मण्डलीमा बोल्ने कि चुप बस्ने?

हालसालै एकजना पाठकले हामीलाई १ कोरिन्थी १४:३४-३५ को अर्थ के होला भनेर सोध्नुभएको थियो।

१ कोरिन्थी १४:३४-३५ — “तिमीहरूका स्त्रीहरू मण्डलीहरूमा चुप लागून्; किनकि उनीहरूलाई बोल्ने अनुमति छैन, तर आज्ञाकारी भएर रहने आज्ञा छ; व्यवस्थाले पनि यसै भन्छ। अनि उनीहरू केही सिक्न चाहन्छन् भने घरमा आफ्‍ना लोग्नेहरूलाई सोधून्; किनकि स्त्रीहरूका निम्ति मण्डलीमा बोल्नुचाहिँ शर्मको कुरा हो।”

यी दुईटा पदको अर्थप्रकाशन गर्न प्रथमत: हामीले १ कोरिन्थी १४:२६-४० को पूरै खण्डको सन्दर्भलाई ध्यान दिनुपर्छ।

“तब भाइहरूहो, के गर्ने त? जब तिमीहरू भेला हुन्छौ, तब तिमीहरूमध्ये हरेकसँग भजन हुन्छ, शिक्षा हुन्छ, भाषा हुन्छ, प्रकाश हुन्छ, अनुवाद हुन्छ। सबै कुराहरू उन्नतिका निम्ति नै गरिऊन्। यदि कसैले अन्य भाषा बोल्छ भने दुईजना अथवा बेसीभन्दा बेसी तीनजना होऊन्, र पालैसँग बोलून्, अनि एउटाले अनुवाद गरोस्। तर अनुवाद गर्ने कोही छैन भने मण्डलीमा ऊ चुप लागोस्; र मन-मनमा आफैसँग र परमेश्वरसँग बोलोस्। अनि भविष्यवक्ताहरूचाहिँ दुई वा तीनजना बोलून्, र अरूले जाँचून्। यदि छेवैमा बस्ने अर्कोलाई कुनै प्रकाश दिइयो भने पहिलोचाहिँ चुप लागोस्। किनकि सबैले सिकून् र सबैले सान्त्वना पाऊन् भनेर तिमीहरू सबैले एक एक गर्दै भविष्यवाणी गर्न सक्छौ। अनि भविष्यवक्ताहरूका आत्मा भविष्यवक्ताहरूकै अधीनमा हुन्छन्। किनकि परमेश्वर गडबडका परमेश्वर हुनुहुन्न, तर शान्तिका परमेश्वर हुनुहुन्छ, जसरी पवित्र जनहरूका सबै मण्डलीहरूमा छ। तिमीहरूका स्त्रीहरू मण्डलीहरूमा चुप लागून्; किनकि उनीहरूलाई बोल्ने अनुमति छैन, तर आज्ञाकारी भएर रहने आज्ञा छ; व्यवस्थाले पनि यसै भन्छ। अनि उनीहरू केही सिक्न चाहन्छन् भने घरमा आफ्‍ना लोग्नेहरूलाई सोधून्; किनकि स्त्रीहरूका निम्ति मण्डलीमा बोल्नुचाहिँ शर्मको कुरो हो। अथवा के परमेश्वरको वचन तिमीहरूबाट निस्क्यो? कि तिमीहरूकहाँ मात्रा आयो? यदि कुनै मानिसले आफूलाई ‘भविष्यवक्ता हुँ’ वा ‘आत्मिक हुँ’ भन्ने सम्झन्छ भने जुन कुराहरू म तिमीहरूैलाई लेख्दछु, ती प्रभुका आज्ञाहरू हुन् भनी उसले स्वीकार गरोस्। तर कुनै मानिस अनजान छ भने ऊ अनजानै रहोस्। यसकारण भाइहरूहो, उत्सुकतापूर्वक भविष्यवाणी गर्ने लालसा गर, र भाषाहरू बोल्नालाई मनाही नगर। सबै कुराहरू शिष्टतापूर्वक र क्रमअनुसार गरिऊन् (१ कोरिन्थी १४:२६-४०)।

पूरै खण्डलाई हेर्दा यहाँ निम्न कुराहरू स्पष्ट हुन्छ:

  1. पावल प्रेरितले यस खण्डमा कोरिन्थ शहरका ख्रीष्टियनहरू एक ठाउँमा मण्डलीको रूपमा (“मण्डलीमा”, पद २८) भेला हुँदा (“जब तिमीहरू भेला हुन्छौ”, पद २६) को सन्दर्भमा केही निर्देशनहरू दिँदैछन्।
  2. त्यसरी भेला हुँदा कोरिन्थका विश्वासीहरूले “सबै कुराहरू उन्नतिका निम्ति नै गरिऊन्” (पद २६) भन्ने आधारभूत सिद्धान्तलाई पछ्याउनुपर्थ्यो। “उन्नति” ग्रीकमा “इकोदोमी” हो र यसले भवन निर्माण कार्यलाई जनाउँछ। “सबै कुरा उन्नतिका निम्ति गरिऊन्” भन्नाले मण्डलीमा एकअर्कालाई एउटा भवनलाई जस्तै आत्मिक रूपमा निर्माण गर्ने, बलियो र स्थिर बनाउने उद्देश्यले सबै कुराहरू गरिनुपर्छ भन्ने बुझिन्छ।
  3. यस खण्डको फराकिलो सन्दर्भ १ कोरिन्थी १४:१ बाट शुरु हुन्छ र बोल्ने कामको उद्देश्य मण्डलीको उन्नति हुनुपर्छ भनेर पावलले सिकाउँदै आएका छन्। अनि १४:२७ मा आएर पावलले यस्तो उन्नति हुन सक्न मण्डलीमा बोल्ने काम पालैसँग गरिनुपर्छ र एकजनाले बोल्दै गर्दा बाँकी जति “चुप” बस्नुपर्छ (ग्रीक “सिगाओ”) भनेर आज्ञा दिन्छन् (पद २७, ३०-३१)। “बोल्नु” ग्रीकमा “लालेओ” हो र नयाँ नियममा यो शब्दले केवल कुनै कुरा “भन्ने” (ग्रीकमा “लेगो”) कामलाई मात्र नभएर धेरै पटक सिकाउने कामलाई अर्थात् शिक्षकले बोल्ने कामलाई जनाएको छ, यद्यपि सधैं त होइन (मर्कूस २:२ मा यसलाई “प्रचार गर्नु” भनेर समेत अनुवाद गरिएको छ)।
  4. अन्यभाषाको सवालमा अनुवाद गर्ने व्यक्ति नभएको खण्डमा अन्यभाषा बोल्ने व्यक्ति “चुप लागोस्” (सिगाओ) भनिएको छ (पद २८)
  5. भविष्यवाणीको सवालमा अर्को व्यक्तिलाई पालो दिइनुपर्छ र “पहिलोचाहिँ चुप लागोस्” (सिगाओ) भनिएको छ (पद ३०)।
  6. यसै सन्दर्भमा मण्डलीमा स्त्रीहरूको बोल्ने काम (उही शब्द “लालेओ”) लाई पावल प्रेरितले निषेध गरेका छन्, उही शब्द “चुप लागून्” (सिगाओ) भन्ने शब्द प्रयो गरेर (पद ३४)। यस अघिको सन्दर्भबाट यो प्रस्ट भइसकेको छ कि यहाँ बोल्ने काम भन्नाले सम्पूर्ण मण्डली सभालाई सिकाउने कामलाई जनाउँछ। यो कुरा १ तिमोथी २:११-१२ सित तुलना गर्दा त्यहाँबाट पनि यस अर्थप्रकाशन सही हो भनेर पुष्टि हुन्छ। “स्त्रीले पूरा अधीनतामा बसेर चुपचापसँग सिकोस्। तर म स्त्रीलाई शिक्षा दिने अनुमति दिन्न, न ता पुरुषमाथि अधिकार जमाउने अनुमति नै दिन्छु; तर ऊ चुपचाप रहोस्।” किन? भन्ने प्रश्नको जवाफ पावलले पवित्र आत्माको प्रेरणाद्वारा लगत्तै यसरी दिन्छन्, “किनकि आदम पहिले बनाइए, त्यसपछि हव्वा” (१ तिमोथी २:१३)।

निष्कर्ष: स्त्रीहरूले आफूभन्दा कम उमेरका स्त्रीहरूलाई व्यावहारिक कुराहरू सिकाउन सक्छन् (तीतस २:३-५), बाबुनानीहरूलाई सिकाउन सक्छन् (१ तिमोथी २:१५; ५:१०), प्रिस्किल्लाले आफ्‍ना पतिसित मिलेर छुट्टै अपोलोसलाई सिकाउन सक्छन् (प्रेरित १८:२४-२८), तर पुरुष तथा स्त्रीहरू एकै ठाउँमा भेला भएको मण्डली सभामा सिकाउने काम गर्न स्त्रीहरूलाई परमेश्वरको वचनले अनुमति दिँदैन। यो निषेधाज्ञा आदम पहिले बनाइएको र हव्वा पछि बनाइएको कुरामा आधारित छ (१ तिमोथी २:१२-१३)। तसर्थ, यो सुरुका कुनै-कुनै मण्डलीहरूले मात्र मान्नुपर्ने नियम नभएर ख्रीष्टका सबै मण्डलीहरूले आज पनि पालन गर्नुपर्ने नियम हो।