विकासवादको परिचय

विकासवादको परिचय भाग १

 

  1. डार्विनवादलाई खण्डन गर्न सक्न वैज्ञानिक हुनुपर्दैन।

बाइबल विश्वास गर्ने व्यक्ति वैज्ञानिकहरूदेखि डराउनुपर्दैन।

रिडर्स डाइजेस्ट (Reader’s Digest) को विज्ञान तथा प्रविधिका भूतपूर्व सम्पादक डा० लोवेल पोन्ट (Dr. Lowell Ponte) ले हामीलाई यो सम्झना गराउँछन् कि वैज्ञानिकहरू ईश्वरहरू होइनन् यद्यपि उनीहरू केहिलेकाहीँ आफूहरू ईश्वरहरू भएझैं ठान्छन्:c

“वैज्ञानिकहरू भट्टिको पियक्कडभन्दा बढी जान्कार हुँदैनन् यदि विषयवस्तु उनीहरूको दखलको साँघुरो क्षेत्रभन्दा बाहिरको पर्‍यो भने। वास्तवमा धेरैपटक उनीहरू भट्टिको पियक्कडभन्दा मूर्ख हुन्छन् किनकि वैज्ञानिक अधिकारी भएकाले उनीहरू यस्तो धारणाले कतिपटक उन्मत्त हुन्छन् कि उनीहरू एउटा विषयमा विज्ञ भएकाले उनीहरूसित सबै विषयहरूमा ईश्वरहरूको जस्तै अधिकारले बोल्ने अधिकार हुन्छ” (Dr. Lowell Ponte, “Science Wars,” FrontPage Magazine, Feb. 27, 2004).

डार्विनवादको सवालमा कानून प्राध्यापक फिलिप जोनसन (Phillip Johnson) ले गरेको आलोचना सही छ: 

“विकासवादजस्तो चौडा विषयसित व्यवहार गर्नुपर्दा वैज्ञानिक हुनु आफैमा फाइदा नहुन सक्छ किनकि विकासवादको प्रसङ्गले विज्ञानका धेरै हाँगाबिगालाई छुन्छ र साथै यसमा दार्शनिक मुद्दाहरू समेत मुछिएका छन्। आफ्‍नै क्षेत्रमा तल्लीन वैज्ञानिकहरू स्वभावैले आफ्‍नै क्षेत्रमा एकदमै सीमित हुने गरी विशेषज्ञ बनेका हुन्छन् अनि एउटा वैज्ञानिक उसको दखलको क्षेत्रभन्दा बाहिर केवल अर्को सामान्य मान्छे बराबर हुन्छ” (Phillip Johnson, Darwin on Trial, p. 13)

हामीले यो कुरा नबिर्सौं कि ईश्वरीय सत्यता शक्तिशालीलाई नभएर कमजोरलाई प्रकट गरिएको छ (मत्ती ११:२५; १ कोरिन्थी १:२६-२८)। अझ, समझ भएको “गरिब” ले “धनी मानिस” लाई जाँच्न सक्छ जो आफ्‍नै दृष्टिमा बुद्धिमान् छ (हितोपदेश २८:११)।

विश्वासीसित उसले विकासवादको मतलाई जाँच्न उसलाई चाहिने सबै कुरा छ: हामीसित परमेश्वरको वचन छ (२ तिमोथी ३:१६-१७) र हामीसित परमेश्वरको आत्मा हुनुहुन्छ (१ यूहन्ना २:२७)।

प्रत्येक दर्शनशास्त्र (philosophy, सिद्धान्तशास्त्र वा तत्त्वशास्त्र) लाई यही कसीमा जाँचिनुपर्छ (२ कोरिन्थी १०:५; कलस्सी २:८; १ तिमोथी ६:२०-२१)।

सामान्य ज्ञान (common sense) ले विकासवादको हरेक पाटोलाई खण्डन गर्दछ। जस्तै, विचार गरौं, जथाभावी हुने वंशानुगत उत्परिवर्तन (random genetic mutation) हरूद्वारा विकास हुन्छ भन्ने विकासवादी धारणा। जीवनमा कुनै पनि कुरा यसरी हुने गर्दैन। कुनै लेखोटलाई लिऊँ। जस्तै, उत्पत्ति अध्याय १ लाई। जथाभावी टाइप गरेर यो कहिल्यै सृजना हुन सक्दैन। अनि यदि कुनै लेखोटमा जथाभावी परिवर्तनहरू गरिए भने त्यसको नतीजा सधैं नै एउटा अझ विकसित लेखोट नभएर विकृत लेखोट हुन जान्छ। स्पेस शटल (space shuttle) जस्तो एउटा अन्तरिक्ष यानलाई विचार गरौं। त्यसका २० लाख पार्टपूर्जा हुन्छन् (तरैपनि त्यो कुनै एक-कोषीय ब्याक्टेरिया भन्दा ज्यादै सरल रचना हो)। जथाभावी अन्धा परिवर्तनहरू गरेर त्यस्तो यान कहिल्यै सृजना गर्न सकिन्न नता निर्मित यानलाई अझ विकसित बनाउन सकिन्छ। जटिल वस्तुहरू जथाभावी आकस्मिक घटनाहरूले निर्माण हुने गर्दैनन्। खास भन्नुपर्दा, विकासवादको मुद्दा “रकेट साइन्स” जस्तो गाह्रो विषय होइन!

  1. सृष्टि विज्ञानका सामग्रीका फाइदाहरू

सृष्टि विज्ञानका सामग्रीहरू परमेश्वरका जनहरूलाई शैतानका झूटहरूको विरुद्धमा मज्बुत पार्न असाध्य उपयोगी छन्, विशेष गरी युवाहरूलाई। तीतस १:९-११ ले यो बताउँछ कि झूटा शिक्षकहरूका मुखहरू बन्द गर्नलाई प्रचारकहरू र शिक्षकहरू आवश्यक हुन्छन्। सृष्टि विज्ञानका सामग्रीको पहिलो उद्देश्य यही हो। डार्विनवादलाई रद्द गर्न सकिन्छ किनकि यसलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाणहरू छैनन् भनेर युवाहरूले यो देख्न खाँचो छ।

सृष्टि विज्ञानका सामग्रीहरूले विश्लेषणात्मक विचार शैली र खाँटी तर्कज्ञान सिकाउँछ। हिब्रूका लेखकले यो बताउँछन् कि आत्मिक र नैतिक ज्ञानेन्द्रियहरूलाई अभ्यासद्वारा तालीम दिइनुपर्छ (हिब्रू ५:१४)।

सृष्टि विज्ञानका सामग्रीहरूले विश्वासीको हृदयलाई सर्वशक्तिमान् सृष्टिकर्ता परमेश्वरको नजिक लान्छ र उसलाई उहाँको चरित्र र सामर्थ्यका पाठहरू सिकाउँछ। रोमी १:२०

सृष्टि विज्ञानका सामग्रीहरू सुसमाचार प्रचार कार्यमा उपयोगी हुन्छन्।

  1. बाइबललाई विश्वास गर्न सकिँदैन भन्ने भ्रमदेखि होशियार हुनुहोस्।

आफ्‍नो विश्वासलाई बाइबलमा लगाइराख्नेहरू कहिल्यै निरुत्साहित भएका छैनन्।

सन् १८५९ मा डार्विनले On the Origin of Species प्रकाशन गरेको समयलाई विचार गरौं। एफ सी बउर (F. C. Baur) जस्ता सन्देहवादीहरूले नयाँ नियम त्यसका घटनाहरू घटेको एक शताब्दि वा त्यसभन्दा पछि लेखिएको हो अनि त्यो पुस्तौंसम्म मुखको बोलीबाट हस्तान्तरण हुँदै आएका किंवदन्तीहरूमा आधारित लेखोट हो भन्ने दाबी गरे। सन्देहवादीहरूले प्रेरितको पुस्तक ऐतिहासिक त्रुटीहरूले भरिएको छ भनेर दाबी गरे। उनीहरूले यो दाबी गरे कि मोशाले बाइबलका सुरुका पुस्तकहरू लेखेका होइनन् किनकि उनको समयमा लिपिको ज्ञान पर्याप्त रूपमा विकास भएको थिएन।

तर वास्तवमा यी आलोचनात्मक धारणहरू पो किंवदन्ती वा भ्रम ठहरिए र बाइबल सप्रमाणित भयो। बाइबलमा भरोसा कायम राख्नेहरू सही ठहरिए।

नयाँ नियमको मितिको सम्बन्धमा र प्रेरितको पुस्तकका ऐतिहासिक त्रुटीहरूको सम्बन्धमा उठेका आलोचनात्मक धारणाहरू प्रख्यात पुरातत्त्वविद विलियम राम्से (William Ramsay) र अरूहरूद्वारा निर्णायक रूपमै रद्द गरिए। लिपिको सवालमा पुरातत्त्विदहरू अब जान्दछन् कि यो कम्तिमा ईपू ३१५० तिर विकास भएको थियो अनि हामीले व्यक्तिगत रूपमा यसको प्रमाण धेरैओटा प्रख्यात पुस्तकालय र म्यूजियमहरूमा देखेका छौं। त्यो भनेको मोशाभन्दा १५०० वर्ष अगाडिको कुरा हो र यसले हामीलाई बाइबलीय कालक्रम (chronology) अनुसार आदमकै जीवनकालसम्म पुर्‍याउँछ।  १९ औं शताब्दिको पछिल्लो समयदेखि पुरातत्त्विदहरूले यो आविष्कार गरे कि मिश्र र मेसोपोटामियाका प्राचीन राज्यहरू साक्षार समाजहरू थिए जहाँ पाठशाला र पुस्तकालयहरू थिए। ऊगारित, मारी, ऊर, एब्ला, निप्पूर, नीनवे र अन्य ठाउँहरूमा पुस्तकालयहरू उत्खनन गरिएका छन्। पाठकले यस विषयमा “बाइबलका पुरातात्त्विक रत्नहरू” शीर्षक यूट्यूब भिडियोबाट थप जानकारी पाउन सक्नुहुन्छ (https://www.youtube.com/watch?v=eSFik5oCcbg)।

सन्देहवादीहरू गलत मात्र थिएनन्, उनीहरू अत्यन्तै गलत थिए।

तरैपनि कैयौं मानिसहरू “बाइबललाई विश्वास गर्न सकिन्न” र “विकासवाद सत्य हो” भन्दै अनन्ततामा गएका छन्।

आर्थर कीथ (Arthur Keith) को दु:खद उदाहरणलाई विचार गर्नुहोस्। ऊ २० औं शताब्दिको सबैभन्दा चर्चित शरीरविज्ञान विशेषज्ञ (anatomist) थियो तर ऊ पिल्टडाउन भ्रम (Piltdown Hoax) ले ठगियो। उसको किताब Antiquity of Man ले पिल्टडाउनलाई सर्वोत्कृष्ट मिसिङ लिङ्क (missing link) को रूपमा मान्यता दियो। आफ्‍नो जीवनीमा कीथले आफू सुसमाचार प्रचार सभाहरूमा गएको र ख्रीष्टलाई झण्डै ग्रहण गर्न लागेको तर उत्पत्तिको सृष्टिको विवरण किंवदन्ती भनेर प्रमाणित भएको उसलाई लागेकोले आफूले सुसमाचारलाई इन्कार गरेको कुरा बताउँछन् (Melvin Bubenow, Bones of Contention, p.59)। वास्तवमा किंवदन्ती खास विकासवाद थियो अनि कीथले त्यसको भरमा आफ्‍नो अनन्त आत्माको जुवा खेल्यो। सन् १९५३ मा उसले पिल्टडाउन झूटो साबित भएको जानकारी पायो तर त्यसबेलासम्ममा ऊ मानवीय बुद्धिवाद (humanistic rationalism) मा डुबिसकेको बूढो मानिस भइसकेको थियो र “ख्रीष्टियन विश्वासको उल्लेख्य विरोधी” थियो। हामीलाई थाह भएसम्म ऊ त्यही धारणा लिएर मर्‍यो। उसले बाइबलका प्रमाणहरूलाई अझ बढी होशियारपूर्वक र प्रार्थनापूर्वक खोजी गर्नुपर्थ्यो। बाइबलका आलोचकहरूले र विकासवादीहरूले सिकाएका कुरालाई ग्रहण गर्न ऊ ज्यादा तत्पर हुनुहुँदैनथ्यो। यो विषय अत्यन्तै गम्भीर छ।

निरन्तर बदलिरहने अप्रमाणित “सिद्धान्तहरू” को भरोसामा म आफ्नो अनन्त गन्तव्यलाई सुम्पन अस्वीकार गर्दछु। विश्वभरिका वैज्ञानिकहरूले विकासवादलाई साँचो मानोस् (हुन त कतिले मान्दैनन्), म मतलब राख्दिनँ। उनीहरूको मतलाई समर्थन गर्न उनीहरूले वास्तविक प्रमाण प्रस्तुत गर्नुपर्छ। यो उनीहरूले कहिल्यै गरेका छैनन्।

  1. विकासवाद एउटा “सिद्धान्त” (theory) होइन।

विकासवादलाई एउटा सिद्धान्तको संज्ञा दिनदेखि हामी होशियार छौं। किनभने विकासवाद एउटा वैज्ञानक सिद्धान्त (theory) वा अवधारणा (hypothesis) समेत कहलिन योग्य छैन।

“वैज्ञानिक सिद्धान्तहरूमा गणितीय नमुना निर्माण गर्ने काम (quantitative modeling), अनुसन्धनात्मक तथ्याङ्कहरू (experimental data), पूर्वानुमान (prediction) लगायत अवलोकन (observation) द्वारा बारम्बार प्रमाणीकरण (repeated validation) समावेश हुन्छन्। विकासवादको दर्शनशास्त्र / कथाको कुनै पनि पाटोमा “सिद्धान्त” (theory) भन्ने कुरा छैन। प्रथम प्रोटीनको निर्माणको, पहिलो डिएनएको निर्माणको, पहिलो कोषका उपसंरचनाहरू (substructures) को निर्माणको, पहिलो कोषको निर्माणको, बहुकोषीय प्राणीहरूको निर्माणको, जाति-जातिबीचको रूपान्तरण (transition) को, इत्यादि कुनै सिद्धान्त छैन। केवल कथाहरू मात्र छन्। त्यहाँ कुनै वंशानुगत तथ्याङ्क छैन, उत्परिवर्तनहरू (mutations) र प्राकृतिक छनोट (natural selection) ले नयाँ, जटिल तन्तुहरू, अङ्गहरू वा प्राणीहरू पैदा गरेको अवलोकनको एउटै उदाहरण छैन। साथै विकासवाद एउटा अवधारणा (hypothesis) पनि होइन जुन भनेको अवलोकन गरिएका तथ्यहरूको एउटा तर्कसङ्गत व्याख्या हो जुनचाहिँ अनुसन्धनात्मक तथ्याङ्कहरू र विश्लेषणको प्रयोग गर्दा जानिएका भौतिक नियमहरूसित मेल खान्छन्। जब एउटा अवधारणालाई फराकिलो तवरले विभिन्न परिस्थितिहरूमा बारम्बार परीक्षण गरिँदा त्यो खडा रहिरहन्छ तब त्यसबाट एउटा सिद्धान्तको उदय हुन्छ। विकासवाद दुवै शब्दावलीको अयोग्य छ। विकासवाद वैज्ञानिक समर्थन बिनाको, केवल एउटा दार्शनिक, अझ एउटा धार्मिक धारणाको रूपमा योग्य छ जसले बाइबलीय सत्यतालाई कथाहरूद्वारा विस्थापन गर्ने उद्देश्य बोकेको छ” (David Stone, Ph.D. physics, e-mail to author, August 21, 2011)।

  1. विकासवादको प्रमाण यति पातलो छ कि धेरैजना धर्मनिरपेक्ष वैज्ञानिकहरूले समेत यसलाई विश्वास गर्दैनन्।

न्यू योर्क अकाडेमी अफ साइन्सेज (New York Academy of Sciences) को गणितीज्ञ र अनुसन्धानकर्ता आइ० एल० कोहेन:

“…विकासवादले प्रतिपादन गरेको एक-एक धारणा (त्यसलाई पछिबाट जतिसुकै सच्च्याइए तापनि) काल्पनिक छ र त्यसलाई माइक्रोबायोलोजी, जीवाश्महरू र गणितीय सम्भावना (mathematical probability) का धारणाहरूले समर्थन गर्दैनन्। डार्विन गलत थियो। … विकासवाद विज्ञानकै सम्भवत: सबभन्दा ठूलो भूल हो” (Cohen, Darwin Was Wrong: A Study in Probabilities, 1984, pp. 209,210)।

प्रिन्सटन यूनिभर्सिटी (Princeton University) बाट दर्शनशास्त्रमा डाक्टर उपाधिप्राप्त र कोलम्बिया यूनिभर्सिटी (Columbia University) बाट गणीत र जीवशास्त्रमा पोस्टडक्टरल अध्ययन पूरा गरेको डेविड बर्लिन्स्की (David Berlinski):

“जीवनका संरचनाहरू जटिल छन् अनि यस मनुष्य संसारमा जटिल संरचनाहरू बनाइने भनेको सुनियोजित ढङ्गको योजनावद्ध प्रकृयाद्वारा हो। एउटा सियो अस्तित्वमा ल्याउन पनि बुद्धिको एउटा क्रिया चाहिन्छ; जीव बनोटहरू किन अन्य तरिकाले आउँथे र? … धेरै वर्षसम्म जीवशास्त्रीहरूले सन्देहवादलाई विकासवादी धारणाको परिधिमा राखिराख्न सफल भए जहाँ जीवाश्मविदहरू (paleontologists), जीव-वर्गीकरणविदहरू (taxonomists) र दर्शनशास्त्रीहरू रुमलिरहन्छन्। तर आलोचनाको आगो जल्दै-जल्दै आएर उक्त परिधि अब साँघुरो हुँदैछ, डार्विनमतको मुटुको झन् झन् नजिकिँदैछ” (The Deniable Darwin, June 1, 1996)।

न्यूजिल्याण्डको यूनिभर्सिटी अफ ओटागो (University of Otago) को परमाणविक जीवशास्त्रका वरिष्ठ अन्वेषणकर्ता र लण्डनको किङ्ग्स कलेज (King’s College) बाट डाक्टर उपाधिप्राप्त माइकल डेन्टन (Michael Denton):

“विकासवादसित मेरो मूल समस्या यो हो कि त्यहाँ यति धेरै अति नै जटिल अङ्गहरू, प्रणालीहरू र बनोटहरू छन्, एउटा चराको फोक्सोको स्वभावदेखि लिएर रक लब्स्टरको आँखासम्म, जसको सम्बन्धमा म यो कल्पना गर्न सक्दिनँ कि कसरी यी कुराहरू जथाभावी भएका परिवर्तनहरू थुप्रिएर हुन आए। जथाभावी भएका स-साना परिवर्तनहरूको सञ्चयद्वारा यी सबै कुराहरू निर्माण भएको हो भन्ने कुरा निल्नु भनेको सामान्य ज्ञान (common sense) लाई घोर रूपमा अस्वीकार गर्नु हो भन्ने कुराले म प्रभावित छु। यो त सरासर अर्थहीन दाबी हो विशेष गरी अधिकांश कुराहरूको सवालमा जसको विषयमा कसैले पनि त्यो कसरी आयो भनेर एउटा मान्न सकिने व्याख्याको विचार पनि गर्न सक्दैन। अनि यो नै एउटा ज्यादै गम्भिर प्रश्न हो जसलाई सबैले आँखा चिम्लिन्छन्, सबैले नदेखे जस्तै गर्छन् र सबैले मानौं बढारेर खाटमुनि लुकाउन खोज्छन्” (“An interview with Michael Denton,” Access Research Network, Vol 15. No. 2, 1995; the interview was produced in conjunction with the University of California and was first in a series of interviews with noted scientists and educators entitled Focus on Darwinism)।

एपिजेनेटिक्स शीर्षक गरेको किताब (Epigenetics: A Treatise on Theoretical Biology and The Phylogeny of Vertebrata) का लेखक स्वीडेनका जीवशास्त्री सोरेन लभट्रप:

“म यो विश्वास गर्दछु कि एक दिन डार्विनवादी किंवदन्तीलाई विज्ञानको इतिहासमा सबैभन्दा ठूलो धोकाको दर्जा दिइनेछ” (Darwinism: The Refutation of a Myth, 1987)

कोलम्बिया यूनिभर्सिटीबाट गणीतमा डाक्टर उपाधिप्राप्त र एमआइटी, यूसीएलए र ओरिगन स्टेट यूनिभर्सिटीमा गणीतका प्राध्यापक वोल्फग्याङ्ग स्मीथ (Wolfgang Smith):

“कुरा यो छ कि विकासवादको मतले संसारलाई बाढले झैं लगेको छ, त्यसको वैज्ञानिक मर्यादाको बलले होइन तर अल्पसङ्ख्य‍कद्वारा मात्र बुझ्न सकिने एउटा किंवदन्ती (gnostic myth) को हैसियतले। भन्नुपर्दा यसले यो दाबी गर्छ कि जीवहरूले आफैलाई सृष्टि गरे, जो भनेको, निचोडमा, एउटा आध्यात्मिक (metaphysical) दाबी हो। … यसरी आखिरमा विकासवाद साँच्ची नै वैज्ञानिक भेषमा आभूषित एउटा आध्यात्मिक मत हो” (Teilhardism and the New Religion, p.24)

लण्डनस्थित म्यूजिअम अफ न्याचूरल हिस्ट्री (Museum of Natural History) को वरिष्ठ जीवाश्मविद कोलीन प्याटरसन (Colin Paterson):

“एउटै मूलबाट जीवहरू आए भन्ने विकासवादी अवधारणाको व्याख्यात्मक मूल्य भनेको शून्य छ! विकासवादले केवल कुनै ज्ञान प्रदान नगर्ने मात्र होइन यसले अज्ञानता प्रदान गर्दछ। यो कसरी सम्भव भयो कि मैले दस-दस वर्ष विकासवादको क्षेत्रमा काम गरें तरैपनि मैले एउटै कुरा त्यसबाट सिक्न सकिनँ? यस कोठामा हुनुहुनेहरूमध्ये धेरैजसोले यो कुरा स्वीकार गर्नुपर्छ कि गत दस वर्षको अवधिभित्र विकासवादको आधार तथ्यहरूबाट विश्वासमा सरेको छ! हेर्दा यस्तो पक्कै पनि देखिन्छ कि विकासवादको विषयमा ज्ञानको तह उल्लेख्य रूपमा न्युन छ। केवल हामी यति जान्दछौं कि यसलाई स्कूलमा पढाइनुहुँदैन। हामीले यसको बारेमा जानेको कुरा भनेको यति नै हो” (Patterson, in an address given at the American Museum of Natural History, Nov. 5, 1981; cited from White and Comninellis, Darwin’s Demise, p.47)।

  1. विकासवादी मत अन्तिम दिनहरूको सत्यत्यागको एउटा उपज हो।

१९ औं शताब्दिमा सत्यत्यागको विस्फोटन भयो। सन्देहवादको वातावरण जहाँसुकै थियो। ईश्वरशास्त्रीय मडर्निज्म, ह्यूमनिज्म, यूनिटेरियनवादले डार्विनवादी विकासवादलाई स्वीकार गर्न माटो तयार पारेको थियो।

त्यसबेलाको सन्देहवादको वातावरणको बयानलाई विचार गर्नुहोस्:

“त्यो यस्तो समय थियो जब जीवहरूको उत्पत्तिको बारेमा कल्पना-परिकल्पनाहरूको विगविगी थियो, जब सबभन्दा खाँटी सिद्धान्तहरू समेत परिमार्जित हुँदै थिए र जटिल बनाइँदैथिए यतिसम्म कि खाँटी सिद्धान्तर कहाँ अन्त हुन्छ र झूटा सिद्धान्त कहाँ सुरु हुन्छ भनेर जान्न सम्भवै थिएन।  (Gertrude Himmelfarb, Darwin and the Darwinian Revolution, p.234)

“मैले भेटेको हरेक विचारशील व्यक्ति धार्मिक विश्वासका सबै मुख्य-मुख्य बुँदाहरूको सवालमा आफ्‍नो हृदयमा शङ्काको अवस्थामा छ।” (Thomas Huxley, cited from Adrian Desmond Huxley, p. 160).

“जर्मनी, स्वीटजरल्याण्ड, र हल्याण्डका मण्डलीहरूको अनात्मिक अवस्था … र सर्वसाधरण मानिसहरूको बीचमा रहेको डरलाग्दो व्याप्त सन्देहवाद, अविश्वास, र नास्तिकवादको कारण निश्चय पनि के थियो भने ती राष्ट्रहरूका बहुसङ्ख्यक रूपमा रहेका प्रमुख पास्टरहरू र ईश्वरशास्त्रीय प्राध्यापकहरूले यस्ता आलोचनाहरूको समर्थन गरिरहेका थिए … यस्तै कुरा … इङ्ग्ल्याण्ड, स्कटल्याण्ड र अमेरिकामा पनि [फैलिरहेको थियो] … (L.W. Munhall, The Highest Critics vs. the Higher Critics, 1896)

“अविश्वासको बाढी रोक्ने फाटकहरू अब खुल्ला भएका छन्, अनि नास्तिकवाद हामीमाथि उर्लेर आइरहेको छ” (George Romanes, 1878, cited from Ian Taylor, In the Minds of Men, p. 371).

“आराधनास्थलहरूमा हाजिरी घट्दो छ र पवित्र कुराहरूका निम्ति आदरभाव हराउँदैछ। हामी यो विश्वास गर्दछौं कि यसको कारण धेरै हिसाबले पुल्पिटबाट निस्केका सन्देहवादको झिल्काहरूले गर्दा हो र जो सर्वसाधारण मानिसहरूको बीचमा सल्किएर फैलिएको छ।” (C.H. Spurgeon, 1887, Sword and the Trowel, November 1887). 

आत्मिक सन्देहवादको यस्तो वातावरणमा हो विकासवादको मत जन्मेको र फस्टाएको।

  1. विकासवाद बाइबल अगमवाणीको एउटा पूरा हुवाइ हो र त्यसैले यो  बाइबलको ईश्वरीय उद्भवको एउटा प्रमाण हो।

२ पत्रुस ३:३-७ लाई विचार गर्नुहोस्। २००० वर्ष अगाडि लेखिएको यस भविष्यवाणीले हाम्रो समयको व्याप्त भौतिकवादी, विकासवादी विचारधारालाई बयान गर्दछ। भविष्यवाणीले यो बताउँछ कि गिल्ला गर्नेहरू आउनेछन् जोहरूले विश्वव्यापी जलप्रलय र ख्रीष्टको दोस्रो आगमनलाई इन्कार गर्नेछन्। भविष्यवाणीले गिल्ला गर्नेहरूलाई “अजान रहन चाहनेहरू” भनेर दोष लाउँछ (पद ५)। साथै यसको पछाडि उनीहरूको अभिप्राय यो रहेको बताइएको छ कि उनीहरू परमेश्वरका नियमहरूलाई परित्याग गर्न र आफ्‍नै अभिलाषाहरूअनुसार जिउन चाहन्छन् (पद ३)। यस भविष्यवाणीले डार्विनवादीको प्राकृतिक, यूनिफोर्मिटेरियन धारणा (“सबै कुरा सृष्टिको शुरुबाट जस्ता थिए, त्यस्तै चलिरहेका छन्”, पद ४) लाई बयान गरेको छ। गिल्ला गर्नेहरूसँग एउटा भौतिकवादी, अलौकिक, ईश्वरीय कुरालाई अस्वीकार गर्ने  विश्वास छ। जसरी रिचार्ड लेवोन्टिन (Richard Levontin) ले स्वीकार गरेको छ, “हामी अघिबाटै भौतिकवादप्रति समर्पित छौं। … हामी परमेश्वरलाई (‘ईश्वरीय खुट्टालाई ढोकाबाट’) भित्र छिर्न दिन सक्दैनौं” (Billions and Billions of Demons,” The New York Review, Jan 9, 1997, p.31).

 

यस अध्ययनमालाका अन्य पाठहरू पढ्न चाहनुहुन्छ?

हल्लाउन नसकिने विश्वास

ख्रीष्टिय जीवन: यो कसरी जिइनुपर्छ

“म ख्रीष्टसित क्रूसमा टाँगिएको छु, तरै पनि म जिउँछु; त्यसो भए पनि म ता होइन, तर ख्रीष्ट मभित्र जिउनुहुन्छ; अनि जुन जीवन म अहिले शरीरमा जिउँछु, त्यो म परमेश्‍वरको पुत्रको विश्‍वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो” (गलाती २:२०)।

“तर म जे छु, परमेश्‍वरको अनुग्रहद्वारा नै छु; अनि मलाई दिइएको उहाँको अनुग्रह व्यर्थ भएन; तर मैले उनीहरू सबैले भन्दा साह्रै बेसी मेहनत गरें; तरै पनि मैले होइन, तर मसँग भएको परमेश्‍वरको अनुग्रहले नै हो” (१ कोरिन्थी १५:१०)।

“ईश्‍वरको अनुग्रह हेरी, ऋणी आफूलाई ठान्छु!”

“स्तुति गाओ ख्रीष्टका जन हो! बेहिसाब छ ऋण हाम्रो!

आनन्दसित अर्पण गरौँ, हाम्रो तन मनलाई!”(दुईओटा भजनहरूबाट उद्दृत)

ख्रीष्टिय जीवन कसरी जिइनुपर्छ? परमेश्‍वरले यसबारे के सिकाउनुभएको छ भनी जान्नलाई हरेक विश्‍वासीले पवित्र शास्त्रहरूमा मेहनतपूर्वक खोजी गर्नुपर्छ। ख्रीष्टिय जीवन जिउने बारेमा आज थुप्रै गलत धारणाहरू छन्। एउटा धारणाले यो बताउँछ कि विश्‍वासीको जीवन व्यवस्थाको अधीनमा रहेको हुन्छ र ऊ पवित्र हुने यसैद्वारा हो। तर, ख्रीष्टिय जीवनको चाबी सिनाइ पर्वतमा होइन तर कलवरी डाँडामा पाइन्छ। ख्रीष्टिय जीवन हामीले गर्नुपर्ने कुनै काममा होइन, तर ख्रीष्टले गरिसक्नुभएको काममा आधारित छ। ख्रीष्टले क्रूसमा पूरा गरिसक्नुभएको काम कसरी हाम्रो ख्रीष्टसँगको दिन-दिनको हिँडाइसित सम्बन्धित छ भनी देख्नलाई हाम्रा मनका आँखाहरू परमेश्‍वरले खोलिदिनुभएको होस्।

प्रभु येशू ख्रीष्ट हाम्रो जीवन हुनुहुन्छ। “यसकारण हे मेरा भाइहरूहो, परमेश्‍वरका निम्ति फल फलाऔं भनेर अर्का व्यक्तिका हुनालाई अर्थात् जो मरेकाहरूबाट बौरेर उठ्नुभएको छ, उहाँका हुनालाई तिमीहरू पनि ख्रीष्टको शरीरद्वारा व्यवस्थाका निम्ति मरेका भयौ” (रोमी ७:४)। परमेश्‍वरको अनुग्रहद्वारा हामी ख्रीष्टसित एक आश्‍चर्यजनक एकतामा ल्याइएका छौँ। यी कुराहरू देख्नलाई प्रभुले हाम्रा आँखाहरू खोलिदिनुभएको होस्।

विभिन्न विभाजनहरूमा राखिएका तलका खण्डहरूले तपाईंलाई ख्रीष्टिय जीवन भनेको के हो र यो कसरी जिइनुपर्छ भनी बुझ्नलाई मदत गर्नेछ। नयाँ नियमका पत्रहरूको शिक्षा बिलकुलै स्पष्ट छ। यी कुराहरू बुझ्नलाई परमेश्वरले हामीलाई सहायता गर्नुभएको होस्।

१) ख्रीष्टिय जीवन ख्रीष्टको जीवनभन्दा एक अंश पनि कम जीवन होइन।

दाखको बोट म नै हुँ; तिमीहरूचाहिँ हाँगा हौ” (यूहन्ना १५:५)

“. . . जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट बौराइनुभयो, त्यसरी नै हामी पनि जीवनको नयाँपनामा हिँड्नुपर्दछ” (रोमी ६:४)

ख्रीष्ट मभित्र जिउनुहुन्छ” (गलाती २:२०)

“किनकि मेरा निम्ति जिउनु ख्रीष्ट हुनुहुन्छ” (फिलिप्पी १:२१)

“महिमाको आशा ख्रीष्ट तिमीहरूभभित्र . . . जब ख्रीष्ट जो हाम्रा जीवन हुनुहुन्छ, प्रकट हुनुहुनेछ, तब तिमीहरू पनि उहाँसँगै महिमामा प्रकट हुनेछौ” (कलस्सी १:२७; ३:३-४)

येशूको जीवन पनि हाम्रो शरीरमा प्रकट होओस् भनेर . . . किनकि येशूको जीवन पनि हाम्रो मरिजाने शरीरमा प्रकट होओस् भनेर” (२ कोरिन्थी ४:१०-११)

“हे मेरा साना नानीहरूहो, जबसम्म ख्रीष्ट तिमीहरूमा बनिनुहुन्न, तबसम्म म फेरि तिमीहरूका लागि प्रसूति-वेदनामा हुन्छु” (गलाती ४:१९)

ख्रीष्टले आफ्‍नो जीवन विश्‍वासीको जीवनमा प्रकट गर्नु र उहाँ ऊद्वारा जिउनु नै ख्रीष्टिय जीवन हो!

२) ख्रीष्टको जीवन अन्तर्वास गर्नुहुने पवित्र आत्माको सामर्थ्यद्वारा प्रकट हुने कुरा हो।

“किनकि उहाँ तिमीहरूसित रहनुहुन्छ, र तिमीहरूभित्र हुनुहुनेछ” (यूहन्ना १४:१७)

“उहाँले मेरो विषयमा गवाही दिनुहुनेछ . . . उहाँले मेरो महिमा गर्नुहुनेछ” (यूहन्ना १५:२६; १६:१४)

“तर पवित्र आत्मा तिमीहरूमाथि आउनुभएपछि तिमीहरूले सामर्थ्य पाउनेछौ” (प्रेरित १:८)

“अनि बढो सामर्थ्यसित प्रेरितहरूले प्रभु येशूको बौरिउठाइको गवाही दिन्थे; अनि तिनीहरू सबैमाथि ठूलो अनुग्रह भएको थियो” (प्रेरित ४:३३)

“किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट छुटकारा दिएको छ” (रोमी ८:२)

“यसैले कि व्यवस्थाको धार्मिकता हामीमा, जो शरीरअनुसार होइन, तर आत्मा अनुसार हिँड्दछौं, पूरा होओस्” (रोमी ८:४)

“तर म यो भन्दछु: आत्मामा हिँड, र तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पूरा गर्नेछैनौ” (गलाती ५:१६)

“उहाँको शक्तिशाली सामर्थ्यको कामअनुसार हामी विश्‍वास गर्नेहरूप्रति उहाँको सामर्थ्यको अपार महान््ता के रहेछ, सो जान्न सक” (एफेसी १:१९)

“अब उहाँलाई, जसले हामीभित्र कार्य गर्ने सामर्थ्यअनुसार हामीले मागेका वा सोचेका सबै कुराभन्दा अत्यन्तै बढी गर्न सक्नुहुन्छ” (एफेसी ३:२०)

३) ख्रीष्टिय जीवनको सामर्थ्य परमेश्‍वरले मभित्र गरिरहनुभएको‍ ठूलो कार्य हो।

“कि उहाँका सामु कुनै प्राणीले घमन्ड गर्न नपाओस्” (१ कोरिन्थी १:२९; ३० पदलाई पनि हेर्नुहोस् जसबाट म जान्दछु कि येशू ख्रीष्ट मेरो पवित्रता हुनुहुन्छ)

“किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका कारिगरी हौं, जुन कामहरूमा हामीले हिँड्नुपर्छ भनेर परमेश्‍वरले अघिबाटै तिनलाई तयार पार्नुभएको छ” (एफेसी २:१०)

“किनकि ख्रीष्ट येशूमा न खतना, न बिनाखतना केही कामको छ, तर नयाँ सृष्टि” (गलाती ६:१५)

“किनकि उहाँको शुभ इच्छाअनुसार दुवै इच्छा गर्न र काम गर्न तिमीहरूभित्र काम गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ” (फिलिप्पी २:१३)

“मबाट अलग भएर तिमीहरूले केही पनि गर्न सक्दैनौ” (यूहन्ना १५:५)

“यसैका निम्ति म पनि, उहाँको प्रभावकारी कार्यअनुसार, जसले ममा सामर्थ्यसाथ काम गर्छ, संघर्ष गर्दै परिश्रम गर्दछु” (कलस्सी १:२९)

“तिमीहरूलाई हरेक असल काममा उहाँको इच्छा पालन गर्नाका निम्ति सिद्ध पारेका होऊन्, र उहाँको दृष्टिमा जे अति मनपर्दो छ, सो येशू ख्रीष्टद्वारा तिमीहरूमा गरेका होऊन्; उहाँलाई सदासर्वदा महिमा भइरहोस्। आमेन।” (हिब्रू १३:२१)

४) ख्रीष्टिय जीवन ख्रीष्टले पूरा गर्नुभएको काममा आधारित कुरा हो।

म के गर्छु, चाबी यो होइन। तर येशू ख्रीष्टले के गरिसक्नुभयो, चाबी यो हो।

मुक्तिको सवालमा यो कुरा सत्य हो भनेर हामीलाई थाहा छ र हामी ख्रीष्टले पूरा गर्नुभएको काममा भर पर्छौं। तर ख्रीष्टिय जीवनको सवाल भने, धेरै विश्‍वसीहरूले यसो गर्न छोड्छन्। विश्‍वासैद्वारा निम्न कुरालाई व्यक्तिगत बनाइनु खाँचो छ:

“पापको शरीर बेकम्मा होओस् भनेर हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो भन्ने कुरा थाह गर्दै अब उसो हामी पापको दास हुनुहुँदैन” (रोमी ६:६)। पुरानो मानिसलाई हामीले क्रूसमा टाँग्‍नु पर्दैन अर्थात् पुरानो मानिसलाई क्रूसमा टाँग्‍ने काम हाम्रो होइन। यो त लगभग २००० वर्ष अघि पूरा भइसकेको कुरा हो।

“म ख्रीष्टसित क्रूसमा टाँगिएको छु” (गलाती २:२०– यो त पूरा भइसकेको सत्यता हो!)

“यसैकारण कोही ख्रीष्टमा छ भने ऊ एउटा नयाँ सृष्टि हो, पुराना कुराहरू बितिगएका छन्; हेर, सबै कुराहरू नयाँ भएका छन्”(२ कोरिन्थी ५:१७)। हामीलाई नयाँ सृष्टि हुन आज्ञा दिइएको छैन। यो पालन गरिनुपर्ने आज्ञा होइन, तर विश्‍वास गर्नुपर्ने सत्यता हो!

“एउटाले अर्कोसित झूट नबोल; किनकि तिमीहरूले पुरानो मान्छेलाई त्यसका कामहरूसमेत निकालिदिएका छौ, अनि नयाँ मान्छेलाई पहिरेका छौ, जो चाहिँ आफ्‍नो सृष्टिकर्ताको स्वरूपअनुसार ज्ञानमा नयाँ हुँदै जान्छ” (कलस्सी ३:९-१०)।

याद गर्नुहोस् कि पावलले हामीलाई “पुरानो मान्छेलाई निकाल र नयाँ मान्छेलाई पहिर” भन्दैनन् [यद्यपि उनले हामीलाई यो एफेसी ४ अध्यायमा बताउँछन्]। कलस्सी ३ मा विश्‍वासीको अवस्थाको सत्यतालाई जोड दिइएको छ र पावलले भन्छन् कि पुरानो मान्छेलाई निकाल्ने काम विश्‍वसीले गर्नुपर्दैन किनभने यो पूरा भइसक्यो। तिमीहरूले पुरानो मान्छेलाई निकालिदिएका छौ, यो त एक वास्तविकता हो, सत्यता हो! हामीले परमेश्‍वरको सत्यतालाई विश्‍वासैद्वारा आफ्‍नो बनाउनुपर्छ।

५) सम्मिलीकरणका महत्त्वपूर्ण सत्यताहरू

मुक्ति पाउनलाई मैले एउटा महिमापूर्ण सत्यतालाई विश्‍वास गरें: मेरो निम्ति येशू ख्रीष्ट मर्नुभयो र फेरि बौरेर उठ्नुभयो। ख्रीष्टिय जीवन जिउनलाई मैले अर्को महिमापूर्ण सत्यतालाई विश्‍वास गर्नैपर्छ: म ख्रीष्टसँगै मरें र म ख्रीष्टसँगै बौरें। यी दुवै सत्यताहरू पूरा भइसके। मेरो मुक्तिसँग सम्बन्धित सत्यता यो हो कि ख्रीष्ट मेरा पापहरूका निम्ति मर्नुभयो! अर्थात् धर्मीकरण (justification) सित प्रतिस्थापन (substituion) सम्बन्धित छ। मेरो ख्रीष्टिय जीवनसँग सम्बन्धित सत्यता हो कि म ख्रीष्टसित मरें! अर्थात् पवित्रीकरण (sanctification) सित सम्मिलीकरण (identification) सम्बन्धित छ।

“हामी, जो पापका निम्ति मरिसकेका छौं, अब उसो कसरी त्यसैमा जिऔं र?” (रोमी ६:२)

“हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो भन्ने कुरा थाह गर्दै” (रोमी ६:६)

“म ख्रीष्टसित क्रूसमा टाँगिएको छु, तरै पनि म जिउँछु”(गलाती २:२०)

“तिमीहरू ख्रीष्टसँग मरेका छौ” (कलस्सी २:२०)

“किनकि तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्‍वरमा लुकेको छ” (कलस्सी ३:३)

“हामी पापहरूका निम्ति मरेर धार्मिकताका निम्ति बाँचौं भनेर उहाँ आफैले आफ्‍नो शरीरमा हाम्रा पापहरू क्रूसमाथि बोक्नुभयो” (१ पत्रुस २:२४)

६) परमेश्‍वरको वचनका सत्यताहरूलाई विश्‍वसद्वारा व्यक्तिगत बनाउनु

यी सत्यताहरू हरेक विश्‍वसीका निम्ति साँचा छन्। यी सत्यताहरू हाम्रो वास्तविक अनुभवमा सत्य हुन सक्नलाई चाबी कुरा विश्‍वास हो। जति हामी यी सत्यताहरूलाई विश्‍वास गर्दछौ, त्यति नै यी सत्यताहरू हाम्रो वास्तविक अनुभवमा साँचो भएको पाउनेछौं। धेरै पटक हामीले हाम्रा आँखाहरू येशू ख्रीष्टमा भएको हाम्रो सिद्ध अवस्थाको सत्यताबाट फर्काएर गलत तवरले हाम्रो हारपूर्ण, असिद्ध र सङघर्षपूर्ण अभ्यासमा लगाउँदछौं। एकजना विश्‍वासीले यो सहायताजनक उदहारण दिए: “सत्यता, विश्‍वास र अभ्यास पर्खालमाथि हिँडिरहेका थिए। सत्यता स्थिरतासाथ अघि बढे; तिनले दायाँ पनि हेरेनन्, बायाँ पनि हेरेनन्, न ता पछाडि नै हेरे। विश्‍वासले पछ्याउँदै थिए र उनले सत्यतालाई हेरून्जेल ठिकै थियो; तर जब उनले अभ्यासको चिन्ता गरी “उसलाई कस्तो छ होला?” भनी फर्केर हेरे, उनले आफ्‍नो सन्तुलन गुमाए र पर्खालबाट खसे र बिचरा बूढो अभ्यास पनि तिनको पछि लडिहाले।” विश्‍वास नै चाबी हो!

“यही प्रकारले तिमीहरूले पनि आफूलाई पापका निम्ति साँच्चै मरेका, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्‍वरका निम्ति जिउँदा भएका ठान [सत्यतालाई विश्‍वास गर]!” (रोमी ६:११)

“बप्तिसमामा तिमीहरू उहाँसित गाडियौ, जसमा उहाँलाई मरेकाहरूबाट बिउँताउनुहुने परमेश्‍वरको कार्यमाथि राखिएको विश्‍वासद्वारा तिमीहरू पनि उहाँसित बिउँताइयौ” (कलस्सी २:१२)

म परमेश्‍वरको पुत्रको विश्‍वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो” (गलाती २:२०)

“किनकि ख्रीष्ट येशूमा न खतना न बिनाखतना केही कामको छ, तर विश्‍वास, जसले प्रेमद्वारा काम गर्छ” (गलाती ५:६)

“यसकारण हामी देख्दछौं, अविश्‍वासको कारणले तिनीहरू प्रवेश गर्न सकेनन् . . . यसकारण त्यस विश्राममा प्रवेश गर्नालाई हामी प्रयत्न गरौं, नत्र त्यही अविश्‍वासको नमुनाअनुसार कुनै मानिस लड्ला” (हिब्रू ३:१९; ४:११)

“किनकि परमेश्‍वरबाट जन्मेको हरेकले संसारमाथि जय प्राप्त गर्छ; अनि हाम्रो विश्‍वास नै यो विजय हो, जसले संसारमाथि जय प्राप्त गर्छ” (१ यूहन्ना ५:४)

विश्‍‍वासद्वारा ख्रीष्ट तिमीहरूका हृदयहरूमा बास गरून्” (एफेसी ३:१७)

“धर्मी जन विश्‍वसद्वारा जिउनेछ” (हिब्रू १०:३८)

७) ख्रीष्टिय जीवन जसरी सुरु भयो, त्यसरी नै जारी रहनुपर्छ।

“यसकारण जसरी तिमीहरूले ख्रीष्ट येशू प्रभुलाई ग्रहण गरेका छौ, उसरी नै तिमीहरू उहाँमा हिँड” (कलस्सी २:६)

“किनकि हामी रूप देखेर होइन, तर विश्‍वासद्वारा हिँड्छौं” (२ कोरिन्थी ५:७)

“तिमीहरूले आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ कि विश्‍वासको समाचारद्वारा? के तिमीहरू यति बुद्धिहीन छौ? आत्मामा शुरु गरेर अब शरीरमा सिद्धयाउँछौ?” (गलाती ३:२-३)

“किनकि आत्माद्वारा हामी विश्‍वासले धार्मीकताको आशाको बाटो हेर्दछौं . . . तिमीहरू राम्ररी दगुरिरहेका थियौ; सत्यलाई नमान्नू भनेर कसले तिमीहरूलाई बाधा दियो?” (गलाती ५:५-७)

“धीरजसँग हाम्रा सामु राखिएको त्यो दौड दगुरौं, हाम्रो विश्‍वासका कर्ता र सिद्ध पार्नुहुने येशूलाई हेर्दै” (हिब्रू १२:१-२)

८) जसरी क्रूस सुसमाचारको केन्द्रिय वा प्रमुख कुरा हो, त्यसरी नै क्रूस ख्रीष्टिय जीवनको केन्द्रिय वा प्रमुख कुरा हुनुपर्छ।

“तर हाम्रा प्रभु येशू ख्रीष्टको क्रूसमा बाहेक अरू कुनै कुरामा म गर्व गर्दिनँ, जसद्वारा संसार मेरो निम्ति, र मचाहिँ संसारका निम्ति क्रूसमा टाँगिएको छु” (गलाती ६:१४)

“म ख्रीष्टसित क्रूसमा टाँगिएको छु” (गलाती २:२०)

“हाम्रो पुरानो मान्छे उहाँसँगै क्रूसमा टाँगियो भन्ने कुरा थाह गर्दै ” (रोमी ६:६)

“किनकि मैले तिमीहरूका बीचमा येशू ख्रीष्ट, र उहाँ क्रूसमा टाँगिनुभएको कुराबाहेक अरू केही कुरा नजान्ने निर्णय गरेको थिएँ” (१ कोरिन्थी २:२)

उहाँको मृत्युसँग एक रूपको भएर म उहाँलाई, उहाँको बौरिउठाइको सामर्थ्यलाई र उहाँका दु:खहरूको सङ्गतिलाई जान्न सकूँ” (फिलिप्पी ३:१०)

“येशूको जीवन पनि हाम्रो शरीरमा प्रकट होओस् भनेर प्रभु येशूको ‘मराइ’ सधैंभरी शरीरमा लिएर यताउता हिँड्छौं; . . . हामी जिउँदाहरू येशूको कारणले सधैंभरी मृत्युको हातमा सुम्पिइन्छौं” (२ कोरिन्थी ४:१०-११)

“किनकि ख्रीष्टको प्रेमले हामीलाई विवश पार्दछ, किनभने हामी यो निर्णय गर्दछौं − सबैका लागि एकजना मर्नुभयो भने साँच्चै सबै मरे; अनि सबैका निम्ति उहाँ मर्नुभयो; यसकारण जिउनेहरू अब उसो आफ्‍ना निम्ति जिउनिहुँदैन, तर उहाँका निम्ति जिउनुपर्छ जो उनीहरूका निम्ति मर्नुभयो र बौराइनुभयो” (२ कोरिन्थी ५:१४-१५)

“साँचो-साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना भुइँमा खसेर मरेन भने त्यो एकलै रहन्छ; तर मर्‍यो भने त्यसले धेरै फल फलाउँछ। जसले आफ्‍नो प्राणलाई माया गर्छ, त्यसले त्यो गुमाउनेछ; अनि जसले यस संसारमा आफ्‍नो प्राणलाई घृणा गर्छ, त्यसले यसलाई अनन्त जीवनसम्म जोगाइराख्नेछ” (यूहन्ना १२:२४-२५)

“किनकि तिमीहरू मरेका छौ, र तिमीहरूको जीवन ख्रीष्टसँग परमेश्‍वरमा लुकेको छ” (कलस्सी ३:३)

“यसकारण ख्रीष्टले हाम्रा लागि शरीरमा दु:ख भोग्‍नुभएको हुनाले तिमीहरूले पनि त्यही प्रकारको मन भएको हतियार भिर” (१ पत्रुस ४:१)

९) जीवन जिउने नियमको रूपमा विश्वासी व्यवस्थाको अधीनमा छैन, र ऊ पवित्रीकरणको माध्यमको रूपमा त्यसको अधीनमा छैन।

“किनकि पापले तिमीहरूमाथि राज्य गर्नेछैन; किनभने तिमीहरू व्यवस्थाको अधीनमा छैनौ, तर अनुग्रहको अधीनमा छौ” (रोमी ६:१४ र १५ पद हेर्नुहोस्)

“तिमीहरूबाट म यो मात्र जान्न चाहन्छु − तिमीहरूले आत्मालाई व्यवस्थाका कामहरूद्वारा पायौ कि विश्‍वासको समाचारद्वारा? के तिमीहरू यति बुद्धिहीन छौ? आत्मामा शुरु गरेर अब शरीरमा सिद्धयाउँछौ?” (गलाती ३:२‍-३)

“तर तिमीहरू आत्माद्वारा डोर्‍याइँदछौ भने तिमीहरू व्यवस्थाको अधीनतामा छेनौ” (गलाती ५:१८)

“‘धर्मी जन विश्‍वासद्वारा जिउनेछ।’ तर व्यवस्था विश्‍वासबाटको होइन; तर ‘जुन मान्छेले तिनलाई पालन गर्दछ, ऊ तीद्वारा जिउनेछ'” (गलाती ३:११-१२)

व्यवस्थाले जीवन दिन सक्दैन। व्यवस्थाले एक व्यक्तिलाई पवित्र पार्न सक्दैन। यसले शुद्ध पार्न सक्दैन। व्यवस्थामा कुनै समस्या छैन (रोमी ७:१२)। समस्या यो हो कि पापी, पाप-भ्रष्ट मानिसहरूले यसलाई पालन गर्न सक्दैनन् (रोमी ७:१४)। ज-जसले आफूलाई व्यवस्थामुनि राख्दछन् तिनीहरूले अवश्‍य पनि बन्धनको महसुस गर्नेछन् किनभने पापले तिनीहरूमाथि राज्य गर्नेछ (दाँज्नुहोस् रोमी ६:१४)। येशू ख्रीष्ट हाम्रो जीवनको मानदण्ड हुनुहुन्छ: “मेरो निम्ति जिउनु ख्रीष्ट हुनुहुन्छ” (फिलिप्पी १:२१)। परमेश्‍वरको पवित्र व्यवस्था पालन गर्नलाई हाम्रो शरीरिक प्रयासहरू र सङ्घर्षहरू कहिल्यै सफल हुन सक्दैनन्। “किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको व्यवस्थाले मलाई पाप र मृत्युको व्यवस्थाबाट छुटकारा दिएको छ” (रोमी ८:२)। व्यवस्था हामीद्वारा कहिल्यै पूरा हुनेवाला छैन, तर विश्‍वासद्वारा अपनाइएको परमेश्‍वरको सामर्थ्य र कामद्वारा त्यो हामीमा पूरा हुनसक्छ। “यसैले कि व्यवस्थाको धार्मिकता हामीमा, जो शरीरअनुसार होइन, तर आत्माअनुसार हिँड्दछौं, पूरा होओस्” (रोमी ८:४)। जसरी मुक्ति “विश्‍वासद्वारा अनुग्रहले” हो, पवित्रीकरण पनि त्यस्तै हो।

१०) ख्रीष्टिय जन सम्पूर्णत: परमेश्‍वरको अनुग्रहको ऋणी छ!

“कि उहाँका सामु कुनै प्राणीले घमन्ड गर्न नपाओस्” (१ कोरिन्थी १:२९)

तर म जे छु, परमेश्‍वरको अनुग्रहद्वारा नै छु; अनि मलाई दिइएको उहाँको अनुग्रह व्यर्थ भएन; तर मैले उनीहरू सबैले भन्दा साह्रै बेसी मेहनत गरें; तरै पनि मैले होइन, तर मसँग भएको परमेश्‍वरको अनुग्रहले नै हो” (१ कोरिन्थी १५:१०)

“किनकि तिमीहरूले विश्‍वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ . . . किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका कारिगरी हौं, जुन कामहरूमा हामीले हिँड्नुपर्छ भनेर परमेश्‍वरले अघिबाटै तिनलाई तयार पार्नुभएको छ . . . किनकि ख्रीष्ट येशूमा न खतना, न बिनाखतना केही कामको छ, तर नयाँ सृष्टि। अनि जतिजना यस नियममुताबिक हिँड्छन्, उनीहरूमाथि र परमेश्‍वरको इस्राएलमाथि शान्ति र कृपा रहिरहून्” (एफेसी २:८-१०; गलाती ६:१५-१६)

“तब के? हामी व्यवस्थाको अधीनमा छैनौं, तर अनुग्रहको अधीनमा छौं भनेर के हामी पाप गरौं त? कदापि होइन!” (रोमी ६:१५ र १४ पद हेर्नुहोस्)

“किनकि मुक्ति ल्याउने परमेश्‍वरको अनुग्रह सबै मानिसहरूकहाँ देखा परेको छ, र हामीलाई यो सिकाउँछ − अभक्ति र सांसारिक अभिलाषाहरू इन्कार गरेर यस वर्तमान संसारमा हामीले आत्मासंयम, धार्मिकता र भक्तिसाथ जिउनुपर्छ” (तितस २:११-१२)

“अनि सधैंभरि सबै कुराहरूमा पूरा भरिभराउ भएर हरेक असल कामका लागि तिमीहरू भरपूर होओ भनेर तिमीहरूलाई सबै अनुग्रह प्रशस्त गरी दिनालाई परमेश्‍वर सामर्थी हुनुहुन्छ” (२ कोरिन्थी ९:८)

मेरो अनुग्रह तिम्रा लागि प्रशस्त छ” (२ कोरिन्थी १२:९)

“यसकारण हे मेरा छोरा, ख्रीष्ट येशूमा भएको अनुग्रहमा तिमी बलियो होऊ” (२ तिमोथी २:१)

“पावल र बर्नबास . . . ले ‘परमेश्‍वरको अनुग्रहमा लगिरहनुहोस्‘ भनी तिनीहरूलाई मनाए” (प्रेरित १३:४३–हामीले अनुग्रहद्वारा मुक्ति पाउने मात्र होइन तर अनुग्रहमा लागिरहनु पनि पर्छ। ख्रीष्टटियन जीवन जसरी सुरुआत भयो, त्यसरी नै अघि बढ्नुपर्दछ)

“र जसरी पापले मृत्युमा राज्य गर्‍यो, त्यसरी नै हाम्रा प्रभु येशू ख्रीष्टद्वारा अनुग्रहले पनि धार्मिकताद्वारा अनन्त जीवनका लागि राज्य गरोस्” (रोमी ५:२१)

“तब उहाँका सहकर्मीहरू भएका हुनाले हामी तिमीहरूलाई पनि विन्ती गर्दछौं: ‘परमेश्‍वरको अनुग्रह व्यर्थमा ग्रहण नगर!‘” (२ कोरिन्थी ६:१)

“परमेश्‍वरको अनुग्रहलाई म व्यर्थको तुल्याउँदिनँ”(गलाती २:२१; हेर्नुहोस् गलाती ५:४ र हिब्रू १२:१५)

अनुग्रह . . . मा बढ्दै जाओ” (२ पत्रुस ३:१८)

अनुग्रहको माने यो हो कि परमेश्‍वरले सब श्रेय पाउनुहुन्छ! मुक्ति उहाँकै हो! जीवन उहाँकै हो! कार्य उहाँकै हो! परमेश्‍वरलाई महिमा होस्! थुमा योग्य हुनुहुन्छ! हाम्रा शरीरहरूमा ख्रीष्टको महिमा भएको होस् (फिलिप्पी १:२०)! ख्रीष्ट हामीमा बनिनुभएको होस् (गलाती ४:१९)! उहाँका फलहरू उहाँकै महिमाको निम्ति भएको होस् (फिलिप्पी १:११)! हामी उहाँको महिमा प्रकट गर्ने भाँडाहरू भएका हौं (एफेसी २:७)! ईश्‍वरको अनुग्रह हेरी ऋणी आफूलाई ठान्छु! “म जे छु, परमेश्‍वरको अनुग्रहद्वारा नै छु” (१ कोरिन्थी १५:१०)। “र लेखिएअनुसार, ‘जसले गर्व (घमण्ड) गर्दछ, उसले प्रभुमा गर्व (घमण्ड) गरोस्'” (१ कोरिन्थी १:३१)।