आश्चर्यकर्महरू

आश्चर्यकर्महरू
डेविड क्लाउड
कण्ठ गर्नुपर्ने पदहरू: मत्ती १२:३९; २४:२४; यूहन्ना २०:३१-३२; रोमी ८:२२-२५; २ कोरिन्थी १२:१२
आज ख्रीष्टिय जीवन र सेवकाइमा आश्चर्यकर्महरूको स्थानको बारेमा धेरै अलमल रहेको छ। के ईश्वरीय चङ्गाइ वर्तमान समयको निम्ति पनि हो? के आज पनि प्रेरित र अगमवक्ताहरू छन्? यी लगायत अन्य थुप्रै मुद्दाहरूलाई हामीले The Pentecostal-Charismatic Movements भन्ने पुस्तकमा विस्तृत रूपमा चर्चा गरेका छौं। वे अफ लाइफ लिटरेचरबाट उपलब्ध यस पुस्तकलाई ध्यानपूर्वक पढ्न हरेक अङ््ग्रेजी पाठकलाई आग्रह गर्दछौं।
यी मुद्दाहरूलाई बुझ्न हामीलाई मदत गर्ने पवित्र शास्त्रका केही आधारभूत शिक्षाहरूलाई हामी यस पाठमा हेर्नेछौं।
१) ख्रीष्ट र प्रेरितहरूका आश्चर्यकर्महरूको एउटा विशेष, अस्थायी उद्देश्य थियो। ती आश्चर्यकर्महरू मण्डली युगका लागि नमुनास्वरूप गरिएका थिएनन्।
- येशूका आश्चर्यकर्महरू उहाँ मसीह हुनुहुन्छ भन्ने कुरा प्रमाणित गर्नका निम्ति गरिएका थिए (यूहन्ना ५:२६; १०:२५, ३७-३८; १४:११; १५:२४; २०:३०-३१)। ख्रीष्टका आश्चर्यकर्मको उद्देश्य के थियो भन्ने सवालमा यी पदहरूले कुनै पनि शङ्का गर्ने ठाउँ बाँकी राख्दैनन्। प्रेरितहरूले समेत येशूले गर्नुभएका सबै आश्चर्यकर्महरू गर्न सकेनन् (जस्तै, आँधीलाई शान्त गराउने र हजारौंलाई खुवाउने), अनि यदि सकेका भए ख्रीष्टका आश्चर्यकर्महरूको चिन्हरूपी चरित्र प्रभावहीन ठहरिन जानेथिए।
यूहन्ना १४:१२ लाई के गर्ने नि? यसको अर्थ शताब्दियौंसम्म विश्वासीहरूले येशूका भन्दा महान् चिन्हरूपी आश्चर्यकर्महरू गर्न सक्नेछन् भन्ने हुन सक्दैन। त्यो असम्भव कुरा हुनेथ्यो। हजारौंलाई खुवाउनु, पानीमाथि हिँड्नु र मरेकालाई बिउँताउनु भन्दा ठूला आश्चर्यकर्महरू के हुन सक्थ्यो र? चेलाहरूले उहाँले भन्दा ठूलो आश्चर्यकर्महरू गर्नेछन् भनेर येशूले भन्नुभएको होइन; उनीहरूले उहाँले भन्दा ठूला कामहरू गर्नेछन् चाहिँ उहाँले भन्नुभएको हो। “कामहरू” भन्ने शब्द कुनै ठाउँहरूमा येशूका आश्चर्यकर्महरूको बयान गर्न प्रयोग भएका छन्, तर त्यसैमा सीमित भने छैन। येशू केवल प्यालेस्टाइनभित्र मात्र सेवकाइ गर्नुभयो र उहाँको प्रत्यक्ष सेवकाइअन्तर्गत तुलनात्मक रूपमा थोरै आत्माहरू मात्र बचाइएको देख्नुभयो, तर उहाँका चेलाहरू सारा संसारभरि सेवकाइ गरेका छन् र तिनीहरूले अनगिन्ती आत्माहरू बचाइएका देखेका छन्। येशूले कुनै पुस्तक लेख्नुभएन, तर उहाँका प्रेरितहरूले पवित्र शास्त्रको बाँकी रहेको भागलाई पूरा गरे। अभक्तिको पुस्ताको बाबजुद पनि परमेश्वरका जनहरूले पवित्र जीवनहरू यापन गर्न, सबभन्दा अग्निमय उत्पीडनहरूको सामना गर्न र संसारको पल्लो छेउसम्म सुसमाचार प्रचार गर्न सामर्थ्य प्राप्त गरेका छन्। परमेश्वरका जनहरूले निरन्तररूपमा नै आश्चर्यकर्महरू अनुभव गर्दैआएका छन् र महान् कार्यहरू गरेका छन् तर तिनीहरूले मसीहका चिन्हरूपी आश्चर्यकर्महरू भने गरेका छैनन्। - आफूहरू प्रेरितहरू भएको प्रमाणित गर्नलाई प्रेरितहरूले आश्चर्यकर्महरू गरे (मर्कूस ३:१४-१५; २ कोरिन्थी १२:१२)। यदि हामीले प्रेरितको पुस्तकलाई केलाएर अध्ययन गर्यौं भने हामीले यो देख्छौं कि आश्चर्यकर्महरू जति प्रेरितहरूद्वारा गरिएका थिए। प्रेरित २:४३; ४:३३; ५:१२ यसका उदाहरणहरू हुन्। यसको अपवादहरूमा केवल थोरै व्यक्तिहरू मात्र पर्छन् जोहरू प्रेरितहरूसँग संलग्न थिए र जसमाथि प्रेरितहरूले आफ्ना हातहरू राखेका थिए। शुरुका मण्डलीहरूका विशाल सङ्ख्यामा रहेका विश्वासीहरूले चिन्हरूपी आश्चर्यकर्महरू गर्न सक्दैनथे। तबिथा बिरामी पर्दा जोप्पाका विश्वासीहरूले तिनलाई मदत गर्न सकेनन्, अनि जब तिनी मरिन् उनीहरूले तिनलाई बौराउन सकेनन्। तिनीहरूले पत्रुसलाई बोलाइपठाउनु आवश्यक पर्यो जो एक प्रेरित थिए (प्रेरित ९:३६-४१)। यदि जोकोही विश्वासीहरूले सर्वसाधारणरूपमा त्यस्ता आश्चर्यकर्महरू गर्न सक्ने भएता प्रेरितको लक्षणको कुनै अर्थ हुनेथिएन। मलाई विमानस्थलमा लिन आउने अपरिचित व्यक्तिलाई मैले म रातो टोपी लगाएर आएको हुन्छु भने भने, रातो टोपी चाहिँ मलाई चिनाउने चिन्ह हुनेछ; तर यदि अरूहरू पनि रातो टोपी लगाएर विमानबाट उत्रे भने उक्त चिन्हको कुनै अर्थ हुँदैन। प्रथम मण्डलीहरूमा आश्चर्यकर्महरू गर्ने त्यस्तो कुनै पनि सर्वसाधारण अनुभव थिएन। ती त एक विशेष समयका लागि विशेष चिन्हहरू थिए।
२) परमेश्वरले सधैं निको पार्नुहुन्न तर प्रार्थनाको जवाफस्वरूप उहाँले कति पटक निको पार्नुहुन्छ।
- नयाँ नियमले निम्न तीनओटा उदाहरणहरू दिएको छ जसबाट निर्णायक रूपमा प्रमाणित हुन्छ कि परमेश्वरले विश्वासी जनको रोगलाई सधैं नै निको पार्नुहुन्छ भन्ने कुरा साँचो होइन।
- तिमोथीको उदाहरण (१ तिमोथी ५:२३)। तिमोथी बारम्बार विरामी पर्थे र प्रेरित पावलले उनलाई तिनको पेटको खातिर र तिनका बारम्बार हुने दुर्बलताको खातिर अलिकति दाखमद्य प्रयोग गर्नलाई निर्देशन दिन्छन्। परमेश्वरले तिमोथीलाई उनको रोगबाट अलौकिक चङ्गाइ गर्नुभएन नता उहाँले तिमोथीलाई उसको रोगलाई सराप्न नै निर्देशन दिनुभयो नता ती रोगहरूमाथि “विश्वासको वचन” उच्चारण गर्न नै भन्नुभयो।
- ट्रोफिमसको उदाहरण (२ तिमोथी ४:२०)। पावलले ट्रोफिमसलाई मिलेटसलाई विरामी अवस्थामै छोड्नुपर्यो। तिनको अलौकिक चङ्गाइ गरिएन।
- पावलको उदाहरण (२ कोरिन्थी १२:७-१०)। तीन-तीन पटक पावलले परमेश्वरसित यस समस्यालाई हटाइन विन्ती गरे, तर बाइबलले भन्दछ, परमेश्वरले सो गर्न इन्कार गर्नुभयो। उक्त दुर्बलाता उसकै आत्मिक उन्नतिका लागि उसले बोकिरहनुपर्छ भनेर परमेश्वरले पावललाई भन्नुभयो। यो जानेपछि पावलले आफूलाई परमेश्वरको इच्छामा सुम्पे र बुद्धिमानीपूर्वक भने, “यसकारण ख्रीष्टका निम्ति म दुर्बलताहरूमा, निन्दाहरूमा, अभावहरूमा, सतावटहरूमा, क्लेशहरूमा आनन्दित हुन्छु; किनकि जब म कमजोर छु, तब म बलियो हुन्छु” (२ कोरिन्थी १२:१०)। आज ख्रीष्टियानहरूको लागि यो एउटा सिद्ध उदाहरण हो। हामीले चङ्गाइको लागि र परीक्षा र कठिनाइहरूबाट छुटकारा पाउनको लागि प्रार्थना गर्नुपर्छ तर जब परमेश्वरले चङ्गाइ गर्नुहुन्न त्यस बेला हामी परमेश्वरको इच्छाप्रति झुक्नुपर्छ र त्यो रोग वा परीक्षालाई ईश्वरीय हातबाटको कुराको रूपमा स्वीकार गर्नुपर्छ। यो विश्वासको अभाव होइन; यो त सर्वशक्तिमान परमेश्वरको सार्वभौमिकताप्रतिको अधीनता हो। कोही-कोही पेन्टेकोस्टलवादीहरूले पावलको दुर्बलता कुनै रोग थिएन भनेर तर्क गर्न खोजेका छन् तर २ कोरिन्थी १२:९ मा “दुर्बलता” भनेर अनुवाद गरिएको ग्रीक शब्द (आस्थनेया) लाई अन्य ठाउँहरूमा “रोग” (यूहन्ना ११:४) “बिरामी” (प्रेरित २८:९) भनेर अनेर अनुवाद गरिएको छ।
- आज परमेश्वरले याकूब ५:१३-१५ को नमुनाअनुसार चङ्गाइ गर्ने गर्नुहुन्छ। यस खण्डमा एउटा सार्वजनिक चङ्गाइ सभाको नभई व्यक्तिगत चङ्गाइको प्रसङ्ग प्रस्तुत गरिएको छ अनि यसमा “चङ्गाइको वरदान” भएको व्यक्तिको कुनै कुरा छैन। यसमा केवल मण्डलीका एल्डरहरूको उल्लेख छ जोहरूले विरामी व्यक्तिलाई तेलले अभिषेक गर्दछन् र उसमाथि प्रार्थना गर्दछन्।
- हामीले ख्रीष्ट नफर्कुन्जेल आफ्नो महिमित अवस्था प्राप्त गर्नेछैनौ भनेर रोमी ८:२२-२५ ले हामीलाई सिकाउँदछ। त्यसबेला सम्म हामीले यस पापले श्रापित संसारमा सङ्कष्टहरू, दुःखहरू र मृत्युको अनुभव गर्नुपर्नेछ जसअन्तर्गत रोग-बिमार पनि पर्दछ।
३) येशूले आश्चर्यकर्महरूको पछि लाग्नेहरूलाई चेताउनी दिनुभएको छ (मत्ती १२:३८-३९)। यो खण्ड आधुनिक पेन्टेकोस्टल-क्यारिज्म्याटिक लहरलाई एउटा कडा हप्की हो।
४) मण्डली युगको अन्ततिर झूटा चिन्ह र चमत्कारहरू हुनेछन् भनेर बाइबलले चेताउनी दिएको छ (मत्ती २४:२४)। यस युगको आखिरी चरणको एउटा चरित्र भनेको झूटा भविष्यवक्ताहरूद्वारा गरिने “ठूला-ठूला चिन्ह र चमत्कारहरू” हुन् भनेर येशूले चेताउनी दिनुभयो। यसकारण यो स्पष्ट बुझिने कुरा हो कि कसैले आश्चर्यकर्महरू गर्दैछ भन्दैमा ती आश्चर्यकर्महरू परमेश्वरबाटकै हुन् भन्ने होइन। ती त शैतानबाटका हुन सक्छन्! भिन्नता जान्न सक्ने एउटै मात्र छ, त्यो हो तिनीहरूको शिक्षालाई बाइबलद्वारा जाँच्नु। हामीले “सबै कुराहरू जाँच्नुपर्छ” (१ थेस्सलोनिकी ५:२१)। हामी ती बेरियालीहरू जस्तै हुनुपर्छ जोहरूले “यी कुराहरू यस्तै हुन् कि होइनन् भनी दिनहुँ पवित्रशास्त्रहरूमा खोजी गर्दथे” (प्रेरित १७:११)। यही एउटै मात्र उपायद्वारा हामीले आफैलाई शैतानका धूर्त युक्तिहरूबाट जोगाउन सक्छौं।
आश्चर्यकर्महरूका पुनरावलोकन प्रश्नहरू
- आश्चर्यकर्महरू सम्बन्धी चार आधारभूत बाइबलीय शिक्षाहरू के-के हुन्?
- येशूका आश्चर्यकर्महरूको उद्देश्य के थियो?
- विश्वासीहरूले उहाँले गरेका कामहरूभन्दा ठूला-ठूला कामहरू गर्नेछन् भन्ने येशूको भनाइको तात्पर्य के थियो?
- प्रेरितहरूद्वारा गरिएका आश्चर्यकर्महरूको उद्देश्य के थियो?
- कुनचाहिँ पदमा पावलले “प्रेरितका लक्षणहरू” भन्ने कुराको उल्लेख गरे?
- यदि त्यस्ता आश्चर्यकर्महरू सर्वसाधारण रूपमा जोकोही विश्वासीले गर्न सक्ने भएका भए प्रेरितको लक्षणको कुनै ______________ हुनेथिएन।
- विश्वासीको रोग-बिमारलाई परमेश्वरले सधैं निको पार्नुहुन्न भनेर प्रमाणित गर्ने नयाँ नियममा पाइने तीनओटा उदाहरणहरू कुन-कुन हुन्?
- नयाँ नियमको कुन पुस्तकको कुन अध्यायमा विरामीको लागि कसरी अभिषेक गर्ने र प्रार्थना गर्ने भनेर बताइएको छ?
- चिन्हहरूको खोजी गर्ने व्यक्तिहरूको बारेमा येशूले के भन्नुभयो?
- विश्वासी जन शैतानको बहकाउदेखि कसरी बच्न सक्छ?
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।