पाँच न्यायहरू
पाँच न्यायहरू
इसाई साहित्यमा बारम्बार उल्लेख हुने गरेको साधारण न्याय (general judgement) भन्ने वाक्यांश पवित्र शास्त्रमा भेटिँदैन। अझ गम्भीर कुरा के भने उक्त वाक्यांशले व्यक्त गर्न खोजेको विचार पवित्र शास्त्रमा भेटिँदैन।
डा. पेन्टेकोस्टको यो भनाइ सही हो: “यही हानिकारक बानीले गर्दा इसाई जगतको बोलीचालीमा न्यायको परिभाषा संसारको अन्तमा एकैपटक हुने ठूलो घटना हो भन्ने बुझिन्छ जुन बेला सबै मानिसहरू, पवित्र जनहरू, पापीहरू, यहूदी तथा अन्यजातिहरू, मरेका र जीवितहरू, “ठूलो सेतो सिंहासन” का सामु उभिनेछन् र त्यहाँ न्याय गरिनेछन्। यो त बाइबलको सही शिक्षाभन्दा ज्यादै परको कुरा हो।
पवित्र शास्त्रले पाँचओटा न्यायहरूको उल्लेख गरेको पाइन्छ। ती न्यायहरूबीचका भिन्नताहरूका चार पक्षहरू छन्:
न्यायमा संलग्नहरू
न्यायको स्थान
न्यायको समय
न्यायको परिणाम
१. विश्वास गरेकाहरूको पापहरूको न्याय
उनीहरूका पापहरूको न्याय पूरा भइसक्यो।
समय: ई सं ३० मा
स्थान: क्रूसमा
परिणाम: ख्रीष्टलाई मृत्यु, विश्वासी जनलाई धार्मिकता
अनि उहाँ आफ्नो क्रूस बोकेर ‘खोपडी’ भनिने ठाउँतिर जानुभयो, जसलाई हिब्रू भाषामा ‘गलगथा’ भनिन्छ, जहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे (यूहन्ना १९:१७,१८)।
हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँचौं भनेर उहाँ आफैले आफ्नो शरीरमा हाम्रा पापहरू क्रूसमाथि बोक्नुभयो (१ पत्रुस २:२४)।
किनकि हामीलाई परमेश्वरकहाँ पुर्याउनलाई ख्रीष्टले पनि – धर्मीले अधर्मीहरूका निम्ति – पापहरूका लागि एकपल्ट दुःख भोग्नुभयो (१ पत्रुस ३:१८)।
हाम्रा निम्ति श्राप बनेर ख्रीष्टले हामीलाई व्यवस्थाको श्रापबाट दाम तिरी छुटकारा दिनुभएको छ: किनकि लेखिएको छ: ‘हरेक जो रूखमा झुण्डिन्छ, त्यो श्रापित हो’ (गलाती ३:१३)।
किनकि उहाँ [ख्रीष्ट] मा हामी परमेश्वरका धार्मिकता बन्न पाऔं भनेर पापै नजान्नुहुनेलाई परमेश्वरले हाम्रा निम्ति पाप तुल्याउनुभयो (२ कोरिन्थी ५:२१)।
तर अब, यस युगको अन्तमा आफ्नै बलिदानद्वारा पाप हटाउनलाई उहाँ एकपल्ट देखा पर्नुभएको थियो (हिब्रू ९:२६)।
आफैद्वारा हाम्रा पापहरू शुद्ध पारेपछि उहाँ उच्च स्थानमा महामहिमको दाहिने हातपट्टि बस्नुभयो (हिब्रू १:३)।
यसकारण अब ख्रीष्ट येशूमा हुनेहरूलाई कुनै दण्डको आज्ञा छैन (रोमी ८:१)।
साँचो-साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेमाथि विश्वास गर्छ, ऊसँग अनन्त जीवन छ, र ऊ न्यायमा पर्नेछैन, तर मृत्युबाट जीवनमा सरिसकेको हुन्छ (यूहन्ना ५:२४)।
यस खण्डको “न्याय” भन्ने अनूदित शब्दलाई मत्ती १०:१५, हिब्रू ९:२७, २ पत्रुस २:४ मा पनि प्रयोग गरिएको छ। २ कोरिन्थी ५:१० मा प्रयोग गरिएको “न्याय” भन्ने शब्दचाहिँ बेग्लै शब्द हो जुनचाहिँ विश्वासी जनहरूको कामहरूको न्यायसित सम्बन्धित छ।
२. विश्वासी जनभित्रको पापको न्याय
समय: जुनसुकै समय
स्थान: जुनसुकै स्थान
परिणाम: हामीले आफैलाई न्याय गरेनौ भने प्रभुबाट ताडना पाइने
किनकि हामीले आफैलाई जाँच्यौं भने हाम्रो न्याय गरिनेछैन। तर संसारसँगै हामी पनि दोषी ठहरिन नपरोस् भनेर हाम्रो न्याय गरिँदाखेरि प्रभुबाट हामी ताडना पाउँछौं(१ कोरिन्थी ११:३१,३२)।
यदि तिमीहरूले ताडना सह्यौ भने परमेश्वरले तिमीहरूसित छोराहरूसित झैं व्यवहार गर्नुहुन्छ; किनकि कुन छोरा होला, जसलाई बाबुले ताडना दिँदैन? (हिब्रू १२:७)।
यी खण्डहरूमा पनि हेर्नुहोस्: १ पत्रुस ४:१७; १ कोरिन्थी ५:५; २ शमूएल ७:१४,१५; २ शमूएल १२:१३,१४; १ तिमोथी १:२०।
३. विश्वासी जनहरूको चालचलन अर्थात् कामहरूको न्याय
समय: जब ख्रीष्ट आउनुहुनेछ
स्थान: “हावामा”; विश्वासी जनका लागि
परिणाम: “इनाम” वा “नोक्सानी” – “तर ऊ आफैचाहिँ बाँच्नेछ”
यो एक गम्भीर कुरा हो कि ख्रीष्टले हाम्रा पापहरू क्रूसमाथि आफ्नै शरीरमा बोक्नुभएर परमेश्वरले ती पापहरूलाई “कहिल्यै सम्झना गर्नेछैनँ” (हिब्रू १०:१७) भनी हामीसित करार बाँध्नुभए तापनि, हामीले गरेको हरेक कामलाई भने न्यायमा ल्याइनैपर्छ। विश्वासी जनको जीवन र उसका कामहरू प्रभुद्वारा जाँचिनैपर्छ।
यसकारण चाहे हामी शरीरमा रहौं चाहे नरहौं, उहाँका निम्ति ग्रहणयोग्य बनिने प्रयत्न गर्दछौं। किनकि शरीरमा गरिएका कामहरूका निम्ति, चाहे असल होस् चाहे खराब, हरेकले जे गरेको छ, त्यसअनुसारको फल पाउनालाई हामी सबै ख्रीष्टको न्यायआसनका सामु देखा पर्नुपर्छ (२ कोरिन्थी ५:९,१०)।तर तिमी किन आफ्नो भाइको न्याय गर्दछौ? वा किन आफ्नो भाइलाई तुच्छ ठान्दछौ? किनकि हामी सबै ख्रीष्टको न्यायआसनका सामु उभिनेछौं (रोमी १४:१०)।
माथिका दुवै खण्डहरू केवल विश्वासीहरूको बारेमा हुन् भन्ने कुरा सन्दर्भले नै देखाउँछ। पहिलो खण्डमा विश्वासी जन शरीरमा रहिरहेको छ भने ऊ प्रभुदेखि टाढा रहेको हुन्छ, ऊ शरीरबाट अलग रहेको हुन्छ भने ऊ प्रभुसितै रहेको हुन्छ भनेर दुई मध्ये एउटा अवस्थामा विश्वासी जन रहेको हुन्छ भनेर पावल प्रेरित बताउँछन्—विश्वास नगरेकाहरूको बयान गर्ने शब्द होइनन् यी। २ कोरिन्थी ५:९,१० अनुसार, “यसकारण…हामी… उहाँका निम्ति ग्रहणयोग्य बनिने प्रयत्न गर्दछौं”, “किनकि हामी सबै प्रकट गराइनुपर्छ”।
रोमी १४:१० मा “हामी” र “भाइ” भन्ने शब्दहरूबाट विषयवस्तु फेरि विश्वासीहरूमा नै सीमित भएको सङ्केत मिल्छ। पवित्र आत्माले मुक्ति पाएका र नपाएकाहरूलाई मिसाउने काम कहिल्यै गर्नुहुन्न। तथापि रगतद्वारा धोइएको पवित्र जन न्यायमा खडा गराइनेछ भन्ने कुरा अविश्वसनीय नठानियोस् भन्ने हेतुले उहाँले यशैयाबाट उद्धरण गर्नुहुन्छ, यो प्रमाणित गर्न कि “हरेक घुँडा टेक्नेछ”, इत्यादि, अनि यसरी थप्नुहुन्छ, “यसैकारण हामीमध्ये हरेकले परमेश्वरलाई आफ्नो-आफ्नो लेखा दिनेछ।”
निम्न खण्डले कामहरूको न्याय कुन आधारमा गरिनेछ भनी बताउँछ।
किनकि त्यस बसालिएको जगलाई छोडेर, जो येशू ख्रीष्ट हुनुहुन्छ, कुनै पनि मानिसले अर्को जग बसाल्न सक्दैन। अब कुनै मानिसले त्यस जगमाथि सुन, चाँदी, रत्नहरू, काठ, घाँस, परालले बनाउँदै लैजान्छ भने हरेकको काम प्रकट हुनेछ; किनकि त्यो दिनले त्यो काम देखाउनेछ, किनकि त्यो आगोद्वारा प्रकट गरिनेछ; अनि हरेकको काम, त्यो कस्तो किसिमको रहेछ भनी आगोले जाँच गर्नेछ। कुनै मानिसको काम, जो उसले त्यसमाथि बनाएको छ, रहिरह्यो भने उसले इनाम पाउनेछ। कसैको काम जलिजान्छ भने उसले हानि भोग्नेछ; तर ऊ आफैचाहिँ बाच्नेछ, तर आगोबाट भएर उम्केजस्तो (१ कोरिन्थी ३:११-१५)।
निम्न खण्डहरूले उक्त न्यायको समयलाई सङ्केत गर्दछन् –
किनभने मानिसका पुत्र आफ्ना पिताको महिमामा आफ्ना दूतहरूको साथमा आउनेछन्, र त्यस बेला उनले हरेकलाई उसका कामहरूअनुसार प्रतिफल दिनेछन् (मत्ती १६:२७)।
र तिमी धन्य हुनेछौ; किनभने तिनीहरूले तिमीलाई बदलामा केही दिन सक्दैनन्; किनकि धर्मीहरूको बौरिउठाइमा तिमीलाई बदला दिइनेछ (लूका १४:१४)। १ कोरिन्थी १५:२२,२३ मा हेर्नुहोस्।
यसकारण प्रभु नआउन्जेल समयभन्दा पहिले कुनै कुराको न्याय नगर, उहाँले अन्धकारमा लुकेका कुराहरू उज्यालोमा निकाल्नुहुनेछ, र हृदयहरूका विचारहरू प्रकट गरिदिनुहुनेछ; तब हरेकले परमेश्वरबाट प्रशंसा पाउनेछ (१ कोरिन्थी ४:५)।
तर, हाम्रा ती निम्नस्तरीय कामहरूको लेखाजोखा निश्चय पनि गरिनेछ भन्ने कुराको प्रसङ्गमा ठूलो सान्त्वना केमा छ भने, उहाँले आफ्नो धैर्यवान् प्रेममा हामीलाई यस्तो प्रकारले डोर्याउँदै हुनुहुन्छ र वर्तमान समयमा हामीभित्र यस्तो प्रकारले काम गर्दैहुनुहुन्छ कि त्यस दिन ती सबै कुराहरूमा हामीलाई प्रशंसा गर्न सकिने केही न केही पाउन सकियोस्।
हेर, म चाँडै आउँछु; अनि हरेक मानिसलाई जस्तो उसको काम हुनेछ, त्यही अनुसार दिनालाई मेरो इनाम मसित छ (प्रकाश २२:१२)।
अब उप्रान्त मेरा लागि धार्मिकताको मुकुट राखिएको छ, जोचाहिँ धार्मिक न्यायकर्ता प्रभुले त्यस दिन मलाई दिनुहुनेछ; र मलाई मात्र होइन, तर उहाँको आगमनलाई प्रेम गर्ने सबैलाई पनि दिनुहुनेछ (२ तिमोथी ४:८)।
उक्त न्यायको स्थान: १ थेस्सलोनिकी ४:१७; साथै मत्ती २५:२४-३० मा हेर्नुहोस्।
४. जातिहरूको न्याय
समय: ख्रीष्टको महिमापूर्ण आगमनको समय (मत्ती २५:३१,३२; मत्ती १३;४०,४१)
स्थान: यहोशपातको बेसी (योएल ३:१,२,१२-१४)
परिणाम: कोही बाँच्नेछन्, कोही नष्ट हुनेछन् (मत्ती २५:४६)
आधार: ख्रीष्टले “मेरा भाइहरू” भनी जनाउनुभएकाहरू प्रतिको व्यवहार (मत्ती २५:४०,४५; योएल ३:३,६,७)। यी “भाइहरू” चाहिँ “महासंकष्ट” को समयका यहूदीहरू हुन् जोहरूले आफ्ना मसीह येशूलाई विश्वास गर्नेछन्। उक्त महासंकष्टकाल मण्डली उठाएर लगिएपछि शुरू हुनेछ अनि हाम्रा प्रभुको महिमापूर्ण आगमनमा अन्त्य हुनेछ (मत्ती २४:२१,२२; प्रकाश ७:१४; २ थेस्सलोनिकी २:३-९)। यी “भाइहरू” वर्तमान प्रबन्धका विश्वासीहरू हुन सक्दैनन् किनकि विश्वासी जनहरूको सेवा गर्नु येशू स्वयंलाई सेवा गर्नु हो भन्ने ज्ञान समेत नभएका इसाईहरूको कुनै उल्लेखनीय समूह भेट्टाइन असम्भव नै हुन्छ।
जीवित रहेका जातिहरूको यस न्याय र प्रकाश २० को “ठूलो सेतो सिंहासन” को न्यायलाई कतिले एउटै भनी ठान्ने गरेकोले यी दुई घटनाहरूलाई दाँजेर हेर्न लाभदायक हुन्छ।
जीवित जातिहरूको न्याय |
ठूलो सेतो सिंहासनको न्याय |
कुनै बौरिउठाइको उल्लेख छैन | एउटा बौरिउठाइको उल्लेख छ |
जीवित जातिहरूको न्याय गरिनेछ | “मरेकाहरू” को न्याय गरिनेछ |
स्थान: पृथ्वीमा | आकाश र पृथ्वी बितेर गइसकेका हुन्छन् |
पुस्तकहरूको उल्लेख छैन | “पुस्तकहरू खोलिए” |
तीन वर्ग: भेडा, बाख्रा, “भाइहरू” | एउटै वर्ग: “मरेकाहरू” |
समय: जब ख्रीष्ट देखा पर्नुहुनेछ | उहाँले १,००० वर्ष राज्य गर्नुभए पछि |
यस न्यायको कार्यान्वयनमा ख्रीष्टसित पवित्र जनहरू पनि सहभागी हुनेछन्। यसकारण उनीहरू आफै पनि उक्त न्यायमा पर्ने कुरा आउँदैन। १ कोरिन्थी ६:२, दनियल ७:२२, यहूदा १४,१५ मा हेर्नुहोस्।
ठूलो सेतो सिंहासन र जीवित जातिहरूको न्यायका बीच एउटै मात्र कुरा समान छ – दुवैका न्यायधीश एउटै व्यक्ति हुनुहुन्छ अर्थात् ख्रीष्ट।
५. मरेका दुष्टहरूको न्याय
समय: मलेनियम पछिको एक निश्चित दिन (प्रेरित १७:३१; प्रकाश २०:५,७)
स्थान: “ठूलो सेतो सिंहासन” का सामु (प्रकाश २०:११)
परिणाम: प्रकाश २०:१५
कसै-कसैलाई प्रेरित १७:३१ र रोमी २:१६ जस्ता पदहरूमा पाइने “दिन” भन्ने शब्दको कारण खुलदुली लाग्न सक्छ। बाइबलमा कुनै लामो समयावधिलाई पनि “दिन” भनेर जनाइएको पाइन्छ, जस्तै २ पत्रुस ३:८, २ कोरिन्थी ६:२ र यूहन्ना ८:५६ मा हेर्नुहोस्। त्यस्तै गरी यूहन्ना ५:२५ को “घडी” को अवधि झण्डै २००० वर्ष भइसक्यो।
[द्रष्टब्य: पवित्र शास्त्रले स्वर्गदूतहरूको न्यायको उल्लेख पनि गरेको छ (१ कोरिन्थी ६:३; यहूदा ६; २ पत्रुस २:४)। लूका २२:३० मा उल्लेखित “न्याय” चाहिँ इन्साफ गर्ने कार्य नभएर सम्भवत: प्रशासनिक कार्य हो। यशैया १:२६ मा हेर्नुहोस्।]
अध्ययन प्रश्नहरू
- पवित्र शास्त्रमा कतिओटा न्यायहरू अझै भविष्यमा हुने भनी बयान गरिएको छ?
- ती न्यायहरू कुन-कुन हिसाबले भिन्न छन्?
- ती पाँच न्यायहरूलाई सूचीमा कण्ठस्थ उतार्नुहोस्।

