बाँसको कथा
बाँसको कथा
एउटा उखान
बी. ई. न्यूकोम्ब
अनुवाद: गंगाप्रसाद प्रधान (सन् १८५१-१९३२)
चीनको एउटा कुचेङ् भन्ने जिल्लाको पहाडको पाखामा अनमोल-अनमोल बाँसका बोटहरू छन्। तिनमा कतिपटक बाँसको मालिकको नाउँ समेत लेखिएका हुन्छन्। पहाडमा भएका पानीका मूलहरूदेखि पानी लैजानका लागि एउटा साधारण उपाय छ अर्थात् मान्छेहरूले बाँस-बाँस् गाँस्दै लगेर लामा-लामा नली (ढुङ्ग्रो) बनाई पानी लैजान्छन्।
अघि माथि उल्लेख भएको ठाउँमा पहाडको पाखाको फेदीमा दर्जनौं अरू बाँसका बोटहरूको बीचमा एउटा सुन्दर बाँसको बोट उम्रेको थियो। त्यसका हाँगाहरू काला-काला र चिल्ला-चिल्ला थिए। त्यसका राम्रा-राम्रा पातहरू बेलुकीको हावामा बिस्तारै-बिस्तारै हल्लिँदै थिए। ती देखेर हामीले त्यसको प्रशंसा गर्न थाल्यौं। अनि जब हामीले त्यसको प्रशंसा गर्दैथियौं तब हामीलाई यस्तो भान भयो कि तिनका पातहरूको मन्द-मन्द सरसराहटबाट, ती बिस्तारै-बिस्तारै हल्लिँदै सिरिरिरि गर्ने सोरले उसले हामीलाई यसो भन्दै थियो:
“तपाईंहरू मेरो विषयमा यो कति राम्रो हो
भन्ने विचार गर्नुहुन्छ? अनि मेरा लामा-लामा र अल्गा-अल्गा डाँठहरू र रहरलाग्दा हाँगाहरू देखी उदेक मान्नुहुन्छ? तरै पनि मैले घमन्ड गर्ने त कुनै ठाउँ छैन। मेरा जे जति छन् ती सबै मेरा मालिकको प्रेमिलो वास्ताको कारण मसित छन्। यी सबै उहाँकै हुन् जसले मलाई यो असल ठाउँमा रोप्नुभयो, जहाँ मेरा जराहरू तल तलसम्म गई पुग्दछन् जहाँ गुप्त पानी छ। अनि मेरा जराले त्यहाँ निरन्तर जीवन-दिने पानी चुसी रहन्छन्। जसले गर्दा म मेरो पूरै जीवन बनिँदै जानलाई रस र खुराक र ताजापन र सुन्दरता र बल पाउँदछु।
“अनि यो डाँडाको अर्कोपट्टि भएका बाँसका बोटहरू देख्नुहुन्छ? तिनको कस्तो दुर्गति छ र तिनका पातहरू सुक्न-सुक्न लागेका छन्। तिनका जराहरू भित्रको गुप्त पानीसम्म पुगेका छैनन्। तर मेरो लागि मैले गुप्त पानी पाएको कारणले मलाई केहीको घटी छैन।
“तपाईंहरूले मेरा डाँठमा भएका चिन्हहरू देख्नुहुन्छ? राम्ररी हेर्दैजानुहोस्। मेरो जीउमा गहीरो-गहीरो गरी काटिएका छन्। यी काटिएका डामहरूले मलाई दुःख हुन्छ। म उदेक मान्दथेँ मैले किन यसरी दुःख भोग्नुपर्दैछ भनेर। तर हतियार मेरा मालिकको आफ्नै हातमा थियो र त्यसद्वारा उहाँले मेरो जीउमा आफ्नो नाउँ खोप्दैहुनुहुन्थ्यो। अनि काम सक्किएपछि मेरा डाँठमा मेरा मालिकको नाउँ खोपिएछन् भनेर जब थाहा पाएँ तब म अवर्णनीय रमाहटले उर्लेँ। तब उहाँले मलाई प्रेम गर्नुहुन्छ र मलाई बहूमूल्य ठान्नुहुन्छ अनि सारा संसारले म उहाँको हुँ भनेर जानेको उहाँले चाहनुहुँदो रहेछ भन्ने कुराको अब मलाई कुनै शङ्का बाँकी रहेन। म अब यस कुरामा गर्व गर्दछु कि मेरा यस्ता मालिक हुनुहुन्छ।”
जब बोटले आफ्नो धनीको विषयमा हामीहरूलाई बताउँदैथियो, तब हामीहरूले यताउता हेर्यौं, त हेर, धनी आफै पनि त्यहाँ रहेछ। त्यसले प्यारसित एउटा बाँसलाई हेर्दैरहेछ। अनि त्यसले आफ्नो हातमा लाग्ने खुकुरी लिएको रहेछ। अनि धनीले बाँसलाई भन्यो, “मलाई तेरो खाँचो छ। के तैंले आफूलाई मलाई दिहाल्ने इच्छा गर्छस्?” तब बाँसले उत्तर दियो, “म तपाईंकै हुँ। तर म जस्तोले तपाईंको के काम चल्छ होला र?” धनीले भन्यो, “मलाई तेरो खाँचो छ। मेरो जरुवा पानी केही सुक्खा ठाउँहरूमा लैजानका लागि जहाँ पानी छैन।”
तब बाँसले भन्यो, “तर हे मालिक, मदेखि यस्तो काम कसोगरी हुन सक्छ? म ता तपाईंको मूलको जिउँदो पानीनेर रहन सक्छु। अनि आफ्नै खुराकको लागि यसको पानी चुस्न सक्छु। अनि म आफ्ना हातहरू आकाशतिर फिजाउँन सक्दछु। अनि मेरो जीवन नयाँ-नयाँ भइरहन म तपाईंको ताजा पार्ने पानीहरू पनि पिउँदछु। अनि म बलियो र राम्रो हुन सक्दछु। अनि म रमाहट गर्दछु किनभने बल र सुन्दरता सबै तपाईंबाट कै हुन्। अनि तपाईं मेरा कति असल मालिक हुनुहुन्छ भनी सबैलाई प्रचार गर्दछु। तर म अरूलाई कसोगरी जरुवा पानी दिन सक्छु? म आफ्नै खुराकको लागि साँच्चै पानी चुस्दछु, अरूलाई दिन सक्नलाई त मसित के छ र?”
तब धनीचाहिँको मुखबाट “तैंले आफूलाई मेरो लागि दिहाल्ने इच्छा गर्दछस् भने म तँलाईं काममा लगाउँछु” भन्ने मीठो बोली निस्क्यो। अर्थात् — “म तँलाईं काट्छु अनि तेरा सबै हाँगाहरू छिमल्छु अनि तँलाई नाङ्गो पारेर तँलाई तेरा यी अरू साथी बोटहरूको बीचदेखि पर लैजान्छु। अनि म तँलाई टाढो एकलास ठाउँमा लैजान्छु जहाँ तैंले मीठो स्वर सुन्न पाउँदैनस् जहाँ खालि घाँस र काँडाका झाडी मात्र छन्। अँ अनि तँमाथि चोट लाग्ने हतियार चलाउँछु जसले तँलाई अरू पनि दुःख दिनेछ। कसरी भने तेरा मनभित्र भएका सबै गाँठागुँठी एक-एक गरीकन काटी निकालिनेछन् तँदेखि मेरो जरुवा पानी बहेर जाने नबनुञ्जेलसम्म। तँ भन्दछस्, “तब ता म मरिहाल्छु”। अँ, हे मेरो आफ्नै बोट, तँ मर्नु ता मर्छस्। तर मेरो जरुवा पानी तँदेखि नअड्कीकन अनि नथामिनेगरी बहिरहनेछ। अँ साँच्ची-साँच्ची नै तेरो सुन्दरता जान्छ। अँ अबदेखि उसो तेरो सुन्दरताको लागि कसैले तँमाथि दृष्टि लाउनेछैन। तरैपनि तँदेखि बहने जरुवा पानी खानका लागि धेरै-धेरैजना तँमाथि निहुरिनेछन्। तिनीहरूले तेरो विषयमा केही विचार त गर्नेछैनन्। तरैपनि तेरो बाटोले तिनीहरूलाई दिएको त्यस जरुवा पानीको लागि के तिनीहरूले तेरो मालिकलाई धन्यवाद दिनेछैनन् र? मेरो बाँस, के तँ यस्तै हुनलाई इच्छा गर्छस्?” तब बाँसको कुरा सुन्नलाई म आफ्नो सास रोकेर बसेँ।
“मेरा मालिक, जे-जे मेरा छन्, ती सबै तपाईंबाटकै हुन्। तपाईंलाई मेरो खाँचो छ भने म आफ्नो जीवन खुशीसित इच्छा गर्दै तपाईंलाई दिहाल्छु। मेरो मरणको बाटोले मात्रै तपाईंले जरुवा पानी अरूलाई दिन सक्नुहुन्छ भने म मर्नलाई तयार छु। म तपाईंकै हुँ। मेरा मालिकको इच्छाअनुसार मलाई लिएर, जहाँ भए पनि, आफ्नो काममा लगाउनुहोस्।”
अनि धनी आफैचाहिँ उसको अनुहार दयाले भरिएको ता थियो। तैपनि धनीले यति राम्रो बोटलाई लाग्ने बञ्चरो लिएर दोहोर्याई-दोहोर्याईकन हिर्काएर काटी भुइँमा लडायो। त्यसले केही विरोध गरेन तर त्यसको प्रहार सहनलाई आफूलाई दिहाल्यो, मलीम शब्दले “हे मेरा मालिक, तपाईंको इच्छा अनुसार होस् भन्दै।” अनि धनीचाहिँले अहिललेसम्म बञ्चरो लिइरहेकै थियो। अनि डाँठ नछिनाउञ्जेलसम्म त्यसलाई हिर्काउँदैरह्यो अनि बोटले आफ्नो सुन्दरता अर्थात् आफ्ना पखेटा जस्ता हाँगाहरू जो त्यसको मुकुट थियो सधैंको लागि गुमायो।
अब त्यो साँच्चीनै नाङ्गो र मुडुलो भयो। अनि धनीको अनुहार अझै कोमल बन्यो, र त्यो कोमलता प्रेमिलो ज्योतिले अझै गहिरो भयो जसै लडाइराखेको लिङगो टुक्रालाई आफ्नो काँधमाथि उठाई बोक्यो। तब त्यसका साथीहरू त्यसलाई पहाडमाथि टाढो-टाढो डाँडा हुँदो लग्दै गर्दा उनीहरू विलाप गर्न लागे। तर बाँसको लिङ्गोले चाहिँ आफ्नो मालिकको प्रेमको लागि आफूलाई सुम्पिदियो “मेरा मालिक, तपाईंले जहाँ इच्छा गर्नुहुन्छ, मलाई उहीँ लैजानुहोस्” भनी मलीम शब्द गरी भन्दै।
अब धनीचाहिँले त्यसलाई बोकेर एकान्त र सुन्ने ठाउँमा पुर्यायो। त्यहाँ पुगेर एकछिनसम्म विचार गरिरह्यो। त्यसपछि फेरि, त्यो निर्दयी देखिने, लाग्ने हतियार आफ्नो हातमा लिएर लिङ्गोको मुटुमा पुग्नेगरी एक पटक हिर्कायो त्यसलाई आफ्नो जरुवा पानी लैजाने नली बनाउनका लागि। किनभने खालि लिङ्गोको मुटु फुटेको बाटोले मात्रै पानी नपाउने ठाउँमा बहेर जान सक्दथ्यो। लिङ्गो अझै पनि गनगन गरेन तर मुटु फुटेको शब्दले बिस्तारै-बिस्तारै भन्यो, “हे मेरा मालिक तपाईंको इच्छा पूरा होस्”। यसरी धनीचाहिँले फेरि प्रेमी मनले अनि दयालु अनुहारले चोट लाग्ने गरी प्रहार गर्यो। अनि चोट पार्नदेखि थामिएन तर लाग्ने हतियारले राम्रो गरी आफ्नो काम गर्दैरह्यो, सबै रोकटोक ननिकालिउञ्जेलसम्म। त्यसपछि मात्रै त्यसको धनीको मन सन्तुष्ट भयो।
तब उसले फेरि त्यसलाई बोकेर चोट लागेको र दुःख सहँदै गरेको अवस्थामा वहाँसम्म लग्यो जहाँ उसले अहिलेसम्म जरुवा पानी उम्रँदै गरेको देखेको थिएन। वहाँ पुगेर उसले त्यो यसरी राख्यो अर्थात् त्यसको एक छेउ पानीको छेउमा पुग्ने गरी। अब जिउँदो पानीको मूल बहँदै त्यसको मुटुमा निर्दयी तवरले पारिएको त्यसको मुटुका सबै घाउ-घाउदेखि छिर्दै-छिर्दै त्यसकै अर्को छेउपट्टिदेखि निस्की जानेसम्म गरी बहेर गयो। अनि बहँदाखेरि केही आवाज नबनाई भित्र-भित्र बहँदै बाहिर बही निस्क्यो निरन्तर रूपमा, नथामिने गरी। तब धनीचाहिँ मुसु-मुसु हाँस्दै खुशी भयो।
त्यसपछि धनीचाहिँले फेरि अरू-अरू बोटलाई हेर्न लाग्यो। कोही-कोही लिङ्गोले दुःख भोग्न मानेन तर अरू-अरू कतिले चाहिँ खुशीसित आफू-आफूलाई उसको हातमा दिहाले — “मालिक, हामीहरू तपाईंमाथि भरोसा राख्दछौं। आफूले आफ्नो इच्छाअनुसार हामीहरूसित गर्नुहोस्” भन्दै। तब बाँसको धनीले बाँसको झाङ्ग-झाङ्गदेखि रोजी-रोजी काटेर बोक्दै लाँदै अघिल्लो बाँसको छेउमा पुर्यायो। वहाँदेखि एउटा-एउटा गरी राख्यो त्यही अघिल्लोजस्तै दुःख भोग्ने बाँसहरूलाई एकअर्कासँग गाँस्दै-गाँस्दै। अनि जसरी त्यसले ती गोटैपिच्छे बाँसलाई तिनको ठाउँ-ठाउँमा गरी गाँसेर राख्यो तब तिनको घाउ पारिएका मुटुभित्र-भित्रबाट जरुवा पानी बहन थाल्यो। त यसैगरी त्यसको लाइन लामो-लामो हुँदै गयो अनि अन्तमा बाँसको नली पानी नभएको ठाउँसम्म पुग्यो। तब धेरै-धेरै समयदेखि तिर्खाले हैरान-हैरान परी मर्न आँटेका लोग्नेमान्छेहरू, स्वास्नीमान्छेहरू र केटाकेटीहरू समेतले आएर इच्छा पूरा हुने गरी पानी खाए। अनि तिनीहरूले यहाँ जरुवा पानी आएको भन्ने समाचार यता-उता सबैतिर लगे, “अब यो ठाउँबाट पानीको अनिकालको समय गयो! आओ, पानी खाओ!” भन्दै। तब मान्छेहरूले आई-आईकन पानी खाए अनि तिनीहरूको जीवन नयाँ भयो।
धनीचाहिँ यो देखेर मनमा बडो खुशी भयो। त्यसपछि बाँसको धनीले आफ्नो बाँसको नलीको छेउ-छेउमा गएर सोध्यो — “ए मेरो बाँस, के तँ अब तेरो यो दुःख र एक्लोपनदेखि पछुतो मान्छस्? अब तँ के मोलको भइस्? अँ अब तेरो मोल यही हो अर्थात् अबदेखि तैँले जगतलाई आफूदेखि जिउँदो पानी दिँदैछस्, दिरहन्छस्। के यसको लागि मूल्य चुकाउनु ज्यादा थियो?” बाँसले उत्तर दियो, “हे मेरा मालिक, थिएन, थिएन! अनि मलाई पछुतो छैन, हजार पटक छैन। मेरा दस हजार जीवन भए पनि कति खुशीसित म तपाईंलाई दिहाल्नेथिएँ। किनभने यो जान्न पाउनु मेरो लागि कति आनन्द भएको छ जो म आज जान्दछु कि मैले तपाईंलाई खुशी तुल्याउन पाएको छु।”
गंगा प्रसाद प्रधानको अनुवाद सर्वप्रथम सन् १९१३ सालमा छापिएको थियो। बी. ई. न्यूकोम्बको अङ्ग्रेजी मूल लेख हात परेपछि उक्त अनुवादलाई त्यसैसित तुलना गर्दै यहाँ केही परिमार्जित रूपमा प्रस्तुत गरिएको हो।