के सङ्गीत तटस्थ हुन्छ?

धुनिक ख्रीष्टिय सङ्गीत (Contemporary Christian Music, छोटकरीमा CCM, सीसीएम) लाई अँगाल्नेहरूको एउटा प्रमुख विश्वास यो छ कि सङ्गीत एक तटस्थ अथवा निष्पक्ष कुरा हो। यो न ता असल हुन्छ न ता खराब, न ठीक न बेठीक। सीसीएमका समर्थकहरू यो विश्वास गर्छन् कि केवल उचित “ख्रीष्टिय” शब्दहरू मात्र छनोट गरियो भने जुनसुकै खालको सङ्गीत स्वीकारयोग्य हुन्छ। शब्द तथा सन्देशलाई जुनसुकै सङ्गीतद्वारा व्यक्त गर्न सकिन्छ चाहे त्यो रक सङ्गीत वा र्‍याप सङ्गीत वा “ख्रीष्टियन” मेटल वा अन्य कुनै सङ्गीतद्वारा होस्। यदि कुनै खालको सङ्गीतलाई ठीक शब्दहरूसित मिलाइयो भने उक्त सङ्गीत स्वीकारयोग्य बन्छ किनकि मुख्य कुरा सन्देश हो र त्यसमा प्रयोजित सङ्गीतले केही फरक पार्ने होइन। उनीहरू भन्छन्, सङ्गीतले आराधनामा न केही थप्न सक्छ न आराधनामा ह्रास ल्याउन सक्छ। यो केवल तटस्थ हुन्छ।  सङ्गीतमा असल शब्दहरू मिलाइएको खण्डमा, मण्डलीमा जुनसुकै सङ्गीत प्रयोग गर्न सकिन्छ।

यस किसिमको विचारधारालाई एउटा विश्वासको स्वीकार नै बनाइएको छ जसलाई “ख्रीष्टिय रक सङ्गीतकारको स्वीकार” (Christian Rocker’s Creed) भनिन्छ। त्यसलाई यस प्रकारले व्यक्ति गरिएको छ: “हामी यी सत्यताहरू स्वयं-प्रमाणित भएको ठान्दछौं, कि सबै सङ्गीत बराबर रूपमा सृष्टि गरिएका हुन्। कुनै पनि सङ्गीत बजाउने कुनै पनि बाजा वा सङ्गीतको शैली आफैमा खराब हुँदैन। मानिसबाट प्रवाह हुने साङ्गितिक अभिव्यक्तिको विविधता हाम्रो स्वर्गीय पिताको अपरिमित सृजनशीलताको केवल एक प्रमाण हो” [Contemporary Christian Music, Nomember 1988, p. 12]। मेगा चर्च पास्टर रिक वारेन (Rick Warren) यस्तै दृष्टिकोण राख्छन्:

“साङ्गितिक शैलीहरूलाई “असल” वा “खराब” सङ्गीत भनेर न्याय गर्न सकिन्छ भन्ने विचारलाई म इन्कार गर्दछु। त्यो निर्णय कसले गर्ने? तपाईंलाई कस्तो प्रकारको सङ्गीत मन पर्छ भन्ने कुरा तपाईंको पृष्ठभूमि र संस्कृतिले निर्धारण गर्छ। सङ्गीत भनेको नोटहरू र तालहरूको मिलानबाहेक अरू केही होइन; गीतलाई आत्मिक बनाउने भनेको केवल शब्दहरूले हो। सङ्गीत आफैमा “ख्रीष्टिय” हुँदैन, केवल शब्दहरू मात्र ख्रीष्टिय हुन्छन्। बिनाशब्दको मैले कुनै एउटा धुन तपाईंको लागि बजाइदिएँ भने त्यो एउटा ख्रीष्टिय गीत हो कि होइन भनेर तपाईंले छुट्ट्याउन सक्नुहुन्न।” [Rick Warren, Purpose Drive Church, p. 281]

वर्षौं अगाडि एउटा निकै प्रभावकारी ख्रीष्टिय फिल्म निस्केको थियो जसको शीर्षक थियो “सो मेनी भ्वाइसेज”। उक्त फिल्म एउटा चिहानको दृश्यबाट सुरु हुन्छ जसले दर्शकको मनमा डर हालिदिन्छ। टाउकोदेखि पैतलासम्म ढाक्ने घुम्लुङ्ग गरी ओभरकोट ओढेको एकजना मानिस चिहान ढुङ्गाहरूका बीचमा हिँडिरहेको देखाइन्छ। उक्त दृश्य अँध्यारो छ, जताततै छायाँहरू छन्। पृष्ठभूमिमा बजिरहेको सङ्गीतले ‘लौ अब के हुने हो’ भन्ने डर र तनावको वातावरण सृजना गरेको छ। उक्त सङ्गीत बढ्दै बढ्दै चरम बिन्दुतिर उक्लँदै जान्छ र दर्शकहरूलाई यस्तो लाग्छ किअब कुनै पनि बेला एउटा कुनै नराम्रो घटना हुनेछ र सबैजना चिच्याउनेछन्! तर दृश्य निर्दोष किसिमले अन्त हुन्छ जब “भिलेन” ने आफ्‍नो घुम्टो उघार्छ र बच्चासित खेलेजस्तै गरी “बू” भन्छ र मुस्कुराउँछ!

तुरुन्तै त्यसपछि उही चिहानको दृश्य फेरि दोहोराएर देखान्छ। जीउ पूरै ढाकेर चिहानहरू भएको अँध्यारो ठाउँमा हिँडिरहेको मानिसको दृश्य फेरि देखाइन्छ। तर दोस्रो पटक देखाइँदा भने सङ्गीत अर्कै बजिरहेको छ। यस पटक रमाइलो मेलामा बजाइने सङ्गीत बजिरहेको छ जुन खालको सङ्गीत बच्चाहरूले सुन्छन् जब उनीहरू काठको घोडामा चढ्दै मेरि-गो-राउण्ड खेल्छन्। उक्त सङ्गीतले नयाँ मुड सृजना गरेको छ। दर्शकहरूले उही मान्छे चिहान-ढुङ्गाहरूका बीच हिँडिरहेको देख्छ तर यस पटक भिडियो डरलाग्दो बिलकुलै छैन। वास्तवमा त्यो हास्यास्पद देखिन्छ किनकि सङ्गीत उक्त दृश्यसित मेल खाइरहेको छैन। सङ्गीत डरलाग्दो र ‘अब के होला’ भन्ने भावना उत्पन्न गर्ने खालको छैन र दर्शकहरूलाई ज्यादै हाँस उठ्दो लाग्छ। भिडियोका दृश्यहरू डरलाग्दा भए तापनि श्रवणको सन्देश भिडियोको सन्देशभन्दा बढी प्रबल ठहरिन्छ अनि डरको सबै तत्त्व हटेर जान्छ। केवल सङ्गीत मात्र अर्कै बजाइएको थियो।

सङ्गीत आफैमा ज्यादै प्रभावशाली हुन्छ। शब्दबिना पनि त्यसले एउटा सन्देश व्यक्त गर्न सक्छ, भावनालाई आह्वान गर्न सक्छ र एउटा मुड वा मनस्थिति सृजना गर्न सक्छ।

जवान छँदा म विलियन टेल ओभर्चर (William Tell Overture) सुन्न मन पराउँथे। मलाई अचम्म लाग्थ्यो कि त्यो सुन्दै गर्दा मैले एउटा भयङ्कर आँधीबेरी देखेको जस्तो मलाई भान हुन्थ्यो र साथै आँधीपछिको शान्ति पनि। शब्दबिना नै यो सबै अनुभव हुन्थ्यो, केवल सङ्गीतद्वारा। यदि तपाईंले जोन फिलिप सूसा मार्च बजाउनुभयो भने मानिसहरूले एउटा देशभक्त जुलुसलाई कल्पना गर्नेछन् अनि सायद तिनीहरूले आफ्ना खुट्टाहरू समेत तालसितै बजार्न थाल्नेछन्! सङ्गीत यति प्रभावशाली हुन्छ कि दाऊदले आफ्‍नो वीणा बजाएर राजा शाऊलको पागलपनालाई मत्थर पार्न सक्यो र उसको मनमा विश्राम ल्याउन सक्यो (१ शमूएल १६)।

सङ्गीत तटस्थ हुन्छ भनेर विश्वास गर्न कसरी सकिन्छ र? गैर इसाईहरूले समेत यो कुरा सत्य होइन भनेर बुझेका छन्। यस युगका सन्तानहरू, उनीहरूको पुस्तामा, ज्योतिका सन्तानहरूभन्दा बढी बुद्धिमान् छन् (लूका १६:८)। यस युगका सन्तानहरूले सङ्गीतको शक्तिलाई बुझेका छन्। सङ्गीतले मानिसमाथि कस्तो प्रभाव पार्न सक्छ भनेर उनीहरू जान्दछन्।

अमेरिकामा राम्रो खालको डेन्टल क्लिनिकमा यस्तो सङ्गीत बजाइन्छ जुनचाहिँ शान्त गराउने आरामदायी खालको हुन्छ। त्यहाँका कर्मचारीहरूले बिरामी ग्राहकवर्गमा ठीक खालको मनस्थिति सृजना गराउन चाहन्छन् र उनीहरूलाई आफ्‍नो दाँत उखेल्नुपर्ने जस्तो असहज अनुभवको लागि तयार गराउन चाहन्छन्।

अमेरिका (सायद यूरोपमा पनि) राम्रा रेस्टुरेन्टका मालिकहरूले त्यहाँ कस्तो खालको सङ्गीत बजाउने भन्ने बारेमा होशियार हुन्छन् ताकि सही खालको वातावरण सृजना गरियोस् र उनीहरूका ग्राहकवर्गमा सही खालको मनस्थिति सृजना होस्। उनीहरू यो जान्दछन् कि शब्दबिना नै सङ्गीतले मानिसहरूमा प्रबल असर पार्दछ।

यदि कुनै आमाले आफ्‍नो सानो बच्चालाई सुताउन खोज्दैछिन् भने र उक्त उद्देश्यका निम्ति एउटा सङ्गीत बजाउने विचार गर्छिन् भने उनले सही छनोट गर्नुपर्ने हुन्छ किनभने कुनै सङ्गीत सुहाउँदो हुन्छ भने अर्को खालको सङ्गीत सुहाउँदो हुँदैन। शान्त, मधुर, ललबाई सङ्गीतले चमत्कारी काम गर्छ। आमाले ठूलोठूलो भोल्यूममा उत्तेजना उत्पन्न गराउने सङ्गीत कदापि प्रयोग गर्नेछैन।त्यस्तो खालको सङ्गीत त बरु पछि उसलाई निद्राबाट उठाउनुपर्दा प्रयोग गर्न सकिएला!

‘प्रार्थनाको समय के मीठो’ भन्ने भजनलाई विचार गरौं। शब्दबिना त्यसको केवल धुनमात्र बजाइयो भने पनि त्यसले एउटा चिन्तामग्न, आरामदायी र कोमल मनस्थिति व्यक्त गर्दछ। तर त्यसका शब्दहरूलाई बैण्डबाजाको मार्चको सङ्गीतमा अथवा रक सङ्गीतको छिटोछिटो बज्ने तालमा गाउन र बजाउन खोजियो भने त्यसले पूरै फरक मनस्थिति वा मुड सृजना गर्नेछ। मनस्थिति र मुड सङ्गीतमै हुन्छ अनि कुनै पनि असल रचनाकारले शब्दका सन्देशलाई सुहाउँदो मनस्थिति भएको सङ्गीतसित मिलाउन खोज्छ। त्यसैले ‘बढ्दै, बढ्दै जाऔं, पछि नहटौं’ भन्ने गीतको मनस्थिति एउटा मार्च परेडको मनस्थिति छ, मानौं सिपाहीहरू लडाइँमा जान लाग्दैछन्। उक्त गीतको सन्देशसित सङ्गीतको मनोभाव मिलेको छ। ‘सेना हामी ख्रीष्टका हौं, युद्ध गर्दै जाऔं’ भन्ने शब्दहरूलाई ‘प्रार्थनाको समय के मीठो’ को धुनमा गाउन खोजी हेर्नुहोस् त। उक्त सङ्गीतको मनस्थिति शब्दहरूको सन्देशलाई सुहाउँदैन। सङ्गीत आफैले एउटा मनस्थिति सृजना गर्दछ र एउटा सन्देश व्यक्त गर्दछ जो तटस्थ छैन।

विज्ञापनकर्ताले यो कुरा बुझेको हुन्छ कि सङ्गीत तटस्थ हुँदैन। ठीक खालको सङ्गीतले मान्छेको ध्यान खिच्न सक्छ र त्यसले विक्रीमा टेवा पुर्‍याउँछ। कस्ता सङ्गीतद्वारा श्रोतामा कस्ता प्रतिक्रियाहरू उत्पन्न गराउन सकिन्छ भन्ने कुरा उनीहरू जान्दछन् अनि कस्ता खालका सङ्गीतद्वारा सामान विक्री गर्न मदत मिल्न सक्छ र कस्ता खालका सङ्गीतले बाधा हुन सक्छ भनेरउनीहरू जान्दछन्।

यदि सङ्गीत तटस्थ कुरो हो भने किन त भट्टी वा नाइट क्लबभित्र कहिलेकहिँ पारम्पारिक ख्रीष्टिय सङ्गीत बजाउने नगरेको? उनीहरू कुन कुरा राम्ररी जान्दछन् भने त्यस्ता ठाउँहरूमा चाह गरिने साङ्गीतिक शैलीहरू अर्कै हुन्छन् जुन सङ्गीतहरूले उक्त व्यापारधन्दामा संलग्न शारिरीक क्रियाकलापलाई प्रोत्साहन दिने खालको कामुक वातावरण सृजना गर्दछन्।

संसारका रक सङ्गीतकारहरूले राम्ररी बुझेको कुरा हो यो: उनीहरूका सङ्गीत तटस्थ छैनन्। जीम्मी हेन्ड्रीक्सले रक सङ्गीतमा भएको सम्मोहक शक्ति (hypnotizing power) लाई जान्दथ्यो: “यसद्वारा मानिसहरूलाई सम्मोहित पार्न सकिन्छ…अनि उनीहरूलाई सबैभन्दा कमजोर बिन्दुमा पुर्‍याएपछि उनीहरूको सुक्ष्मचेतनाभित्र आफूले हुल्न चाहेको कुरा मजाले प्रचार गर्न सकिन्छ” (Life, Oct. 3, 1969, p. 74)। मदर्स अफ इन्भेन्शनका रक स्टार फ्रान्क जाप्पाले भन्यो, “रक सङ्गीत यौन हो। यसको ठूलो बीट शरीरको चालसित मिल्छ” (Life, June 28, 1968)। किस् ग्रुपको जीन सिम्मन्सले भन्यो, “रक भनेको एउटै कुराको बारेमा हो — यौन, १०० मेगाटन बमयुक्त यौन, अर्थात् त्यसको बीट!” (Entertainment Tonight, ABC, Dec 10, 1987)। ब्लन्डी रक ग्रुपको डेबी ह्यारीले भन्छिन्, “रक एण्ड रोल पूरै यौन हो। शत प्रतिशत यौन हो” (cited by Steve Peters, The Truth about Rock, p. 30)। एलेन ब्लूम (Allan Bloom) ले लेखे, “…रक सङ्गीतको केवल एउटै आह्वान छ, यौनइच्छाको बर्बर आह्वान—प्रेम होइन, एरोस होइन, तर अविकसित र अशिक्षित यौन इच्छा” (The Closing of the American Mind, p.73)। यी उद्दरणहरू पुराना हुन् तर तिनले के देखाउँछन् भने रक सङ्गीतको प्रारम्भिक चरणमा, रक सङ्गीत कुन कुरामा केन्द्रित छ भन्ने कुरा त्यसका सङ्गीतकारहरूले बुझेका थिए।

सङ्गीत यदि तटस्थ हुँदो हो त रक सङ्गीत मन पराउने व्यक्तिले त्यसलाई सजिलै छोड्न सक्थ्यो। जेफ गडविनको अवलोकनलाई विचार गर्नुहोस्: “सङ्गीत तटस्थ कुरा हो भनी ठान्ने कुनै पनि ‘ख्रीष्टिय’ रक स्टार वा फ्यानले एउटा सरल कुरालाई इमानदारपूर्वक विचार गरोस्: कसैलाई पनि तटस्थ सङ्गीतको नसा लाग्दैन। एउटा कुरा गरी हेर्नुहोस् न। अबको ३० दिनसम्म कुनै पनि रक सङ्गीत नसुनीकन वा नबजाईकन बिताउनुहोस्। प्रयास गर्नुहोस् इसाई रक फ्यानहरूहो। चाँडै नै तपाईंले आफूलाई तलतल लागेको महसुस हुनेछ, विथड्रलको अनुभव हुनेछ। रकसङ्गीत एउटा नसा हो! विश्वास लागेन? त्यो बिना ३० दिन बिताउनुहोस् त (What’s Wrong with Christian Rock? p. 38)।

सङ्गीत तटस्थ कुरा होइन भन्ने कुरा फिल्म बनाउनेहरूले बुझेका छन्। दर्शकको मनस्थितिलाई प्रभाव पार्ने काममा पृष्ठभूमिको सङ्गीत एउटा शक्तिशाली तत्त्व हो भन्ने कुरा उनीहरू जान्दछन्। उनीहरूले दर्शकको मुटुलाई ढुक-ढुक पार्न अथवा त्यसमा त्रास उत्पन्न गराउन सक्छन्। उनीहरूले दर्शकहरूलाई सङ्गीतले नै रुवाउन सक्छन्। यदि उनीहरूले कुनै भव्य सैन्य विजय देखाउँदैछन् भने कस्तो सङ्गीत बजाउनुपर्छ उनीहरू जान्दछन्। फिल्ममा यदि कुनै वियोग वा मृत्युको घटना छ भने कस्तो सङ्गीत बजाउनुपर्छ उनीहरू जान्दछन्। खुल्ला ठाउँमा बालबच्चाहरू खुशीसाथ खेल्दैछन् भने कस्तो सङ्गीत बजाउनुपर्छ उनीहरू जान्दछन्। तनाव र खतराको दृश्यले तनावपूर्ण सङ्गीतको माग गर्छ। रोमान्सले रोमान्सपूर्ण सङ्गीतको माग गर्छ।

सङ्गीतको रचना त्यसको विषयवस्तुसित मेल खानुपर्छ। सङ्गीतकारहरूले सङ्गीतद्वारा जस्तोसुकै मनस्थिति पनि सृजना गर्न सक्छन्। सङ्गीत तटस्थ कुरा होइन भन्ने कुरा उनीहरू जान्दछन्।कुनै एउटा उद्देश्यको लागि उनीहरूले जस्तो किसिमको मनस्थिति सृजना गर्न खोज्दैछन् त्यसको निम्ति कस्तो किसिमको सङ्गीत प्रयोग गर्दा ठीक हुन्छ भन्ने कुरा उनीहरू जान्दछन् र कस्तो किसिमको चाहिँ असुहाउँदो हुन्छ त्यो पनि जान्दछन्। सङ्गीतले भावनालाई फरक-फरक तरिकाले आह्वान गर्दछ भन्ने कुरा जानेका छन्।

अर्को रोचक अवलोकन यो पनि गर्न सकिन्छ कि प्राय:जसो संसारकै उच्च-प्रशंसित फिल्महरूमा समेत तिनका पृष्ठभूमिमा रक सङ्गीत बजाइँदैन। रक सङ्गीतको तारन्तार दोहोरिने र लगार्नेताल यस्तो हुन्छ कि त्यसले तनाव उत्पन्न गराउँछ र अस्थिरता सृजना गराउँछ। फिल्म निर्माताहरूले उब्जाउन खोजेका जस्ता भावनात्मक मुडहरू रक सङ्गीतले सृजना गराउन सक्दैन।

यसको इतिहासको सुरुबाट नै रक सङ्गीत अनैतिकता, गैर-वैवाहीक यौन, ड्रक्सको गौरवीकरण र अधिकारको विरुद्धमा विद्रोहसित आवद्ध भएको छ। “हाम्रो समाजमा दशकौं सम्मको रकसङ्गीतले त्यस किसिमको साङ्गीतिक शैलीलाई अनैतिकताको आयामले छाप मारेको छ। शब्दहरू बदल्दैमा र इसाई सङ्गीतकारहरूले त्यसको ठाउँ ओगट्दैमा त्यसको कलङ्क हटाउन सकिने कुरा होइन” [Dan Lucarini, Why I Left the Contemporary Christian Music Movement, p. 91]। जिउँदो र पवित्र परमेश्वरको आराधनाको लागि काम लाग्ने सङ्गीत एक किसिमको छ र काम नलाग्ने अर्को कसिमको छ। एक किसिमको सङ्गीतले ठीक मनस्थिति र ठीक वातावरण सृजना गराउँछ अनि अर्को कसिमको सङ्गीतले गराउँदैन। एक किसिमको सङ्गीत आदरभावको हुन्छ जसले हृदयलाई परमेश्वरतर्फ उचाल्छ र उक्त अवसरको मर्यादासित सुहाउँदो हुन्छ। सारा महिमाका परमेश्वरलाई महिमावान् सङ्गीत सुहाउँछ। हामीले परमेश्वरलाई पवित्रताको सुन्दरतामा आराधना गर्नुपर्छ; यस उद्देश्यका लागि एक किसिमको सङ्गीत सुहाउँदो हुन्छ भने अर्को किसमको हुँदैन।

त्यसमा जुनसुकै शब्दहरू जोडिए पनि रक सङ्गीत किन बेठीक छ? विभिन्नमध्ये यसका दुईटा समस्या निम्नअनुसार छन्:

१) रक सङ्गीतको ताल (rhythm/beat) ले सङ्गीतमाथि नियन्त्रण जमाउँछ वा हैकम चलाउँछ जसद्वारा मानिसको शारीरिक स्वभावलाई आह्वान गर्दछ। सबै सङ्गीतमा ताल हुन्छ र तालसङ्गीतको आवश्यक तत्त्व हो। “बढ्दै बढ्दै जाऔं” गीतमा निश्चित ताल रहेको छ (हरेक मेजरमा चार बीट छ)। उक्त गीतमा प्रयोजित तालले गीतका शब्द र सङ्गीतलाई सुहाउँदो रीतिले साथ दिन्छ। रक सङ्गीतमा भने तालले अधिपति नै जमाउँछ। फ्रान्क गार्लक (Frank Garlock) ले यो भने कि औसत रक ग्रुपबाट निस्कने आवाजमा ७०% बीट हुन्छ। ठूलो आवाजमा रक गीत बजिरहेको गाडीको नजिक तपाईं पुग्नुभएको छ? कतिपटक त तपाईंले केवल त्यसको बीट मात्र सुन्न सक्नुहुन्छ।

२) रक सङ्गीतको बीट अस्वाभाविक हुन्छ।

“येशू मलाई गर्छन् प्यार” भन्ने बालगीतलाई विचार गर्नुहोस्। यसमा बीट छ अनि त्यसको प्रमुख जोड हरेक मेजरको पहिलो बीटमा लाग्छ। यसको माने जोड यी स्वरहरूमा लाग्छन्: “ये” “ग” “यो” “बल”। साथै तेस्रो बीटमा हल्का जोड पनि लाग्छ (“म” “प्या” “स” “सार”)। यस किसिमको बीट स्वाभाविक बीट हो। रक गीतको बीट भने अफ बीटमा लाग्ने हुन्छ जसले गर्दा हरेकमेजरमा दोस्रो र चौथोमा कडा जोड दिइन्छ। यो अस्वाभाविक बीटले मानिसको शारीरिक स्वभावलाई आह्वान गर्छ र यसमा शारीरिक उत्तेजना उत्पन्न गर्ने झुकाव छ। नाइट क्लवमा रक गीतबजाइयो भने सङ्गीतको तालमा जीउहरू हल्लिन थाल्छन्। तर अर्कोतिर ख्रीष्टिय सङ्गीतले त सही सन्देश व्यक्त गर्न सही मनस्थिति सृजना गर्नुपर्छ। ईश्वरीय सङ्गीतले कस्तो खालकोप्रभाव पार्नुपर्छ भन्ने बारेमा डेविड क्लाउड (David Cloud) ले निम्न कुरा लेख्नुभएको छ:

  • ख्रीष्टिय सङ्गीतले गडबडको होइन तर शान्तिको बात गर्नुपर्छ (१ कोरिन्थी १४:३३)
  • ख्रीष्टिय सङ्गीतले विभाजनको होइन तर एकताको बात गर्नुपर्छ (१ कोरिन्थी १४:४०)
  • ख्रीष्टिय सङ्गीतले रूखोपनाको होइन तर कोमलताको बात गर्नुपर्छ (२ तिमोथी २:२४)
  • ख्रीष्टिय सङ्गीतले सांसारिकपनको होइन तर पवित्रताको बात गर्नुपर्छ (१ पत्रुस १:१५)
    ख्रीष्टिय सङ्गीतले अधिकारको विद्रोह गर्ने कुरा होइन तर अधीनतामा बस्ने बात गर्नुपर्छ (याकूब ४:७)
    ख्रीष्टिय सङ्गीतले घमन्डको होइन तर नम्रताको बात गर्नुपर्छ (१ पत्रुस ५:५)
  • ख्रीष्टिय सङ्गीतले कामुकताको होइन तर आत्मिकताको बात गर्नुपर्छ (१ पत्रुस २:५)
  • ख्रीष्टिय सङ्गीतले प्रश्न उब्जाउने बात होइन तर जवाफ प्रदान गर्ने बात गर्नुपर्छ (१ यूहन्ना ५:२०)
  • ख्रीष्टिय सङ्गीतले मनोरञ्जनको बात होइन तर आत्मिक उन्नतीको बात गर्नुपर्छ (१ कोरिन्थी १४:२६)

परमेश्वरको मण्डलीले जिउँदो परमेश्वरलाई दर्शाउनुपर्छ जो आफ्ना सबै मार्गहरूमा धर्मी र पवित्र हुनुहुन्छ। मण्डलीको उद्देश्य एउटा रक कन्सर्टलाई दर्शाउनु होइन। होइन, हामीले प्रभु येशूख्रीष्टलाई, एउटा मर्यादापूर्ण र आदरपूर्ण र आराधनापूर्ण तवरले, उहाँको व्यक्तित्वलाई दर्शाउनुपर्छ। “अब अनन्त राजालाई, अविनाशी, अदृश्य, एकमात्र बुद्धिमान् परमेश्वरलाई आदर र महिमा सदासर्वदा भइरहोस्! आमेन।”

साभार: Translated and adapted by Pradesh Shrestha from “Is Music Neutral” by George Zeller http://www.middletownbiblechurch.org/lochurch/musicneu.pdf

 

पिकनिक जाने कमिला

पिकनिक जाने कमिला

बालबालिका विशेष

हान् राजा सुलेमानले दुईओटा अवसरमा त्यो सानो कमिलातिर हाम्रो ध्यान आकर्षण गरेका छन् यस हेतुले कि हामीले त्यसबाट केही शिक्षारूपी फाइदा उठाउन सकौं। हितोपदेश ६:६ मा उनले लेख्छन्,

 “हे अल्छे, कमिलाकहाँ जा; त्यसका चालहरू विचार गर् र बुद्धिमान् बन्।”

अलि पछि गएर हितोपदेश ३०:२५ मा उनले लेख्छन्,

 “कमिला, जो बलियो जाति होइन, तर पनि ग्रीष्मऋतुमै आफ्नो खानेकुराको प्रबन्ध गर्छन्” 

यी बुद्धिमान र असल राजाले हामीलाई एउटा विद्यालयको विद्यार्थी जस्तो बनेर कमिलाकहाँ जान सल्लाह दिएकाले हामीएकछिन त्यसै गरौं। म निश्चित छु कि यो ज्यादै रोचक अनुभव हुनेछ।

कसैले यो भनेका छन् कि कमिला संसारकै सबभन्दा व्यस्त जाति हुन् तरैपनि हरेक पिकनिकमा टुप्लुक्क आइपुग्न ऊसित समय हुन्छ। कति चाँडै कमिलाहरूले खानेकुरा भेट्टाउँछन् – तिमीहरूले ख्याल गरेका छैनौ र? उनीहरू एक-एक पिकनिक स्पटमा पुगेकै हुन्छन्। उनीहरूले खानेकुरा भण्डारन गर्ने एक-एक ठाउँ पनि खोजेर छाडेकै हुन्छन्। उनीहरू मह र जाम मनपराउँछन्। उनीहरू चिनी र चास्नीमा रमाउँछन् र यस्ता चीजहरू उसदेखि जोगाएर राख्नु सजिलो छैन। उनीहरू आफ्ना सबै काम कडा परिश्रम र जाँगर लगाएर गर्छन्। तिनीहरू “दिन हुँदा-हुँदै” (यूहन्ना ९:४) काम गरिहाल्छन् र रातमा घर बस्छन्, जस्तो सबै ज्ञानी बाबुनानीहरूले पनि गर्नुपर्छ।

सुलेमानको अर्तीलाई मैले एक दिन अलिक गम्भीर रूपमा लिएँ। त्यसैले पिकनिक गर्न परिवारसित यात्रा गर्दै एउटा पार्कमा पुगें अनि साथमा एउटा आइग्लास पनि लगें। पर्याप्त खोजीपछिघाँसभित्र-भित्रै मैले कमिलाले बनाएको एउटा सानो बाटो भेट्टाएँ। उक्त बाटोको एकापट्टि भुइँमा लम्पसार परेर म श्रीमति कमिलाको बाटो हेरी बसें। कुरा के भने, पिकनिक जाने सबै कमिलास्त्री जाति हुन्छन्। योचाहिँ “काम जति दिदीबहिनीले गरून्” भन्ने जस्तो संसार पर्‍यो। पुरुष कमिला जमिनमुनि रहन्छन्। उनीहरू बाल-बच्चालाई हेर्छन् र घरको कामधाम गर्छन्। (अबसुलेमानले त त्यसो गरी बस्नु परेन। उनलाई सघाउने थुप्रै थिए।) म धेरै बेर पर्खीबस्नु परेन। एउटी रूपवती कमिला म्याम, नास्ताको खोजीमा बाटोमा खुरुखुरु हिँड्दै आइन्। मैले तुरुन्तैउसको बाटोको छेवैमा रोटीको एक टुक्रा राखें अनि मेरी सानी पाहुनाले छिट्टै त्यसलाई भेट्टाइन्। तिनले आफूले बोक्न सक्ने जति लिइन् र आफ्नो बहुमूल्य भारी बोकेर आफू आएकी बाटोहुँदै घर फर्कन थालिन्। एकैछिनमा अर्की कमिलाले तिनलाई भेटिन् अनि उक्त भेटघाट हुँदा मैले देखेको दृश्य मेरो निम्ति अति मनमोहक बन्यो। पहिलो कमिलाले आफ्नो रोटीको टुक्राकोभारी बिसाउँछिन् अनि आफ्ना अघिल्तिरका खुट्टाले दोस्रो कमिलाको जीउलाई हल्का छुन्छिन् र कुन तरिकाले हो कुन्नी आफूले भेट्टाएको कुरा कहाँबाट ल्याएकी हुँ भन्ने असल खबरकोजानकारी दिने काम गर्छिन् तिनले। मलाई के अचम्म लाग्यो भने भुइँमा पहिलो कमिलाले बिसाएकी रोटीको टुक्रालाई कब्जा गर्न दोस्रो कमिलाले कुनै प्रयास गरिनन्। कमिला नम्बर दुईलेरोटीको भारी बोकेर बाटो लाग्न थाल्दैगर्दा मैले दुईटैलाई अवलोकन गरें। प्रत्येक पटक ठीक उस्तै प्रदर्शनी दोहोरियो अनि प्रत्येक पटक भुइँमा बिसाइएको रोटीको टुक्रालाई हस्तक्षेपगरिएन।

यो कति असल पाठ हो, हाम्रा हृदयका लागि। कुखुरा वा कुकुर, सुँगुर वा बाँदर भएको भए, अर्कोले बिसाएको खानेकुराको टुक्रालाई त्यसले च्याप्प पारेर सुइँकुच्चा ठोक्छ। कमिलालेयस्तो शर्मलाग्दो साहस गर्न जानेकी छैन। उसले अर्काको अधिकारलाई आदर गर्छे। उसले सम्पत्तिमाथिको स्वामित्वलाई स्वीकार गर्छे। तिनीहरूले सबै स्वार्थलाई इन्कार गर्छन्।

ती कमिलाहरू बहुमूल्य भारी बोक्दै घरतिर फर्कैँदा गर्दा, उनीहरूले यति धेरैलाई आफूले भेट्टाएको कुराको बारेमा बताए कि चाँडै कमिलाको एउटा ताँती नै यात्रामा उत्रिएर निस्के अनि धेरैबेर नबित्दै रोटीको पुरै टुक्रा सुरक्षित रूपमा हिउँद ऋतुको लागि उनीहरूको जमीनमुनिका घर-घरमा भण्डारन गरिए।

त्यसरी नै परमेश्वरको असल सुसमाचार फैलिएँदै आएको छ। एकजना मान्छे जीवनको रोटीकहाँ आइपुग्छ र तृप्त हुने गरी खान्छ अनि त्यसपछि आफूले भेट्टाएको उदेकको धनको बारेमाआफूले भेटेका जति सबैलाई बताउन ऊ आफ्नो बाटोमा लाग्छ। मुखले र कलमले यो खबर फैलाइन्छ कि ख्रीष्ट येशू जीवनको रोटी हुनुहन्छ। तब हजारौं-हजारौं उहाँकहाँ आएका छन् र अरूपनि आउँदैछन् अनि यो थाहा पाउँदैछन् कि उनीहरूलाई आधा पनि बताइएको रहेनछ।

हरेक कमिलाका चार जोडी कान हुन्छन् (कोहीकोही बाबुहरूलाई यस्तो लाग्न सक्छ कि उनीहरूका अन्टीका १६ जोडी कान छन्)। एक जोडी कान अघिल्तिरका दुई खुट्टामा हुन्छन्, अर्कोजोडी पेटमा। अर्को जोडी छातीमा हुन्छन्, अनि अर्को जोडी टाउकोमा। परमेश्वरले अनुग्रह गरीकन यस सानो किरालाई असाधारण खालको सुन्ने क्षमता दिनुभएको छ किनकि ऊ यति सानोछ कि उसले धेरै पर देख्न सक्दैन जसले गर्दा उसले आफूलाई खतरादेखि जोगाउन सक्दैन। एउटा सानो कमिलाप्रति परमेश्वरको यस्तो वास्ता हामी देख्छौं भने त्यस्तै ठूलो हात्तीको निम्तिपनि उहाँको वास्ता छ। अनि उहाँले तिम्रो पनि वास्ता गर्नुहुन्छ, तिमी जति सानो भए पनि वा कमजोर भए पनि वा तिमीले आफूलाई म केही होइन जस्तो लागे पनि। उहाँले तिम्रो जीवनकोएक-एक पलको वास्ता गर्नुहुन्छ अनि उहाँ तिमीबाट तिम्रो हृदयको सम्पूर्ण भक्ति र भरोसा चाहनुहुन्छ।

कमिलाहरू गर्मी याममा ज्यादै परिश्रमी र जागरूक हुन्छन् किनभने उनीहरू यो जान्दछन् कि हिँउद ऋतु आउँदैछ र त्यसबेला पिकनिक सबै बन्द हुन्छन्। उनीहरू जमिनमा तुसारो वा हिउँ परेकोबेला बाहिर निस्कने आँट गर्दैनन्। कठाङ्ग्रिने ठण्डीमा घर छोडेर बाहिर जानु हुँदैन भन्ने कुरा उनीहरूलाई राम्ररी थाह छ। कुनै स्रोतबाट उनीहरूले थाह गरेका छन् कि बरफ जस्तै बनेको  खानेकुरालाई न बोक्न सकिन्छ, न त्यो टाँस्सिएको भुइँदेखि खुकुलो बनाई त्यसलाई थुत्न सकिन्छ। कहाँबाट सिके कमिलाहरूले यी आवश्यक ज्ञानहरू? के कुनै नास्तिक वा अविश्वासीलेकतै, कुनै बेला कमिलाहरूलाई भविष्यको बारेमा सिकाउने एउटा विद्यालय खोलेका थिए र? यी विद्वान मानिसहरू कृपया उठेर आईकन हामीलाई बताइदिन सक्नुहुन्छ कि कसरीकमिलाहरू यति बुद्धिमान बने? सायद, जब किमला, हात्ती, गोही, कुकुर जाति जब सुरुको कथित एककोषीय जीवबाट एकअर्काबाट छुट्टिए तब उनीहरूले आपसमा यसरी-यसरी हामीफरक-फरक तरिकाले जिउने गरौं भनेर काम विभाजन गरे र आफैलाई त्यसरी-त्यसरी जिउनलाई सिकाए कि? सत्य कसलाई थाह छ? हाम्रा केही महान् विश्वविद्यालयहरूबाट केहीप्राध्यापकहरूलाई जम्मा गरौं अनि उहाँहरूले यो रहस्यको गाँठो खोलिदऊन् नि। “के यस संसारको बुद्धिलाई परमेश्वरले मूर्ख तुल्याउनुभएन र?” (१ कोरिन्थी १:२०)  देशभरिका नियमकानूनबनाउनेहरू, हास्यव्यङ्ग छाँट्नेहरू, खेलकुदका विषयमा लेख्नेहरू, पैसा कमाउनेहरू र उनीहरूका साथमा सबै शिक्षकहरू र प्राध्यापकहरू अनि उनीहरूको साथमा सबै राजनैतिक नेताहरू रदेशमा भएका बाइबल विश्वास नगर्ने प्रचारक भनाउँदाहरू सबै मिलेर पनि एउटा मरेको कमिलालाई जीवन दिन सक्दैनन् न ता त्यसलाई कसरी जिउनुपर्छ भनेर सिकाउन नै सक्छन्। हाम्राएक जीवित परमेश्वर हुनुहुन्छ जो आफ्नो सिंहासनमाथि विराजमान हुनुहुन्छ अनि उहाँलाई यसको बारेमा सबै कुरा थाहा छ। उहाँले सक्नुहुन्छ र उहाँले गर्नु पनि हुन्छ।

परमेश्वर मोशासित खुशी हुनुभयो किनभने मोशाले आउनलागेको परमेश्वरको न्यायको भयानक खबरलाई विश्वास गर्‍यो र ढोकाको चौकोसमा पाठोको रगत छर्केर न्यायबाट बच्ने उपायलाईअपनायो। उसलाई यो थाह थियो कि नाश गर्ने परमेश्वरको दूत मध्यरातको समयमा मिश्रदेश भएर जानेछ र आ-आफ्नो घरको चौकोसमा रगत नछर्कनेको जेठाचाहिँ मारिनेछ। मोशालाई योथाहा थियो कि उसको आफ्नै घर पनि छोडिनेछैन। ऊ जतिसुकै महान् भए तापनि, ऊ जतिसुकै असल भए तापनि उसलाई यो थाह थियो कि उसको घरलाई रगतद्वारा सुरक्षित गरिनुपर्छ।उसले परमेश्वरलाई विश्वास गर्‍यो, एउटा पाठोको रगत बहायो अनि ढोकाको चौकोसमा रगत लगायो अनि उसको घर-परिवार बच्यो।

नूहसित पनि परमेश्वर खुशी हुनुभयो किनभने नूहले यो विश्वास गर्‍यो कि परमेश्वरको न्याय र क्रोध आउन लाग्दैछ र उसले त्यसको लागि तयारी गर्‍यो। उसले कमिलाले जस्तै गर्‍यो।आउनलागेको जलप्रलयका निम्ति उसले तयार गर्‍यो। उसले एउटा जहाज बनायो। उसले परमेश्वरको वचनमाथि विश्वास गर्‍यो र उसलाई दिइएको आज्ञा बमोजिम ऊ जहाजभित्र पस्यो।कमिलाले सिकाउने पाठ उसले सिकेको थियो।

लकडाउनको खबर जब प्रसारण हुन थालेको थियो तब धेरैले अघिबाटै चाहिने बस्तुको पुग्दो जोरजाम गर्न थाले। गाउँघरमा हिउँदको समयमा आउन लागेको वर्षा यामलाई पुग्ने गरीदाउराको जोहो गरिन्छ। शहरमा मानिसहरू जीवन बिमा किन्छन् र भविष्यको मृत्युका लागि तयारी गर्छन्। भविष्यमा आउने भू-कम्पबाट आफू बच्नलाई मान्छेले विशेष किसिमले घर निर्माणगर्छन्। आउन लागेको परमेश्वरको क्रोधबाट बच्न ख्रीष्ट येशू नै हाम्रो निम्ति एकमात्र शरणस्थान हुनुहुन्छ। बाबुनानीहरू हो, कमिला जस्तै बुद्धिमान हुनलाई म तिमीहरूलाई एकदम आग्रहगर्छु। केही बेरमा आउन लागेको परमेश्वरको न्यायको लागि अहिले नै तयार गर।

Translated and adapted by Pradesh Shrestha from Uncle Walter’s Animal Stories.

अचम्मको कुखुरा

कुखुराको पसिना आउँदैन। किन होला, बाबु नानीहरू, कहिल्यै सोचेका छौ? मैले सुनेअनुसार, कुखुराको जीउको तापक्रम प्राय: १०५ देखि १०७ डिग्री से० हुन्छ। हाम्रो चाहिँ ९८.६ डिग्री से० हुन्छ र त्योभन्दा बढी हुँदा हामीलाई पसिना आउन थाल्छ, तर कुखुरालाई भने आउँदैन। परमेश्वरले उसलाई त्यस्तै बनाउनुभयो किनभने कुखुरा यताउता गर्दा उसको जीउले जमिन झण्डै झण्डै छुन खोज्छ अनि गर्मीमा जमिन तात्छ अनि त्यसको जीउको तापक्रम हाम्रो जस्तो हुँदो हो त त्यसलाई निकै कष्ट पर्न जान्थ्यो।

तिमीलाई थाह छ? एउटा तेर्सो लट्ठामाथि कुखुरा टुक्रुक्क बस्न सक्छ अनि उसले आफ्‍नो टाउको पखेटाभित्र घुसारेर त्यहीँ रातभरि मज्जासित घुर्दै सुत्न सक्छ अनि त्यो खस्दा पनि खस्दैन।कसरी? तिमीले त्यसो गरी हेर न एक रात एउटा लट्ठामा टुक्रुक्क बसेर निदाउन खोज्न! हो, परमेश्वरले तिमीलाई कुखुरा जस्तो बनाउनुभएको छैन। के तिमीले कहिल्यै कुखुराको खुट्टालाई राम्ररी हेरेका छौ? छैन भने, त्यसो गर्नु राम्रो हुन्छ। कुनै बेला आमाले कुखुराको मासु पकाउनलाई त्यसलाई काटकुट गर्नुहुँदा, त्यसको घुँडालाई हेर जहाँ आमाले काट्नुहुन्छ र त्यस भागमा हुने एउटा सेतो, टल्कने नसालाई ख्याल गर। नसालाई तिमीले तान्यौ भने, कुखुराका औंलाहरू बन्द हुन्छन् अनि छोडिदियौ भने ती औंला खुल्छन्। कसरी?

सबै घर पालुवा चराहरू – कुखुरा, कनेरी चरा, रातो चरा, कालो चरा, रबिन चराका यस्तै बनोटका खुट्टा हुन्छन्। अघिल्तिरका तीनओटा औंलादेखिका नसाहरू उसको पैतालाको बीच भागसम्म पुगेका हुन्छन् र पछिल्तिरको औंलाको नसा पैतालाको त्यही बीच भागसम्म पुगेको हुन्छ अनि त्यहाँ ती नसाहरू जोडिन्छन् र एउटै नसा बन्छन्। योचाहिँ घुमेर उसको गोलीगाँठोको अघिल्तिर आइपुग्छ, त्यो एउटा बाटो भएर मास्तिर गएको हुन्छ र एउटा नली भएर घुँडालाई पार गरेको हुन्छ र त्यसपछि त्यसको फिलामाथि फैलिएर गएको हुन्छ। जब कुखुरा बस्छ, त्यसको नसा तन्किन्छ र त्यसले औंलाहरूलाई तान्छ र बन्द गरिदिन्छ। कुखुराले अब चाहेर पनि औंलाहरूलाई खोल्न सक्दैन, औंला खोल्न त्यो उठ्नैपर्छ। जब त्यो उठ्छ हुन्छ नसा तन्किन छोड्छ अनि औंलाहरू खुल्न सक्छन्। कुखुराले आफू बसिरहेको ठाउँमा केवल बसिराख्नु मात्र पर्छ र हावाहुरी चले पनि उसलाई उडाएर लैजान सक्दैन!

जङ्गली, मांसहारी चराहरू यस्ता हुँदैनन्। चील, बाज र लाटो कोसेरोका नङ्रा हुन्छन् जसलाई उनीहरूले आफ्‍नो जीउदेखि सीधा पारेर पूरै तन्काउँदा पनि बन्द हुने गर्दैनन्। परमेश्वरले तिनीहरूलाई त्यस्तै बनाउनुभयो यस हेतुले कि तिनीहरूले स‍ाना-साना जन्तुलाई च्याप्प समात्न सकून् र पक्रेपछि उनीहरूले त्यसलाई आफूबाट अलिक पर रहने गरी त्यसलाई बलियोसँग समातिराख्न सक्छन्। यदि ती नङ्रा भएका आफ्‍ना औंलाहरूलाई बन्द गर्नलाई त्यसले खुट्टालाई आफ्‍नो जीउतिर तान्नुपर्ने हुँदो हो त त्यसले बोक्दै गरेको सानो खरायो वा सर्प वा जेसुकै होस्, त्यसले उसलाई टोक्न सक्थ्यो अनि त्यो चील वा बाजको छातीलाई च्यातिदिन सक्थ्यो। परमेश्वर ज्यादै बुद्धिमानी र असल हुनुहुन्छ। आफ्नो सृष्टिले जस्तो जीवन जिएको चाहनुहुन्छ त्यस्तै जीवन जिउन सकोस् भनेर उहाँले सबै प्राणीहरूलाई ठिक-ठिक तरिकाले मिलाउन जान्नुहुन्छ। अनि बाबुनानीहरूहो, यसैकारण तिमीले आफ्‍नो जीवन र हृदय लिएर उहाँकहाँ आएको र उहाँमाथि भरोसा गरेको उहाँ चाहनुहुन्छ। तब तिमीले जस्तो किसिमको जीवन जिएको उहाँ चाहनुहुन्छ त्यस्तो जीवन जिउन सक्ने तिमीलाई बनाउनुहुन्छ। “म ख्रीष्टसित क्रूसमा टाँगिएको छु तरै पनि जिउँछु; त्यसो भए पनि म ता होइन तर ख्रीष्ट मभित्र जिउनुहुनछ; अनि जुन जीवन म अहिले शरीरमा जिउँछु, त्यो म परमेश्वरको पुत्रमाथिको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो” (गलाती २:२०)।

भाले कुखुरा विचित्र पंक्षी हो, होइन र? तर उनीहरूका केही अति राम्रा कुरा छन् जो बाबुनानीहरूले देखासिकी गर्नुपर्छ। पहिलो त, उनीहरू बिहान सबेरै उठ्छन् र परमेश्वरले उसलाई दिनुभएको कुकुरी-काँ गरी बास्ने काम गर्न थाल्छन्। आठ बजेसम्म सुतेर बस्ने भाले कतै कसैले देखेको छ र?

भाले कुखुराले “म कोइली चरीले जस्तो गाउन सक्दिनँ, त्यसैले म अब बास्नै छोड्छु” भनेर भन्दैन। उसले एउटा जुरेली वा बुलबुल चरोको देखासिकी गर्न खोज्दा पनि खोज्दैन। उसले आफूले जेगर्न सक्छ त्यही काम उसले सक्दो राम्रोसित गरिरहन्छ।

उसले यत्नपूर्वक यस्तो काम गर्छ जसको लागि उसले कहिल्यै प्रशंसा पाउँदैन। के तिमीले कसैले कुखुराको भालेलाई उसले राम्ररी कुकुरी-काँ गर्दै बासेको हुनाले उसलाई प्रशंसा गरिरेहको देखेका छौ। तर प्रशंसा पाएन भन्दैमा कुखुराको भाले बास्न छोड्दैन।

कुखुराको भालेको काम रमाइलो काम त होइन। उसको काम सुतेकाहरूलाई उठाउनु हो। त्यो बारम्बार गरिनुपर्ने काम हो तर यो सेवा गरिदिनेलाई कसैले धन्यवाद दिँदैन।

बास्ने भालेले असल खबर ल्याउँदछ। उसले हामीलाई भन्छ, एउटा नयाँ दिन आइपुग्यो जुन दिन हामीले हाम्रा प्रभुलाई चिन्न सकौं र उहाँको सेवा गर्न सकौं। भाले भरपर्दो हुन्छ, ऊ दृढतापूर्वक लागिरहन्छ। ऊ विज्ञापन गर्ने काममा अति उत्तम छ। उसले आफ्‍ना सहकर्मीहरूले खोरमा के कसो गर्दैछन् भन्ने कुरा बताउने गर्छन् किनभने कुखुरीले अण्डा पार्छे र भालेले त्यसको बारेमा कुकुरी-काँ गर्छ।

आफूले बारम्बार एउटै काम कति गर्नुपरेको भनेर कुखुराको भालेले कहिल्यै गुनासो गर्दैन। केवल उसले बास्ने काम गर्छ — ऊ बिहान बास्छ अनि दिँउसो, बिहानको नास्ता अगाडि अनि साँझको खाना खाएपछि — तर उसले खुशीसाथ त्यो गर्छ। नानीहरूहो, तिमीहरूले सिक्नुपर्ने यी असल पाठहरू हुन् अनि म आशा गर्छु तिमीहरूले यो सिक्नेछौ।

मैले तिमीहरूलाई कुखुराको अण्डाको बारेमा केही कुरा बताउनुपर्छ। तिमीले यदि एउटा अण्डालाई प्लेटमाथि वा टेबुलमाथि राखेर फननन्न घुमाइदियौ भने पनि, अथवा अरू जेसुकै गर्‍यो भनेपनि, तिमीले अण्डाभित्रको पहेंलो भागलाई भित्रपट्टि रहेको त्यसको ठाउँबाट त्यसलाई उलटपुलट हुने गरी सार्न सक्दैनौ। परमेश्वरले पहेंलोलाई यसरी बनाउनुभएको छ कि त्यो जहिले पनि अण्डाको बोक्राभित्र आफ्‍नो ठिक ठाउँमै बसिरहन्छ। तिमीले अण्डा फुटाउँदा, अथवा तिम्रो आमाले फुटाउनुहुँदा, भित्रपट्टिको केही बाक्लो र्‍यालजस्तो भागलाई उहाँको औंलाले सफा गरे जस्तो गर्दै स्वाट्ट निकाल्नुहुन्छ। यसरी निकालिएको भाग चाहिँ एक किसिमको डोरीजस्तो हो जोचाहिँ पहेंलो भागको एकातिर टाँसिएको हुन्छ र साथै त्यो बोक्रापट्टि पनि टाँसिएको हुन्छ। यसले अण्डाको पहेंलो भागलाई आफ्‍नै ठाउँमा राखिराख्छ।

अण्डाको पहेंलो भागको बनोट पानी जहाजको जस्तै हुन्छ। त्यसको तल्लो भाग भारी हुन्छ भने त्यसको माथिल्लो भाग हलुका। त्यसैले अण्डाको पहेंलो त्यसलाई वरिपरि घेर्ने सेतोको बीचमा निरन्तर तैरिरहन्छ। पहेंलो भागको यो बनोटले र साथै मैले अघि बताएको त्यो डोरीले, पहेंलोलाई अण्डाभित्र सुल्टो गरी झुण्ड्याइराख्छ, अण्डालाई जतातिर घुमाए पनि वा फर्काए पनि, चाहे मान्छेका औंलाहरूले वा कुखुरी माउले। परमेश्वरले अण्डालाई किन यसरी बनाउनुभयो भने अण्डाभित्र हुने जीवनको कण पहेंलोको सतहमाथि हुन्छ अनि त्यसलाई कुखुरी माउको छातीको नजीकमा राखिनुपर्छ ताकी कुखुरीको शरीरको तापले त्यो चल्ला बढ्न सकोस्। हामीले यहाँ फेरि देख्छौं स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरको अचम्मको बुद्धि।

स्वर्गमा जिउनुहुने जीवनका प्रभुले तिमीलाई एउटा अति नै आशिषमय जीवन जिउन सहायता गर्नुहुनेछ। जब तिमीले प्रभु येशूलाई लिन्छौ तब ख्रीष्टियन जीवन जिउन र बाइबलमा देखाइएको परमेश्वरको इच्छा पालन गर्न तिमीले सजिलो भएको महसुस गर्नेछौ। बाइबलमा यूहन्ना ४:१४ मा पल्टाएर पढौं। यो जिउँदो पानी भनेको त्यो आशिषले भरिएको अनन्त जीवन हो जुनचाहिँ मुक्तिदाता प्रभु येशूले तिम्रो हृदयभित्र हालिदिनुहुन्छ जब तिमी विश्वासद्वारा उहाँकहाँ आउँछौ।

जब अण्डाभित्र चल्ला बन्ने काम हुन्छ, चल्लाको नाक सधैं अण्डाको फराकिलो पट्टिभित्र भएको हावा भएको सानो कोठामा पर्ने गरीकन बन्दछ। कुखुरा पाल्ने मान्छेलाई सोध्न सकिन्छ, “के तपाईंले कहिल्यै चल्ला उसको नाक अण्डाको साँघुरो भागतिर फर्केर बसेको देख्नुभएको छ?” कसैले त्यस्तो अण्डा भेट्टाउन सक्दैन। यसको कारण छ। यसले फेरि परमेश्वरको बुद्धि देखाउँछ रउहाँ कति असल हुनुहुन्छ भन्ने देखाउँछ। अण्डाको बोक्रा फराकिलो भागपट्टिको तुलनामा साँघुरो भागपट्टि धेरै बाक्लो हुन्छ। यसैले गर्दा चल्लाको नाक फराकिलो भागपट्टि फर्केको हुन्छ जहाँ बोक्रा पातलो हुन्छ। तब, जब चल्ला निस्कन चाहन्छ उसलाई यो फराकिलो पट्टिको बोक्रा फुटाउन गाह्रो पर्दैन। बाक्लो र कडा बोक्रा भएको साँघुरो पट्टिको बोक्रा फुटाएर बाहिर निस्कनुपर्ने हुँदो हो त उसलाई निकै साह्रो-गाह्रो पर्नेथ्यो। चल्लाको चुच्चो ज्यादै नरम हुन्छ। परमेश्वरले चल्लालाई एउटा सानो हतियार नदिनुभएको भए चल्लाले बोक्रा फुटाउनै सक्दैनथ्यो र बाहिर निस्कनै सक्दैथ्यो। प्रभुले अनौठो तरिकाले त्यो चल्लाको नरम चुच्चुको टुप्पामाथि एउटा ज्यादै कडा कोन उम्रन दिनुहुन्छ। यो सानो हतियार अण्डाको बोक्रालाई फुटाउन सक्ने जति कडा हुन्छ। त्योचल्ला बोक्राभित्रबाट बाहिर ननिस्कुन्जेल त्यसको नरम चुच्चोलाई उक्त कडा वस्तुले ढाकिदिन्छ। चल्ला बाहिर निस्केपछि, उक्त सानो कोन, जो झण्डै हड्डीजस्तै कडा हुन्छ, त्यो चल्लाको नाकबाट खस्छ, किनभने चुच्चो चाँडै नै कडा हुँदै जान्छ र उसलाई त्यो कोनको अबउसो आवश्यक पर्नेछैन। साथै, त्यो सानो कोन रहिहँदो हो त चल्लाले आफ्‍नो चुच्चो खोल्नै नसक्ने हुन्थ्यो अनि उसले खान सक्दैनथ्यो। कहिलेकाहिँ त्यो यति कस्सिएको हुन्छ कि कुखुरा पाल्नेले उसको औंलाले त्यसलाई कोट्याएर फाल्नुपर्ने हुन्छ। कुखुराको चल्लाको जीवनको लागि यस्तो उदेकको व्यवस्था गरिदिनुहुने उदेकको परमेश्वर उही परमेश्वर हुनुहुन्छ जसले तिम्रो जीवनको निम्ति व्यवस्था गरिदिन चाहनुहुन्छ।

चल्ला अण्डाबाट निस्कनुभन्दा दुई दिन अगाडि उसले सास फेर्न थाल्छ। हावा भएको त्यो सानो कोठाभित्र उसलाई ठिक दुई दिनसम्म सास फेर्न पुग्ने हावा हुन्छ। अनि जब उसले त्यहाँ भएको हावाको अन्तिम सास तान्छ र त्यो खाली ठाउँको हावा अब सक्किन्छ, अनि फेरि त्यसले सास तान्न खोज्छ र छटपटाएर त्यसले मुन्टोले झट्का दिन थाल्छ अनि उसले सास फेर्न खोज्दाखोज्दै उसले बोक्रा फुटाउँछ – अनि ऊ एउटा ठूलो नयाँ संसारमा निस्केर आउँछ।

परमेश्वरले कुखुराले जे-जे गर्नलाई बनाउनुभयो ठिक त्यही-त्यही कुरा उनीहरू गर्छन्। अनि प्रिय बाबुनानीहरू हो, तिमीहरूले पनि त्यसै गर्छौ भन्ने म आशा गर्छु। येशूले भन्नुभयो, “हे सबै मेहनत गर्ने र भारीले दबिएकाहरूहो, मकहाँ आऊ र म तिमीलाई विश्राम दिनेछु” (मत्ती ११:२८)। यही मुक्तिदातामाथि आफूले पक्का गरी भरोसा गर अनि उहाँले तिमीलाई यस जीवनभरि र त्यसपछिको जीवनमा पनि सुरक्षित राख्नुहुनेछ।

Translated by Pradesh Shrestha from Uncle Walter’s Animal Stories. 

केटो कसरी बेइमानी बन्न सिक्यो

“धोका नखाओ, खराब सङ्गतहरूले असल चरित्रहरू बिगार्छन्”

(१ कोरिन्थी १५:३३)

“सच्चाइसँग व्यवहार गर्नेहरू उहाँका आनन्द हुन्”

(हितोपदेश १२:२२)

“उत्तम, तिमीले बिलको हिसाब चेक गर्‍यौ?”

“हजुर, चेक गरें, सर।”

“हिसाबमा कुनै गल्ती छ?”

“मैले दुइटा गल्ती भेटें, सर।”

“ए हो? लेऊ त, म हेर्छु।”

केटोले आफ्‍नो मालिकको हातमा एउटा लामो हिसाब-किताबको कागत थमायो जुन चाहिँ जाँच्नको लागि उसको डेस्कमा छोडिएको थियो।

“यहाँ हिसाब चेक गर्दा उनीहरूले हामीसित लिनुपर्ने रकममा पाँच हजार रूपियाँ छुटेको छ। अनि तलतिर फेरि अर्को पाँच हजार रूपियाँको गल्ती छ।”

“त्यो पनि छुटेको?”

“हजुर, सर।”

त्यो व्यापारी मान्छे यसरी मुस्कुरायो कि त्यो देख्दा केटोलाई अनौठो लाग्यो।

“दस हजार रूपियाँ घाटा खाने भए तिनीहरू,” उसले आश्चर्य मान्दै र खुशी पनि हुँदै भन्यो। “खूब भरपर्दा अकाउन्टेटहरू रहेछन् तिनीहरूका!”

“म गल्तीलाई सच्च्याइदिऊँ, सर?” केटोले सोध्यो।

“पर्दैन। आफ्‍नो गल्ती आफैं सच्च्याऊन् उनीहरूले। अर्काको हिसाब-किताब हेरिदिने काम हाम्रो होइन,” व्यापारीले जवाफ दियो। “जतिबेला पत्ता लाउँछन्, लाउँछन् उनीहरूले। अनि त्यतिबेलै सच्च्याऔंला। अहिलेलाई यो दस हजार हाम्रै आम्दानी गनिन्छ।”

सोच्दै नसोचेको यस्तो जवाफ सुन्दा, त्यो केटोको कमलो मन झसङ्ग झस्क्यो। ऊ एउटी गरीब विधवाको छोरो थियो जसले उसलाई यो सिकाउनुभएको थियो कि मान्छेको कर्तव्य भनेको सही काम गर्नु हो अनि सदा इमानदार रहनु नै सर्वोत्तम मार्ग हो।

उत्तम यहाँ काम गर्न आएको केही महिना मात्र भएको थियो। हरिकुमार साहु उत्तमको बुवाको पुरानो साथी थियो जसलाई बुवाले एकदम राम्रो मान्छे मान्नुहुन्थ्यो। त्यसैले उत्तमले साहुलाई एउटा आदर्श व्यक्तिको रूपमा हेर्ने गर्थ्यो। जब हरिकुमार साहुले उसलाई आफ्‍नो पसलमा काम गर्न राख्ने भयो, केटोलाई यस्तो लाग्यो कि अब उसको भविष्य बन्ने भयो।

“आफ्‍नो गल्ती आफैं सच्च्याऊन् उनीहरूले।” उत्तमको मनमा यस कुराले बलियो छाप पार्‍यो। हरिकुमार साहुको यो भनाइ पहिलो पटक सुन्दा अनि त्यसको तात्पर्य बुझ्दा उत्तम यति झस्केको थियो कि उसलाई साहुको यस्तो विचार रहेछ भनेर विश्वासै गर्न गाह्रो परेको थियो। तर मनमनै त्यो भनाइलाई ओल्टाइपल्टाइ सोच्दै जाँदा अनि उसकी आमाले साहुलाई धेरै ठूलो मान गर्नुभएको हुनाले, उसले यो सोच्न थाल्यो कि सायद व्यापारमा त्यो सही नै होला। आफ्नो हेराइमा हरिकुमार साहु खराब काम गर्ने मान्छे जस्तो त लागेन उसलाई।

त्यो बिल चेक गरेको केही दिनपछि त्यो बिल पठाउने होलसेल पसलबाट पैसा उठाउनलाई एकजना कर्मचारी आयो। केटो त्यहीँ थियो र हरिकुमार साहुले हिसाबमा गल्ती भएको कुरालाई निकाल्छ कि भनेर ऊ एकदम चासो लिएर हेर्‍यो। तर साहुले त्यसको कुरै गरेन। बिल अनुसारको एउटा चेक लेखेर दिइयो र त्यसको भरपाई रसिद लिइयो।

“यो ठिक हो र?” उत्तमले आफैलाई प्रश्न गर्‍यो। उसको विवेकले भन्यो, “होइन।” उसको मालिकको त्यो व्यवहारले उसको मनलाई आश्चर्यचकित पार्‍यो।

“व्यापारको तरिका यस्तै हुन सक्छ” — उसले आफूलाई मनमनै भन्यो — “तर यो इमानदार  काम जस्तो त देखिँदैन। उहाँले यस्तो गर्नुहोला भनेर मैले सोचेकै थिइनँ।”

हरिकुमार साहुले ऊसित गर्ने व्यवहार यस्तो थियो कि केटोको मन साहुप्रति हुरुक्कै भएको थियो। त्यसैले साहुले गरेको जुनसुकै कामकुरालाई पनि स्वभावैले उसले सक्दो सकारात्मक ढङ्गमा लिने गर्थ्यो।

जतिखेर आफू हरिकुमार साहुको पसलमा जागिर खान पाएकोले आफूलाई भाग्यमानी सम्झन्थ्यो, त्यतिखेर उसको मनमा यो विचार पनि आउने गर्थ्यो — “साहुले त्यो गल्तीलाई सच्च्याएको भए हुन्थ्यो। त्यो ठिक त देखिँदैन, तर सायद व्यापारमा गर्नुपर्ने यस्तै होला।”

ऊ एक दिन बैंक गयो। एउटा चेक साटेर पैसा निकाल्नुपरेको थियो। पैसा गनेर हेर्दा त बैंकको मान्छेले उसलाई पन्ध्र हजार रूपियाँ बढी दिएको रहेछ। त्यसैले ऊ काउन्टरमा फेरि फर्केर गयो र बैंकको खजाञ्चीको गल्ती बताउँदै त्यो पैसा फिर्ता दियो। खजाञ्चीले उसलाई धन्यवाद दियो। ऊ आफ्‍नो मनमा ‘मैले ठिक गरें’ भन्ने असल विवेक लिएर आफू काम गर्ने पसलमा फर्क्यो

“बैंकको मान्छेले मलाई पन्ध्र हजार रूपियाँ बढी भुक्तानी गरेको थियो,” पैसा उहाँको हातमा थमाउँदै उसले हरिकुमार साहुलाई भन्यो।

“ए, हो?” साहुले भन्यो, अनुहार उज्यालो पार्दै अनि हतार‍-हतार बैंकका नोटहरू गन्यो।

औंलाले अन्तिम नोट गनिसक्दा साहुको अनुहारबाट त्यो क्षणिक उज्यालो हराइसकेको थियो। “छैन गल्ती यसमा।” साहुको स्वर अलिक निराश सुनिन्थ्यो।

“ए, त्यो पन्ध्र हजार त मैले फिर्ता दिएँ नि। त्यो ठिक थिएन र?”

“कस्तो मूर्ख!” हरिकुमार साहुँ जङ्गियो।

“तिमीलाई थाह छैन बैंकका गल्तीहरू कहिल्यै सच्च्याइँदैनन् भनेर? बैंकले तिमीलाई पन्ध्र हजार कम दिएको भए र तिमीले ख्याल नगरेको भए, उसले त्यो कहाँ सच्च्याउँथ्यो र?”

साहुको हप्कीले उत्तमको मुखै रातो भएर आयो। प्राय: अपराध गर्दा भन्दा भुलचुक गर्न पुग्दा बढी शर्म लाग्ने हुन्छ। उक्त घटनामा केटोलाई आफूले गरेको कामको निम्ति एक किसिमको पछुतो लाग्यो किनभने उक्त कामलाई हरिकुमार साहुले मूर्ख भन्यो अनि उसले यो अठोट गर्‍यो कि अबदेखि उसो बैंकले यदि उसलाई एक लाख रूपियाँ बढी भुक्तानी गरे पनि उसले त्यो पैसा थपक्क आफ्‍नो मालिकलाई बुझाउनुपर्छ अनि त्यो पैसा साहुले जे जस्तो गर्नुहुन्छ त्यो उहाँकै तजबिजमा छोडिदिनुपर्छ।

“आफ्‍ना गल्तीका लागि आफै होशियार होऊन्,” हरिकुमार साहुले भन्यो।

यी कुराहरूलाई उत्तमले आफ्‍नो हृदयमा निकै सोच्यो। यी कुराले उसलाई यति गहिरो छाप पार्‍यो कि त्यो नमेटिने गरी उसको हृदयमा बस्यो र उसले बिर्सनै नसिकने भयो। “यो ठिकै हुन सक्छ,” उसले भन्यो, तर उसलाई पूरै सन्तुष्ट त लागेन।

यो अन्तिम घटना घटेको एक-दुई महिनापछि, उत्तमले महिना मरेपछिको आफ्‍नो तलब थाप्यो र गन्यो जुनचाहिँ उसले हरिकुमार साहुको हातबाट भर्खेरै पाएको थियो। उसले यो देख्यो कि उसलाई पचास रूपियाँ बढी तिरिएको रहेछ।

उसको मनको पहिलो भावना त यो थियो कि उसले यो पचास रूपियाँ आफ्‍नो मालिकलाई फिर्ता दिनुपर्छ, अनि उसको मुखबाट, “तपाईंले मलाई पचास रूपियाँ बढी दिनुभयो, सर” भन्ने शब्दहरू निस्कनै लागेका थिए, जब उसले बिर्सन नसकेका ती शब्दहरू “आफ्‍ना गल्तीहरू आफैं सच्च्याऊन् मानिसहरूले,” भनेर उसलाई झल्याँस्स सम्झना आयो जसले गर्दा ऊ हिचकिचायो। खराब कुरासित सङ्गत गर्नु भनेको त्यसको वशमा पर्नु हो।

“यस बारेमा मैले सोच्नुपर्छ,” त्यो पैसालाई खल्तीमा हाल्दै उत्तमले मनमनै भन्यो। “यदि एउटा विषयमा त्यो ठिक हो भने अर्को विषयमा पनि त्यो ठिकै हुनुपर्छ। हरिकुमार साहुले अर्काको गल्तीले आफूलाई फाइदा हुँदा त्यसलाई सच्च्याउनुहुन्न भने यही नियमअनुसार अब उहाँको गल्तीले मलाई फाइदा हुँदा मैले नसच्च्याएकोमा उहाँले गुनासो गर्न त मिल्दैन।”

तर केटोलाई शान्ति त अलिकति पनि थिएन। उसलाई यो लाग्यो कि त्यो पचास रूपियाँ आफूले राख्नु भनेको बेइमानी काम हो। तर त्यो फिर्ता दिने निर्णय गर्न उसले सकिरहेकै थिएन। अहँ, त्यतिखेर निर्णय गर्नै सकेन।

आखिरमा उत्तमले त्यो पचास रूपियाँ फर्ता दिएन तर त्यसलाई आफ्‍नो इच्छाअनुसार खर्च गर्‍यो। उसले यो गरिसकेपछि एक्कासी उसलाई यस्तो लाग्यो कि सायद हरिकुमार साहुले उसलाई जाँच्नलाई भनेर त्यसो गरेको होला। तब उसलाई फिक्री लाग्न थाल्यो र ऊ अशान्ति र बेचैनीले भरियो।

यसको केही समय नबित्दै हरिकुमार साहुले त्यही गल्ती फेरि दोहोर्‍यायो। फेरि उत्तमले त्यो पचास रूपियाँ आफूसित राख्यो अनि यसपालि उसलाई अस्ति जस्तो गाह्रो लागेन। चरित्र बिग्रने बाटो ओरालो बाटो हो। एकचोटीको पापले फेरि पाप गर्न सजिलो बनाउँछ।

“आफ्‍नो गल्ती उहाँ आफैले सच्च्याउनुभएको होस्,” उसले दृढतापूर्वक भन्यो। “उहाँले अरूसित व्यवहार गर्ने सिद्धान्त यही हो, अनि उहाँले चलाउनुभएको नोट उहाँलाई नै फिर्ता आइपुग्दा उहाँले गुनासो गर्न त मिल्दैन। मैल मात्र पचास रूपियाँ चाहेको हुँ।”

त्यस समयदेखि उत्तमको असल नैतिक भावनाको धार बोधो भएर गयो अनि उसको विवेकले उसलाई अब पहिला जस्तो सताउन छोड्यो। उसले आफूभित्र एउटा लालची आत्मालाई पालनपोषण गर्न थाल्यो जुनचाहिँ सबैको हृदयमा हुन्छ जबसम्म त्यो ख्रीष्टको अनुग्रहले वशमा ल्याइँदैन। चाँडै नै उसले त्यस्ता कुराहरू आफूसित भइदिए हुन्थ्यो भनेर इच्छा गर्न थाल्यो जुन कुराहरू खरिद गर्न उसित क्षमता थिएन।

उत्तमसित व्यापार गर्ने खुबी थियो। यो देखेर हरिकुमार साहु खुशी थियो। उसले यो देख्यो कि यो जवानसित तीष्ण बुद्धि छ, ऊ मेहनती छ, र ग्राहकहरूसित व्यवहार गर्न सिपालु छ। त्यसैले साहुले छिटोछिटो उसको पद बढाइदियो अनि ऊ अठार वर्ष नपुग्दै त्यो पसलमा सबभन्दा जिम्मेवार पद उसकै भयो।

तर उत्तमले आफ्‍नो मालिकबाट व्यापार गर्ने सीप सिक्नु बाहेक अरू कुरा पनि सिकेको थियो। उसले बेइमानी गर्न सिकेको थियो। ऊ यो खराब मार्गमा हिँड्न थाल्दा उसले सुरुमा सिकेको पाठलाई कहिल्यै बिर्सेन। अनि यस खराब मार्गको दुष्ट तरिकालाई उसले आफैं अभ्यास गर्दै आएको थियो, केवल दुई पटक मात्र होइन तर सैयौं पटक अनि प्राय: जहिले पनि हरिकुमार साहुलाई निक्सान पर्ने गरीकन।

यो जवान व्यक्तिले आफूलाई फाइदा हुने खालको मालिकको गल्तीलाई पर्खेर बस्न छोडेको धेरै भइसकेको थियो। त्यस्ता गल्ती त उसले जानाजानी आफै बनाउने गर्थ्यो अब। कारोवार धेरै किसिमका हुन्थे र व्यापार ठूलो थियो अनि उसलाई बिनाशङ्का पूरै विश्वास गरिन्थ्यो।

अवश्य नै ऊ तीष्ण र धूर्त बन्न जान्यो, ऊ सधैं होशियार, सधैं चनाखो रहन्थ्यो। उसको मालिकले उसलाई उच्च सम्मानको दृष्टिले हेर्थ्यो अनि उसले गरेको बेइमान काम कतै पत्ता लाग्ला कि भनेर त्यसलाई निपुणतापूर्वक ढाकछोप गर्न ऊ सधैं चनाखो रहन्थ्यो।

कामकुरा यसरी नै अघि बढ्दै जाने क्रममा उत्तमको उमेर अब बीस वर्ष पूरा भयो। एक दिनको कुरा हो, व्यापारी हरिकुमार साहुकहाँ एउटा चिट्ठी आइपुग्यो जुन चिट्ठी पढेपछि साहुको मनमा भारी शङ्का उब्जियो। चिट्ठीले यो बतायो कि उत्तमको सङ्गत त्यति ठिक छैन अनि उसले एउटा क्लर्कको सामान्य तलबले धान्न सक्ने भन्दा ज्यादै निष्फिक्री रूपमा पैसा खर्च गर्दैछ।

हालसालै उत्तम र उसकी आमा एउटा सुन्दर घरमा सरेका थिए जहाँ महिनाको बाह्र हजार रूपियाँ भाडा तिर्नुपर्थ्यो जब की उसको मासिक तलब अठार हजार मात्र थियो तर उसले आफ्नी आमालाई आफ्‍नो तलब पैंतीस हजार छ भनेर झूट बोलेको थियो। उहाँलाई चाहिने सबै किसिमका सुविधाहरू पूरै जुटाइएका थिए अनि यसरी संसारमा लामो सङ्घर्षपछि बल्ल खुशीका दिनहरू आइपुगे भन्ने आमालाई लाग्दैथियो।

हरिकुमार साहुले त्यो चिट्ठी प्राप्त गर्दा उत्तम आफ्‍नै डेस्कमा बसेर काम गर्दैथ्यो। उसले आफ्‍नो मालिकलाई पुलुक्क हेर्‍यो। साहुको अनुहार एक्कासी बदलिएको उसले देख्यो। साहुले चिट्ठीलाई दोहोराएर दुई-दुई पटक पढ्यो अनि चिट्ठीका कुराले मालिकलाई विचलित पारेको कुरा उत्तमले स्पष्टै देख्न सक्थ्यो। हरिकुमार साहुले उत्तमको डेस्कतिर यस्सो नजर लगायो अनि त्यतिखेर उनीहरूका आँखाहरू ठ्याक्कै जुध्न पुगे। त्यो एकैछिनको लागि थियो, तर मालिकको हेराइ यस्तो थियो कि त्यसले उत्तमको मुटु नै छेड्यो।

दिनभरि व्यापारी साहुको हिँडाइचलाइ यस्तो थियो कि त्यो देख्दा त्यो जवानलाई डर र त्रास मात्र लागिरह्यो। उसलाई अब यो स्पष्टै थाहा भयो कि त्यो चिट्ठीले मालिकको हृदयमा शङ्का उब्जाइदिएको छ। अहो! उसलाई यति नमीठो पछुतो लाग्न थाल्यो अब! आफ्नो चोरी काम प्रकट होला र आफूले सजायँ भोग्नुपर्ला भन्ने कुराले ऊ यति भयभीत भयो! उसको पर्दाफास गरियो भने उसको बदनाम हुने र उसको जीवन बर्बाद हुने कुरा निश्चित थियो र उसकी विधवा आमा शोकले मर्नुहुने कुरा पनि निश्चित थियो।

त्यो साँझ उत्तमले खाना नखाएको कुरालाई र उसको मुख निकै अँध्यारो भएको कुरालाई उसकी आमाले ख्याल गर्नुभयो।

“तिमीलाई सञ्चो छैन जस्तो छ,” उहाँले भन्नुभयो। “आराम गर्‍यौ भने सुधार होला।”

“टाउको मात्र दुखेको हो। म एकछिन सोफामा पल्टिन्छु।”

आमा एकछिनपछि ऊ पल्टिरहेको सोफामा बस्न आउनुभयो अनि आफ्‍नो हात उसको निधारमाथि राख्नुभयो। तर के गर्नु, उसले त्यतिखेर अनुभव गरिरहेको पीडालाई आमाको हातको प्रेमिलो स्पर्षले हटाउन सक्नेवाला थिएन। त्यो पवित्र हातको स्पर्षले त उसको पीडालाई झनै असह्य बनाइदियो।

“अलिक आराम भयो कि?” आमाले सोध्नुभयो। उहाँ आफ्‍नो हात उसको निधारमाथि राखेर केही बेर त्यहीँ बसिरहनुभएको थियो।

“खासै छैन,” उसले जवाफ दियो। “एकछिन हावा खान निस्कन्छु। अनि सञ्चो हुन्छ,” भन्दै ऊ उठ्यो।

“बाहिर नजाऊ, उत्तम,” आमाले भन्नुभयो, उहाँको मनमा फिक्री लाग्न थालिसकेको थियो।।

“म नजीकै चक्कर मारेर आउँछु,” उसले भन्यो र हतारिँदै बाहिर निस्क्यो।

“टाउको मात्र दुखेको होइन उसलाई,” आमाले आफैलाई मनमनै भन्नुभयो।

ऊ केवल आमादेखि उम्कने उद्देश्यले मात्र आधा घण्टासम्म हिँडिरह्यो। यसरी हिँड्दै जाँदा अन्तमा ऊ हिरकुमार साहुको पसलनेर आइपुग्यो अनि त्यसलाई ऊ कटेर जानै लागेको थियो जब उसलाई आश्चर्य लाग्ने एउटा कुरा उसले देख्यो: पसलको भित्रपट्टी बत्ती बलिरहेको रहेछ।

“यसको माने के होला?” उसले आफैलाई सोध्यो र उसको ढुक-ढुक गरिरहेको मुटुभित्र अब एउटा नयाँ डर पस्यो।

ऊ ढोकानेर उभिएर सुन्न खोज्यो, त्यसपछि झ्यालबाहिर उभिएर भित्रपट्टिको आवाज सुन्न खोज्यो तर उसले भित्रबाट कुनै आवाज आएको सुनेन। 

“केही नराम्रो कुरा हुन लाग्दैछ,” उसले भन्यो। “त्यो के होला? यदि मेरो काम प्रकट भयो भने यसको अन्त के होला? खत्तम हुन्छु, खत्तम हुन्छु! बिचरी मेरी आमा!”

त्यो दयनीय जवान हतारिँदै हिँड्यो र सडकहरूमा ऊ दुई घण्टासम्म हिँडिरह्यो र अन्तमा घर फर्क्यो। ऊ घरभित्र पस्दै गर्दा उसलाई उसकी आमाले भेट्नुभयो र आफ्‍नो चिन्ता नलुकाईकन उसलाई सुधार भएको छ कि भनेर सोध्नुभयो। उसले “छ” भन्यो तर यस्तो तरिकाले कि त्यसले उहाँको चिन्तालाई झन् बढाइदियो। त्यसपछि ऊ हतारिँदै आफ्‍नो कोठाभित्र पस्यो।

बिहान नास्ता खान भान्सामा बस्दा आफ्नो छोराको अनुहार अनौठो प्रकारले बदलिएको देख्दा आमाको हृदय डरले भरियो। ऊ केही बोलेन, उहाँको एउटै प्रश्नको पनि सोझो उत्तर उसले दिएन। यसरी भान्सामा बस्दै गर्दा एक्कासी ढोकामा कसैले ढकढकायो। त्यो आवाज सुनेर उत्तम बेसरी अतालियो र ढोकातिर टाउको फनक्क फर्काएर डराउँदै अब के हुने हो भनेर हेर्‍यो।

“को हुनुहुन्छ बाहिर?” आमाले सोध्नुभयो।

“एकजना सर उत्तमजीलाई भेट्न चाहनुहुन्छ,” एउटी केटीको आवाज सुनियो।

उत्तम तुरुन्तै उठ्यो र भान्सा कोठाको ढोका आफ्‍नो पछाडि लगाउँदै घरको गल्लीमा निस्क्यो। आमाचाहिँ आफ्‍नो छोरा फर्केर आउला भनेर पर्खी बस्नुभयो। केही बेरपछि उसलाई फर्केर आएको सुन्नुभयो तर ऊ भान्सा कोठामा पसेन। बरु गल्लीबाट हिँड्दै हिँड्दै ऊ सडकतिर खुल्ने ढोकापट्टि गयो अनि त्यसपछि त्यो ढोका बन्द गरिएको आवाज सुनियो। घरभरि चकमन्न भयो। उहाँ जुरुक्क उठेर भान्साबाट गल्लीमा निस्कनुभयो तर उत्तम त्यहाँ थिएन। ऊ त उसलाई बोलाउन आएको मान्छेसित गइसकेको थियो।

उफ, कस्तो दु:खलाग्दो विदाइ थियो त्यो। हरिकुमार साहुले रातको बाह्र बजेसम्म उत्तमको हिसाब किताबका ठेलीहरू जाँचेर बिताएको थियो। उसले रू छ लाख भन्दा बढी रकम हिनामिना गरेको भेटियो। साहुजीले रिसले आँखा देख्न सकेन र बिहानै उसले उत्तमलाई पक्रन भनी प्रहरी चौकीमा रिपोर्ट गरेको थियो। अनि त्यहाँबाट खटाइएको एकजना प्रहरीसित उत्तम कहिल्यै नफर्कने गरी आफ्‍नी आमालाई छोडेर गएको थियो।

“यो बदमाश जवान, उसैले खनेको खाल्टामा ऊ बस्न जाओस् अब!” रिसले चुर हुँदै हरिकुमार साहु जङ्गियो। अनि उसले जवानको पूरा पर्दाफास गरिदियो। अदालतका सामु उत्तमलाई दोषी ठहराउन हरिकुमार साहु निकै उत्सुक देखिन्थ्यो र उसले यति धेरै प्रमाण जुटायो कि त्यहाँ सुनुवाइ गर्ने हरेकले उत्तमलाई दोषी देख्नु बाहेक उनीहरूसित अर्को विकल्प थिएन।

बिचरी आमा अदालतमा उपस्थित हुनुहन्थ्यो अनि आफ्‍नो छोराको दोषका प्रमाणहरू एक एक गरी सुनाइदा उहाँ आफूलाई थाम्नै नसक्ने गरी रूनुभयो। न्यायधीशले अपराधीलाई सम्बोधन गर्नुभयो। उसको विरुद्धमा फैसला सुनाउनु अघि उसलाई आफ्‍नो पक्षमा बोल्न मौका दिनुभयो। कैदी उठ्यो र भन्यो:

“श्रीमान्, हजुरले मेरो वादीलाई थोरै नजीक आउनलाई अनुरोध गरिदिनुहुन श्रीमानलाई विन्ती गर्न चाहन्छु किनभने म उहाँलाई र श्रीमानलाई मेरो आँखाले देख्ने गरी मेरो कुरा राख्न चाहन्छु।”

हरिकुमार साहुलाई अघिल्तिर अाउन निर्देशन दिइयो। उत्तमले साहुलाई एकछिन राम्ररी हेर्‍यो र त्यसपछि ऊ न्यायधीशतर्फ फर्क्यो।

“श्रीमानको सामु म एउटा कुरा राख्न चाहन्छु” (ऊ नहडबडाईकन, प्रस्टसित बोल्यो), “अनि यस कुराले मेरो अपराधलाई सही ठहराउन नसके तापनि सायद यसले मेरो निम्ति केही हदसम्म माफी दिलाउन सक्ला कि भनेर मैले सोचेको छु। म यो साहुको पसलमा एउटा निर्दोष केटोको रूपमा काम गर्न गएको थिएँ। यदि उहाँ एक इमानदार मान्छे हुनुभएको भए, म आज हजुरको सामु एउटा अपराधीको रूपमा उभिनुपर्ने थिएन!”

हरिकुमार साहुले उसको चरित्रमाथि यस्तो घोर आक्रमण हुनदेखि सुरक्षा प्रदान गरियोस् भन्दै अदालतसित विन्ती चढायो। तर उसलाई चूप रहन आदेश दिइयो। उत्तम अविचलित स्वरमा आफ्‍नो कुरा बताउन अगाडि बढ्यो: —

“उहाँको पसलमा मैले काम गर्न थालेको केही हप्ता मात्र भएको थियो। मैले एउटा हिसाबको बिल जाँचेको थिएँ, उहाँकै निर्देशनबमोजिम, अनि मैले त्यसमा दस हजार रूपियाँको गल्ती भेट्टाएको थिएँ।”

हरिकुमार साहुको मुख रातो भएर आयो।

“म यो देख्न सक्छु कि तपाईंलाई त्यो घटना याद रहेछ,” उत्तमले भन्यो, “अनि म बाचुञ्जेल मैले त्यो याद गर्नुपर्ने कुरा भएको छ। किनकि मैले तपाईंलाई ‘के म हिसाब सच्च्याऊँ’ भनेर सोधें तर तपाईंले जवाफ दिनुभयो —

“पर्दैन। आफ्‍नो गल्ती आफैं सच्च्याऊन् उनीहरूले। अर्काको हिसाब-किताब हेरिदिने काम हाम्रो होइन।”

“मलाई बेइमानी बन्न सिकाउने पहिलो पाठ त्यही थियो, श्रीमान्। त्यो बिलको पैसा भुक्तानी गरिएको म आफैले देखें अनि हरिकुमार साहुले त्यो दस हजार रुपियाँ आफ्‍नो लागि लिनुभयो जुन उहाँको थिएन। यो देखेर सुरुमा म बेसरी झस्किएको थिएँ। त्यो एकदम गलत काम देखिन्थ्यो। तर यसको केही समयपछि उहाँले मलाई मूर्ख भन्नुभयो जब मैले बैंकको खजाञ्चीलाई पन्ध्र हजार रूपियाँ फिर्ता दिएँ जुनचाहिँ चेक साट्न जाँदा बैंकले मलाई बढी भुक्तानी गरेको थियो, अनि त्यसपछि” —

“के म यस अदालतबाट सुरक्षाको माग गर्न सक्छु?” हरिकुमार साहुले भन्यो।

“यो जवानले भनेको कुरा के साँचो हो?” न्यायधीशले प्रश्न गर्नुभयो।

हरिकुमार साहु अलमल्लमा परेको देखिन्थ्यो। त्यहाँ उपस्थित सबैजनालाई निश्चित रूपमा यो लाग्यो कि यो दु:खी जवानलाई कुबाटोमा डोर्‍याउने काम उसैले गरेको हुनुपर्छ।

“त्यसको केही समय नबित्दै,” जवानले कुरा अगाडि बढायो, “मेरो तलब थाप्दा, मैले यो थाह पाएँ कि हरिकुमार साहुले मलाई पचास रूपियाँ बढी दिनुभएको रहेछ। म त्यो उहाँलाई फिर्ता दिनै लागेको थिएँ, तर अर्काको गल्ती अर्काले नै सच्च्याऊन् भन्ने उहाँको भनाइलाई मैले सम्झें र आफूलाई भनें, ‘साहुको गल्ती साहुले नै पत्ता लगाऊन् र त्यसलाई साहुले नै सच्च्याऊन्।’ तब मैले बेइमानी काम गरें र त्यो पैसा आफूसित राखें।

“यो कुरा फेरि दोहोरियो अनि फेरि पनि मैले बढी आएको पैसा आफूसितै राखें जुन मेरो थिएन। खराबीको सुरु यही नै थियो र आज म यहाँसम्म आइपुगेको छु। उहाँले यदि मलाई थोरै दया देखाउनुभएको भए सायद म चूप बस्ने थिएँ र आफ्‍नो पक्षमा बोल्ने थिइनँ।”

दुइटै हातले आफ्‍नो मुख छोपेर, आफ्‍नो मन थाम्नै नसकेर जवान आफ्‍नो ठाउँमा थचक्क बस्यो। उसकै छेउमा बसिरहनुभएकी उसकी आमा ठूलो स्वरले रूनुभयो, छोरामाथि निहुरेर आफ्‍ना हातहरू उसको टाउकोमाथि राख्नुभयो। त्यसपछि “बाबु, मेरो बिचरा बाबु!” भन्दै उहाँ मन्द स्वरले रोइरहनुभयो।

अदालतमा उपस्थित करिब सबैजनाको आँखा रसाएको थियो। कोही नबोलेको त्यस बखतमा हरिकुमार साहु करायो:—

“के मेरो चरित्रलाई एउटा अपराधीको वचनको आधारमा यसरी दोष्याउन मिल्छ, श्रीमान्? के यो ठिक हो?”

न्यायधीशले भन्नुभयो, “तपाईंले यो झूटा आरोप हो भनेर गम्भीर शपथ खानुहुन्छ भने सबैका सामु तपाईंको इज्जत कलङ्कित हुनदेखि बच्नेछ।”

यो सुन्ने बित्तिकै उत्तम जुरुक्कै उठ्यो। त्यो दु:खी जवानको अन्तिम मौका यही थियो, अनि मानवताको आधारमा उसको कुरा सुन्न अदालतलाई करै लाग्यो।

आफ्‍नो आँखाले सोझै हरिकुमार साहुलाई हेर्दै उसले कराएर भन्यो:—

“यदि उहाँको हिम्मत छ भने उहाँले शपथ लिन सक्नुहुन्छ!”

हरिकुमार साहुले आफ्‍नो वकिलसित खासखुस सल्लाह गर्‍यो र शपथ खानदेखि पछि हट्यो।

त्यसपछि न्यायधीश उठ्नुभयो र उहाँले फैसला सुनाउनुभयो।

“तिम्री जवानीलाई अनि तिम्रो कलिलो उमेरमा तिमीमाथि आइपरेको परीक्षालाई मध्यनजर राखेर, अदालतले तिमीलाई सबैभन्दा हलुका सजायँको फैसला सुनाउने निर्णय गरेको छ अथवा एक वर्ष कैद। तर म तिमीलाई यो कडा चेतावनी दिन्छु कि तिमी यो खराब मार्गमा अरू अगाडि नबढ्नू। अपराधलाई कुनै पनि न्यायोचित बहाना छैन। परमेश्वर र मानिसको सामु त्यो खराब हो अनि त्यसले केवल दु:ख-कष्ट ल्याउँछ। जेलबाट तिमी फेरि छुटेपछि, तिम्रो अठोट यस्तो होस् कि म अपराध गर्नुभन्दा बरू म मर्छु!”

एक वर्ष बितेर उत्तम जेलबाट निस्कँदा उसको आमाको मृत्यु भइसकेको थियो। अदालतबाट जेल चलानी गरिएको दिनमा उसले उहाँको फिक्का अनुहारमाथि आँखा लगाएको त्यो दिनदेखि उसले आमालाई फेरि कहिल्यै देख्न पाएन।

यसको दस वर्षपछि एकजना मान्छेले सुदुर पश्चिमको कुनै शहरमा एउटा खबरपत्रिका पढेर बसिरहेको थियो। उसको अनुहार मलिन र शान्त देखिन्थ्यो तर उसले आफ्‍नो जीवनमा धेरै दु:ख-व्यथाहरू भोगेर आएको देखिन्थ्यो।

“बल्ल ऊ न्यायको हातमा परेछ!” भावनाले चुलिँदै उसले आफैलाई भन्यो। “ऋण चुक्ता गर्न नसकेको अभियोगमा सेन्ट्रल जेलमा चलानी गरिएछ। यही व्यक्तिले मलाई मेरो कलिलो उमेरमा मलाई खराबी गर्न पहिलो पाठहरू सिकाएको थियो। तर परमेश्वरलाई धन्यवाद होस्, यतिका वर्ष अगाडि बोलिएका न्यायधीशका वचनहरू आजसम्म मसित ताजै छन्। “जेलबाट तिमी फेरि छुटेपछि, तिम्रो अठोट यस्तो होस् कि म अपराध गर्नुभन्दा बरू म मर्छु!” अनि यो वचनलाई मैले पक्री राख्न सकें, फेरि अपराध गर्नु बाहेक अर्को विकल्प मैले नदेख्दा समेत। अनि परमेश्वरको सहायताले यो वचनलाई म सधैं पक्री राख्नेछु।”

 

Translated and adapted by Pradesh Shrestha from Tiger and Tom and Other Stories for Boys.

गोही

बालबालिका विषेश

के तिमीलाई थाहा थियो? बाचुन्जेल गोही ठूलो हुन छोड्दैन। उसको जीवनको प्रत्येक वर्ष ऊ बढेर झन् ठूलो हुन्छ। गोहीहरू बढेको बढै गरोस्- नगरोस् मानिसहरूलाई खासै वास्ता हुँदैन भनेर परमेश्वर जान्नुहुन्थ्यो, तर घोडाहरू, गाईहरू, कुकुरहरू, बिरालोहरू र कुखुराहरू ठूलो हुन कहिल्यै नरोक्किने हुँदो हो त मानिसलाई गाह्रो पर्छ भनेर उहाँ जान्नुहुन्थ्यो। उहाँले ती पशुहरूलाई ठीक साइजमा पुगेपछि उनीहरूलाई बढ्नदेखि रोक्नुहुन्छ। यदि गाई ठूलो हुँदै हात्तीजत्रो बन्यो भने किसानले एउटा भर्याङ चढेर दूध दुहुनु पर्ने हुन्थ्यो भनेर परमेश्वर जान्नुहुन्थ्यो। यदि तिम्रो कुकुर ठूलो हुन कहिल्यै नछोड्ने हो भने ऊ एकदिन यदि ठूलो हुन्थ्यो कि ऊ घरको ढोकाबाट छिर्न नसक्ने हुन्थ्यो। ऊ घरको भित्र-बाहिर दौडेर जान नसक्ने हुन्थ्यो र तिमी ऊसित खेल्न पाउँदैनथ्यो। परमेश्वर बुद्धिमान हुनुहुन्छ, होइन र? पशुहरू कतिसम्म ठूलो हुनुपर्छ भनेर उहाँ जान्नुहुन्छ।

गोहीको माउले आफ्ना अण्डाहरूलाई बालुवामा वा उसले जम्मा पारेको घाँस वा झारको थुप्रोमाथि पार्छ। उसले २० देखि ९० ओटा अण्डा पार्छ। त्यो त एकदम धेरै जस्तो लाग्छ, होइन र? यो किन हो भने गोहीको बच्चाका धेरै शत्रु हुन्छन् अनि धेरै पटक साना गोहीहरू अरू पशुद्वारा मारिन्छन्। माउ गोहीले केवल २ वा ३ ओटा मात्र अण्डा पार्दो हो त, सबै बच्चाहरू मारिन सक्थे। अनि धेरै समय नबित्दै संसारमा एउटै पनि गोही बाँकी हुँदैनथ्यो। तर जब त्यहाँ ८० वा ९० साना साना गोहीहरू हुन्छन्, तब कतिओटा गोहीहरू ठूलोसम्म बढ्न पाउँछन्। यसरी पृथ्वीमा गोहीहरू सधैं हुन सकून् भनेर परमेश्वरले यसरी पक्का गराउनुभयो।

माउ गोही आफ्ना अण्डामाथि कुखुरीले जस्तै ओथारो बस्दैन। सोच न, ऊ त यति भारी र भद्दा हुन्छ र थ्याच्च बसिदियो भने त उसले ती अण्डाहरूलाई फुटाइहाल्थ्यो। उसले बरु के गर्छ भने, ती अण्डालाई केवल घाम लाग्ने ठाउँमा छोडिदिन्छ। करिब ६ हप्तामा घामको न्यानोले अण्डाहरूलाई बचरा काढ्ने तुल्याउँछ। अनि त्यसपछि ती गोहीका बच्चाहरू निस्केर उनीहरूले आफ्ना लागि आफै खानेकुरा खोज्नुपर्छ।

साथै गोहीको ज्यादै अनौठो मुख हुन्छ। त्यसका मुन्तिरका दाँतहरू माथिल्लो जबडामा भएका विशेष खोपिल्टाहरूमा फिट हुन्छन्, ताल्चा जस्तै गरी; अनि यदि कुनै पनि कुरा ती जबडाहरूभित्र पर्न गयो भने, त्यो उम्कन सक्दैन। त्यस्तो मुखभित्र टाउको छिराएर हेर्न त तिमीलाई इच्छा छैन होला। यदि हेर्न गयौ भने तिमीले के देख्यौ भनेर हामीलाई बताउन तिमी फर्केर त आउन सक्दैनथ्यौ।

गोहीले आफ्नो खानेकुरा पानीमुनि बसेर चपाउन सक्छ। यदि उसले नदीको किनारमा कुनै पशुलाई पक्र्यो भने उसले आफ्नो मुखमा आफ्नो शिकार बोकेर ऊ हतार-हतार पानीभित्र छिर्न सक्छ, र पानीमुनि बसेर त्यसलाई चपाउन सक्छ। तर गोहीले पानीमुनि छँदा निल्न भने सक्दैन, अनि त्यसैले उसले आफ्नो खाना खान, ऊ कुनै खसेको रूखको मुढामाथि वा किनारतिर चढ्नुपर्छ। उसको घाँटीमा एउटा ठूलो ढोकाजस्तै हुन्छ जसले यस्तो किसिमले काम गर्छ कि यदि उसले पानीमुनि छँदै उसले निल्न थालेको खण्डमा ऊ निसास्सिन्छ र उसले सास फेर्न नसकेर मर्छ।

यस्तो हुनुमा ठ्याक्कै कारण के हो हामी जान्दैनौं तर परमेश्वरले गोहीलाई यसरी बनाउनुभएकोमा उहाँको कुनै न कुनै कारण छ भनेर हामी जान्दछौं। उहाँले गर्नुहुने सबै कामकुराको बारेमा हामीलाई एकएक कारण बताउनुभएको छैन, तर हामीलाई उहाँको बुद्धिमा हामीले विश्वास गर्नुपर्छ भनेर हामीलाई भन्नुभएको छ। बाइबलले भन्दछ, “धर्मी जन विश्वासद्वारा जिउनेछ” गलाती ३:११। हामीले परेमश्वरको बारेमा सबै कुरा कहिल्यै बुझ्न सक्दैनौं। वास्तवमा हामीले उहाँ कस्तो हुनुहुन्छ भनेर खास सानो भाग मात्र बुझ्न सक्छौं। बाइबलले बताउँछ कि अब्राहामले परमेश्वरमा विश्वास गरे अनि यो उसको निम्ति धार्मिकता गनियो रोमी ४:३। यहाँ एउटा कुरामा ध्यान देऊ – कि यहाँ अब्राहमले परमेश्वरलाई बुझे भनिएको छैन, तर उसले उहाँमाथि विश्वास गरे भनेको छ। यसमा निकै ठूलो भिन्नता छ नि, हो कि होइन?

एक पटक अफ्रिकामा भएका एकजना मिसनरी, सुसमाचार प्रचारक, अफ्रिकाको जाम्बेसी नदीको किनारै किनार हिँड्दै हुनुहुन्थ्यो। उहाँ हिँड्दै गर्दा त्यहाँ एउटा गुँडमा उनले दुईटा गोहीका अण्डाहरू देख्नुभयो। ती अण्डा तिम्रो हात जत्तिकै लामा थिए। उहाँले यो देख्नुभयो गर्नुभयो कि एउटा अण्डा थोरै चर्केको थियो। अनि त्यसैले उहाँ त्यसको छेवैमा हेरी बस्नुभयो त्यो अण्डाबाट बच्चा निस्कन्छ कि निस्कँदैन भनेर हेर्नलाई। चर्केको ठाउँमा अझ अलिक चर्क्यो, अनि एकछिन पछी अझ चर्क्यो। त्यसपछि पूरै अण्डा चर्केर पूरै खुल्यो र त्यसबाट एउटा बच्चा गोही बाहिर निस्क्यो। त्यो करिब १२ इञ्च लामो थियो अनि बिचारा ऊ त्यो सानो अण्डाभित्र लामो समयदेखि बस्दा-बस्दा उसको जीउ कक्रक्क र अरठ्ठ परेको थियो। उसले आफूलाई बालुवामाथि लमतन्न पारेर तन्कायो, उसको टाउको चाहिँ जङ्गलतिर फर्केको थियो, नदीको ठीक उल्टो दिशातिर। मिसनरीलाई यस्तो लाग्यो अब यसले के गर्नुपर्छ भनेर उसलाई थाह हुन्छ कि हुँदैन होला।

एक घण्टा जति घाममा आराम गरेपछि त्यो गोही फनक्क फर्क्यो र नदीतिर लम्किन थाल्यो। अब कसरी जान्यो त्यो सानो गोहीले ऊ पानीमा बस्ने पशु हो भनेर? के कसैले उसलाई पौडन सिकायो? अहँ, उसलाई नसिकाईकनै उसले पौडन जान्दथ्यो। त्यो गोही नदीतिर लाग्दै गर्दा, मिसनरीले आफ्नो औंलालाई गोहीको सानो नाकको माथितिर लगेर देखाउनुभयो। सानो गोहीले के गर्यो होला थाह छ? ऊ त्यो औंलालाई ताकेर फुत्रुक्कै उफ्र्यो मानौं उसका ती धारिला र नयाँ दाँतले टोकूँला जस्तै गरी। मिसनरीले समयमै आफ्नो औंला फुत्त झिक्नुभयो अनि त्यो सानो गोही नदीतिर छिटोछिटो लागिहाल्यो। कसले बतायो त्यो गोहीलाई उसका शत्रुहरू हुन्छन् भनेर? कसले सिकायो उसलाई त्यस्तो खराब स्वभाव देखाउनलाई? के कतै स्कूल छ जहाँ गोहीहरू गएर बस्न सक्छन् लहरै पछाडिका खुट्टामा उभिएर अनि ब्ल्याकबोर्डलाई हेरेर सिक्न? यो सिक्न कि यदि मान्छेले आफ्नो औंला उसको मुख वा नाकको ज्यादै नजिक ल्यायो भने उसले के गर्नुपर्छ? छैन जस्तो लाग्छ त्यस्तो स्कूल, छ र?

गोहीले यी सबै कुरा जान्दछ उसलाई परेमश्वरले दिनुभएको उसको पशु स्वभावको कारणले। हामीले जतिसुकै उसलाई सिकाए पनि गोहीलाई बदलेर अर्को स्वभावको बनाउन सकिँदैन। त्यो बदलिन सक्ने एउटै मात्र तरिका छ। परमेश्वरले उसलाई एउटा नयाँ स्वभाव दिनुभयो भने मात्र बदलिन सक्छ।

बाबु नानीहरू, पुरुष स्त्रीहरूको सम्बन्धमा पनि यस्तै हुन्छ। हामी जन्मने बित्तिकै हामीले गलत-गलत कामहरू गर्ने तरिका जान्न थाल्छौं। हामी धेरै सानो हुँदै हामीले नराम्रा कामहरू गर्न सिक्छौं। प्रभु येशूले हामीलाई बदल्नुभएर हामीले नयाँ जन्म नपाएसम्म हामीले केवल हाम्रो खराब, पापी स्वभावले हामीलाई गराउने कामहरू गरिरहन्छौं। येशू ख्रीष्टले तिमीहरू एकएकजनालाई बचाउन चाहनुहुन्छ र एउटा नयाँ स्वभाव दिन चाहनुहुन्छ, जुन स्वभावले परमेश्वरलाई खुशी पार्ने कामकुराहरू गर्न चाहन्छ। यदि तिमीले आफ्नो आत्माको लागि उहाँमाथि भरोसा गर्छौ भने उहाँले तिमीलाई उहाँमा एउटा नयाँ व्यक्ति बनाउनुहुनेछ।

यर्मिया १३:२३ के कूशीले आफ्‍नो छाला वा चितुवाले आफ्‍ना थोप्लाहरू बदल्न सक्छ र? तब ता तिमीहरूले पनि, जो खराबी गर्नमा अभ्यस्त भएका छौ, असल गर्न सकौला।

२ कोरिन्थी ५:१७ येसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर सबै कुराहरू नयाँ भएका छन्।

Translated by Pradesh Shrestha from Uncle Walter’s Animal Stories. 

कप्तान आलेन गार्डनर

गाह्रो काम खोज्ने मान्छे (सन् १७९४-१८५१)

संसारको नक्सामा दक्षिण अमेरिकाको सबभन्दा दक्षिणी टुप्पामा पाटागोनिया (Patagonia) र टेरा देल फुएगो (Terra del Fuego) भेट्टाउन खोज्नुहोस्। त्यहाँका मानिसहरू अरू कुनै ठाउँका मानिसहरूभन्दा खराब थिए। तिनीहरू मान्छेको मासु खाने नरभक्षी थिए र प्राणीहरूमा सबैभन्दा घिनलाग्दा थिए। त्यसबाहेक तिनीहरू सबभन्दा निर्दयी पनि थिए। बोल्दाखेरि उनीहरूको आवाज घाँटीभित्रको खकार निकाल्न खोजेको जस्तो सुनिन्थ्यो अनि उनीहरूको कुरा बुझ्न त असम्भवै थियो। उनीहरू यो विश्वास गर्थे कि एउटा असल आत्मा घाममा बस्ने गर्छ र जूनमा दुईटा खराब आत्मा बस्ने गर्छन् अनि असल मानिसहरू मरेपछि घाममा जान्छन् र खराब मानिसहरू जूनमा। कल्पना गर्नुहोस् यस्ता मानिसहरूलाई सुसमाचार सुनाउनु र ख्रीष्टमा डोर्‍याउनु कति गाह्रो कुरा थियो। धेरै वर्ष अगाडिको कुरा हो, एकजना जवान मानिस थिए जसले यो भने कि उनी सबभन्दा गाह्रो ठाउँमा प्रचारकको रूपमा पठाइन चाहन्थे जहाँ सबभन्दा कठीन थियो। उनले सजिलो काम मागेनन् वा खोजेनन्। उनले सबभन्दा गाह्रो काम रोजे। उनको नाम थियो कप्तान आलेन गार्डनर। यी साहसी बहादुर व्यक्ति सन् १७९४ मा इङ्ल्याण्ड देशमा जन्मेका थिए। सानो केटो छँदै उनले समुद्र मन पराउँथे र उनलाई इङ्गलिश नेभल कलेजमा पानी जहाज चलाउने तालीम दिइयो अनि पछि उनी पानी जहाजको कप्तान बने। जहाजमा यात्रा गर्ने क्रममा उनी चीन गए। त्यसबेलाका चीनीयाहरू भयङ्कर मूर्तिपूजामा डुबेका देखेर उनको हृदयमा उनीहरूलाई र उनीहरू जस्तै अरूहरूलाई सहायता गर्ने गहिरो इच्छा उत्पन्न भयो। उनले आफ्‍नो सम्पूर्ण हृदय प्रभु येशू ख्रीष्टलाई दिए अनि जहाजको कप्तान छँदै उनले यात्रा गर्ने क्रममा जति सक्दो आफ्‍नो जहाजबाट बिदा मिलाएर उनी विदेशका बासिन्दाहरूको अवस्था पत्ता लगाउन उनी पुगेका देशदेशका भित्री-भित्री भागहरूमा छिर्थे। यस प्रकारले उनी पाटागोनिया र वरिपरिका पहाडहरूका जङ्गली स्वभावका बासिन्दाहरूको विषयमा रूची राख्न थाले। उनी अब ३० वर्षका मानिस भइसकेका थिए र उनको हृदय एउटा मिसनरी (प्रचारक) बन्ने गहिरो चाहनाले भरिएको थियो। तर उनलाई मिसनरीको रूपमा पठाउन कसैले सहायता गरेन। दस वर्ष बित्यो। उनका बाबुआमा मरे अनि साथै उनको पत्नी पनि मरी। उनको अलिकति कमाइ थियो र यदि कसैले उनलाई मिसनरीको रूपमा परदेश पठाउन नसकेको खण्डमा उनले आफैलाई मिसनरीको रूपमा पठाउने निर्णय गरे। उनी र उनका एकजना पोल्याण्डका साथी पहिला अफ्रिका गए अनि जूलू जातिका बीच सुसमाचार सुनाउन थाले — एकजना दोभाषेको सहायताले प्रचार गरे र साना बाबुनानीहरूलाई पढ्न र लुगा लाउन सिकाए। तीन वर्ष बितेपछि कप्तान गार्डनर इङ्ल्याण्ड फर्के र मिसनरीहरूको एक टोलीलाई लिएर फर्के तर जूलूहरू र बोअरहरूको लडाइँले उक्त मिसनरी काम बन्द भयो। यस्ता हराएका मूर्तिपूजकहरूको बीचमा मेहनत गर्ने कप्तानको इच्छा कहिल्यै सेलाएर गएन। उनी दक्षिण अमेरिका गए र दुई वर्ष जति यात्रा गरे र न्यू गिनीमा काम थाल्ने निर्णय गरे तर उनी इङ्ल्याण्डको रोयल नेवीका अफिसर भएकाले डचहरूले उनलाई विश्वास गरेनन् र उनलाई सुसमाचार सुनाउने काम गर्न दिएनन्। तब उनले टेरा देल फुएगोलाई आफ्‍नो मिसनरी क्षेत्र बनाउने निर्णय गरे। त्यहाँका जङ्गली बासिन्दाहरू उनीसँग मित्रभाव राख्न चाहेनन्। उनी इङ्ल्याण्ड फर्के र यी अन्धकारमा बसिरहेका मुक्तिदाता येशू ख्रीष्टको असल खबरको ज्ञान नभएका मानिसहरूलाई सहायता गर्न मानिसहरूको इच्छा जगाउन खोजे तर उनको प्रयास व्यर्थ भयो। तर उनले केही बाइबलहरू र नयाँ नियमहरूको अनुदान पाए र उनी यसलाई ठाउँ-ठाउँमा बाँड्दै यात्रा गरे। फेरि इङ्ल्याण्ड फर्केर उनले फेरि मानिसहरूको इच्छा जगाउन खोजे तर फेरि उनी विफल भए तर अन्तमा उनका केही साथीहरू मिलेर पाटागोनियामा परमेश्वरको वचन पुर्‍याउने उद्देश्यले एउटा समिति बनाए र रबर्ट हन्टलाई प्रचारकको रूपमा पठाए। कप्तान गार्डनरचाहिँ आफ्‍नै खर्चमा प्रचारकको साथमा गए। तर बिडम्बनाको कुरा, त्यहाँका बासिन्दाहरू अर्कै ठाउँमा सरिसकेका थिए। उनीहरूलाई खोज्ने सबै प्रयास विफल भयो। ती आदिवासीहरू कतै भेटिएनन्। केही समयपछि उनीहरूको मुखिया र केही अरू फर्केर आए तर उनीहरूको भावना यति अभद्र र नराम्रो थियो कि उनीहरूले स्थापना गरेको आफ्‍नो बस्ने ठाउँ छोडेर जानुपर्ने भयो। त्यही बाटो भएर गइरहेको इङ्ल्याण्डको एउटा पानी जहाजले उनीहरूलाई घर फर्काइदियो। के यो साहसी मिसनरी अब निराश बने होला त? अहँ, अलिकति पनि निराश बनेनन्। उनलाई यो लाग्थ्यो कि ती भ्रष्ट र बिग्रेका मानिसहरूलाई येशूको खाँचो छ अनि उनीहरूलाई ख्रीष्ट प्रचार गर्न उनलाई पहिला भन्दा झन् आतुर लाग्यो। सन् १८४८ मा उनी फेरि यात्रा गरे, ती मानिसहरूका बीचमा केही हुलमिल गरे अनि उनीहरूलाई सहायता गरियोस् भनेर विन्ती गर्न फेरि इङ्ल्याण्ड फर्के। उनलाई एकजना पानी जहाजको मिस्त्रीबाहेक अरू चारजना मानिसहरूसित जान सहायताको प्रबन्ध गरियो। धेरै कठिनाइसाथ बल्लतल्ल उनीहरू जमिनमा उत्रे तर ती आदिवासीहरू विश्वासै गर्न नसकिने यति बेईमान थिए कि उनीहरू जहाजमै बसोबासो गरेर उनीहरूकहाँ जानेआउने गर्दै प्रचार कार्य गर्न खोजे। आफूसित भएकोभन्दा असल साधन-सामग्रीहरू लिएर आउन कप्तान गार्डनर फेरि आफ्‍नो देश फर्के। फेरि पनि उनको कुरामा कसैले चासो देखाएनन्, तर आखिरमा १००० पाउन्ड रकम बराबरको सहयोग जम्मा गरियो जसमध्ये ३०० पाउन्ड उनी आफैले अनुदान दिएका थिए अनि उनी फेरि फर्के। यी जङ्गली स्वभावका मानिसहरूलाई येशू ख्रीष्टमा डोर्‍याउने पूरा जोशले उनको आत्मा जलिरहेको थियो। यस यात्रामा उनको साथमा अरू ६ जना गए। उनीहरूले आफूसित ६ महिनाको लागि पुग्ने खाद्यान्न बोकेका थिए र थप ६ महिनाको चाहिने खाद्यान्न सामग्रीहरू पिटकन टापुमा जान लागेको अर्को जहाजमा पठाए। तर खाद्यान्न सामग्रीको यो दोस्रो सप्लाइ लिएर उनीहरूकहाँ पुर्‍याइदिन कुनै पनि पानी जहाज राजी भएन। त्यसैले ती खाद्यान्न फोकल्याण्डमा पठाइयो। त्यहाँका राज्यपालले त्यहाँबाट उनीहरूका ती खाद्यान्न पठाइदिन त खोजे तर कसैले लिगदिएनन्। मिसनरीहरूको त्यो सानो टोली खानेकुराको अभावले दरिद्र अवस्थामा पुगे अनि फुएगी आदिवासीहरूले उनीहरूलाई कुनै दया देखाएनन्। खानलाई उनीहरूसित चिप्लिकिरा जस्ता समुद्री शङ्खकिरा, जङ्गली ज्वानोको डाँठ र समुद्री झार थियो अनि पिउनलाई उनीहरूले चट्टानहरूको खोपिल्टाहरूमा जम्मा भएको आकाशको पानी पिए। अन्तमा एउटा पानी जहाज पठाइयो यी साहसी मानिसहरूको खोजीमा अनि यो पत्ता लाग्यो कि उनीहरू भोकले मरिसकेका रहेछन्। उनीहरूको लाशहरू भेटिए र उनीहरूले लेखेका डायरीहरू जसमध्ये कप्तान गार्डनरको डायरी पनि थियो। उनले लेखे, “मिस्टर मेडमेन्ट हिजो यति गल्नुभएको थियो कि उहाँ मध्यान्नसम्म आफ्‍नो खाटबाट उठ्नुभएन अनि त्यसबेलादेखि मैले उहाँलाई देखेको छैन; त्यसैले हिजो मेरो मुखमा केही परेन। म आफू रहेको ठाउँ छोड्न सक्दिनँ अनि म जान्दिनँ उहाँ शरीरमा हुनुहुन्छ कि अनुग्रही परमेश्वरको उपस्थितिको आनन्द लिँदैहुनुहुन्छ जसको सेवा उहाँले यति विश्वासयोग्य रूपमा गर्नुभयो। अहिले बिहानको दस बजे म यो लेख्दैछु। स्वर्गमा हुनुहुने मेरा पितालाई धन्यवाद होस् मैले पाइरहेका धेरै कृपाहरूका लागि — एउटा आरामदायी खाट छ, पीडा छैन, भोकको इच्छा पनि छैन; यद्यपि अत्यन्तै कमजोर छु र मेरो खाटमा थोरै पनि चल्न सक्दिनँ, चल्न खोज्दा ठूलो परिश्रम पर्छ; तर उहाँको चुलिएर पोखिने प्रशस्त अनुग्रहले म पूर्ण शान्तिमा राखिएको छु, मेरा मुक्तिदाताको प्रेमको भावले  र सबै कुरा बुद्धिसाथ र कृपासाथ योजना गरिएको छ भन्ने निर्धक्कताले म ताजा भएको छु अनि म यो प्रार्थना गर्दछु कि म त्यो पूर्ण आशिष पाउन सकूँ जो प्रदान गरिन नि:सन्देह यो योजना गरिएको हो। मेरा फिक्रीहरू सबै परमेश्वरमाथि राखिएका छन्, अनि म केवल उहाँको समय र उहाँको असल इच्छा मात्र पर्खिरहेको छु — उहाँले मेरो अन्त्य गर्न उहाँलाई जसरी ठीक लाग्छ त्यसरी गर्नलाई। चाहे म मरूँ वा बाँचू, त्यो उहाँमै भएको होस्; म आफ्‍नो शरीर र मेरो प्राण उहाँको वास्ता र रेखदेखमा सुम्पँदछु अनि म यत्नपूर्वक यो प्रार्थना गर्दछु कि उहाँले मेरी प्रिय पत्नी र नानीहरूलाई उहाँका पखेटाका छत्रछायाँमुनि लिनुभएको होस् अनि उनीहरूलाई पूर्णरूपले सान्त्वना र सुरक्षा दिनुभएको होस् अनि बलवान् र पवित्र तुल्याउनुभएको होस् ताकि हामी सँगै मिलेर यो भन्दा उज्यालो त्यो अनन्त संसारमा उहाँको भलाइ र अनुग्रहको निम्ति उहाँलाई भज्न र पूज्न सकौं किनकि उहाँले हामीलाई उहाँको बहुमूल्य रगतले किन्नुभयो र आगोको जलनबाट थुतेर निकाल्नुभयो र हामीलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो र उहाँको स्वर्गीय राज्यको हकदारहरू तुल्याउनुभयो। आमेन।” तीमध्ये एक निडर मानिस मिस्टर विलियम्सले यो लेखे कि उनको शरीर कमजोर भए तापनि उनको आत्मा बलियो र खुशी छ अनि उनले आफ्‍नो अवस्था र परिस्थितिलाई संसारको अर्को कुनै पनि जिउँदो मानिससित साट्न चाहँदैनन्। उनलाई यो लाग्यो कि मृत्यु अब नजिक आउँदै गरेको भए तापनि उनी आफू हिँड्नु पर्ने कर्तव्यको मार्गमा छन्। यो सबै एकदम दु:खलाग्दो थियो र कप्तान गार्डनरको मिसन विफल भएको जस्तै देखिन्थ्यो। तर त्यसो होइन। उनको साहसी र शूरवीर प्रयासको कहानी टाढाटाढा सम्म फैलियो अनि उनको जीवनले जे हासिल गर्न सकेन उनको मृत्युले हासिल गर्न सफल भयो — त्यसले मानिसहरूलाई यसरी भन्न विवश पार्‍यो, “परमेश्वरको सहायताले त्यो मिसनको काम जारी राखिनेछ।” अनि यस्तै भयो। अरूहरू त्यहाँ गए। त्यहाँका आदिवासीका साना बाबुहरूलाई तालीम दिन इङ्ल्याण्ड ल्याइयो। एउटा जहाजले मिसनरीहरू त्यहाँ लगे जुन जहाजको नाम आलेन गार्डनर राखियो। कोहीकोही त्यहाँ मारिए, तर सट्टामा अरूहरू गए। अन्तमा प्रभुको काम त्यहाँ फस्टायो अनि धेरैजना क्रूर वासिन्दाहरू येशू ख्रीष्टमा नयाँ सृष्टि बनें। — आफू मृत्यु हुनुभन्दा एकदुई दिन अगाडि मिस्टर विलियम्सले यो लेखेका थिए: “कुनै कुराले यसमा एउटा कुरा थप्न मलाई रोक्नु अघि, घरका मेरा सबै प्रियजनहरू यस कुरामा ढुक्क होऊन् कि यी कुराहरू लेखेको रातमा म बयान गर्न सकिने भन्दा बढी खुशी थिएँ अनि मेरा अवस्थाहरूलाई कुनै पनि जीवित मानिससित साट्ने थिइनँ। उनीहरू यस कुरामा पनि ढुक्क होऊन् कि मेरा आशाहरू अमरताले पूर्ण भएर फक्रिरहेका थिए; कि स्वर्ग र प्रेम र ख्रीष्ट, जसको अर्थ एउटै हो र उही ईश्वरीय कुरा हो, मेरो हृदयमा थिए; कि महिमाको आशा र स्वर्गमा मेरो लागि राखिएको आशाले मेरो सम्पूर्ण हृदयलाई आनन्द र रमाहटले भरेको थियो अनि मेरा निम्ति जिउनु ख्रीष्ट हो र मर्नु लाभ हो। म दुईटा कुराको बीचको दोधारमा छु, शरीरमा रहूँ कि ख्रीष्टसित हुन बिदा लिऊँ जुन अति नै बढी असल छ। उनीहरूलाई थाहा होस् कि मैले उनीहरूलाई प्रेम गरें र उनीहरू एक एकको निम्ति प्रार्थना गरें। परमेश्वरले उनीहरू सबैलाई आशिष दिनुभएको होस्।”