कयिनकी पत्नी को थिई?

यस प्रश्नको महत्त्व

आदम र हव्वाबाट जन्मेका पहिलो व्यक्ति कैन थिए। उनकी पत्‍नी इतिहासकै बहुचर्चित स्त्री बनेकी छन्।1

कैनकी पत्नी को वा कहाँकी थिई भनेर बाइबलले बताउँदैन। अन्य तथ्यहरूकै आधारमा यसको जवाफ पत्ता लगाउनुपर्ने हुन्छ। तर “कैनकी पत्नी को थिई?” भनेर कसैले प्रश्न गर्दा कतिपय इसाईहरू यसको जवाफ दिन हिच्किचाउँछन्। सम्भवतः यसको पछाडि निम्न दुई कारण छन्:

१) “कैनले आफ्ना बाबु-आमा (आदम-हव्वा) बाट जन्मेका एउटी बहिनीलाई विवाह गरे” भनेर जवाफ दिइयो भने, “कहाँ हुन्थ्यो र? हाडनाता साइनु पर्नेलाई पनि विवाह गर्न हुन्छ र? बाइबलले समेत लेवी १८ मा नजिकको साइनु पर्नेलाई विवाह गर्न मनाही गरेको छ नि” भन्ने प्रत्युत्तर आउला2। अथवा,

२) “कैनले आदम-हव्वाबाट जन्मेका नभई छुट्टै मानव जातिमध्येबाट कुनै एउटी स्त्रीलाई विवाह गरे” भनेर जवाफ दिइयो भने, “कहाँ हुन्थ्यो र? आदम-हव्वा बाहेक परमेश्वरले अन्य कुनै मानव जातिलाई सृष्टि गर्नुभएको कुरा बाइबलमै छैन नि” भन्ने प्रत्युत्तर आउला।

यी दुइटाबाहेक अन्य वैकल्पिक जवाफ देखिन्नन्। तर माथि उल्लेख गरिएझैं दुइटै जवाफ समस्याग्रस्त भएझैं देखिन्छन्। त्यसैले कतिले बाइबलको सृष्टिको बयान त्रुटीपूर्ण भएको दाबी गर्छन्। उनीहरू भन्छन्, “हेर्नुहोस्, बाइबलका कुरा आपसमा जुधेका छन्। आदम-हव्वाबाट जन्मेका बाहेक अरू मानव जाति त्यहाँ पहिलेदेखि नभएका भए, कैनले कहाँबाट पत्नी ल्याउन सक्थे र? आफ्नै बहिनीलाई विवाह गर्ने कुरा त बाइबल आफैले मनाही गर्छ। त्यसैले आदम र हव्वा सबै मानिसका पूर्खा हुन् भनेर बाइबलमा बताइएको मानिसको सृष्टिको विवरण सत्य हुन सक्दैन।”

यसरी बाइबल परमेश्वरको सत्य वचन हो भन्ने कुरालाई यसले एक प्रकारको चुनौती दिएकोले कैनकी पत्नी इतिहासमा प्रख्यात बनेकी हुन्।

येशू ख्रीष्टको गवाही

तर बाइबलका कुरा आपसमा कहिल्यै जुध्दैनन्। जुधे भने ती हाम्रै बुझाइमा मात्र जुध्छन्। बाइबलमा त्रुटी हुन सक्दैन। हाम्रो बुझाइमा भने त्रुटी हुन सक्छ। बाइबल सम्बन्धी प्रभु येशू ख्रीष्टको गवाही स्पष्ट छ,

“म तिमीहरूलाई साँचो भन्दछु, जबसम्म आकाश र पृथ्वी बितिजाँदैनन्, तबसम्म व्यवस्था [बाइबल] बाट एक मात्रा अथवा एक विन्दु पनि, सबै पूरा नभइन्जेल, कुनै रीतिले बित्नेछैन” (मत्ती ५:१८)।

“पवित्रशास्त्र [बाइबल] भङ्ग हुन सक्दैन” (यूहन्ना १०:३५)।

परमेश्वरका सन्तानका लागि प्रभु येशूको भनाइ यथेष्ट हुन्छ किनकि बाइबल पूर्ण रूपमा विश्वासयोग्य छ कि छैन भन्ने बारेमा प्रभु येशूलाई भन्दा अरू कसलाई बढी राम्ररी थाहा हुन सक्छ र? बाइबलमा उल्लेखित सृष्टिको विवरण अक्षरशः सत्य भएको उहाँले बताउनुभयो,

“के तिमीहरूले [बाइबकको उत्पत्तिको पुस्तकमा] पढेका छैनौ? [सृष्टिको]शुरुमा जसले तिनीहरूलाई नर र नारी [आदम र हव्वा] बनाउनुभयो…” (मत्ती १९:४)

त्यसो भए कुनचाहिँ जवाफ ठीक हो?

छोटकरीमा भन्ने हो भने, कैनले आफ्नी कुनै एउटी बहिनी (वा भतिजी) लाई विवाह गरे भन्ने जवाफ सही हो (उनका बहिनीहरूको उल्लेख उत्पत्ति ५:४ मा गरिएको छ)। माथि उल्लेखित दोस्रो विकल्प किन साँचो हुन सक्दैन भन्ने प्रश्नको जवाफ यस प्रकार छ।

सबै जातिहरू एउटै रगतबाट

१) परमेश्वरले आदमलाई सृष्टि गर्नुहुँदा त्यहाँ अरू मानिस थिएनन्। उनी एकलो थिए (उत्पत्ति २:१८)। परमेश्वरले पशु-पंक्षीलाई सृष्टि गरिसक्नुभएको थियो, तर आदमको लागि सुहाउँदो सहयोगी (अर्को मानिस) थिएन। त्यसैकारण परमेश्वरले उसलाई मस्त निद्रामा पार्नुभई उसको करङ्ग झिक्नुभई त्यसबाट हव्वालाई उसको पत्नी हुनलाई बनाउनुभएको थियो (उत्पत्ति २:२०-२३)। आदमबाहेक अन्य छुट्टै मानव जाति परमेश्वरले सृष्टि गर्नुभएको भए यसो गर्नु आवश्यक पर्दैनथ्यो।

२) हव्वालाई “सबै जीवितहरूको आमा” (उत्पत्ति ३:२०) भनेर जनाइएकोबाट आदम-हव्वाबाट जन्मेका बाहेक अन्य मानिस जाति छैनन् भन्ने पुष्टि हुन्छ।

३) प्रेरित १७:२६ — “अनि उहाँले सारा पृथ्वीमाथि वास गर्नालाई एउटै रगतबाट मानिसहरूका सबै जातिहरूलाई बनाउनुभयो।” आदमबाटै सबैजना (हव्वा समेत) नआएका भए सबै मानिस “एउटै रगतबाट” बनाइएको भन्न मिल्दैनथ्यो।

४) कैन कोसित डराएका: कैनले आफ्ना भाइ हाबिलको हत्या गरेकाले परमेश्वरले उनलाई उनी बसोबास गरिरहेको भूमिबाट निष्कासन गर्नुभयो। त्यसबेला उनले “म पृथ्वीमा विनाचैनको डुलुवा हुनेछु, र मलाई फेला पार्ने जोसुकैले पनि मलाई मार्नेछ” (उत्पत्ति ४:१४) भनेका थिए। यस कुरालाई कसै-कसैले आदम वंश बाहेक त्यहाँ अन्य मानव जाति पनि थिए कुराको प्रमाणस्वरूप लिने गर्छन्। तर यसलाई त्यही अर्थ लगाउनु पर्दैन। उसलाई मार्ला भनेर कैन कोसित डराउनुपर्थ्यो त? उसलाई मार्न चाहने व्यक्तिहरू त्यहाँ थिए भने ती व्यक्तिहरू हाबिलको हत्याको बदला लिन चाहनेहरू नै हुनुपर्छ। सन्दर्भले योबाहेक अन्य विकल्पको सङ्केत दिँदैन। हाबिलको हत्याको बदला लिन चाहनेहरू को हुन सक्थे त? हाबिलकै नातेदारहरू नै अर्थात् आदम वंशकै सन्तान। यसकारण उत्पत्ति ४:१४ बेग्लै मानव जातिको अस्तित्वको खास प्रमाण होइन।

५) नोद भन्ने देश: परमेश्वरले उसलाई निष्कासन गर्नुभएपछि “कैन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टि भएको नोद भन्ने देशमा बस्न लागे” (उत्पत्ति ४:१६) भनेर उल्लेख छ। यस कुरालाई पनि कसै-कसैले उक्त “नोद भन्ने देशमा” आदम वंश बाहेकका अन्य मानव जाति थिए र कैनकी पत्‍नी नोदकै हुनुपर्छ भन्ने ठान्ने गर्छन्। तर नोदचाहिँ मानिसहरू बसोबास गरिरहेको प्रान्त थियो भनेर अर्थ लगाउनु पर्दैन भन्ने निम्न आधारहरू छन्: (१) “नोद” को अर्थ “घुम्नु वा डुल्नु” हो र हिब्रूमा यो शब्दको रूप उत्पत्ति ४:१२,१४ को “डुलुवा” (हिब्रुमा “नाद”) भन्ने शब्दसँग झण्डै दुरुस्तै मिल्छ। (२) “देश” भनेर रुपान्तरण गरिएको हिब्रू शब्द (“आरेत्स्”) लाई मानिसहरू बसोबास गरेको भूमि भन्ने अर्थमा बाहेक “पृथ्वी” (उत्पत्ति १:१, व्यवस्था ३२:२२), “जग्गा” (उत्पत्ति २३:१५) “ठाउँ” (लेवी १६:२२) भनेर पनि रूपान्तरण गरिएको छ। (३) त्यसैले उत्पत्ति ४:१४ लाई यसरी अनुवाद गर्न सकिन्छ, “तब कैन परमप्रभुको उपस्थितिबाट निस्केर अदनको पूर्वपट्टिको ठाउँमा डुलेर (यताउता घुम्दै) बसे।” जेम्स एन योङ्ग (James N. Young) को अनुवाद (Young’s Literal Translation) र एडम क्लार्क (Adam Clarke) को टिप्पणीले यस रूपान्तरणलाई समर्थन गरेको छ। साथै यस वैकल्पिक रूपान्तरणले “तँ पृथ्वी (“आरेत्स्”) मा एक विनाचैनको डुलुवा (“नाद”) हुनेछस्” (उत्पत्ति ४:१२) भन्ने श्राप पूरा भएको पनि देखाउँछ।

६) आदम वंशका बाहेक त्यहाँ अन्य मानव जाति हुँदो हो त उनीहरूलाई ख्रीष्टको मृत्यु र बौरिउठाइमा विश्वास गरी पापहरूको क्षमा पाउन सुसमाचारको निम्तो दिन मिल्दैनथ्यो, किनकि नयाँ नियमको सुस्पष्ट गवाहीअनुसार प्रभु येशू ख्रीष्ट केवल आदम वंशका मानिसहरूको पापको लागि मर्नुभएको हो (१ कोरिन्थी १५:३,२२; रोमी ५:१२-२१)। अनि प्रभु येशूले “सारा संसारमा जाओ, र हरेक प्राणी [मानिस] लाई सुसमाचार प्रचार गर” (मर्कूस १६:१५) भनी आज्ञा गर्नुभएकोबाट संसारका सबै मानिसहरू आदमकै सन्तान हुन् भन्ने कुरा पुष्टि हुन्छ।

विवाह गर्न हुने कि नहुने?

कैनकी पत्नी उनकी एउटी बहिनी नै हुनुपर्छ भन्ने बाहेक अन्य विकल्प नरहेको कुरा माथिबाट पुष्टि भइसक्यो। बास्तवमा कैनले मात्र होइन, आदम-हव्वाका अरू छोराछोरीहरूले समेत आपसमा विवाह गरेको हुनुपर्छ। “फल्दै-फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दैजाओ” (उत्पत्ति १:२८) भन्ने परमेश्वरको आज्ञा आदम र हव्वामा मात्र सीमित रहेको भए, ती दुई लगायत तिनका छोराछोरीहरूको मृत्यु भएपछि मानव जातिकै अन्त हुनेथ्यो!

साथै, उत्पत्ति ६-९ मा उल्लेखित विश्वव्यापी जलप्रलयको अन्तमा पनि झण्डै-झण्डै शुरुको जस्तै परिस्थिति हुन आएको पाइन्छ। उक्त जलप्रलयमा नूह र उनकी पत्नी र तिनका तीन छोरा तथा तीन बुहारी गरी आठ जना बाहेक पृथ्वीमा अरू मानिस बाँचेनन् (२ पत्रुस ३:२०)। परमेश्वरले अब नूह र तिनका छोराहरूलाई आशिष दिएर “फल्दै-फुल्दै, वृद्धि हुँदै र पृथ्वीमा भरिँदै जाओ” (उत्पत्ति ९:१) भन्नुभयो। यदि नूहका नाती तथा नातीनीहरूले एक-अर्कालाई विवाह नगरेका भए मानव जातिको उहिले नै अन्त भइसक्थ्यो।

तसर्थ, उत्पत्ति १:२८ र उत्पत्ति ९:१ मा पाइने परमेश्वरकै वचनको आधारमा हामी एउटा निष्कर्षमा आइपुग्छौं: मानव इतिहासको प्रारम्भमा र साथै जलप्रलयको समयसम्ममा पनि हाडनाता वा नजिकको साइनु पर्नेलाई विवाह गर्न परमेश्वरले निषेध गर्नुभएको थिएन। बरु त्यसलाई पूर्णरूपमा मान्यता दिनुभएको थियो। शुरु-शुरुमा परिस्थितिवश नजिककै नाताहरूको बीच विवाह हुनु स्वभाविक थियो पनि, अन्य विकल्प पनि त थिएन। समय बित्दै जाँदा टाढा नातामा विवाह हुने परिस्थिति सृजना हुँदै गयो।

साथै, बाइबलीय इतिहासबाट यो पनि पुष्टि हुन्छ, अब्राहामको समय (लगभग ई.पू. २१००) सम्ममा पनि नजिकको साइनुसित विवाह गर्न मिल्दथ्यो। अब्राहामकी पत्नी सारा उनका पिताकी छुट्टै पत्नीबाट जन्मेकी छोरी थिई (उत्पत्ति २१:१२)। उक्त वैवाहिक सम्बन्ध गलत थियो भनेर कतै उल्लेख छैन बरु यस दम्पत्तिमाथि परमेश्वरको विशेष आशिष रहेको कुरा घरिघरि उल्लेख छ।

मोशाको समय (लगभग ई.पू. १५००) मा आएर मात्र परमेश्वरले वैवाहिक सम्बन्धहरूमा प्रतिबन्धहरू तोक्नुभयो। इस्राएललाई दिइएको व्यवस्थामा नजिकको साइनु पर्नेसित विवाह गर्न निषेध गरिएको छ (लेवी १८:६-१८):

“तिमीहरूमध्ये कसैले पनि आफ्नो नजिकको साइनु पर्नेसित सहवास नगरोस्। म परमप्रभु हुँ” (लेवी १८:६)।

प्रश्न उठ्छ, जसलाई पहिला विवाह गर्न हुन्थ्यो, पछिबाट किन नहुने भएको? परमेश्वरले शुरूमा प्रतिबन्ध नलगाउनुभएको कुरालाई उहाँले पछिबाट किन प्रतिबन्ध लगाउनुभएको?

मोशाको व्यवस्था दिइनुअघि नातेदार बीचको विवाह किन स्वीकारयोग्य थियो भन्ने कुराको जवाफ वेन ज्याक्सनले यसरी दिएका छन्:

मानव जातिको इतिहासको प्रारम्भिक चरणहरूमा नातेदार बीचको “विवाह” लाई अनैतिक मानिदैनथ्यो। त्यो त परिस्थितिवश आवश्यक नै थियो। आदम र हव्वाका छोराछोरीले नातेदार बीच नै विवाह गरेको हुनुपर्छ किनकि त्यस प्रथम जोडीबाट जन्मेकाहरू बाहेक पृथ्वीमा अन्य कोही मानिस नै थिएनन्।

(१) … [मोशाभन्दा अघिको समयमा] कति पारिवारिक विवाहहरू सम्पन्न भएका छन् जसलाई परमप्रभुले दोष्याउनुभएको छैन जब की तिनलाई पछि व्यवस्थाको समयावधिमा आएर निषेध गर्नुभएको छ।

(२) यसै सिलसिलामा अर्को तथ्य पनि बुझ्न आवश्यक छ। मानव परिवारको शुरू-शुरूमा, अर्थात्  जुन बेला पाप, रोग-बिमार र आनुवंशिक विरुपाङ्गताको समस्या पछिजस्तै अत्यधिक रूपमा वृद्धि भएर घातक बनिसकेको थिएन, आदमका सन्तानहरू शारीरिक रूपमा आजका भन्दा ज्यादै नै तगडा थिए। फलस्वरूप परिवारभित्र गरिएका विवाहहरूले सन्ततिमा आधुनिक युगमा जस्तै गरी नकारात्मक नतीजा ल्याउने गर्दैनथ्यो। आदम आफै पनि ९३० वर्षको उमेरसम्म बाँचे, तर अब्राहामको समयमा आइपुग्दा १७५ वर्षको उमेरलाई “दीर्घायु” अर्थात् “पूरा बूढेसकाल” को उमेर मानिएको छ (उत्पत्ति २५:७-८); अन्तरालमा मानिसको औसत आयु करिब ८० वर्षको उमेरमा पुग्यो (भजनसङ्ग्रह ९०:१०)।”3

आनुवंशिक बिरुपाङ्गताको सामान्य ज्ञान

आज प्रायः सबै मानव समाजहरूमा नजिकको साइनु पर्नेसित विवाह गर्न बन्देज छ। विवाह जति नजिकको साइनु पर्नेसित हुन्छ त्यसबाट जन्मेका सन्तानमा शारीरिक बिरुपाङ्गता देखा पर्ने त्यति नै बढी सम्भावना हुन्छ भन्ने कुरा आज सर्वविदितै छ। उद्दरण गर्न सकिने थुप्रै स्रोतमध्ये इन्साइक्लोपिडिया ब्रिटानिकालाई लिऊँ,

“Highly inbred populations have diminished reproductive success and become gene pools for hereditary disorders.”4 (“अत्यधिक अन्तरविवाह हुने जनसमुदायमा प्रजनन क्षमताको ह्रास र आनुवंशिक अनियमितता प्रसारण गर्ने वंशानुको वृद्धि भएको पाइन्छ।”)

वास्तवमा शताब्दियौं देखि नै नजिकको विवाह र आनुवंशिक अनियमितताका बीच प्रत्यक्ष सम्बन्ध रहेको देखेर नै बाइबलको ज्ञान नभएका समाजहरूमा समेत वैवाहिक बन्देजका नियमहरू मानिसहरूले खडा गरेको हुनुपर्छ भन्ने निष्कर्ष सजिलै निकाल्न सकिन्छ।

बोट-विरुवा वा पशु प्राणीहरूमा सप्रेका वा नसप्रेका जातिको सवालमा आपसमा गरिने प्रजनन क्रियाबाट उत्पन्न हुने सन्ततिको अध्ययनबाट पनि वंशानु विज्ञानको यो सिद्धान्त बुझ्न सकिन्छ।

निष्कर्ष

आदमले पाप गरेपछि परमेश्वरले उसलाई “तँ माटै होस् र माटैमा फर्किजानेछस्” (उत्पत्ति ३:१९) भन्नुभयो। तसर्थ आदमको पापकै कारण मानव जातिमा शारीरिक मृत्यु आएको हो [यद्यपि यसभन्दा डरलाग्दो नतीजा दोस्रो मृत्यु हो जसबाट हामीलाई बचाउन परमेश्वरको पुत्र येशू ख्रीष्ट मर्नुभयो। यसबारे पढ्नुहोस्: ख्रीष्ट मर्नु किन खाँचो थियो?]। मानिसको भौतिक शरीर र उसको वातावरण समेत (उत्पत्ति ३:१७-१८, रोमी ८:२२) परमेश्वरको इन्साफमुनि परेकोले हामी भन्न सक्छौं यसकै कारण उसको वंशानुमा ह्रास आएको हो। साथै, शुरू-शुरूका मानव पुस्ताहरूमा पाइने थोरै-थोरै आनुवंशिक समस्याहरू पछिल्ला पुस्ताहरूमा वृद्धि हुँदै धेरै हुन थाले। जसको कारण शुरु-शुरुका पुस्ताहरूमा हाडनाता बीचको विवाहले नकारात्मक असर नल्याए तापनि पछिबाट त्यस्तो विवाहले सन्तानमा आनुवंशिक विरुपाङ्गता प्रसारण हुन सक्ने सम्भावना बढाइदियो। यसरी कैनको समयमा उसले आफ्नै बहिनीलाई वा नजिकको नातालाई विवाह गर्नु (परिस्थितिवश आवश्यक हुनु बाहेक) स्वीकारयोग्य थियो तर कालान्तरमा व्यवस्था दिइने समयमा, मानिसकै भलाइका लागि, निषेध गरियो।

कैनकी पत्नी को थिई भन्ने प्रश्नलाई बाइबल, सामान्य ज्ञान तथा वैज्ञानिक दृष्टिकोणबाट अध्ययन गरिँदा उत्पत्तिको पुस्तकको कुनै पनि विवरणमा त्रुटी भेट्टाउन सकिन्न बरु यसले बाइबल परमेश्वरकै वचन हो र यो सत्य र विश्वासयोग्य छ भन्ने तथ्यलाई झनै प्रकाशमा ल्याउँदछ।

[यस लेख पूरा गर्नलाई Answers in Genesis का केन ह्याम (Ken Ham) द्वारा लिखित Cain’s Wife: Who Was She? बाट मिलेको ठूलो मद्दतको निम्ति म आभारी छु। ]

1. Ham, Ken. Cain’s Wife: Who Was She?

2. Custance, Arthur. Cain’s Wife and the Penalty of Incest.

3. Jackson, Wayne. Does the Bible Conflict with Itself in the Matter of “Incest”?

4. “Incest.” Encyclopædia Britannica. Ultimate Reference Suite.  Chicago: Encyclopædia Britannica, 2008.

Print Friendly, PDF & Email