अचम्मको कुखुरा

कुखुराको पसिना आउँदैन। किन होला, बाबु नानीहरू, कहिल्यै सोचेका छौ? मैले सुनेअनुसार, कुखुराको जीउको तापक्रम प्राय: १०५ देखि १०७ डिग्री से० हुन्छ। हाम्रो चाहिँ ९८.६ डिग्री से० हुन्छ र त्योभन्दा बढी हुँदा हामीलाई पसिना आउन थाल्छ, तर कुखुरालाई भने आउँदैन। परमेश्वरले उसलाई त्यस्तै बनाउनुभयो किनभने कुखुरा यताउता गर्दा उसको जीउले जमिन झण्डै झण्डै छुन खोज्छ अनि गर्मीमा जमिन तात्छ अनि त्यसको जीउको तापक्रम हाम्रो जस्तो हुँदो हो त त्यसलाई निकै कष्ट पर्न जान्थ्यो।

तिमीलाई थाह छ? एउटा तेर्सो लट्ठामाथि कुखुरा टुक्रुक्क बस्न सक्छ अनि उसले आफ्‍नो टाउको पखेटाभित्र घुसारेर त्यहीँ रातभरि मज्जासित घुर्दै सुत्न सक्छ अनि त्यो खस्दा पनि खस्दैन।कसरी? तिमीले त्यसो गरी हेर न एक रात एउटा लट्ठामा टुक्रुक्क बसेर निदाउन खोज्न! हो, परमेश्वरले तिमीलाई कुखुरा जस्तो बनाउनुभएको छैन। के तिमीले कहिल्यै कुखुराको खुट्टालाई राम्ररी हेरेका छौ? छैन भने, त्यसो गर्नु राम्रो हुन्छ। कुनै बेला आमाले कुखुराको मासु पकाउनलाई त्यसलाई काटकुट गर्नुहुँदा, त्यसको घुँडालाई हेर जहाँ आमाले काट्नुहुन्छ र त्यस भागमा हुने एउटा सेतो, टल्कने नसालाई ख्याल गर। नसालाई तिमीले तान्यौ भने, कुखुराका औंलाहरू बन्द हुन्छन् अनि छोडिदियौ भने ती औंला खुल्छन्। कसरी?

सबै घर पालुवा चराहरू – कुखुरा, कनेरी चरा, रातो चरा, कालो चरा, रबिन चराका यस्तै बनोटका खुट्टा हुन्छन्। अघिल्तिरका तीनओटा औंलादेखिका नसाहरू उसको पैतालाको बीच भागसम्म पुगेका हुन्छन् र पछिल्तिरको औंलाको नसा पैतालाको त्यही बीच भागसम्म पुगेको हुन्छ अनि त्यहाँ ती नसाहरू जोडिन्छन् र एउटै नसा बन्छन्। योचाहिँ घुमेर उसको गोलीगाँठोको अघिल्तिर आइपुग्छ, त्यो एउटा बाटो भएर मास्तिर गएको हुन्छ र एउटा नली भएर घुँडालाई पार गरेको हुन्छ र त्यसपछि त्यसको फिलामाथि फैलिएर गएको हुन्छ। जब कुखुरा बस्छ, त्यसको नसा तन्किन्छ र त्यसले औंलाहरूलाई तान्छ र बन्द गरिदिन्छ। कुखुराले अब चाहेर पनि औंलाहरूलाई खोल्न सक्दैन, औंला खोल्न त्यो उठ्नैपर्छ। जब त्यो उठ्छ हुन्छ नसा तन्किन छोड्छ अनि औंलाहरू खुल्न सक्छन्। कुखुराले आफू बसिरहेको ठाउँमा केवल बसिराख्नु मात्र पर्छ र हावाहुरी चले पनि उसलाई उडाएर लैजान सक्दैन!

जङ्गली, मांसहारी चराहरू यस्ता हुँदैनन्। चील, बाज र लाटो कोसेरोका नङ्रा हुन्छन् जसलाई उनीहरूले आफ्‍नो जीउदेखि सीधा पारेर पूरै तन्काउँदा पनि बन्द हुने गर्दैनन्। परमेश्वरले तिनीहरूलाई त्यस्तै बनाउनुभयो यस हेतुले कि तिनीहरूले स‍ाना-साना जन्तुलाई च्याप्प समात्न सकून् र पक्रेपछि उनीहरूले त्यसलाई आफूबाट अलिक पर रहने गरी त्यसलाई बलियोसँग समातिराख्न सक्छन्। यदि ती नङ्रा भएका आफ्‍ना औंलाहरूलाई बन्द गर्नलाई त्यसले खुट्टालाई आफ्‍नो जीउतिर तान्नुपर्ने हुँदो हो त त्यसले बोक्दै गरेको सानो खरायो वा सर्प वा जेसुकै होस्, त्यसले उसलाई टोक्न सक्थ्यो अनि त्यो चील वा बाजको छातीलाई च्यातिदिन सक्थ्यो। परमेश्वर ज्यादै बुद्धिमानी र असल हुनुहुन्छ। आफ्नो सृष्टिले जस्तो जीवन जिएको चाहनुहुन्छ त्यस्तै जीवन जिउन सकोस् भनेर उहाँले सबै प्राणीहरूलाई ठिक-ठिक तरिकाले मिलाउन जान्नुहुन्छ। अनि बाबुनानीहरूहो, यसैकारण तिमीले आफ्‍नो जीवन र हृदय लिएर उहाँकहाँ आएको र उहाँमाथि भरोसा गरेको उहाँ चाहनुहुन्छ। तब तिमीले जस्तो किसिमको जीवन जिएको उहाँ चाहनुहुन्छ त्यस्तो जीवन जिउन सक्ने तिमीलाई बनाउनुहुन्छ। “म ख्रीष्टसित क्रूसमा टाँगिएको छु तरै पनि जिउँछु; त्यसो भए पनि म ता होइन तर ख्रीष्ट मभित्र जिउनुहुनछ; अनि जुन जीवन म अहिले शरीरमा जिउँछु, त्यो म परमेश्वरको पुत्रमाथिको विश्वासद्वारा जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र आफैलाई मेरा निम्ति दिहाल्नुभयो” (गलाती २:२०)।

भाले कुखुरा विचित्र पंक्षी हो, होइन र? तर उनीहरूका केही अति राम्रा कुरा छन् जो बाबुनानीहरूले देखासिकी गर्नुपर्छ। पहिलो त, उनीहरू बिहान सबेरै उठ्छन् र परमेश्वरले उसलाई दिनुभएको कुकुरी-काँ गरी बास्ने काम गर्न थाल्छन्। आठ बजेसम्म सुतेर बस्ने भाले कतै कसैले देखेको छ र?

भाले कुखुराले “म कोइली चरीले जस्तो गाउन सक्दिनँ, त्यसैले म अब बास्नै छोड्छु” भनेर भन्दैन। उसले एउटा जुरेली वा बुलबुल चरोको देखासिकी गर्न खोज्दा पनि खोज्दैन। उसले आफूले जेगर्न सक्छ त्यही काम उसले सक्दो राम्रोसित गरिरहन्छ।

उसले यत्नपूर्वक यस्तो काम गर्छ जसको लागि उसले कहिल्यै प्रशंसा पाउँदैन। के तिमीले कसैले कुखुराको भालेलाई उसले राम्ररी कुकुरी-काँ गर्दै बासेको हुनाले उसलाई प्रशंसा गरिरेहको देखेका छौ। तर प्रशंसा पाएन भन्दैमा कुखुराको भाले बास्न छोड्दैन।

कुखुराको भालेको काम रमाइलो काम त होइन। उसको काम सुतेकाहरूलाई उठाउनु हो। त्यो बारम्बार गरिनुपर्ने काम हो तर यो सेवा गरिदिनेलाई कसैले धन्यवाद दिँदैन।

बास्ने भालेले असल खबर ल्याउँदछ। उसले हामीलाई भन्छ, एउटा नयाँ दिन आइपुग्यो जुन दिन हामीले हाम्रा प्रभुलाई चिन्न सकौं र उहाँको सेवा गर्न सकौं। भाले भरपर्दो हुन्छ, ऊ दृढतापूर्वक लागिरहन्छ। ऊ विज्ञापन गर्ने काममा अति उत्तम छ। उसले आफ्‍ना सहकर्मीहरूले खोरमा के कसो गर्दैछन् भन्ने कुरा बताउने गर्छन् किनभने कुखुरीले अण्डा पार्छे र भालेले त्यसको बारेमा कुकुरी-काँ गर्छ।

आफूले बारम्बार एउटै काम कति गर्नुपरेको भनेर कुखुराको भालेले कहिल्यै गुनासो गर्दैन। केवल उसले बास्ने काम गर्छ — ऊ बिहान बास्छ अनि दिँउसो, बिहानको नास्ता अगाडि अनि साँझको खाना खाएपछि — तर उसले खुशीसाथ त्यो गर्छ। नानीहरूहो, तिमीहरूले सिक्नुपर्ने यी असल पाठहरू हुन् अनि म आशा गर्छु तिमीहरूले यो सिक्नेछौ।

मैले तिमीहरूलाई कुखुराको अण्डाको बारेमा केही कुरा बताउनुपर्छ। तिमीले यदि एउटा अण्डालाई प्लेटमाथि वा टेबुलमाथि राखेर फननन्न घुमाइदियौ भने पनि, अथवा अरू जेसुकै गर्‍यो भनेपनि, तिमीले अण्डाभित्रको पहेंलो भागलाई भित्रपट्टि रहेको त्यसको ठाउँबाट त्यसलाई उलटपुलट हुने गरी सार्न सक्दैनौ। परमेश्वरले पहेंलोलाई यसरी बनाउनुभएको छ कि त्यो जहिले पनि अण्डाको बोक्राभित्र आफ्‍नो ठिक ठाउँमै बसिरहन्छ। तिमीले अण्डा फुटाउँदा, अथवा तिम्रो आमाले फुटाउनुहुँदा, भित्रपट्टिको केही बाक्लो र्‍यालजस्तो भागलाई उहाँको औंलाले सफा गरे जस्तो गर्दै स्वाट्ट निकाल्नुहुन्छ। यसरी निकालिएको भाग चाहिँ एक किसिमको डोरीजस्तो हो जोचाहिँ पहेंलो भागको एकातिर टाँसिएको हुन्छ र साथै त्यो बोक्रापट्टि पनि टाँसिएको हुन्छ। यसले अण्डाको पहेंलो भागलाई आफ्‍नै ठाउँमा राखिराख्छ।

अण्डाको पहेंलो भागको बनोट पानी जहाजको जस्तै हुन्छ। त्यसको तल्लो भाग भारी हुन्छ भने त्यसको माथिल्लो भाग हलुका। त्यसैले अण्डाको पहेंलो त्यसलाई वरिपरि घेर्ने सेतोको बीचमा निरन्तर तैरिरहन्छ। पहेंलो भागको यो बनोटले र साथै मैले अघि बताएको त्यो डोरीले, पहेंलोलाई अण्डाभित्र सुल्टो गरी झुण्ड्याइराख्छ, अण्डालाई जतातिर घुमाए पनि वा फर्काए पनि, चाहे मान्छेका औंलाहरूले वा कुखुरी माउले। परमेश्वरले अण्डालाई किन यसरी बनाउनुभयो भने अण्डाभित्र हुने जीवनको कण पहेंलोको सतहमाथि हुन्छ अनि त्यसलाई कुखुरी माउको छातीको नजीकमा राखिनुपर्छ ताकी कुखुरीको शरीरको तापले त्यो चल्ला बढ्न सकोस्। हामीले यहाँ फेरि देख्छौं स्वर्गमा हुनुहुने हाम्रा परमेश्वरको अचम्मको बुद्धि।

स्वर्गमा जिउनुहुने जीवनका प्रभुले तिमीलाई एउटा अति नै आशिषमय जीवन जिउन सहायता गर्नुहुनेछ। जब तिमीले प्रभु येशूलाई लिन्छौ तब ख्रीष्टियन जीवन जिउन र बाइबलमा देखाइएको परमेश्वरको इच्छा पालन गर्न तिमीले सजिलो भएको महसुस गर्नेछौ। बाइबलमा यूहन्ना ४:१४ मा पल्टाएर पढौं। यो जिउँदो पानी भनेको त्यो आशिषले भरिएको अनन्त जीवन हो जुनचाहिँ मुक्तिदाता प्रभु येशूले तिम्रो हृदयभित्र हालिदिनुहुन्छ जब तिमी विश्वासद्वारा उहाँकहाँ आउँछौ।

जब अण्डाभित्र चल्ला बन्ने काम हुन्छ, चल्लाको नाक सधैं अण्डाको फराकिलो पट्टिभित्र भएको हावा भएको सानो कोठामा पर्ने गरीकन बन्दछ। कुखुरा पाल्ने मान्छेलाई सोध्न सकिन्छ, “के तपाईंले कहिल्यै चल्ला उसको नाक अण्डाको साँघुरो भागतिर फर्केर बसेको देख्नुभएको छ?” कसैले त्यस्तो अण्डा भेट्टाउन सक्दैन। यसको कारण छ। यसले फेरि परमेश्वरको बुद्धि देखाउँछ रउहाँ कति असल हुनुहुन्छ भन्ने देखाउँछ। अण्डाको बोक्रा फराकिलो भागपट्टिको तुलनामा साँघुरो भागपट्टि धेरै बाक्लो हुन्छ। यसैले गर्दा चल्लाको नाक फराकिलो भागपट्टि फर्केको हुन्छ जहाँ बोक्रा पातलो हुन्छ। तब, जब चल्ला निस्कन चाहन्छ उसलाई यो फराकिलो पट्टिको बोक्रा फुटाउन गाह्रो पर्दैन। बाक्लो र कडा बोक्रा भएको साँघुरो पट्टिको बोक्रा फुटाएर बाहिर निस्कनुपर्ने हुँदो हो त उसलाई निकै साह्रो-गाह्रो पर्नेथ्यो। चल्लाको चुच्चो ज्यादै नरम हुन्छ। परमेश्वरले चल्लालाई एउटा सानो हतियार नदिनुभएको भए चल्लाले बोक्रा फुटाउनै सक्दैनथ्यो र बाहिर निस्कनै सक्दैथ्यो। प्रभुले अनौठो तरिकाले त्यो चल्लाको नरम चुच्चुको टुप्पामाथि एउटा ज्यादै कडा कोन उम्रन दिनुहुन्छ। यो सानो हतियार अण्डाको बोक्रालाई फुटाउन सक्ने जति कडा हुन्छ। त्योचल्ला बोक्राभित्रबाट बाहिर ननिस्कुन्जेल त्यसको नरम चुच्चोलाई उक्त कडा वस्तुले ढाकिदिन्छ। चल्ला बाहिर निस्केपछि, उक्त सानो कोन, जो झण्डै हड्डीजस्तै कडा हुन्छ, त्यो चल्लाको नाकबाट खस्छ, किनभने चुच्चो चाँडै नै कडा हुँदै जान्छ र उसलाई त्यो कोनको अबउसो आवश्यक पर्नेछैन। साथै, त्यो सानो कोन रहिहँदो हो त चल्लाले आफ्‍नो चुच्चो खोल्नै नसक्ने हुन्थ्यो अनि उसले खान सक्दैनथ्यो। कहिलेकाहिँ त्यो यति कस्सिएको हुन्छ कि कुखुरा पाल्नेले उसको औंलाले त्यसलाई कोट्याएर फाल्नुपर्ने हुन्छ। कुखुराको चल्लाको जीवनको लागि यस्तो उदेकको व्यवस्था गरिदिनुहुने उदेकको परमेश्वर उही परमेश्वर हुनुहुन्छ जसले तिम्रो जीवनको निम्ति व्यवस्था गरिदिन चाहनुहुन्छ।

चल्ला अण्डाबाट निस्कनुभन्दा दुई दिन अगाडि उसले सास फेर्न थाल्छ। हावा भएको त्यो सानो कोठाभित्र उसलाई ठिक दुई दिनसम्म सास फेर्न पुग्ने हावा हुन्छ। अनि जब उसले त्यहाँ भएको हावाको अन्तिम सास तान्छ र त्यो खाली ठाउँको हावा अब सक्किन्छ, अनि फेरि त्यसले सास तान्न खोज्छ र छटपटाएर त्यसले मुन्टोले झट्का दिन थाल्छ अनि उसले सास फेर्न खोज्दाखोज्दै उसले बोक्रा फुटाउँछ – अनि ऊ एउटा ठूलो नयाँ संसारमा निस्केर आउँछ।

परमेश्वरले कुखुराले जे-जे गर्नलाई बनाउनुभयो ठिक त्यही-त्यही कुरा उनीहरू गर्छन्। अनि प्रिय बाबुनानीहरू हो, तिमीहरूले पनि त्यसै गर्छौ भन्ने म आशा गर्छु। येशूले भन्नुभयो, “हे सबै मेहनत गर्ने र भारीले दबिएकाहरूहो, मकहाँ आऊ र म तिमीलाई विश्राम दिनेछु” (मत्ती ११:२८)। यही मुक्तिदातामाथि आफूले पक्का गरी भरोसा गर अनि उहाँले तिमीलाई यस जीवनभरि र त्यसपछिको जीवनमा पनि सुरक्षित राख्नुहुनेछ।

Translated by Pradesh Shrestha from Uncle Walter’s Animal Stories. 

Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype
Print Friendly, PDF & Email