तपाईं नयाँ गरी जन्मनैपर्छ

“साँचो-साँचो म तिमीलाई भन्दछु, कोही मानिस नयाँ गरी जन्मेन भने उसले परमेश्‍वरको राज्य देख्‍न सक्दैन।” (यूहन्‍ना ३:३)
निकोदेमस एक धार्मिक गुरू थिए, तर येशूले उनलाई नयाँ गरी जन्मनैपर्छ, नत्रता उनले परमेश्‍वरको राज्य देख्‍न सक्दैनन् भनी बताउनुभयो। तसर्थ, मानिस धार्मिक हुनु मात्र पर्याप्त छैन। तपाईं ख्रीष्टियन परिवारमा जन्मेर पुग्दैन। बाइबलको ज्ञान हुँदैमा, बप्तिस्मा लिँदैमा वा चर्चघर जाँदैमा तपाईं परमेश्‍वरको सामु ग्रहणयोग्य बन्‍नुहुन्‍न। तपाईं नयाँ गरी जन्मनैपर्छ। येशूले सिकाउनुभयो, “शरीरबाट जन्मिएकोचाहिँ शरीर हो, र आत्माबाट जन्मिएकोचाहिँ आत्मा हो” (यूहन्‍ना ३:६)। नयाँ गरी जन्मनुको अर्थ परमेश्‍वरको आत्माबाट जन्मनु हो। यो एक आत्मिक जन्म हो। तपाईं शरीरबाट त जन्मिसक्नुभयो। तर के तपाईं आत्माबाट पनि जन्मिनुभयो? कसरी जन्मिने? येशू ख्रीष्टलाई ग्रहण गरेर—“तर जतिले उहाँलाई ग्रहण गरे, तिनीहरूलाई उहाँले परमेश्‍वरको सन्तान हुने अधिकार दिनुभयो, अर्थात् तिनीहरूलाई जसले उहाँको नाममा विश्‍वास गर्छन्। तिनीहरू… परमेश्‍वरबाट जन्मेका हुन्।” (यूहन्‍ना १:१२–१३)। एक व्यक्तिले प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गरेकै घडी परमेश्‍वरले निजको मरेको आत्माभित्र अनन्त जीवन ल्याउनुहुन्छ। “के सुकर्मले स्वर्ग पुगिन्‍न?” अहँ, “जो शरीरबाट जन्मेको छ, त्यो शरीर नै हो।” यसको अर्थ, मानिसले जति सुकर्म गरोस्, ऊ स्वभावैले पापी नै हो। दाऊदले लेखे, “हेर्नुहोस्, म अधर्ममा उत्पन्‍न भएँ, र पापमा मेरी आमाले मलाई गर्भाधारण गरिन्” (भजनसंग्रह ५१:५)। पापमा मरेको आत्माले गरेका सुकर्महरू परमेश्‍वरका सामु मैला थाङ्नाहरूसरह छन्, त्यसैले तपाईं नयाँ गरी जन्मनैपर्छ। “मैले पानीको बप्तिस्मा लिँदा नयाँ जीवन पाइनँ र?” अहँ, नयाँ जीवन पाइन्छ भनेर धेरैले पानीको बप्तिस्मामा भरोसा राख्छन्। तर यो घातक भूल हो! यूहन्‍ना ३:५ मा येशूले “कोही मानिस पानी र आत्माबाट जन्मेन भने ऊ परमेश्‍वरको राज्यभित्र पस्न सक्दैन” भन्‍नुको अर्थ पानीको बप्तिस्मा होइन। किनकि येशूले “पानीबाट जन्मनु” लाई कहिल्यै बप्तिस्मासित जोड्नुभएन। साथै, बाइबलको स्पष्ट गवाही यो छ कि मानिस सुकर्मद्वारा होइन तर विश्‍वासद्वारा अनुग्रहले मुक्ति पाउँछ (एफेसी २:८–९; तीतस ३:५)। नयाँ गरी जन्मन केवल येशू ख्रीष्टको रगतमा भरोसा राख्नुहोस्, बप्तिस्मामा होइन।  निकोदेमसले नयाँ गरी जन्मनुको अर्थ नबुझेर प्रश्‍न गरे, के मानिस आफ्‍नो आमाको गर्भमा दोस्रो चोटि पसेर जन्मन सक्छ र (३:४)? येशूको जवाफले देखाउँछ, “पानीबाट जन्मनु” (३:५) र “शरीरबाट जन्मनु” (३:६) एउटै कुरा हो—अर्थात् बच्चा आमाको गर्भजल (एम्नियोटिक द्रव) बाट बाहिर निस्कनु हो। र उहाँको मूल शिक्षा यो हो कि “पानीबाट”/“शरीरबाट” हुने जन्मले होइन, तर “आत्माबाट” अथवा परमेश्‍वरबाट हुने जन्मले मात्र मानिस परमेश्‍वरको राज्यमा पस्नेछ।