रसुवा बाढी: केही आत्मिक पाठहरू

 

ध्य नेपालमाथिको आकाश समग्रमा उज्यालो र घमाइलो थियो। २०८३ साल भाद्र १० गते बुधबार बिहान करिब ८ बजेर ५६ मिनेट जाँदा तिब्बतसँग सीमा जोडिएको रसुवाबाट तीव्र गतिमा आइरहेको आकस्मिक बाढीबारे नेपालको जल तथा मौसम विज्ञान विभाग (DHM) ले यसको पहिलो जानकारी प्राप्त गर्‍यो।

त्यतिबेलासम्म रसुवागढी र टिमुरेलाई बाढीले बगाइसकेको थियो। त्यसको ५-२० मिनेटपछि बाढीले स्याफ्रुबेँसी र मेलुङका धेरैजसो घरहरू नाश गर्‍यो  तर बाढी आइरहेको देखेकाले धेरैजसो मानिसहरू भाग्न र बाँच्न पाए। त्यतिखेर मात्र त्रिशूली नदीका किनारमा रहेका तल्लो भेगका बस्तीहरूले एसएमएसबाट चेताउनी पाउन थाले। करिब ९ बजेर १० मिनेट गएको थियो जब त्रिशूली बजारका मानिसहरूलाई आउँदै गरेको बाढीबारे लाउडस्पिकरबाट चेताउनी दिन थालियो। लगभग ४५ मिनेटपछि विशाल र उग्र बाढी आइपुग्यो र घरहरू, पुलहरू, सवारीसाधनहरू बगाएर लग्यो तर मानिसहरू बाँचे। यदि चेताउनी नदिइएको भए त्यहाँ धेरै मानिसहरू मर्ने थिए। त्रिशूली बजारभन्दा १० किमि माथि रहेको बेत्रावतीले पनि चेताउनी पायो, तर उनीहरूलाई सुरक्षित ठाउँमा भाग्न थोरै समय मात्र थियो र त्यहाँ कतिपय मानिसहरूले ज्यान गुमाए। यस बाढीले धेरै मानिसहरूको ज्यान लिनुका साथै रसुवा, नुवाकोट, धादिङ र तनहुँ जिल्लाका धेरै भौतिक पूर्वाधारहरू नष्ट गर्‍यो।

“अनि त्यसै बेला कतिजना त्यहाँ उपस्थित थिए, जसले उहाँलाई ती गालीलीहरूको विषयमा बताए, जसको रगत पिलातसले तिनीहरूकै बलिहरूसँग मिसाइदिएका थिए। अनि येशूले जवाफ दिँदै तिनीहरूलाई भन्नुभयो: “के ती गालीलीहरूले यस्ता कुराहरू भोग्नुपरेकोले तिनीहरूचाहिँ सबै गालीलीहरूभन्दा बढ्ता पापी रहेछन् भनी तिमीहरू सम्झन्छौ? म तिमीहरूलाई भन्दछु: होइन; तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यही प्रकारले नाश हुनेछौ। अथवा ती अठारजना, जसमाथि सिलोआमको धरहार खस्यो, र तिनीहरूलाई मार्‍यो; के तिनीहरूचाहिँ यरूशलेममा बस्ने सबै मानिसहरूभन्दा बढ्ता पापी रहेछन् भनी तिमीहरू ठान्छौ? म तिमीहरूलाई भन्दछु: होइन; तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यही प्रकारले नाश हुनेछौ।” (लूका १३:१-५)

यस वर्तमान संसारमा हामीमध्ये जोसुकैमाथि मृत्यु र विनाश अचानक आइपर्न सक्छ। परमेश्वरका सन्तानहरू उहाँको अनुग्रहपूर्ण प्रबन्ध र सार्वभौम नियन्त्रणमा ढुक्कसाथ भरोसा राख्न सक्छन्, तर उहाँले आफ्ना जनहरूलाई यस जीवनमा विपत्तिहरूदेखि विशेष छुट दिने प्रतिज्ञा गर्नुभएको छैन। पावल प्रेरितले वर्तमान समयको दु:खकष्टलाई यसरी व्यक्त गरे:

“किनकि हामी जान्दछौं, अहिलेसम्म पनि सारा सृष्टि एकसाथ ऐआआत्था गरिरहेको र प्रसूति-वेदनामा तड्पिरहेको हुन्छ। अनि तिनीहरूले मात्र होइनन्, तर हामीहरूले पनि, जससँग आत्माको पहिलोफल छ, अँ, हामी आफैले पनि धर्मपुत्र-ग्रहणको अर्थात् हाम्रो शरीरको छुटकाराको बाटो हेर्दै आफूभित्र-भित्रै ऐआआत्था गर्दछौं।” (रोमी ८:२२-२३)

त्यसैले हामीले सबै कुरामा सावधानी अपनाउनुपर्छ, प्रार्थनाशील र विचारशील हुनुपर्छ, नत्र आफ्नै मूर्खताद्वारा हामीले आफ्नो जीवनलाई खतरामा पार्न सक्छौँ।

रसुवा बाढीजस्ता विपत्तिहरू आइपर्दा, नष्ट भएकाहरू आफूभन्दा ठूला पापीहरू हुनुपर्छ भनेर कतिपयले सोच्ने गर्छन्। तर त्यो सत्य होइन। प्रभु येशूको समयमा यरूशलेममा एउटा धरहरा अचानक ढल्यो र १८ जना मानिसहरू मारिए। उहाँले प्रश्न गर्नुभयो, “ती अठारजना, जसमाथि सिलोआमको धरहार खस्यो, र तिनीहरूलाई मार्‍यो; के तिनीहरूचाहिँ यरूशलेममा बस्ने सबै मानिसहरूभन्दा बढ्ता पापी रहेछन् भनी तिमीहरू ठान्छौ?” उहाँले उत्तर दिनुभयो, म तिमीहरूलाई भन्दछु: होइन; तर तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू सबै त्यही प्रकारले नाश हुनेछौ।” (लूका १३:४)।

प्रभु येशूको भनाइबाट हामी निम्न कुराहरू सिक्न सक्छौं —

विपत्तिबाट बाँचेकाहरू नष्ट भएकाहरूभन्दा बढी धर्मी हुँदैनन्। बाइबलले सिकाउँछ “धर्मी कोही छैन, एउटै पनि छैन” (रोमी ३:१०)। हामी सबै आफ्ना पापहरूको निम्ति दण्ड पाउन योग्य छौँ। तर खुशीको खबर यो हो कि परमेश्वरले हाम्रो सट्टामा दण्ड भोग्न आफ्नो पुत्र येशूलाई पठाउनुभयो। यो परमेश्वरको त्यो महान् प्रेम हो, जसद्वारा उहाँले सारा संसारलाई अँगाल्न चाहनुहुन्छ। जब कुनै मानिस आफ्नो पाप महसुस गर्दै परमेश्वरकहाँ फर्कन्छ र येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्छ, परमेश्वरले उसलाई धर्मी ठहराउनुहुन्छ र तब उसो “ख्रीष्ट येशूमा हुनेहरूका निम्ति कुनै दण्डको आज्ञा छैन।” (रोमी ८:१)। यो त अति खुशीको खबर हो! यदि तपाईंले अहिलेसम्म त्यसो गर्नुभएको छैन भने, मुक्ति पाउनलाई आज नै प्रभु येशू ख्रीष्टमा आफ्नो भरोसा राख्नुहोस्।

आजका विपत्तिहरू परमेश्वरको अन्तिम न्याय होइनन्। बाइबलले सिकाउँछ कि दुष्टहरूको वास्तविक न्याय यस संसारको अन्त्यमा हुनेछ। यसलाई महान् सेतो सिंहासनको न्याय भनिन्छ, जसको वर्णन प्रकाश २०:११–१५ र २१:९ मा गरिएको छ।

“अनि मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि बस्नुहुनेलाई देखें, जसको सामुन्नेबाट पृथ्वी र आकाश भागे; अनि तिनीहरूका निम्ति कहीँ ठाउँ पाइएन। अनि मैले मरेकाहरूलाई, साना र ठूला दुवैलाई परमेश्वरको सामु उभिरहेका देखें; अनि पुस्तकहरू खोलिए; अनि अर्को एउटा पुस्तक खोलियो, जुनचाहिँ जीवनको पुस्तक हो। अनि ती पुस्तकहरूमा लेखिएका कुराहरूबाट, तिनीहरूका कामहरूअनुसार मरेकाहरूको न्याय गरियो। अनि समुद्रले त्यसभित्र भएका मरेकाहरूलाई दिइहाल्यो; अनि मृत्यु र नरकले तिनीहरूभित्र भएका मरेकाहरूलाई दिइहाले; अनि तिनीहरूका कामहरूअनुसार तिनीहरू हरेकको न्याय गरियो। अनि मृत्यु र नरक आगोको तालभित्र फ्याँकिए। यो दोस्रो मृत्यु हो। अनि जसको नाम जीवनको पुस्तकमा लेखिएको पाइएन, त्यो आगोको तालभित्र फ्याँकियो। … डराउनेहरू, विश्वास नगर्नेहरू, घिनलाग्दाहरू, हत्याराहरू, व्यभिचारीहरू, टुनामुना गर्नेहरू, मूर्तिपूजा गर्नेहरू र सबै झूट बोल्नेहरूको भागचाहिँ आगो र गन्धकले जलिरहेको तालभित्र हुनेछ; यो दोस्रो मृत्यु हो।” (प्रकाश २०:११-१५; २१:८)

परमेश्वरको न्याय सबैभन्दा भयावह हुनेछ, किनकि उक्त न्यायमा पर्नेहरू आगो र गन्धक दन्किरहेको कुण्डमा फालिनेछन् (२०:१५)। परमेश्वर पवित्र र न्यायी हुनुहुन्छ, र अन्ततः उहाँले पापको न्याय गर्नैपर्छ। जीवनको पुस्तकमा नभएकाहरू अग्निकुण्डमा पर्नेछन् (२०:१५)।

जीवनको पुस्तकलाई “संसारको उत्पत्तिदेखि मारिनुभएको थुमाको जीवनको पुस्तक” पनि भनिन्छ (१३:८)। मारिनुभएको थुमा परमेश्वरका पुत्र येशू हुनुहुन्छ जो संसारको पाप हरण गर्नलाई बलि हुनुभयो (यूहन्ना १:२९; १ पत्रुस १:१८) र तेस्रो दिनमा बौरेर उठ्नुभयो। संसारको सृष्टि हुनुभन्दा अघि नै परमेश्वरले मुक्तिको योजना रच्नुभयो; उहाँ प्रेमिलो परमेश्वर हुनुहुन्छ, कोही पनि नष्ट होस् भन्ने उहाँ चाहनुहुन्न।

थुमाको जीवनको पुस्तकमा लेखिएकाहरू उनीहरू हुन् जसले येशूको रगतमा विश्वास गरेर उद्धार पाएका छन्। तर “विश्वास नगर्नेहरू” जीवनको पुस्तकमा पाइनेछैनन् अग्निकुण्डमा जानेछन् (२१:९)। परमेश्वरको पुत्रमाथि विश्वास गर्नु मानिसको जिम्मेवारी हो, नत्र उसको लागि दोस्रो मृत्युको न्याय मात्र बाँकी रहन्छ। तर अर्कोतिर, ख्रीष्टमा विश्वास गर्ने व्यक्ति आफ्नो नाम उहाँको जीवनको पुस्तकमा छ भन्ने कुरामा निश्चित हुन सक्छ।

आजका विपत्तिहरू आउनेवाला न्यायका सूचक हुन्—“यदि तिमीहरूले पश्चात्ताप गरेनौ भने तिमीहरू पनि त्यसरी नै नष्ट हुनेछौ।” यसको अर्थ, पश्चात्ताप नगर्नेहरू सबैको मृत्यु निर्मम तवरले नै हुन्छ भन्ने होइन; धेरै त शान्तिपूर्वक मर्छन्। तर भन्न खोजिएको यो हो कि पश्चात्ताप नगर्नेहरू परमेश्वरको न्यायबाट कदापि उम्कनेछैनन्।

यसरी, ख्रीष्टले त्यस समयका विपत्तिहरूको प्रकाशमा आउनेवाला न्यायबारे सिकाउनुभयो। त्यसैगरी, हालैको बाढीको प्रकाशमा हामी केही आत्मिक पाठहरू सिकौं।

पहिलो, समयमै दिइएको पूर्वचेताउनीले जीवन बचाउन सक्छ।

पूर्वचेताउनी एक असल कुरा हो। टिमुरेमा एक भन्सार अधिकारीले आफ्नो टेबल हल्लिएको महसुस गरे; संयोगवश उनले झ्यालबाट बाहिर हेरे र बाढी आइरहेको देखे। उनी दौडँदै डाँडा चढ्न थाले र कराए, “बाढी आयो! भाग! भाग!” केही सहकर्मीहरू पनि उनको पछि लागे र बचे। यो केही सेकेन्डको मात्र कुरा थियो, तर चेताउनीले उनीहरूको ज्यान बचायो।

प्रभावकारी पूर्वचेताउनी प्रणालीले धेरैलाई बचाउन सक्छ। एउटा समाचारको शीर्षक यस्तो छ, “रसुवा बाढीको पाठ: पुरानो भयो प्रकोप पूर्वसूचना प्रणाली।” बाढी आउँदा विद्यमान जलविज्ञान निगरानी प्रणालीले समयमा चेताउनी दिन सकेन, किनकि त्यसलाई उचित रूपमा सुसज्जित गरिएको थिएन। त्यसैले तिब्बतबाट आएको आकस्मिक बाढी कुनै चेताउनीबिना नेपाल प्रवेश गर्‍यो। मानिसहरू अनजानमै परे र धेरै जनाको मृत्यु भयो। रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी—गाउँ-गाउँ बगाइए। १०–१५ मिनेटको चेताउनीले मात्र पनि धेरै मानिसहरूको जीवन बचाउन सक्थ्यो। यसले प्रभावकारी पूर्वचेताउनी प्रणाली हुनु कति महत्त्वपूर्ण छ भन्ने देखाउँछ।

परमेश्वरले नूहको समयमा जलप्रलय पठाउनु अघि पूर्वचेताउनी दिनुभयो।

“विश्वासैद्वारा नूहले त्यस बेलासम्म नदेखिएका कुराहरूको विषयमा परमेश्वरद्वारा चेताउनी पाए र डराएर आफ्नो परिवारको उद्धारका निम्ति एउटा जहाज तयार पारे, जुन जहाजद्वारा उनले संसारलाई दोषी ठहराए, र उनी विश्वासैद्वारा हुने धार्मिकताको हकवाला बने।” (हिब्रू ११:७)

“अनि उहाँले प्राचीन संसारलाई बाँकी राख्नुभएन, तर भक्तिहीनहरूको संसारमाथि जलप्रलय ल्याउँदा धार्मिकताको प्रचारक नूह, यी आठौं व्यक्तिलाई जोगाउनुभयो।” (२ पत्रुस २:५)

परमेश्वरले “धार्मिकताको प्रचारक नूह” द्वारा सारा संसारलाई पूर्वचेताउनी दिनुभयो। परमेश्वर संसारको न्याय गर्न लाग्नुभएको थियो; संसार दुष्टता र उपद्रवले भरिएको थियो। तर केवल ७ जनाले चेताउनीलाई ध्यान दिए, र नूह “आठौँ व्यक्ति” सहित केवल ८ जना बचे।

“जसले बितेको समयमा आज्ञापालन गरेनन्, जब एकपल्ट परमेश्वरको सहनशीलताले पर्खिरहेको थियो — नूहका दिनहरूमा, जब त्यो जहाज बनिरहेको थियो, जसमा थोरै अर्थात आठ प्राणीहरू पानीद्वारा बचाइए।” (१ पत्रुस ३:२०)

परमेश्वर रिसाउनमा ढिलो हुनुहुन्छ। जहाज बनाइँदै गर्दा उहाँले पूरै समय सहनशीलतामा पर्खनुभयो। संसारले जहाज—जलप्रलयबाट उम्कने एउटै मात्र बाटो—देख्यो, तर उनीहरू जहाजभित्र पसेनन् किनकि उनीहरूले चेताउनीलाई विश्वासै गरेनन्। आज येशू ख्रीष्ट मुक्तिको जहाज हुनुहुन्छ। अनि चेताउनी यो हो: ख्रीष्टबाहिर मुक्ति छैन। तपाईं भित्र हुनुहुन्छ कि बाहिर? परमेश्वर धैर्यवान् हुनुहुन्छ, तर समय सकिँदैछ। अब अझ ढिलो नगर्नुहोस्!

खतरा आइरहेको देखेर पूर्वचेताउनी नदिनु अपराध हो।

“तर त्यस पहरेदारले एउटा तरवार आइरहेको देख्छ तर तुरही फुक्दैन, र मानिसहरूले चेताउनी पाउँदैनन्; त्यो तरवार आएर तिनीहरूको बीचबाट कुनै मानिसलाई उठाएर लैजान्छ भने त्योचाहिँ आफ्नो अधर्ममा लगिनेछ, तर त्यसको रगतको लेखा म त्यस पहरेदारको हातबाट लिनेछु।” (इजकिएल ३३:६)

कतिले चीनलाई पूर्वचेताउनी नदिएकोमा दोष दिइरहेका छन्। “पूर्वचेताउनी नपाएकोले मानिसहरू भाग्ने मौका पाएनन्। चीनले हामीलाई पहिले नै चेताउनी दिएको भए मात्र।” चीनले जानाजानी सूचना लुकाएको वा हेल्चेक्‍याइँ गरेको थियो कि थिएन भन्ने कुरा यो लेख लेखिँदासम्म पुष्टि भएको थिएन। जे होस्, यस गुनासोले पूर्वचेताउनी कति महत्त्वपूर्ण छ भन्ने कुरालाई उजागर गर्छ।

आउन लागेको क्रोधबाट उम्कन संसारलाई चाहिएको जानकारी केवल ख्रीष्टियनहरूसँग छ। कसैले तपाईंसँग यो कुरा बाँड्यो। तपाईंले विश्वास गर्नुभयो। त्यस क्षण तपाईं मृत्युबाट जीवनमा सर्नुभयो। मृत्युमा अझै रहेका तपाईंले चिन्ने मानिसहरूबारे विचार गर्नुहोस्। के तपाईंले उनीहरूलाई परमेश्वरबाटको चेताउनी दिनुभएको छ? के तपाईंले उनीहरूसँग उनीहरू नष्ट हुनुपर्दैन भन्ने सुसमाचार बाँड्नुभएको छ? खतरा आइरहेको देखेर पनि चेताउनी दिन असफल हुने पहरेदारबारे परमेश्वर के सोच्नुहुन्छ?

“अनि तिमीचाहिँ, हे मानिसको छोरा, मैले तिमीलाई इस्राएलको घरानाका निम्ति पहरेदार ठहराएको छु; यसकारण तिमीले मेरो मुखबाट वचन सुन्नू र तिनीहरूलाई मबाट चेताउनी दिनू! जब म दुष्टलाई भन्छु: ‘हे दुष्ट, तँ निश्चय मर्नेछस्’; तर त्यस दुष्टलाई त्यसको चालबाट फर्काउन भनी चेताउनी दिनलाई तिमी बोलेनौ भने त्यो दुष्ट आफ्नो अधर्ममा मर्नेछ; तर त्यसको रगतको लेखा म तिम्रो हातबाट लिनेछु। तर तिमीले त्यस दुष्टलाई त्यसको चालको विषयमा, त्यसबाट त्यो फर्कोस् भनी चेताउनी दियौ, तर त्यो आफ्नो चालबाट फर्कंदैन भने तयोचाहिँ आफ्नो अधर्ममा मर्नेछ; तर तिमीले चाहिँ आफ्नो प्राणलाई बचाएका छौ।” (इजकिएल ३३:७–९)

योनाको बारेमा सोच्नुहोस्: उनले नीनवेमा गई चेताउनी दिए, तर उसको पहिलो रोजाइ त यस कामदेखि टार्शिशतर्फ भाग्नु थियो (योना १:१-३)।

“अनि योनाले एक दिनको यात्रा गरेर त्यस शहरभित्र पस्न शुरु गरे; अनि उनले प्रचार गरेर भने: “अबको चालीस दिनमा नीनवे नष्ट हुनेछ!” (योना ३:४)

खतरामा परेकाहरूलाई चेताउनी दिन हृदयमा प्रेम चाहिन्छ। योनाले नीनवेलाई चेताउनी दिन चाहँदैनथे, किनकि उनी अश्शूरीहरूलाई घृणा गर्थे, जो इस्राएलका शत्रु थिए। तर परमेश्वरले नीनवेमाथि दया गर्नुभयो, र उनीहरूलाई चेताउनी दिन अनाज्ञाकारी अगमवक्तालाई समेत आश्चर्यजनक ढङ्गले पठाइछाड्नुभयो (योना १:४-३:२)।

परमेश्वर धैर्यवान् हुनुहुन्छ। योनाले प्रचार गरे, नीनवे ४० दिनमा नष्ट हुने पूर्वचेताउनी दिए। यो सुनेर नीनवेका मानिसहरूले पश्चात्ताप गरेर परमेश्वरलाई पुकारे र त्यो सहर १५० वर्षसम्म जोगियो।

परमेश्वरको प्रेमले हामीलाई विवश पारोस् — आफ्ना प्रियजनहरू, परिचितहरू र हामीले चिनेका मानिसहरूलाई चेताउनी दिन। हामीले नचिनेका मानिसहरूलाई कम्तीमा एउटा पर्चा दिन सक्छौँ। हामीले यसरी दिएको कुरा सुसमाचार हो!

सुसमाचारबिना मानिसहरू निश्चय नै नष्ट हुनेछन्।

“किनकि प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ। तब जसमाथि तिनीहरूले विश्वास गरेका छैनन्, उहाँलाई तिनीहरूले कसरी पुकार्लान् त? अनि जसको विषयमा तिनीहरूले सुनेकै छैनन्, उहाँलाई तिनीहरूले कसरी विश्वास गर्लान् त? अनि प्रचारकबिना तिनीहरूले कसरी सुन्लान् त? (रोमी १०:१३–१४)

बिहान ९:०० बजे अधिकारीहरूले तिब्बतबाट ठूलो बाढी भोटेकोशीमा प्रवेश गरेको छ भन्ने सूचना पाए। त्यतिखेर भर्खरै रसुवागढीमा मितेरी पुल र त्यसको आसपासका संरचनाहरू, गाडीहरू, मानिसहरू स्वात्तै लगेको थियो। ९:१५ बजे त्रिशूली करिडोरलगायत तल्लो भेगका समुदायहरूलाई पहिलो एसएमएस पूर्वचेताउनी सन्देशहरू पठाइए। तर रसुवाले कुनै पूर्वचेताउनी पाएन र फलस्वरूप त्यहाँ अधिकतम धनजनको क्षति भयो।

पाठ: पूर्वसूचनाबिना मानिसहरू बच्न सक्दैनन्। येशू ख्रीष्टको सुसमाचारबिना मानिसहरूले मुक्ति पाउन सक्दैनन्। त्यसैले हामीले चेताउनी दिनैपर्छ।

दोस्रो, अचानक आएको विनाश आउन लागेको क्रोधको एउटा सानो पूर्वस्वाद हो।

बाढी अप्रत्याशित रूपमा आयो। त्यो सफा र घमाइलो दिन थियो। नीलो आकाशमुनि चम्किला, फुसफुसे सेता बादलहरूसहित हरिया धानका खेतहरू सुन्दर देखिन्थे। बिहानको समय थियो र सबैजना सामान्य रूपमा आफ्नो काममा लागेका थिए। कोही खाना पकाउँदै थिए, कोही खाँदै थिए, कोही काममा जाँदै थिए, बालबालिकाहरू विद्यालय जाँदै थिए। नेपाल–चीन सीमामा पर्यटकहरूले ब्रेकफास्ट खाएर अध्यागमनका लागि लाइन लागेका थिए। १०० वटा मालवाहक ट्रकहरू भन्सारमा प्रतीक्षा गरिरहेका थिए। नेपालतर्फको सुख्खा बन्दरगाहमा ३०० वटा इभीहरू भन्सार प्रक्रिया पर्खिरहेका थिए। तब अचानक ११५ किमि प्रति घण्टाको गतिमा पानीको भिमकाय पर्खालजस्तै बाढीको पानी आयो। त्यसको बाटोमा परेको लगभग सबै कुरा एकै क्षणमा बगाइयो।

प्रभुको दिन पनि त्यस्तै हुनेछ।

“अनि नूहका दिनहरूमा जस्तो भएको थियो, मानिसका पुत्रका दिनहरूमा पनि त्यस्तै हुनेछ। नूह जहाजभित्र पसेको दिनसम्म तिनीहरूले खाइरहेका थिए, तिनीहरूले पिइहरेका थिए, तिनीहरूले विवाह गरिरहेका थिए, तिनीहरूको विवाह गराइँदैथियो, नि जलप्रलय आयो, र त्यसले तिनीहरू सबैलाई नाश पार्‍यो। जस्तो लूतका दिनहरूमा पनि भएको थियो: तिनीहरूले खाइहरेका थिए, तिनीहरूले पिइरहेका थिए, तिनीहरूले किनिरहेका थिए, तिनीहरूले बेचिरहेका थिए, तिनीहरूले रोपिरहेका थिए, तिनीहरूले बनाइरहेका थिए; तर जुन दिन लूत सदोमबाट बाहिर निस्के, त्यही दिन आकाशबाट आगो र गन्धक बर्स्यो, र तिनीहरू सबैलाई नाश पार्‍यो। जुन दिनमा मानिसका पुत्र प्रकट हुन्छन्, त्यस दिनमा पनि त्यस्तै हुनेछ।” (लूका १७:२६–३०)

नूहको जलप्रलय भविष्यमा हुने संसारको न्यायको ऐतिहासिक पूर्वघटना हो। “जस्तो थियो… त्यस्तै हुनेछ।” यसको माने भविष्यको विनाश पनि जलप्रलय जत्तिकै अचानक र त्यत्तिकै विश्वव्यापी हुनेछ।

ख्रीष्टको दोस्रो आगमन र न्यायको आज उपहास गर्नेहरूले अनजानमै बाइबल सत्य छ भनेर प्रमाणित गर्छन्।

”पहिले यो जानेर कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू आउनेछन्, जो आफ्नै अभिलाषाहरूअनुसार हिँड्छन् र जसले यसो भन्ने गर्छन्: ‘खै, उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो?” (२ पत्रुस ३:३-४क)।

उनीहरूको अविश्वास जानाजानीको अज्ञानता हो।

“किनकि तिनीहरू यस कुराको विषयमा अनजान रहन चाहन्छन्…पानीद्वारा त्यस बेलाको संसार पानी नै पानी भएर नष्ट भयो” (२ पत्रुस ३:५क-६)।

उनीहरू सत्य जान्दछन्, तर सत्य जान्न चाहँदैनन्। किनकि उनीहरू आफ्नो पापलाई प्रेम गर्छन्। यदि तपाईं पनि त्यस्तै हुनुहुन्छ भने, तपाईंले पश्चात्ताप गर्नुपर्छ, अर्थात् आफ्नो मन परिवर्तन गर्नुपर्छ।

पावलले पनि अचानक आउने क्रोधको बारेमा लेखे।

“किनकि राती चोर जसरी आउँछ, प्रभुको दिन त्यसरी नै आउँछ भनी तिमीहरू आफैलाई राम्ररी थाह छ। किनकि जब तिनीहरूले ‘शान्ति र सुरक्षा’ भन्नेछन्, तब गर्भवती स्त्रीमाथि प्रसूति-वेदना आइपरेझैं तिनीहरूमाथि अचानक विनाश आइपर्नेछ, र तिनीहरू कुनै रीतिले उम्कनेछैनन्।” (१ थेसलोनिकी ५:२–३)

“रातमा चोर आएझैँ”—अर्थात्, जब तपाईंले अपेक्षा गरिरहनुभएको हुँदैन। “जब तिनीहरूले ‘शान्ति र सुरक्षा’ भन्नेछन्”—ढोकामै विपत्ति आइपुगेको छ भनेर शङ्कै नभएको बेला। “अचानक विनाश तिनीहरूमाथि आइपर्नेछ।” यी शब्दहरूले यस बुधबार बिहान धेरै मानिसहरूलाई जे भयो त्यसको पूर्ण वर्णन गर्छन्। बाइबलले यो सिकाउँछ, झूटा धर्म र मूर्ति र आफ्नो दुष्टताबाट आफ्नो मन नफर्काउने विश्वासहीन संसारमाथि उहाँको क्रोध पनि यसरी नै आउनेछ।

तेस्रो, जोखिम उठाउँदै अरूलाई चेताउनी दिनेहरूको निःस्वार्थपन ख्रीष्टमा भएको हरेक विश्वासीको उदाहरण हुनुपर्छ।

नाश भइरहेकाहरूलाई पूर्वचेताउनी दिन हामीले सक्दो प्रयास गर्नुपर्छ। बेत्रावतीमा एक प्रहरी जवानले लाउडस्पिकरबाट चेताउनी दिँदै गर्दा बाढी आइपुग्यो। उनले मुस्किलले आफ्नो ज्यान बचाए। उनका सहकर्मीहरू भेटिएका छैनन्। त्रिशूलीका वडाध्यक्ष पूर्वचेताउनी दिन त्रिशूली नदीको किनारमा घरघरमा गए। प्रहरीले लाउडस्पिकर प्रयोग गरेर चेताउनी दिए। त्यस क्रममा पानी उनको कुर्कुच्चासम्म आइपुगेको थियो। यदि उनीहरूले आफ्नो कर्तव्य त्यागेर केवल आफ्नै ज्यान बचाउने प्रयास गरेका भए के हुन्थ्यो? धेरै मानिसहरू नष्ट हुने थिए।

हामी कसरी त्यसभन्दा कम गर्न सक्छौँ? नष्ट भइरहेका आफूले चिनेका मानिसहरूबारे सोच्नुहोस्। खतरामा रहेका तर आफू खतरामा छु भन्ने नजान्ने मानिसहरूसम्म कसरी पुग्न सकिन्छ भनेर सोच्नुहोस्। उनीहरूका निम्ति प्रार्थना गर्नुहोस् र परमेश्वरसँग तपाईंलाई साहस दिन र उनीहरूकहाँ गएर बताउनका लागि तपाईंको हृदय उहाँको प्रेमले भरिदिन अनुरोध गर्नुहोस्। अरूलाई दिनका लागि सधैँ आफूसँग पर्चाहरू बोक्नुहोस्। हाम्रा प्रभु स्वार्थी हुनुहुन्न। यदि उहाँ तपाईंमा जीवित हुनुहुन्छ भने, तपाईं कसरी स्वार्थी हुन सक्नुहुन्छ? “प्रभु, ममार्फत जिउनुहोस्, ममार्फत प्रेम गर्नुहोस्।”

चौथो, केहीले चेताउनीलाई कम आँके र बाढी आउँदा तयार थिएनन्।

आफ्नै दृष्टिमा बुद्धिमान् हुनु घातक हुन सक्छ। चेताउनी पाएका केहीले यो पहिले आएजस्तै सामान्य बाढी हुनेछ भनेर सोचे। उनीहरूले यति ठूलो बाढी कहिल्यै देखेका थिएनन्। त्यसैले उनीहरूले आफूले जानेको कुराअनुसार गरे।

आज धेरैले बाइबलको चेताउनीलाई हल्का रूपमा लिन्छन्। उनीहरू अनन्त दण्ड र नरकको आगोमा विश्वास गर्न इन्कार गर्छन्। परमेश्वरले प्रकट गर्नुभएको कुराको विषय‍मा, हामीले आफूले सोचेको वा आफूलाई लागेको कुराअनुसार चल्नु हुँदैन। एक मात्र सुरक्षित मापदण्ड परमेश्वरले भन्नुभएको कुराअनुसार चल्नु हो। प्रभु येशूले मत्तीको सुसमाचारमा मात्र नरकबारे करिब १७ पटक चेताउनी दिनुभयो।

आउँदै गरेको क्रोधको गम्भीरता जान्न र मुक्तिदातामाथि विश्वास गर्न सक्न परमेश्वरले पर्‍याप्त जानकारी दिनुभएको छ। १. नूहको संसार विश्वव्यापी जलप्रलयद्वारा नष्ट भयो। २. सदोम र गमोरा स्वर्गबाट आएको आगोद्वारा नष्ट भए। हाम्रा प्रभुले यी दुवै घटनाहरूबारे प्रचार गर्नुभयो। परमेश्वरको करुणामय चेताउनी स्पष्ट रूपमा बुझ्न सकिने गरी दिइएको छ। परमेश्वरले संसारको न्याय गर्नुहुनेछ र त्यो अचानक हुनेछ।

निष्कर्ष

रसुवाको बाढीको सम्बन्धमा एक जनाले लेखे: “वर्षौंको मेहनतले जम्मा गरेको सम्पत्ति केही मिनेटमै बाढीले बगायो।”

जससँग बाँच्नका लागि केवल यही संसार छ, उनीहरूलाई यो कति निराशाजनक लाग्नुपर्छ। वर्षौंको मेहनत गयो, सम्पत्ति गयो, परिवारका सदस्यहरू पनि गए। यूहन्नाले सत्य कुरा लेखे —

“अनि संसार बितिजान्छ, र त्यसको अभिलाषा पनि” (१ यूहन्ना २:१७क)

तर विश्वासीहरू यो संसारका लागि मात्र बाँच्दैनन्, बाँच्नु हुँदैन। यो संसार हाम्रो घर होइन। हामी यहाँ परदेशी र यात्रीहरू हौँ। हाम्रो नागरिकता स्वर्गमा छ। हामी मृत्यु र विनाशका दृश्यहरू हुँदै यात्रा गरिरहेका छौँ। प्रभु कुनै पनि क्षण हाम्रो निम्ति आउनुहुनेछ। हामी स्वार्थी साना जीवनहरू नजिऔँ। हामी परमेश्वरको इच्छाका लागि जिऔँ —

“तर जसले परमेश्वरको इच्छा पालन गर्छ, ऊ सदासर्वदा रहिरहन्छ।” (१ यूहन्ना २:१७ख)