र्‍याप्चर

Study Series

र्‍याप्चर

डेविड क्लाउड

कण्ठ गर्नुपर्ने पदहरू: १ थेस्सलोनिकी ४:१३-१८

“र्‍याप्चर” भन्ने शब्द बाइबलमा पाइँदैन तरैपनि यो १ थेस्सलोनिकी ४:१३-१८ मा बयान गरिए अनुसार विश्वासी जनहरू उठाइलगिने कुरालाई जनाउने शब्दावली हो। १ थेस्सलोनिकी ४:१७ को “उठाइनेछौं” भन्ने शब्द अन्य ठाउँमा “खोसेर लैजान्छ” (यूहन्ना १०:२८) भनेर अनुवाद गरिएको छ। यो शब्द इथियोपियाइ नपुंसकले प्रभुलाई पाएपछि पवित्र आत्माले फिलिपलाई उठाएर लैजानुभएको कुरालाई बयान गर्न प्रयोग भएको छ (प्रेरित ८:३९)। दनियलको ७० औं हप्ता (Daniel’s 70th week) को प्रारम्भ हुनुभन्दा अगाडि ख्रीष्टले नयाँ नियमका विश्वासीहरूलाई ठीक यस्तै गर्नुहुनेछ।

१ थेस्सलोनिकी ४:१३-१८ मा आधारित पाठहरू

  1. र्‍याप्चरको घडीमा दुईटा घटना पूरा हुनेछन्: ख्रीष्टमा मरेकाहरू बौराइनेछन् (१ थेस्सलोनिकी ५:१४-१६) र जीवित रहेका पवित्र जनहरू बदली गराइनेछन् र उठाइलगिनेछन् (१ थेस्सलोनिकी ५:१७)। जीवित रहेका पवित्र जनहरूको बदली हुवाइलाई १ कोरिन्थी १५ अध्यायमा विनाशी, मरणशील शरीर तुरुन्तै अविनाशी र अमर शरीरमा बदली गराइनेछ भनेर बयान गरिएको छ (पद ५२-५३)। १ थेस्सलोनिकी ४ अनुसार ख्रीष्टमा मरेकाहरू उहाँसँगै स्वर्गमा छन्; कुनै कुनै झूटा शिक्षाले दाबी गरेझैं उनीहरू चिहानमा सुतिरहेका छैनन्।
  2. र्‍याप्चर विश्वासीको आशा हो (१ थेस्सलोनिकी ५:१३)। हामीले प्रतीक्षा गरेर बाटो हेरिरहेको घटना यही हो। हामी ख्रीष्टविरोधी वा महासङ्कष्टको बाटो हेरिरहेका छैनौं!
  3. र्‍याप्चर निश्चित छ। ख्रीष्टको बौरिउठाइ जत्तिकै यो निश्चित छ (१ थेस्सलोनिकी ५:१४)। यो प्रभुको वचन हो (१ थेस्सलोनिकी ५:१५)।
  4. र्‍याप्चर सान्त्वना हो (१ थेस्सलोनिकी ४:१८)। यदि महासङ्कष्ट पश्चात् मात्र र्‍याप्चर हुने भएको भए यसले सान्त्वना प्रदान गर्न सक्दैनथ्यो।

सङ्कष्टकाल अगाडि नै र्‍याप्चर हुनेछ भन्ने बाइबलीय प्रमाण

मण्डली युगका विश्वासीहरूको र्‍याप्चर अक्षरशः हुनेछ भनेर विश्वास गर्नेहरूका बीचमा तीनओटा फरक फरक अवधारणाहरू छन्। यी अवधारणाहरू र्‍याप्चर र महासङ्कष्टको समय तालिकासित सम्बन्धित छन्। यी तीन अवधारणाहरू यस प्रकार छन्: पूर्व-सङ्कष्टकालीय र्‍याप्चर (Pre-tribulational rapture) अनुसार मण्डली युगका विश्वासीहरू महासङ्कष्टकाल अगाडि नै र्‍याप्चर गराइनेछन्; मध्य-सङ्कष्टकालीय र्‍याप्चर (Mid-tribulational rapture) अनुसार मण्डली युगका विश्वासीहरू दनियलको ७० अौं हप्‍ताको पहिलो आधा भागको अनुभव गर्नेछन्; सङ्कष्ट-पश्चातीय र्‍याप्चर (Post-tribulational rapture) अनुसार मण्डली युगका विश्वासीहरू सङ्कष्टकालको पूरै कालखण्डको अनुभव गर्नेछन्।

पूर्व-सङ्कष्टकालीय र्‍याप्चर नै सही बाइबलीय शिक्षा हो भन्ने कुरामा हामी विश्वस्त हुनुका कारणहरू निम्नअनुसार छन्। यस अध्ययनमा हामी “मण्डली” भन्ने शब्दलाई सामान्य, संस्थागत अर्थमा प्रयोग गर्दैछौं:

१) मण्डली युगका विश्वासीहरूलाई उनीहरू क्रोधबाट बचाइनेछन् भन्ने प्रतिज्ञा दिइएको छ (१ थेस्सलोनिकी १:९-१०; ५:१-९; रोमी ५:९; प्रकाश ३:१०)।

महासङ्कष्टलाई परमेश्वरको क्रोधको दिन भन्ने संज्ञा स्पष्टै दिइएको छ। आज परमेश्वरले आफ्‍नो क्रोधलाई थामिराख्‍नुभएको छ; उहाँ अनुग्रहको सिंहासनमाथि विराजमान हुनुहुन्छ तर त्यो दिन नजिक आउँदैछ जब उहाँ न्यायको सिंहासनमाथि बस्नुहुनेछ। तब “उहाँको क्रोधको दिन” सारा संसारमाथि आउनेछ (भजनसङ्ग्रह ११०:५; यशैया १३:६-१३; प्रकाश ६:१६-१७)। प्रत्येक शताब्दीमा बाइबल-विश्वासी मण्डलीहरूले उत्पीडनका अनुभव गरेका छन्, तर त्यो भनेको महासङ्कष्ट भन्दा फरक कुरा हो। पवित्र जनहरूका उत्पीडनहरू दुष्ट मानिस र शैतानको क्रोधका कारण हुन्छन् जब कि सात वर्ष लामो सङ्कष्टकाल विशेष गरी परमेश्वरको क्रोधको समय हो ( प्रकाश ६:१६-१७; १४:१०)। मण्डली क्रोधको समयबाट बचाइने नभएर क्रोधको समयमा बचाइनेछन् भनेर कोही‍-कोही ठान्छन्। तर यो साँचो हुन सक्दैन किनभने महासङ्कष्टको समयमा यस पृथ्वीमा रहनेहरू क्रोधबाट बचाइँदैनन् तर उनीहरू मारिन्छन् भन्ने कुरा बाइबलले सिकाउँछ (प्रकाश १३:७)। मण्डली युगका विश्वासीहरू क्रोधबाट बचाइनेछन् भनेर सिकाउने पदहरूको माने उनीहरू क्रोधको उपस्थितिबाटै मुक्त हुनेछन् भन्ने हुनुपर्दछ। महासङ्कष्टको बारेमा हामीलाई बताइएको छ – “सम्पूर्ण पृथ्वीमाथि बस्नेहरू सबैमाथि पासोझैं त्यो आइपर्नेछ” (लूका २१:३५)। तसर्थ, मण्डली युगका विश्वासीहरू या त पृथ्वीबाट स-शरीर अलग पारिनुपर्ने हुन्छ या त क्रोधको दिनमा मुछिनुपर्ने हुन्छ। परमेश्वरको प्रतिज्ञा छ, “म पनि तिमीलाई परीक्षाको घडीबाट जोगाउनेछु, जुनचाहिँ पृथ्वीमाथि बस्नेहरूलाई जाँच्नाका निम्ति सारा संसारमाथि आउनेछ” (प्रकाश ३:१०)। यस पदबाट परमेश्वरले मण्डली युगका विश्वासीहरूलाई परीक्षामा जोगाउनुहुने नभएर परीक्षाबाट नै जोगाउनुहुनेछ भन्ने कुरा प्रस्ट बुझिन्छ।

२) पवित्र आत्मा सङ्कष्टकाल अगाडि अलग्गिनुहुनेछ (२ थेस्सलोनिकी २:१-८)।

बाइबलका अन्य खण्डहरूमा पवित्र आत्मा पापलाई रोकिराख्ने व्यक्तिको रूपमा बयान गरिनुभएको छ (उत्पत्ति ६:३; यशैया ५९:१९)। पवित्र आत्मा, मण्डलीलाई महान आज्ञा (प्रेरित १:८) पूरा गर्ने सामर्थ्य प्रदान गर्न वर्तमान प्रबन्धको शुरुमा यस संसारमा पेन्टेकोस्टको दिनमा आउनुभयो। परमेश्वरको ठूलो क्रोधको दिन अगावै उहाँले मण्डली युगका विश्वासीहरूलाई स्थानान्तरण अर्थात् र्‍याप्चर गर्नुहुनेछ। यसको मतलब पवित्र आत्मा त्यसपछि संसारमा पटक्कै हुनुहुनेछैन भन्ने होइन। यसको मतलब उहाँ जुन प्रकारले यस वर्तमान युगमा उपस्थित हुनुहुन्छ दुरुस्त त्यसरी नै चाहिँ त्यसबेला हुनुहुनेछैन भन्ने हो।

३) र्‍याप्चर अचानक (imminent) अर्थात् कुनै पनि बेला हुन सक्ने घटना हो।

यो कुरा ख्रीष्टले सिकाउनुभयो (मत्ती २४:४२,४४; २५:१३; मर्कूस १३:३३)। यो कुरा पावलले सिकाए (फिलिप्पी ४:५; तीतस २:१२-१३)। यो कुरा याकूबले सिकाए (याकूब ५:८-९)। यो कुरा पत्रुसले सिकाए (१ पत्रुस ४:७)। शुरुका ख्रीष्टियनहरू ख्रीष्टको पुनरागमनको प्रतीक्षामा जिउँदथे (१ थेस्सलोनिकी १:९-१०)। नयाँ नियमको विश्वासी जनले सारा संसारभरिका मानिसहरूलाई छोप्न आउने “अन्धकारको दिन” बाट छुटकारा पाउनेछ भनी प्रतिज्ञा गरिएको हुनाले प्रेरित पावलले थेस्सलोनिकाका विश्वासीहरूलाई उनीहरू चिन्ह तथा समयहरूको पछि लाग्नु आवश्यक छैन भन्ने कुरा सिकाए (१ थेस्सलोनिकी ५:१-९)। मण्डली ख्रीष्टविरोधीको आगमनको प्रतीक्षामा होइन तर परमेश्वरको पुत्रबाटको छुटकाराको प्रतीक्षामा जिउँदछ।

४) मण्डली पुरानो नियममा प्रकट नभएको एक रहस्य हो (एफेसी ३:१-११)।

पुरानो नियमका अगमवक्ताहरूले भविष्यवाणी गरेका घटनाहरूको कालक्रमसित नयाँ नियम मण्डलीको कुनै सरोकार छैन। उनीहरूले ख्रीष्टको पहिलो आगमनको, उहाँको अलौकिक जन्मको, उहाँको जीवनको, मृत्युको, बौरिउठाइको र स्वर्गारोहणको स्पष्टै भविष्यवाणी गरे। तिनै अगमवक्ताहरूले ख्रीष्टको दोस्रो र महिमित आगमनको र त्यस अगाडि हुने अपूर्व विश्वव्यापी सङ्कष्टको र त्यसपछि स्थापना हुने महिमित मसीही राज्यको भविष्यवाणी गरे। तर ती अगमवक्ताहरूले वर्तमान मण्डली युगलाई देख्‍न सकेनन् — “जुन रहस्यचाहिँ अरू पुस्ताहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्यवक्ताहरूकहाँ प्रकट गरिएको छ” (एफेसी ३:५)।

पहिलो र दोस्रो आगमनको बीचमा एउटा कालखण्ड रहेको छ जसलाई पुरानो नियमका अगमवक्ताहरूले देखेनन्। यो कालखण्ड मण्डली युग हो। इस्राएल केही समयको लागि (अस्थायी रूपमा) हटाइनेछ र त्यस बेला परमेश्वरले सबै जातिहरूबाट मानिसहरूको एउटा विशेष आत्मिक शरीर निर्माण गर्नुहुनेछ भन्ने कुरा अगमवक्ताहरूले देखेनन्। उहाँले यस उद्देश्यलाई पूरा गर्नुभएपछि र अन्यजातिहरूको पूरा सङ्ख्या भित्र आएपछि परमेश्वरले इस्राएलको हाल स्थगित रहेको अगमवाणीरूपी घडीलाई पुनः सञ्चालनमा ल्याउनुहुन्छ र आफ्‍नो प्राचीन चुनिएको जातिको सम्बन्धमा रहेका पुरानो नियमका बाँकी सबै भविष्यवाणीहरूलाई पूरा गर्नुहुनेछ। “…जबसम्म अन्यजातिहरूको पूरा सङ्ख्या भित्र आउँदैन, तबसम्म इस्राएलमाथि केही मात्रामा अन्धापना आएको छ” (रोमी ११:२५)।

दनियलको पुस्तकको नवौं अध्यायमा उल्लेखित सत्तरीयौं हप्‍ता (Daniel’s 70th week) र महासङ्कष्टको कालखण्ड इस्राएलसित सम्बन्धित कुरा हुन्, मण्डली‍ युगका विश्वासीहरूसित होइन। वर्तमान रहस्यको कालखण्डको अन्त त्यसबेला हुनेछ जुन बेला मण्डली युगका विश्वासीहरू पृथ्वीदेखि उठाइलगिनेछन्। अनि प्रभुले इस्राएल जातिको सम्बन्धमा रहेको उहाँको योजनालाई अगाडि बढाउनुहुनेछ जब उहाँले याकूबको कष्ट (Jacob’s trouble) को कालखण्ड (यर्मिया ३०:६), मसीहको महिमित आगमन, बचेकाहरूलाई फेरि जम्मा पार्ने काम र मसीही राज्यको स्थापना सम्बन्धीका पुरानो नियमका भविष्यवाणीहरू पूरा गर्नुहुनेछ।

५) सङ्कष्टकालको कालखण्डमा पृथ्वीमा मण्डली रहिरहेको हुँदैन भन्ने कुरा प्रकाशको पुस्तकले देखाउँदछ।

प्रकाश अध्याय ३ पछि मण्डली पृथ्वीमा रहिरहेको पाइँदैन।

सङ्कष्टकालको कालखण्डमा पृथ्वीमा परमेश्वरको साक्षी हुने जिम्मेवारी इस्राएलको हुनेछ, मण्डलीको होइन (प्रकाश ७)।

प्रकाश ११ मा उल्लेखित दुई साक्षीहरूको सेवकाइले उनीहरूलाई इस्राएल जाति र “परमप्रभुको दिन” सित सम्बन्धित पुरानो नियमका अगमवाणीहरूसित सम्बन्धित रहेको देखाउँछन्। यी दुई साक्षीहरू आफ्‍नो काम यरूशलेमबाट सञ्चालन गर्छन्, अर्थात् इस्राएलको राजधानीबाट। मण्डलीहरूको त्यस्तो कुनै राजधानी भन्ने कुरा नै हुँदैन किनकि मण्डलीको आशा स्वर्गीय आशा हो, पार्थिव होइन (कलस्सी ३:१-४; फिलिप्पी ३:१७-२१)। यी दुई साक्षीहरू भाङ्ग्राको लुगा लगाउँछन् जुनचाहिँ पुरानो नियमको इस्राएलमा त्यस्तै समयमा लगाइने गरिन्थ्यो, तर नयाँ नियम विश्वासीहरूसित सरोकार राख्‍ने कुरा यो होइन। कहिल्यै मण्डलीहरूले भाङ्ग्रा लगाएको पाइँदैन। बरु तिनीहरूलाई “प्रभुमा सधैं आनन्द गर; म फेरि भन्दछु, आनन्द गर” (फिलिप्पी ४:४) भनिएको पाइन्छ। मण्डली युगको विश्वासीको न्याय सदाको लागि बितेर गइसकेको छ अनि उसले आफ्‍नो मन स्वर्गीय स्थानहरूमा लगाउनुपर्छ जहाँ उसको ओहदामा ऊ ख्रीष्टसँगै अनन्तका लागि विजयी तुल्याइएर बसालिएको छ (एफेसी २:५-१०)। प्रकाश ११:४ ले यी दुई साक्षीहरूलाई पुरानो नियमको अगमवाणीसित जोडिएको देखाउँछ। जकरिया ४:३,११,१४ इस्राएलको भविष्यवाणी हो, मण्डलीको होइन। अझ, यी दुई साक्षीहरूले प्रकाश १०:५-६ मा आफ्‍ना शत्रुहरूमाथि इन्साफ बर्साउँछन्। ठीक यस्तै इन्साफ बर्साउन चाहिरहेका आफ्‍ना चेलाहरूलाई भने येशूले हप्‍काउनुभयो र बरु मण्डली युगका विश्वासीलाई आफ्‍ना शत्रुहरूको विनाशका निम्ति होइन भलाइका निम्ति प्रार्थना गर्नलाई आज्ञा दिनुभयो (लूका ९:५४-५६; रोमी १२:१४,१७-२१)।

सङ्कष्टकालको कालखण्डमा शैतानले इस्राएललाई सताउनेछ, मण्डलीलाई होइन (प्रकाश १२)। यस अध्यायको स्त्रीले इस्राएललाई जनाउँछ भन्ने कुरामा कुनै शङ्का छैन। पद ५ मा उक्त स्त्रीले ख्रीष्टलाई जन्माएको देखाइएको छ; यो कुरा स्पष्ट छ कि येशू इस्राएलद्वारा जन्मनुभयो, मण्डलीद्वारा होइन (यशैया ९:६-७; रोमी ९:५)। साथै, प्रकाश १२:१-२ का साङ्केतिक चिन्हहरूको भाषाले पुरानो नियमको इस्राएललाई जनाइरहेको छ। इस्राएललाई स्त्रीको संज्ञा दिइएको छ (यशैया ५४:५-७)। प्रकाश १२:२ का घाम, जून र १२ ताराहरूको उल्लेखले हाम्रो ध्यान यूसुफले देखेको इस्राएलसित सम्बन्धित सपनातिर लैजान्छ (उत्पत्ति ३७:९)। प्रकाश १२:२ का शब्दहरू मीका ५:३ को झण्डै हुबहु उद्धरण हो जहाँ फेरि मसीहद्वारा हुने इस्राएलको छुटकाराको उल्लेख छ। यी साङ्केतिक चिन्हहरू नयाँ नियमका मण्डलीहरूलाई बयान गर्न प्रयोग गरिएका छैनन्।

यिनै लगायत अन्य कारणहरूले पनि नयाँ नियमका पवित्र जनहरूको र्‍याप्चर दनियलको ७० औं हप्‍ता शुरु हुनु भन्दा अगाडि हुनेछ भनेर हामी विश्वस्त भएका छौं। परमेश्वरको अगमवाणीको पात्रोमा अब कुनै पनि बेला पूरा हुनलाई पर्खिरहेको घटना भनेको र्‍याप्चर नै हो।

पूर्व-सङ्कष्टकालीय र्‍याप्चर (Pre-tribulational rapture) को महत्त्व

पूर्व-सङ्कष्टकालीय र्‍याप्चरको शिक्षा थोरै महत्त्वको, ज्यादा ध्यान दिनु नपर्ने शिक्षा होइन। जसरी हामीले हेरिसकेका छौं, ख्रीष्टले, पावलले, याकूबले र पत्रुसले ख्रीष्टको पुनरागमन कुनै पनि घडी हुन सक्ने, र त्यसैले प्रतीक्षा गरिनुपर्ने घटना हो भनेर सिकाए (मत्ती २४:४४; फिलिप्पी ४:५; याकूब ५:८-९; १ पत्रुस ४:७)। शुरुका ख्रीष्टियनहरू ख्रीष्टको पुनरागमनको प्रतीक्षा गर्दै जिउँदथे (१ थेस्सलोनिकी १:९-१०)।

पूर्व-सङ्कष्टकालीय र्‍याप्चरको शिक्षा विश्वासीलाई आफ्‍नो ख्रीष्टिय जीवनलाई शुद्ध राख्नलाई एकदमै प्रेरणा दिने शिक्षा हो।

  1. यसले परीक्षा र उत्पीडनहरूको बीचमा विश्वासीलाई उत्साह प्रदान गर्छ (१ थेस्सलोनिकी ४:१७-१८)।
  2. यसले मण्डलीलाई महान् आज्ञामा ध्यान-केन्द्रित रहन मदत गर्छ (मत्ती २८:१८-२०; मर्कूस १६:१५; लूका २४:४४-४८; प्रेरित १:८)। यसले हामीलाई यो सिकाउँछ कि सुसमाचार प्रचार गर्ने काम, मानिसहरूलाई ख्रीष्टमा ल्याउने काम र सत्यको खाँबो र जगको रूपमा मण्डलीहरूलाई स्थापना गर्ने काम सर्वोपरि महत्त्वको सबभन्दा जरूरी काम हो। डी. एल. मूडीले एकदम ठीक कुरा गरेका हुन् जब उनले भने, “म यस संसारलाई भताभुङ्ग भएको जहाजको रूपमा देख्दछु। परमेश्वरले मलाई ज्यान बचाउने डुङ्गा दिनुभएको छ र मलाई भन्नुभएको छ, ‘मूडी, तिमीले सकभर धेरैजनालाई बचाऊ।'”
  3. यसले हामीलाई प्रभुका काममा व्यस्त रहन प्रेरणा दिन्छ (१ कोिरन्थी १५:५८)।
  4. यसले हामीलाई आज्ञापालनको जीवन व्यतित गर्न प्रेरणा दिन्छ (१ यूहन्ना ३:१-३; १ थेस्सलोनिकी ५:४-७)।
  5. यसले हामीलाई दुष्टताबाट अलग रहन प्रेरणा दिन्छ (तीतस २:१३-१४)।
  6. यसले विश्वासीहरूलाई झूटा शिक्षा (heresy) र सत्यत्याग (apostasy) देखि सचेत रहने बनाउँछ (२ तिमोथी ४:३-४; १ यूहन्ना २:२४-२८)।

र्‍याप्चर सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. “र्‍याप्चर” शब्दले कुन कुरालाई जनाउँछ?
  2. र्‍याप्चर हुँदा पूरा हुने दुईटा घटनाहरू कुन कुन हुन्?
  3. मरिसकेका विश्वासीहरू कहाँ छन्?
  4. र्‍याप्चर कत्तिको निश्चित कुरा हो?
  5. र्‍याप्चर विश्वासीहरूका लागि किन सान्त्वनाको कुरा हो?
  6. र्‍याप्चर सम्बन्धी तीन अवधारणाहरू के-के हुन्?
  7. र्‍याप्चर सङ्कष्टकालको कालखण्ड अगाडि नै हुनेछ भनेर हामीले किन विश्वास गर्छौ? पाँचओटा कारणहरू दिनुहोस्।
  8. महासङ्कष्टलाई परमेश्वरको ______________ को दिन भन्ने संज्ञा दिइएको छ।
  9. र्‍याप्चरको सवालमा “अचानक” (imminent) को माने के हो?
  10. नयाँ निमयका कुन‍ चारजना प्रचारकहरूले प्रभुको पुनरागमन अचानक (imminent) हुनेछ भनेर सिकाए?
  11. शुरुका ख्रीष्टियनहरूले प्रभु कहिले आउनुहुनेछ भनेर प्रतीक्षा गर्थे?
  12. के मण्डली ख्रीष्टविरोधीको आगमनको प्रतीक्षा गर्दैछ?
  13. नयाँ नियममा “रहस्य” भन्ने शब्दावलीको माने के हो?
  14. के पुरानो नियमका अगमवक्ताहरूले मण्डली युगको वर्णन गरे?
  15. प्रकाशको पुस्तकले मण्डलीको नभएर इस्राएलको वर्णन गर्दछ भनेर हामी कसरी जान्दछौं?
  16. प्रकाशको पुस्तकका दुई साक्षीहरू यहूदी हुनुपर्छ भनेर हामी कसरी जान्दछौं?
  17. प्रकाश १२ को स्त्री इस्राएल हो भनेर हामी कसरी जान्दछौं?
  18. कुनै पनि बेला हुन सक्ने र्‍याप्चरको शिक्षाले ख्रीष्टिय जीवनलाई कसरी शुद्ध पार्दछ? ६ ओटा बुँदाहरू बताउनुहोस्।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

Print Friendly, PDF & Email