गर्भपतन

Study Series

गर्भपतन

डेविड क्लाउड

परिचय

गर्भपतन आज ५४ देशहरूमा वैधानिक छ। नेपालमा गर्भपतन २०६० सालदेखि वैधानिक बनेको हो। विश्वभरिमा प्रतिवर्ष करिब ४ करोड ६० लाख बच्चाहरू गर्भमै नष्ट गरिन्छन्। करिब पाँचमा एक गर्भधारण गर्भपतनमा अन्त हुने गर्छ। अधिकांश गर्भपतनहरू संतति निरोधक र अनुकुलताको माध्यमको रूपमा गर्ने गरिन्छन्।

परमेश्वरका जनहरू मान्छेको भन्दा परमेश्वरका कानून मान्‍न बाध्य हुन्छन्। गर्भपतन वैधानिक हुँदैमा त्यो परमेश्वरको नजरमा ठीक हो भन्ने होइन (प्रेरित ५:२९)।

२१ दिनमा बच्चाको मुटु ढुकढुक गर्न थाल्छ र उसको शरीरभरि रगत बहन थाल्छ। ४५ दिनमा सानो बच्चाको मष्तिष्कका तरङ्गहरू मिशिनले टिप्‍न सक्छ। ८ देखि ९ हप्‍तामा आँखाका पलकहरू बन्न थालिसकेका हुन्छन् र रौं देखा पर्छन्। ९ देखि १० हप्‍तामा उसले आफ्नो औंला चुस्‍न थाल्छ, उफ्रन थाल्छ, निधार खुम्‍च्याउँछ, निल्छ, जिब्रो चलाउँछ। १२ देखि १३ हप्‍तामा बच्चाका नङ हुन्छन् र औंलाका विशिष्ट छापहरू (fingerprints) हुन्छन् जो अरू सबैका भन्दा भिन्‍न हुन्छन्; सबै रक्तवाहिनीहरू (arteries) उपस्थित हुन्छन्, वाक् तन्तु (vocal chords) पूरै बनिसकेका हुन्छन्; दुखाइको अनुभव गरी बच्चा रुन र झस्कन सक्छ। १४ हप्‍तामा आमाले आफूभित्र बच्चा चलेको चाल पाउन थाल्छ। १५ हप्‍तामा बच्चाको जिब्रोका स्वाद लिने कोशिका समूह पूर्णरूपमा बनिसकेका हुन्छन्। १६ हप्‍तामा त्यसका आँखीभौं र परेलीहरू हुन्छन्, र उसले आफ्ना हातले समाउन सक्छ, लात्ती हान्न सक्छ, पल्टिन पनि सक्छ। २० हप्‍तामा बच्चा आफ्नी आमाको स्वर सुन्न र चिन्न सक्‍ने हुन्छ।

सबभन्दा व्यापक रूपमा प्रयोग भइरहेका गर्भपतन गराउने प्रक्रियाहरू निम्‍नानुसार छन्:

सक्शन एस्पिरेशन (Suction Aspiration) – गर्भधारणको तीन महिनाभित्रमा अपनाइने सबभन्दा चलनचल्तीको विधि यही हो। घरेलु प्रयोगको भ्याक्युम क्लिनरको भन्दा ३० गुणा तान्ने शक्ति भएको एउटा शक्तिशाली पम्पले गर्भको भित्रबाट सानो बच्चालाई तानेर निकालिन्छ। उक्त प्रक्रियाले बच्चाको शरीरलाई छियाछिया पार्दछ।

डाइलेशन र क्यूरेटेज (डि एण्ड सी) – गर्भावस्थाको १८ हप्‍तासम्ममा यो विधि अपनाइन्छ। गर्भपतन गराउनेले स्टिलको चक्कु प्रयोग गर्दछ र बच्चालाई निकाल्नलाई त्यसलाई काटकुट गरी टुक्राटुक्रा पार्छ।

आंशिक जन्म (डि एण्ड एक्स) – “छिप्पिएका गर्भधारणहरू” का लागि प्रयोग हुने यो विधिमा बच्चालाई गर्भबाट आंशिक रूपमा निकालिन्छ र उसको सानो शरीरको आधा भाग जति उसको खुट्टासहित महिलाको शरीरको बाहिरपट्टि झुण्डिरहेको हुन्छ। गर्भपतन गराउने व्यक्तिले तब बच्चाका टाउकामा उसको गर्दनको पछाडिको भागभित्र कैचीलाई जोडले गाड्छ र बच्चालाई मार्नलाई कैंचीलाई फटाउँछ। त्यसको गिदीलाई तब पम्पले थुतेर निकालिन्छ र त्यसपछि मरिसकेको शरीरलाई पूरै निकालिन्छ।

नुनको विषादी (Salt Poisoning) – योचाहिँ १६ हप्‍ताको अवधिपछि प्रयोग गर्ने गरिन्छ। गर्भपतन गराउनेले एम्‍नियोटिक स्याक (बच्चा वरिपरिको द्रव्य) भित्र सुइमार्फत कडा नुनिलो घोललाई ठेली पठाउँछ। बच्चाले उक्त घोललाई निल्दा उसलाई विष लाग्दछ। यस विधिद्वारा गर्भपतन गराइएका शिशुहरूलाई “क्यान्डि आप्पल बेबिज” भन्ने गरिन्छ किनभने नुनद्वारा हुने क्षयले काँचो, रातो टलक भएको छालाको मुनिको तहलाई प्रकट गर्दछ र यसरी त्यसको टाउको चिनीको झोलमा चोपलिएको स्याउजस्तो देखिन जान्छ।

प्रोस्टाग्लान्डिन रासायनिक गर्भपतन (Prostaglandin Chemical Abortion) – यसमा सुई वा सपोजिटरीमर्फत औषधी पठाईकन कडा प्रसवक्रिया उत्पन्न गराइन्छ र बच्चा जन्माइन्छ। कहिलेकाहिँ बच्चा जिउँदै हुन्छ तर त्यो बाँचिरहन नसक्‍नेगरी ज्यादै सानो हुन्छ।

आरयू-४८६ – यो औषधी चक्कीको रूपमा लिइन्छ जसले भर्खरै गर्भधारण गरिएको बच्चालाई एउटा अत्यावश्यक अंतस्राव सम्बन्धित पौष्टिक तत्त्व (hormonal nutrient) देखि बञ्चित गर्दछ र फलस्वरूप यसले गर्भपतन गराउँदछ। आमाचाहिँको मासिक रजस्राव छुटेपछि आरयू-४८६ प्रयोग गरिन्छ जुनबेला बच्चा कम्तीमा २ वा ३ हप्‍ताको भइसकेको हुन्छ। त्यतिबेलासम्म बच्चाको मुटुको ढुकढुक शुरु भइसकेको हुन्छ।

बाइबलले नजन्मेको बच्चाको गर्भपतन गराउन मनाही गर्दछ। निम्‍न सत्यताहरूलाई विचार गर्नुहोस्:

१) बाइबलले भन्दछ, मानिस परमेश्वरको स्वरूपमा सृष्टि गरिएको हो (उत्पत्ति १:२६)। मानिस क्रमविकासवाद (evolution) को बेहोसी प्राकृतिक प्रकृयाको उपज होइन न ता ऊ सुविधाको लागि मार्न सकिने पशु नै हो।

क्रमविकासवादको शिक्षा गर्भपतन उद्योगलाई गतिशीलता दिने आवेगको रूपमा सक्रिय हुँदै आएको छ किनकि यसले मान्छे केवल एउटा पशु मात्र हो भनेर सिकाउँछ। भन्नुपर्दा, “संक्षिप्‍तावृत्ति” (recapitulation, रिक्यापिचुलेशन) भनिने क्रमविकासवादको शिक्षाको दाबीअनुसार भ्रूण भनेको पूर्णरूपमा मान्छे नभइसकेको अवस्था हो जबसम्म त्यो त्यसको विकासको आखिरी चरणसम्म पुगेको हुँदैन।

यस परिकल्पनालाई व्यापक बनाउने व्यक्ति चार्ल्स डार्विन (Charles Darwin) का सबभन्दा प्रमुख समर्थक जर्मनीका अर्न्स्ट हेकल (Ernst Haeckel) हुन्। हेकलले सिकाए, “जीव विकासले नस्ल विकासको पुनरावृत्ति गर्दछ” (“ontogeny recapitulates phylogeny”)। यहाँ जीव विकासको माने गर्भमा हुने विकास र नस्ल विकासको माने क्रमविकास (evolutionary development) हो। क्रमविकासवादले मानिलिएअनुसार नजन्मेको बच्चा गर्भभित्र विकास हुने क्रममा त्यो क्रमविकासका श्रृङ्खलाहरू हुँदै जान्छ, अर्थात् एकल कोषबाट माछा अनि माछाबाट उभयचर (amphibian) र उभयचरबाट सरीसृप (reptile) र सरीसृपबाट स्तनधारी र स्तनधारीबाट पुच्छर नभएको बाँदर (ape) र पुच्छर नभएको बाँदरबाट आखिरमा एक मानव। यसरी भ्रूणचाहिँ त्यसको आखिरी चरणहरूमा पुगेर मात्र मानव बन्दछ। हेकलले मानव भ्रूण माछा, सुङ्गुर र बाँदरका भ्रूणजस्तै हुन्छ भनेर देखाउने चित्रहरू छापे, तर ती चित्रहरू नक्कली थिए। हेकलले ती भ्रूणहरूमा गलत लेबल लगाए; उनले ती भ्रूणका साइज बदले; उनले अङ्गहरू काटी निकाले; उनले अरू अङ्ग थपथाप गरे; उनले अङ्गहरूलाई बदले। जस्तै – उनले एउटा बाँदरको भ्रूणको चित्र लिए र त्यसलाई माछाको भ्रूणजस्तै देखाउनलाई त्यसका हातहरू, खुट्टाहरू, नाइटो, मुटु र योककोष (yolksac) हटाए। त्यसपछि उनले त्यसलाई “माछाको चरणमा रहेको गीब्बनको भ्रूण” भनेर लेबल दिए। हेकलको परिकल्पना पूरै गलत भएको प्रमाणित भइसकेको छ तरैपनि उनका ती चित्रहरू आजसम्म पाठ्यपुस्तकहरूमा छापिने गरिन्छन्। हेकलको किंवदन्तीले आधुनिक गर्भपतन उद्योगलाई हौसला दिएको छ। सन् १९५७ मा शिशु मनोवैज्ञानिक बेन्जामीन स्पाक (Benjamin Spock) ले लेखे, हरेक शिशु आफू विकास हुँदै जाँदा उसले मानवजातिको सम्पूर्ण इतिहासलाई एकएक गरी पुनरावृत्ति गर्दैछ, शारीरिक र आत्मिक रूपमा। एउटा बच्चा गर्भमा एउटा सानो एकल कोषको रूपमा शुरु हुन्छ, ठीक जसरी समुद्रमा पहिलो जीव देखा पर्‍यो। केही हप्‍तापछि ऊ एम्‍नियोटिक द्रव्यमा सुतिरहँदा, उसमा माछाका जस्ता श्वासेन्द्रिय (gills, गिल्स) हुन्छन्…” (Baby and Child Care, p. 223)। सन् १९९० मा कार्ल सेगन (Carl Sagan ) र उनकी पत्‍नीले भ्रूण छैंटौं महिना नपुगेसम्म पूर्णरूपमा मानव बनेको हुँदैन भन्ने आधारमा गर्भपतन गर्नु नैतिकतापूर्ण रहेको तर्क राखे। हेकलको संक्षिप्‍तावृत्ति परिकल्पनालाई तथ्यको रूपमा लिएर भ्रूण “एक किसिमको परिजीवी” को रूपमा शुरु हुन्छ र त्यो “श्वासेन्द्रिय” (“gill arches”) भएका कुनै माछाजस्तो बन्दछ र त्यसपछि त्यो सरीसृपरूपी (“reptilian”) बन्दछ र अन्तमा स्तनधारीरूपी (“mammalian”) बन्दछ भन्‍ने दाबी गरे। दोस्रो महिनाको अन्तसम्ममा पनि भ्रूण “अझै खास मानव बनिसकेको हुँदैन” (“The Question of Abortion: A Search for the Answers,” Parade, April 22, 1990)।

२) परमेश्वरले मानिसलाई निर्दोष रगत बहाउन मनाही गर्नुभएको छ। बाइबलमा बीस पटक “निर्दोष रगत” बहाउन मनाही गरिएको छ (जस्तै – व्यवस्था १९:१०-१३; २ राजा २१:१६)। यसले न्यायोचित कारणबिना एक व्यक्तिलाई मार्ने कामलाई जनाउँदछ (१ शमूएल १९:५)। उदाहरणको लागि हत्यारालाई मृत्युदण्ड दिइनुचाहिँ न्यायोचित कुरो हो, तर निर्दोष व्यक्तिलाई मार्नुचाहिँ न्यायोचित होइन। निर्दोष रगत बहाउनेलाई परमेश्वर घृणा गर्नुहुन्छ (हितोपदेश ६:१६-१७)। एउटा गर्भमा रहेको बच्चाजस्तै निर्दोष व्यक्ति को हुन्छ र?

३) आधुनिक विज्ञानले गर्भमा भएकोलाई “भ्रूण” भन्दछ तर त्यसलाई बाइबलमा “बालक” भनिएको छ (उत्‍पत्ति २५:२२)। नजन्मदै मरेको बच्चालाई “बालबच्चा” (अय्यूब ३:१६) भनिएको छ। तसर्थ, एउटा “भ्रूण” लाई मार्नु एउटा बच्चा मार्नु हो। गर्भमै हुँदा समेत बच्चाहरू छुट्टाछुट्टै व्यक्तिहरू हुन् भनेर बाइबलले भन्दछ। एसाव र याकूबको सन्दर्भमा यो देखिन्छ (उत्पत्ति २५:२३)। यर्मिया गर्भमा छँदै अगमवक्ता हुनलाई बोलाइए (यर्मिया १:५) र बप्‍तिस्मा दिने यूहन्ना गर्भमा छँदै परमेश्वरको आत्माले भरिए (लूका १:१५, ४१-४४)।

४) मोशाको व्यवस्थाअन्तर्गत गर्भमा रहेको बच्चालाई चोटपटक पुग्‍न गएको खण्डमा दण्डको व्यवस्था थियो (प्रस्थान २१:२२-२३)। गर्भमा रहेको बच्चालाई चोटपटक पुर्‍याइँदा वा उसको मृत्यु हुन पुग्दा त्यसलाई गम्भीर अपराधको रूपमा व्यवहार गरिन्थ्यो।

५) गर्भाधारणमाथि परमेश्वरको नियन्त्रण हुन्छ भनेर बाइबलले बताउँदछ (उत्पत्ति २०:१८; २९:३१; ३०:२२)। छोराछोरीहरू परमप्रभुले दिनुभएको हकको सम्पत्ति हुन् भनेर बाइबलले बताउँछ (भजनसङ्ग्रह १२७:३)। गर्भको बच्चा आमाको होइन, परमेश्वरको हो।

६) परमेश्वरले नै गर्भभित्र बच्चालाई निर्माण गर्नुहुन्छ भनेर बाइबलले बताउँछ (भजनसङ्ग्रह १३९:१३-१६)।

  1. परमेश्वरले दाऊदको अन्तस्करणलाई लिनुभएको वा बनाउनुभएको थियो (भजनसङ्ग्रह १३९:१३-१६)
    1. “अन्तस्करण” भन्ने शब्दले मानिसको अभौतिक भागलाई जनाउँछ, उसको हृदय, प्राण, र आत्मा। “अन्तस्करण” भन्ने शब्दको “हृदय” भन्ने शब्दसित निकट सम्बन्ध छ र यसले विशेष गरी मानिसको इच्छा, उसका चाहनाहरू, उसको मन, भावनाहरूको केन्द्रलाई जनाउँछ। हेर्नुहोस् – भजनसङ्ग्रह १६:७; २६:२; ७३:२१; हितोपदेश २३:१६; यशैया ११:५; यर्मिया ११:२०; १७:१०; २०:१२; प्रकाश २:२३।
    2. योचाहिँ परमेश्वरको परिमण्डल हो। यहाँ हस्तक्षेप गर्नलाई यसको बारेमा मान्छेलाई पर्याप्‍त ज्ञान छैन। यदि वैज्ञानिक अनुसन्धानका लागि भनेर एउटा अण्डालाई गर्भाधान गराइँदा त्यो नयाँ जीवन विकास हुन थाल्छ भने र यदि त्यसलाई नष्ट गरिन्छ भने यसको मतलब यो हो कि त्यहाँ परमेश्वरको स्वरूपमा बनाइएको जीवनलाई समाप्‍त गर्ने काम गरियो। भजनसङ्ग्रह १३९ अनुसार गर्भाधारण गरिएको उक्त नयाँ व्यक्ति उसको शरीर निर्माण हुन बाँकी भए तापनि त्यसमा उसको अन्तस्करण रहेको हुन्छ भन्ने कुरा बुझिन्छ। मानिसको अन्तस्करण परमेश्वरको अधिकारमा हुन्छ भनेर भजनसङ्ग्रहका खण्डहरूले सिकाउँछन्। त्यो उहाँद्वारा बनिएको हुन्छ र मृत्युमा त्यो उहाँकहाँ नै फर्कीजान्छ (उपदेशक १२:७)। मानिस होशियार रहोस्!
  1. दाऊदको शरीरलाई रच्नुहुने परमेश्वर हुनुहुन्थ्यो (भजनसङ्ग्रह १३९:१३-१६)। यहाँ दाऊद आफ्नो शरीरको उदेकपूर्ण जटिलताको बारेमा विचार गर्दछन् र भन्छन् कि यसका रचनाकार परमेश्वर हुनुहुन्छ र उहाँका कामका लागि उहाँलाई प्रशंसा गरिनुपर्छ। “म तपाईंको प्रशंसा गर्नेछु; किनभने म भययोग्य र आश्चर्यपूर्ण रीतिले बनाइएको छु; तपाईंका कामहरू अद्‍भूत छन्, अनि मेरो प्राणले यो कुरा राम्ररी जान्दछ” (भजनसङ्ग्रह १३९:१४)। सर्वशक्तिमान् र बुद्धिमान् सृष्टिकर्ताको अस्तित्वको प्रमाण चाहिन्छ भने मानिसको अलौकिक रचनाको तथ्यलाई मात्र विचार गर्नु पर्याप्‍त छ।
    1. दाऊद निपुणतासाथ बुनिँदै र लगातार बनिँदै गएका थिए (भजनसङ्ग्रह १३९:१५,१६)। गर्भमा गर्भाधान भएको सूक्ष्म अण्डाबाट शुरु भएर बच्चा कसरी बढ्दै जान्छ भन्ने कुराको यो गजबको वर्णन हो। दाऊद “पृथ्वीका सबभन्दा तल्ला भागहरूमा” बनाइए भन्नु उनी जमीन मुनि बनाइए भन्ने होइन तर यसले गर्भलाई नै जनाउँदैछ। योचाहिँ गर्भको पद्यात्मक वर्णन हो जसलाई एउटा अँध्यारो, मानिसको आँखाले छेड्न नसक्ने अगम्य स्थानको रूपमा बयान गरिएको छ। “निपुणतासाथ बुनिएँ” भन्ने हिब्रू शब्द (राकाम) को माने “रङ्गीबिरङ्गी तुल्याउनु, अर्थात् कार्चोप भर्नु; यसको मतलब रचना गर्नु” (स्ट्रङ्ग)। अन्य ठाउँमा यसलाई “बेलबुट्टा हानिएको” (प्रस्थान २६:३६) र “बेलबुट्टा काढ्ने” (प्रस्थान ३८:२३) भनेर अनुवाद गरिएको छ। बार्न्स् (Barnes) को टिप्पणी छ: यसले विभिन्न धागोहरूलाई परस्परमा बुन्ने कामलाई जनाउँछ जसरी अहिले कार्पेट बुनिन्छ। यहाँचाहिँ मानव बनोटका विभिन्न र जटिल तत्त्वहरूलाई जनाइँदैछ — मांसरज्जु (टेन्डनहरू, tendons), नसाहरू (nerves), धमनीहरू (veins), रक्तवाहिनीहरू (arteries), मांसपेशीहरू मानो तिनीहरूलाई बुनिएजस्तै अथवा ती निपुणतासाथ आपसमा बुनिएजस्तै गरी बयान गरिएका छन्। कुनै पनि बुट्टादार शोभा वस्त्रलाई यससँग तुलना गर्न सकिन्न; मान्छेको कुनै पनि कलाले यति धेरै किसिमका यस्ता कोमल र मुलायम तन्तु तथा कोशिकाहरूलाई तिनलाई उसको हातमा उपलब्ध गराइए तापनि उसले आपसमा बुन्न सक्दैन जस्तो मानव शरीरको निर्माणको लागि आवश्यक पर्दछ; परमेश्वरबाहेक अरू कसले तिनलाई बनाउन सक्दछ? यो तुलना अति नै सुन्दर तुलना हो; अनि जति मानिसले आफ्नो शारीरिक बनोटको रचनालाई बुझ्नेछ त्यति नै यसको सराहना गरिनेछ” (बार्न्स्)। आलेन गिलेन, एम.डी. (Allen Gillen, M.D.) भन्छन्, “शरीर एउटा बुट्टादार शोभा वस्त्र (tapestry) जस्तै गरी बुनिएको छ। जस्तै, अस्थिपञ्जरको केवल एउटै मात्र मांसपेशीलाई हेर्नुहोस्। …सूक्ष्मदर्शक यन्त्रमुनि हेर्दा त्यसको अचम्मको बुनिएको रचना प्रकट हुन्छ (Body by Design, 2001, p.8)।
    2. दाऊद बनिनुभन्दा अघि नै दाऊदको शरीरको वर्णन परमेश्वरको किताबमा लेखिएको थियो (भजनसङ्ग्रह १३९:१६)। मानिसका नील पत्रहरू (blueprints) भएका यो अचम्मको ईश्वरीय पुस्तक स्वर्गमा छ भन्ने बुझिन्छ।
  1. बाइबलको यस शिक्षाको आधारमा गर्भपतन निश्चय नै हत्या हो। त्यो बच्चा आमाको होइन; ऊ सृष्टिकर्ताको हो। एउटा स्त्रीले आफ्नो शरीरसित आफ्नो खुशी गर्न स्वतन्त्र छैन किनकि ऊ सृजिएको प्राणी हो र परमेश्वरप्रति जवाफदेही हुन्छ र अझ उसको गर्भमा भएको त्यो बच्चा छुट्टै शरीर हो र छुट्टै व्यक्ति हो।

७) मूर्तिपूजकहरूले आफ्ना छोराछोरीहरूलाई मार्ने गर्थे र योचाहिँ परमेश्वरलाई घिनलाग्दो कुरा थियो (भजनसङ्ग्रह १०६:३८)।

यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।

Print Friendly, PDF & Email