एल्डरका योग्यताहरू

एल्डरका योग्यताहरू

 

शब्दावलीको स्पष्टीकरण

  1. एल्डर (प्राचीन) [πρεσβυτερος, प्रेस्बुटेरोस्] — उमेरदार पुरुष, उमेर चढेको, वृद्ध, उमेर खाएको; तसर्थ आत्मिक रूपमा पूरा बढेको मानिस, परिपक्क्व, परमेश्वरका कुराहरूमा अनुभवी, आत्मिक क्षेत्रमा पुरानो अनुभवी मान्छे । यो शब्द तीतस १:५, प्रेरित १४:२३ मा पाइन्छ।
  2. बिशप (अध्यक्ष) [επισκοπη, एपिस्कोपे] — एक निरीक्षक, रेखदेख गर्ने, निगरानी राख्ने व्यक्ति, विशेषतः बगालको रेखदेख गर्ने व्यक्ति (प्रेरित २०:२८; १ पत्रुस ५:१-४)।

एल्डर शब्दले व्यक्तिलाई जनाउँदछ भने बिशप शब्दले उसको काम अथवा कार्यभार (office, पद) लाई।

१ तिमोथी ३:१

“यदि कुनै मानिसले अध्यक्षको पदको चाह गर्छन् भने…”। यसको माने उक्त कार्यभार वहन गर्नका लागि आफूलाई तन्काउनु, उत्कृष्ट इच्छा गर्नु भन्ने बुझिन्छ। अर्थात्, एक व्यक्तिले त्यस कामका लागि आवश्यक अध्ययन गर्नुपर्छ, मूल्य चुकाउनुपर्छ र प्रभुको सेवामा सरिक हुनुपर्छ।

१ तिमोथी ३:२

निर्दोष [ανεπιληπτος, आनेपिलेप्टोस्] — दोषरहित, अनिन्द्य, जसले परमेश्वरको वचन वा परमेश्वरको पुत्रमाथि निन्दा ल्याउँदैन। ग्रीकमा अक्षरशः यसको माने हुन्छ “पक्रन नसकिने” (साबुनजस्तै)। उसलाई विरोध गर्नलाई कुनै खोट उसको जीवनमा भेट्टाउन सकिन्छ कि भनेर मानिसहरूले अवलोकन गरिरहेका हुन्छन्। मानौं एउटा ठूलो ताइताप्के छ। कतिले त्यस ताइताप्केलाई उठाएर उसको टाउकोमा बजार्न चाहन्छन्, तर ऊ निर्दोष छ भने ऊ बीँड नभएको ताप्के जस्तै देखापर्छ — उसलाई समाउने ठाउँ नै हुँदैन! हेर्नू: दनिएल ६:४-५।

एउटै पत्नीका पति — आफ्नी विवाहित पत्नीप्रति विश्वासयोग्य; इसाई दाम्पत्य जीवन कस्तो हुनुपर्छ भन्ने कुराको असल नमुना। उसको एउटा भन्दा बढी पत्नी हुनुहुँदैन। महिला एल्डर हुन सक्दैन।

सतर्क [νηφαλιος, नेफालिओस्] — आत्मसंयमी, सुस्थिरमन भएको, मानसिक स्वभावले होशियार। राम्ररी अनुशासित मनःशक्ति भएको।

आत्मसंयमी [σωφρων, सोफ्रोन] — विवेकी (समझदार), गम्भीर, गम्भीरतापूर्वक विचार गर्ने (सन्तुलन आवश्यक छ यहाँ – एकातिर ऊ सधैं ठट्टा गर्ने खालको व्यक्ति हुनु हुँदैन तर अर्कोतिर ऊ आफू जहाँ गयो त्यहाँ उदासीनता फैलाउने व्यक्ति पनि हुनुहुँदैन)।

असल व्यवहार भएको [κοσμιος, कोसमिओस्] — व्यवस्थित, राम्ररी मिलाइएको सुव्यवस्थित जीवन (“गञ्जागोल” होइन)। ऊ समयको आफ्नो भण्डारीपनमा अनुशासित र विश्वासयोग्य हुन्छ।

अतिथिलाई सत्कार गर्ने [φιλοξενος, फिलोक्सेनोस्] — अपरिचित व्यक्तिहरूलाई प्रेम गर्ने। मानिसहरूका लागि साँचो वास्ता र प्रेम भएको। विश्वासी दाजुभाईप्रति साँचो प्रेम देखाउने। अर्काको खाँचोमा ठीक किसिमले सहायता गर्नु पर्दा आफ्नो घरको ढोका सधैं खुला राख्ने।

सिकाउनामा सिपालु [διδακτικος, डिडाकटिकोस्] — परमेश्वरको सत्यतालाई सिकाउन र त्यसलाई प्रभावकारी रूपबाट व्यक्त गर्न सक्षम, सिपालु र इच्छुक। तीतस १:९ अनुसार उसले “विश्वासयोग्य वचन बलियोसँग पक्रेर” अर्ति दिन सक्नुपर्छ र खाँटी शिक्षाले कायल पार्न सक्नुपर्छ। उसले पुलपिटबाटै सिकाउन सक्नुपर्छ भन्ने होइन तर अरूलाई सहायता गर्ने, सामना गर्ने र चेतावनी दिने काममा परमेश्वरको वचनलाई ठीकसँग प्रयोग गर्ने र प्रभावकारी रूपबाट व्यक्त गर्ने क्षमता हुनुपर्छ (१ थेस्स्लोनिकी ५:१२; १ तिमोथी ५:१७)।

१ तिमोथी ३:३

पियक्कड [παροινος, पारओइनोस्] हुनुहुँदैन — रक्सीले मात्ने, झगडा गर्ने हुनुहुँदैन (१ कोरिन्थी १०:३१)। पिउने लतबाट पूरै अलग हुनुपर्छ।

मारपीट गर्ने [πληκτης, प्लेकटेस्] हुनुहुँदैन — झट्टै तात्तिएर झगडा गर्ने; हातपात गर्ने व्यक्ति हुनुहुँदैन (मुक्का हान्न तत्पर व्यक्ति हुनुहुँदैन)। “पिट्नु” भन्ने क्रियापदबाट यो शब्द निस्कन्छ। कसैले उसलाई मन नपर्ने केही गर्‍यो कि उसले हात छोडिहाल्छ!

नीच कमाइको लोभी हुनुहुँदैन [αισχροκερδης, आइसख्रोकेरडेस्] — निज व्यक्तिगत फाइदाको पछि नदगुर्ने व्यक्ति हुनुपर्छ; निजका आर्थिक कारोबारहरू अलिकति पनि शङ्कास्पद हुनुहुँदैन।

कोमल [επιεικης, एपिएइकेस्] — नरम, सहनशील (फिलिप्पी ४:५), झुक्न सक्ने व्यक्ति; सधैं आफूले भने जस्तै हुनुपर्छ भनेर बढी जोड गर्दैन।

झगडालु हुनुहुँदैन [αμαχος, आमाखोस्] — झगडा नगर्ने, जहिले पनि तर्कवितर्क नगर्ने, बारम्बार शारीरिक वादविवाद र झगडामा नमुछिने व्यक्ति हुनुपर्छ। निज शान्तिपूर्ण व्यवहार गर्ने (कलहविमुख) व्यक्ति हुनुपर्छ।

पैसाको लोभी हुनुहुँदैन [αφιλαργυρος, आफिलारगुरोस्] — हेर्नू: हिब्रू १३:५। निजको जीवनलाई परिचालन गर्ने मूल अभिप्राय पैसाको प्रेम नभएर परमेश्वरको महिमा हुनुपर्छ।

१ तिमोथी ३:४-५

आफ्नो घरलाई राम्ररी सञ्चालन गर्ने हुनुपर्छ — विश्वासयोग्य रीतिले आफ्नो घर-परिवारको रेखदेख गर्ने [προιστημι, प्रोइस्टेमी] हुनुपर्छ; निजका नानीहरू आज्ञाकारी, आदरपूर्ण र राम्ररी अनुशासित, लाइनमा राखिएका अर्थात् अधीनमा बस्ने [υποταγη, हुपोटागे] हुनु आवश्यक छ। तीतस १:६ सित तुलना गर्नुहोस् — निजका नानीहरू उचित ढङ्गले नियन्त्रित हुनु आवश्यक छ, उनीहरू विलासीपना वा अधीनतामा नबस्ने दोष नलागेका हुनु आवश्यक छ। उनीहरू अनियन्त्रित, अनुशासनहीन र विद्रोही हुनुहुँदैन।

१ तिमोथी ३:६

नयाँ चेला [νεοφυτος] हुनुहुँदैन — विश्वासमा आएको धेरै समय नभएको व्यक्ति हुनुहुँदैन, नयाँ विश्वासी हुनुहुँदैन।

१ तिमोथी ३:७

असल नाम [μαρτυρια, मारटुरिया] पाएको हुनुपर्छ — अख्रीष्टियनहरूको सामु अतिराम्रो गवाही भएको हुनुपर्छ।

टिप्पणी: विशप (एल्डर) हरूको योग्यताको सूची भएको अर्को खण्ड तीतस १:५-९ हो, तर तिनमा भएका प्रायः सबै बुँदाहरू माथि चर्चा गरिसकिएका छन्।

Print Friendly, PDF & Email