अन्य भाषा के हो, के होइन? १ यस पृष्ठलाई छाप्नुहोस्

अन्य भाषा के हो, के होइन? १
डेविड क्लाउड
कण्ठ गर्नुपर्ने पदहरू: प्रेरित २:४-६; १ कोरिन्थी १२:३०; १३:८; १४:२०-२२, २७, ३३, ३४, ३७, ४०
पेन्टेकोस्टल-क्यारिज्म्याटिक लहर (Pentecostal-Charismatic Movement) मा बाइबलमा उल्लेखित अन्यभाषाको वरदानलाई ठूलो जोड दिइन्छ तर बाइबलको शिक्षाअनुसार यो एउटा अस्थायी अभ्यास थियो जुनचाहिँ पहिलो शताब्दिका मण्डलीहरूमै सीमित थियो। अन्य भाषाको शिक्षा सम्बन्धी सातओटा महत्त्वपूर्ण पाठहरू निम्नानुसार छन्:
१. बाइबलीय अन्य भाषाहरू संसारमा बोलिने वास्तविक भाषाहरू थिए (प्रेरित २:४-११)
बाइबलीय अन्य भाषाहरूको बारेमा एउटा आधारभूत तथ्य यो हो कि ती साँच्चीकै भाषाहरू थिए न कि बुझ्न नसकिने कुनै किसिमको बकबक। “प्रथम उल्लेख” को नियम (law of first occurrence) बाइबल व्याख्याको महत्त्वपूर्ण नियम हो; नयाँ नियममा अन्यभाषाको प्रथम अभ्यास प्रेरित २:६-११ मा देखिन्छ। त्यहाँ हामी देख्छौं अन्यभाषाको वरदान भनेको आफूले कहिल्यै नसिकेको भाषामा बोल्न सक्ने अलौकिक क्षमता थियो। यहाँ कम्तिमा चौध-पन्ध्रओटा फरक-फरक भाषाहरूको उल्लेख भएको छ। यी चाहिँ सामान्य गरी संसारमै बोलिने भाषाहरू थिए जो त्यसबेला प्रचलित थिए। यहूदी चेलाहरूहरूले यी भाषाहरूमा बोल्न सके यद्यपि उनीहरूले तिनलाई सिकेकै थिएनन्। १ कोरिन्थी १२-१४ मा उल्लेखित अन्यभाषाको वरदान प्रेरितको पुस्तकको भन्दा फरक थियो भनेर विश्वास गर्नुपर्ने त्यहाँ कुनै कारणै छैन। दुवै ठाउँमा अन्यभाषाको अभ्यास आफूले कहिल्यै नसिकेको संसारकै भाषा बोल्ने काम थियो। दुवैमा उही ग्रीक शब्द “ग्लोस्सा” प्रयोग भएको छ। यस शब्दले कि त जिब्रोलाई नै जनाउँदछ (मर्कूस ७:३३) कि त जिब्रोले बोलिने भाषालाई।
२) बाइबलमा उल्लेखित अन्यभाषा परमेश्वरको इच्छामा प्रदान गरिएको अलौकिक वरदान थियो (प्रेरित २:४; १ कोरिन्थी १२:७-११)
योचाहिँ अन्यभाषाहरू सम्बन्धी आधारभूत सत्यता हो र यसले हामीलाई यो सिकाउँछ कि अन्यभाषाहरू न बलजफ्ती गरेर न सिकेर आउने कुरा हो; यस तथ्यले वर्तमान पेन्टेकोस्टल र क्यारिज्म्याटिकहरूको सामान्य अभ्यासलाई काट्छ। उदाहरणको लागि, डेनिस बेनेट (Dennis Bennet) भन्छन्, “आफ्नो मुख खोल्नुहोस् र बोल्न थाल्नुहोस्। अङ्ग्रेजीमा नबोल्नुहोस् न ता आफूले जान्ने अरू कुनै भाषामा, किनकि तपाईं आफूले जानेकै भाषामा बोल्नुहुन्छ भने परमेश्वरले तपाईंलाई अन्यभाषाहरूमा बोल्न अगुवाइ गर्न सक्नुहुन्न। …प्रथम पटक बोल्न सिक्दै गरेको एउटा बालकले जस्तै गरी आफ्नो मुख खोल्नुहोस् र आफ्ना ओठहरूमा आउने पहिलो उच्चारण तथा अभिव्यक्तिहरूमा बोल्न थाल्नुहोस्” (The Holy Spirit and You, pp.76,77)।
नयाँ नियममा यस्तो कुनै कुरा बिलकुल पाइँदैन। पेन्टेकोस्टको दिनमा चेलाहरू अन्यभाषाहरूमा बोल्न खोजिरहेका थिएनन्। उनीहरूले अन्यभाषामा बोल्न सिकाउने तालिममा भाग लिएका थिएनन्। नयाँ नियमको कहीँ पनि हामीलाई अन्यभाषाहरूमा बोल्न सिकाउने निर्देशनहरू दिइएका छैनन्। यदि तपाईंले कुनै कुरा सिकेर गर्न सक्नुहुन्छ भने त्यो आश्चर्यकर्म हुन सक्दैन!
३) अन्यभाषाको वरदानको साथसाथै अन्यभाषाको अनुवाद गर्ने उत्तिकै अलौकिक वरदान पनि हुन्थ्यो (१ कोरिन्थी १४:२७-२८)
तर जब हामी पेन्टेकोस्टल-क्यारिज्म्याटिक लहरलाई विचार गर्छौं, “अन्यभाषाको अनुवाद” त एउटा साँच्चीकै विचित्र कुराको रूपमा देखा परेको पाउँछौं किनकि “अन्यभाषाहरू” र “अनुवाद” का बीच कुनै समानता नै पाइँदैन। मैले धेरैपटक तीन वा चार शब्दहरूले बनेको अन्यभाषाको सन्देशलाई सुनेको छु (जस्तै, शालालामा, शालाबामा, शालानूना, शालालामा, शालाबामा, शालानूना) जसलाई एउटा विस्तृत आत्मिक सन्देशको रूपमा अनुवाद गरिएको पाएँ। फ्रान्सका भूतपूर्व पेन्टेकोस्टल फर्नान्ड लेग्रान्डले यो पेन्टकोस्टल “अनुवादको दुविधा” लाई यसरी बयान गर्छन्, “मैले व्यक्तिगत रूपमा सक्दो ध्यान पुर्याई र खुला मनस्थिति लिएर जाँच गर्दा अनुवादका सबै उदाहरणहरूमा मैले मानवीय जालसाजी र जानाजानी चालबाजी बाहेक अरू केही भेटिनँ।”
लेग्रान्डले एउटा जाँच गर्ने युक्ति निकाले। उनले एक स्कटिश मान्छेले “प्रभुको प्रार्थना” गरेको रिकर्ड गरे र केही क्यारिज्म्याटिकहरूलाई त्यसको अनुवाद गर्न लगाए, तर अङ्ग्रेजीको “प्रभुको प्रार्थना” त फ्रान्सेलीमा एउटा अर्तीको सन्देशमा परिवर्तित हुन गयो!” (लेग्रान्ड, अल एबाउट स्पिकिङ्ग इन टङ्ग्स, पृष्ठ ४७-५१)।
लेग्रान्डले अर्को एउटा चुनौती दिने युक्ति पनि निकाले, तर कुनै पनि पेन्टेकोस्टल वा क्यारिज्म्याटिकले उक्त चुनौतीलाई स्वीकारेको छैन। “एउटा सभाको आयोजना गर्नुहोस् जहाँ तपाईंहरूमध्ये एकजनाले अन्यभाषामा बोल्नुहोला र तीनजना अरूहरूले चाहिँ छुट्टाछुट्टै बसेर त्यसको अनुवादलाई रिकर्ड गर्नुहुनेछ। मोटामोटी एउटै कुरा बताउनुपर्ने ती अनुवादहरूलाई आपसमा तुलना गरिनेछ। … आजसम्म स्वीकार नगरिएको मेरो यस प्रस्तावलाई अन्यभाषा बोल्ने कुनै पनि क्यारिज्म्याटिक समुदायलाई चुनौतीको रूपमा लिखित रूपमा लिएर म यहाँ खडा रहेको छु” (लेग्रान्ड, अल एबाउट स्पिकिङ्ग इन टङ्ग्स, पृष्ठ ५२)।
४) बाइबलका अन्यभाषाहरू अविश्वासी इस्राएललाई मण्डलीको शुरुआत भएको छ भन्ने कुराको एउटा चिन्ह थियो अनि उक्त उद्देश्य पूरा भएपछि अन्यभाषाहरू बन्द भए (१ कोरिन्थी १४:२०-२२)
बाइबलीय अन्यभाषाहरूको सम्बन्धमा अर्को आधारभूत सत्यता के हो भने ती चाहिँ मूलतः इस्राएललाई परमेश्वरले सुसमाचार सबै जातिहरूमा फैलाउँदै हुनुहुन्छ भन्ने कुराको चिन्ह थियो। कोरिन्थीहरूले आत्मिक वरदानहरूको दुरुपयोग गर्दैथिए र विशेष गरी अन्यभाषासित उनीहरू मोहित भएका थिए। आत्मिकरूपमा बालकै भएकाले (१ कोरिन्थी ३:१) उनीहरू आफ्ना वरदानहरूको प्रदर्शनी गर्दैथिए। पावलले उनीहरूलाई अन्यभाषाहरूको साँचो उद्देश्य जान्न र फलस्वरूप बालक हुन छाड्न र पूरा बढेको मानिस बन्न आग्रह गर्दछन्। अन्यभाषाहरू यशैया २८:११-१२ को अगमवाणीको पूरा हुवाइ थियो जुन अगमवाणी यहूदीहरूलाई लक्षित थियो।
ती अलौकिक भाषाहरू चाहिँ परमेश्वर सबै मानव जातिहरूसित बोल्दैहुनुहुन्छ र उनीहरूलाई यहूदी लगायत अन्यजाति दुवै मिलेर बनेको एउटा नयाँ आत्मिक संरचनाभित्र आउनलाई बोलाउँदै हुनुहुन्छ भन्ने कुराको अविश्वासी इस्राएललाई चिन्ह थियो। यशैया २८:११ मा “यस जाति” भन्नाले यहूदी जातिलाई जनाँदछ जोसित यशैया अगमवक्ता बोल्दैथिए।
प्रेरितको पुस्तकमा, अन्यभाषाको वरदानमा बोलिएको हरेक अवसरमा यहूदीहरू उपस्थित भएको हामी पाउँछौं (प्रेरित २:६-११; १०:४६; १९:६)। पेन्टेकोस्टको दिनमा र प्रेरित १९ मा अन्यभाषा बोल्नेहरू स्वयं यहूदीहरू थिए। फर्नान्ड लेग्रान्डले निम्न महत्त्वपूर्ण अवलोकन गर्दछन्:
“उल्लेखनीय कुरा यो छ कि जहाँ-जहाँ यो चिन्ह देखा परेको पाइन्छ त्यो सधैँ यहूदीहरूको उपस्थितिमा देखा परेको पाइन्छ। अनि यहूदीहरूको अनुपस्थितिमा, जस्तै एथेन्समा वा माल्टामा, चिन्ह पनि अनुपस्थित भएको पाइन्छ।… उक्त चिन्हको चरित्रमै हामी यहूदीहरूको अविश्वासको चरित्र देख्दछौं। … उक्त चिन्हले पराइ भाषा बोल्नेहरूको अर्थात् अन्यजातिहरूको मुक्तिको सम्बन्धमा रहेको यहूदीहरूको अविश्वासलाई दोषी ठहराउने वा सुधार्ने काम गर्दैथियो। …तर ठीक यही कुरा नै थियो जुनचाहिँ यहूदीहरू विश्वास गर्न चाहँदैनथे। भन्नुपर्दा उनीहरू “सबै मानिसहरूका विरोधमा छन्…तिनीहरूले हामीलाई अन्यजातिहरूले मुक्ति पाऊन् भनेर उनीहरूसित बात गर्न मनाही गर्दछन्” भनेर पावलले लेख्नुपरेको थियो (१ थेस्सलोनिकी २:१५-१६)। … पराइ जातिहरूसित यहूदीहरू अब एक बनिएको भन्ने धारणा पहिलो शताब्दिका यहूदीहरूलाई पचाउनै नसकिने कुरा थियो। त्यस्तो विचार मात्र पनि यहूदीहरूको पूर्वज प्रवृत्तिलाई उत्तेजित पार्न पर्याप्त थियो। तरैपनि उनीहरूले बुझ्नैपर्ने र अन्तमा स्वीकार गर्नैपर्ने प्रथम कुरा पनि त्यही थियो। त्यसैले तिनीहरूले जुन कुरा विश्वास गर्न सक्दैनथे वा चाहँदैनथे त्यही कुरा उनीहरूले बुझ्न सकून् भनेर परमेश्वरले उनीहरूलाई सबभन्दा सुहाउँदो चिन्ह दिनुभयो; उहाँले यहूदीहरूलाई अलौकिक तवरले पराइ जातिहरूको भाषाहरू बोल्ने बनाउनुभयो। त्यसो गर्नाले परमेश्वरले यहूदी प्रशंसा यी अन्यजातिका जिब्रोहरूमा हालिदिनुभयो। …
“बाइबललाई सरलै ढङ्गले तर ध्यानपूर्वक पढियो भने सुस्पष्ट तरिकाले ‘यहूदी’ को गन्ध नभएको जुनसुकै कुराप्रति पनि यहूदीहरूको कडा विरोध रहेको दृश्यलेख प्रकट भएको पाइन्छ। त्यहाँ योनालाई भेट्छौं जसले निनवेका मानिसहरूलाई यतिसम्म घृणा गरे कि उनी परमेश्वरलाई नै अवज्ञा गर्न पुगे। … आफ्नो खिन्नतामा उनी आफ्नै मृत्युको माग गर्न सम्म पुग्छन्। निनवे नाश नहुने हो भने योना मरोस्! … शताब्दि-शताब्दिमा यस्तो विरोध र अविश्वासको आत्मा झन्-झन् कठोर बन्दै गयो। यहूदीहरू यावेका हुन् र यावे यहूदीका हुन् भन्ने धर्मान्धताको घेराबाहिर बाँकी सबैजना श्रापित थिए। …
“उनीहरूको भन्दा बेग्लै भाषा बोल्नेहरूले परमेश्वरको भलोपनको आशिष पाउन सक्छन् भन्ने विचारलाई प्रस्तुत गर्नु भनेको आफ्नो ज्यानलाई जोखिममा पार्नु थियो। तिनीहरूले येशूलाई फ्याँक्न डाँडाको डिलमा लगिहाले किनभने उहाँले यति मात्र भन्नुभएको थियो: “एलियाको समयमा साँढे तीन सालका निम्ति आकाश बन्द हुँदा सारा देशभरि ठूलो अनिकाल लागेको बेलामा इस्राएलमा अनेकौं विधवाहरू थिए, तर सिडोन सारेफातमा एउटी विधवा स्त्रीकहाँ बाहेक तीमध्ये अरू कसैकहाँ एलिया पठाइएनन्। अनि भविष्यवक्ता एलिशाको समयमा इस्राएलमा धेरै कोरीहरू थिए, तर सिरियावासी नामानबाहेक तीमध्ये अरू कोही शुद्ध भएन (लूका ४:२५-२७)।” यो त, उनीहरूको दृष्टिमा, मृत्युदण्डको पर्याप्त आधार थियो। …
“प्रेरितको २२ अध्यायको विवरण कस्तो छ! कैदी पावल गढीको सिँढीमाथि उभिएका छन्। भीडलाई एक हातले इशारा गर्छन् र बोल्ने अनुमति माग्छन्। हिब्रूमा बोल्न थाल्दा भीड चुपचाप भई सुन्छ। … तर उनले जब भन्न थाल्छन्, ‘अनि उहाँले मलाई भन्नुभयो, जाऊ, म तिमीहरूलाई टाढाटाढा अन्यजातिहरूकहाँ पठाउनेछु’, तब उक्त वाक्यमाथि हावामै मानो ब्रेक लाग्छ। तिनीहरूले ‘अन्यजातिहरू’ भन्ने त्यस शब्दसम्म चाहिँ उनको कुरा सुने; अनि कराउँदै हावामा धूलो फ्याँक्नथाले, ‘पृथ्वीबाट यस्तो मान्छेलाई हटाइदेऊ, किनकि त्यो जीवित रहनु उचित छैन!’ कुन कुराले तिनीहरूलाई त्यस्तो गरी विस्फोट गरायो? केवल यही कुरा कि परमेश्वर चाहिँ सबै मानिस र सबै भाषीका परमेश्वर हुन सक्नुहुन्छ भन्ने धारणा।
“अन्यभाषाहरूको बोली यही महान् सत्यताको चिन्ह थियो जुन सत्यताभित्र प्रवेश गर्नलाई ‘यस जाति’ का निम्ति चाहिँ त्यो माध्यम नै थियो। …
“यस किसिमको अविश्वासलाई त्याग्न र परमेश्वरले शुद्ध ठान्नुभएका जातिहरू र भाषाहरूलाई अबदेखि उसो अशुद्ध नठान्नलाई विश्वस्त पारिनुपर्ने जाति केवल यहूदीहरू थिए, ती भाषाहरू जो पवित्र आत्माद्वारा बोलिनलाई समेत अशुद्ध थिएनन्। … पत्रुसलाई दिइएको तीनदोब्बर दर्शनले जस्तै, पराइ भाषाहरूमा दिइएको यो चिन्हले उनीहरूलाई मुक्ति चाहिँ “जोसुकै”, “सबै प्राणी”, “सबै भाषी” को लागि हो भन्ने कुराको शिक्षा दिने काम गर्यो।’ …
“तर सबै जातिहरू, कुलहरू, राष्ट्रहरू र भाषाहरू मिलेर बनेको आजको मण्डलीमा पवित्र आत्मा सबै जातिहरू, राष्ट्रहरू, कुलहरू र भाषाहरूमाथि खन्याइएको छ भनेर फेरि दोहोर्याईकन कसलाई अझ पनि विश्वस्त पारिनु आवश्यक परेको छ र?” (लेग्रान्ड, All About Speaking in Tongues, pp. 24-27, 33)।
परमेश्वरले एउटा नयाँ काम गर्दैहुनुहुन्छ अर्थात् सबै मानिसहरूका बीचमा सुसमाचार पुर्याउँदै हुनुहुन्छ अनि दुवै यहूदी र अन्यजातिहरूलाई एउटा नयाँ आत्मिक संरचनाभित्र ल्याउँदैहुनुहुन्छ भन्ने कुरा दर्शाउनलाई, अन्यभाषाहरू, इस्राएल जातिको निम्ति दिइएको एउटा चिन्ह थियो भन्ने कुरा बुझिएन भने अन्यभाषाहरू सम्बन्धी सही बाइबलीय शिक्षा जान्नु असम्भव छ।
अन्यभाषाहरू सम्बन्धी यस सुस्पष्ट बाइबलीय शिक्षा एकलैले सबै आधुनिक अन्यभाषाहरूको अभ्यासलाई झूटो साबित गर्दछ। के त्यहाँ यहूदीहरू उपस्थित थिए त जब सन् १९०१ मा क्यान्सासमा चार्ल््स पारहाम (Charles Parham) को बाइबल स्कूलका विद्यार्थीहरूले “अन्यभाषाहरूमा” बोल्न थाले वा जब सन् १९०६ मा लस एन्जेलेसमा अजुसा स्ट्रिट मिशन (Azusa Street Mission) मा “अन्यभाषाहरू” को प्रस्फुटन भयो? यदी यहूदीहरू त्यहाँ उपस्थित भएका भए, परमेश्वरले सुसमाचार सबै जातिहरूमा पुर्याउँदैहुनुहुन्छ र सुसमाचारद्वारा एउटा नयाँ संरचनाको सृजना गर्दै हुनुहुन्छ भन्ने कुरा दर्शाउनलाई उक्त अन्यभाषाहरू बोल्ने कामले कसरी चिन्हको रूपमा काम गर्नेथ्यो? उक्त चिन्ह त १९०० वर्ष अघि दिइसकेको थियो। कुन हिसाबा उक्त चिन्ह पहिलो शताब्दिमा पूर्णरूपमा पूरा भएको थिएन त? यी त प्रत्येक पेन्टेकोस्टल र क्यारिज्म्याटिकले जवाफ दिनैपर्ने कठीन प्रश्नहरू हुन्। यहूदीहरूलाई अन्यभाषाहरूको चिन्हको अझै आवश्यकता छ भनेर यदि कसैले जवाफ दिन्छ भने, हामी प्रश्न गर्छौं, “त्यसो भए किन त पेन्टेकोस्टल-क्यारिज्म्याटिक अभियानहरूले अन्यभाषाको यस पक्षलाई पूरै बेवास्ता गरेका?” टोपिकाका पारहामले र लस एन्जेलेसका सेमूरले इस्राएलको निम्ति चिन्ह बनोस् भनेर अन्यभाषाहरूको खोजी गरेनन् तर “पवित्र आत्माको बप्तिस्माको” चिन्हको रूपमा त्यसको खोजी गरे। एजी चर्चहरू (Assemblies of God) र चर्च अफ गड अफ प्रोफेसी (Church of God of Prophecy) र फोरस्क्वायर पेन्टेकोस्टलक चर्चहरू (Foursquare Pentecostal Churches) अनि बाँकी सबैको सवालमा यही कुरा भन्न सकिन्छ।
“मेरो किताब पढेपछि एकजनाले मलाई भने, ‘तपाईंको लागि यस सम्बन्धी सम्पूर्ण कुराको सार भनेको यो एउटा चिन्ह हो।’ अवश्य हो नि! जस्तै, एउटा चिन्हपाटीलाई लिनुहोस्; कसैले निकै लम्बेचौडा कुरा गर्दै त्यसको उचाइ, त्यसको आकार, त्यसको रङ्ग, त्यसका अक्षरहरूको चमक र आकारको वर्णन गर्ला मानो, तर ती भनाइहरू जतिसुकै ठीक भए तापनि उक्त वस्तुको एउटै र अन्तिम उद्देश्य भनेको एउटा चिन्हपाटीको काम दिनु हो। अन्यभाषाहरूको बोली सम्बन्धमा पनि कुरा त्यस्तै हो। त्यसलाई जसरी हेरे पनि, पवित्र आत्माले भन्नुभएकै छ, त्यो अविश्वसी इस्राएलको निम्ति चिन्ह हो। अरू कुरामा जस्तै यस विषयमा पनि यो स्पष्टै देखिने कुरा हो कि नियमावलीलाई पछ्याउने काम भएको छैन” (फर्नान्ड लेग्रान्ड, All About Speaking in Tongues, pp. 67)।
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।