“तिनीहरू (पाको स्त्रीहरू) ले तरुणी स्त्रीहरूलाई सचेत हुन, आफ्ना-आफ्ना पतिलाई प्रेम गर्न, आफ्ना नानीहरूलाई माया गर्न सिकाऊन्, आत्मासंयमी, पतिव्रता, घर सम्हाल्ने, भला, आफ्ना-आफ्ना पतिका आज्ञाकारी हुन सिकाउन्; कि परमेश्वरको वचनको निन्दा नहोस्।”(तीतस २:४,५)
यस खण्डमा बयान गरिएको जीवनशैली ख्रीष्टियन स्त्रीहरूले किन अपनाउनुपर्छ? किनभने यस्तो जीवनबाट परमेश्वरको महिमा हुन्छ। यदि कुनै ख्रीष्टियन स्त्रीले परमेश्वरको वचनको विरुद्धमा अभिलाषापूर्ण जीवन बिताउँछिन् भने उनको जीवनद्वारा परमेश्वरको वचनको निन्दा हुन्छ। आजभोलि धेरै ख्रीष्टियन दिदीबहिनीहरूले एकातिर बाइबलको शिक्षालाई मन पराएकाछन् र येशूलाई पछ्याउन चाहन्छन्। तर अर्कोतिर उनीहरू संसारतिर पनि आकर्षित छन् – संसारका “रमाइला” कुराहरूलाई पनि मन पराइरहेकाछन्। आफूलाई धोका दिँदै तिनीहरू सोच्छन् – “म ख्रीष्टियन हुँ। सत्य मैले जानेकी छु। त्यसैले म संसारको सङ्गीत सुन्न सक्छु - त्यसको नराम्रा कुराहरूलाई इन्कार गर्छु र त्यसको राम्रो पक्ष मात्रै लिन्छु - म च्यानल हेर्न सक्छु – मेरो व्यवहार त्यसद्वारा प्रभावित हुनेछैन – र म संसारको फेसन पनि अपनाउँछु - त्यसरी म अविश्वासीहरूलाई ख्रीष्टमा ल्याउन सक्छु।” तर त्यस्ता विचारहरू पुर्णातया गलत विचार हुन्। संसारको “रमाइलो” पक्षलाई रोज्ने विश्वासीले संसारको जीवनशैलीले उत्पन्न गराउने नतिजा पनि निम्त्याइरहेको हुन्छ, यद्दापि उनीहरूले सोच्छन्, “म राम्रो पक्षलाई मात्रै लिनेछु।” तर चुलोको आगोले दुवै विश्वासी र अख्रीष्टियनलाई पोल्छ। नाङ्गो तारको करेन्टले दुवै ख्रीष्टियन र अख्रीष्टियनलाई मार्छ। संसारको अनैतिक कुराहरूले मनलाई भर्नु विश्वासीको लागि आगोमा हात हाल्नु जस्तै हो। मलमले त्यो पीडालाई हटाउन सक्दैन। सांसारिक ख्रीष्टियनहरूले लोतको जीवनलाई चेताउनीको रूपमा लिनु खाँचो छ, जसले संसारसँग मिलिजुली बसेकोले आफ्नो सम्पूर्ण परिवार गुमाए।
संसारका हराएका आत्माहरू चर्चका सदस्यहरूलाई हेर्दैछन्, उनीहरूको जीवन जाँच्दैछन्। धेरै मानिसहरू बाइबल नपढे तापनि र परमेश्वरलाई नचिने तापनि परमेश्वर कस्तो हुनुहुँदो रहेछ भनेर विश्वासीको जीवनलाई हेरेर थाहा पाउन सक्छन्। मुक्ति नपाएका मानिसहरूले जब तपाईंलाई हेर्छन्, तब उनीहरूले के देख्छन्? परमेश्वरको पवित्रता देख्छन् कि संसारका फोहोर कुराहरू?
“सर्वशक्तिमान परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ” (यशैया ६:३)।
ख्रीष्टियन र अख्रीष्टियनको बीचमा कुनै पनि भिन्नता नहुनुचाहिँ मण्डलीको लागि शर्मको कुरा हो। “यदि कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन्” ( २ कोरिन्थी ५:१७)।
जब हामी ख्रीष्टमा विश्वास गर्छौं र उहाँलाई पछ्याउने निर्णय गर्छौं, हाम्रो जीवन नयाँ र पहिलको भन्दा फरक हुनु पर्ने हो। सांसारिक र पापपूर्ण कुराहरूबाट हामी अलग हुनु पर्ने हो। हाम्रो हिँडाइ, बोली, र हाम्रा सम्पूर्ण कार्यहरूमा हामी पवित्र हुनुपर्छ। हाम्रा परमेश्वर पवित्र हुनुहु्छ। उहाँको पाइला पछ्याउन खोज्नु र साथ-साथै सैतानको सन्तानझैं जिउनु भनेको आफूलाई धोका दिनु हो।
यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।