मेरो समस्याभन्दा परमेश्वर नै ठूलो

मेरो समस्याभन्दा परमेश्वर नै ठूलो

अनि जसले तपाईंको नाम जान्दछन्, तिनीहरूले तपाईंमाथि भरोसा राख्‍नेछन्।”(भजनसंग्रह ९:१०)

जीवनका समस्याहरूको बीचमा परमेश्वरमा भरोसा राख्‍न सक्न परमेश्वरको नाम जान्न आवश्यक छ। परमेश्वरको नाम भन्नाले परमेश्वरका गुणहरू बुझिन्छ। “पवित्र”, “सत्य”, “सर्वशक्तिमान”, “सर्वज्ञानी” जस्ता शब्दहरूले उहाँ को हुनुहुन्छ र कस्तो हुनुहुन्छ भनेर जनाउँदछन्। त्यसैले परमेश्वर को हुनुहुन्छ भनेर जसले साँच्चै जानेको छ उसैले परमेश्वरको नाम जानेको छ। अनि जसले उहाँको नाम जानेको छ उसले उहाँमाथि भरोसा राख्‍दछ। [प्रिय पाठक, तपाईंले परमेश्वरलाई व्यक्तिगत रूपमा चिन्नु भएको छैन भने हामी तपाईंलाई अर्को लेख पनि पढ्नलाई विनम्र अनुरोध गर्दछौं: मुक्ति पाउन मैले के गर्नुपर्छ?]

के तपाईंको जीवनमा कुनै समस्या छ? आउनुहोस्, एउटा काल्पनिक तराजु लिऔं। एकातिर आफ्नो समस्यालाई राखौं र अर्कोतिर परमेश्वरको नामलाई। अनि सिकौं भरोसा गर्न हाम्रा जीवित र सत्य परमेश्वरलाई!

> परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ — मेरो समस्यालाई समाधान गर्न सक्ने क्षमता उहाँसित छ; उहाँले त्यसलाई समाधान गर्न सक्नुहुन्छ। उहाँको निम्ति कुनै कुरा पनि औधी कठिन हुँदैन (उत्पत्ति १८:४)। कुनै पनि समस्या उहाँको क्षमताभन्दा बाहिरको हुँदैन। तसर्थ उहाँद्वारा म सबै कुराहरू गर्न सक्नेछु (फिलिप्पी ४:१३)।

[परमेश्वरले] हामीभित्र कार्य गर्ने सामर्थ्यअनुसार हामीले मागेका वा सोचेका सबै कुराभन्दा अत्यन्तै बढी गर्न सक्नुहुन्छ (एफेसी ३:२०)।

> परमेश्वर सर्वज्ञानी हुनुहुन्छ — मेरो समस्याको बारेमा उहाँलाई सब थाह छ। त्यतिमात्र नभएर मेरो समस्याको समाधान गर्ने उपाय समेत उहाँलाई थाह छ। साथै यस समस्याको बीचमा मैले कतिसम्म सहन सक्छु भनेर पनि उहाँलाई थाह छ।

मानिसमाथि आइपर्ने किसिमको परीक्षाबाहेक अरू परीक्षा तिमीहरूमाथि आइपरेको छैन; तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूको शक्तिदेखि बाहिरको परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सक भनेर परीक्षाको साथ-साथमा उम्किने बाटो पनि बनाउनुहुनेछ (१ कोरिन्थी १०:१३)।

> परमेश्वर बुद्धिमानी हुनुहुन्छ — मलाई सबभन्दा बढी भलाइ कसरी हुन्छ भनेर उहाँ जान्नुहुन्छ। यसैले त उहाँले यो समस्या मेरो जीवनमा आइपर्न दिनुभयो। मेरो समस्या-समाधानको सर्वोत्तम उपाय उहाँले नै जान्नुहुन्छ।

तिमीहरूमध्ये कसैलाई बुद्धिको खाँचो छ भने उसले परमेश्वरलाई मागोस्, जसले सबै मानिसहरूलाई मन खोलेर दिनुहुन्छ, र हपार्नुहुन्न; अनि उसलाई यो दिइनेछ (याकूब १:५)।

> परमेश्वर सर्वव्यापी हुनुहुन्छ — म समस्यामा परेको छु तर म एकलो छैन किनकि परमेश्वर मेरो साथमा हुनुहुन्छ; उहाँ मभित्रै हुनुहुन्छ (गलाती २:२०)। उहाँले मलाई कुनै रीतिले छोड्नुहुनेछैन, न ता मलाई कुनै रीतिले त्याग्नुहुनेछ। समस्या आइपर्दा म एकलैले समाधान गर्नुपर्छ भनेर उहाँले कहिल्यै भन्नुभएन। जिउँदो परमेश्वर नै मेरा सहायक हुनुहुन्छ।

परमप्रभु नै तिमीहरूका निम्ति लड्नुहुनेछ। तिमीहरू केवल स्थिर बस (प्रस्थान १४:१४)।

तिमीहरूको चालचलन पैसाको लोभरहित होस्; अनि तिमीहरूसँग जे कुराहरू छन्, तिनैमा सन्तोष गर; किनकि उहाँ आफैले भन्नुभएको छ: ‘म तिमीलाई कुनै रीतिले छोड्नेछैनँ, न ता तिमीलाई कुनै रीतिले त्याग्नेछु।’ यसकारण हामी हिम्मसँग भन्न सक्छौं: ‘प्रभु मेरा सहायक हुनुहुन्छ, अनि म डराउनेछैनँ, मान्छेले मलाई के गर्न सक्छ र?’ (हिब्रू १३:५-६)।

यसैले नडरा, किनकि म तँसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तँलाई बलियो पार्नेछु। म तँलाई सहायता गर्नेछु। मेरो धार्मिकताको दाहिने हातले तँलाई समाल्नेछु (यशैया ४१:१०)।

हेर, म सधैंभरि, अँ, संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु (मत्ती २८:२०)।

> परमेश्वर अपरिवर्तनीय (बदलिन नसकिने) हुनुहुन्छ — जब परमेश्वरले मलाई बचाउनुभयो तब मेरो जीवनको सबभन्दा ठूलो समस्या हल भयो। अब उही परमेश्वरले त्योभन्दा सानो जुनसुकै समस्यामा पनि मलाई सहायता गर्न सक्नुहुन्छ। जुन परमेश्वरले दाऊदलाई, दनिएललाई, पावललाई र अरू धेरैजनालाई उनीहरूका समस्याहरूमा सहायता गर्नुभयो, उही परमेश्वरले मलाई पनि सहायता गर्न सक्नुहुन्छ। परमेश्वर हरहमेसा परमेश्वर नै हुनुहुन्छ भनी म मानिलिन सक्छु।

येशू ख्रीष्ट हिजो, आज र सधैंभरि एकसमान हुनुहुन्छ (हिब्रू १३:८)।

> परमेश्वर सार्वभौम हुनुहुन्छ — हरेक परिस्थितिको सम्पूर्ण नियन्त्रण परमेश्वरकै हातमा हुन्छ। उहाँले यो समस्या मेरो जीवनमा आउन दिनुभयो र यो पनि उहाँकै हातमा छ।

अनि हामी जान्दछौं, परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेरभलाइ नै उत्पन्न गर्दछन् (रोमी ८:२८)।

> परमेश्वर विश्वासयोग्य हुनुहुन्छ — मेरो समस्याको समाधानको निम्ति मैले परमेश्वरमाथि भरोसा राख्दा उहाँले मलाई धोका दिनुहुनेछैन (व्यवस्था ३१:६)। उहाँका प्रतिज्ञाहरू चुक्नेछैनन्। मेरो यो परिस्थितिमा म परमेश्वरमाथि भर पर्न सक्छु। परमेश्वर पूर्ण रूपमा भरपर्दो, विश्वासीलो, वफादार हुनुहुन्छ।

किनकि परमेश्वरका सबै प्रतिज्ञाहरू उहाँमा ‘हो’ हुन्छन्, र हामीद्वारा परमेश्वरको महिमाका लागि उहाँमा ‘आमेन’ पनि हुन्छन् (२ कोरिन्थी १:२०)।

> परमेश्वर सत्य हुनुहुन्छ — मेरो समस्याको बीचमा म परमेश्वरको वचनको प्रतिज्ञाहरूलाई दाबी गर्न सक्छु किनभने परमेश्वर झूट बोल्नुहुन्न; उहाँले झूट बोल्नै सक्नुहुन्न (तीतस १:२)। उहाँले जे भन्नुहुन्छ, त्यो उहाँले गर्नुहुन्छ।

उहाँले जे प्रतिज्ञा गर्नुभएको छ, सो पूरा गर्नालाई उहाँ सामर्थी पनि हुनुहुन्छ (रोमी ४:२१)।

> ‍परमेश्वर अनन्त हुनुहुन्छ — अनन्तताको परिप्रेक्ष्यमा वा दाँजोमा हेर्दा मेरो समस्या सानोभन्दा सानो देखिन्छ।

अनन्तका परमेश्वर तिमीहरूको वासस्थान हुनुहुन्छ, र मुनितिरचाहिँ सनातनका पाखुराहरू छन् (व्यवस्था ३३:२७)।

> परमेश्वर प्रेम हुनुहुन्छ — मेरो यो समस्यामा परमेश्वरले स्वयम् आफैलाई चिनाउन चाहनुहुन्छ। यस्तो कुनै समस्या छैन, त्यो जतिसुकै ठूलो किन नहोस्, जसले मलाई उहाँको प्रेमबाट अलग पार्न सक्दछ।

कसले हामीलाई ख्रीष्टको प्रेमदेखि अलग पार्ला? के सङ्कष्टले, वा क्लेशले, वा सतावटले, वा अनिकालले, वा नाङ्गो अवस्थाले, वा खतराले, वा तरवारले? जस्तो लेखिएको छ: ‘तपाईंका निम्ति हामी दिनभरि मारिँदछौं; हामी काटिने भेडाहरूझैं गनिँदछौं।’ तर यी सबै कुराहरूमा हामी उहाँद्वारा, जसले हामीलाई प्रेम गर्नुभयो, विजेताहरूभन्दा पनि बढी छौं। किनकि मलाई पूरा निश्चयता भएको छ ‍– न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न अधिकारहरूले, न अहिलेका कुराहरूले, न पछि आउने कुराहरूले, न उचाइले, न गहिराइले, न अरू कुनै सृष्टिले नै हामीलाई हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमदेखि अलग पार्न सक्नेछ (रोमी ८:३५-३९)।

> परमेश्वर भला हुनुहुन्छ — मेरो समस्या र मेरो अप्ठ्यारो परिस्थितिकै बीचमा पनि परमेश्वरले मलाई उहाँको पुत्रजस्तै बनाउँदै लैजान चाहनुहुन्छ (रोमी ८:२८-२९)। जस्तोसुकै संकष्ट किन नहोस्, उहाँ भला हुनुहुन्छ भनी म उहाँको प्रशंसा गर्न सक्छु (भजनसंग्रह १०७:८,१५)।

अनि हामी जान्दछौं, परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति सबै कुरा मिलेर भलाइनै उत्पन्न गर्दछन् — उनीहरूका निम्ति, जो उहाँकै मनसायअनुसार बोलाइएका छन्। किनभने जसलाई उहाँले पहिले नै जान्नुभएको थियो, उनीहरूचाहिँ आफ्नै पुत्रको रूपमा ढालिऊन् भनेर उहाँले उनीहरूलाई पहिले नै ठहराउनु पनि भयो (रोमी ८:२८-२९)।

> परमेश्वर धर्मी र न्यायी हुनुहुन्छ — मेरो जीवनमा यो समस्या आउन दिनुमा परमेश्वरले ठीक नै गर्नुभएको छ। परमेश्वरले कहिल्यै गलती गर्नुहुन्न।

सारा पृथ्वीका न्यायकर्ताले उचित न्याय गर्नुहुन्न र? (उत्पत्ति १८:२५)।

प्रिय विश्वासी जन, दैनिक जीवनका भार र समस्याहरूका बीच जीवित परमेश्वरलाई कत्तिको सम्झने गर्नुहुन्छ? “जसले तपाईंको नाम जान्दछन्, तिनीहरूले तपाईंमाथि भरोसा राख्‍नेछन्” (भजनसंग्रह ९:१०)।

सबै कुराहरूमा तिनीहरूले परमेश्वर हाम्रा मुक्तिदाताको शिक्षालाई सिँगारिदिऊन्

सबै कुराहरूमा तिनीहरूले परमेश्वर हाम्रा मुक्तिदाताको शिक्षालाई सिँगारिदिऊन्


तीतस २:१ मा तीतसलाई पावलका निर्देशनहरू

“तर तिमीले चाहिँ खाँटी शिक्षालाई सुहाउने कुराहरू बोल”

पावलले तीतसलाई उनको पास्टरीय कामको सवालमा “खाँटी शिक्षालाई सुहाउने कुराहरू बोल” भन्ने अर्ती दिए। खाँटी शिक्षाको माने स्वस्थ्यपूर्ण शिक्षा हो। यहाँ “खाँटी” भनेर अनूदित ग्रीक शब्द यी पदहरूमा प्रयोग गरिएका छन्: १ तिमोथी १:१०;६:३; २ तिमोथी १:१३; ४:१३; तीतस १:९,१३ (“पक्का”); २:२(“पक्का”)। साथै उक्त शब्द यी पदहरूमा पनि प्रयोग गरिएका छन्: लूका ५:३१ (“निरोगीहरू”) र ३ यूहन्ना २ (“निरोग”) जहाँ माने स्पष्ट छ: शरीरमा सञ्चो, स्वस्थ र निरोग हुनु। जब परमेश्वरको सत्यता र परमेश्वरको शिक्षालाई विश्वास गरिन्छ र पालन गरिन्छ, तिनको परिणाम भनेको प्राण (भित्री मानिस) मा निरोग र सञ्चोपना आउँछ। हामी “स्वस्थ विश्वासीहरू” हुनुपर्छ भनेर हामी भन्ने पनि गर्छौं — अर्थात् आफूसित आत्मिक स्वस्थ हुनु आवश्यक छ जोचाहिँ परमेश्वरसित हिँडेर आउँछ र आफ्‍नो जीवनहरूलाई उहाँको इच्छा र वचन अनुरुप बनाएर आउँछ।

यदि उहाँमा भरोसा गरिरहेकाहरूलाई परमेश्वरले दिनुहुने यो सिद्ध शान्ति र स्वास्थ्य (यशैया २६:३ “शान्ति नै शान्ति”) हामी आफै जान्दैनौं (यसमा हामी रम्दैनौं) भने हाम्रो गाउँ, बस्ती, जिल्ला, अञ्चल, मुलुक वा संसारतर्फ हामी कसरी गवाही हुन सक्छौं र? प्राणहरू बाँझो र शिथिल छन् भने यसले निश्चय पनि हाम्रो गवाहीलाई बाधा दिन्छ।

पावलले तीतसलाई पाँच फरक-फरक समूहहरूलाई खाँटी र स्वस्थ्यपूर्ण शिक्षा सिकाउनलाई निर्देशन दिए: बूढा मानिसहरू (पद २), बूढी स्त्रीहरू (पद ३), तरुणी स्त्रीहरू (पद ४,५), जवान पुरुषहरू (पद ६-८) र दासहरू (पद ९-१०)।

बूढा मानिसहरू (पद २)

सचेत (नशालु पदार्थबाट अलग, ठिक सोच्ने), गम्भीर (सम्मान र आदरको योग्य, गम्भीर तर अँध्यारो होइन, ईश्वरीय आदरभावको), आत्मसंयमी (बोली-व्यवहारमा होशियार, ठिक सोच्ने, राम्ररी विचार पुर्‍याउने, आफैंलाई नियन्त्रणमा राख्ने)। यी बूढा मानिसहरूलाई तीन प्रकारले स्वस्थ्य हुनलाई सिकाइनुपर्थ्यो: १) विश्वासमा स्वस्थ्य (तपाईंको?); २) प्रेममा स्वस्थ्य (तपाईंको?); ३) धीरजमा स्वस्थ्य (जीवनका परीक्षाहरूमा, कठिनाइहरूमा अचल भई लागिरहनु)। जीवनका आँधी-बतासहरूको सामना गर्नुपर्दा, अग्नीमय कष्टहरूको सामना गर्नुपर्दा, तपाईं कत्तिको आत्मिक स्वस्थ्य र अचल?

बूढी स्त्रीहरू (पद ३)

बूढी स्त्रीहरूको चालचलन पवित्रतालाई सुहाउँदो हुनुपर्छ भनेर सिकाइनुपर्थ्यो (पवित्र व्यक्ति झैं व्यवहार गर्नु, बोली-व्यवहारमा आदरभावसित हिँड्नु, उत्तेजनामा हिँड्ने स्त्रीहरूजस्ता होइनन् जसका हृदयहरू हलुका र व्यर्थका कुराहरूमा केन्द्रित हुन्छन्, न झूटा दोष लाउने (“दियाबलस” — बूढी स्त्रीहरू स-साना दियाबलसहरू जस्ता भएर झूटा आरोपहरू, बाङ्गो-टिङ्गो कुराहरू, अर्काको पछाडि द्वेषपूर्ण कुराहरू यत्रतत्र प्रहार गर्दै हिँड्नेहरू हुनु हुँदैनथ्यो), न पियक्कड (not given or enslaved to, खानेकुरा, पिउने कुरा, वा अन्य कुनै कुराको पकडमा नभएको हुनुपर्थ्यो)

बूढी स्त्रीहरू “असल कुराहरूका शिक्षकहरू” हुनुपर्थ्यो। तिनीहरूले अनुभवद्वारा (जीवनमा कति हण्डरहरू खाएर) धेरै कुराहरू सिकेका छन्। अनि उनीहरूले वर्षौंभरि सिकेकाबट अरूहरूलाई उनीहरूको फाइदाको लागि सिकाउनुसक्नुपर्ने हो। उनीहरूको सिकाउने यो काम विशेष गरी तरुणी स्त्रीहरूप्रति लक्षित हुनुपर्छ। वर्षौंदेखि परमेश्वरको वचनमा हिँड्दै आएका र व्यावहारिक अनुभवबाट सिक्दै आएका यी बूढी स्त्रीहरूले तरुणी स्त्रीहरूलाई, तरुणी पत्नीहरू र तरुणी आमाहरूलाई अनमोल सल्लाहरू हस्तान्तरण गर्न सकछ्न्। [सिद्धान्त: एक बुद्धिमानी जवान व्यक्तिले आफूभन्दा पाको ईश्वरीय विश्वासीहरूसित मित्रता विकास गर्नेछन् र उनीहरूको सरसल्लाह र सुधारहरूको माग गर्नेछन्।]

बूढी स्त्रीहरूले तरुणी स्त्रीहरूलाई सिकाउनुपर्ने कुराहरू अब आउने खण्डमा दिइएको छ:

तरुणी स्त्रीहरू (पद ४,५)

बूढी स्त्रीहरूले तरुणी स्त्रीहरूलाई निम्न कुराहरू सिकाउनुपर्थ्यो (चेतावनी, तालिम): १) आफ्‍ना-आफ्‍ना पतिलाई प्रेम गर्न (phileo) (प्रेममा फस्ने जस्तो कुरा होइन, तर प्रेमगर्न सिक्ने): “यसमा धेरै कुराहरू पर्छन् जसद्वारा तिनले आफ्‍ना पतिलाई साँच्चै आदर गर्छन् भनेर देखाउन सक्छिन् — घरमा उनको प्रधानतालाई स्वीकार गरेर, पतिबिना कुनै पनि ठूला निर्णयहरू नगरेर, घरलाई व्यवस्थित राखेर, आफ्‍नो लवजमाथि ध्यान पुर्‍याएर, उनीहरूको कमाइअनुसार मात्र खर्च गरेर, गलतीहरू तुरुन्तै स्वीकार गरेर, अनुग्रहसाथ क्षमा दिएर, सञ्चारको बाटो सधैं खुला राखेर, अरूका सामु आफ्‍नो पतिलाई आलोचना गर्ने वा कुरा काट्ने काम नगरेर र कामकुरा बिग्रन जाँदा सहयोगी बनेर” (म्याकडोनाल्ड)। २) आफ्‍ना नानीहरूलाई माया गर्न (phileo): “उनीहरूसँग बसेर पढ्ने, प्रार्थना गर्ने गरेर, उनीहरू स्कूल वा खेलबाट फर्कँदा आफू घरमा भइदिएर, दृढ र न्यायोचित तवरले अनुशासन गरेर, उनीहरूलाई संसारको निम्ति नभई प्रभुको सेवाका निम्ति मलजल गरेर” (म्याकडोनाल्ड)। ३) आत्मसंयमी (बोली-व्यवहारमा होशियार, ठिक सोच्ने, राम्ररी विचार पुर्‍याउने, आफैंलाई नियन्त्रणमा राख्ने, पद २ कै शब्द); ४) पतिव्रता (शुद्ध pure, आफ्‍ना पतिहरूप्रति विश्वासयोग्य, विचार, बोली वा काममा फोहोर कुरादेखि अलग); ५) घर सम्हाल्ने (घरमा काम गर्ने, गृहणी): “आफ्‍नो घर परिवारलाई बेवास्ता गर्ने गरी उद्योग-बेपारमा लाग्नुभन्दा एक पत्नी र आमा भईकन घरैमा प्रभुको सेवा गर्नुको उच्च मर्यादा हुन्छ भन्ने कुरालाई बूढी स्त्रीहरूले तरुणी स्त्रीहरूलाई सिकाउनुपर्थ्यो” (म्याकडोनाल्ड); ६) भला (कसरी अर्काको निम्ति जिउने, अतिथिसत्कार गर्ने, अनुग्रही, उदार हुने, स्वार्थी र आफैमा केन्द्रित होइन); ७) आफ्‍ना-आफ्‍ना पतिका आज्ञाकारी। यी सब किन – ताकि “परमेश्वरको वचनको निन्दा नहोस्” (विरुद्धमा नबोलियोस्; अक्षरश: “चोटपूर्ण बोली”)। यो पद १० को विपरित हो। हामी कसरी जिउँछौं यसले परमेश्वरको सत्यतालाई कि त सिँगार्छ कि निन्दा ल्याउँछ।

जवान पुरुषहरू (पद ६-८)

आत्मसंयमी (बोली-व्यवहारमा होशियार, ठिक सोच्ने, राम्ररी विचार पुर्‍याउने, आफैंलाई नियन्त्रणमा राख्ने – यो सुहाउँदो सल्लाह हो किनकि युवावस्था जोशपूर्ण, यो गरूँ कि त्यो गरूँ भन्ने उर्जाले र प्रबल चाहनाहरूले भरिएको हुन्छ — अध्यायभरि यो शब्द दोहोराइएको छ); नमुना, १ तिमोथी ४:१२; असल कामहरू, तीतस ३:८,१४; एफेसी २:१०; मत्ती ५:१६; ३) शिक्षामा तीनओटा कुरा: १) चोखोपना (दागरहित – वचनजस्तै); २) गम्भीरता (आदरभावले भरिएको, प्रभुले भन्नुभएको कुरामा एकदम गम्भीर), ३) सच्चाइ (सत्यको मार्गबाट बिग्रेर नजाने)

पद ८ – दोष नपाइने शुद्ध वचन (बोलीले हृदयलाई प्रतिबिम्बित गर्छ र बोलीबाटै हामी दोषी वा निर्दोष ठहरिन्छौं, मत्ती १२:३५-३६), शत्रुलाई हाम्रो दोषरहित बोलीव्यवहारले चुप गराउँछौं। विश्वासीको कवचमा एउटै प्वाल पनि नभेटियोस्! पवित्र जीवन जत्तिको प्रभावकारी कुनै तर्क छैन!

दासहरू (पद ९-१०)

पावलले दासहरूलाई निम्न निर्देशनहरू दिए १) बिनाप्रश्‍न आफ्‍ना मालिकहरूको आज्ञापालन गर्नू (पद ९); २) सबै कुराहरूमा उनीहरूलाई प्रसन्न गराउनू; ३) मुख नलाग्नू (पद ९) — “मण्डली युगको शुरुतिर आफ्‍ना मालिकहरूलाई प्रभु येशूकहाँ डोर्‍याउने सौभाग्य धेरैजना दासहरूको भयो, मुख्यतः अविश्वासी दासहरू र उनीहरूको बीचमा रहेको भिन्नता ज्यादै टड्कारो देखिने भएकोले” (म्याकडोनाल्ड); ४) लामो हात नगर्नू (पद १० — आफ्‍ना मालिकहरूबाट नचोर्न, उनीहरूलाई नठग्न — त्यसैले त लिलाम बजारमा विश्वासी दासहरूको जहिले पनि भाउ बढी हुन्थ्यो!) ; ५) सब प्रकारको इमानदारीपना देखाउनू (पद १० – विश्वासयोग्यता, भरोसायोग्यता), यसरी नै सबै कुराहरूमा तिनीहरूले परमेश्वर हाम्रा मुक्तिदाताको शिक्षालाई सिँगारिदिऊन्” (पद १०)।

शिक्षालाई सिगारिदिऊन् (पद १०)

“शिक्षा सिँगारिनु” परमेश्वरको वचन परमेश्वरका जनहरूको भक्तिहीन व्यवहारले निन्दा गरिनुको ठिक विपरित हो (हेर्नुहोस् पद ५ र रोमी २:२३-२४)। तर जब परमेश्वरका जनहरूले परमेश्वरको वचनका स्पष्ट शिक्षाहरूलाई व्यवहारमा उतार्छन् (चाहे बूढा मानिसहरू होस् वा बूढी स्त्रीहरू, चाहे तरुणी स्त्रीहरू होस् वा जवान पुरुषहरू, चाहे दासहरू होस् वा अरु कुनै विश्वासीहरू), तब परमेश्वरको शिक्षा सिँगारिन्छ। सिँगार्नु भन्ने शब्द (कस्मेओ – अङ्ग्रेजीमा “कस्मेटिक”) को माने व्यवस्थित गर्नु, क्रममा राख्‍नु (भजनसङ्ग्रह ११९:१३३ — “मेरा पाइलाहरू तपाईंको वचनमा स्थिर पारिदिनुहोस्“)। उक्त शब्द कोठालाई सजाउने (मत्ती १२:४४) र सलेटो छाँट्ने वा बत्ती मिलाउने (मत्ती २५:७) अर्थमा प्रयोग गरिएको छ। यसको माने सिँगार्नु हो र चिहानहरूलाई (मत्ती २३:२९) र भवनहरूलाई (लूका २१:५; प्रकाश २१:१९ — “सिँगारिएका”) सिँगार्ने अर्थमा प्रयोग गरिन्थ्यो। हेर्नुहोस् प्रकाश २१:२ — “आफ्‍ना पतिका निम्ति सिँगारिएकीदुलहीझैं।” आफूलाई सिँगार्ने अर्थमा पनि प्रयोग गरिएको छ (१ तिमोथी २:९ — “आत्मसंयमसित सुहाउने वस्त्रले आफूलाई सिँगारून्” र १ पत्रुस ३:५ हेर्नुहोस्)। हाम्रा जीवनहरूले परमेश्वरको सत्यतालाई सुन्दर बनाउनुपर्छ। हामी जिउने तरिका देखेर अरूहरूले परमेश्वरको सत्यताको सुन्दरता देख्‍न सक्नुपर्छ। धेरै वर्ष अघिको कुरा हो, एकजना मिसनरीले चिनियाँ ख्रीष्टियनहरूको बारेमा यो बताए कि उनीहरूलाई जापानी बैङ्कका हाकिमहरूले सधैं नै काममा लिन चाहन्थे किनकि उनीहरूको इमानदारीता उत्कृष्ट थियो। उनीहरूले साँच्चै शिक्षालाई सिँगारे। जसरी स्त्रीहरूले आफूलाई राम्रा र आकर्षक देखाउन कस्मेटिक प्रयोग गर्छन्, त्यसरी नै विश्वासीले परमेश्वरको सत्यतालाई व्यवहारमा उतार्नुपर्छ ताकि परमेश्वर र उहाँको वचन सबैका सामु राम्रो र आकर्षक देखियोस्। जब हामीले आफ्‍ना जीवनहरूलाई खाँटी, स्वस्थ शिक्षा अनुरूप बनाउँछौं हामीले बाइबललाई सुन्दर देखाउँछौं र ख्रीष्टिय सन्देशलाई अविश्वासीहरूका सामु आकर्षक देखाउँछौं” (वियर्स्बी)। “जसरी एउटा सुन्दर चित्रलाई सुहाउँदो फ्रेमले अझ सुन्दर बनाइदिन्छ त्यसरी नै हामीले ख्रीष्टिय शिक्षालाई आकर्षक बनाउँछौं यदि तिनको सामर्थ्य र सत्यतालाई हाम्रो जीवनमा प्रकट गर्‍यौं भने” (केन्ट)। हामी यसरी जिएका होऔं कि हामी परमेश्वरको सत्यतालाई सिँगार्ने गहना भएका हौं!

जब हामी आ-आफ्‍ना ठाउँमा आफ्‍ना जीवनहरूलाई परमेश्वरको सत्यतासित मेल खाने गरी व्यवस्थित गराउँदै जान्छौं तब परमेश्वरको सत्यता सिँगारिनेछ र उहाँको महान् नामका निम्ति त्यसको प्रभाव संसारभरि फैलिँदै जान्छ!