्रष्टाचार, छल र झनै बढ्दो रूपमा दासत्व र मृत्युको जालमा फसाइन्छ।”

डिसेम्बर २०१३ मा Kathmandu Post को समाचार अनुसार २००७ देखि यता दक्षिण कोरियामा कम्तिमा ५७ नेपालीहरूले ज्यान गुमाए। अधिकांशलाई “आत्माहत्या र आकस्मिक प्रतीक्षा नगरिएको मृत्यु संलक्षण” भनेर वर्गीकरण गरिएको थियो। एउटा खबरले उद्धृत गर्यो “अति नै अस्तव्यस्त कामका समयहरू, सञ्चारमा कठिनाइहरू, खराब स्वास्थ्य सेवा र बसाइहरू, कामदारहरूको तर्फमा व्यावहारिक ज्ञानको कमजोरी, र कामका जोखीम रूपहरू।” वर्कर्स ग्रूपले उद्धृत गर्यो “कामका ३ डि’ज यी नै हुन् —डिफिकल्ट, डर्टी, र डेन्जरस।”

ठूलो लाभको सपना देख्दै नेपालीहरू विदेश जानलाई ऋणको खाडलमा पर्छन्, कतिपय धेरै-धेरै व्याजमा, तर सामान्यतया उनीहरूले न कबुल गरिएको तलब न काम पाउँछन् र कतिपटक तलब तोकिएको समयमा दिइँदैन। लुसाइल सिटी (कतारले २०२२ वर्ल्ड कपको लागि निर्माण गरिरहेको शहर) का कामदारहरूले बताउछन् कि उनीहरूलाई ज्याला नदिएको महिनौं भइसक्यो र उनीहरूले नेपालमा आफ्नो ऋणको व्याज बढिरहेको मात्र देख्न सक्छन्। कामदारहरूको राहदानी अपहरण गरिन्छ र पक्राउ पर्ने डरबिना यताउता हिड्नलाई चाहिने आइ डी कार्डहरू पनि उनीहरूलाई दिइँदैनन्। वास्तावमा उनीहरू दास हुन्। “राती उनीहरू सान्या इन्डस्ट्रियल सेन्टरमा खचाखच भरिएको फोहोर कोठामा फर्किन्छन्, जहाँ खुल्ला ढलको दूर्गन्ध सही नसक्नु हुन्छ र कामदरहरू भन्छन् कि ६०० जनाले दुइटा भान्सा प्रयोग गर्छन्।”

ज्याला नपाएर मालिकको विरोधमा उठेका २९७ नेपालीहरू कतारबाट घर फर्काइए।

धेरैले आप्रवास नियम तोड्छन् र त्यसैले कानुनी सुरक्षा बिहीन हुन्छन्। उदाहरणको लागि, १६ वर्षीय गणेशले २० वर्ष हुँ भन्दै कतार जान नकल्ली राहदानी बनाए। दुई महिना भित्र उनको मृत्यु भयो।

घरको काम गर्न जाने स्त्रीहरूलाई कतिपटक दुर्व्यवहार गरिन्छ। यौन दुरुपयोगको परिणामस्वरूप धेरैजना बच्चा लिएर फर्कन्छन्। यो यति व्यापक भएकोले नेपालमा यस्ता स्त्रीहरूको लागि शरणहरू समेत छन्।

मलेशियामा नेपाली कामदारहरूको अवस्था यति खराब छ कि विदेशी मन्त्री नारायण काजीले नेपालले कामदारहरू पठाउन छोड्नुपर्छ भनेर भने। “नेपाली प्रवासीहरूले व्यापक दुर्व्यवहार र शोषण भोगिरहेकाछन्” (Kathmandu Post, Feb. 2, 2016)। मलेशियामा लगभग ७५% नेपाली कामदारहरूले महिनामा RM900 मात्र कमाउछन् (US$213 वा रू.२२,०००)।यात्राको लागि ऋण लिएको पैसा तिर्न मात्र उनीहरूले एक वर्ष काम गर्नुपर्छ। यसको मतलब उनीहरूले ऋण दिने व्यक्त्तिको निम्ति एक वर्ष पूरै दासत्वमा परिश्रम गर्छन्।

कतारमा २०२२ वर्ल्ड कप रङ्गशाला र सुविधाहरू निर्माण गरिरहेका प्रवासी कामदारहरूलाई दुर्व्यवहार भइरहेको खबर एमनेस्टि इन्टर्नेशनलले मार्च २०१६ मा दियो (“Stadium a Field Where Nepali, Other Migrants Suffer Abuse,” Kathmandu Post, Mar. 31, 2016)। उनीहरू प्राय: नेपाल, इन्डिया, र बङ्ग्लादेशबाटका हुन्। एक वर्षको अनुसन्धान र २३४ मानिसहरूसँगको अन्तर्वार्तमा यो समाचार आधारित छ। धेरैजसो मानिसहरूलाई तलबको बारेमा झूट बोलिएको, महिनौ सम्म ज्याला नदिइएको र दयनीय कोठाहरूमा बस्न लगाइएको एमनेस्टि इन्टर्नेशनलले पत्ता लगाए। उनीहरू थोरै तलब मात्र भए पनि लिन बाध्य हुन्छन् किनकि उनीहरूलाई $4,300 सम्मको भर्ती शुल्क तिर्नुपर्ने ऋण लागेको छ। कामदारहरूलाई पूरै कम्पनिको नियन्त्रणमा राख्नलाई उनीहरूको राहदानी खोसिन्छ। एमनेस्टि इन्टर्नेशनलले यसलाई “जबरजस्ती परिश्रम” को संज्ञा दिए। एउटा नेपलीले भने, “कतारमा जीवन जेल जस्तै छ। म्यानेजरले भने, ‘यहाँ गनगन गर्ने हो भने परिणाम भोगिन्छ।’” कतारमा ५०,००० नेपालीहरू काम गर्दैछन्।

एकजना ख्रीष्टियान भाइ मलेशिया काम गर्न गए। पहिलो वर्ष काम यति गाह्रो भयो कि उनले मृत्युको चाहना गर्न थाले। उनी चाउचाउ बनाउने उद्योगमा काम गर्थे। मलेशियामा गर्मी हुन्छ, तर धमाधम चाउचाउ निकाल्ने चार-चार अोटा डिजल भट्टिहरू भएको त्यो उद्योगभित्र प्रचण्ड गर्मी हुन्थ्यो। उनको काम थियो पाइप लाइनमा उभिएर साधारण पन्जा लगाएर तपतप तेल चुहिरहेका ती तात-तातो चाउचाउ हातले समातेर प्याक गर्ने टेबलमा हाल्नु। यो काम लगातार ८ घण्टा गर्नुपर्थ्यो! मेशिनलेझैं काम गर्दैगर्दा तापक्रमले पन्जामा प्वाल पर्थ्यो र पीडा सहिनसक्नु हुन्थ्यो। नङ्गमा इन्फेक्सन भयो र छाला तासेर निकाल्नुपर्ने भयो। यस्तो जोखिमपूर्ण काममा विदेशमा अड्किएको अवस्थामा र नेपाल फर्कन पैसा पनि नभएको निराशाजनक अवस्थामा उनले कतिपटक मर्न मात्र उपाय खोजिरहे।

एउटा ख्रीष्टियान स्त्रीले साइप्रसमा घरको रोजगार पाइन्। नेपालमै विदेशीहरूसँग गर्ने राम्रो जागिर थियो उनको, तर तिनले विदेश गएर अझै धेरै पैसा कमाउने सपनालाई विश्वास गरिन् र आफ्नी छोरीलाई आफन्तहरूको जिम्मामा छोडेर विदेश गइन्। मालिकहरूले उनलाई दुर्व्यवहार गर्न थालेपछि उनी नेपाल फर्कन सकिनन् किनकि उनका कागजातहरू मालिकहरूको हातमा थियो र उजुर गर्न उनको कोही भएन। दयनीय अवस्थामा उनी विदेशमै अड्किरहेकिछिन्।

ताप्लेजुङ्गका एकजना मण्डली सदस्य अविश्वासी छँदै विदेशी रोजगारमा लागेका थिए। परिणामस्वरूप उनका पत्नी र पैसा अर्कै मान्छेले हडपे। फर्केर उनले अर्क‍ी स्त्रीलाई विवाह गरे।

केहि वर्षलाई विदेश जाँदा अर्को विश्वासीले आफ्ना दुवै छोराहरूलाई संसारमा गुमाए, र “अब उनीहरूलाई फिर्ता पाउन धेरै गाह्रो भएको छ।”