के अन्यभाषा परमेश्वरसँग बोल्ने भाषा हो?

हाम्रो एकजना पाठकज्यूले निम्न पदको अर्थ के होला भनेर सोध्नुभएको थियो।
१ कोरिन्थी १४:२ “किनकि जसले अन्य भाषा बोल्छ, उसले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्छ; किनभने कसैले पनि बुझ्दैन; तर आत्मामा उसले रहस्यहरू बोल्छ।”
पहिलो शब्द “किनकि” एउटा संयोजक शब्द हो जसले १ को १४:२ लाई १ को १४:१ सित जोड्ने काम गर्छ जहाँ लेखिएको छ” प्रेमको पछि लाग, र आत्मिक वरदानहरूका निम्ति उत्सुकतापूर्वक लालसा गर, तर विशेष गरेर भविष्यवाणी गर्नाका निम्ति” (१ को १४:१)। यसकारण १ को १४:२ ले कोरिन्थका विश्वासीहरूले किन “विशेष गरेर भविष्यवाणी गर्नाका निम्ति” लालस गर्नुपर्छ भन्ने प्रश्नको जवाफ दिँदैछ (जुन कुरालाई हामी हेर्नेछौं।) प्रश्न उठ्छ, अन्य कुन आत्मिक वरदान वा वरदानहरूको तुलनामा भविष्यवाणी गर्नका निम्ति लालसा गरिनुपर्ने हो त? यसको जवाफ १ को १४:३-४ मा भेटिन्छ, “तर जसले भविष्यवाणी बोल्छ, उसले मानिसहरूसित उन्नति, उत्साह र सान्त्वनाका कुराहरू बोल्छ। जसले अन्य भाषा बोल्छ, उसले आफ्नै उन्नति गर्छ; तर जसले भविष्यवाणी बोल्छ, उसले मण्डलीको उन्नति गर्छ”। यसबाट अब हामीलाई के स्पष्ट हुन्छ भने यस खण्डमा अन्यभाषाको वरदानलाई भविष्यवाणीको वरदानसित तुलना गरिँदैछ।
अब हाम्रो चासोको पदलाई हेरौं:
“किनकि जसले अन्य भाषा बोल्छ, उसले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्छ।”
यसको माने के हो? यदि हामीले यस पदको अगाडि-पछाडि हेरेनौं भने, हामीलाई यसको माने यस्तो लाग्न सक्छ कि अन्य भाषाभनेको मानिसहरूसित बोल्न प्रयोग गरिने भाषा नभएर परमेश्वरसित बोल्ने विशेष भाषा हो।
तर के यो अर्थप्रकाशन ठीक हो? हामीले बिर्सन नहुने कुरा के छ भने, १ कोरिन्थीको मौलिक पत्र हाम्रो भन्दा बेग्लै भाषामा, हाम्रोभन्दा बेग्लै समयमा, करिब २००० वर्ष अगाडि, हाम्रो भन्दा बेग्लै लेखन शैलीमा, एक यहूदी (पावल) द्वारा ग्रीक भाषीहरूलाई लेखिएको एक लेखोट हो (परमेश्वरको प्रेरणाद्वारा तर मानिसको माध्यमद्वारा)। त्यसैले यदि सन्दर्भलाई बेवास्ता गरियो भने (अर्थ प्रकाशन गर्नलाई अगाडि र पछाडिका पदहरूलाई मध्यनजर गरिएन भने), कतिपटक अर्थको अनर्थ हुन जान सक्छ। त्यसोभए यसको माने के हो त?
सन्दर्भलाई अलिकति मात्र ध्यान दिने बित्तिकै यसको माने छर्लङ्ग हुन्छ। यहाँ दुईटा आत्मिक वरदानहरू अर्थात् अन्यभाषा र भविष्यवाणीको वरदानहरूलाई तुलना गरिएकोले प्रथमत: यी दुई दान कस्ता दान थिए भनेर तिनको गुणलाई बुझ्नुपर्छ। अनि यहाँ ती गुणहरू सन्दर्भबाट नै जान्न सकिन्छ।
अन्यभाषा भनेको कस्तो भाषा थियो? १ कोरिन्थी १४:५ बाट यो देख्न सक्छौं कि अन्यभाषा त्यस्तो भाषा थियो जसलाई अनुवादगर्न सकिन्थ्यो अर्थात् स्रोताले बुझ्ने भाषामा अनुवाद गरिएको खण्डमा निजले बुझ्न सक्ने संसारमै प्रयोग हुने कुनै वास्तविक भाषा थियो। यदि यसलाई अनुवाद गरिएन भने स्रोताले त्यो बुझ्न सक्दैनथ्यो (१ कोरिन्थी १४:२ “किनभने कसैले पनि बुझ्दैन”)।
भविष्यवाणीको दान कस्तो दान थियो? १ कोरिन्थी १४:३ बाट यो देख्न सक्छौं कि कसैले भविष्यवाणी बोल्दा मण्डलीमा मानिसहरूले उत्साह र सान्त्वनाका कुराहरू अर्थात् उनीहरूलाई उन्नति गराउने कुराहरू प्राप्त गर्न सक्थे।
अब हाम्रो प्रश्न रहेको छ, १ को १४:२ को माने के हो? के यसको माने यो हो कि अन्य भाषा भनेको मानिसहरूसित बोल्न प्रयोग नगरिने तर परमेश्वरसित बोल्ने विशेष भाषा हो?
प्रथमत: अन्य भाषा मानिसहरूसित बोल्न प्रयोग नगरिने भाषा भन्न मिल्दैन, नत्र १ को १४:५ मा त्यसलाई अनुवाद गर्न सकिने कुरा उल्लेख हुनेथिएन।
दोस्रो, त्यसोभए किन अन्यभाषा बोल्दा “उसले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्छ” भनिएको हो त?
यसको जवाफ सरल छ। किनभने अन्यभाषा मानिसहरूले बुझ्न सक्दैनन् (“किनभने कसैले बुझ्दैन; तर उसले आत्मामा रहस्यहरू बोल्दछ” १४:२) तर परमेश्वरले बुझ्नुहुन्छ। तर त्यसलाई अनुवाद गरिएको भए मानिसहरूले पनि बुझ्नेथिए र उनीहरूको उन्नति हुनेथियो। त्यसैले अनुवाद गर्ने कोही नभएको खण्डमा अन्यभाषा बोल्ने व्यक्ति चुप बस्नुपर्छ भनेर पावल प्रेरितले भन्दछन् (१ को १४:२८)।