अन्य भाषा २

अन्य भाषा २
डेविड क्लाउड
अघिल्लो पाठमा हामीले अन्य भाषाको वरदान सम्बन्धी चारओटा आधारभूत सत्यताहरूको चर्चा गर्यौं। (१) बाइबलीय अन्य भाषाहरू संसारमै बोलिने वास्तविक भाषाहरू थिए। (२) बाइबलीय अन्य भाषाहरू अलौकिक तवरले प्रदान गरिएका थिए। (३) बाइबलीय अन्य भाषाहरूका सवालमा तिनका साथसाथै अनुवाद गर्ने अलौकिक वरदान पनि दिइन्थ्यो। (४) बाइबलीय अन्य भाषाहरू अविश्वासी इस्राएलको निम्ति चिन्ह थियो।
यस पाठमा हामी अन्य भाषाहरू सम्बन्धी अरू तीन आधारभूत सत्यताहरूको चर्चा गर्नेछौं:
५) बाइबलीय अन्य भाषाहरू प्रेरितीय निर्देशनहरूको घेराभित्र अभ्यास गरिनुपर्थ्यो (१ कोरिन्थी १४)
पावलले भने, “भाषाहरूमा बोल्नालाई मनाही नगर”, तर साथसाथै उनले भाषाहरू कसरी प्रयोग गरिनुपर्छ भन्ने बारेमा धेरैओटा प्रतिबन्धहरू पनि लगाए। मैले आधुनिक युगमा “अन्य भाषाहरू” प्रेरितीय नियमहरूको घेराभित्र रहेर अभ्यास गरिएको कहिल्यै देखेको छैन।
- अन्य भाषाहरू पालैसित बोलिनुपर्छ, एक-एक गरी (“यदि कसैले अन्य भाषा बोल्छ भने दुईजना अथवा बेसीभन्दा बेसी तीनजना होऊन्, र पालैसँग बोलून्…” १ कोरिन्थी १४:२७)। मैले देखेका धेरजसो पेन्टेकोस्टल-क्यारिज्म्याटिक सभाहरूमा उनीहरूका “अन्य भाषाहरू’ धेरैजनाद्वारा एकैचोटी बोलिएको पाएको छु।
- अन्य भाषाहरू अनुवाद गरिनुपर्छ (“अनि एउटाले अनुवाद गरोस्” १ कोरिन्थी १४:२७)। आधुनिक पेन्टेकोस्टलवादमा अन्य भाषाका सन्देशहरू विरलै अनुवाद गरिन्छन्, अनि गरियो भने पनि “अनुवाद” र “अन्य भाषा” को बीच कुनै सरोकार नभएको कुरा प्रष्टै थाह हुन्छ।
- त्यहाँ कुनै गडबड हुनुहुँदैन (“किनकि परमेश्वर गडबडका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ, जसरी पवित्र जनहरूका सबै मण्डलीहरूमा छ” १ कोरिन्थी १४:३३)। आफू गएको जुनै पनि पेन्टेकोस्टलक-क्यारिज्म्याटिक सभा जहाँ “आत्माले काम गरिरहेको” मानिन्थ्यो, मलाई यस्तो विचार आउने गरेको छ, “यहाँ गडबड छ”। त्यहाँ अस्तव्यस्तताको हैकम रहन्छ। ती “अन्य भाषाहरू” बुझ्न सकिँदैनन्। त्यहाँ अर्थ न व्यर्थका कुराहरू भइरहेका हुन्छन् र बाइबलमै नभएका कुराहरू भइरहेका हुन्छन्। तर परमेश्वर गडबडको परमेश्वर हुनुहुन्न भनेर हामीलाई भनिएको छ; यो त निकै फराकिलो अभिव्यक्ति हो।
- त्रीहरूलाई अन्य भाषाहरूमा बोल्न मनाही छ (“तिमीहरूका स्त्रीहरू मण्डलीहरूमा चुप लागून्; किनकि उनीहरूलाई बोल्ने अनुमति छैन, तर आज्ञाकारी भएर रहने आज्ञा छ; व्यवस्थाले पनि यसै भन्छ” १ कोरिन्थी १४:३४)। पावलले मोशाको व्यवस्थाको उल्लेख गर्छन् जसले पनि स्त्री पुरुषको अधीनमा राखिएको कुरा बताउँछ (उत्पत्ति ३:१६; गन्ती ३०:३-१३)। पेन्टेकोस्टलवादको जन्म भएदेखि नै स्त्रीहरू अन्य भाषाहरूको सवालमा अग्रपन्थी भूमिका निर्वाह गर्दै आएका छन्। टोपिका, क्यान्जासमा रहेको पारहामको बाइबल स्कूलमा अन्य भाषा प्रथम पटक बोल्ने व्यक्ति एक स्त्री थिई। सेमूरको अजूसा स्ट्रीट मिशनमा अन्य भाषा बोल्ने प्रथम व्यक्ति एक स्त्री थिई। सन् १९०६ को एप्रिल १७ मा उक्त मिशनमा पुग्ने लस एन्जेलेस टाइम्सका एक पत्रकारले अवलोकन गरे, “बूढो प्रचारक [सेमूर] ले ‘दिदीबहिनीहरू’ लाई ‘अन्य भाषाहरू निस्केर आओस्’ भन्दै जोड गरे अनि स्त्रीहरूले आफूहरूलाई धार्मिक उत्तेजनाको उत्पातका निम्ति सुम्पिहाले।”
- सबै कुरा शिष्टतापूर्वक गरिनुपर्छ (“सबै कुराहरू शिष्टतापूर्वक… गरिऊन्” १ कोरिन्थी १४:४०)। “शिष्टतापूर्वक” भनेर अनुवाद गरिएको ग्रीक शब्द हो “यूस्खेमेनोस्”, जसलाई “इमान्दार भएर” (रोमी १३:१३; १ थेस्सलोनिकी ४:१२) भनेर पनि अनुवाद गरिएको छ। यस शब्दले नैतिक शिष्टता, इमान्दारीपन र निष्ठावान् चरित्रको भावना बोकेको छ, अर्थात् येशू ख्रीष्टको सुसमाचार र येशू ख्रीष्टको मण्डलीलाई यसरी सिँगारियोस् कि हाम्रा क्रियाकलापहरूले सुसमाचार वा मण्डलीमाथि कुनै पनि निन्दा निम्त्याउने काम नगरोस्। पेन्टेकोस्टल-क्यारिज्म्याटिक लहरमा हुने भ्रम र झूटहरूको बिगबिगीको बारेमा जब हामी विचार गर्दछौं र धेरैपटक स्त्रीहरू आत्माद्वारा प्रभावित भएको भनी दाबी गरिएको कुरालाई र उनीहरू अशिष्ट तवरले ढलेका र फलस्वरूप उनीहरूलाई ढाकिनुपरेका कुरालाई जब हामी विचार गर्दछौं यो स्पष्ट जानिन्छ कि त्यहाँ सबै कुराहरू शिष्टतापूर्वक गरिने काम भएको छैन।
- सबै कुरा क्रमअनुसार गरिनुपर्छ (“सबै कुराहरू… क्रमअनुसार गरिऊन्” १ कोरिन्थी १४:४०)। सृष्टिका परमेश्वर व्यवस्थित परमेश्वर हुनुहुन्छ। जर्ज गार्डिनर (George Gardiner) धेरै वर्षसम्म एक पेन्टेकोस्टल थिए र उहाँ भन्नुहुन्छ पेन्टेकोस्टलवादबाट उहाँको बाहिर निस्कने यात्राक्रम “एकातिर क्यारिज्म्याटिक अभ्यासहरू र अर्कोतिर बाइबलका अभिव्यक्तिहरूका बीच रहेको अत्यन्तै विशाल खाडलको बारेमा उठेका पिरल्ने प्रश्नहरूबाट शुरुआत भएको थियो!” (गार्डिनर, दि कोरिन्थियन क्याटास्ट्रोफी, पृष्ठ ८)। उनले प्रेरितको पुस्तकलाई अध्ययन गर्ने अठोट गरे। “मैले प्रेरितको पुस्तकलाई दोहोर्याएर पढें, विस्तारै र ध्यान दिएर पढें, यसरी प्रार्थना गर्दै पढें, ‘प्रभु, यहाँ के भनिँदैछ म देख्न सकूँ, केवल वचनले जे भन्छ त्यही मात्र देख्न सकूँ। यदि मैले आफू गलत भएको भेट्टाएँ भने त्यो स्वीकार गर्न मलाई अनुग्रह दिनुहोस् र मैले अनावश्यक आलोचना गरेको भेटियो भने भूल स्वीकार गर्न मलाई अनुग्रह दिनुहोस्।’ प्रेरितको पुस्तकभित्रको मेरो यात्राले मेरो आँखा खोलिदियो! शुरुका मण्डलीहरूको क्रियाकलाप तथा अनुभवहरू आधुनिक लहरका क्रियाकलाप तथा ‘अनुभवहरू’ भन्दा ज्यादै परका कुरा थिए। कति हिसाबले त ती ठीक उल्टा थिए!” (The Corinthian Catastrophe)। हो, यही कुरा मैले पनि आफू एक नयाँ ख्रीष्टियान हुँदा पत्ता लगाएको थिएँ। उनीहरूको “अन्य भाषाहरू” बाइबलीय ढङ्गले अभ्यास नगरिएको कुराले पेन्टेकोस्टलवाद शास्त्रसम्मत छैन भनी म विश्वस्त भएको हुँ। म दर्जनौं पटक संसारका विभिन्न स्थानहरूका पेन्टेकोस्टलक र क्यारिज्म्याटिक सभाहरूमा गएको छु र मैले कहिल्यै पनि अन्य भाषाहरू बाइबलीय ढङ्गमा परिचालन भएको देखेको छैन।
६) पेन्टेकोस्टल-क्यारिज्म्याटिक तरिकाको “अन्य भाषामा बोल्ने” काम अबाइबलीय र खतरनाक छ।
मानौं, आज “अन्य भाषाहरूको बोली” वा “व्यक्तिगत प्रार्थना गर्ने भाषा” जस्तो कुरा छ भन्ने कुरालाई हामीले स्वीकार्यौं र त्यसले हामीलाई अझ असल ख्रीष्टिय जीवन यापन गर्न मदत गर्छ भन्ने कुरालाई मान्यौं र त्यसलाई “आफै गरी हेर्नोस् न” भन्ने पेन्टेकोस्टल-क्यारिज्म्याटिक चुनौतीलाई स्वीकार्यौं, तब त्यसपछि उठ्ने प्रश्न हो, “म यस ‘भाषा’ वा ‘प्रार्थना गर्ने भाषा’ मा कसरी बोल्न थाल्न सक्छु त’?” प्रायः जवाफ यस्तो आउने गर्छ:
पहिलो कदम: हामीलाई भनिन्छ कि पहिलो कदम भनेको यी कुरालाई विश्लेषण गर्ने पट्टी लाग्न छाड्नुपर्छ र नयाँ अनुभवहरूका लागि आफूलाई खुल्ला बनाउनुपर्छ। माइकल हार्पर (Michael Harper) ले लेखेको दीज वन्डर्फूल गीफ्ट्स (These Wonderful Gifts) किताबमा एउटा अध्यायको शीर्षक “लेटिङ्ग गो एण्ड लेटिङ्ग गड” राखिएको छ जसमा विश्वासीलाई अनुभवहरूलाई धेरै होशियार र कट्टर भएर विश्लेषण गर्न छाड्न शिक्षा दिइएको छ र “आपत्ति जनाउने सूचक प्रणालीहरू” खडा गर्न छोड्न र “सुरक्षाका पर्खालहरूभित्र डराएर टुक्रुक्क बस्न” छाड्न अर्ती दिइएको छ। उनी भन्छन्, विश्वासीहरू आफ्ना “पर्खाल र अचूक प्रणालीहरू” को भित्रबाट बाहिर निस्केर आउनुपर्छ र परमेश्वरको सामु आफूलाई केवल खुल्ला मात्र बनाउनुपर्छ। क्यारिज्म्याटिक अनुभवहरू प्राप्त गर्नलाई आवश्यक तर अबाइबलीय र अत्यन्तै खतरनाक कदम यही हो। बाइबलले विश्वासीलाई सबै समयहरूमा सचेत र जागो रहनलाई चेताउनी दिन्छ (१ पत्रुस ५:८)। यसको अर्थ हो हाम्रा मनहरूमाथि हाम्रो नियन्त्रण रहिरहनु आवश्यक छ र त्यसमा कुनै पनि हानिकारक पराइ तत्त्वहरूको प्रभाव पर्न दिनुहुँदैन। यो त “लेटिङ् गो” अर्थात् “आफूलाई अनियन्त्रित छोड्नु” र सबै कुराहरूको जाँच गर्न छोड्नुको ठीक विपरित कुरा हो।
दोस्रो कदम: पवित्र शास्त्रद्वारा जाँच गर्ने कामलाई परित्याग गरिसकेपछि “अन्य भाषाहरूको वरदान” वा “व्यक्तिगत प्रार्थना गर्ने भाषा” लाई अनुभव गर्नलाई चलिआएको तरिका हो आफ्नो मुख खोल्नु र शब्दहरू बोल्न थाल्नु तर बुझिने शब्दहरू ता होइन, अनि दाबीअनुसार “परमेश्वरले नियन्त्रणमा लिनुहुन्छ।”
यो त यति साह्रो अबाइबलीय र मूर्खतापूर्ण कुरा छ कि यसलाई झूटो साबित गरिनु अनावश्यक देखिन्थ्यो। नयाँ नियममा यस्तो कुरा बिलकुलै पाइँदैन। बाइबललाई बेवास्ता गर्नु र बाइबलले कहिल्यै खोजी गर नभनेको कुराको खोजी गर्नु र बाइबलले समर्थन नगरेको तरिकामा त्यसो गर्नु, र जाँचबुझै नगरीकन यस किसिमका धार्मिक अनुभवहरूका निम्ति आफूलाई खुल्ला बनाउनु भनेको आफूलाई “अर्कै आत्मा” (२ कोरिन्थी ११:४) ग्रहण गर्ने खतरामा पार्नु हो। ख्रीष्टियानहरूलाई प्रभाव पार्न खोज्ने बहकाउने आत्माहरू त्यहाँ छन् भनेर बाइबलले ख्रीष्टियानहरूलाई चेताउनी दिएको छ जुन आत्माहरू ज्योतिका स्वर्गदूतहरू र परमेश्वरका सेवकहरूको भेषमा देखा पर्न सक्छन् (२ कोरिन्थी ११:१३-१५; मत्ती २४:२४)। उनीहरूको शारीरिक अवस्थाले, खराबप्रतिको सहिष्णुताले र खुट्ट्याउन नसक्ने अवस्थाले गर्दा कोरिन्थीहरू झूटा आत्माहरूलाई ग्रहण गर्ने खतरामा रहेको कुराको चेताउनी पावलले दिन्छन् (२ कोरिन्थी ११:३-४)। साँचो ख्रीष्टियान दुष्ट आत्माले पक्रिन त सक्दैन तर ऊ तिनीहरूद्वारा निश्चय पनि प्रभावित हुन भने सक्दछन्।
अन्य भाषाहरूको बोली एक ईश्वरीय आश्चर्यकर्म थियो र त्यो परमेश्वरको सार्वभौम इच्छामा प्रदान गरिने कुरा थियो भनेर बाइबलले स्पष्टै सिकाएको छ। “तर यी सबै कुराहरू एउटै र उहीं आत्माले नै गर्नुहुन्छ, जसले आफ्नै इच्छाअनुसार हरेकलाई अलग-अलग बाँडिदिनुहुन्छ” (१ कोरिन्थी १२:११)। पेन्टेकोस्टको दिनमा चेलाहरूले अन्य भाषाहरूमा बोल्न खोजिरहेका थिएनन् न ता “लेटिङ्ग गो एण्ड लेटिङ्ग गड” को कुनै तालिम लिएका थिए। भन्नुपर्दा, उनीहरूले अन्य भाषाहरूमा बोल्ने आशा समेत गरेका थिएनन्। प्रेरितको पुस्तकमा ख्रीष्टियानहरूले अन्य भाषाहरूमा बोलेको प्रत्येक घटनामा ती अन्य भाषाहरू परमेश्वरको सार्वभौम इच्छामा प्रदान गरिएका थिए। एउटै पनि घटनामा प्रापकहरूले अन्य भाषाहरूमा बोल्न खोजिरहेका थिएनन्।
७) पहिलो शताब्दिमा समेत बाइबलीय अन्य भाषाहरू सबै ख्रीष्टियानहरूद्वारा बोलिने कुरा थिएन (१ कोरिन्थी १२:७-१०,२८-३०)
पावल प्रश्न गर्छन्, “के सबैले विभिन्न भाषाहरू बोल्छन्?” प्रश्न यसरी प्रस्तुत गरिएको छ कि त्यसको जवाफ एउटै मात्र हुन सक्छ, “बोल्दैनन्”।
प्रेरितको पुस्तकको एक सरल सर्वेक्षण गरियो भने त्यसले निर्णायक रूपमै यस कुरालाई प्रमाणित गर्नेछ कि शुरुका मण्डलीहरूमा सबै विश्वासीहरूले अन्य भाषाहरूमा बोल्दैनथे। पेन्टेकोस्टको दिनमा समेत माथिल्लो कोठामा रहेका चेलाहरूले अन्य भाषाहरूमा बोले तापनि (प्रेरित २:४) त्यस दिन पत्रुसको प्रचारद्वारा मुक्ति पाएकाहरूले अन्य भाषाहरूमा बोलेनन् (प्रेरित २:४०-४२)। प्रेरित ४:४ र ६:७ मा विश्वास गरेका यहूदीहरूले अन्य भाषाहरूमा बोलेनन्। प्रेरित ८:३५-३९ मा मुक्ति पाएका इथियोपियाईले अन्य भाषाहरूमा बोलेनन्। प्रेरित ११:२०-२१ मा एन्टिओकमा मुक्ति पाउने प्रथम व्यक्तिहरूले अन्य भाषाहरूमा बोलेनन्। प्रेरित १६:१३-१५ मा मुक्ति पाएका लिडिया र तिनका घरनाकाहरू र प्रेरित १६:३०-३३ मा मुक्ति पाएका फिलिप्पी कैदखानाका हाकिम र तिनका परिवारले अन्य भाषाहरूमा बोलेनन्। प्रेरित १७:४, १२, ३४ मा मुक्ति पाएका थेस्सलोनिकीहरू र बेरियालीहरू र एथेन्सबासीहरूले अन्य भाषाहरूमा बोलेनन्। प्रेरित १८:८ मा मुक्ति पाएका क्रिस्पस र अरूहरूले अन्य भाषाहरूमा बोलेनन्। प्रेरित १९:१७-१९ मा एफेसेसमा विश्वास गर्नेहरूले अन्य भाषाहरूमा बोलेनन्।
नयाँ नियममा कुनै पनि हिसाबमा अन्य भाषाहरूको बोलीलाई जोड दिइएको छैन। प्रेरितको पुस्तकभरिमा त्यो केवल तीनपटक अभ्यास गरिएको थियो अनि बाँकी बहुसङ्ख्यक विश्वासीहरूले त्यसको प्रयोग गरेनन्। पेन्टेकोस्टल-क्यारिज्म्याटिक लहरमा अन्य भाषाहरूको बोलीलाई जुन किसिमको जोड दिइन्छ त्यसलाई सृजना गर्नलाई बाइबलमै नभएका थुप्रै कुराहरू त्यहाँ भएजस्तै गरी पढ्नुपर्छ अनि यो त इमानदार ख्रीष्टियान भाइहरूले पवित्र शास्त्रहरूको प्रयोग गर्ने तरिका पटक्कै होइन।
(अन्य भाषाहरूको बोली सम्बन्धी थप अत्यन्तै विस्तृत अध्ययनका लागि अङ्ग्रेजी पाठकले वे अफ लाइफ लिटरेचरबाट प्रकाशित The Pentecostal-Charismatic Movements पढ्नुहोला। यस पुस्तकमा हामीले कथित “व्यक्तिगत प्रार्थना गर्ने भाषा”, पवित्र आत्माको बप्तिस्मा, पवित्र आत्माको भरपूरी, आगोको बप्तिस्मा, विश्वासीहरूका निम्ति भाषाहरूको चिन्ह, भाषाहरूको अनुवाद, रोमन क्याथोलिक चर्च तथा झूटा शिक्षा( कल्ट) हरूमा अन्य भाषाहरूको बोली, आदि अरू थुप्रै कुराहरूको चर्चा गरेका छौं।)
अन्य भाषाहरूको बोली सम्बन्धी पुनरावलोकन प्रश्नहरू
- अन्य भाषाहरू सम्बन्धी सातओटा आधारभूत बाइबलीय सत्यताहरू के-के हुन्?
- बाइबलीय अन्य भाषाहरू वास्तविक ______________________ थिए।
- “ग्लोस्सा” भन्ने ग्रीक शब्दको माने के हो?
- नयाँ नियमको कुन खण्डमा हामी कसरी अन्य भाषाहरूमा बोल्न सिक्न सक्छौं भनेर बयान गरिएको छ?
- क्यारिज्म्याटिकहरूले अन्य भाषाहरू अनुवाद गर्न सक्छन् कि सक्दैनन् भनेर प्रमाणित गर्नलाई भूतपूर्व पेन्टेकोस्टलवादी फर्नान्ड लेग्रान्डले कुन चुनौतीको युक्ति निकाले?
- बाइबलीय अन्य भाषाहरू ______________________________________ का निम्ति चिन्ह थिए।
- १ कोरिन्थी १४:२०-२२ मा पावलले पुरानो नियमको कुनचाहिँ भविष्यवाणीलाई उद्धृत गर्दछन्?
- रेरितको पुस्तकमा अन्य भाषाहरू अभ्यास भएको हरेक घटनामा ___________________________ उपस्थित थिए।
- अन्य भाषाहरू यहूदीहरूका निम्ति चिन्ह थिए भन्ने तथ्यले सबै आधुनिक अन्य भाषाहरूको बोलीलाई झूटा साबित गर्दछ। कसरी?
- १ कोरिन्थी १४ मा अन्य भाषाहरूको बोली सम्बन्धी छओटा नियमहरू के-के हुन्?
- पेन्टेकोस्टलवादी अन्य भाषाहरूमा बोल्नका निम्ति आवश्यक दुईटा खुड्किलाहरू के-के हुन्?
- पावलले कुनचाहिँ पुस्तकको कुन अध्यायमा उनको समयमा सबै ख्रीष्टियानहरूले अन्य भाषाहरूमा बोल्थे भनेर बताए?
- के पेन्टेकोस्टको दिनमा मुक्ति पाएका ३,००० ले अन्य भाषाहरूमा बोले?
- के इथियोपियाई नपुंसकले वा फिलिप्पीका कैदखानाका हाकिमले अन्य भाषाहरूमा बोले?
- रेरितको पुस्तकमा अन्य भाषाहरूको बोली कति पटक उल्लेख भएको छ?
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।