१) परमेश्वरले पहिले पृथ्वी बनाउनुभएको हो कि शैतानलाई स्वर्गबाट फाल्नुभएको हो?
परमेश्वरले पृथ्वी सृष्टि गर्नुभन्दा अगाडि नै स्वर्गदूतहरूलाई सृष्टि गरिसक्नुभएको थियो भन्ने कुरा अय्यूब ३८:७ बाट जान्न सकिन्छ। त्यसैले शैतानको पतन पृथ्वीको सृष्टिभन्दा अगाडि नै भएको हुनुपर्छ भन्ने कुरा म विश्वास गर्दछु।
२) के नरकमा जाने सबै मानिस र दुष्ट शैतानले पाउने दण्ड बराबर हुन्छ?
नरकमा समेत दण्ड बराबर हुँदैन भन्ने कुरा मत्ती ११:२२-२४ जस्ता पदहरूबाट जान्न सकिन्छ। जसलाई जति बढी प्रकाश दिइएको थियो उसको उति नै बढी न्याय हुन्छ। तुलना गर्नुहोस् लूका १२:४८। यसको आधारमा शैतानको दण्ड बढी हुन्छ भन्ने म बुझ्दछु।
३) शैतानलाई नरक हुन्छ भन्ने थाह छ कि छैन? छ भने किन पश्चात्ताप नगरेको होला?
शैतानलाई नरकको बारेमा थाह त हुनुपर्छ किनकि बाइबलका कुराहरूदेखि ऊ अनभिज्ञ छैन (दाँज्नुहोस् मत्ती ४:६ जहाँ शैतानले बाइबलको प्रयोग, अझ भन्नुपर्दा, दुरुपयोग गर्दछ) तर ऊ परमेश्वरलाई जित्न सक्छु भन्ने भ्रममा परेको हुनुपर्छ भन्ने मलाई लाग्दछ। ऊ झूटको बाबु हो (यूहन्ना ८:४४)। झूट (अर्थात् आफू एक सृष्टि गरिएको व्यक्ति सृष्टिकर्ताको बराबरीमा अर्थात् सर्वोच्च परमेश्वर जस्तै हुन सक्छु भन्ने झूटो कुरा, यशैया १४:१२-१५) लाई विश्वास गरेको हुनाले ऊ स्वभ्रममा परेको म बुझ्दछु।
अर्को कुरा, पश्चात्ताप गर्न परमेश्वरलाई सकारात्मक दृष्टिमा हेरिनैपर्छ (हिब्रू ११:६), केवल नरकबाट बाँच्न चाहेर मात्र साँचो पश्चात्ताप हुने होइन (नत्र भने संसारका सबै मानिसलाई नरकको राम्रो झलक दिए पुग्थ्यो अनि सबैले विश्वास गर्नेथिए, तर वास्तविकता त्यसो होइन)।
अर्को कुरा, पश्चात्ताप भन्ने कुरा हृदयको रोजाइ हो। कुरा के भने, मानिस आफूले जन्मन नरोजीकनै पापमा जन्मेकोले उसलाई पश्चात्ताप गर्न मौका दिनु (रोज्न दिनु) परमेश्वरको निम्ति धर्मसङ्गत कुरा हो। तर शैतान र उसका दूतहरूले त पहिल्यै रोजीसके, परमेश्वरको शत्रु हुन। त्यसैले शैतान र दुष्टआत्माहरूलाई कहिल्यै पश्चात्ताप गर्नलाई मौका दिनु आवश्यक छैन किनकि उनीहरू जानाजानी उहाँलाई त्याग्नेहरू हुन् त्यसैले उनीहरूले पश्चात्ताप गर्नु असम्भव छ। पछि हट्ने नामधारी विश्वासीको सवालमा पनि यही कुरा भन्न सकिन्छ (हेर्नुहोस् हिब्रू ६:४-६)।