• Christian Family

चाबी पदहरू

हितोपदेश १३:२४ “जसले आफ्नो छडी चलाउँदैन, त्यसले आफ्नो छोरालाई घृणा गर्छ; तर जसले छोरालाई प्रेम गर्छ, उसले त्यसलाई समयमा नै ताडना दिन्छ।”

हितोपदेश १९:१८ “आशा होउन्जेल आफ्नो छोरालाई ताडना देऊ, अनि त्यसलाई मर्न दिने मन तिम्रो नहोस्!”

हितोपदेश २२:६ “बालकलाई जुन बाटोमा त्यो हिँड्नुपर्छ, त्यही बाटोमा तालिम देऊ; त बुढा हुँदा पनि ऊ त्यसबाट हट्नेछैन।”

हितोपदेश २२:१५ “बालकको हृदयमा मूर्खता बाँधिएको हुन्छ, तर अनुशासन गर्ने छडीले त्यसलाई उसबाट हटाइदिन्छ।”

हितोपदेश २३:१३-१४ “बालकलाई अनुशासन गर्न नछोड; किनकि तिमीले त्यसलाई छडी लगायौ भने त्यो मर्नेछैन। त्यसलाई छडी लागाऊ, र तिमीले त्यसको प्राणलाई नरकबाट बचाउनेछौ।”

हितोपदेश २९:१५ “छडी र हप्कीले बुद्धि दिन्छन्, तर छाडा छोडिएको बालकले आफ्नी आमालाई शर्ममा पार्छ।”

हितोपदेश २९:१७ “आफ्नो छोरालाई ताडना देऊ, र उसले तिमीलाई विश्राम दिनेछ, अँ उसले तिम्रो मनलाई आनन्दित तुल्याउनेछ।”

एफेसी ६:४ “अनि हे बाबुहरूहो, आफ्ना छोराछोरीहरुलाई रिस नउठाउ; तर प्रभुको अनुशासन र चेताउनीमा तिनीहरूको पालन-पोषण गर।”

छोराछोरी हुर्काउने सम्बन्धमा केही विचारहरू

परिचय

तपाईंको छोराछोरी कस्तो बनेको देख्‍न चाहनुहुन्छ? उनीहरूले मुक्ति पाएको, परमेश्वरको सेवा गरेको चाहनुहुन्छ? चाहे गरिब अवस्थामा होस् चाहे धनी अवस्थामा होस् के उनीहरू प्रभुमा आनन्दित रहेको र मानिसहरू प्रति इमानदार भएको देख्‍न चाहनुहुन्छ? यस्तो पुस्ता पनि छ, यस्ता जवानहरू पनि हुन्छन् जसले कसैको पनि आदर गर्दैनन्, न आमाबुबाको न परमेश्वरको वचन टेर्दछन्। हितोपदेश ३०:११-१४ मा बयान गरिएको पुस्ता आज हामी संसारमा देख्छौं।

“यस्तो एउटा पुस्ता छ, जसले आफ्ना बाबुलाई सराप्छ, र आफ्नी आमालाई धन्यकी भन्दैन। यस्तो एउटा पुस्ता छ, हो आफ्नै दृष्टिमा शुद्ध छन्, तर पनि ती आफ्नो मैलाबाट धोइएका छैनन्। यस्तो एउटा पुस्ता छ — आहा-हा! तिनीहरूका आँखा कति घमण्डले भरिएका छन्! तिनीहरूका परेलाहरू कति चढेका छन्! यस्तो एउटा पुस्ता छ, जसका दाँतहरू तरवारजस्ता छन्, र जसका बङ्गराहरू पृथ्वीबाट दु:खीहरूलाई र मानिसहरूका बीचबाट खाँचोमा परेकाहरूलाई निलिखानका निम्ति छुरीजस्ता छन्” (हितोपदेश ३०:११-१४)।

तपाईंका केटाकेटी यस दुष्ट पुस्तामा सामेल नहोस् भनेर के तपाईंले दृढ निर्णय गर्नुभएको छ? संसारका विचारहरू र सांसारिक व्यवहारबाट छोराछोरीलाई जोगाउनलाई के तपाईंले कुनै कदमहरू चाल्नुभएको छ? “तर मेरो छोरा, मेरो छोरी सानो छ” भनेर ढुक्क नबस्नुस्। एक चोटि राम्रोसँग विचार गर्नुस्। यदि तपाईंको छोरा अहिले सानो हुँदा तपाईंले भनेको मान्दैन भने के ऊ ठूलो भएपछि तपाईंले उसलाई लागू पदार्थ खानबाट रोक्न सक्नुहुन्छ? अहिले तपाईंको छोरीले झगडा गरेर चक्लेट माग्दा तपाईंले दिनुहुन्छ भने ऊ ठूली भएपछि गलत किसिमको लुगा लाउनलाई झगडा गर्छे भने तपाईंले कसरी रोक्न सक्नुहुन्छ? तपाईंको सानो छोराले तपाईंलाई हिर्काउँदा तपाईं हाँस्नुहुन्छ भने ऊ ठूलो भएर तपाईंलाई मार्ने धम्की दिएपछि तपाईं त्यतिबेला के गर्नुहुन्छ? “मेरो छोरो सानो छ, ऊ आफै सुध्रिन्छ, बुझ्ने भएपछि मानिहाल्छ” भनेर नसोच्नुस्। पापको जरा, जुन बालकको हृदयमा छ, कहिले पनि आफै हराएर जाँदैन। यदि पापलाई रोकिएन भने पाप बढ्दै जान्छ, कम भएर जाँदैन। हृदयमा भएको पाप येशूले मात्रै धुनुहुन्छ। तर यदि तपाईंको छोराछोरी तपाईंकै अधीनमा बस्दैनन् भने कसरी उनीहरूले आफूलाई ख्रीष्टको अधीनमा सुम्पन्छन्? बाइबलमा बालकहरूका निम्ति केवल दुइटा आज्ञाहरू मात्रै दिइएका छन्। “हे नानीहरूहो, प्रभुमा आफ्ना बुबाआमाको आज्ञा पालन गर, किनकि यो उचित छ। ‘आफ्ना बुबाआमालाई आदर गर,’ जो चाहिँ प्रतिज्ञासहितको पहिलो आज्ञा हो, ‘र तिम्रो भलाइ होस् र यस पृथ्वीमा तिम्रो आयु लामो होस्’ (एफेसी ६:१-३)। सत्य यो हो कि कुनै बालकलाई छाडा छोडियो भने उसले यी आज्ञाहरू मान्नेछैन। यी आज्ञाहरू उसले आफ्नो शक्तिले मान्नेछैन। आफ्नो छोराछोरीलाई यी आज्ञा मान्न लगाउनु अभिभावकको कर्त्तव्य हो। केटाकेटीलाई सानैदेखि अनुशासनमा राख्‍नु जरुरी छ। “सानैदेखि” भन्नाले, ७-८ महिनाको उमेरदेखि नै। यदि अभिभावक छोराछोरीलाई अनुशासनमा राख्‍न ३-४ वर्ष पर्खन्छ भने ढिलो भइसकेको हुन्छ। अनुशासनको जग जीवनमा चाँडै बसाल्नुपर्छ। यदि ५ वर्षकी नानी उसको आमाले बोलाउनुहुँदा आउँदैन भने उसलाई कसले परमेश्वरको आज्ञा पालन गर्न सिकाउन सक्छ र? यदि ५ वर्षको छोरालाई “यहाँ चुप लागेर बस” भन्दाखेरि मान्दैन भने उसलाई कसरी बाइबलका महान् सत्यताहरू सिकाउन सकिन्छ? उसको आमाबुबाले उसलाई अनुशासनमा राखेको छैन भने ऊ बढ्दै जाँदा उसले आफूलाई अनुशासनमा राख्‍ने छैन, शरीरको अभिलाषा अनुसार हिँड्नेछ।

आजभोलि विश्वासी आमाहरू विश्वास नगर्नेहरूको समाजका भनाइअनुसार आ-आफ्ना वच्चाहरू हुर्काइरहेको देखिन्छ। बाइबलको तरिकाअनुसार छोराछोरीलाई हुर्काउने आमाहरू कम नै देखिन्छ। धेरैजसो विश्वासीहरूका छोराछोरीहरू सांसारिक भएका छन्, उनीहरूको जीवनद्वारा ख्रीष्टको आदर होइन तर अनादर भइरहेको देखिन्छ।

यस्ता आमाहरू कहाँ छन् जसले नम्र भई छोराछोरीलाई हुर्काउने बाइबलीय तरिका सिक्ने प्रयास गरेका छन्? नेपालका मण्डलीहरू प्रायः एक-दुई पुस्ता पुराना छन्। तर अनुभव बटुलेका दिदीहरू कहाँ छन् जो भर्खर विवाहित बिहिनीहरूलाई बुद्धिमानीपूर्वक सल्लाह दिन सक्छन्? यदि तपाईंकै छोराछोरी आज्ञाकारी र अनुशासित छैनन् भने तपाईंले कसरी अरूलाई यस सम्बन्धी सल्लाह दिन सक्नुहुन्छ? विश्वासीहरूमाझ यो एउटा भयानक समस्या हुन पुगेको छ। आमाबुबाले विश्वास गरेको आधारमा छोराछोरी विश्वासी हुँदैनन्। तर छोराछोरीको मनलाई तपाईंले टेलिभिजन र रेडियोका कुराहरूले भर्नुहुन्छ भने छक्क नपर्नुस् जब उनीहरू ख्रीष्टमा विश्वास गर्दैनन् अनि विश्वास नगरेको केटा वा केटीसँग भाग्छन्।

यदि तपाईंको वच्चा सानै छ भने त्यहाँ ठूलो मौका छ। उसको जीवनलाई अहिलेदेखि ख्रीष्टतर्फ मोड्ने प्रयास तपाईंले गर्न सक्नुहुन्छ। तपाईंले छोरालाई “हुँदैन” भन्दाखेरि उसले टेर्दैन भने ख्रीष्टले “हुँदैन” भन्नुहुँदाखेरि उसले कहाँ टेर्छ र? तपाईंले छोरीलाई “आऊ” भन्दाखेरि ऊ मान्दिन भने ख्रीष्टले “मेरो पछि लाग” भन्नुहुँदाखेरि उसले पछ्याउँछी र? त्यसैले तपाईंले अनुशासनको जग आफ्नो छोराछोरीको जीवनमा बसाल्नुपर्छ। केही तरिकाहरू यहाँ दिइएका छन् जसद्वारा अनुशासनको शुरुआत हुन सक्छ।

एक बर्ष मुनिको बच्चालाई सिकाउने तीनओटा कुराहरू (भाग १)

पहिलो, “हुँदैन”

शब्द: “हुँदैन”; अर्थ: “त्यो छुनु हुँदैन”; कसरी सिकाउने: “हुँदैन” भन्दै अविभावकले बच्चाको हातमा सानो लठ्ठी वा कलम वा हातैले हिर्काउने (जुनबेला बच्चाले छुनु नहुने कुरालाई छुन्छ)।

उदाहरण

बच्चाहरू छिट्टै बिजुलीको तारतिर आकर्षित हुन्छन्। भित्तामा तार जोड्ने ठाउँमा उनीहरूलाई औँला घुसार्न मन लाग्छ, बिजुलीको तारलाई मुखमा हालेर टोक्न मन लाग्छ। यो उनीहरूको एउटा अत्यन्तै खतरनाक बानी हो। एक बर्ष मुनिको बच्चालाई आफ्नो ज्यान जोगाउनलाई चासो हुँदैन, मृत्यु के हो, उसलाई थाहा छैन र डर पनि छैन। आफ्नो बच्चालाई रक्षा गर्ने काम आमा बुबाको हो। धेरैजसो बुबाहरू दिनभरि नै बाहिर काममा गएका हुन्छन्, त्यसैले बच्चाको शारीरिक सुरक्षाको जिम्मा प्रायः आमाकै काँधमा पर्छ।

के एउटा सानो बच्चाले आमाको आज्ञा पालन गर्न सम्भव छ र? के कुनै ७-८ महिनाको बच्चाले “हुँदैन” भन्ने शब्द बुझ्न र मान्न सम्भव छ र? अवश्य सम्भव छ। तपाईंको बच्चालाई सुरक्षा दिने ज्यादै राम्रो तरिका तपाईं अब सिक्न लाग्दैहुनुहुन्छ।

यो उमेर (७-८ महिना) का बच्चाहरूले जे पाए त्यही मुखमा हाल्ने गर्छन्। के बिस्कुट, के मुसा मार्ने औषधी, उनीहरूले स्वाट्टै टिपेर मुखमा राखिहाल्छन्। अब हामी हेरौं, हर्केकी आमाले कसरी यो खतरनाक बानीको सामना गर्छिन्।

हर्के खाटमा बसिरहेको छ। उसको एउटा दाँत उम्रिसकेको छ र दोस्रो पनि उम्रन लागेकोले उसको गिजा चिलाइरहेको छ। खाट छेउको भित्तामा बिजुलीको तार झुण्डिरहेको देखेर हर्केले त्यसलाई तानेर मुखमा हालेर टोक्न थाल्छ। हर्केकी आमा आफ्नो छोराभन्दा ज्यादै बाठी भएकी हुनाले छिन-छिनमा आफ्ना आँखा छोरातिर लगाउने गर्छिन्। छोरा के गरिरहेको छ, कहाँ छ, कोसँग छ, तिनलाई सधैं थाहा हुन्छ। हर्केले तार तानेको देखेर उनले मौकाको फाइदा उठाएर आफ्नो छोरोलाई उसको जीवनको पहिलो महत्त्वपूर्ण पाठ सिकाउने निर्णय गर्छिन्। टेबुलबाट लामो सिसा कलम टिपेर तिनी छोराको छेउमा आइपुग्छिन् र तारलाई सङ्केत गर्दै हर्केलाई “हुँदैन” भन्छिन्। तर हर्केको कानमा “हुँदैन” भन्ने शब्दको आजसम्म कुनै अर्थ छैन। उसलाई के मतलब! अब हर्केकी आमाले “हुँदैन” भन्ने शब्दको अर्थ आफ्नो छोरालाई बुझाउनु पर्छ। यो सानो उमेरको बालकले केवल ३ ओटा कुरा बुझ्न सक्छ। १) भोक (भोक लागे रुन्छ)। २) दुखाइ (उसलाई दुख्यो भने रुन्छ)। ३) रमाइलोको महसुस (काउकुती लाग्यो भने हास्छ, आमा बुबाले उसलाई बोकेर यता उता हिँडाउँदा ऊ शान्त हुन्छ, खाटमा सुताउने बित्तिकै रुन्छ–बोक्ने बानी सजिलोसँग लाग्छ।)

“हुँदैन” को अर्थ बच्चाको लागि यो हो–“तिमीले यो छोयौ भने तिमीलाई दुखिहाल्छ है!” (तार छोयौ भने, बुबाको चस्मा छोयौ भने, स्टोभ छोयौ भने, चियाको ग्लास इत्यादी छोयौ भने तिमीलाई दुखिहाल्छ!)

हर्केकी आमाले मुखले मात्र “हुँदैन” भन्दाखेरि हर्केले बुझेन, तार उसको हातमा अझै पनि छ। हर्केकी आमाले फेरि एक चोटी “हुँदैन” भन्छिन् र साथ-साथै हर्केको सानो, मायालाग्दो हातमा (तार समाइराखेको हातमा) एक चोटि दु;ख्‍ने गरी हिर्काउँछिन्। हर्के छक्कै पर्छ, शायद ऊ रुन्छ पनि, र तार उसले छोड्छ। तर हर्केकी आमा जान्दछिन्, “मेरो छोराले अझै पनि यो कुरा बुझिसकेको छैन।” अब तिनले हर्केलाई त्यहीँ खाटमा छोड्‍‍छिन् र अलिक परबाट उभेर हेर्छिन्। “छोराले अब के गर्छ?” भनेर। हर्केको बिचार? गिजा अझै चिलाइरहेकै छ। एक मिनेट नबित्दै उसले “हुँदैन” को दुखाइ बिर्सेर तारको मीठो स्वाद सम्झन्छ। हर्केको मसिनो हात तारतिर लम्कन्छ। तारलाई छुने बित्तिकै उसले आमाको “हुँदैन!” भन्ने आवाज सुन्छ। ऊ झस्किन्छ तर तारलाई आफ्नो मुठीमा समाइराख्छ। हर्केकी आमा त्यसपछि फेरी “हुँदैन!” भन्छिन् र छोराको हातमा कलमले दु:ख्‍ने गरी हीर्काउँछिन्। हर्केले तार छोड्छ। तर अझै पनि उसले राम्रोसँग “हुँदैन” को पाठ सिकेको छैन। हर्के कुरा छिटो अलिक नबुझ्ने बच्चा भएको हुनाले उसले आधा घण्टा भित्रमा त्यहीँ बसेर त्यही तारलाई दसचोटि छुन पुग्छ र दसै चोटि उसले हात दुखेको महसुस गर्छ। त्यस पछि ऊ थाक्छ र तन्नालाई तान्नतिर लाग्छ।

यतिखेर तपाईंको मनमा एउटा प्रश्न उठ्यो होला शायद: “हर्केकी आमाले किन उसलाई खुरुक्क उचालेर भुइँमा राखिनन् अथवा बाहिर लगिनन्? तिनले छोरालाई अर्को ठाउँमा नसारे तापनि कम-से-कम तारलाई भित्ताबाट थुतेर अन्यत्र किन नसारेकी? किन आफ्नो प्यारो छोरालाई रुवाउनु पर्‍यो? यसको जवाफ यो हो कि हर्केकी आमाले हर्केलाई रिसको झोंकमा पिटेकी होइनन्। उनको एउटा विशेष उद्देश्य थियो त्यहाँ। चाहे आफ्नो कोठामा बस्दा होस्, चाहे अर्काको कोठामा भेटघाटको लागि जाँदा होस् उनले आफ्नो छोरालाई खराबी र खतराबाट जोगाउन चाहन्छिन्। हर्केले “हुँदैन” भन्ने बुझ्यो र मान्यो भने दैनिक जीवन कत्ति सजिलो हुनेछ भन्ने उनले बुझेकी छिन्! कत्ति पीरहरूबाट उनी मुक्त हुन सक्छिन्!”पल्लो घरमा एउटा बच्चाले पुरी पकाउने तेल आफूमाथि खन्याउँदा उसको शरीर डरलाग्दो गरी पोलेको थियो। ८ महिनासम्म ऊ अस्पतालमा बस्नुपर्‍यो, कसो मरेन! मेरो छोराले पनि त्यस्तै गर्ला फेरि।” यस्ता फिक्रीहरूबाट हर्केकी आमा मुक्त हुन चाहन्छिन् र उनको छोरालाई २ बर्षको उमेरमा होइन तर ८ महिनाको उमेरमै अनुशासनमा राख्‍न थालेकी छिन्। नियालेर हेर्नुहोस्, यस आमाको बुद्धि!

हर्केलाई “हुँदैन” को पहिलो पाठ सोमबार बिहान सिकाइयो। त्यसपछि दिउँसो आमा किनमेल गर्न जाँदा ऊ पनि आमासँग गयो। बेलुका बुबा घर आउनुभएपछि आमा खान पकाउनतिर लागिन् र हर्के बुबासँग खाटमा बस्यो। फेरि ऊ तारतिर आकर्षित भयो। आमाले पकाउने काम छोडेर छोराको हात हिर्काउन आइन्, “हुँदैन!” भन्दै। बुबालाई चित्त बुझेन। यत्रो सानो बच्चाले यस्तो कुरा बुझ्न सक्दैन भन्ने उहाँको धारणा थियो। त्यसैले “होस्, छोड्देऊ, बरु तिमीसँगै भुइँमा बसोस् न,” भनेर आमाचाहिँलाई भन्नुभयो। हर्केकी आमा ज्यादै बुद्धिमति भएकी हुनाले उनले श्रीमानको आज्ञा मानिन् र छोरालाई आफ्नो साथमा राखिन्।

भोलिपल्ट बिहान बुबा घरबाट हिँड्नुभएपछि हर्केको तालिम फेरि शुरु हुन्छ। तार छुने बित्तिकै “हुँदैन” को साथ-साथ उसले हातमा पिटाइ खान्छ। पाँच चोटि छुन्छ, र पाँचै चोटि पिटाइ खान्छ। बल्ल तल्ल उसको मनमा केही छिर्न थालेको जस्तो छ। तारमा आँखा लगाउँछ। त्यसको मीठो स्वाद होइन, तर हात दुखेको उसलाई याद आउँछ। मैले तार छोएँ भने मेरो हात दुख्छ भन्ने कुरा प्रमाणित गर्न ऊ फेरि आफ्नो हात अगाडि बढाउँछ, “हुँदैन” भन्ने आवाज सुन्छ र तारलाई समाउनुको सट्टा उसको हात त्यत्तिकै हावामै रोकिन्छ! हर्केकी आमा मनमा अत्यन्तै खुशी भई छोरालाई मुवाइ खान्छिन्। “अहो, मेरो ज्ञानी छोरा!” भन्दै उसको प्रशंसा गर्छिन्। यो पाठ प्रथम पटक सफल भएको देख्दा उनी रमाउँछिन् र छोरालाई बोकेर बारीतिर साग टिप्नलाई जान्छिन्।

यदि तपाईंले पनि तपाईंको बच्चालाई “हुँदैन” सिकाउन यस्तै दृढ निर्णय गर्नुभयो भने, तपाईं सफल बन्न सक्नुहुन्छ। कम्तीमा एक-दुई हप्‍ता लाग्छ यदि तपाईंले दिन-दिनै माथि उल्लेख भएबमोजिम अभ्यास गर्नुहुन्छ भने।

एक वर्ष मुनिको बच्चालाई सिकाउने तीनओटा कुराहरू (भाग २)

दोस्रो, “आऊ”

शब्द: “आऊ”; कसरी सिकाउने: इनाम दिएर

उदाहरण

जब परमेश्‍वरले “त्यो रूखको फल नखानू” भनेर आदम र हव्वालाई आज्ञा दिनुभयो, तिनीहरूले उक्त आज्ञाको विपरित काम गरे। आज पनि हाम्रा बच्चाहरू स्वभावैले आफ्ना बाबुआमाले दिनुभएका आज्ञाहरूको ठीक विपरित काम गर्छन्। कयौं चोटि बालक सडकतर्फ दौडिरहेको र बालकको पछि-पछि उसको आमा कराउँदै दौडिरहेको मैले देखेको छु। ठूला-ठूला ट्रकहरू सडकमा कुदिरहेका हुन्छन् तर त्यो बालकलाई केही डर हुँदैन। आमाको मुटु डरले कामिरहेको हुन्छ। “आऊ, बाबु, आऊ!” भन्दै तिनी चिच्याउँछिन्। तर बाबु आफै फर्केर आउँदैन किनभने उसको आमाले उसलाई तालिम दिएकी छैनन्, अनुशासनमा राखेकी छैनन्।

के एक बर्षमुनिको बच्चालाई बोलाईंदा ऊ आउनु सम्भव छ र? अवश्‍य छ। यदि तपाईंको बच्चा बामे सर्न वा हिँड्न सक्छ भने ऊ पक्कै पनि “आऊ” भन्ने शब्द बुझ्न र मान्न सक्छ। तर उसले आफ-से-आफ यो मान्नेछैन। तपाईंले उसलाई दिनहुँ तालिम दिनुपर्छ। तपाईंले तालिम लगातार दिनुभएको खण्डमा दुई हप्‍ताभित्रमा तपाईंले “आऊ” भन्दा उसले राम्रोसँग मान्नेछ। तब तपाईं एक भिन्नै प्रकारको आमा हुनुहुनेछ जसले अबदेखि उसो बच्चाको पछि-पछि रिसाउँदै, डराउँदै, चिच्याउँदै कहिल्यै दौडनु पर्नेछैन।

डेनी केनस्टन अमेरिकाको पेन्सिल्भेनियामा बस्नुहुन्छ जहाँ उहाँ एक मण्डलीको एल्डर हुनुहुन्छ। उहाँकी श्रीमतीको नाम ज्याकी हो। उहाँहरूका ४ जना छोरी र ४ जना छोरा छन्। ती मध्य ३ जनाको विवाह भइसकेको छ। डेनी केनस्टनका सबै छोराछोरी आज्ञाकारी, मेहनती र प्रभुमा खुसी छन्। डेनी भन्नुहुन्छ, “मेरा छोराछोरीहरूले मेरो हृदयलाई आनन्दित तुल्याएका छन्। यदि तपाईंले आफ्ना छोराछोरी हुर्काउने क्रममा परमेश्‍वरले दिनुभएको तरिका अपनाउनुहुन्छ भने तपाईंले आफ्नो घरमा फिक्री र बेमेल होइन तर आराम पाउनुहुनेछ।”

डेनीले बच्चालाई “आऊ” र अन्य विषयहरू कसरी सिकाउनुहुन्छ? सो उहाँले बताउनुभएको छ। “हाम्रो परिवारमा हाम्रा एक बर्ष मुनिका छोराछोरीलाई बिशेष तालिम दिन्छौं। उनीहरू बामे सर्न थालेपछि हामी “हुँदैन” भन्ने शब्द सिकाउँछौं। उनीहरू हिँड्न थालेपछि हामी “आऊ” भनेको मान्न सिकाउँछौं। यी कुराहरू सिकाउँदा हाम्रो लक्ष्य हो आज्ञा पालन। यदि उनीहरूले सानै उमेरदेखि साना कुराहरूमा हाम्रा आज्ञा पालन गर्न सिक्छन् भने उनीहरू जवान भएपछि ठूला र गम्भिर कुराहरूमा हाम्रा आज्ञा पालन गर्नेछन् र परमेश्‍वरको आज्ञा पालन गर्नेछन्।

“हाम्री छोरी हन्ना सानै थिई, हिँड्न थालेकी थिई, र मैले उसलाई “आऊ” को तालिम दिन थालें। मैले उसलाई बोलाएँ, “आऊ, हन्ना, बुबाकहाँ आऊ!” शुरू शुरूमा उसलाई रमाईलो लाग्यो। ऊ आयो अनि मैले उसको प्रशंसा गरें। “आहा! तिमी कत्ति ज्ञानी!” त्यसपछि उसलाई अलिक पर राखेर फेरि बोलाएँ। दिनैपिच्छे समय- समयमा मैले यस्तै गरें–उसलाई बोलाएँ, ऊ आयो, अनि मैले उसको प्रशंसा गरें। उसको लागि यो एउटा रमाइलो खेल जस्तै भयो। तर एक दिन मैले उसलाई बोलाउँदा खेरि ऊ आइन। ऊ खेलिरहेकी थिई र खेलौनालाई छोडेर मकहाँ आउन उसलाई मन लागेन। यस्तो परिस्थिति आउँदा मैले के गर्नुपर्छ भनेर पहिल्यै मेरो मनमा निर्णय गरिसकेको थिएँ। मैले हन्नालाई बोलाउँदा ऊ आइन, त्यसैले मैले उसको तिघ्रामा एक चोटि हिर्काएँ। र फेरि मैले उसलाई बोलाएँ, ऊ आयो भने उसको प्रशंसा गर्न तयार थिएँ, ऊ आइन भने उसलाई अलिकता पिट्न तयार थिएँ। ४-५ दिन नियमित रूपमा यसरी अभ्यास गरेपछि मेरी छोरीलाई बोलाउँदा ऊ तुरुन्तै आउन थाली।

“एक चोटि परिवारमा हामी खाना खान बसेका थियौं। हाम्री कान्छी छोरीलाई खाना मीठो लागिरहेको थिएन र ऊ खान मानिरहेकी थिइन। मनमनै मैले सोचें, ‘यस्तै मौका मैले खोजिरहेको थिएँ। अब छोरीलाई थालमा जे छ त्यो खानु पर्छ भनेर सिकाउन सक्छु। उसलाई मीठो लागे पनि नलागे पनि आमाले जे पकाउनुभएको छ, छोरीले गनगन नगरीकन खानु पर्छ। भविष्यमा ऊ मिसनरी बन्नु परमेश्वरको योजना हुन पनि सक्छ। त्यसबेला ऊ जहाँ पनि जान र जे-जस्तो अवस्थामा पनि जिउन तयार हुनुपर्छ। यदि उसलाई नौलो खानेकुरा घीन लाग्छ भने र उसले मीठो मात्रै खान खोज्छ भने ऊ कसरी मिसनरी हुन सक्छे र? त्यसैले म उसलाई आजदेखि नै सिकाउँछु थालमा जे छ त्यही खान।’ रिसको झोंकमा मैले छोरीले नमीठो खाओस् भन्ने इच्छा गरेको थिइनँ। म रिसाएको थिइनँ, रिसमा म कहिले पनि नानीहरूलाई तालिम दिन्नँ। यस्ता सबै तालिमहरू दिनुमा मेरो एउटा निश्चित उद्घेश्य छ। मेरा छोराछोरीहरू आ-आफ्नो इच्छाअनुसार होइन तर परमेश्‍वरको इच्छाअनुसार चल्न र जिउन सिक्नुपर्छ।”

हितोपदेश २९:१५ “छडी र हप्कीले बुद्घि दिन्छन्, तर छाडा छोडिएको बालकले आफ्नी आमालाई शर्ममा पार्छ।”

हितोपदेश २९:१७ “आफ्नो छोरालाई ताडना देऊ, र उसले तिमीलाई विश्राम दिनेछ, अँ उसले तिम्रो मनलाई आनन्दित तुल्याउनेछ।”

एक वर्ष मुनिको बच्चालाई सिकाउने तीनओटा कुराहरू (भाग ३)

तेस्रो, “बस”

शब्द: “बस”; त्यसको अर्थ: “तिमी मेरो काखमा बस्नुपर्छ र मैले भनेपछि मात्रै तिमी ओर्लन पाउँछौ।” सिकाउने तरिका: बल लगाएर

उदाहरण

हामी विश्‍वासी आमाहरूको माझमा एउटा ठूलो समस्या जारी छ। प्रत्येक शनिवार हामी चर्च जान्छौं तर आधा सङ्गती नसकिँदा हामी बाहिर निस्कनु पर्छ किनभने छोरा वा छोरी चक-चके छन्, एक घण्टा चुप लागेर बस्न सक्दैनन्। “बिस्कुट खाने” भन्छन्, “चाउ-चाउ दिनुस्” भन्छन्, “ममी, सु आयो” भन्छन्, भजन किताब च्यात्‍न खोज्छन्, हाँस्छन्, हल्ला गर्छन्, अनेक गर्छन्। हुन त एक बर्ष मुनीको बच्चाले “ममी, नबसौं, घर जाऊँ, खेल्न जाऊँ, मलाई यहाँ बस्न दिक्क लाग्यो” भनेर शब्दले भन्न सक्दैन। तर ऊ रून सक्छ। धेरैजसो बच्चाहरू दूध खाउञ्जेल शान्त भएर बस्छन्, कोही बच्चाहरू सङ्गतीमा निदाउँछन्, तर कति त आमाको काखमा एक छिन् बस्न सक्दैनन्। यस समस्याको समाधान गर्ने एक सजिलो उपाय छ। त्यो हो, बच्चालाई शान्त भएर बस्नलाई दैनिक तालिम दिने।

तपाईंले आफ्नो कोठामा गएर शनिवारको सङ्गतीको लागि आइतबारदेखि तयार गर्न थाल्नुपर्छ। तपाईंको बच्चा ८ महिनादेखि एक बर्षसम्मको छ भने उसले यस पाठलाई राम्रोस‍ँग सिक्न सक्नेछ। कुनै एउटा ठाउँमा पहिले आफूलाई बसाल्नुहोस् — खाटमा, भुइँमा, आँगनमा, जहाँ बसे पनि हुन्छ — र बच्चालाई काखमा लिनुहोस्। बच्चालाई दूध नखुवाउनुहोस् किनकि यो दूध खुवाउने समय होइन तर “बस” भन्ने कुरा सिकाउने समय हो। बच्चा तपाईंको काखमा त्यसरी ५ मिनेट बस्न मान्छ होला, दस मिनेट बस्ला, तर त्यसपछि ऊ ओर्लन खोज्नेछ। तपाईंले उसलाई समातिराख्‍नुपर्छ, १५ मिनेटसम्म ओर्लन दिनुहुँदैन। उसको हातमा एउटा खेलौना दिनुभए हुन्छ, तर बिस्कुट नदिनुस्, चक्लेट नदिनुस्, “बाबु, बस, म मीठाई किनिदिन्छु” भनेर नभन्नुस्। गाली पनि नगर्नुस्। ऊ ओर्लन खोज्दा तपाईंले बलियो गरी काखमा समाइरहनु पर्छ। उसलाई हिर्काउनु पर्दैन, इनाम दिनु पर्दैन। “ममी तिमीभन्दा धेरै बलियो हुनुहुन्छ, उहाँको इच्छानुसार तिमीले गर्नुपर्छ” भन्ने कुरा तपाईंले यसरी तपाईंको बच्चालाई बुझाउनुपर्छ। ऊ ओर्लन नपाउँदा रूनेछ। ठीक छ। रून दिनुस् तर ओर्लन चाहिँ नदिनुस्। “बाबु, नरोऊ, नत्रभने ऊ त्यो कुखुराले तिमीलाई टोक्छ” जस्ता कुराहरू गरेर मूर्ख नबन्नुस्! बच्चालाई मूर्ख कुरा गरेर भुलाउनुपर्दैन, केवल काखमा समाइराख्‍नुपर्छ। ऊ रून्छ, चिछ्याउँछ, झगडा गर्छ भने पनि १५ मिनेट नबितुञ्जेल उसलाई नछोड्नुस्। तर एक चोटि मात्रै यस्तो तालिम दिनुभएर यसबाट केही फाइदा हुँदैन। तपाईंले प्रत्येक दिन, दुई हप्‍तासम्म यसरी बच्चालाई कम्तीमा १५-१५ मिनट काखमा राख्‍नुपर्छ। अनि त्यसपछि मात्रै उसले महसुस गर्नेछ, “ए, मैले जति झगडा गरे पनि ओर्लन नपाइने रहेछ।” झगडा गरेर उसलाई फाइदा हुँदैन भने ऊ झगडा गर्न छोड्छ। तर यदि झगडा गरेर ऊ ओर्लन पाउँछ भने उसले झगडा गर्ने बानी बसाल्छ।

“बस” को सन्दर्भमा एकदुई कुराहरू: सङ्गती बस्दा बच्चालाई दूध खुवाउनु हुँदैन भन्न खोजिएको होइन। तालिम दिने बेलामा मात्रै नखुवाउनोस्। सङ्गतीमा जति खुवाए पनि हुन्छ। सङ्गतीमा बिस्कुट खुवाए पनि हुन्छ। तर याद गर्नुहोस्, चर्च भवन चाहिँ एउटा विशेष ठाउँ हो, तपाईंको कोठा जस्तो होइन, त्यसैले सकेसम्म चाउ-चाउ र चिउराजस्तो खानेकुरा नखुवाउनोस् किनभने त्यसले कार्पेटलाई फोहोर पार्छ। अर्को सल्लाह: बच्चालाई जथाभावी पिसाब फेर्न नदिनुहोस्। एक बर्ष मुनिको बच्चालाई कपडा लाइदिनुस् र कपडामाथि प्लास्टिकले बेर्नुभयो भने उसले पिसाब फेर्दा उसको बाहिरी लुगा भिज्दैन, चर्च भवनको भुइँ पनि चिसो हुँदैन। बच्चाहरूलाई चर्च भवनको कार्पेटमा पिसाब फेर्न दिनुहुन्छ भने त्यो परमेश्‍वरलाई अनादर गरेको जस्तै हो। बच्चाहरू कार्पेटमा पिसाब फेर्छन् भने कार्पेट गन्हाउँछ, नयाँ मानिसहरू सङ्गतीमा आउँदा उनीहरूलाई घीन लाग्छ। सङ्गती गर्ने कोठालाई सफा राख्‍नलाई हामी सकभर प्रयास गरौं। यसरी हामी परमेश्‍वरलाई आदर गरौं। साथै, सङ्गती गर्ने बेलामा हाम्रा नानीहरूलाई पहिल्यै तालिम दिएर अनुशासनमा राखौं। यसो गरेमा हामी आफै पनि वचन सुन्न पाउँनेछौं, अरूहरूले पनि शान्त वातावरणमा प्रभुको वचन सुन्न पाउनेछन्।

लेखको समाप्‍त तर अभ्यासको शुरू…..

“बच्चा अनुशासनहीन हुनु रोगजस्तै डरलाग्दो कुरा हो… त्यसको उपचार तपाईं अविभावक आफैले गर्नुपर्छ।”

Print Friendly, PDF & Email