निष्कर्ष

निष्कर्ष

अघिबाटै उल्लेख भएअनुसार रोमन क्याथोलिक चर्चभित्र फरक-फरक तत्त्वहरू छन् भन्ने कुरालाई हामीले बुझ्न आवश्यक छ। ती हुन्:

१) उदारवादीहरू (Liberals)

यसमा हान्स कुङ्ग (Hans Kung) जस्ता व्यक्तिहरू पर्दछन्। उनले रोमन क्याथोलिक शिक्षाहरूको आलोचना गर्दै पुस्तकहरू लेखेका छन् यद्यपि उनी आफै सिद्धान्तमा आधारभूतवादी होइनन् बरु उनका विचारधारा उदारवादी [खाँटी होइन खुकुलो शिक्षा अपनाउने] प्रोटेस्टेन्टहरूसित मेल खान्छन्।

२) परम्परावादीहरू (Traditionalists)

यी व्यक्तिहरू ती हुन् जसले क्याथोलिक चर्चका परम्परागत शिक्षाहरूहरूलाई पक्रिराखेका छन्।

३) क्यारिज्म्याटिकहरू (Charismatics)

धेरैजना क्याथोलिकहरूलाई आधुनिक क्यारिज्म्याटिक लहरको हावाले छोएको छ र तिनीहरू रोमन क्याथोलिकवादको परिधिभित्र रहेर आफ्ना दृष्टिकोणलाई अभ्यास गर्दैछन्। तरैपनि, एकजना लेखकले टिप्पणी गरेजस्तै, “आफ्नो नयाँ खालको विश्वासलाई मण्डलीको सिद्धान्तहरूसित मिलान गर्नालाई त्यहाँ विभिन्न तहका समस्याहरू छन्।”

४) सांस्कृतिक रोमन क्याथोलिकहरू (Cultural Roman Catholics)

यी व्यक्तिहरू ती हुन् जो चर्चमै जन्मे र क्याथोलिक चर्चसित उनीहरूको भावनात्मक (साथै प्रायः जातीय) सम्बन्ध छ यद्यपि उनीहरूको संलग्नता सैद्धान्तिक (theological) भन्दा सांस्कृतिक हुन्छ।

तरैपनि क्याथोलिक चर्चको औपचारिक अडान यस्ता वर्ग वा वर्गका व्यक्तिहरूद्वारा निर्धारित हुने होइन। क्याथोलिक चर्चको औपचारिक अडान त्यसका औपचारिक शिक्षाहरूद्वारा प्रतिपादित हुन्छ। मण्डलीका औपचारिक शिक्षकहरूको यस आधिकारिक सँगालो नै “क्याथोलिक सिद्धान्तहरू” को रूपमा गनिन्छन्। रोमन क्याथोलिक चर्चले “आफूलाई ख्रीष्टले प्रतिज्ञा गर्नुभएको शान्तिदाता-आत्मा (Paraclete-Spirit) को माध्यमको रूपमा हेर्दछ जसले उसलाई दिइएका कुराहरूलाई लिएर यस युगमा ख्रीष्टियनहरूलाई सत्यको मार्गमा डोर्‍याउने काम गर्दछ” (यूहन्ना १६:१३)।2 अर्को शब्दमा, क्याथोलिक चर्चको धर्मतन्त्र नै सबै ख्रीष्टियनहरूका निम्ति नियुक्त गरिएको “शिक्षक” हो।

के रोमन क्याथोलिकहरू साँच्चै नै “इभान्जेलिकलहरू” हुन्? यस प्रश्‍नको जवाफ व्यक्तिअनुसार फरक-फरक हुन सक्छ किनकि उसले नयाँ नियमको शिक्षालाई कत्तिको महत्त्व दिन्छ भन्ने कुरामा त्यो भर पर्दछ। डेविड वेल्स (David Wells) ले यसरी लेख्दा उनको मूल्याङ्कन सही थियो भन्ने कुराको हामीलाई डर लाग्दछ, “मैले देखेअनुसार, बीसौं शताब्दीको संस्कृतिसितको बेमेल साँठगाँठहरूद्वारा [इसाई] विश्वास गम्भीर हिसाबले ह्रास हुँदै गइरहेको छ। यसको परिणाम के भएको छ भने इभान्जेलिकलवाद (evangelicalism) अब मुख्यतया उसको सत्यताको प्रसङ्गमा नभएर उसको अनुभवको प्रसङ्गमा परिभाषित हुँदछ। अनि इभान्जेलिकल अनुभव कति पटक क्याथोलिक अनुभव जस्तै-जस्तै सुनिने भएको हुनाले, सैद्धान्तिक भिन्नताहरूलाई गम्भीर रूपमा लिइन वा त्यसलाई ज्यादै जोड दिइन मिल्छ त?”3 यस प्रश्नको जवाफमा बहुतै इभान्जेलिकलहरूले “हुँदैन” भन्छन्। परिचित लेखक तथा क्रिश्चियानिटि टुडे (Christianity Today) का भूतपूर्व सम्पादक, केनेथ क्यान्टजर (Kenneth Kantzer) त्यस्ता प्रवक्ता हुन् जसको अनुसार हामी “रोमन क्याथोलिक चर्चभित्र नयाँ गरी भेट्टाइएका इभान्जेलिकलहरूसित रमाहट” गर्नुपर्छ र हामीले “[विगतको] रोमन क्याथोलिक शिक्षाको छुटपुट अवशेष जस्ता कुराहरूलाई लिएर आक्रमण गर्ने काम” गर्नुहुँदैन।4 जब सम्म यिनीजस्ता अग्रज देखिने इभान्जेलिकल अगुवाहरूले क्याथोलिकवाद अन्तर्गतका थुप्रै-थुप्रै भ्रमहरूलाई हामीले चुनौती दिनु वा खण्डन गर्नु हुँदैन भन्ने अवधारणाको प्रचार-प्रसार गरिरहन्छन् तबसम्म हामीले समग्रमा इभान्जेलिकलवादको सैद्धान्तिक अडान (doctrinal position) मा ह्रास नै आइरहेको र एकतावाद (ecumenism) को विकास द्रुत गतिले भइरहेको देख्नेछौं।

गलातीका मण्डलीहरूभित्र व्यवस्थावादीहरू (legalizers) को अतिक्रमणको खबर सुनेपछि पावल प्रेरित कति व्याकुल भए भन्ने कुराको हामीलाई अहिले याद आइरहेछ। “झूटा भाइहरू” [आफूहरू सो नभएर पनि “इभान्जेलिकलहरू” भएको दावी गर्नेहरू]। तिनीहरू “सुटुक्कै [गुप्‍त तवरले, चाल नपाउने गरी] भित्र आए”, “हामीलाई बन्धनमा हुल्नाका निम्ति ख्रीष्ट येशूमा भएको हाम्रो स्वतन्त्रताको जासूसी गर्नालाई” (गलाती २:४)। ती व्यक्तिहरू (जसमध्ये कोही त प्रसिद्ध थिए) लाई पावल प्रेरितको प्रत्युत्तर के थियो जोहरूले सुसमाचारलाई च्यातचुत पारी बिनाशक्तिको बनाउने चेष्टा गरिरहेका थिए? पावल भन्छन्, “सुसमाचारको सत्यता तिमीहरूसित रहिरहोस् भनेर तिनीहरूलाई हामीले एक घण्टा पनि अधीनतामा रहीकन ठाउँ दिएनौं” (गलाती २:५)। पावल भन्छन्, तिनीहरूमध्ये कोही-कोही “केही हुन्” भन्ने [अर्थात् महत्त्वपूर्ण देखिने] हरू भए तापनि, उनले कसैको मुख हेरेनन्, बरु आइलाग्ने जोसुकैको पनि सामना गरी विश्वास [गरिने सत्यता] को प्रतिरक्षा गर्नालाई उनले रोजे। आज पनि हामीले यस्तै गर्नुपर्छ। हाम्रा राजा येशूबाटको आदेश अहिलेसम्म जारी नै छ: “यसकारण खराब दिनमा सामना गर्न सक्नालाई र सबै कुराहरू गरेर खडा हुन सक्नालाई परमेश्वरका सारा हतियारहरू उठाओ” (एफेसी ६:१३)।

  1. Kenneth Kantzer, editorial, “Church On The Move,” Christianity Today, November 7, 1986, p.17.
  2. Raymond Brown, op. cit.
  3. David Wells, “To Dialogue or Not To Dialogue,” Action, March-April, 1987, p. 8.
  4. Kenneth Kantzer, op. cit.

यी पृष्ठहरू डा. अर्नेस्ट पिकरिङ्गको Holding Hands with the Pope – The Current Evangelical Craze बाट नेपालीमा रूपान्तर गरिएका हुन्।

Print Friendly, PDF & Email