बाइबल कि सपना-दर्शन (योएल २)

बाइबल कि सपना-दर्शन (योएल २)
के परमेश्वर आज पनि सपना र दर्शनद्वारा बोल्नुहुन्छ?
डेविड क्लाउड
“परमेश्वर भन्नुहुन्छ: अन्तिम दिनहरूमा यस्तो हुनेछ — सबै प्राणीहरूमाथि म मेरो आत्माबाट खन्याउनेछु; अनि तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले भविष्यवाणी गर्नेछन्, अनि तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्, र तिमीहरूका बूढापाकाहरूले सपनाहरू देख्नेछन्। अनि ती दिनहरूमा म मेरा दासहरू र मेरा दासीहरूमाथि आफ्नो आत्माबाट खन्याउनेछु; र तिनीहरूले भविष्यवाणी गर्नेछन्; अनि माथि आकाशमा अचम्मका कामहरू र तल पृथ्वीमा चिन्हहरू म देखाउनेछु — रगत, आगो र धूवाँको वाफ। प्रभुको महान् र नामी दिन आउनुभन्दा अघि घाम अँध्यारोमा र जून रगतमा परिवर्तित हुनेछन्; अनि यस्तो हुनेछ — प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ।” (प्रेरित २:१७-२१)
अन्तिम दिनहरूमा एउटा पेन्टेिकोस्टल जागृति हुनेछ भन्ने सिद्धान्तको प्रमाणस्वरूप यस खण्डलाई बारम्बार प्रयोग गर्ने गरिन्छ। यस सिद्धान्तका समर्थकहरू भन्छन्, “देख्नुभो? छोराहरू र छोरीहरूले भविष्यवाणी गर्नेछन् अनि जवानहरूले दर्शनहरू देख्नेछन् र बूढापाकाहरूले सपनाहरू देख्नेछन्; अनि यी सबै कुरा प्रचारकार्यसित सम्बन्धित छ — मुक्तिको निम्ति प्रभुलाई पुकार्ने कुरा छ यहाँ।” तर अन्तिम दिनहरूमा भविष्यवाणी गर्ने वरदानको पुनर्जागरण यस्तो तवरले हुन्छ भनेर पेन्टीकोस्टल-क्यारिज्मेटिक चिन्ह चमत्कारीय जागृति अभियानलाई समर्थन गर्ने हेतुले यस खण्डलाई प्रयोग गर्नु भनेको पवित्र शास्त्रको यस खण्डको सन्दर्भलाई वास्तै नराखी यी पदहरूलाई जबरजस्ती बङ्गाईकन तिनको दुरुपयोग गर्नु हो।
पहिलो कुरा त यहाँ पत्रुसले भन्दैछन् कि पेन्टिकोस्टको दिनका घटनाहरू घट्दाखेरि तिनका साथसाथै योएलको भविष्यवाणी पनि पूरा भए। पेन्टिकोस्टको त्यो दिनमा उनका सामु जम्मा भएका मानिसहरूलाई पत्रुसले यो बुझाए कि उनीहरूले प्रत्यक्ष देखिरहेका घटनाहरू, अर्थात् “हरेक मानिसले उसको आफ्नै भाषामा तिनीहरूले बोलिरहेका” (प्रेरित २:६) अन्यभाषाहरू योएलले भविष्यवाणी गरेका कुरा थिए। पत्रुसले उद्धरण गरेको भविष्यवाणीका दुईटा भाग छन् — भविष्यवाणी गर्ने काम र आकाशमा देखिने चिन्हहरू। पत्रुसले यस खण्डमा यो बताउँछन् कि भविष्यवाणी गर्ने काम चाहिँ उनकै दिनमा पूरा भए, अर्थात् मण्डली युगको सुरुआत भएको उक्त समयमा। इतिहासलाई र साथै पवित्रशास्त्रलाई नियालेर हेर्दा थाह हुने कुरा यो हो कि योएलले गरेको भविष्यवाणीको आखिरी दोस्रो भाग चाहिँ प्रभुको दोस्रो आगमनको समयमा पूरा हुनेछ। आकाशमा देखिने ती चिन्हहरू चाहिँ प्रकाशको पुस्तकमा वर्णन गरिएका छन्। प्रेरित २:१७-१८ मा उल्लेखित “भविष्यवाणी गर्नेछन्” भन्ने कुरा चाहिँ प्रत्यक्ष रूपमा पेन्टिकोस्टको दिनमा बोलिएका अन्यभाषाहरू र भविष्यवाणीहरू नै हुन्। त्यो भनेको प्रेरितीय सेवकाइसित जोडिएको कुरा थियो। नयाँ नियमका बाँकी खण्डहरूले यो कुरालाई पुष्टि गरेको पाइन्छ। अन्यभाषाहरू विश्वास नगरेका यहूदी जातिका निम्ति एउटा चिन्ह हो भनेर पावलले बताउँछन् (१ कोरिन्थी १४:२०-२२)। “यसकारण भाषाहरूचाहिँ चिन्हका निम्ति हुन्; विश्वास गर्नेहरूका लागि होइन, तर विश्वास नगर्नेहरूका लागि हो…।” यो चाहिँ यशैया २८:११-१२ बाट उद्धरण गरिएको हो र पावलले व्याख्या गर्छन् कि उक्त खण्डले प्रेरितहरूको समयमा हुने चमत्कारपूर्ण अन्यभाषाहरूलाई पूर्वउल्लेख गरेको थियो जुन भाषाहरू यहूदीहरूलाई एउटा चिन्ह हुनेवाला थियो। यहूदीहरूले उक्त चिन्हलाई इन्कार गरे र उनीहरू ७० ए.डी. मा रोमी सेनाहरूद्वारा तितरबितर पारिए। चिन्हको काम पूरा भएपछि चिन्ह पनि बितेर गयो। भविष्यवाणीहरूले रङ्गिएको प्रेरितीय युगको त्यो महान् सेवकाइको पनि अन्त भयो जब त्यसको काम पूरा भयो।
दोस्रो कुरा, “अन्तिम दिनहरू” भन्ने शब्दार्थले प्रेरितहरूकै समयदेखि सुरु भएको कालखण्डलाई जनाउँछ। उक्त कालखण्डले वर्तमान मण्डली युगलाई समेट्छ र साथसाथै प्रभुको आगमन हुने बेलामा हुने घटनाहरूलाई पनि समेट्छ। यस कालखण्डको सुरुआत साँचो चिन्हहरूसित र परमेश्वरबाटको प्रकाशको साथ हुनेछ भने यसको अन्त चाहिँ झूटा चिन्हहरू र शैतानबाटको प्रकाशको साथ हुनेछ। प्रेरित यूहन्नाले भने, “हे साना नानीहरूहो, यो अन्तिम घडी हो; अनि ख्रीष्ट-विरोधी आउनेछ भनी तिमीहरूले सुनेअनुसार अहिले पनि धेरै ख्रीष्टविरोधीहरू छन्; यसैबाट यो अन्तिम घडी हो भनी हामी थाह पाउँछौं” (१ यूहन्ना २:१८)। यूहन्नाले आफ्नो पत्रमा बताए अनुसार ख्रीष्टविरोधी (एकजना) आउनुपर्छ जसको उदय यस युगको अन्ततिर हुनेछ, अनि साथै त्यहाँ ख्रीष्टविरोधीहरू (एक भन्दा बढी) हुनेछन् जोहरू यस युगभरि नै सक्रिय रहिरहनेछन्। यस युगको गतिविधि समग्रमा कस्तो हुनेछ भन्ने कुराको बयान यस पदले प्रस्टै बताएको छ। मण्डली युग जति छिप्पिँदै जान्छ त्यति नै त्यहाँ बढ्दो सत्यत्याग (apostasy) हुनेछ भनेर नयाँ नियमको शास्त्रले भविष्यवाणी गरेको छ। सत्यत्याग, अर्थात् प्रेरितीय विश्वासलाई परित्याग गर्ने काम, प्रेरितहरूकै समयहरूमा सुरु भएको कुरा थियो अनि यो प्रक्रिया यस युगभरि बढ्दै र फैलँदै गइरहेको छ। अन्ततः यो प्रकाश १७-१८ अध्यायहरू मा बयान गरिएको सत्यत्यागको चरमबिन्दुमा पुग्नेवाला छ।
यस युगको अन्ततिर सत्यको पुनर्जागरण र सुसमाचार विस्तारको पुनर्जागरण हुनेछ भनेर भविष्यवाणी गरेको नयाँ नियम शास्त्रमा पाइँदैन बरु धार्मिक भ्रान्ति र भ्रमको वृद्धि हुनेछ भनेर भविष्यवाणी गरेको पाइन्छ। जागृति होइन सत्यत्याग हुनेछ भनेर नयाँ नियमले प्रस्टै भविष्यवाणी गरेको छ। यस युगको अन्तिम समयहरूमा झूटा चमत्कार देखाउनेहरूको बिगबिगी हुनेछ भनेर बाइबलले चेताउनी दिन्छ। “किनभने झूटा ख्रीष्टहरू र झूटा भविष्यवक्ताहरू खडा हुनेछन्, र ठूला-ठूला चिन्ह र चमत्कारहरू देखाउनेछन्; यहाँसम्म कि सम्भव भए ता तिनीहरूले चुनिएकैहरूलाई पनि बहकाउनेछन्” (मत्ती २४:२४)। मत्ती २४:११; ७:२१-२३; २ थेस्सलोनिकी २: ६-१०; प्रकाश १३:१४ पनि हेर्नुहोस्। दुष्ट पुस्ताले चिन्ह खोज्छ भनेर प्रभु येशू ख्रीष्टले भन्नुभएको कुरालाई सम्झनुहोस्। यस्ता चेतावनीहरू हुँदाहुँदै जोन विम्बर (John Wimber) ले संसारका विभिन्न ठाँउहरूमा “चिन्ह र चमत्कार सम्मेलनहरू” सञ्चालन गरेको कुरालाई विचार गर्दा हामीलाई छक्क लाग्नु स्वभाविकै हो।
तेस्रो, प्रेरितहरू वितेर गएपछि चिन्हहरू लगायत नवीन प्रकाशहरू दिइने काम बन्द भयो भन्ने कुरा पवित्र शास्त्रहरू पढेर हामी स्पष्टै जान्न सक्छौं। आफू मसीह हुनुभएको कुरा प्रमाणित गर्न प्रभु येशू ख्रीष्टले अचम्मका कामहरू गर्नुभयो (प्रेरित २:२२)। प्रेरितहरूले चाहिँ आफूहरू प्रभु येशू ख्रीष्ट स्वयंले पठाउनुभएका आधिकारीक व्यक्तिहरू भएको कुरालाई प्रमाणित गर्न उनीहरूले समेत अचम्मका कामहरू गर्ने वरदान पाएका थिए (२ कोरिन्थी १२:१२)। बाइबल पूर्णरूपमा प्रकाशित भएपछि (प्रकाश २२:१८-१९), र प्रेरितहरूको मृत्यु भइसकेपछि चिन्ह र चमत्कारहरूको अन्त भयो, जसरी प्रकाशहरू दिइने काम पनि अन्त भयो। “भविष्यवक्ताहरू र प्रेरितहरू” भनेर जनाइएका उबेलाका दानप्रदत्त व्यक्तिहरू हाम्रो ख्रीष्टियन विश्वासका जग हुन् भन्ने कुरा एफेसी २:२० ले बताउँदछ। “अनि तिमीहरू प्रेरितहरू र भविष्यवक्ताहरूको जगमाथि बनाइएकाछौ, जसको कुनाढुङ्गाचाहिँ येशू ख्रीष्ट आफै हुनुहुन्छ।” तर यतिका वर्षपछि आएर अझै पनि यो जग निर्माण भइरहेको त कदापि छैन। जग भन्ने कुरा एक पटक बसालिसकेपछि त्यसलाई फेरि बसाल्नुपर्दैन। जग भन्ने कुरा बलियो गरी बसालिन्छ र त्यसपछि भवनका अन्य भागहरू जगमाथि निर्माण गरिन्छन्। भविष्यवक्ताहरू र प्रेरितहरूले ख्रीष्टियन विश्वासको लागि जग बसालिसकेपछि उनीहरूको काम सकियो र अब उसो उनीहरूसितै भएको जस्तो आत्मिक वरदानको आवश्यकता पनि रहेन। त्यो समयदेखि यता हामीलाई खडा रहनका लागि एउटा बलियो जग पाएका छौं। यस पूर्ण प्रकाशमा आज कसैले पनि थप्ने काम गर्न सक्दैन।
हुन त त्यहाँ अवस्थापरिवर्तनको एउटा कालखण्ड (transitional period) थियो तरैपनि सामान्य रूपमा भन्नुपर्दा प्रेरितहरूको समयदेखि नै परमेश्वरले आफ्ना जनहरूलाई डोर्याउनुहुने तरिका भनेको उनीहरूलाई पवित्र आत्माको अगुवाइद्वारा बाइबलको अर्थ खुलाएर आफ्नो इच्छा देखाउनु हो। परमेश्वरले आफ्ना जनहरूलाई अवश्य अगुवाइ गर्नुहुन्छ, उहाँको नामको प्रशंसा होस्, तर परमेश्वरले निजलाई कुनै एउटा निश्चित बाटोमा डोर्याउँदैहुनुहुन्छ भनेर एउटा ख्रीष्टियनले जान्नु र परमेश्वरबाट कुनै प्रकाश सीधै पाएको छु भनेर भन्नु चाहिँ एउटै कुरा होइन। चिन्ह र चमत्कारको यस दृष्टिकोणलाई मण्डली इतिहासले समर्थन गरेको छ। प्रेरितहरूको समयदेखि बाइबल-विश्वासीहरूको बीचमा यस्तो कुनै कुरा भेटिँदैन। चिन्ह र चमत्कारमा विश्वास गर्ने आधुनिक विश्वासीहरूले आफ्नो सम्पदा रोमन क्याथोलिक रहस्यवादीहरू (mystics) र अनेक अनौठा सत्यत्यागी झुण्डहरूद्वारा पत्ता लगाउनुपर्छ। उदहारणको लागि, विन्यर्ड पास्टर जेम्स राइली (Vineyard Pastor James Ryle) को अ ड्रिम कम ट्रू (A Dream Come True) भन्ने पुस्तकमा, प्रेरितहरू बितेर गइसकेपछि सपनाहरू र दर्शनहरूद्वारा प्रकाश पाउने उनको प्रयासमा रोमन क्याथोलिकहरूका “पिताहरू,” “सन्तहरू,” र रहस्यवादीहरूको अनौठा अभिलेखहरूमा खोजी गर्न उनी बाध्य भए। उनले अगस्टिन (Augustine, p. 159), जेरोम (Jerome, p. 158), थोमस अक्विनास (Thomas Aquinas, p. 165), “सेन्ट” बेनेडिक्ट (“Saint” Benedict, p. 198), र “सेन्ट” निकोलास् (“Saint” Nicolas, pp. 129-131) जस्ता झूटा शिक्षकहरूका नाम लिन्छन्। हाम्रो रोम एन्ड द बाइबल (Rome and the Bible) भन्ने पुस्तकमा हामीले अगस्टिन र जेरोमको सत्यत्यागी अङ्गीकारको अभिलेख गरिसक्यौं। जोन बन्यन (John Bunyan) को पुस्तक यात्रीको प्रगति (Pilgrim’s Progress) पनि एउटा बाइबल भन्दा अतिरिक्त प्रकाश (extra-biblical revelation) हो भनेर राइलीले हालसालै दाबी गरेका छन् (अ ड्रीम कम ट्रू, p. 166)। यो ता तर्कबिज्ञानकै छक्क लाग्दो कदम हो! उनले जोन निउटन (John Newton) र चार्लस् स्पर्जन (Charles Spurgeon) का सपनाहरूको उल्लेख गर्दछन् (A Dream Come True, p. 171-173), तर यी दुई व्यक्तिले कहिलै विन्यर्ड-किसिमको बाइबल-बाह्य प्रकाशको समर्थन गरेनन्। स्पर्जनले “भविष्यवाणीयुक्त सपनाहरू” प्रचार गरेनन्; उनले पवित्र शास्त्रहरू प्रचार गरे। बस यति।
यदि स्पर्जन आज भएका भए निःसन्देह आज उनको मण्डलीले जे प्रचार गरिरहेको छ उनले पनि त्यही नै प्रचार गर्नेथिए; उनले विन्यर्ड भद्रगोलका त्रुटिहरूको भण्डाफोर गर्नेथिए।आज स्पर्जनको मेट्रोपोलिटन टेबरनेकलको पास्टर डाक्टर पिटर मास्टर्स (Dr. Peter Masters) हुनुहुन्छ, र उहाँले आधुनिक क्यारिस्म्याटिक लहरको खतरालाई खुलस्त गराउदै र जेम्स राइलीले सिकाएका त्रुटीलाई सच्च्याउँदै दुईटा पुस्तक लेखेका छन्। द क्यारिस्म्याटिक फेनोमेननमा (The Charismatic Phenomenon) डाक्टर मास्टर्स यसो भन्नुहुन्छ —
“आधुनिक भविष्यवाणीहरू बाइबलीय सत्यताहरूको सरल पुनर्वर्णन मात्र होलान् रे तर तिनले पवित्र शास्त्रहरूलाई मानिसको नजरमा कमजोर तुल्याउने काम गर्छन्, किनभने बाइबल मात्र प्रकाशको एउटै माध्यम हो भनेर परमेश्वरले भन्नुभएको छ र यो नै हाम्रो सबै आत्मिक खाँचोको लागि पर्याप्त छ। हामीलाई अगुवाइ, सान्त्वना वा हौसलाको खाँचो पर्दा त्यहाँ अन्य कुनै सन्देश वा स्वरद्वारा सत्यता दिइनेछैनन् भन्ने कुरा परमेश्वरले भन्नुभएको छ। कुनै थप प्रकाश हामीलाई प्रबन्ध गरिनेछैन, किनभने पवित्र शास्त्रहरूमा हामीलाई डोर्यानउनका लागि प्रकट गरिएका शिक्षाहरू, प्रतिज्ञाहरू र सान्त्वनाहरूलाई हामीले अवलम्बन गर्नुपर्ने हो।
“उनीहरूका यस्ता थप सन्देशहरूले बाइबललाई खासै काट्दैन भनेर क्यारिस्म्याटिक शिक्षकहरूले भन्नु पर्याप्त छैन। उनीहरूले बाइबललाई अर्को तरिकाले होच्च्याइरहेका छन् — ज्योति र सहायताको निम्ति तिनीहरूले अर्को उपाय निकाल्छन्, र तिनीहरूले परमेश्वरका जनहरूलाई सत्यताको एक मात्र आधारबाट भड्काउछन्। रोमी १५:४ मा पावलद्वारा प्रभु हामीसँग स्पष्ट बोल्नुभएको छ: “किनकि जे-जे कुराहरू पहिल्यै लेखिए, ती हाम्रै शिक्षाका निम्ति लेखिएका थिए, हामीले धीरज र पवित्र शास्त्रहरूको सान्त्वनाद्वारा आशा पाउन सकौं भनेर।”
वास्तविकता यो हो, क्यारिस्म्याटिक शिक्षकहरूले बुझ्दैनन् कि पवित्र शास्त्रहरू (क) पूर्ण छन्, (ख) हाम्रा सबै खाँचोका निम्ति पर्याप्त छन्, र (ग) प्रत्येक सम्भावित समस्या र परिस्थितिलाई समेट्ने गहिराइका छन्। परमेश्वरको वचनलाई तल झार्ने क्रममा तिनीहरू जानी-नजानी सत्यत्यागीहरूको दर्जासँग मिल्न गएका छन्। आफ्नै माण्डलिक रीतिरीवाज र अगुवाहरू आधिकारीक छन् भन्ने ठानेर रोमन क्याथोलिक मण्डलीले बाइबलमा थपथाप गरेका छन्। उदारवादी शास्त्रीहरू (liberal theologians) ले आफ्नै धारणालाई र वर्तमान विज्ञानलाई पवित्र शास्त्रहरूको बराबरीमा राखेका छन्। सत्यत्यागको बाटोमा लागेका तर भक्तिको भेष धारण गर्ने (pietist) लहरहरूले उनीहरूको आफ्नै “आन्तरिक ज्योति” लाई पवित्र शास्त्रहरूको तहमा राखेका छन् — र अति अग्रसर रूपमा अनगिन्ती क्यारिस्म्याटिक शिक्षकहरूले ठीक यही गर्ने गर्दछन् (Peter Masters and John C. Whitcomb, The Charismatic Phenomenon, London: The Wakeman Trust, 1982. pp 42-43)।
यस विषयमा स्पर्जनको विचार बुझ्न हामीले उहाँको लेखहरू प्रशस्त पढिसक्यौं, र राइलीले उनलाई भविष्यवाणीयुक्त सपनादर्षीहरूको दर्जामा हाल्नु भनेको भयङ्कर भद्रगोल कुरा गर्नु हो। सपर्जनले कहिल्यै यस्तो गलत सल्लाह दिने थिएनन् जस्तो राइलीले दिन्छन् — “यदि तपाईं परमेश्वरले सपनाहरू र दर्शनहरूद्वारा बोल्नुहुन्छ भनेर विश्वास गर्नुहुन्छ भने र उहाँ तपाईंसँग बोलेको इच्छा गर्नुहुन्छ भने — त्यसो गर्नलाई उहाँलाई माग्नुहोस्!” (Ryle, A Dream Come True, p 200).
आधुनिक क्यारिस्म्याटिकको कथित “चिन्ह र चमत्कार” को लहर प्रेरित २:१७-२१ को पूराहुवाइ होइन।
यो पृष्ठ पनि पढ्नुहोस्: के हामीलाई थप प्रकाश (सपना, दर्शन आदि) को जरूरत छ?