१-पत्रुस कि चट्टान?
पाठ १
पत्रुस कि चट्टान?
पाठकलाई मण्डली इतिहास बुझ्न सहायता मिलोस् भन्ने हेतुले यी पाठहरू तयार गरिएका हुन्। विगतबाट गहकिला पाठहरू सिक्न परमेश्वरले सहायता गर्नुभएको होस्। इतिहासबाट नसिक्नेहरूले विगतकै गल्तीहरू दोहोर्याउने जोखिम उठाउँछन्। विगतबाट सिकेर वर्तमानमा धार्मिकतापूर्वक जिउन सहायता मिलेको होस्।
मत्ती १६:१३ मा सोधिएको चाबी प्रश्न के हो?
_________________________________
यदि तपाईंले आज कसैलाई उक्त प्रश्न सोध्नुभयो भने जवाफ कस्तो आउला? स्कूलका साथीबाट? शिक्षक वर्गबाट? छिमेकीबाट? के यो प्रश्न महत्त्वपूर्ण छ? किन छ वा किन छैन?
मत्ती १६:१३ मा सोधिएको र मत्ती १६:१५ मा सोधिएको प्रश्नका बीच के भिन्नता छ? तपाईंले मत्ती १६:१५ को प्रश्नलाई कसरी जवाफ दिनुहुन्छ? पत्रुसले दिएको जवाफ के थियो (मत्ती १६:१६)? _____________________________ पत्रसुको जवाफ सही थियो कि गलत (१७ पदसँग तुलना गर्नुहोस्)? _________________ पत्रुसले यी सत्यता कसरी जाने? उनको तिक्ष्ण बुद्धि भएकोले हो? वा उत्कृष्ट विद्यालय वा विश्व-विद्यालयमा पढेकाले वा कुनै स्तरीय गोष्ठीमा भाग लिएकाले? पत्रुसको आत्मिक समझ र ज्ञानको रहस्य के थियो (मत्ती १६:१७)? ______________________________________ तपाईंको आत्मिक समझको स्रोत के हो (१ कोरिन्थी २:९-१५)? के तपाईं आफैंले सत्यता बुझ्न सक्नुहुन्छ, कि परमेश्वर आफैंले यी कुराहरू तपाईंलाई प्रकट गरिदिनुहुन आवश्यक छ? ___________________________
के पत्रुस प्रथम पोप थिए त?
मत्ती १६:१८ एउटा ज्यादै महत्त्वपूर्ण पद हो। तर यो ज्यादै गलत तरिकाले बुझिएको र गलत तरिकाले अर्थ लगाइएको पद पनि हो। यस पदमा प्रभुले भन्नुभएको खास कुरा यो थियो: “अनि म पनि तिमीलाई भन्दछु, तिमी ______________ हौ, र यस _____________माथि म _________ ______________ बनाउनेछु, अनि नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्” (मत्ती १६:१८)।
यी शब्दहरूलाई हामीले कुन अर्थमा बुझ्नुपर्छ? के येशूले पत्रुसको कुरा गर्दै हुनुहुन्थ्यो? अनि येशूले मण्डलीको बारेमा के भन्दै हुनुहुन्थ्यो? अनि येशूले आफ्नो बारेमा के भन्दै हुनुहुन्थ्यो? अनि “चट्टान” भनेको को हो? चाबी प्रश्न यही हो।
यस पदभित्र केही सुस्पष्ट र महत्त्वपूर्ण शिक्षाहरू छन्। मत्ती १६:१८ अनुसार, मण्डलीका निर्माता को हुनुहुन्छ? “म आफ्नो मण्डली बनाउनेछु”: यो भन्ने को हुनुहुन्छ? ___________________ कहिल्यै बिर्सन नहुने एउटा सत्यता यही हो। येशू ख्रीष्ट नै मण्डलीका महान् निर्माता हुनुहुन्छ। मण्डली उहाँद्वारा निर्माण गरिएको हो। मण्डली कुनै मानिसद्वारा निर्माण गरिएको होइन, यो त परमप्रभुद्वारा निर्माण गरिएको हो! मत्ती १६:१८ अनुसार, यो मण्डली कसको हो? येशूले भन्नुभयो, “म _________ मण्डली बनाउनेछु।” के कुनै पास्टरले घमण्ड गर्दै “यो मेरो मण्डली हो!” भन्नु सही हो? एल्डर वा डिकनले त्यसो भन्नु सही हो? मण्डली येशू ख्रीष्टको हो। यो उहाँको मण्डली हो! मानिसहरूले अक्सर “त्यो मेरो मण्डली हो,” भन्ने गर्छन् तर वास्तवमा मण्डली उहाँको हो भनेर हामीलाई सधैं सम्झाइनुपर्छ।
यस पदमा स्पष्टसाथ सिकाइएको अर्को कुरा पनि छ। मत्ती १६:१८ अनुसार, मण्डली ख्रीष्टद्वारा बनाइएको हो (उहाँ निर्माता हुनुहुन्छ) र मण्डली ख्रीष्टको हो (यो उहाँको मण्डली हो) र मण्डली च___________माथि बनाइएको छ। मण्डली माटो वा बालुवामाथि बनाइएको छैन। मण्डली एउटा बलियो चट्टानमाथि बनाइएको छ।
एउटा भवनको लागि त्यसको जग एकदम महत्त्वपूर्ण हुन्छ। भवनको जग राम्रो हुनुपर्छ र यो जग बलियो हुनैपर्छ। येशू ख्रीष्टको मण्डली बलियो चट्टानको जगमाथि बनाइएको छ। जब परमेश्वरले केही कुरा बनाउनुहुन्छ, उहाँले त्यो असल बनाउनुहुन्छ। उहाँले यसलाई बलियो आधारमाथि राख्नुहुन्छ। मण्डली चट्टानमाथि बनाइएको छ। तर यो चट्टान भनेको को हो? चाबी प्रश्न यही हो।
क्याथोलिक चर्चको जवाफ
हामीमध्ये कतिलाई रोमन क्याथोलिक चर्चको बारेमा केही कुरा थाहा होला र कतिले क्याथोलिक व्यक्तिहरूलाई भेटेका पनि छौं होला। हामीले हेरिरहेको यस पद (मत्ती १६:१८) लाई क्याथोलिक शिक्षकहरूले आफ्नो विश्वासको एउटा प्रमुख बुँदालाई समर्थन गर्न प्रयोग गर्ने गर्छन्।
यो चट्टान को हो? क्याथोलिक मण्डलीको अडान यस्तो छ: यो चट्टान पत्रुस हो। जुन बलियो चट्टानमाथि मण्डली बनाइएको छ त्यो चट्टान पत्रुस नै हो भनी उनीहरू विश्वास गर्दछन्। येशू ख्रीष्टको मण्डली पत्रुसमाथि बसालिएको हो भनी उनीहरू विश्वास गर्दछन्। ख्रीष्ट निर्माता हुनुहुन्छ, मण्डली ख्रीष्टको हो, तर पत्रुसचाहिँ मण्डलीका जग हुन्। यो पदलाई उनीहरूले यसरी बुझ्ने गर्छन्: “तिमी पत्रुस हौ, र यस चट्टान (पत्रुस) माथि म आफ्नो मण्डली बनाउनेछु” (मत्ती १६:१८)।
ख्रीष्टले पत्रुसलाई प्रथम पोपको रूपमा नियुक्त गर्नु भएको हो भनेर क्याथोलिक मण्डलीले विश्वास गर्छ। येशू ख्रीष्टका शब्दहरूलाई उनीहरू यसरी बुझ्छन्: “पत्रुस, म मेरो मण्डली तिमीमाथि बनाउनेछु। तिमी नै पहिलो पोप हुनेछौ र तिमी नै मण्डलीको दृश्यमान शिर हुनेछौ।”
आज हाम्रो संसारमा एकजना विशिष्ट र प्रभावशाली मानिस छन् जसलाई “पोप” भनिन्छ। खबरहरूमा अक्सर तिनको उल्लेख गरिन्छ र तिनलाई देखाइन्छ। समय-समयमा तिनले देश-विदेश भ्रमण गर्दछन्। ख्रीष्टमस, इस्टर र वर्षभरीका अन्य विभिन्न समयहरूमा आयोजना गरिएका धार्मिक कार्यक्रमहरूलाई तिनले नै सञ्चालन गरिरहेको देख्न सकिन्छ। जहीँ-तहीँका क्याथोलिक मानिसहरूले तिनलाई आफ्नो अगुवा र शिरको रूपमा हेर्ने गर्छन्। पोपको बारेमा तपाईंलाई कत्तिको ज्ञान छ? तिनी को हुन् र तिनका अधिकारहरू के-कस्ता छन्? उनको बारेमा क्याथोलिक मानिसहरूले के विश्वास गर्छन्?
क्याथोलिक शिक्षा अनुसार, पोप को हुन्? उनीहरूको जवाफ यस्तो छ:
“पोप भनेको सन्त पत्रुसको वैधानिक उत्तराधिकारी र मण्डलीका दृश्यमान शिरको रूपमा यस पृथ्वीमा ख्रीष्टका प्रतिनिधि हुन्। जसरी मानव शरीरमा एउटा शिर हुन्छ, ठीक त्यसरी नै मण्डलीको एउटै शिर ख्रीष्ट हुनुहुन्छ। पोपचाहिँ यस पृथ्वीमा उहाँको प्रतिस्थापक (Vicar, कसैको विकल्पमा काम गर्ने व्यक्ति), वा प्रतिनिधि, वा मण्डलीका दृश्यमान शिर हुन्।” (बाल्टिमोर क्याटेकिज्म, Baltimore Catechism)।
क्याथोलिक मण्डलीले विश्वास गर्दछ कि पत्रुस “ख्रीष्टले स्थापना गर्नुभएको मण्डलीको शिर, वा पहिलो पोप हुनका निम्ती उहाँद्वारा चुनिएका प्रेरित” हुन् (बाल्टिमोर क्याटेकिज्म)। मत्ती १६:१८ मा येशूले पत्रुससँग बोल्दाहुँदी उहाँले पत्रुसलाई प्रथम पोप, उहाँको प्रतिनिधित्व गर्नेवाला र संसारमा मण्डलीको दृश्यमान शिरको रूपमा उहाँको स्थान लिने व्यक्तिको रूपमा नियुक्त वा अभिषेक गर्दै हुनुहुन्थ्यो।
साथै, पत्रुस धेरै पोपहरूमध्येका केवल प्रथम पोप मात्र हुन् भनेर उनीहरू विश्वास गर्छन्।
“समस्त मण्डलीको प्रधान शिक्षक र शासक हुने विशेष अधिकार सन्त पत्रुस एक्लैले अभ्यास गरून् भन्ने आशय ख्रीष्टको थिएन, तर यो अधिकार तिनको उत्तराधिकारी, अर्थात् पोप वा रोमको अध्यक्षहरूमा सर्दै जाओस् भन्ने आशय थियो, जोचाहिँ संसारमा ख्रीष्टको सहायक पादरी र मण्डलीको दृश्यमान शिर हुन् (बाल्टिमोर क्याटेकिज्म, Baltimore Catechism)।
“के पत्रुसको अधिकार उहाँको मृत्युपश्चात् अन्त भयो? भएन, यो त उहाँको मृत्युपछि (ई. सं. ७८) लिनस् नामक मानिसलाई सुम्पिइयो, त्यसपछि क्लेटसलाई (९० ई. सं.), र त्यसपछि क्लेमेन्टलाई (१०० ई.सं.), र त्यसपछि अर्कोलाई अनि त्यही क्रममा अर्कोलाई गर्दै करिब २००० वर्षदेखि यसरी हस्तान्तरण हुँदै आएको छ।” — विलियम जे. कोगनद्वारा लिखित अ ब्रीफ क्याटेकिज्म फर एडल्ट्स, पृ. ६० (William J Cogan, A Brief Catechism For Adults)।
क्याथोलिक विश्वासअनुसार पत्रुस प्रथम पोप थिए, तर तिनीपछि थुप्रै अन्य पोपहरू खडा हुनेछन्। आजको पोपले आफू यस संसारमा ख्रीष्टको प्रतिनिधि र मण्डलीको दृश्यमान शिर हुँ भनेर विश्वास गर्दछ। के तपाईं यो विश्वास गर्नुहुन्छ?
प्रभु येशूले यस संसारमा उहाँको स्थान लिनको लागि कसैलाई रोज्नुभएकै हो। यूहन्ना १६:७-१६ र यूहन्ना १४:१६-१८ अनुसार, यस संसारमा आफ्नो स्थान लिनलाई ख्रीष्टले कसलाई चुन्नुभयो –पत्रुस कि अरू कोहीलाई? ___________________________________ एफेसी १:२०-२२ र कलस्सी १:१८ अनुसार, मण्डलीको शिर को हुनुहुन्छ? ____________________________________ एफेसी ४:५ अनुसार, मण्डलीका कतिजना प्रभुहरू छन्? मण्डलीको केवल एउटै प्रभु र एउटै शिर हुनुहुन्छ! मण्डलीको अदृश्यमान शिर ख्रीष्ट हुनुहुन्छ तर यस संसारमा दृश्यमान शिरको रूपमा अरु कुनै पनि मानिस छैन। उहाँ नै मण्डलीको निर्माता हुनुहुन्छ, मण्डलीको मालिक हुनुहुन्छ र मण्डलीको शिर हुनुहुन्छ। जुन कुरा केवल उहाँको मात्र हो, त्यस कुरालाई हामी उहाँबाट खोस्न चाहन्नौं।
“पोप” भन्ने शब्द ल्याटिन भाषाको पापा (papa) भन्ने शब्दबाट आउँछ, जसको अर्थ “पिता” हुन्छ। कुनै एउटा मान्छेलाई सम्बोधन गर्दा यो शब्द प्रयोग गर्ने बारेमा प्रभु येशूले के भन्नुभयो (हेर्नुहोस मत्ती २३:९)? ______________________________________ ______________________________________
कहिलेकाहीँ पोपलाई “पवित्र पिता” भनेर पनि सम्बोधन गर्ने गरिन्छ। के एक क्षणभङ्गुर मानिसलाई यस्तो उपमाद्वारा सम्बोधन गर्नु ठीक हुन्छ जस्तो तपाईंलाई लाग्छ (यूहन्ना १७:११ सित तुलना गर्नुहोस्)? _________________
कहिलेकाहीँ समाचारहरूमा वा अन्य ठाउँहरूमा पोपलाई “पोन्टिफ” (PONTIFF) भनेर सम्बोधन गरिएको तपाईंले सुन्न सक्नुहुन्छ। यो शब्दको शाब्दिक माने हो “पूल निर्माता”। पूल कुनै दुई स्थानहरूको बीचमा खडा हुन्छ र तपाईंलाई एक ठाउँबाट अर्कोमा जानको निम्ति मद्दत गर्छ। पोपले आफू परमेश्वर र मानिस बीचको पूल वा मध्यस्थ भएको दाबी गर्दछ। बाइबल अनुसार, परमेश्वर र मानिसको बीचमा एउटै मध्यस्थ को हुनुहुन्छ (१ तिमोथी २:५)? __________________________
अमोघत्व (Infallibility)
अमोघ शब्दको अर्थ हो गल्ती वा भूल गर्न नसक्ने, नचुक्ने वा अचूक, बेठीक वा भड्कालु हुन नसक्ने। क्याथोलिक चर्च र क्याथोलिक पोपहरू अमोघ हुन्छन् भनी क्याथोलिकहरूले विश्वास गर्दछन्। तर उनीहरूले कुन अर्थमा यसो भनेका हुन् सो बुझ्ने कोशिस गरौं:
“क्याथोलिक चर्च अमोघ छ भन्नुको अर्थ यो हो, कि पवित्र आत्माको विशेष सहयोगद्वारा मण्डलीले विश्वास वा नीतिशास्त्रहरूको शिक्षा सिकाउँदा वा विश्वास गर्दा उसले कुनै गल्ती गर्न सक्दैन। अमोघत्वको माने पोपले पाप गर्नै सक्दैन भन्नेचाहिँ होइन, तर विश्वास वा नीतिशास्त्रहरूको शिक्षा सिकाउने सवालमा, भूल गर्नबाट तिनी पवित्र आत्माद्वारा जोगाइँदछन् भन्ने हो। मण्डलीले केवल सत्यता मात्र सिकाउँछ। सबै ख्रीष्टियनहरूको शिक्षक पोपद्वारा मात्र मण्डलीले विश्वास वा नीतिशास्त्रहरूको शिक्षा सबै विश्वासयोग्यहरूले पक्रिराखुन् भनेर अचूक तरिकाले व्याख्या गर्दछ” (बाल्टिमोर क्याटेकिज्म, Baltimore Catechism)।
“पोपको अमोघत्व भन्नुको अर्थ यो हो, कि पोपले सम्पूर्ण मण्डलीको शिरको रूपमा विश्वास वा नीतिशास्त्रहरू बारेमा बोल्दाहुँदि, गलत कुरा सिकाउनै सक्दैनन्। अमोघत्व र पापहीनता (जसको अर्थ एउटा मानिसले पाप गर्न सक्दैन भन्ने हुन्छ) को बीचमा अलमल हुनुहुँदैन” — विलियम जे. कोगनद्वारा लिखित् अ ब्रीफ क्याटेकिज्म फर एडल्ट्स, पृ. ६१(William J Cogan, A Brief Catechism For Adults)।
अर्को शब्दमा भन्नुपर्दा, के विश्वास गर्ने (विश्वास) र कसरी व्यवहार गर्ने (नीतिशास्त्रहरू) भन्ने कुराहरू सिकाउँदा पोप अचूक रहन्छ (निजले भूल गर्दैन)।
पोपको अमोघत्वको सिद्धान्त एउटा “नयाँ” सिद्धान्त हो। यसलाई रोममा सन् १८७० मा भ्याटिकन काउन्सील जुटेर परिभाषित गरेको थियो। उनीहरूको परिभाषा यस्तो छ:
“…हामी यो सिकाउँछौं र परिभाषित गर्छौं कि यो ईश्वरीय तवरले प्रकट गरिएको आधिकारिक सिद्धान्त हो कि रोमन पोन्टिफ, जब उहाँ एक्स-क्याथिड्रा (ex-cathedra) रूपमा बोल्नुहुन्छ, भन्नुको तात्पर्य, जब उहाँ सबै ख्रीष्टियनहरूका पास्टर र शिक्षकको भूमिका निर्वाह गर्ने कामको कार्यान्वयन गर्नुहुन्छ, उहाँको सर्वोच्च प्रेरितीय अधिकारको हैसियतले जब उहाँले विश्वास र नैतिकताको सम्बन्धमा कुनै सिद्धान्तलाई परिभाषित गर्नुहुन्छ, त्यतिखेर उहाँ धन्य पत्रुसको स्थानमा उहाँलाई प्रतिज्ञा गरिएको ईश्वरीय सहायताद्वारा, उहाँको साथमा त्यो अमोघत्व हुने गर्छ जसद्वारा आफ्नो मण्डली आभूषित होस् भनेर ईश्वरीय उदारकर्ताले इच्छा गर्नुभयो यस हेतुले कि उसले विश्वास र नैतिकताको सम्बन्धमा रहेका सिद्धान्तहरूको प्रतिरक्षा गर्न सकोस्, र त्यसैकारण रोमन पोन्टिफका ती परिभाषाहरू, मण्डलीको समर्थनको आधारमा नभएर, आफैमा सुधारको घेरा भन्दा बाहिर छन्।”
उपर्युक्त परिभाषाबाट ध्यानपूर्वक टिपोट गर्नुपर्ने त्यहाँ तीन ओटा कुराहरू छन्:
- पोपले बोलेको हरेक अभिव्यक्ति अमोघ वा अचूक हुन्छ भनी दाबी गरिएको छैन, तर उनले एक्स क्याथिड्रा (ex-cathedra) बोलेको कुराहरूको निम्ति मात्र, अर्थात् प्यापल कुर्सी (papal chair) वा सन्त पत्रुसको आसनमा बसेर मण्डलीको शिरको रूपमा तिनको औपचारिक हैसियतमा बोलिएका कुराहरू।
- घोषणा गरिएको अभिव्यक्तिहरू सम्पूर्ण मण्डलीलाई बाँध्ने उद्देश्यका साथ नै गरिनुपर्छ। मण्डलीभित्रका कुनै निश्चित समूहहरूलाई उनीहरूको स्थानीय तहको अवस्थाहरूसँग धेरै वा थोरै सम्बन्धित रहेर गरिएका अभिव्यक्तिहरूका सवालमा अमोघत्वको दावी गरिएको छैन।
- घोषणा गरिएका अभिव्यक्तिहरू “विश्वास र नीतिशास्त्रहरू” सँग सम्बन्ध राख्ने मात्र हुनुपर्छ। विश्वास भनेको मण्डलीले गर्ने विश्वाससँग सरोकार राख्ने कुरा हो र नीतिशास्त्रहरू भनेको मण्डलीले गर्ने व्यवहारसँग सरोकार राख्ने कुरा हो।
के कुनै मानिस अचूक हुन सम्भव छ? के पत्रुस अचूक थिए? के तपाईं अचूक हुनुहुन्छ? के तपाईंको पास्टर अचूक हुनुहुन्छ? के पास्टरले सत्यता नभएका कुराहरू प्रचार गर्न सम्भव छ? हरेक विश्वासीलाई आफूलाई सिकाइएको कुरा सत्य छ भनी कसरी निश्चय हुन सक्छ (हेर्नुहोस् प्रेरित १७:११)? ____________________________________ के तपाईंले यसो गर्ने गर्नुहुन्छ?
कुनै पोप, पूजाहारी, पास्टर वा अन्य कुनै पनि मानिस अचूक हुँदैन। मानिसहरू भू_______ पर्न सक्छन् भनी प्रभु येशूले स्पष्ट पार्नुएको छ (मत्ती २२:२९)। एउटा सामान्य मानिसमात्र भएकोले कोही पनि त्रुटिहीन छैन तर…
- परमेश्वर अचूक हुनुहुन्छ। उहाँले भूल गर्नुहुन्न र उहाँले जे सत्य छ त्यही मात्र सिकाउनुहुन्छ।
- परमेश्वरको वचन अचूक छ। यसमा भूलहरू छैनन् र यसले जे सत्य छ त्यही मात्र सिकाउँदछ।
विश्वास (के विश्वास गर्नुपर्छ) र नीतिशास्त्रहरू (कसरी व्यवहार गर्नुपर्छ) को सवालमा परमेश्वरले हामीलाई कुनचाहिँ अचूक मार्गदर्शक दिनुभएको छ –हेर्नुहोस् २ तिमोथी ३:१६-१७)? __________________________________ एउटा मानिसले परमेश्वरको वचनसँग सहमत हुँदै त्यस अनुसार अभ्यास गरुन्जेल मात्र अचूक हुन्छ। मण्डलीले परमेश्वरको वचनसँग सहमत हुँदै त्यस अनुसार अभ्यास गरुन्जेल मात्र अचूक हुन्छ। तपाईं कतिसम्म अचूक हुनुहुन्छ? तपाईंको मण्डली कतिसम्म अचूक छ? तपाईं र तपाईंको मण्डली परमेश्वरको वचनसँग कतिसम्म नजिकमा टाँसिएर बस्छ?
क्याथोलिक मण्डलीले आफूलाई अचूक ठान्दछ र आफूसँग नियमहरू बनाउने र बदल्ने अधिकार छ भनेर पनि विश्वास गर्दछ: “मण्डलीसँग नियमहरू बनाउने र बनाइएका नियमहरू बदल्ने परमेश्वरबाटको अधिकार छ। नियमहरू बनाउने यो अधिकार प्रेरितहरूका उत्तराधिकारीहरू, अर्थात् विशपहरूद्वारा अभ्यास गरिन्छ, र विशेषगरी, प्रेरितहरूका प्रमुख, अर्थात् सन्त पत्रुसको उत्तराधिकारी पोपको हातमा विश्वव्यापी मण्डलीका निम्ति नियमहरू बनाउने अधिकार हुन्छ” (बाल्टिमोर क्याटेकिज्म)।
चट्टान को हो?
यी सबै क्याथोलिक शिक्षाहरू मत्ती १६:१८ को उनीहरूको बुझाइमाथि आधारित छन्। पत्रुस नै चट्टान हुन् भनी उनीहरू विश्वास गर्छन्। यो कुरा साँच्चै यस्तै हो कि होइन भनी पवित्रशास्त्रहरूमा खोजी गरौं।
१ कोरिन्थी १०:४ मा महान् चट्टानको उल्लेख छ। यो चट्टान को हुनुहुन्छ? _______________ मत्ती २१:४२ पढ्नुहोस्। यस पदमा प्रभु येशूले एउटा महान् चट्टानको बारेमा बताउनुभयो जो रद्द गरिनुभयो र शिर वा कुनाढुङ्गा हुनुभयो। प्रेरित ४:१०-१२ मा पत्रुस उही चट्टानको उल्लेख गर्छन्। के पत्रुसले यहाँ आफैंलाई चट्टानको रूपमा इङ्गित गरेका थिए? ____________ तिनले कसलाई इङ्गित गरेका थिए?________________________
१ पत्रुसको पुस्तक कसले लेखे? _________________ १ पत्रुस २:४-७ पढ्नुहोस्। पत्रुसले ४ पदमा र ६ पदमा पनि पत्थरको उल्लेख गर्छन्। के त्यहाँ तिनले आफूलाई इङ्गित गरेका थिए? ________________
सबै विश्वासीहरू यस महान् भवन अर्थात् मण्डलीको अंश हुन् भनी पत्रुसले ५ पदमा मानिलिएका छन्। मण्डली भनेको “आत्मिक घर” हो जुनचाहिँ ईंट्टाहरू वा काठहरू वा सिमेन्टले होइन, तर “जिउँदो पत्थरहरू” (विश्वासीहरू) ले बनेको हुन्छ। हरेक विश्वासी यस महान् भवन, अर्थात् मण्डलीमा एउटा जिउँदो पत्थर हो। के तपाईं यस भवनको अंश हुनुहुन्छ? के पत्रुस यस भवनको एउटा अंश थिए? के पत्रुस आफैं नै कुनाढुङ्गा थिए (६-७ पदहरू तुलना गर्नुहोस्)? ________________
१ पत्रुस २:४-७ को आधारमा “ठीक” वा “बेठीक” लेखेर जवाफ दिनुहोस्:
१ कोरिन्थी ३:११ अनुसार मण्डलीका एउटै मात्र जग को हुनुहुन्छ? ________________________ अङ्ग्रेजीको एउटा भजनले यस्तो भन्दछ, “मण्डलीको एउटै जग येशू ख्रीष्ट हाम्रा प्रभु हुनुहुन्छ।” उक्त भजनले यस्तो भन्दैन, “मण्डलीको एउटै जग पत्रुस हुन्।” मण्डली पत्रुसमाथि होइन, तर ख्रीष्टको र उहाँको वचनको चट्टानसरह बलियो जगमाथि बनाइएको छ।
पुरानो नियममा करिब ३४ पटक परमेश्वरलाई चट्टान भनी भनिएको छ। व्यवस्था ३२:३-४ अनुसार, चट्टान को हुनुहुन्छ? ______________________ २ शमूएल २२:२,३,३२,४७ पढ्नुहोस्। चट्टान को हुनुहुन्छ? ______________________ विश्वासी जनले सँधैभरी सम्झनामा राख्नुपर्ने एउटा कुरा के हो (भजनसङ्ग्रह ७८:३५)? _________________________________ख्रीष्टलाई हाम्रो चट्टान र कुनाढुङ्गाको रूपमा सङ्केत गर्ने पुरानो नियममा तीनओटा अगमवाणीहरू पनि छन्। हेर्नुहोस् यशैया ८:१४; २८:१६ र भजनसङ्ग्रह ११८:२२।
को? म?
मानौं पत्रुस प्रथम पोप थिए। तर तिनी आफैं सो जान्दैनथे! लूका ५:८ मा पत्रुसले आफूलाई कसरी वर्णन गरे? _____________________________________ के पत्रुसले मानिसहरूबाटको श्रद्धा र उपासनालाई स्वीकार गरे? के पत्रुसले कसैलाई उनको सामु घुँडा टेक्न दिए (प्रेरित १०:२५-२६ हेर्नुहोस)? _______________
(टिप्पणी: पोपहरूले त्यस्तो श्रद्धा स्वीकार गर्ने मात्र होइन माग नै गर्छन्। यहाँसम्म कि निकै उच्च ओहोदाका पादरीहरूले समेत, नव नियुक्त पोपको सामु भुईंमा लम्पसार परेर साष्टाङ्ग दण्डवत गर्दछन्, वा अभिषेक गरेपछि तिनको सामु शपथ खाएर तिनको खुट्टालाई चुम्बन गर्दछन्। पोपहरूले “पवित्र पिता” को उपाधि आफूले अधिकारमै पाएझैं गरी स्वीकार पनि गर्छन्। के कहिल्यै पत्रुसलाई “पवित्र पिता” भनेर बोलाइएको थियो र?)
मत्ती १६:१८ मा पत्रुसलाई पोप नियुक्त गरिएको हो भनेर क्याथोलिकहरू विश्वास गर्दछन्। मत्ती १६:१८ पछिका पदहरूलाई पढ्नुहोस्। विशेष गरी मत्ती १६:२१-२३ पढ्नुहोस्। यहाँ प्रभु येशूले पत्रुसलाई कडासँग हप्काउनुभएको कुरा पाउँछौं! भर्खरै मात्र पोप नियुक्त भएको मान्छेका विरुद्ध निकै कडा वचन छ यहाँ! २२ पदमा के पत्रुसले तिनी चुक्न सक्छन् भनी प्रमाणित गरे कि अचूक छन् भनी? _______________ गलाती २:११-१४ पढ्नुहोस्। यहाँ प्रेरित पावलले प्रेरित पत्रुसलाई कडासाथ हप्काउनुपर्यो किनभने पत्रुसले गल्ती गरेका थिए! (तिनी अचूक थिएनन्)।
पत्रुस परमेश्वरका एक ठूला सेवक थिए र प्रभुले तिनलाई सुन्दर तरिकाले प्रयोग गर्नुभयो। पेन्टिकोस्टको दिनमा हजारौं मानिसहरूलाई प्रचार गर्ने व्यक्ति पत्रुस नै थिए (प्रेरित २)। यहूदीहरू (प्रेरित २), सामरीहरू (प्रेरित ८) र अन्यजातिहरू (प्रेरित १०) का सामु विश्वासको ढोका खोलिदिने व्यक्ति पत्रुस नै थिए । वास्तवमा, प्रेरितको पुस्तकका पहिलो १२ अध्यायहरूमा मुख्य र महत्त्वपूर्ण भूमिका पत्रुसकै थियो। उनी परमेश्वरका एक महान् सेवक थिए र ख्रीष्टको सर्वोत्तम दास थिए तर तिनी पोप थिएनन् न ता तिनी अचूक नै थिए। प्रेरितको पुस्तकको पछिल्लो आधा भाग (१३-२८ अध्यायहरू) मा पत्रुसको बारेमा बिरलै उल्लेख छ। यहाँ मूलत: पावलको उल्लेख छ। पत्रुस नै प्रथम पोप भएका भए प्रेरितको पुस्तकमा तिनको अझै धेरै उल्लेख हुनुपर्ने थिएन र?
फेरि मत्ती १६ अध्यायमा फर्कौं। विशेष गरी १३-१७ पदहरूलाई विचार गर्नुहोस्। यी पदहरूले ख्रीष्टको व्यक्तित्वलाई जोड दिन्छन् कि पत्रुसलाई? यी पदहरूले ख्रीष्टको को हुनुहुन्छ भनेर दर्शाउँछन् कि पत्रुस को हुन् भनेर? पत्रुसले आफ्नो महानतालाई स्वीकार गरे कि ख्रीष्टको महानतालाई (१६ पद)? ________________________ यी पदहरूको मुख्य विषयवस्तु पत्रुस होइन ख्रीष्ट हुनुहुन्छ।
शब्दको खेल: पेट्रोस् र पेट्रा
मत्ती १६:१८ एक प्रकारको श्लेषोक्ति हो। यहाँ दुईओटा उस्तै-उस्तै शब्दहरूको प्रयोग गरिएको छ। येशूले भन्नुभयो, “तिमी पत्रुस (ग्रीक शब्द पेट्रोस् हो) हौ, र यस चट्टानमाथि (ग्रीक शब्द पेट्रा हो) म आफ्नो मण्डली बनाउनेछु।” अर्को शब्दमा, उहाँ यसो भन्दै हुनुहुन्थ्यो, “तिमी पेट्रोस् हौ र यस पेट्रामाथि म आफ्नो मण्डली बनाउनेछु।”
यी ग्रीक शब्दहरूको अर्थको बारेमा बिचार गरौं:
१) पेट्रोस्
एउटै नेपाली शब्दले “पेट्रोस” लाई व्याख्या गर्ने हो भने त्यो शब्द “पत्थर” हो। हेर्नुहोस यूहन्ना १:४२ (पत्रुस=केफास=पत्थर)। चट्टानको एक टुक्रालाई पत्थर भनिन्छ। तसर्थ सामान्यतया यो शब्दले कुनै खुकुलो पत्थर वा हल्लाउन सकिने पत्थरलाई जनाउँछ, जसलाई एउटा मानिसले अन्यत्र फ्याँक्न पनि सक्छ। यो शब्दले कहिलेकसो अति ठूलो पत्थरलाई जनाउन पनि सक्छ, तर प्राय: जसो यस शब्दले सानो, हल्लाउन सकिने पत्थरलाई जनाउँछ। यो शब्द लाइटरमा प्रयोग गरिने पत्थर र घुयेंत्रोमा प्रयोग गरिने ढुङ्गाहरू जनाउन पनि प्रयोग गरिएको छ। यो शब्दलाई व्यक्ति वा वस्तुको नामको रूपमा पनि प्रयोग गरिएको छ (पत्रुस)। के पत्रुसले आफूलाई पत्थरको रूपमा हेरे (१ पत्रुस २:५)? ____________ के एउटा खुकुलो पत्थरमाथि मण्डली बनाउनु बुद्धिमानी हुन्छ? के एउटा भवन स-साना ढुङ्गाहरूमाथि बसालिनु सम्भव छ? के यो एउटा बलियो जग हुन सक्ला?
२) पेट्रा
एउटै नेपाली शब्दले “पेट्रा” लाई व्याख्या गर्ने हो भने त्यो शब्द “चट्टान” हो। (मत्ती १६:१८—“यस चट्टानमाथि”)। कुनचाहिँ ठूलो हुन्छ, चट्टान कि पत्थर? __________ पेट्रा शब्दको अर्थ हो ठूलो चट्टान वा पहरा सरह चट्टान। प्राय: जसो यो शब्दलाई कुनै अचल, स्थायी चट्टान वा हल्लाउन नसकिने चट्टानलाई जनाउन प्रयोग गरिन्छ। प्राय: जसो यो शब्दलाई समुद्रछेऊको चट्टानी भीरलाई (चट्टान, पहरा) जनाउन प्रयोग गरिएको छ। मण्डली एउटा विशाल, ठोस्, अचल र स्थायी चट्टानमाथि बनाइएको छ! यो जग यति ठोस र यति सुरक्षित छ कि “नरकका ढोकाहरू यसमाथि विजयी हुनेछैनन्” (मत्ती १६:१८)।
पत्रुसले भर्खरै सुस्पष्ट साथ स्वीकार गरेका छन्। तिनले येशू ख्रीष्ट र उहाँ को हुनुहुन्थ्यो भनेर देखाइसकेका छन् (मत्ती १६:१६)। पत्रुसले भर्खरै मात्र स्वीकार गरेको सत्यतामा नै त्यो बलियो चट्टानको जग देखिनुहुन्छ जसमाथि ख्रीष्टको मण्डली बनिनेवाला थियो। ख्रीष्ट नै निर्माता हुनुहुन्थ्यो, ख्रीष्ट नै मालिक हुनुहुन्थ्यो (यो उहाँको मण्डली हो) र ख्रीष्ट नै बलियो चट्टान सरहको जग हुनुहुन्थ्यो (१ कोरिन्थी ३:११)।
मण्डली पत्रुसभन्दा पनि बलियो एकजनामाथि बनिएको छ भन्ने कुरामा के तपाईं धन्यवादी हुनुहुन्छ? मण्डलीको शिर कुनै दृश्यमान, त्रुटिपूर्ण, पापपूर्ण मानिस नभएर ख्रीष्ट नै हुनुहुन्छ भन्ने कुरामा तपाईं धन्यवादी हुनुहुन्छ? मण्डली मानिसद्वारा र मानिसमाथि नभएर परमेश्वरद्वारा परमेश्वरमाथि बनिएको छ भन्ने कुरामा के तपाईं धन्यवादी हुनुहुन्छ?
मानिसहरूले मानवीय अगुवाहरू र मानवीय शिरहरूलाई हेर्नुमा त्यहाँ ठूला खतराहरू छन्। के मानिसहरूले हामीलाई निराश बनाउन सक्छन्? के मानिसहरूले भूल गर्न सक्छन्? के मानिसहरूले कमसल निर्णयहरू गर्न सक्छन् (यर्मिया १७:५)? यदि पास्टर नै मण्डलीको शिर भएको भए, हाम्रो माझमा कस्ता समस्याहरू हुने थिए? के हाम्रो अगुवा र हाम्रो शिर कुनै मानिस मात्र भइदिएको भए हामीहरू ठूलो समस्यामा पर्ने थियौं।
के तपाईंको मण्डली मानिसद्वारा चलाइएको छ कि परमेश्वरद्वारा? के तपाईंको मण्डलीको नेतृत्व मानिस (वा मानिसहरू) द्वारा भएको छ कि परमेश्वरद्वारा? यो मण्डली कसको हो (मत्ती १६:१८ सित तुलना गर्नुहोस्)? मण्डलीले कसको आज्ञापालन गर्नुपर्छ, परमेश्वरको कि मानिसको (प्रेरित ४:१९ र ५:२९ सित तुलना गर्नुहोस्)? मण्डलीले कसलाई पछ्याउनुपर्छ, मानिसलाई कि परमेश्वरलाई? यदि कसैले _____________ देखासिकी गरिरहेको छ भने मात्र हामीले निजलाई पछ्याउनुपर्छ (१ कोरिन्थी ११:१)।
तपाईंको जग कत्तिको बलियो छ?
तपाईंमुनिको जमिन कत्तिको बलियो छ? के तपाईं सुरक्षित र बलियो जगमाथि खडा हुनुहुन्छ? चट्टानमाथि आफ्नो जीवन बसाल्न तपाईंले के गर्नुपर्छ (मत्ती ७:२४-२७)? के तपाईं यसो गर्दै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने, नहल्लिनुहोस् र नभड्किनुहोस्! बलियो जगमाथि रहिरहनुहोस् किनभने अन्य सबै जमिन भासिरहेको बालुवा मात्र हुन्। हेर्नुहोस् १ कोरिन्थी १५:५८।
यो सत्य हो, मानिसहरूले मण्डली बनाउन सक्छन्। मानिसहरूले अन्य मानिसहरूलाई एउटा भवनभित्र जम्मा गर्न सक्छन्। मानिसहरूले आफूलाई जे मन लाग्यो त्यही सिकाउन सक्छन्। मानिसहरूद्वारा र मानिसहरूमाथि बनाइएका त्यहाँ थुप्रै-थुप्रै मण्डलीहरू छन्। तर तिनीहरूको कुनै बलियो चट्टानको जग छैन र तिनीहरूका भवनहरू रहिरहनेछैनन्। चार्ल्स स्पर्जन (Charles Spurgeon) ले यसरी भनेका छन्:
“यस हप्ता म एउटा चर्चघरको सामु उभिएको थिएँ जो एक समय समुद्री किनाराबाट निकै पर अवस्थित थियो, तर अहिले यो समुद्रको छेवैमा खडा रहेको छ। प्राय: हरेक वर्ष विशाल मात्रामा माटोको भीर समुद्रमा खस्छ, र एक वा दुई वर्षमा यो मण्डली पनि खस्नैपर्छ। अहिले त यो निश्चिन्त र शान्त भएर उभिरहेको छ, तर कुनै निश्चित दिनमा यो समुद्रभित्र निलिनेछ। म यो सोच्न बाध्य भएको छु, कि उक्त भवनले केही निश्चित प्रकारका कथित मण्डलीहरूलाई जनाउँछ, जोहरू कुनै शासनप्रथा वा अन्धविश्वासको माटेभीरमाथि उभिएका छन्। मानिसहरूले पाएको प्रकाशको छाल र त्योभन्दा पनि, परमेश्वरको आत्माको समुद्री छाल आउँदैछ र तिनीहरूका जगहरूलाई क्लान्त पार्दैछ र अन्त्यमा एकदिन त्यसको पूर्ण संरचना भत्कनैपर्छ। त्यसपछि के? के हामी यसो भन्दै कराऔं, “परमेश्वरको मण्डली भत्कियो?” यस्तो मूर्ख उच्चारण टाढै रहोस्; परमेश्वरको मण्डली अति सुरक्षित छ। यसो नजर लगाउनुहोस्, त्यहाँ परमेश्वरको मण्डली आँधीबेह्रीले पूर्ण अन्तरीप (समुद्रमा देखिने अग्लो चट्टान) माथि खडा रहिरहेको छ, जहाँ समुद्र अटुट रूपमा उर्लेर आउँछ र हरेक छेऊबाट सँधै धक्का दिन्छ। तरैपनि त्यसले कुनै क्षतिको डर मान्दैन, किनभने त्यो कुनै माटेभीरमा बनाइएको छैन, तर चट्टानमाथि बनाइएको छ जसमाथि नरकका छालहरू विजयी हुनेछैनन्। जीवित परमेश्वरको मण्डली खडा रहनेछ (मत्ती १६:१८)।”
यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)