पवित्र आत्मा सम्बन्धी विविध प्रश्नोत्तर

प्रदेश श्रेष्ठ

१) पवित्र आत्माको बप्तिस्मा र पवित्र आत्माको भरपूरी भनेको के हो? के यी दुवै एउटै हुन्?

एउटै होइन। हेर्नुहोस्: बप्तिस्मा र भरपूरी

२) के एउटा व्यक्ति पहिले प्रभु येशूलाई विश्वास गर्यो र पछि विश्वासबाट पछि हट्‍यो भने के उसको लागि पवित्र आत्मा मागिदिनुपर्छ?

वर्तमान मण्डली युगमा साँचो विश्वासीलाई पवित्र आत्माले कहिल्यै छोड्नुहुन्न (एफेसी १:१३-१४; ४:३०) यद्यपि पुरानो नियमको विश्वासीलाई छोड्न सक्नुहुन्थ्यो (भजनसङ्ग्रह ५१:११)।

३) के हामीले प्रार्थनामा पवित्र आत्मालाई माग्नुपर्छ?

पेन्टेकोस्टको दिनदेखि यता (मण्डली युगमा) त्यसो गर्नुपर्दैन किनभने प्रभु येशू महिमित भइसक्नुभएको छ र अहिले विश्वास गरेकै घडी पवित्र आत्मा दिइन्छ (यूहन्ना ७:३९)। पेन्टेकोस्ट अघि चाहिँ माग्नलाई सिकाइएको थियो (लूका ११:१३)

४) एउटा व्यक्तिले प्रभु येशूलाई चिनेर पनि नराम्रो काम गर्छ भने के पवित्र आत्माले छोड्नुभएकोले नै नराम्रो काम गरेको हो?

होइन; त्यो त विश्वासीले पवित्र आत्माको नियन्त्रणमा नहिँडेकोले हो (गलाती ५:१६)। फलस्वरूप पवित्र आत्मा शोकित बन्नुहुन्छ तैपनि उसलाई छोडेर जानुहुन्न बरु उसलाई पवित्र आत्माले छुटकाराको दिनसम्म छाप लगाउनुभएको छ (एफेसी ४:३०)। छुटकाराको दिनको माने विश्वासीले महिमित शरीर पाउने दिन हो (रोमी ८:२३) अर्थात् र्‍याप्चरको दिन जब मरेका विश्वासीहरू बौरेर उठ्छन् र जीवित रहिरहेकाहरू बदली गराइनेछन् (१ कोरिन्थी १५:५२; १ थेस्सलोनिकी ४:१४-१६)

तर अर्को सम्भावना भनेको उक्त “विश्वासी” ले कहिल्यै नयाँ जन्म (यूहन्ना ३:३; तीतस ३:५) नपाएको हुन सक्छ। ऊ साँचो विश्वासी नहुन सक्छ। वर्तमान “इसाई जगत” मा धेरैजनाको अवस्था नामधारीको अवस्था हो भन्ने मलाई डर लाग्दछ। निम्न पृष्ठहरू अध्ययन गर्नुहोस्:

५) पवित्र आत्माको भरपूरीको लागि के गर्नुपर्छ?

आत्माले भरपूर हुनुको माने पहिला बुझौं। एफेसी ५:१८ अनुसार आत्माले भरपूर हुनु पवित्र आत्मा परमेश्वरको नियन्त्रणमा जिउनु भन्ने हो। रक्सीले मानिसलाई नकारात्मक रूपमा नियन्त्रण गर्छ तर पवित्र आत्माले सकारात्मक र ईश्वरीय रूपमा। आत्माले भरपूर हुन एउटा विश्वासीले सबै थाह भएका पाप स्वीकार गरेको हुनुपर्छ (१ यूहन्ना १:९) नत्र त उहाँलाई शोकित पारिन्छ (एफेसी ४:३०)। भरपूर हुन परमेश्वरमा पूरै भर पर्नुपर्छ, शरीरमा होइन (“आत्मामा हिँड” अर्थात् उहाँमाथि भरोसा गर्दै जीवन बिताऊ, गलाती ५:१६) र परमेश्वरलाई हाम्रो जीवनमा र जीवनद्वारा काम गर्नलाई रोकटोकबिना (“आत्मालाई ननिभाओ”, १ थेस्सलोनिकी ५:१९) आफूलाई पूरै उहाँमा सुम्पनुपर्छ।

६) किन कोही व्यक्तिहरू स्तुति-प्रशंसामा ढल्छन्? कोही व्यक्तिहरू सभामा किन ढल्छन्? के यो ढल्नु बाइबलीय हो?

कतिपय मानिसहरू शारीरिक तथा मानसिक (psycho-somatic) प्रतिकृयाको कारण ढलेका हुन सक्छन्; कोही देखावटी रूपमा हुन सक्छन्। त्यहाँ अरू कारण पनि हुन सक्छन् किनकि दुष्ट आत्माद्वारा ढलिने कुरा पनि छ, तर ढल्ने काम कदापि बाइबलीय होइन किनभने प्रेरितहरूले त्यस्तो कहिल्यै सिकाएनन् र प्रभु येशूले ढलाउने काम गर्नुभएन (गेत्समनीमा त उहाँका शत्रुहरू चाहिँ ढले — विश्वासीहरू ढलेनन् — यूहन्ना १८:६ तर त्यो घटना समेत कथित “स्तुति-प्रशंसा” को घडीमा भएको थिएन।)

७) कोहीकोही प्रचारकहरूले यो पनि भन्छन् पवित्र आत्माको शक्ति पाउनलाई विश्वासीले पवित्र आत्मालाई आफ्‍नो जीवनमा निम्तो दिनुपर्छ र बोलाउनुपर्छ। के यो सत्य हो?

होइन, किनभने विश्वासीले पवित्र आत्मा मुक्ति पाएकै घडी प्राप्‍त गरिसकेको हुन्छ। आफ्‍नो जीवनमा उहाँको सामर्थ्य सिद्ध हुन दिनलाई विश्वासीले आफूलाई पलपलमा उहाँको अधीनतामा सुम्पँदै हिँड्नुपर्छ (एफेसी ४:३०, गलाती ५:१६, एफेसी ५:१८, १ थेस्सलोनिकी ५:१९) — हेर्नुहोस्: के तपाईंले पवित्र आत्मा पाउनुभयो, आदि प्रश्नोत्तर

Print Friendly, PDF & Email