परिचय

परिचय
बाइबलका आधारभूत शिक्षाहरू बुझ्न मदत मिलोस् भन्ने हेतुले यी अध्ययन कार्यपत्रहरू तयार गरिएका हुन्। यस वेबसाइटका मुख्य-मुख्य शिक्षाहरू के-के हुन् र यी शिक्षाहरू सीधै बाइबलकै शिक्षाहरू हुन् भनेर जान्ने उद्देश्यले यी कार्यपत्रहरू महत्त्वपूर्ण छन्।
यो अध्ययनमाला १७ ओटा खण्डहरूमा विभाजित छ र ती १७ ओटा खण्डहरू यस वेबसाइटको विश्वासको विवरणका १७ ओटा खण्डहरू अनुरूप छन्। विश्वासको विवरणलाई सरसरती पढ्दा कति पटक नबुझिन सक्छ। यी कार्यपत्रहरूले विश्वासको विवरणलाई रोचक ढङ्गमा अध्ययन गर्न र महत्त्वपूर्ण प्रश्नहरूको जवाफ सीधै बाइबलबाटै भेट्टाउन लगाउनेछ। “यस मण्डलीले यो-यो विश्वास गर्छ!” भनेर पुग्दैन। “मेरो पास्टरले यो-यो विश्वास गर्छ” भनेर पुग्दैन। यी कार्यपत्रहरू पूरा गरिसकेपछि एक व्यक्तिले यसरी भन्न सक्नुपर्छ, “यस मण्डलीले यो-यो विश्वास गर्छ मात्र होइन र मेरो पास्टरले यो-यो सिकाउँछ मात्र होइन, तर म आफैं यी शिक्षाहरूमा विश्वास गर्दछु किनकि बाइबलले नै यी कुराहरू सिकाएको छ भनेर म आफैले अध्ययन गरेको छु!” तुलना गर्नुहोस्, प्रेरित १७:११।
बाइबलका शिक्षाहरूको छलफल हुँदाखेरि मानिसहरूले कति पटक यसरी भन्ने गर्छन्, “…त्यो त तिम्रो आफ्नो व्याख्या हो” (मानौं सबैले फरक-फरक तरिकाले बाइबलको व्याख्या गरे हुने जस्तो)। बास्तविकता त्यो होइन भनेर यी कार्यपत्रहरू पूरा गर्नाले प्रमाणित हुनेछ। तपाईं आफैंले छिट्टै पत्ता लगाउनुहुनेछ कि तपाईंले अध्ययन गर्न लाग्नुभएको प्रत्येक प्रश्नको सही जवाफ एकभन्दा बढी छैन! यी कार्यपत्रहरूले एक व्यक्तिलाई परमेश्वरले आफ्नो वचनमा जे भन्नुभएको छ ठीक त्यसैलाई जवाफमा लेख्न बाध्य तुल्याउनेछ! परमेश्वरले आफ्नो कुरा मानिसलाई बताउनुभएको छैन वा उहाँले बताउनुभएको भए तापनि हामीले उहाँका कुरालाई दुरुस्तै जान्न सक्दैनौ भनी ठान्ने मानिसहरू धेरै छन्, यो खेदको कुरा हो। तर बास्तविकता त्यसो होइन। परमेश्वरको वचन बाइबल ज्यादै स्पष्ट छ।
बाइबलमा परमेश्वरले भन्नुभएको कुरालाई जान्न गाह्रो छैन भनेर यी कार्यपत्रहरूले प्रमाणित गर्नेछन् भन्ने आशा गरिन्छ। यसमा सोधिएका प्रायः सबै प्रश्नहरू ज्यादै सरल छन्, घुमाउरा छैनन्। जीवनै बदल्ने बाइबलको सन्देश बुझ्नलाई तपाईं एउटा विद्वान हुनुपर्दैन। यसलाई साना नानीहरूले समेत बुझ्न सक्छन्।
यी पन्नाहरूमा दिइएका प्रत्येक प्रश्नको जवाफचाहिँ दिइएको बाइबल पदमा गएर भेट्टाउन सकिन्छ (कृपया किङ्ग जेम्स भर्सनबाट अनुदित बाइबल प्रयोग गर्नुहोला)। जवाफ आफूलाई थाहा भएजस्तो लाग्दा पनि दिइएको बाइबलको पदमा गएर हेर्नु महत्त्वपूर्ण कुरा हो। बाइबलकै लेखोटमा जवाफलाई देख्नु तपाईंको लागि महत्त्वपूर्ण कुरा हो। विश्वासीहरूले यसरी भन्न सक्नुपर्छ, “मलाई यो थाहा छ, किनकि परमेश्वरले नै सो भन्नुभएको छ!” सबै प्रश्नहरूलाई पूरा गरिसक्नुभएपछि यी आधारभूत शिक्षाहरूको बारेमा बाइबलले के सिकाउँछ भन्ने कुराको तपाईंलाई आधारभूत ज्ञान मिलेको हुनुपर्छ।
यस अध्ययनमा प्रवेश गर्ने क्रममा पावलले तिमोथीलाई लेखेका शब्दहरूबाट तपाईंलाई हौसला मिलेको होस्:
“सबै पवित्रशास्त्र परमेश्वरको प्रेरणाद्वारा दिइएको हो, अनि शिक्षाका निम्ति, भूलदोष देखाउनका निम्ति, सुधारका निम्ति, धार्मिकताको सम्बन्धमा तालिमका निम्ति लाभदायक हुन्छ; जसद्वारा परमेश्वरको जन हरेक असल कामका निम्ति पूर्ण रूपले सुसज्जित भई सिद्ध होओस्” (२ तिमोथी ३:१६-१७)।