“जसले एकाबिहानै उठेर चर्को सोरले आफ्नो साथीलाई आशीर्वाद दिन्छ, यो त्यसका निम्ति श्राप गनिनेछ” (हितोपदेश २७:१४)।
त्यसोभए के आफ्नो साथीलाई आशीर्वाद दिनु पाप हो? हाम्रा प्रभुले खुलेआम आफ्ना मित्रहरूको प्रेमलाई स्वीकार गर्नुभयो (लूका १२:२८)। तरैपनि चर्को स्वरले र अत्यधिक प्रशंसाले त्यसको आफ्नै इमानदारीतामाथि प्रश्न उब्जाउँछ। जब मान्छेले बोक्रे बोली र बढाइचढाइको भाषा प्रयोग गरी सत्यता र शिष्टताको सीमा नाघ्छ, त्यहाँ केही न केही खराब अभिप्राय लुकेको हुनुपर्छ भन्ने हामीलाई शङ्का लाग्छ (हितोपदेश २६:२३-२५)। साँचो मित्रतालाई त्यस्तो किसिमको आश्वासन आवश्यक पर्दैन। प्रेमले गरिएको एउटै कार्य अनेकौं चर्को आशीर्वादहरूभन्दा उत्तम हुन्छ। ‘कोही बुद्धिमान् छ भने उसले हजारौं मीठा बोलीभन्दा एउटा प्रतिज्ञा रोज्नेछ, र दस हजार प्रतिज्ञाभन्दा एउटा कार्य सम्पादन रोज्नेछ। किनकि अलिकति सास खर्च गर्नु कत्रो कुरा हो र, एकजनाले आफ्नो वचन दिनु कत्रो कुरा हो र, जसले त्यसबाहेक अरू केही दिने आशय राखेको छैन?’ उसलाई अर्कोले उछिन्ला भनेर वा यो ठूलो काम पूरा गर्न समय नपुग्ला भनेर, ऊ एकाबिहानै उठ्न सक्छ; र उच्चाट लाग्नेगरी उही कुरा बराबर दोहर्याइरे तापनि उसले मलाई मनमनै दिनभरि दोष्याइरहेको हुन सक्छ। परमेश्वरको सेवामा दाऊद एकाबिहानै उठेका कुरा (भजनसङ्ग्रह ५:३; ११९:१४७) लाई आफ्ना मित्रहरूलाई देखावटी आशीर्वाद दिन उसको छोरा एकाबिहानै उठेको कुरा (२ शमूएल १५:२-७) सित तुलना गर्नुहोस्। पावल प्रेरित यस्तो अत्यधिक प्रशंसालाई सहन सक्दैनथे (२ कोरिन्थी १२:६ लाई रोमी १२:३ सित दाँज्नुहोस्)। वास्तवमा हरेक विवेकी मानिसले बरु यसलाई आफ्नो निम्ति श्रापको रूपमा देख्नु जरूरी छ। नत्रभने यस्तो बढ्ता चाप्लुसीले उत्साहित हुनुले ऊसँग एउटा मूर्खको गुण छ भनेर देखाउनेछ। अनि त्यो भ्रमात्मक आशीर्वाद एउटा डरलाग्दो श्रापमाअन्त हुनेछ (२ शमूएल १६:१६-१९; १७:७-१३; प्रेरित १२:२२-२३)।
हाम्रो मित्रप्रतिको नियम यस्तो होस् — “वचनले मात्र होइन, जिब्रोले मात्र पनि होइन, तर कामले र सत्यताले प्रेम गरौं” (१ यूहन्ना ३:१८)। हाम्रो आफ्नै निम्ति नियम यस्तो होस् — “परमेश्वरको सामु हिँड”, मान्छेको सामु होइन (उत्पत्ति १७:१)। साँसारिक कुराहरू, सांसारिक मानिसहरू तपाईंको नजरमा सानो ठानियोस्। चाँडै मानिसको दिन बितेर जानेछ (१ कोरिन्थी ४:३)। अनन्तता त्यसको सारा खँदिलोपन र महिमासहित नजिकै छ।
साभार: Charles Bridges (1794-1869) ले सन् १८६४ मा प्रकाशन गर्नुभएको Proverbs शीर्षक गरेको उहाँको उत्कृष्ट टिप्पणीबाट हामीले उपर्युक्त लेखलाई नेपालीमा अनुवाद गरी यहाँ समावेश गरेका हौं।
https://wordoftruth.com.np/wp-content/uploads/2020/02/5.png270370Pradesh Shresthahttps://wordoftruth.com.np/wp-content/uploads/2021/06/logo-01-2-300x156.pngPradesh Shrestha2020-01-26 13:05:142021-05-08 15:09:45हितोपदेश २७:१४ को माने के हो?