Εmail
Name

कविता: बाइबल पढ्नलाई चुनौती
एक वर्षमा बाइबल पढ्नुहोस्
बाइबल पठन तालिका
[PDF, 1.39MB download]

भाइ यूसेफ नदरखनीको पत्र

यस पृष्ठलाई छाप्नुहोस्

प्रदेश श्रेष्ठ

इरानमा हुनुभएका हाम्रा प्रिय भाइ यूसेफ नदरखनी ख्रीष्टको खातिर सम्भावित फाँसीको पर्खाइमा हुनुहुन्छ।

ख्रीष्टियन नानीहरूलाई स्कूलमा कुरान पढ्न लगाइएको थाहा पाएपछि उहाँले आफ्नो संवैधानिक अधिकार हनन भएको कुरा लिएर सरकारी निकायसमक्ष जानुभएको थियो, तर त्यसको केही समयपछि नै सरकारले उहाँलाई २००९ अक्टुवर १२ देखि हिरासतमा राखेको छ। उहाँलाई २०१० सालमा नै इस्लाम धर्म त्यागेको अभियोगमा मृत्युदण्डको फैसला सुनाइएको थियो। त्यसपछि उहाँको मुद्धा इरानको सर्वोच्च अदालतसम्म पुग्यो। सर्वोच्च अदालतका अन्तिम सुनुवाइहरू हालै गत सेप्टेम्बर महिनाको अन्ततिर पूरा भए। उहाँलाई आफ्नो पुर्ख्यौली धर्म इस्लामलाई छोडेर ख्रीष्टियन बनेको र अरू मुस्लिमहरूलाई ख्रीष्टियन बनाएको आरोप लगाउँदै आइएको थियो। इस्लाम धर्ममा फर्केमा माफी दिइने नत्र मृत्यु दण्ड दिइने कुरा पटकपटक सुनाइँदा उहाँले प्रत्येकपटक नै सो गर्नलाई इन्कार गर्नुभयो। यही २०११ साल अक्टुवर महिनामा आएर उहाँको मुद्दालाई सर्वोच्च अदालतले इरानका राज्य प्रमुख आयातोल्ला अलि खमेनीकहाँ अन्तिम फैसलाका लागि पुर्‍याएको छ। यस बीचमा यूसेफको रिहाइका लागि अन्तराष्ट्रिय दवाव बढ्दै जाँदा इरानको सरकारी निकायले यूसेफ नदरखनीलाई निज ख्रीष्टियन भएको कारण नभएर बलत्कारको अपराधी भएको, जायोनिज्मका समर्थक भई राष्ट्रिय सुरक्षाको सवाल उठेको कारण गिरफ्तार गरिएको भन्ने कुरा देखाउन खोजेको छ यद्यपि यसअघिका मुद्दाका सबै चरणहरूमा त्यस्ता कुनै सवाल उठेका थिएनन्, केवल उहाँको विश्वासको सवाल मात्र उठेको थियो। ३४ वर्षीय यूसेफका एक पत्‍नी र दुई छोराहरू छन्। (स्रोत: presenttruthmn.com)

२०१० को जून महिनामा पास्टर यूसेफले आफ्ना मण्डलीका विश्वासीहरूलाई उत्साह दिनलाई लेख्‍नुभएको पत्र यहाँ प्रस्तुत गरिन्छ। यो पत्र फारसीबाट गरिएको अङ्ग्रेजी रूपान्तरको नेपाली रूपान्तर हो।

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, सलाम

हाम्रा प्रभु येशू ख्रीष्टको नाममा, म निरन्तर तपाईंहरूका लागि अनुग्रह र शान्तिको कामना गर्दैछु, कि तपाईंहरू आफ्ना प्रार्थनाहरूमा मलाई सम्झना गर्नुहुन्छ र तिनीहरूलाई जोहरू उहाँका नामका निम्ति यत्‍न गरिरहेका छन्।

परमेश्वरतर्फको तपाईंहरूको विश्वासयोग्यता, मेरा बल र उत्साहका कारण भएका छन्।

किनकि म राम्ररी जान्दछु कि तपाईंहरूलाई इनाम दिइनेछ; जसरी लेखिएको छ: "अनि जसले विश्वास गरिन्, तिनी धन्य हुन्; किनभने प्रभुबाट तिनलाई भनिएका कुराहरू पूरा हुनेछन्"।

जस्तो हामी विश्वास गर्दछौं, आकाश र पृथ्वी बितिजानेछन्, तर उहाँको वचन रहिरहनेछ।

प्यारा प्रियजनहरू, यद्यपि तपाईंहरू सायद यी कुराहरू जान्नुहुन्छ, तपाईंहरूलाई केही पदहरूको सम्झना गराउन म यो मौका लिन चाहन्छु। अनि फलस्वरूप सबै कुराहरूमा तपाईंहरूले विगतको भन्दा बढी प्रयत्‍न देखाउनुभएको होस्, दुवै आफ्नो चुनाउलाई पक्का गराउनका लागि र साथै सारा संसारभरि प्रचारिनुपर्ने सुसमाचारका लागि।

म जान्दछु कि हामी हरेकलाई नै यस वचन पालन गर्नलाई दिइएको हुँदैन, तर तिनीहरूलाई जसलाई यो सामर्थ्य र प्रकाश प्रदान गरिन्छ। म यहूदाले जस्तै घोषणा गर्दछु, पवित्रजनहरूलाई एकैचोटी सदाका निम्ति सुम्पिएको विश्वासका निम्ति तपाईंहरूले यत्‍नपूर्वक सङ्घर्ष गर्नुहोस्।

हामी विशेष र संवेदनशील दिनहरू भएर जाँदैछौं। यी त्यस्ता दिनहरू हुन् जो एउटा सचेत र जागो विश्वासीका लागि आत्मिक उन्नति र प्रगतिका दिनहरू हुन सक्दछन्। किनकि उसका लागि अन्य कुनै पनि समयमाभन्दा अहिलेको समयमा उसले आफ्नो विश्वासलाई परमेश्वरको वचनसँग दाँजेर हेर्न सक्दछ, आफ्नो मनमा परमेश्वरका प्रतिज्ञाहरूलाई राख्‍न सक्दछ र आफ्नो विश्वासको सर्वेक्षण गर्न सक्दछ।

यसैकारण उसमाथि आउन दिइएको अग्निमय परीक्षालाई मानो त्यो एउटा अनौठो कुरा भएझैं ठानेर ऊ (एउटा साँचो विश्वासी) जिल्ल पर्नु आवश्यक छैन, तर ख्रीष्टको दुःखहरूको सहभागी हुनलाई ऊ राजी हुन्छ।

किनकि उसले उहाँको महिमामा आनन्द गर्नेछ भन्ने कुरा एउटा विश्वासीले जानेको हुन्छ।

प्रियहरूहो, "परमेश्वरको घरबाट न्याय शुरु हुनुपर्छ; अनि पहिले हामीबाट शुरु हुन्छ भने झन् परमेश्वरको सुसमाचार पालन नगर्नेहरूको अन्त के होला? अनि धर्मी मुस्किलले उम्किन्छ भने भक्तिहीन र पापीको के ठेगाना? यसैकारण जस-जसले परमेश्वरको इच्छामुताबिक दुःख भोग्छन्, उनीहरूले असल काम गर्दै आफ्ना प्राणहरूलाई विश्वासयोग्य सृष्टिकर्ताको हातमा सुम्पिदिऊन्।" उहाँले हामीलाई दिनुभएका प्रतिज्ञाहरू विशेष र बहुमूल्य छन्। जस्तो हामीले सुनेका छौं उहाँले भन्नुभएको छ: "धार्मिकताका निम्ति सताइनेहरू धन्य हुन् किनभने स्वर्गको राज्य उनीहरूकै हो। रमाओ र अत्यन्तै खुशी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो छ; किनभने यसरी नै तिनीहरूले तिमीहरूभन्दा पहिलेका भविष्यवक्ताहरूलाई सताएका थिए।"

एउटा विश्वासीले यी वचनहरू बुझ्न कसरी सम्भव छ?

त्यसरी मात्र जब ऊ येशू ख्रीष्टमै ध्यानकेन्द्रित भइरहन्छ र आफ्नो जीवनलाई येशू यस संसारमा हुनुहुँदाको उहाँको जीवनअनुरूप मिलान गर्दै लैजान्छ। जसरी भनिएको छ, "हे निर्बुद्धिहरूहो! र भविष्यवक्ताहरूले भनेका सबै कुराहरूलाई विश्वास गर्नमा सुस्त हृदय भएकाहरूहो, के ख्रीष्टले यी कुराहरूको दुःख भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नुपर्ने थिएन र?" अनि "जबसम्म आकाश र पृथ्वी बितिजाँदैनन्, तबसम्म व्यवस्थाबाट एक मात्रा अथवा एक विन्दु पनि, सबै पूरा नभइन्जेल, कुनै रीतिले बित्‍नेछैन।"

के हामीले पढेका र सुनेका छैनौं: किनकि जीवनमा पुर्‍याउने ढोका साँघुरो र बाटो पनि साँघुरो हुन्छ अनि यो भेट्टाउने थोरै हुन्छन्।" धेरैजना उनीहरूका आत्मिक परीक्षाहरूदेखि भाग्न खोज्छन्, अनि तिनीहरूले ती परीक्षाहरूलाई अझ अप्ठ्यारो ढङ्गले सामना गर्नुपर्ने हुन्छ, किनकि तीबाट भागेर कोही पनि विजयी बन्नेछैन, तर धीरज र नम्रताले उसले सबै परीक्षाहरूलाई जित्‍न सक्नेछ र विजय प्राप्‍त गर्नेछ।

यसैकारण ख्रीष्टलाई पछ्याउनेहरूको स्थानमा रहेर, हामीहरू हताश हुनुहुँदैन, तर हामीलाई खाँचो पर्न सक्ने कुनै मद्दतका लागि सहायताको निम्ति हामीले अझ यत्‍नसित विन्तीद्वारा परमेश्वरसित प्रार्थना गर्नुपर्छ।

जसरी पावलले भनेका छन्: हरेक परीक्षामा परमेश्वरले हाम्रो निम्ति त्यसलाई सहन सक्ने बनाउने उपाय निकाल्नुहुन्छ।

हे प्रियहरूहो, सङ्कष्टहरूले मान्छेलाई कमजोर बनाउँदैनन्, तर तिनीहरूले मान्छेको वास्तविक चरित्र प्रकट गर्दछन्।

बेलाबखत सतावट र अमिल्दा कुराहरूको समाना गर्नुपर्ने हुनु हाम्रा लागि असल हुन्छ, किनकि यी अमिल्दा कुराहरूले हामीलाई आफ्ना हृदयहरूलाई जाँच्न र आफूहरूलाई सर्वेक्षण गर्न बाध्य गराउनेछन्।

फलस्वरूप हामी निष्कर्ष निकाल्छौं कि सङ्कष्टहरू कठीन हुन्छन् तर ती हामीलाई निर्माण गर्न प्रायः असल र उपयोगी हुन्छन्।

प्यारा दाजुभाइ तथा दिदीबहिनीहरूहो, हामी अन्य कुनै समयमाभन्दा बढी होशियार हुनुपर्छ।

किनकि यी दिनहरू धेरैका हृदयहरू र विचारहरू प्रकट हुने दिन हुन् र विश्वास जाँचिने दिन हुन्।

जहाँ किरा र खिया लाग्दैन त्यहाँ तपाईंहरूको सम्पत्ति होस्।

म तपाईंहरूलाई केही पदहरूको सम्झना गराउन चाहन्छु जुन पदहरू हामीले झण्डै हरेक दिन चर्चा गर्ने गर्छौं। (हे स्वर्गमा हुनुहुने हाम्रा पिता, तपाईंको नाम पवित्र गरियोस्। तपाईंको राज्य आओस्। तपाईंको इच्छा स्वर्गमा झैं पृथ्वीमा पनि पूरा होओस्) तर जबसम्म हाम्रो मानवीय इच्छाले परमेश्वरको इच्छाले भन्दा बढी प्राथमिकता पाइरहन्छ, उहाँको इच्छा पूरा भइरहेको हुँदैन।

जस्तो हामीले उहाँ गेत्समनीमा हुनुहुँदा उहाँबाट सिकेका छौं, उहाँले आफूलाई पिताको इच्छामा समर्पण गर्नुभयो, "हे पिता, तपाईंले चाहनुभयो भने यो कचौरा मबाट हटाइदिनुहोस्; तरै पनि मेरो इच्छा होइन, तर तपाईंको इच्छा पूरा होओस्"

आज जो हामीले बोकिरहेका छौं, त्यो गाह्रो हो तर असह्‍य अवस्था होइन, किनकि उहाँले न ता हामीलाई हाम्रो विश्वास र धैर्यभन्दा बढी जाँच गर्नुभएको छ, न ता उहाँले त्यस्तो गर्नु नै हुन्छ। अनि जसरी हामीले उहाँबाट पहिल्यै जानेका छौं, हामी विफल नहुनलाई तर हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह र ज्ञानमा बढ्दै जानलाई होशियार रहनुपर्छ। उहाँले भन्नुभयो: जो मानिस मसँग र मेरा वचनहरूसँग लजाउनेछ, मानिसका पुत्र पनि आफ्नो, अनि पिताको र पवित्र दूतहरूको महिमामा आउँदा त्योसँग लजाउनेछन्।

एउटा सानो दासको रूपमा, मैले जे गर्नुपर्छ त्यसलाई पूरा गर्नलाई, म आवश्यक रूपले कारागारमा रहेर, परमेश्वरको वचनमाथिको विश्वासले म भन्दछु कि उहाँ चाँडै आउनुहुनेछ। "तरै पनि जब मानिसका पुत्र आउँछन्, तब के उनले पृथ्वीमा विश्वास पाउनेछन् र?"

परमेश्वरको वचनमाथिको विश्वासले आफैलाई अनुशासनमा राख्‍नुहोस्। आफ्नो सहनशीलताद्वारा आफ्ना प्राणहरूलाई प्राप्‍त गर्नुहोस्। किनकि खुल्लमखुल्ला जानिने इच्छा राखेर पनि गुप्‍तमा काम गर्ने कुनै मानिस छैन।

प्रभु येशू ख्रीष्टको नाममा तपाईंहरूलाई अनुग्रह र आशिषहरू झन्-झन् प्रदान गरियोस्।

यूसेफ नदरखनी
लकन जेल, रश्त
२ जुन २०१०


पृष्ठ संशोधन मिति: Friday 20-Jul-12
WordofTruth.com.np © 2017