यहूदी, अन्यजाति र परमेश्वरको मण्डली

Doctrine

यहूदी, अन्यजाति र परमेश्वरको मण्डली

“तिमीहरूले ठेस नखुवाओ, न यहूदीहरूलाई, न ग्रीकहरूलाई, न ता परमेश्वरको मण्डलीलाई” — १ कोरिन्थी १०:३२

ध्यानपूर्वक बाइबल पढ्ने जोसुकैलाई पनि यो थाह भएको कुरा हो कि बाइबलको आधाभन्दा बढी भाग एउटा मानव समूहसित सम्बन्धित रहेको छ अर्थात् इस्राएलसित। परमेश्वरको योजनामा उनीहरूको छुट्टै स्थान रहेको देखिन्छ। मानव जातिबाट अलग गरिएर उनीहरू यहोवा परमेश्वरसित करारमा बाँधिए र उनीहरूलाई निश्चित प्रतिज्ञाहरू दिइए जो अन्य कुनै मानव समूहलाई दिइएनन्। पुरानो नियमको वृतान्त लगायत अगमवाणीहरूमा केवल उनीहरूकै इतिहास पाइन्छ र तिनमा यदि अन्य जातिहरूको उल्लेख भएको छ भने ती जातिहरू यहूदीको सम्पर्कमा आएका हुनाले मात्र उल्लेख गरिएका हुन्छन्। साथै, इस्राएल राष्ट्रसित यहोवा परमेश्वरको सम्पूर्ण सरोकार यस पृथ्वीको सवालसँग सम्बन्धित भएको पाइन्छ। विश्वासयोग्य र आज्ञाकारी भएको खण्डमा उक्त जातिलाई पार्थिव गौरव, ऐश्वर्य र सामर्थ्य प्रतिज्ञा गरिएको छ; अनाज्ञाकारी भएको खण्डमा उनीहरू “पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म विभिन्न जातिका बीचमा परमप्रभुले तितरबितर पार्नुहुनेछ” भनेर (व्यवस्था २८:६४) चेताउनी दिइएको छ। मसीहको प्रतिज्ञासमेत “पृथ्वीका सबै कुलले” (उत्पत्ति १२:३) पाउने आशिषको रूपमा व्यक्त गरिएको छ।

बाइबल अध्ययन गर्दै जाँदा धेरै पटक उल्लेख गरिएको त्यहाँ अर्को छुट्टै समूह भेटिन्छ जसलाई मण्डली भनिएको छ। यस समूहको पनि परमेश्वरसित विशेष सम्बन्ध रहेको पाइन्छ र इस्राएलले जस्तै परमेश्वरबाट निश्चित प्रतिज्ञाहरू प्राप्‍त गरेको पाइन्छ। तर यी दुईबीचको समानता यहीँ टुङ्गिन्छ र उल्लेखनीय भिन्नताहरू शुरू हुन्छन्। मण्डली केवल अब्राहामको शारीरिक सन्ततीबाट निर्मित संरचना होइन बरु यो एउटा यस्तो समूह हो जसमा यहूदी र अन्यजातिबीच भिन्नता नै छैन। यहाँ परमेश्वरसितको सम्बन्ध केवल एउटा करारको आधारमा नभएर एउटा नयाँ जन्ममा आधारित भएको पाइन्छ। आज्ञाकारी भएको खण्डमा पार्थिव महानता र ऐश्वर्यको इनाम दिइने प्रतिज्ञा मण्डलीलाई छैन बरु खानेकुरा र वस्त्र छन् भने तिनैमा सन्तुष्ट रहने शिक्षा छ (१ तिमोथी ६:८)। इस्राएललाई अस्थायी र पार्थिव कुराहरूको आशिष दिइएको पाइन्छ भने मण्डलीलाई आत्मिकस्वर्गीय आशिषहरू।

अझ, पवित्र शास्त्रले यो देखाउँछ, न इस्राएल शुरूदेखि थियो न ता मण्डली नै। दुवैको निश्चित शुरूआत भएको उल्लेख छ। इस्राएलको शुरूआत अब्रामको बोलावटबाट भयो। मण्डलीको जन्म कहिले भएको हो भन्ने कुराको खोजी गर्दा येशू ख्रीष्ट पृथ्वीमा आउनुभन्दा अघि मण्डलीको अस्तित्व रहेको पाइँदैन, न ता उहाँ पृथ्वीमा हुनुहुँदा नै। उहाँले आफ्नो मण्डली भविष्यमा बनाइने कुरा गर्नुभएको पाइन्छ: “यस चट्टानमाथि म आफ्नो मण्डली बनाउनेछु” (मत्ती १६:१८)। उहाँले “बनाइसकेँ” भन्नुभएन, न ता “बनाउँदै छु” नै, तर “बनाउनेछु”।

साथै एफेसी ३:५-१० बाट यो पनि बुझिन्छ कि पुरानो नियमका अगमवाणीहरूमा मण्डलीको कुनै उल्लेख गरिएको छैन। पुरानो नियमका समयहरूमा मण्डली “परमेश्वरमा लुकेर बसेको रहस्य” थियो अर्थात् परमेश्वरले यसलाई प्रकट गर्नुभएको थिएन तसर्थ मण्डली गोप्य राखिएको “रहस्य” थियो। पवित्र शास्त्र अध्ययन गर्नेले यो पत्ता लगाउँछ कि बाइबलअनुसार मण्डलीको जन्म प्रेरितको दोस्रो अध्यायमा भएको हो भने यसको पार्थिव अस्तित्वको अन्तचाहिँ १ थेस्सलोनिकी ४ मा उल्लेखित र्‍याप्चर (rapture, मण्डलीलाई स्वर्गमा उठाई लगिने कार्य) द्वारा हुनेछ।

बाइबल अध्ययन गर्ने व्यक्तिले यो पनि पत्ता लगाउँछ कि जातिहरूको बाइबलीय विभाजनमा त्यहाँ अर्को समूह पनि रहेको छ जसलाई कम मात्रामा उल्लेख गरिएको पाइन्छ। हरहिसाबमा इस्राएल र मण्डली दुवैबाट भिन्न रहेको उक्त समूहलाई अन्यजातिहरू भनी जनाइएको छ। यहूदी, अन्यजाति र मण्डलीका आ-आफ्ना तुलनात्मक स्थानहरूलाई पवित्र शास्त्रका निम्न खण्डहरूबाट संक्षेपमा देख्‍न सकिन्छ:

 

यहूदी

 

अन्यजाति

 

मण्डली

रोमी ९:४,५

एफेसी २:११,१२

एफेसी १:२२,२३

यूहन्ना ४:२२

एफेसी ४:१७,१८

एफेसी ५:२९-३३

रोमी ३:१,२

मर्कूस ७:२७,२८

१ पत्रुस २:९

तब, पवित्र शास्त्रमा इस्राएल र मण्डलीको बारेमा उल्लेखित तथ्यहरूको तुलना गर्दा यो पाइन्छ कि ती दुईको शुरूआत, बोलावट, प्रतिज्ञा, आराधना, व्यावहारिक सिद्धान्तहरू र भविष्य सबै नै बेग्लाबेग्लै छन्।

बोलावट

 

इस्राएल

 

मण्डली

परमप्रभुले अब्रामलाई भन्नुभयो, “तेरो देश र तेरा कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा” (उत्पत्ति १२:१)।

यसकारण हे पवित्र भाइहरूहो, स्वर्गीय बोलावटका भागीदारहरूहो, हामीले स्वीकार गरेका प्रेरित र महापूजाहारीलाई अर्थात् ख्रीष्ट येशूलाई ध्यान देओ (हिब्रू ३:१)।

किनकि हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी पनि मुक्तिदाता प्रभु येशू ख्रीष्टको बाटो हेर्दछौं (फिलिप्पी ३:२०)।

किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई एउटा असल देशमा लैजानुहुँदै छ। त्यहाँ खोलानाला र मूल फुटेका पानी पहाड र बेँसी भएर बग्छन्। त्यो देश गहूँ, जौ, दाख, नेभारा, दारिम, भद्राक्षको तेल र महले भरेको छ। त्यस देशमा तिमीहरूलाई अन्नको अभाव हुनेछैन। त्यहाँ तिमीहरूलाई कुनै कुराको घटी हुनेछैन। त्यस देशमा ढुंगाहरू फलामका छन्, र त्यहाँका पहाडबाट तिमीहरूले तामा निकाल्नेछौ (व्यवस्था ८:७-९)।

अनि येशूले तिनलाई भन्नुभयो: “स्यालहरूका ओडार र आकाशका चराहरूका गुँड छन्, तर मानिसका पुत्रको शिर राख्‍ने ठाउँधरि छैन” (मत्ती ८:२०)।

एउटा अविनाशी, निष्कलंक र ओइलिएर नजाने पैत्रिक-सम्पत्तिका निम्ति, जो तिमीहरूका लागि स्वर्गमा सुरक्षित राखिएको छ (१ पत्रुस १:४)।

यही घडीसम्म पनि हामी भोकाउँछौं, तिर्खाउँछौं, नाङ्गा छौं, मुक्का खान्छौं, र घरबिहीन भएका छौं (१ कोरिन्थी ४:११)।

तब त्यसले भन्यो, “म अब्राहामको एक नोकर हुँ। परमप्रभुले मेरा मालिकलाई खूबै आशिष् दिनुभएको हुनाले तिनी एक ठूला मानिस भएका छन्। उहाँले तिनलाई बगालका बगाल भेडाबाख्राहरू र बथानका बथान गाई-गोरूहरू, तथा सुन चाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ” (उत्पत्ति २४:३४,३५)।

अनि येशूले चारैतिर हेरेर आफ्नो चेलाहरूलाई भन्नुभयो: “धनसम्पत्ति हुनेहरू कति कठिनसँग परमेश्वरको राज्यभित्र पस्नेछन्” (मर्कूस १०:२३)।

मेरा प्रिय भाइहरूहो सुन; के परमेश्वरले यस संसारका गरिबहरूलाई विश्वासमा धनी र राज्यका हकदारहरू हुनालाई चुन्नुभएको छैन र? जुन राज्यको प्रतिज्ञाचाहिँ उहाँले आफूलाई प्रेम गर्नेहरूका निम्ति गर्नुभएको छ (याकूब २:५)।

तिमीहरूका विरोधमा आउने शत्रुहरूलाई परमप्रभुले तिमीहरूकै सामु परास्त गर्नुहुनेछ। उनीहरू तिमीमाथि एक बाटो आउनेछन्, तर तिमीबाट सात बाटा भाग्नेछन् (व्यवस्था २८:७)।

तिनीहरूले तिमीहरूलाई सभाघरहरूबाट निकालिदिनेछन्; अँ, यस्तो समय आउँछ – जसले तिमीहरूलाई मार्दछ, त्यसले परमेश्वरको सेवा गरें भनी ठान्नेछ (यूहन्ना १६:२)

मैले आज तिमीहरूलाई दिएका परमप्रभु तिमीहरूका परमेश्वरका आज्ञाहरूमा ध्यान दिएर ती होशियारीसाथ पालन गर्यौ भने, परमप्रभुले तिमीहरूलाई पुच्छर होइन तर शिर तुल्याउनुहुनेछ। तिमीहरू सधैं टुप्पामा हुनेछौ, कहिल्यै फेदमा पर्नेछैनौ (व्यवस्था २८:१३)।

यसकारण जसले आफैलाई यो सानो नानीजस्तै नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा ठूलो हो (मत्ती १८:४)

यसको तात्पर्य एक यहूदी भक्तजन आफ्नो मृत्युपछि स्वर्ग जाँदैन भन्ने होइन। तर भिन्नता यसमा छ कि एक यहूदीलाई भक्तिपूर्वक जिउन पार्थिव (भौतिक) आशिषहरूको प्रेरणा दिइएको थियो, स्वर्गीय होइन। वर्तमान प्रबन्धअन्तर्गत यहूदी लगायत अन्यजातिले प्रभु येशू ख्रीष्टमा विश्वास गरेर नयाँ जन्म पाएर मात्रै मुक्ति पाउँछ (यूहन्ना ३:३,१६), अनि “एउटै शरीर” मा बप्‍तिस्मा गरिन्छ (१ कोरिन्थी १२:१३) जसलाई “मण्डली” भनिन्छ (एफेसी १:२२,२३)। मण्डलीमा यहूदी र अन्यजातिको भिन्नता बिलकुलै छैन (१ कोरिन्थी १२:१३; गलाती ३:२८; एफेसी २:१४)। त्यसैले प्रेरित पावलले एफेसीहरूलाई पत्रमा उनीहरूलाई “बितेको समयमा तिमीहरू अन्यजातिहरू थियौ” भनी लेख्छन्, एफेसी २:११; १ कोरिन्थी १२:२ मा पनि “जब तिमीहरू अन्यजातिहरू थियौ” भनिएको छ।

व्यावहारिक नियमहरू

इस्राएल र मण्डलीबीचको भिन्नता उनीहरूलाई दिइएका व्यावहारिक नियमहरूमा पनि देखिन्छ। तुलना गर्नुहोस्:

 

इस्राएल

 

मण्डली

जब तिमीहरू अधिकार गर्न भनी जान लागेको देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ल्याउनुहुन्छ, र तिमीहरूभन्दा असंख्य र सामर्थी यी सात जाति, हित्ती, गिर्गाशी, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरूलाई तिमीहरूका सामुन्नेबाट उहाँले धपाउनुहुनेछ, अनि जब परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुन्छ र तिमीहरूले उनीहरूलाई परास्त गरेका हुन्छौ, तब तिमीहरूले उनीहरूलाई सम्पूर्ण नाश गर्नू। तिमीहरूले उनीहरूसित सम्झौता नगर्नू। उनीहरूलाई नटिठाउनू (व्यवस्था ७:१,२)।

तर म तिमीहरूलाई भन्दछु, आफ्ना शत्रुहरूलाई प्रेम गर, तिमीहरूलाई श्राप दिनेहरूलाई आशिष देओ, तिमीहरूलाई घृणा गर्नेहरूको भलाइ गर, अनि तिमीहरूको बदनामी गर्ने र तिमीहरूलाई सताउनेहरूका निम्ति प्रार्थना गर (मत्ती ५:४४)।

अनि आफ्नै हातले काम गर्दै परिश्रम गर्दछौं। गिल्ला गरिँदा हामी आशिष दिन्छौं; सताइँदा हामी सहन्छौं; निन्दित हुँदा हामी विन्ती गर्दछौं; अहिलेसम्म हामी यस संसारका कसिङ्गर र सबै कुराका फोहोर-मैलासरह भएका छौं (१ कोरिन्थी ४:१२,१३)।

आँखाको सट्टा आँखा, दाँतको सट्टा दाँत, हातको सट्टा हात, खुट्टाको सट्टा खुट्टा, डामको सट्टा डाम, चोटको सट्टा चोट, कुटाइको सट्टा कुटाइ त्यस मानिसलाई मिलोस् (प्रस्थान २१:२४,२५)।

तर म तिमीहरूलाई भन्दछु, दुष्टको सामना नगर; तर जसले तिम्रो दाहिने गालामा थप्पड लाउला, त्यसपट्टि अर्को पनि फर्काइदेओ (मत्ती ५:३९)।

आफ्ना आमा-बाबुको आज्ञापालन नगर्ने कुनै अटेरी बदमाश छोरालाई ताडना दिँदा पनि तिनीहरूको बात मान्दैन भने, त्यसका आमा-बाबुले त्यसलाई समातेर शहरका धर्म-गुरूहरूकहाँ शहरको मूल ढोकामा लैजाऊन्। तिनीहरूले शहरका धर्म-गुरूहरूलाई यसो भनून्, यो हाम्रो छोरो ढीट र बदमाश छ। त्यसले हाम्रो आज्ञापालन गर्दैन। यो लफङ्गो र मतवाला हो।” तब त्यस शहरका सबै पुरुषहरूले त्यसलाई नमरुञ्जेल ढुंगाले हानून्। तिमीहरूले आफ्ना बीचबाट दुष्टता हटाउनू, र सारा इस्राएलीहरू यो सुनेर डराउनेछन् (व्यवस्था २१:१८-२१)।

अनि उठेर त्यो आफ्नो बाबुकहाँ आयो। तर त्यो अझ धेरै टाढैमा हुँदा त्यसका बाबुले त्यसलाई देखे, र दयाले भरिए; अनि दगुरेर गई त्यसलाई अँगालो हाले, र त्यसलाई चुम्बन गरे। अनि त्यस छोराले उनलाई भन्यो, ‘पिताजी, मैले स्वर्गको विरोधमा र तपाईंको दृष्टिमा पाप गरेको छु, र अब उसो तपाईंको छोरो भनिन लायकको म छैन।’ तर बाबुचाहिँले आफ्ना दासहरूलाई भने, ‘सबभन्दा बढिया पोसाक निकाल र उसलाई पहिराइदेओ; र उसको हातमा औंठी र पाउहरूमा जुत्ता लाइदेओ; अनि पोसिएको बाछा ल्याएर मार, अनि खाऔं, र आनन्द मनाऔं’ (लूका १५:२०-२३)।

उपासना

उपासना सम्बन्धी दिइएका निर्देशनहरू झनै भिन्न छन्। इस्राएलले केवल एउटै स्थानमा मात्र उपासना गर्न मिल्थ्यो, त्यो पनि परमेश्वरदेखि दूरीमा रहेर एउटा पूजाहारीको माध्यमद्वारा मात्र। मण्डलीचाहिँ दुई वा तीनजना जम्मा भई जुनसुकै ठाउँमा उपासना गर्न सक्ने, साहससित महापवित्रस्थानभित्र प्रवेश गर्न सक्ने संरचना हो जसमा सबै नै पूजाहारी हुन्छन्। तुलना गर्नुहोस्:

 

इस्राएल

 

मण्डली

लेवी १७:८,९

मत्ती १८:२०

लूका १:१०

हिब्रू १०:१९,२०

गन्ती ३:१०

१ पत्रुस २:५

भविष्य

इस्राएल र मण्डलीको भविष्य सम्बन्धी उल्लेखित अगमवाणीहरू बीचको भिन्नता झनै छक्कलाग्दा छन्। मण्डली पृथ्वीदेखि पूर्ण रूपमै उठाएर लगिन्छ भने पुन:स्थापित इस्राएलको पार्थिव महिमा र सामर्थ्यको चरमबिन्दु त आउन बाँकी नै छ। पवित्र शास्त्रले मण्डलीको बारेमा के बताउँदछ, हेरौं:

मण्डली

मेरा पिताको घरमा धेरै बासस्थानहरू छन्; त्यस्तो नहुँदो हो ता म तिमीहरूलाई भन्नेथिएँ। म तिमीहरूका निम्ति ठाउँ तयार पार्न जान्छु। अनि मैले गएर तिमीहरूका निम्ति ठाउँ तयार पारें भने म फेरि आउनेछु; अनि म जहाँ छु; त्यहाँ तिमीहरू पनि होओ भनी म तिमीहरूलाई आफूकहाँ लिनेछु (यूहन्ना १४:२,३)।

किनकि प्रभुको वचनद्वारा हामी तिमीहरूलाई यो भन्दछौं – हामी जो जीवित छौं, र प्रभुको आगमनसम्म रहिरह्यौं भने हामीले कुनै रीतिले पनि सुतेकाहरूलाई उछिन्नेछैनौं। किनकि प्रभु आफै चित्कारसित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीसित स्वर्गबाट ओर्लनुहुनेछ; अनि ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन्; त्यसपछि हामी जीवित र रहिरहेकाहरू हावामा प्रभुलाई भेट्नाका निम्ति उनीहरूसित एकसाथ बादलहरूमा उठाइनेछौं; अनि यसरी हामी सधैं प्रभुको साथमा रहनेछौं (१ थेस्सलोनिकी ४:१५-१७)।

किनकि हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी पनि मुक्तिदाता प्रभु येशू ख्रीष्टको बाटो हेर्दछौं; जसले जुन प्रभावशाली कार्यद्वारा सबै कुरा आफ्नो वशमा पार्न सक्नुहुन्छ, त्यही कार्यअनुसार उहाँले हाम्रो दीनहीन शरीरलाई बदली गरिदिनुहुनेछ, र यो उहाँको महिमापूर्ण शरीरजस्तै बनाइनेछ (फिलिप्पी ३:२०,२१)।

प्रियहरूहो, अहिले ता हामी परमेश्वरका सन्तान छौं, अनि हामी के हुनेछौं, सो अहिलेसम्म प्रकट भएको छैन; तर हामी जान्दछौं, जब उहाँ देखा पर्नुहुनेछ, तब हामी उहाँजस्तै हुनेछौं; किनकि हामी उहाँलाई, उहाँजस्तो हुनुहुन्छ, त्यस्तै देख्‍नेछौं (१ यूहन्ना ३:२)।

हामी खुशी होऔं; र खूबै आनन्द मनाऔं, अनि उहाँलाई महिमा दिऔं; किनकि थुमाको विवाह आइपुग्यो, र उहाँकी पत्‍नीले आफैलाई तयार पारेकी छन्। अनि उनलाई शुद्ध र चम्किलो मिहिन मलमल पहिरने अधिकार दिइयो; किनकि मिहिन मलमलचाहिँ पवित्र जनहरूका धार्मिकताका कामहरू हुन्। अनि तिनले मलाई भने: “लेख, जो-जो थुमाको विवाहको भोजमा बोलाइएका छन्, ती धन्य हुन्” (प्रकाश १७:७-९)।

यस पहिलो बौरिउठाइमा जसको भाग हुन्छ, ऊ धन्य र पवित्र हो; यस्ताहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन, तर तिनीहरू परमेश्वरका र ख्रीष्टका पूजाहारीहरू हुनेछन्, र उहाँसित हजार वर्षसम्म राज्य गर्नेछन् (प्रकाश २०:६)।

इस्राएल

अनि हेर, तिमीले गर्भधारण गर्नेछौ, र एउटा छोरा जन्माउनेछौ, र तिमीले उहाँको नाम येशू राख्नू। उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ; अनि प्रभु परमेश्वरले उहाँलाई उहाँका पिता दाऊदको सिंहासन दिनुहुनेछ। अनि उहाँले याकूबको घरनामाथि सदासर्वदै राज्य गर्नुहुनेछ; र उहाँको राज्यको अन्त हुनेछैन (लूका १:३१-३३)।

मरियमलाई दिइएका यी सातओटा प्रतिज्ञाहरूमध्ये पाँचओटा अक्षरश: पूरा भइसके। बाँकी दुइटा भने अक्षरश: पूरा हुनेछैन भनी दाबी गर्न हामीलाई कुनचाहिँ हर्मेन्युटिक्स् (hermeneutics, बाइबल व्याख्या गर्ने प्रणाली) को नियमले अधिकार दिन्छ र?

अन्यजातिहरूको बीचबाट आफ्ना नामका निम्ति एउटा जाति निकाल्नालाई कसरी परमेश्वरले अन्यजातिहरूसँग पहिले भेट गर्नुभयो, सो कुराको विषयमा सिमोनले बताएका छन्; अनि योसँग भविष्यवक्ताहरूका वचन मिल्दछन्, जस्तो लेखिएको छ: ‘यी कुरापछि म फर्कनेछु, र दाऊदको ढलेको तम्बू म फेरि बनाउनेछु; अनि यसका भग्नावशेषहरू म फेरि बनाउनेछु, र यसलाई म खडा गर्नेछु (प्रेरित १५:१४-१६)।

तब म भन्दछु, के परमेश्वरले आफ्नो जनहरूलाई त्याग्नुभएको छ त? कदापि छैन! किनकि म पनि अब्राहामको वंशको, बेन्यामीनको कुलको इस्राएली हुँ। तब म भन्दछु, के लोटून् भनेर नै तिनीहरूले ठेस खाएका हुन् त? कदापि होइन! तर तिनीहरू लोटेका कारणले अन्यजातिहरूकहाँ मुक्ति आएको छ, तिनीहरूमा डाहा पैदा गर्नालाई। किनकि तिमी पनि स्वभावअनुसार जङ्गली जैतुनको रूखबाट काटिएर स्वभावको विपरित त्यस असल जैतुनको रूखमा कलम गाँसियौ भने, झन् यी स्वाभाविक हाँगाहरू यिनीहरूको आफ्नै जैतुनको रूखमा कति बढ्ता गरी कलम भएर गाँसिएलान् त? किनकि भाइहरूहो, तिमीहरूले आफूलाई आफ्नो दृष्टिमा बुद्धिमान ठानौला भनेर यस रहस्यको विषयमा तिमीहरू अनजान रहौ भन्ने इच्छा म गर्दिनँ – जबसम्म अन्यजातिहरूको पूरा संख्या भित्र आउँदैन, तबसम्म इस्राएलमाथि केही मात्रामा अन्धापना आएको छ। अनि यसरी सारा इस्राएलले मुक्ति पाउनेछ, जसरी लेखिएको छ: ‘छुटकारा दिनुहुने सियोनबाट आउनुहुनेछ, र याकूबबाट अभक्ति हटाउनुहुनेछ’ (रोमी ११:१,११,२४-२६)।

त्यस दिन परमप्रभुले. . .आफ्ना प्रजाको बाँकी रहेको भागलाई छुटाउनलाई आफ्नो हात फेरि दोस्रोपल्ट पसार्नुहुनेछ। उहाँले जाति-जातिहरूका निम्ति एउटा झण्डा खडा गर्नुहुनेछ, र इस्राएलका निकालिएकाहरूलाई र यहूदाका छरपष्ट भएकाहरूलाई पृथ्वीको चारै दिशाबाट भेला गराउनुहुनेछ (यशैया ११:११,१२)।

परमप्रभुले याकूबमाथि टिठ्याउनुहुनेछ, र इस्राएललाई फेरि छान्नुहुनेछ, र तिनीहरूलाई उहाँले तिनीहरूको आफ्नै ठाउँमा बसाल्नुहुनेछ। विदेशीहरू तिनीहरूसित मिल्नेछन्, र याकूबका घरानासित उनीहरू मिलेर बस्नेछन् (यशैया १४:१)।

“तापनि,” परमप्रभु भन्नुहुन्छ, “दिन आउँदै छ, जब मानिसहरूले कहिल्यै यसो भन्नेछैनन्, ‘इस्राएलीहरूलाई मिश्रदेशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा।’ तर तिनीहरूले भन्नेछन्, ‘इस्राएलीहरूलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्कासन गर्नुभएको थियो, ती सबै देशबाट निकालेर ल्याउनुहुने जीवित परमप्रभुको नाउँमा।’ किनकि मैले तिनीहरूका पिता-पूर्खाहरूलाई दिएको देशमा तिनीहरूलाई म फेरि ल्याउनेछु (यर्मिया १६:१४,१५)। परमप्रभु भन्नुहुन्छ, “हेर, यस्ता दिन आउँदै छन्, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खडा गर्नेछु, एउटा राजा जसले बुद्धिसित राज गर्नेछन्, र जे उचित र ठीक छ त्यही तिनले पृथ्वीमा गर्नेछन्। तिनको समयमा यहूदा बचाइनेछ र इस्राएल सुरक्षितसाथ रहनेछ। जुन नाउँले तिनी कहलाइनेछन् त्यो यही हो, ‘परमप्रभु हाम्रा धार्मिकता’ (यर्मिया २३:५,६)।

म तिनीहरूलाई ती सबै देशहरूबाट भेला गर्नेछु, जुन देशमा मैले तिनीहरूलाई मेरो भयानक रिस र अत्यन्त क्रोधमा निर्वासन गरेको थिएँ। म तिनीहरूलाई फेरि यस देशमा फर्काएर ल्याउनेछु र सुरक्षितसाथ बस्न दिनेछु। तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु (यर्मिया ३२:३७,३८)।

हे सियोनकी छोरी, गा! हे इस्राएल, चर्को सोरले करा! हे यरूशलेमकी छोरी, खुशी हो र सम्पूर्ण हृदयले रमाहट गर्! तेरो दण्ड परमप्रभुले हटाइदिनुभएको छ, उहाँले तेरा शत्रुहरूलाई फिर्ता पठाइदिनुभएको छ। परमप्रभु इस्राएलका राजा तँसित हुनुहुन्छ। अब उप्रान्त तैंले कुनै खराबीको डर मान्नुपर्दैन (सपन्याह १:१४,१५)।

परमेश्वरसितको विशेष सम्बन्ध

परमेश्वरसितको विशेष सम्बन्धको सवालमा पनि इस्राएल र मण्डलीका बीच भिन्नताहरू पाइन्छन्:

 

इस्राएल

 

मण्डली

विश्वव्यापी मूर्तिपूजाको बीच परमेश्वर एउटै मात्र हुनुहुन्छ भन्ने गवाही हुन चुनिएको: व्यवस्था ६:४; यशैया ४३:१०,१२

ख्रीष्टको शरीर र दुलही हुन चुनिएको: एफेसी १:२२-२३; १ कोरिन्थी १२:१२-१३; एफेसी ५:३०; २ कोरिन्थी ११:२; एफेसी ५:३१-३२; प्रकाश १९:७-८

एकमात्र सत्य परमेश्वरको सेवा गर्नु आशिषपूर्ण हुन्छ भनी सबै जातिहरूकहाँ प्रकट गर्नुपर्ने: व्यवस्था ३३:२६-२९; १ इतिहास १७:२०-२१; भजनसंग्रह १४४:१५

परमेश्वरका पुत्रसँगै साझा हकवाला भई सँगै राज्य गर्ने र महापूजाहारी ख्रीष्ट अन्तर्गतको एक नयाँ पूजाहारीगरी: रोमी ८:१६-१७; प्रकाश २०:६; १ पत्रुस २:५; प्रकाश १:६

परमेश्वरको वचनका लेखक र संरक्षक: रोमी ३:१,२; व्यवस्था ४:५-८

परमेश्वरको वासस्थान र मन्दिर: १ पत्रुस २:५; एफेसी २:१९-२२

मसीहको प्रतिज्ञाको भण्डारी: उत्पत्ति ३:१५; १२:३; २१:१२; २८:१०,१४; २ शमूएल ७:१६; यशैया ५५:३-४; मत्ती १:१

परमेश्वरको बुद्धि प्रकट गर्ने परमेश्वरको अनुग्रहको भण्डारी: एफेसी २:७; ३:१०

अन्य सबै कारक तत्वहरूको संयोगले भन्दा मण्डलीको यहूदीकरणले नै यसको उन्नतिमा बाधा पुर्‍याएको, यसको लक्ष्यलाई बङ्ग्याएको, यसको आत्मिकतामा ह्रास ल्याएको हो भन्नुमा अत्युक्ति हुँदैन। उसलाई दिइएको संसारको भन्दा अलग्गै मार्गमा हिंड्नुको सट्टा र आफ्नो प्रभुलाई स्वर्गीय बोलावट अनुसार पछ्याउनुको सट्टा, यहूदी शास्त्रहरूको दुरूपयोग गरी विश्वलाई सभ्य बनाउने उद्देश्य अपनाएर, सम्पत्ति थुपारेर, रीति-विधिमा डुबेर, भव्य मण्डली-भवनहरू निर्माण गरेर, युद्धरत सेनाहरूमाथि परमेश्वरबाट आशीर्वाद खन्याईमागेर र समान भातृत्वलाई “अगुवावर्ग” (clergy) र “साधारण विश्वासी” (laity) मा विभाजन गरेर मण्डलीले आफूलाई गिराएको छ।

अध्ययन प्रश्नहरू

  1. पवित्र शास्त्रले मानव जातिलाई कुन-कुन समूहहरूमा विभाजन गरेको छ?

  2. प्रथम हिब्रू (यहूदी) को थिए?

  3. यहूदी, अन्यजाति र मण्डलीबीचका भिन्नताहरू संक्षेपमा लेख्‍नुहोस्।

  4. मण्डली कहिले शुरू भयो?

  5. के पुरानो नियमका अगमवाणीहरूमा मण्डलीको उल्लेख छ?

  6. ख्रीष्टसित मण्डलीको विशेष सम्बन्ध के छ?

  7. परमेश्वरसित इस्राएलको विशेष सम्बन्ध के थियो?

  8. परमेश्वरको सामु अन्यजातिहरू के-कस्तो स्थानमा रहेको पाइन्छ?

  9. इस्राएलको लागि के-कस्तो भविष्य साँचिएर राखिएको छ?

यी अध्यायहरू डा. सी. आई. स्कोफिल्डको उत्कृष्ट रचना Rightly Dividing the Word of Truth — Being Ten Outline Studies of the More Important Divisions of Scripture (1896) का नेपाली रूपान्तर हुन्। यो महत्त्वपूर्ण सानो किताबलाई “बाइबलका महत्त्वपूर्ण भिन्नताहरू” शीर्षकमा वर्ड अफ ट्रुथ प्रकाशनले छापेको छ। पृष्ठ सङ्ख्या १००। मूल्य रू ७०। चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। (मोबाइल: 9855071310)

Print Friendly, PDF & Email