“निश्‍चयता” – अकिना महर्जन

“येशू हुन् मेरो निश्‍चयता
दिँदछन् मनमा महिमाको आश
मुक्तिको भागी स्‍वर्ग मेरो घर
उनमा म बस्छु सधैं निडर।”

माथिको भजन मेरी छोरी अकिनालाई धेरै मन पर्ने भजन थियो। मेरी छोरी अकिनाको जन्‍म २०६५-०८-१९ गते भएको थियो। अकिना, हाम्रो छोरी जन्‍मदा हामी धेरै खुसी थियौं। मेरो श्रीमान् त झन् धेरै खुशी हुनुहुन्थ्यो। छोरीको नाम श्रीमानले शब्दकोषबाट खोजेर ‘अकिना’ भनी राख्‍नु भएको अहिले नै जस्तो लाग्छ। त्यति नै बेला बत्ति गयो। किनकि त्यो समयहरूमा लोड सेडिङको समय थियो। श्रीमानले राती कति बजेदेखि नाम खोजी राख्‍नुभएको रहेछ, मलाई त याद भएन तर बिहान ठिक ५ बजे बत्ति पनि आयो, त्यति नै बेला अकिनाको नाम पनि भेट्टाउनुभयो। उसको नामको अर्थ रगतसँग सम्बन्धित थियो। 

अकिनाको बारेमा भन्‍नुपर्दा ऊ सानैदेखि सुशिल, आज्ञाकारी, दयालु मन भएकी छोरी थिई। म अस्‍पतालमा रहँदा बाइबल अध्ययन गर्दै जाँदा एउटा यस्तो पद भेट्‍टाएँ र मलाई यस पदबाट धेरै सान्त्‍वना मिलेको थियो, यशैया ५७:१-२, यसै पदबाट मैले अकिनालाई पनि सिकाउन पाएँ। यहाँ यस्तो लेखिएको थियो, 

“धर्मी जन नाश हुँदैछ, तर कसैले यो कुरा हृदयमा राख्दैन; अनि करूणामय मानिसहरू लगिँदैछन्; तर धर्मी जन त आउन लागेको विपत्तिको सामुबाट लगिएको हो भनी कसैले विचार गर्दैन। ऊ शान्तिभित्र प्रवेश गर्नेछ; तिनीहरूले आफ्‍ना ओछ्यानहरूमा विश्राम लिने छन्- आफ्नो सीधा चालमा हिँड्ने हरेक जन।”

यो पद पढ्दा मैले धेरै मनन गरें, प्रार्थना गरें अनि अकिनाको दयालु स्‍वभावलाई सम्झना गरें। मलाई अझै त्यो याद ताजा छ अकिना एक वा साँढे एक वर्षको हुँदा हामी शनिबारको आराधना सङ्गतिबाट फर्केका थियौं। तिनकुने चोकबाट टेम्पोमा बस्यौं। हाम्रो अगाडि एउटा बूढा बाजे हुनुहुन्‍थ्यो। त्यो बाजे हेर्दा धेरै दु:खित र अनुहार निराश देखिन्थ्यो। उहाँको लुगा फाटेको, ढाका टोपी पनि अलि फाटिएको जस्तो देखिन्थ्यो। अकिनाले त्यो बाजेलाई हेरिरहेकी थिई, उसले बिस्‍तारै बाजेलाई छुन गई। अनि ऊ डराई अनि फेरि अकिनाले बाजेलाई छोई, उसको त्यो सानो कोमल हातले बाजेको चाउरीएको हातमा विस्तारै छुन गई। पछि बाजेले, ‘आउने? आऊ’ भनेर बोलाउनु भएपछि उसले मेरो मुखमा हेरी अनि मैले जाऊ भनेपछि खुरूक्‍क गयो। अकिना बाजे सँगै बस्यो। बाटोमा हिँड्दा पनि बाटोमा बसेर माग्‍नेहरूप्रति ऊ धेरै दयाले हेरिरहन्थ्यो। सानै देखि मण्डली जान खूबै इच्छुक हुने, आज्ञाकरी, परमेश्‍वरको डर मान्‍ने बालिका थिई। ऊ सानै देखि परमेश्‍वरलाई प्रार्थना गर्न रुचाउँथी। 

२०७७-०२-१० गते, मेरी छोरीले अचानक तिघ्रा दुख्यो भन्‍न थाली। अस्पतालमा उसलाई देखाउन भनी उनको बाबाले लिएर जानुभयो। डाक्टरले रगत चढाउनुपर्छ भन्‍नुभयो। उसको शरीरमा रातो रगत अनि सेतो रगतको कमी भएको रिपोर्टबाट थाहा पायौं। त्यही रातमा नै अकिनाले मलाई आफूले मुक्ति पाएको निश्‍चयता बताएकी थिई। “मामु, आज मैले ग्रहण गरेको छु, सबै मेरा पापहरूको स्वीकार गरेर क्षमा मागेको छु।”  भनेर खुसी साथ गवाही दिएको मलाई याद आइरहन्छ। मैले उसलाई सोधेको पनि थिएँ, “साँच्‍चै हो त, के आज नै तिमी मर्‍यौं भने तिमी प्रभुसँगै हुन्छौ त? उनले उत्तर दिएकी थिई, “अँ, म आज मरें भने पनि प्रभुसँगै हुन्छु”  त्यसो भन्दा उसको अनुहारमा त्यो छुट्टै खुसी र त्यो उज्यालोपना देख्‍न सकिन्थ्यो। यस्तो निश्‍चयताको  गवाही सुन्दा म धेरै खुसी भएँ। उसको शरीरमा लागेको त्यो घातक रोग, थाहा पाउँदा आफूभित्र चारै तिर अन्धकार त छाएको थियो नै तर उसले पाएको अनन्त मुक्तिको गवाहीले छुट्टै आनन्द पनि ल्याएको थियो। वास्तवमा भन्‍नुपर्दा पोलेको घाउमा शीतल दिने मलहम लाए जस्तै भएको थियो। 

अकिनाको उपचार क्रममा किमो दिनुपर्ने हुन्थ्यो। त्यति खेर उनको कष्ट ज्यादै हुन्थ्यो। त्यो कष्ट पीडा हामीलाई हेर्न साह्रै असैह्‍य हुन्थ्यो। तर उनी भने सहन्थिन्। अस्पतालको शैयामा उसले आफ्नो बाबालाई “बाबा, म मरे भने स्‍वर्गमा मलाई भेट्‍न आउनुस् है। तपाईं पनि प्रभु येशू ख्रीष्‍टमा विश्‍वास गर्नुस् है।”  भनी भनिरहन्थिन्। बाबालाई बाइबल पढेर सुनाउन लगाउथिन्। ऊसँग भएको त्यो क्यान्सर रोगले उसलाई मृत्युमा पुर्‍याउँछ भन्‍ने कुरा राम्ररी थाहा थियो तर उसलाई यो पनि थाहा थियो कि मृत्यु पछि प्रभुको घरमा भजन गाउँदै म बस्‍नेछु। छोरी त्यो कुरामा निश्‍चित थिइन्। अकिना अस्पतालमा छँदा भेटेको इटहरी व्याप्टिष्ट मण्डलीको एकजना दाई, उहाँ पनि यही रोग लागेर आउनुभएको थियो। पछि दाई प्रभुमा सुत्‍नु भएपछि उहाँको छोराले अकिनालाई खबर गरेको रहेछ। अकिनाले बिहानै मलाई बताइन्। पछि अकिनाको मोबाइलमा मेसेज हेर्दा अकिनाले सुन्दर तरिकाले सान्‍तवना दिएकी मैले देखेँ। म छक्‍कै परेँ त्यहाँ यस्तो लेखिएको थियोः“दाई, निराश नहुनुहोस् है। अङकल प्रभुमा सुत्‍नु भएको छ। अहिले उहाँ परमेश्‍वरसँग प्रभुको घरमा सङ्गति गरेर बसी राख्‍नुभएको छ।” भन्दै यशैया ५७: १-२ पद बाट सान्तवना दिएको म्यासेज देखे। मैले थाह पाएँ, अनि लाग्यो, अहो! मेरो छोरी म भन्दा पनि कति बलियो! अनि कति सहासी! 

अकिनामा मृत्युको कुनै डर थिएन। मलाई यस्तो रोग लागेको छ भनेर ऊ कहिल्यै निराश पनि भएन तर उल्टै उसले हामीलाई सान्तवना दिन्थिन् र भन्थिन् “मेरो रोग निको नभए के भयो त? मेरो पापको रोग निको भएको छ, अनि म प्रभुको घरमा हुनेछु।”  यहाँ मात्र होइन उसको विश्‍वासको गवाही इटहरी व्याप्टिष्ट मण्डलीमा पनि पुगेको रहेछ। हामीलाई त्यही अकिनासँगै उपचार गर्न आउनुहुने दाईबाट थाहा भयो। उहाँहरू पनि छक्‍क पर्नुभएको थियो। “हाम्रो मण्डलीमा समेत अकिनाको विश्‍वासको गवाही अनि उसको त्यो असल स्वभाव, मीठो बोलीको कुरा भएको छ” भनेर हामीलाई बताउनुभयो।

अस्‍पतालमा सबै डाक्‍टर, अरू अस्‍पतालको मानिसहरूले समेत अकिनाको बोली, अकिनाको स्वभावको प्रंशसा गर्नुहुन्थ्यो। डा. विशेष पौड्याल अकिनाको धेरै तारीफ गर्नुहुन्थ्यो। अकिना God’s Gift अर्थात् परमेश्वरको दान हो भन्‍नुहुन्थ्यो। अकिना सानै उमेरदेखि सबैको नजरमा फरक व्यवहार देखाउने छोरी थिइन्। मलाई जँहा सम्‍म लाग्छ अकिनाले कसैलाई दुःखित बनाएको छैन। 

घरी-घरी उसलाई गाह्रो हुन्थ्यो, जब ऊ पीडामा हुन्थ्यो। म सोध्‍ने गर्थेः “छोरी, के तिमीले मुक्ति पायौ, अनि के तिमी तयार छौ प्रभुको घरमा जान?” उसले झर्को नमानी मलाई बताउथिन्, “म तयार छु। मैले मुक्ति पाएको छु।”  उसको यो गवाहीले त्यस्तो पीडामा पनि मलाई आनन्दित तुल्याउथ्यो। म उसको त्यो पीडालाई अन्तिमसम्‍म पनि हेर्न सक्थें तर यदि उसले मुक्ति नपाई मरिन् भने म उसको अनन्त पीडालाई कसरी हेर्न सक्‍थें र! त्यसैले म घरी-घरी उसलाई सोध्‍ने गर्थें, “छोरी, तिमीलाई डर लागेको छ?”  उसले जवाफ दिन्थी, “छैन, मामु मलाई मर्न डर लाग्दैन खाली छट्पट्टि होला कि भन्‍ने मात्र डर लाग्छ”  उसको यो कुराले मुटु चुडेको जस्तो हुन्थ्यो। यसको जवाफ म केहि दिन सक्‍दिन थिएँ। परमेश्‍वरले प्रतिज्ञा अनुसार मृत्युको छाँयामा हिँड्नु परेता पनि उहाँले तिमीलाई छोड्नुहुने छैन, अनि तिमीले डर मान्‍नु पर्दैन भनेर सान्तवना दिन्थें। परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ। अकिनाको हेरक पीडा अनि कष्‍टलाई देख्‍नुभयो। हाम्रो प्रार्थना सुन्‍नुभयो। उहाँको असल योजना र उहाँको प्रेमले आज मेरी छोरी अकिनाले शान्तिमा विश्राम लिएको छ।

छोरीले बाबालाई यसो पनि भनेकी थिइन्, ‘बाबा म प्रभुको घरमा गएपछि प्रभुलाई नछोड्नुस् है अनि बाबाले छोरीलाई भन्‍नुभयो, ‘मलाई प्रभुमा डोर्‍याउने छोरी नभएपछि कसले मलाई सिकाउँछ?’  अनि छोरीले बाबालाई सङ्गतिमा बस्‍नुहोस्, प्राथर्ना गर्नुहोस् अनि बाइबल पढ्नुहोस् सबै सिकिहाल्नुहुन्छ नि भनेर सम्झाउने गरेकी थिइन्। मेरी छोरी सानै उमेर देखि प्रभुमा धेरै अघि बढेकी थिइन। उनको हरेक चाल, स्‍वभाव, असल थियो। चाहे स्‍कूलमा चाहे अस्पतालमा सबैले उसलाई माया गर्नुहुन्थ्यो। उसलाई सबैले चिनेका थिए। सबैले उनको बारेमा “किनालाई कस्तो छ?” भनी सोध्‍ने गर्थे। 

अकिनाले १३ वर्षको उमेरमा, यो छोटो जीवनको यात्रामा पनि आफ्नो दौड पूरा गरिन्। उसले हरेक पल्‍ट, “म स्‍वर्गमा प्रभुको घरमा पुग्‍छु”  भन्‍ने आफ्नो निश्‍चयताको गवाही दिइएकी थिईन्। “मामु, केही वर्ष त हो नि फेरि हामी प्रभुको घरमा सँगै हुनेछौ।” त्यो निश्‍चयता अकिनाले व्यक्त गरेकी छिन्। उनको खप्‍न नसकिने दुखाइ, पीडा र छटपटहरूमा पनि उनले हामीलाई उत्साह, सान्‍त्वना र आशा दिएर गएकी छिन्। प्रभुको घरमा जाने, उहाँसँगै गएर सङ्गति गरेर बस्‍ने, उनको निश्‍चयता थियो। परमेश्‍वरको अनुग्रह अकिनाको जीवनमा प्रशस्त थियो।

म विदेश जाँदा अकिनालाई ३ वर्षको हुँदा छोडेर गएको थिएँ। त्यतिबेला उसलाई राम्रोसँग थाहा थियो कि मूर्तिपूजा गर्नुहुँदैन, टिका लगाउनु हुँदैन, झूट बोल्‍नु हुँदैन भनेर। म नहुँदा पनि उसले मूर्तिपूजा देखि अलग बस्‍ने गरेको रहेछ। सानै उमेरदेखि अकिना खराब कुराहरूबाट अलग बस्थिन्। साँच्‍चै भन्‍ने हो भने परमेश्‍वरको महान उद्देश्यलाई कसले पो जान्‍न सक्छ? यी सबै घटनाहरू परमेश्‍वरका योजनाहरू नै थिए जुन पूरा हुनुथियो। परमेश्‍वर हाम्रो निम्ति सबै कुरामा असल ठहरिनुभयो। उहाँ कहिल्यै गल्ती गर्नुहुन्‍न, अकिनाको लागि परमेश्‍वरले उत्तम कार्य गर्नुभएको छ। मैले भन्दा पनि धेरै माया गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ। उहाँकै महिमा सदा सर्वदा होस्।

– बिनु महर्जन

ख्रीष्टमस के हो?

– जोसेफ हान

डिसेम्बर २५ ख्रीष्टमसको दिन पर्छ। उक्त दिनमा येशू ख्रीष्ट जन्मनुभएको उपलक्षमा विश्वभरि उत्सव मनाउने गरिन्छ।तर येशूको जन्म-मिति किटान गरी तोक्न सकिन्न भन्ने कुरा प्राय: ख्रीष्टियानहरूले बुझेका छन्। वास्तवमा डिसेम्बर २५को दिन मान्ने चलन इटालीको राजधानी रोमबाट ईस्वी सम्वत् ३३६ मा सुरु भएको हो। जे होस्, वास्तविकता यो हो कियेशू साँच्ची नै इस्राएलमा करिब २००० वर्ष अघि जन्मनुभएको हो।

कन्याबाटको जन्म

बाइबलले यो बताउँदछ कि येशू अनन्त परमेश्वरका पुत्र हुनुहुन्छ। संसारका मुक्तिदाता हुनाका निम्ति येशू स्वर्गबाट यसपृथ्वीमा आउनु आवश्यक थियो। अनि यसका लागि उहाँ एक मानिस बन्नु आवश्यक थियो। परमेश्वरले आजभन्दा६००० वर्ष अघि संसारको सृष्टिको सुरुमा मानिसका प्रथम पूर्खा आदमलाई रच्नुभएको थियो तर आदमले पाप गरे रसबै मानिसहरू उनकै पापी वंशबाट जन्म लिएकाले सबै पापी बनें। अब स्वर्गका येशू यस पृथ्वीमा मानिसको रूपमा प्रवेश गर्नुपर्दा उहाँ मानिसको पाप स्वभावसँग नमिलीकन कसरी जन्मन सक्नुभयो त? अद्भुत कुरा यो छ कि बाइबलकासयौं भविष्यवाणीहरू पूरा गर्नुहुँदै हजारौं वर्ष अघिदेखिका भविष्यवाणीहरू अनुसार येशू मरियम नाम गरेकी एक कन्यास्त्रीको गर्भद्वारा जन्मनुभयो! उहाँ परमेश्वरको सामर्थ्यद्वारा पुरुषबिना नै जन्मनुभयो। यसरी येशू मानव जातिको पापीस्वभावदेखि पूरै पृथक रहेर जन्मनुभयो। यशैया नाम गरेका परमेश्वरका भविष्यवक्ताले येशूको जन्म हुनुभन्दा ७०० वर्षअगाडी यसरी लेखेका थिए, “हेर, एउटी कन्या गर्भवती हुनेछिन्, र तिनले एउटा छोरा जन्माउनेछिन्, र उनको नामइम्मानुएल राख्नेछिन् [जसको अर्थ हो, ‘परमेश्वर हामीसित’]।”

येशूलाई भेट्न आएका गोठालाहरू

येशूको जन्म हुँदा त्यहाँ “राती आफ्नो बगालको हेरचाह गर्दै बारीमा बसिरहेका गोठालाहरू थिए” (लूका २:८)। स्वर्गबाटएक स्वर्गदूत उनीहरूकहाँ देखा परे र “बडो आनन्दको शुभ समाचार” सुनाए: बेथलेहेमको शहरमा मुक्तिदाता येशूजन्मिनुभएको छ तिमीहरूले उहाँलाई “लपेट्ने लुगाहरूमा बेरिएको . . . डुँडमा सुतिरहेको भेट्टाउनेछौ” (लूका २:१०-१२)।यो खबर पाएपछि गोठालाहरू हतार-हतार आफ्ना मैदानहरू छोडे, राती नै बेथलेहेम गए र ठूलो आनन्दका साथउनीहरूलाई जस्तो बताइएको थियो त्यस्तै भेट्टाए।

यदि हामीले मुक्तिदाता येशूलाई भेट्टाउने हो भने यी नम्र गोठालाहरूले जस्तै हामीले पनि आफ्ना-आफ्ना “मैदानहरू” याकुराहरू र मार्गहरू त्याग्नै पर्छ र “रात” वा आफ्नो परिस्थितिको विषयमा कुनै बाहाना नबनाई, बेसमय नभनी, ढिलासुस्तीनगरी उहाँलाई यत्नसित खोज्नुपर्छ।

येशूको जन्मको उद्देश्य

पापी मानिसको सट्टा मरिदिनका लागि परमेश्वरका पुत्र येशू स्वर्ग छोड्नुभई यस संसारमा जन्म लिनुभयो। बाइबलले योबताउँदछ कि एक मात्र सृष्टिकर्ता र सत्य परमेश्वर पवित्र हुनुहुन्छ र उहाँले पापको न्याय गर्नैपर्छ। हामीलाई यो पनिबताइएको छ कि “सबैले पाप गरेका छन्, र परमेश्वरको महिमारहित हुन गएका छन्” र “धर्मी कोही छैन, एउटै पनि छैन” (रोमी ३:२३, १०)। झूटा ईश्वरहरू र मूर्तिहरू पूजेर, झूट बोलेर, चोरेर, हत्या गरेर (रिस गर्नु हृदयमा हत्या गर्नु बराबर हो), व्यभिचार गरेर (खराब इच्छाले हेर्ने कामलाई व्यभिचारलाई जस्तै न्याय गरिनेछ) र लोभ गरेर − परमेश्वरका नियमहरूतोडेर सबैले पाप गरेका छन्। यसैकारण सम्पूर्ण मानव जाति पवित्र परमेश्वरद्वारा अनन्त मृत्यु र नरकका निम्तिठहराइएका छन्। नरकलाई सदा-सर्वदा जलिरहने “आगोको झील” भनेर बाइबलमा वर्णित छ (प्रकाश २०:१५)।

तर एउटा असल खबर छ। यसलाई “सुसमाचार” भनिन्छ। सुसमाचार यही हो — येशू ख्रीष्ट स्वर्गबाट आउनुभई यससंसारमा, एउटा गोठमा, जन्मनुभयो। कसैले जिउन नसक्ने धर्मी र पापरहित जीवन उहाँले जिउनुभयो। जसको कारणयस दुष्ट र कपटी संसारले उहाँलाई घृणा गर्यो र झूटा आरोपका साथ उहाँलाई क्रूसमा मृत्यु-दण्ड भोग्नलाई सुम्पिदियो।तर येशू यही उद्देश्यले यस संसारमा आउनुभएको थियो। सबैका पापहरूको निम्ति सिद्ध बलिदान भएर क्रूसमा मर्नकोनिम्ति उहाँ जन्मनुभएको थियो। जब येशू यरूशलेमको कलवरी डाँडामा काँटीले ठोकिएर रगत बहाउँदै खाँबोमाझुण्डिरहनुभएको थियो, परमेश्वर पिताले मानिस जातिको सबै पापहरू आफ्ना पुत्र येशूमाथि राखिदिनुभयो र येशूलेत्यहाँ हाम्रो अनन्त दण्ड भोग्नुभयो र हाम्रो पापको सम्पूर्ण ऋण र जरिवाना तिरिदिनुभयो र चुक्ता गरिदिनुभयो। येशू हाम्रापापहरूको निम्ति मर्नुभएपछि उहाँलाई एउटा गुफाजस्तो चिहानमा गाडियो र एउटा ठूलो गोलो ढुङ्गाले त्यसको प्रवेश द्वारलाई बन्द गरियो। तब बाइबलले पहिल्यै भविष्यवाणी गरेअनुसार र येशू आफैले पनि पहिल्यै भन्नुभएअनुसार, उहाँमरेको-मरै हुनुभएन बरु तेस्रो दिनमा मृत्युलाई जितेर फेरि बौरिउठ्नुभयो र उहाँमाथि विश्वास गर्ने हरेकलाई पापको क्षमार अनन्त जीवन दिने प्रतिज्ञा गर्नुभयो। त्यसपछि उहाँले आफूलाई जीवित भएको देखाउनुहुँदै आफ्ना चेलाहरूलाई ४०दिनसम्म शिक्षा दिनुभयो र स्वर्गमा फेरि फर्की जानुभयो। अब चाँडै नै, यस संसारको अन्तमा, सबैको न्याय गर्न र यसपृथ्वीमा सदा-सर्वदा राज्य गर्नलाई उहाँ स्वर्गबाट फेरि आउनुहुनेछ।

निमन्त्रणा: पश्चात्ताप गरी उहाँलाई ग्रहण गर्नुहोस्

प्रिय मित्र, ख्रीष्ट तपाईंका पापहरूका निम्ति मर्नलाई आउनुभयो र जन्मनुभयो। आफ्नो पापको निम्ति बाहाना बनाउँदैत्यसैमा लागिनरहनुहोस्, बरु तपाईंको हृदयदेखि नै पापबाट फर्कनुहोस्। आफ्ना पापहरू परमेश्वरलाई स्वीकार्नुहोस् रयेशू ख्रीष्ट तपाईंका पापहरूका निम्ति मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा बौरिउठ्नुभयो भनी सम्पूर्ण हृदयले उहाँलाईग्रहण गर्नुहोस् र विश्वास गर्नुहोस्। अनि जुन घडी तपाईंले उहाँलाई ग्रहण गर्नुहुन्छ, परमेश्वरले तपाईंका सबै पापहरूआफ्ना पुत्र येशूको खातिर क्षमा गर्नुहुनेछ, तपाईंलाई बचाउनुहुनेछ र तपाईंलाई नयाँ हृदय र अनन्त जीवन दिनुहुनेछ।यसैले हामी तपाईंसित विन्ती गर्दछौं, उहाँलाई पुकार्नुहोस् र आजै मुक्ति पाउनुहोस्! तपाईं ती नम्र गोठालाहरू जस्तैहुनुभएको होस् जसले आजभन्दा २००० वर्ष अगाडी त्यो “पहिलो ख्रीष्टमस” मा जन्मिनुभएको संसारका मुक्तिदाता प्रभुयेशू ख्रीष्टलाई भेट्टाए र विश्वास गरे!