बाइबल कि सपना-दर्शन (योएल २)

Study Series

बाइबल कि सपना-दर्शन (योएल २)

 

के परमेश्वर आज पनि सपना र दर्शनद्वारा बोल्नुहुन्छ?

डेविड क्लाउड

“परमेश्वर भन्नुहुन्छ: अन्तिम दिनहरूमा यस्तो हुनेछ — सबै प्राणीहरूमाथि म मेरो आत्माबाट खन्याउनेछु; अनि तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले भविष्यवाणी गर्नेछन्, अनि तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्, र तिमीहरूका बूढापाकाहरूले सपनाहरू देख्नेछन्। अनि ती दिनहरूमा म मेरा दासहरू र मेरा दासीहरूमाथि आफ्‍नो आत्माबाट खन्याउनेछु; र तिनीहरूले भविष्यवाणी गर्नेछन्; अनि माथि आकाशमा अचम्मका कामहरू र तल पृथ्वीमा चिन्हहरू म देखाउनेछु — रगत, आगो र धूवाँको वाफ। प्रभुको महान् र नामी दिन आउनुभन्दा अघि घाम अँध्यारोमा र जून रगतमा परिवर्तित हुनेछन्; अनि यस्तो हुनेछ — प्रभुको नाम पुकार्ने हरेकले मुक्ति पाउनेछ।” (प्रेरित २:१७-२१)

अन्तिम दिनहरूमा एउटा पेन्टेिकोस्टल जागृति हुनेछ भन्ने सिद्धान्तको प्रमाणस्वरूप यस खण्डलाई बारम्बार प्रयोग गर्ने गरिन्छ। यस सिद्धान्तका समर्थकहरू भन्छन्, “देख्नुभो? छोराहरू र छोरीहरूले भविष्यवाणी गर्नेछन् अनि जवानहरूले दर्शनहरू देख्नेछन् र बूढापाकाहरूले सपनाहरू देख्नेछन्; अनि यी सबै कुरा प्रचारकार्यसित सम्बन्धित छ — मुक्तिको निम्ति प्रभुलाई पुकार्ने कुरा छ यहाँ।” तर अन्तिम दिनहरूमा भविष्यवाणी गर्ने वरदानको पुनर्जागरण यस्तो तवरले हुन्छ भनेर पेन्टीकोस्टल-क्यारिज्मेटिक चिन्ह चमत्कारीय जागृति अभियानलाई समर्थन गर्ने हेतुले यस खण्डलाई प्रयोग गर्नु भनेको पवित्र शास्त्रको यस खण्डको सन्दर्भलाई वास्तै नराखी यी पदहरूलाई जबरजस्ती बङ्गाईकन तिनको दुरुपयोग गर्नु हो।

पहिलो कुरा त यहाँ पत्रुसले भन्दैछन् कि पेन्टिकोस्टको दिनका घटनाहरू घट्दाखेरि तिनका साथसाथै योएलको भविष्यवाणी पनि पूरा भए। पेन्टिकोस्टको त्यो दिनमा उनका सामु जम्मा भएका मानिसहरूलाई पत्रुसले यो बुझाए कि उनीहरूले प्रत्यक्ष देखिरहेका घटनाहरू, अर्थात् “हरेक मानिसले उसको आफ्‍नै भाषामा तिनीहरूले बोलिरहेका” (प्रेरित २:६) अन्यभाषाहरू योएलले भविष्यवाणी गरेका कुरा थिए। पत्रुसले उद्धरण गरेको भविष्यवाणीका दुईटा भाग छन् — भविष्यवाणी गर्ने काम र आकाशमा देखिने चिन्हहरू। पत्रुसले यस खण्डमा यो बताउँछन् कि भविष्यवाणी गर्ने काम चाहिँ उनकै दिनमा पूरा भए, अर्थात् मण्डली युगको सुरुआत भएको उक्त समयमा। इतिहासलाई र साथै पवित्रशास्त्रलाई नियालेर हेर्दा थाह हुने कुरा यो हो कि योएलले गरेको भविष्यवाणीको आखिरी दोस्रो भाग चाहिँ प्रभुको दोस्रो आगमनको समयमा पूरा हुनेछ। आकाशमा देखिने ती चिन्हहरू चाहिँ प्रकाशको पुस्तकमा वर्णन गरिएका छन्। प्रेरित २:१७-१८ मा उल्लेखित “भविष्यवाणी गर्नेछन्” भन्ने कुरा चाहिँ प्रत्यक्ष रूपमा पेन्टिकोस्टको दिनमा बोलिएका अन्यभाषाहरू र भविष्यवाणीहरू नै हुन्। त्यो भनेको प्रेरितीय सेवकाइसित जोडिएको कुरा थियो। नयाँ नियमका बाँकी खण्डहरूले यो कुरालाई पुष्टि गरेको पाइन्छ। अन्यभाषाहरू विश्वास नगरेका यहूदी जातिका निम्ति एउटा चिन्ह हो भनेर पावलले बताउँछन् (१ कोरिन्थी १४:२०-२२)। “यसकारण भाषाहरूचाहिँ चिन्हका निम्ति हुन्; विश्वास गर्नेहरूका लागि होइन, तर विश्वास नगर्नेहरूका लागि हो…।” यो चाहिँ यशैया २८:११-१२ बाट उद्धरण गरिएको हो र पावलले व्याख्या गर्छन् कि उक्त खण्डले प्रेरितहरूको समयमा हुने चमत्कारपूर्ण अन्यभाषाहरूलाई पूर्वउल्लेख गरेको थियो जुन भाषाहरू यहूदीहरूलाई एउटा चिन्ह हुनेवाला थियो। यहूदीहरूले उक्त चिन्हलाई इन्कार गरे र उनीहरू ७० ए.डी. मा रोमी सेनाहरूद्वारा तितरबितर पारिए। चिन्हको काम पूरा भएपछि चिन्ह पनि बितेर गयो। भविष्यवाणीहरूले रङ्गिएको प्रेरितीय युगको त्यो महान् सेवकाइको पनि अन्त भयो जब त्यसको काम पूरा भयो।

दोस्रो कुरा, “अन्तिम दिनहरू” भन्ने शब्दार्थले प्रेरितहरूकै समयदेखि सुरु भएको कालखण्डलाई जनाउँछ। उक्त कालखण्डले वर्तमान मण्डली युगलाई समेट्छ र साथसाथै प्रभुको आगमन हुने बेलामा हुने घटनाहरूलाई पनि समेट्छ। यस कालखण्डको सुरुआत साँचो चिन्हहरूसित र परमेश्वरबाटको प्रकाशको साथ हुनेछ भने यसको अन्त चाहिँ झूटा चिन्हहरू र शैतानबाटको प्रकाशको साथ हुनेछ। प्रेरित यूहन्नाले भने, “हे साना नानीहरूहो, यो अन्तिम घडी हो; अनि ख्रीष्ट-विरोधी आउनेछ भनी तिमीहरूले सुनेअनुसार अहिले पनि धेरै ख्रीष्टविरोधीहरू छन्; यसैबाट यो अन्तिम घडी हो भनी हामी थाह पाउँछौं” (१ यूहन्ना २:१८)। यूहन्नाले आफ्‍नो पत्रमा बताए अनुसार ख्रीष्टविरोधी (एकजना) आउनुपर्छ जसको उदय यस युगको अन्ततिर हुनेछ, अनि साथै त्यहाँ ख्रीष्टविरोधीहरू (एक भन्दा बढी) हुनेछन् जोहरू यस युगभरि नै सक्रिय रहिरहनेछन्। यस युगको गतिविधि समग्रमा कस्तो हुनेछ भन्ने कुराको बयान यस पदले प्रस्टै बताएको छ। मण्डली युग जति छिप्पिँदै जान्छ त्यति नै त्यहाँ बढ्दो सत्यत्याग (apostasy) हुनेछ भनेर नयाँ नियमको शास्त्रले भविष्यवाणी गरेको छ। सत्यत्याग, अर्थात् प्रेरितीय विश्वासलाई परित्याग गर्ने काम, प्रेरितहरूकै समयहरूमा सुरु भएको कुरा थियो अनि यो प्रक्रिया यस युगभरि बढ्दै र फैलँदै गइरहेको छ। अन्ततः यो प्रकाश १७-१८ अध्यायहरू मा बयान गरिएको सत्यत्यागको चरमबिन्दुमा पुग्‍नेवाला छ।

यस युगको अन्ततिर सत्यको पुनर्जागरण र सुसमाचार विस्तारको पुनर्जागरण हुनेछ भनेर भविष्यवाणी गरेको नयाँ नियम शास्त्रमा पाइँदैन बरु धार्मिक भ्रान्ति र भ्रमको वृद्धि हुनेछ भनेर भविष्यवाणी गरेको पाइन्छ। जागृति होइन सत्यत्याग हुनेछ भनेर नयाँ नियमले प्रस्टै भविष्यवाणी गरेको छ। यस युगको अन्तिम समयहरूमा झूटा चमत्कार देखाउनेहरूको बिगबिगी हुनेछ भनेर बाइबलले चेताउनी दिन्छ। “किनभने झूटा ख्रीष्टहरू र झूटा भविष्यवक्ताहरू खडा हुनेछन्, र ठूला-ठूला चिन्ह र चमत्कारहरू देखाउनेछन्; यहाँसम्म कि सम्भव भए ता तिनीहरूले चुनिएकैहरूलाई पनि बहकाउनेछन्” (मत्ती २४:२४)। मत्ती २४:११; ७:२१-२३; २ थेस्सलोनिकी २: ६-१०; प्रकाश १३:१४ पनि हेर्नुहोस्। दुष्ट पुस्ताले चिन्ह खोज्छ भनेर प्रभु येशू ख्रीष्टले भन्नुभएको कुरालाई सम्झनुहोस्। यस्ता चेतावनीहरू हुँदाहुँदै जोन विम्ब‍र (John Wimber) ले संसारका विभिन्न ठाँउहरूमा “चिन्ह र चमत्कार सम्मेलनहरू” सञ्चालन गरेको कुरालाई विचार गर्दा हामीलाई छक्क लाग्नु स्वभाविकै हो।

तेस्रो, प्रेरितहरू वितेर गएपछि चिन्हहरू लगायत नवीन प्रकाशहरू दिइने काम बन्द भयो भन्ने कुरा पवित्र शास्त्रहरू पढेर हामी स्पष्टै जान्न सक्छौं। आफू मसीह हुनुभएको कुरा प्रमाणित गर्न प्रभु येशू ख्रीष्टले अचम्मका कामहरू गर्नुभयो (प्रेरित २:२२)। प्रेरितहरूले चाहिँ आफूहरू प्रभु येशू ख्रीष्ट स्वयंले पठाउनुभएका आधिकारीक व्यक्तिहरू भएको कुरालाई प्रमाणित गर्न उनीहरूले समेत अचम्मका कामहरू गर्ने वरदान पाएका थिए (२ कोरिन्थी १२:१२)। बाइबल पूर्णरूपमा प्रकाशित भएपछि (प्रकाश २२:१८-१९), र प्रेरितहरूको मृत्यु भइसकेपछि चिन्ह र चमत्कारहरूको अन्त भयो, जसरी प्रकाशहरू दिइने काम पनि अन्त भयो। “भविष्यवक्ताहरू र प्रेरितहरू” भनेर जनाइएका उबेलाका दानप्रदत्त व्यक्तिहरू हाम्रो ख्रीष्टियन विश्वासका जग हुन् भन्ने कुरा एफेसी २:२० ले बताउँदछ। “अनि तिमीहरू प्रेरितहरू र भविष्यवक्ताहरूको जगमाथि बनाइएकाछौ, जसको कुनाढुङ्गाचाहिँ येशू ख्रीष्ट आफै हुनुहुन्छ।” तर यतिका वर्षपछि आएर अझै पनि यो जग निर्माण भइरहेको त कदापि छैन। जग भन्ने कुरा एक पटक बसालिसकेपछि त्यसलाई फेरि बसाल्नुपर्दैन। जग भन्ने कुरा बलियो गरी बसालिन्छ र त्यसपछि भवनका अन्य भागहरू जगमाथि निर्माण गरिन्छन्। भविष्यवक्ताहरू र प्रेरितहरूले ख्रीष्टियन विश्वासको लागि जग बसालिसकेपछि उनीहरूको काम सकियो र अब उसो उनीहरूसितै भएको जस्तो आत्मिक वरदानको आवश्यकता पनि रहेन। त्यो समयदेखि यता हामीलाई खडा रहनका लागि एउटा बलियो जग पाएका छौं। यस पूर्ण प्रकाशमा आज कसैले पनि थप्ने काम गर्न सक्दैन।

हुन त त्यहाँ अवस्थापरिवर्तनको एउटा कालखण्ड (transitional period) थियो तरैपनि सामान्य रूपमा भन्नुपर्दा प्रेरितहरूको समयदेखि नै परमेश्वरले आफ्‍ना जनहरूलाई डोर्‍याउनुहुने तरिका भनेको उनीहरूलाई पवित्र आत्माको अगुवाइद्वारा बाइबलको अर्थ खुलाएर आफ्नो इच्छा देखाउनु हो। परमेश्वरले आफ्ना जनहरूलाई अवश्य अगुवाइ गर्नुहुन्छ, उहाँको नामको प्रशंसा होस्, तर परमेश्वरले निजलाई कुनै एउटा निश्चित बाटोमा डोर्‍याउँदैहुनुहुन्छ भनेर एउटा ख्रीष्टियनले जान्नु र परमेश्वरबाट कुनै प्रकाश सीधै पाएको छु भनेर भन्नु चाहिँ एउटै कुरा होइन। चिन्ह र चमत्कारको यस दृष्टिकोणलाई मण्डली इतिहासले समर्थन गरेको छ। प्रेरितहरूको समयदेखि बाइबल-विश्वासीहरूको बीचमा यस्तो कुनै कुरा भेटिँदैन। चिन्ह र चमत्कारमा विश्वास गर्ने आधुनिक विश्वासीहरूले आफ्‍नो सम्पदा रोमन क्याथोलिक रहस्यवादीहरू (mystics) र अनेक अनौठा सत्यत्यागी झुण्डहरूद्वारा पत्ता लगाउनुपर्छ। उदहारणको लागि, विन्यर्ड पास्टर जेम्स राइली (Vineyard Pastor James Ryle) को अ ड्रिम कम ट्रू (A Dream Come True) भन्ने पुस्तकमा, प्रेरितहरू बितेर गइसकेपछि सपनाहरू र दर्शनहरूद्वारा प्रकाश पाउने उनको प्रयासमा रोमन क्याथोलिकहरूका “पिताहरू,” “सन्तहरू,” र रहस्यवादीहरूको अनौठा अभिलेखहरूमा खोजी गर्न उनी बाध्य भए। उनले अगस्टिन (Augustine, p. 159), जेरोम (Jerome, p. 158), थोमस अक्विनास (Thomas Aquinas, p. 165), “सेन्ट” बेनेडिक्ट (“Saint” Benedict, p. 198), र “सेन्ट” निकोलास् (“Saint” Nicolas, pp. 129-131) जस्ता झूटा शिक्षकहरूका नाम लिन्छन्। हाम्रो रोम एन्ड द बाइबल (Rome and the Bible) भन्ने पुस्तकमा हामीले अगस्टिन र जेरोमको सत्यत्यागी अङ्गीकारको अभिलेख गरिसक्यौं। जोन बन्यन (John Bunyan) को पुस्तक यात्रीको प्रगति (Pilgrim’s Progress) पनि एउटा बाइबल भन्दा अतिरिक्त प्रकाश (extra-biblical revelation) हो भनेर राइलीले हालसालै दाबी गरेका छन् (अ ड्रीम कम ट्रू, p. 166)। यो ता तर्कबिज्ञानकै छक्क लाग्दो कदम हो! उनले जोन निउटन (John Newton) र चार्लस् स्पर्जन (Charles Spurgeon) का सपनाहरूको उल्लेख गर्दछन् (A Dream Come True, p. 171-173), तर यी दुई व्यक्तिले कहिलै विन्यर्ड-किसिमको बाइबल-बाह्य प्रकाशको समर्थन गरेनन्। स्पर्जनले “भविष्यवाणीयुक्त सपनाहरू” प्रचार गरेनन्; उनले पवित्र शास्त्रहरू प्रचार गरे। बस यति। यदि स्पर्जन आज भएका भए निःसन्देह आज उनको मण्डलीले जे प्रचार गरिरहेको छ उनले पनि त्यही नै प्रचार गर्नेथिए; उनले विन्यर्ड भद्रगोलका त्रुटिहरूको भण्डाफोर गर्नेथिए।आज स्पर्जनको मेट्रोपोलिटन टेबरनेकलको पास्टर डाक्टर पिटर मास्टर्स (Dr. Peter Masters) हुनुहुन्छ, र उहाँले आधुनिक क्यारिस्म्याटिक लहरको खतरालाई खुलस्त गराउदै र जेम्स राइलीले सिकाएका त्रुटीलाई सच्च्याउँदै दुईटा पुस्तक लेखेका छन्। द क्यारिस्म्याटिक फेनोमेननमा (The Charismatic Phenomenon) डाक्टर मास्टर्स यसो भन्नुहुन्छ —

“आधुनिक भविष्यवाणीहरू बाइबलीय सत्यताहरूको सरल पुनर्वर्णन मात्र होलान् रे तर तिनले पवित्र शास्त्रहरूलाई मानिसको नजरमा कमजोर तुल्याउने काम गर्छन्, किनभने बाइबल मात्र प्रकाशको एउटै माध्यम हो भनेर परमेश्वरले भन्नुभएको छ र यो नै हाम्रो सबै आत्मिक खाँचोको लागि पर्याप्त छ। हामीलाई अगुवाइ, सान्त्वना वा हौसलाको खाँचो पर्दा त्यहाँ अन्य कुनै सन्देश वा स्वरद्वारा सत्यता दिइनेछैनन् भन्ने कुरा परमेश्वरले भन्नुभएको छ। कुनै थप प्रकाश हामीलाई प्रबन्ध गरिनेछैन, किनभने पवित्र शास्त्रहरूमा हामीलाई डोर्‍यानउनका लागि प्रकट गरिएका शिक्षाहरू, प्रतिज्ञाहरू र सान्त्वनाहरूलाई हामीले अवलम्बन गर्नुपर्ने हो।

“उनीहरूका यस्ता थप सन्देशहरूले बाइबललाई खासै काट्दैन भनेर क्यारिस्म्याटिक शिक्षकहरूले भन्नु पर्याप्त छैन। उनीहरूले बाइबललाई अर्को तरिकाले होच्च्याइरहेका छन् — ज्योति र सहायताको निम्ति तिनीहरूले अर्को उपाय निकाल्छन्, र तिनीहरूले परमेश्वरका जनहरूलाई सत्यताको एक मात्र आधारबाट भड्काउछन्। रोमी १५:४ मा पावलद्वारा प्रभु हामीसँग स्पष्ट बोल्नुभएको छ: “किनकि जे-जे कुराहरू पहिल्यै लेखिए, ती हाम्रै शिक्षाका निम्ति लेखिएका थिए, हामीले धीरज र पवित्र शास्त्रहरूको सान्त्वनाद्वारा आशा पाउन सकौं भनेर।”

वास्तविकता यो हो, क्यारिस्म्याटिक शिक्षकहरूले बुझ्दैनन् कि पवित्र शास्त्रहरू (क) पूर्ण छन्, (ख) हाम्रा सबै खाँचोका निम्ति पर्याप्त छन्, र (ग) प्रत्येक सम्भावित समस्या र परिस्थितिलाई समेट्ने गहिराइका छन्। परमेश्वरको वचनलाई तल झार्ने क्रममा तिनीहरू जानी-नजानी सत्यत्यागीहरूको दर्जासँग मिल्न गएका छन्। आफ्नै माण्डलिक रीतिरीवाज र अगुवाहरू आधिकारीक छन् भन्ने ठानेर रोमन क्याथोलिक मण्डलीले बाइबलमा थपथाप गरेका छन्। उदारवादी शास्त्रीहरू (liberal theologians) ले आफ्नै धारणालाई र वर्तमान विज्ञानलाई पवित्र शास्त्रहरूको बराबरीमा राखेका छन्। सत्यत्यागको बाटोमा लागेका तर भक्तिको भेष धारण गर्ने (‍pietist) लहरहरूले उनीहरूको आफ्नै “आन्तरिक ज्योति” लाई पवित्र शास्त्रहरूको तहमा राखेका छन् — र अति अग्रसर रूपमा अनगिन्ती क्यारिस्म्याटिक शिक्षकहरूले ठीक यही गर्ने गर्दछन् (Peter Masters and John C. Whitcomb, The Charismatic Phenomenon, London: The Wakeman Trust, 1982. pp 42-43)।

यस विषयमा स्पर्जनको विचार बुझ्न हामीले उहाँको लेखहरू प्रशस्त पढिसक्यौं, र राइलीले उनलाई भविष्यवाणीयुक्त सपनादर्षीहरूको दर्जामा हाल्नु भनेको भयङ्कर भद्रगोल कुरा गर्नु हो। सपर्जनले कहिल्यै यस्तो गलत सल्लाह दिने थिएनन् जस्तो राइलीले दिन्छन् — “यदि तपाईं परमेश्वरले सपनाहरू र दर्शनहरूद्वारा बोल्नुहुन्छ भनेर विश्वास गर्नुहुन्छ भने र उहाँ तपाईंसँग बोलेको इच्छा गर्नुहुन्छ भने — त्यसो गर्नलाई उहाँलाई माग्नुहोस्!” (Ryle, A Dream Come True, p 200).

आधुनिक क्यारिस्म्याटिकको कथित “चिन्ह र चमत्कार” को लहर प्रेरित २:१७-२१ को पूराहुवाइ होइन।

यो पृष्ठ पनि पढ्नुहोस्: के हामीलाई थप प्रकाश (सपना, दर्शन आदि) को जरूरत छ?

पेन्टेकोस्टलवादका ३५ ओटा सैद्धान्तिक सवालहरू

Study Series

परिचय

“सबै कुरालाई जाँच, जुन कुरा असल छ त्यसलाई बलियो गरी समातिराख।” (१ थेस्सलोनिकी ५:२१)

प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने व्यक्तिले सबै कुराहरूको जाँच गर्नुपर्दछ। उसले आधुनिक क्यारिज्म्याटिक अभियान (Modern Charismatic Movement) को पनि जाँच गर्नुपर्दछ। हाम्रो एक मात्र अचूक र निर्णायक मापदण्ड परमेश्वरको वचन हो। परमेश्वरको त्रुटिरहित वचनको तराजुमा जोख्दा क्यारिज्म्याटिक अभियानको वास्तविक तौल पत्ता लाग्छ। हाम्रो जाँच गर्ने विधि शिक्षाको आधारमा हुनेछ। यहाँ ३५ ओटा शिक्षागत प्रसङ्गहरूमा चर्चा गरिनेछ। हाम्रो चाबी प्रश्‍न यो हुनेछ, “पवित्र शास्त्रले के भन्दछ?” (रोमी ४:३)। क्यारिज्म्याटिक अभियानको शिक्षा परमेश्वरको वचनभन्दा भिन्न छ कि छैन भनेर थाह पाउन तुलनात्मक अध्ययन गरिनेछ। कुनै पनि शिक्षा परमेश्वरको वचनसित मेल खाँदैन भने अथवा त्यसले परमेश्वरको स्पष्ट शिक्षालाई खण्डन गर्दछ भने त्यस शिक्षालाई गलत र झूटा भनेर नामाकरण गरिनुपर्दछ।

हाम्रा निष्कर्षहरू वस्तुगत सत्यता (objective truth) मा आधारित हुनुपर्दछ अर्थात् परमेश्वरको वचनका स्पष्ट तथ्यहरूमा। हाम्रा निष्कर्षहरू आत्मगत भावनाहरू (subjective feelings) मा आधारित हुनेछैनन् र हुनुहुँदैन पनि – “मलाई एउटा यस्तो अनुभव भयो त्यसैले यो साँचो हुनुपर्दछ” भन्ने तर्क आत्मगत हो, वस्तुगत होइन। “अन्य भाषाहरूको दान वर्तमान समयमा पनि दिइँदछ किनकि मैले अन्य भाषामा बोलेको छु”, “अन्य भाषामा बोल्नु ठीक रहेछ किनभने मैले चिन्ने फलानोले समेत अन्य भाषामा बोल्नुहुन्छ” — यी आत्मगत तर्कहरू हुन्। “आज पनि प्रेरितहरूको समयमा जस्तै चङ्गाइ गर्ने विशेष वरदान दिइँदो रहेछ किनकि मेरा एक घनिष्ट मित्रले एउटा त्यस्तो व्यक्तिद्वारा चङ्गाइ पाए”, आदि आत्मगत तर्क हुन्। यस अध्ययनमा हाम्रा निष्कर्षहरू आत्मगत अनुभवहरूमा आधारित नभई परमेश्वरको वस्तुगत सत्यतामा आधारित हुनेछन् — “म यो जान्दछु किनकि परमेश्वरले सो भन्नुभएको छ। मेरा व्यक्तिगत अनुभवहरू जस्तासुकै होऊन्, म सब कुरालाई परमेश्वरको वचनले जाँच गर्नेछु। अनि यदि मेरो अनुभव वा मेरा भावनाहरूलाई परमेश्वरको वचनले खण्डन गर्दछ भने म आफ्ना लगायत अरूहरूका अनुभव वा भावनाहरूसित नभएर परमेश्वरको वचनसितै सहमत हुनेछु।”

हामी मार्टिन लुथरको निम्न भनाइसित पूरै सहमत छौं —

“भावनाहरू आउँछन्, भावनाहरू जान्छन्, अनि भावनाहरू भ्रमात्मक हुन्छन्। मेरो अधिकार पत्र परमेश्वरको वचन हो, अन्य कुनै कुरा विश्वास गरिन लायक छैन। कुनै न्यानो अनुभूतिको अभावमा मेरो हृदय दोषी भावनाले कायल होला अरे तरैपनि त्यहाँ एकजना हुनुहुन्छ जो मेरो हृदयभन्दा महान् हुनुहुन्छ जसको वचन भङ्ग हुन सक्दैन। प्राण र शरीर अलग नहोउञ्जेल म परमेश्वरकै अपरिवर्तनीय वचनमाथि भरोसा राख्‍नेछु। किनभने ती टलेर गए तापनि उहाँको वचन सदासर्वदा खडा रहनेछ।”

यसका सकारात्मक पक्षहरू

निष्पक्षतामा हामीले आधुनिक क्यारिज्म्याटिक अभियानका कतिपय सकारात्मक पक्षहरूलाई स्वीकार्नुपर्छ। यद्यपि हाम्रो अध्ययनमा यस अभियानका थुप्रै गलत शिक्षाहरूलाई प्रस्टै देखाउन चाहन्छौं तरैपनि हामी यसका सकारात्मक पक्षहरूप्रति अन्धा बन्न चाहन्नौं। यद्यपि समग्रमा हामी क्यारिज्म्याटिक अभियानलाई स्वीकार गर्दैनौं र क्यारिज्म्याटिक व्यक्तिहरूसँग उनीहरूको गलत शिक्षा र अनुभव-केन्द्रित सिद्धान्तमा लाग्न सक्दैनौं, तरैपनि हामी उनीहरूबाट सिक्न सक्छौं र कतिपय प्रशंसनीय कुराहरूलाई स्वीकार गर्न सक्छौं।

उनीहरूमध्ये कतिजनासँग परमेश्वरका कुराहरूका निम्ति एक प्रकारको उत्साह भएको पाइन्छ। उनीहरू खुल्लमखुल्ला वा व्यक्तिगतरूपमा प्रभुको प्रशंसा गर्न प्रायः धक मान्दैनन्। उनीहरू ख्रीष्टियन या अख्रीष्टियनहरूको बीचमा प्रभुको बारेमा बोल्न लाज मान्दैनन्।

आत्मिक कुराहरूको विषयमा उनीहरू प्रायः उत्तेजित हुन्छन्। आफूले जे पाएका छन् ती विषयमा अरूलाई बताउन उनीहरू प्रायः उत्साहित हुन्छन् — “मित्र, मैले जे पाएको छु सो कुरा तपाईंले पनि पाउनुभएको म चाहन्छु।”

उनीहरूसित एक प्रकारको आत्मिक गतिशीलता छ जुनचाहिँ, खेदको कुरा, कतिपय बाइबल विश्वासीहरूमा घटी भएको पाइन्छ। उनीहरू फुर्तिला, उत्साहित, उत्तेजित, भावुक र स्पन्दनशील हुन्छन्। उनीहरूमा प्रायः प्रभुको सेवा गर्नलाई जोश हुन्छ यद्यपि त्यो जोश ज्ञान अनुसार नभएको पाइन्छ। के बाइबलीय विश्वासीहरू परमेश्वरका कुराहरूका निम्ति उत्तेजित र उत्साहित हुनुपर्ने होइन र? प्रायःजसो हामी शुरूमा यस्तै थियौं जब हामीले ख्रीष्टलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तदाता भनी चिन्यौं, तर समय बित्दै जाँदा जोश घट्दै जाने हाम्रो एउटा स्वभाव छ। हाम्रो पहिलो प्रेम छोड्न सजिलो छ। ज्ञानमा बढ्दै जाने क्रममा ख्रीष्टको निम्ति हाम्रो जोश नहराउन अनि उहाँलाई चिनाउनलाई उत्साह नहराउन हामी सतर्क होऔं।

प्रायश: क्यारिज्म्याटिक व्यक्तिहरूले एक किसिमको आनन्द र उमङ्ग प्रदर्शन गर्दछन्। उनीहरू आफ्ना क्रियाकलापहरू रमाहटका साथ गरिरहेका देखिन्छन्। उनीहरूको धर्म एउटा मरेको रीति नभई त्यो उनीहरूका लागि अति व्यक्तिगत र वास्तविक भएको देखिन्छ। उनीहरू जे गर्छन् ती उनीहरूका लागि अर्थपूर्ण भएका हुनाले र उनीहरू तिनमा आनन्दित भएका हुनाले गर्ने गर्छन्।

उनीहरूमध्ये कतिपयले एक अर्काका निम्ति एक प्रकारको न्यानोपना र वास्ता देखाउँछन्। उनीहरू मिलनसार र फरासिलो हुन्छन् अनि साधारणतया: अरूसित प्रभुको विषयमा र उहाँले उनीहरूका निम्ति के गरिदिनुभयो भन्ने बारेमा बताउन डराउँदैनन्।

उनीहरूका निम्ति बाइबल र प्रार्थना महत्त्वपूर्ण हुन्छन्। उनीहरू आफ्ना स-साना प्रार्थना झुण्डहरूमा र बाइबल अध्ययन समयहरूमा सँगै भेला हुन रूचाउँछन्। सङ्गती, प्रार्थना, स्तुति-प्रशंसा र भजनहरूमा सहभागी हुन मन पराउँछन्। मूल समस्या यही हो कि उनीहरूले बाइबलको अर्थ लगाउने काममा आफ्नो आत्मगत र व्यक्तिगत अनुभवलाई नै आधार बनाउने गर्दछन्। तर पवित्र शास्त्र प्रतिको उनीहरूको अभिरूचि र मुक्तिदातासँग व्यक्तिगत र वास्तविक सम्बन्ध राख्‍न चाहने उनीहरूको इच्छाको भने हामी तारिफ गर्छौं।

हामीले क्यारिज्म्याटिक व्यक्तिहरूबाट सिक्न सक्छौं। यस अभियानलाई परमेश्वरको वचनले जाँच्ने क्रममा यस अभियानमा भएका तारिफ गर्न लायक र उदाहरणीय कुराहरूलाई स्वीकार्नुपर्छ। यस अभियानका सकारात्मक पक्षहरूबाट हामीले सिक्न सक्छौं। शिक्षागत पक्षमा सठीक हुन परमेश्वरले हामीलाई मदत गर्नुभएको होस्। तर शिक्षागत पक्षमा ठीक (orthodox) भएर पनि शिक्षालाई जीवनमा रूपान्तर गराउने मुक्तिदातासँगको वास्तविक र सठीक सम्बन्धमा कमी (dead orthodoxy) भने नहोस्। हामी आफूमा जीवनरहित शिक्षा भएको चाहँदैनौं साथै शिक्षारहित जीवन भएको पनि चाहन्नौं। साँचो शिक्षा सधैं “भक्तिअनुसारको” हुन्छ, अर्थात् त्यसमा परमेश्वरको भय अनुरूपको चालचलन हुँदछ (१ तिमोथी ६:३)।

 

पेन्टिकोस्टल पथको संक्षिप्‍त इतिहास

Study Series

पेन्टिकोस्टल पथको संक्षिप्‍त इतिहास

जर्ज जेलर

तीनओटा छालहरू

दोस्रो शताब्दीदेखि उन्नाइसौं शताब्दीसम्म भक्तिपूर्वक जिउने शास्त्रसम्मत विश्वासीहरूले अन्यभाषाहरूमा बोलेका भनिने कुनै ऐतिहासिक प्रमाण छैन। ती शताब्दीहरूमा अन्यभाषाहरूमा बोलेका भनिने घटनाहरू त छन्, तर प्रत्येक स्थितिमा अन्यभाषाहरूमा बोल्ने व्यक्तिहरू चाहिँ झूटा-शिक्षा समूहहरूमा आबद्ध रहेको पाइन्छ। यस लेखको बुँदा #१५ मा पढ्नुहोस्। दोस्रो शताब्दीका मन्टानसदेखि लिएर उन्नाइसौं शताब्दीका एडवर्ड इर्भिङ्गसम्म मण्डलीभित्रका “अन्यभाषाहरू” का घटनाहरूलाई कहिल्यै सकली इसाईमतको अंशको रूपमा स्वीकार गरिएको पाइँदैन। साथै हामीले यो पनि ध्यानमा राख्‍नुपर्छ, यी “झूटा-शिक्षा समूह” का हरूले एक किसिमको विकृत उत्तेजनाबाट उत्प्रेरित अर्थहीन बकबक बोलिरहेका थिए, प्रेरित अध्याय २ को जस्तो वास्तविक भाषाहरूमा होइन।

छाल #१ – पुरानो पेन्टेकोस्टल पथ

१९०१ मा संयुक्त राज्य अमेरिकाको टोपीका, क्यान्जास्‌स्थित बेथेल बाइबल कलेजमा आग्नेस अजमान (Agnes Ozman) ले, उनको शब्दमा, “आत्माको बप्‍तिस्मा” पाए र “अन्य भाषाहरू” मा बोले। त्यसपश्चात् उक्त अभ्यास संयुक्त राज्य अमेरिकामा होलीनेस् अभियान (Holiness movement) को अंशको रूपमा अघि बढ्यो। १९०६ मा लस एन्जलस क्यालिफोर्नियास्थित अजुसा स्ट्रीटमा अन्य भाषाहरू बोलिए। १९०१ र १९०६ का यी दुई घटनाहरूबाट नै पेन्टेकोस्टल सम्प्रदायहरूको उदय भयो जोहरू आज संसारमै छन् (असेम्बलिज् अफ गड अर्थात् एजी चर्चहरू आदि)।

छाल #२ – नव-पेन्टेकोस्टल पथ वा क्यारिज्म्याटिक जागृति

यसलाई कहिलेकाहीँ नव-क्यारिज्म्याटिक अभियान पनि भन्ने गरिन्छ। यसले केही वरदानहरूलाई, विशेषतः अन्यभाषाहरूलाई, विशेष जोड दिएकोले यो अभियान एकातिर पुरानो क्यारिज्म्याटिक, पेन्टेकोस्टल अभियान जस्तै नै थियो भने अर्कोतिर यसले साम्प्रदायिक सीमानाहरू र बाधकहरूलाई पार गर्न सक्नु यस अभियानको नयाँ पक्ष थियो।

१९६० मा क्यालिफोर्नियास्थित भ्यान नाइज (Van Nuys) मा एउटा डेनिस् बेनेट (Dennis Bennett) रेक्टर रहेका सेन्ट मार्क्स् नामक एउटा एपिस्कोपल चर्चमा आधुनिक क्यारिज्म्याटिक अभियानको उदय भयो। उक्त मण्डलीमा अन्यभाषाहरूको बोलीको ठूलो प्रस्फुटन भएको थियो। उक्त घटना यति महत्त्वको ठानियो कि दुवै टाइम र न्यूजविक पत्रिकाले यसबारे लेखे। त्यसपछि यो अभियान एपिस्कोपल चर्च र त्यसपछि लुथरनहरू र प्रेस्बिटेरियनहरू समेतका बीच आगो झैं सल्कियो।

चाँडै नै यो अभियानले विश्वविद्यालयहरूमा प्रवेश गर्‍यो। यसको शुरुआत संयुक्त राज्य अमेरिकाकै न्यू इङ्ल्याण्डमा भयो। १९६२ सालको अक्टोबर महिनामा येल यूनिभर्सीटी (Yale University) का इभान्जेलिक इन्टरभार्सीटी क्रिश्चियन फेलोशीपका सदस्यहरूका बीचमा ग्लोसोलालिया (अन्य भाषाहरू) को प्रस्फुटन `भयो। यस नव-पेन्टेकोस्टल जागृतिमा एपिस्कोपेलियनहरू, लुथरनहरू, प्रेस्बिटेरियनहरू, मेथोडिस्टहरू र एकजना रोमन क्याथोलिक समेत थिए। पाँचजना चाहिँ फाइ-बेटा-काप्पा (Phi Beta Kappa) का सदस्यहरू थिए र कोही चाहिँ क्याम्पसमा धार्मिक अगुवा थिए (चाँडै नै उनीहरूलाई “ग्लोसो येलिज्” भनेर जनाउन थालियो)। त्यसपछि यो अभियान डार्टम्यूथ कलेज (Dartmouth College) , स्टानफोर्ड यूनिभर्सीटी (Stanford University) र प्रिन्स्टन थिओलजिकल सेमिनरी (Princeton Theological Seminary) मा फैलियो।

यीभन्दा पनि बढी महत्त्वको घटना चाहिँ १९६७ मा घट्यो। सबै मार्गहरूले रोम नै पुर्‍याउँछन् (All roads lead to Rome) भन्ने भनाइ नै छ। ईस्टर विदाको अवसरमा, १९६७ सालको बसन्त ऋतुको याममा नोट्रे डेम (Notre Dame) इलाकामा करिब ३० जना जोशिला क्याथोलिकहरूले “पवित्र आत्माको बप्‍तिस्मा” पाएका थिए। १९६८ मा १००-१५० जना व्यक्तिहरू क्याथोलिक पेन्टेकोस्टल सम्मेलनमा भेला भए। १९६९ को सम्मेलनमा २५-३० जना पूजाहारीहरू सहित लगभग ४५० जना क्याथोलिक क्यारिज्म्याटिकहरू भेला भए। १९७० मा देखिएको वृद्धि झनै उल्लेख्य थियो। झण्डै १,३०० जना उक्त सम्मेलनमा भेला भए जसमा क्यानडाका क्याथोलिकहरू पनि थिए। १९७३ मा नोट्रे डेममा १० ओटा देशका क्याथोलिक सहभागीहरू सहित २२,००० क्याथोलिक क्यारिज्म्याटिकहरू भेला भए। १९७४ मा उक्त नोट्रे डेम सम्मेलनमा ३०,००० जनाको सहभागिता रहेको थियो। अन्तमा १९७५ मा रोममा आयोजित अन्तराष्ट्रिय सम्मेलनमा ५० ओटा देशका यात्रुहरू आए जहाँ पोप पावल छैठौं (Pope Paul VI) ले यस अभियानप्रति आफ्नो हार्दिक समर्थन रहेको जनाएँ। उक्त अभियान कवेल रोमन क्याथोलिक चर्चमा मात्र नभएर सबै प्रोटेस्टेन्ट सम्प्रदायहरूमा बेसरी वृद्धि भइरहेको थियो।

१९७७ को ग्रीष्म याममा क्यान्जास् सीटी क्यारिज्म्याटिक सम्मेलन सम्पन्न भएको थियो। यसमा पेन्टेकोस्टल अभियानका तीनैओटा उपशाखाहरूको उपस्थिति थियो: १) पुरानो पेन्टेकोस्टलहरू, २) प्रोटेस्टेन्ट क्यारिज्म्याटिकहरू, र ३) क्याथोलिक क्यारिज्म्याटिकहरू। आधुनिक इतिहासमा धेरैभन्दा धेरै “आत्मामा बप्‍तिस्मा” भएकाहरूको सबैभन्दा ठूलो सम्मेलन यही नै थियो। उक्त ५-दिने सम्मेलनमा झण्डै ५०,००० सहभागीहरू थिए। एक वक्ताले गर्वका साथ उक्त सम्मेलनलाई अमेरिकी इसाईमतको इतिहासको सबैभन्दा ठूलो र धेरैभन्दा धेरैलाई समेट्न सकेको सम्मेलन (most inclusive ecumenical conference) भएको भनेर घोषणा गरे। सहभागीहरूमा झण्डै आधा जति त रोमन क्याथोलिकहरू नै थिए।

१९७७ मा प्रकाशित एउटा पत्रिका (एपी) को लेखअनुसार त्यसबेला अमेरिकामा ५० लाख पुरानो पेन्टेकोस्टलहरू र ५० लाख नयाँ पेन्टेकोस्टलहरू गरेर जम्मा १ करोड क्यारिज्म्याटिकहरू थिए। तसर्थ यो नयाँ क्यारिज्म्याटिक अभियानको १७ वर्ष (१९६० देखि १९७७) भित्र नै ५० लाखको सङ्ख्यात्मक वृद्धि भयो! आज पनि यो अभियान एकदम जिउँदो र बढ्दो छ यद्यपि १९६० को दशक र १९७० को दशकको शुरुको जत्तिकै वृद्धिदर नहोला। जनवरी ७, १९८३ को क्रिश्चियानिटी टुडे अनुसार असेम्बली अफ गड (पेन्टेकोस्टल) सम्प्रदाय अमेरिकाको सबैभन्दा छिटो वृद्धि भइरहेको सम्प्रदाय हो। त्यसबेला असेम्बली अफ गडमा आबद्धहरूको सङ्ख्या १६ लाख थियो र छिटोछिटो वृद्धि हुँदै थियो।

नयाँ क्यारिज्म्याटिकहरू चरित्रमा अलगपनतावादीहरू नभएर सुधारवादीहरू हुन्। उनीहरू पुराना संरचनाहरूबाट अलग हुने इच्छा गर्दैनन्। बरु पुरानै मण्डलीहरूमा रहिरहेर आफ्नो निरन्तर उपस्थितिद्वारा ती मण्डलीहरूलाई भित्रबाट परिवर्तन गर्नका लागि उनीहरूलाई निर्देशन दिइन्छ। क्यारिज्म्याटिक जागरण (Charismatic Renewal) यसैलाई भनिन्छ।

छाल #३ चिन्ह चमत्कार अभियान

“तेस्रो छाल” (third wave) भन्ने वाक्यांशको प्रथम प्रयोग सी. पीटर वाग्नर (C. Peter Wagner) द्वारा १९८३ मा भएको हो:

ऐतिहासिक रूपमा हामी अब तेस्रो छालमा छौं भन्ने मलाई लाग्छ। पवित्र आत्माको कार्यगतिको पहिलो छाल पेन्टेकोस्टल अभियानको रूपमा यस शताब्दीको शुरुतिर प्रारम्भ भयो। दोस्रो छालचाहिँ १९५० को दशकमा ठूला सम्प्रदायहरूमा शुरु हुन गएको क्यारिज्म्याटिक अभियान थियो। १९८० को दशकमा म तेस्रो छाल देख्छु जसमा पेन्टेकोस्टलहरू र क्यारिज्म्याटिकहरूले अनुभव गरेको पवित्र आत्माको अलौकिक कार्यप्रति इभान्जेलिकलहरू तथा अन्य ख्रीष्टियनहरू पनि खुल्ला हुन थाले। झण्डै यो पूरै शताब्दीभरि देखिँदै आएको कुनै एउटा कुराको नयाँ छालमा हामी छौं भन्ने मलाई लाग्छ। [Peter Wagner, “The Third Wave?” Pastoral Renewal, July-August 1983, pages 1-5.]

यस अभियानलाई चिन्ह-चमत्कार अभियान (Signs and Wonders Movement) र भिन्यार्ड अभियान (Vineyard Movement) भनिन्छ। यो द्रुतगतिले वृद्धि हुँदै गरेको अभियान हो जसले दुवै क्यारिज्म्याटिक तथा गैर‍-क्यारिज्म्याटिक मण्डलीकाहरूलाई खिँच्दै छ। यस अभियानले “शक्ति प्रचार” (“power evangelism”) लाई जोड दिन्छ जसमा सुसमाचारलाई अलौकिक चिन्ह र चमत्कारद्वारा व्याख्या र प्रकट गरिन्छ।

यस अभियानका अग्रजहरू मुख्य तीनजना छन्: १) जन विम्बर (John Wimber), सम्भवत: यस अभियानका सबभन्दा केन्द्रीय व्यक्तित्व हुन्। उनी भिन्यार्ड अर्थात् दाखबारी मण्डली अभियान (Vineyard church movement) का संस्थापक हुन् र उनले सी. पिटर वाग्नरसँगै फुलर सेमिनरी (Fuller Seminary) मा अध्यापन गराए। अध्यापनको शीर्षक थियो “चिन्ह, चमत्कार र मण्डली वृद्धि”। २) सी. पिटर वाग्नर फुलर सेमिनरी स्कूल अफ वर्लड मिसन्स्‌का एक प्राध्यापक थिए जहाँ जन विम्बरसँगै उनले अध्यापन गराए। ३) पावल कयिन (Paul Cain) एक प्रभावकारी आधुनिक अगमवक्ता हुन् जो विलियम ब्रानहाम (William Branham) का चेला हुन् जसलाई कयिनले “हाम्रो युगकै सबैभन्दा ठूला चङ्गाइकर्ता” र “सारा युगहरूमा सबभन्दा ठूला अगमवक्ता” भन्ने नाम दिए। ब्रानहाम भने परमेश्वरत्व र त्रिएकता सम्बन्धी गलत दृष्टिकोण राख्‍ने एक झूटा अगमवक्ता थिए।

चिन्ह-चमत्कार अभियानभित्र अन्य भाषा बोलिएको भेटिन्छ तर अन्य भाषाकै वरदानलाई पेन्टेकोस्टल र क्यारिज्म्याटिक अभियानमा जत्तिकै जोड दिइएको पाइँदैन। चिन्ह चमत्कार अभियान (Vineyard movement) ले वर्तमान समयका अगमवक्ताहरूको महत्त्वमाथि जोड दिँदै अगमवाणीको वरदान चङ्गाइको वरदानलाई जोड दिने गर्छ।

“पवित्र हाँसो” अभियान (Holy Laughter Movement)

[टिप्पणी: निम्न खण्ड Media Spotlight, P.O. Box 290, Redmond, WA 98073 द्वारा प्रकाशित आल्बर्ट जेम्स डेगर (Albert James Dager) द्वारा लिखित “पवित्र हाँसो” बाट उद्दरण गरिएको हो।]

थुप्रै मण्डलीहरूले आ-आफ्ना सभाहरूमा कुनै गम्भीर विधि पालन गरिँने क्रममा वा पुलपिटबाट प्रचार भइरहँदा समेत स्वतःस्फूर्त र अनियन्त्रित हाँसोहरूको प्रस्फुटन हुन गइरहेको कुराको खबर पठाउँदै छन्। कतिपयले ती सभाहरूमा अनियन्त्रित रूपले रुने, हर्षोन्मादले बेहोश भई भुइँमा लड्ने, र कुकुरका भुकाइ वा सिंहका गर्जन जस्ता पशुका आवाजहरू निकाल्ने गरेको खबर पठाउँदै छन्। कोहीचाहिँ मात लागेको जँड्याहाजस्तै सीधा हिँड्नै नसक्ने पाराले यता र उता हुत्तिन्छन्। छोटकरीमा, यी सबलाई “पवित्र हाँसो” भन्न थालिएको छ, किनकि हाँसो नै यसको सर्वप्रमुख चरित्रको रूपमा देखिएको छ।

प्रभु येशू वा प्रेरितहरूमध्ये कसैले पनि कुकुरजस्तै भुक्दै वा सिंहजस्तै गर्जँदै वा जँड्याहाजस्तै हुत्तिँदै वा अनियन्त्रित रूपमा हाँस्दै गरेको अनुमान समेत गर्न सकिन्न।

“पवित्र हाँसो” को एउटा खूब चर्चित विस्फोटन १९९४ मा टोरोन्टोमा भएको थियो। “उपासकहरू हाँस्छन्, रून्छन्, आर्तनादको आवाज निकाल्छन्, काँप्छन्, भुइँमा लड्छन्, र, कतिलाई वितृष्णा उत्पन्न गराउँदै, एक प्रकारको कोलाहल मच्चाउने कार्य समेत गर्दै छन् जसको आवाजचाहिँ जङ्गलको र पशुपालन केन्द्रको आवाजको मिसावट जस्तै सुनिन्छ। [Daina Doucet, “What is God doing in Toronto?” Charisma, February, 1995, page 20]

यस “पवित्र हाँसो” अभियानका एक अग्रज हुन् रड्नी मोर्गन हावर्ड-ब्राउन (Rodney Morgan Howard-Browne) …दक्षिण अफ्रिकाका एक हट्टाकट्टा, ६ फुट अग्ला क्यारिज्म्याटिक प्रचारक। १९७९ मा, १८ वर्षको उमेरमा, अझ गहिरो आत्मिक अनुभवको खोजीमा घण्टौंसम्म प्रार्थना गर्ने क्रममा, उनले परमेश्वरलाई चुनौती दिए: “कि त तपाईं यहाँ तल ओर्लेर मलाई छुनुहोस्, नत्र म त्यहाँ माथि उक्लेर तपाईंलाई छुनेछु।” एक्कासी, उनको सम्पूर्ण शरीरै आगो बलिरहे जस्तो उनलाई अनुभूति भयो। अनियन्त्रित भई उनी हाँस्न थाले। त्यसपछि उनी रोए अनि अन्य भाषाहरूमा बोल्न थाले। “म स्वर्गकै विद्युत स्रोतमा जोडिन पुगें”, उनले पछिबाट लेखे। “अनि त्यस दिन देखि अरूहरूलाई पनि त्यसैमा जोडिदिने मेलाई इच्छा लागेको छ।” [Julia Duin, “Praise the Lord and pass the New Wine,” Charisma, August, 1994, p.22]

“पवित्र हाँसो” को पछाडि रहेको धारणा यो हो: मण्डलीमा बस्दा किन निराश र दुःखी हुने, किन टाउको दुखाउने? बरु अलिकति रमाइलो किन नगर्ने? मरेका, जीवनरहित, उराठ लाग्दो मण्डलीहरूप्रतिको प्रतिक्रिया हो यो अभियान। मण्डली सभाको पछाडितिर बसिरहेको एकजनाको हृदयघात हुँदाको एउटा हास्यव्यङ्ग सुन्नमा आएको छ। इमर्जेन्सी चिकित्सकहरू दृश्यमा आइपुग्दाखेरि उक्त व्यक्ति बसेका बेन्चमा सबै नै सुतिरहेको अवस्थामा भेटिएकाले चिकित्सकहरूले हृदयघात हुने र अरू निदाइरहेकाहरूको बीचमा भिन्नता नै छुट्ट्याउन सकेनन् अरे। यदि सुतिरहनुको सट्टामा हाँसिरहेका भए बरु ती चिकित्सकहरूलाई मदत मिल्थ्यो अरे।

“पवित्र हाँसो” हुने सभाको एउटा उदाहरण: शुरुमा श्रोतागणका बीचबाट यहाँ-त्यहाँ लाटोकोसेरो कराएजस्तै एकदुइटा आवाज र हाँसोहरू निस्कन्छन्, तर त्यसबेला सम्म वातावरण तुलनात्मक रूपमा शान्त नै हुन्छ। केही समयको शिक्षणपछि, हावर्ड-ब्राउन एक पास्टरलाई अगाडि बोलाउँछन् जो गत रात मात्र आफू मानसिक हस्पिटलमा भर्ना हुन तयार भएको भन्ने कुरा गरेका थिए। यस रात उनलाई पवित्र आत्माको दोब्बर डोस (मात्रा) को प्रतिज्ञा गर्दै हावर्ड-ब्राउन आफ्ना हातहरू उक्त व्यक्तिमाथि राख्छन् अनि तुरुन्तै त्यस व्यक्ति भुइँमा लड्छन्।

त्यसपछि हावर्ड-ब्राउन आफ्नो एउटा खुट्टालाई त्यस व्यक्तिको पेटमाथि राख्छन् र उनी अब सदाका लागि बदली भएर जानेछन् भनी घोषणा गर्छन्। त्यहाँ कसैले सोध्छन्, “किन तपाईंले उसमाथि आफ्नो खुट्टा राख्‍नुभएको?” “उसमाथि हात राख्‍न मलाई निउरन मन नलागेकोले।” श्रोतागणबाट हाँसोको विस्फोटन हुन्छ र यस घडीपश्चात् सब कुराले गति लिन थाल्छ। त्यस व्यक्तिमाथि निउरेर उनी भन्छन्, “अघि बढ; तिम्रो भुँडीको फोका निस्कन देऊ।” ती व्यक्ति अलिक बेसी हाँस्छन्। “अझ!” उनी झन् बेसरी हाँस्छन्। “अझ!” उनी अझ बेसरी हाँस्न प्रयास गर्छन्। “अझ!” उनी जबरदस्ती हास्न थाल्छन् जसको आवाज क्वाँक क्वाँक जस्तो हाँसो सुनिन्छ। “अझ!” ती व्यक्तिले आफ्ना खुट्टाहरूलाई झ्वाट्ट माथि लग्छन् र साइकल चलाएजस्तै चलाउँदै हाँस्छन्, “हू! हू! हु!” हावर्ड-ब्राउन बताउँछन्, “यसलाई भनिन्छ पवित्र आत्माको कसरत।”

यस्तै खाले कुरा अरू व्यक्तिहरूलाई पनि त्यहाँ भइरहेको हुन्छ। उदाहरणका लागि, हावर्ड-ब्राउन एकजनालाई उसको खुट्टामा लात हान्दै भन्छन्, “तिम्रो भुँडीभित्रको आनन्द बाहिर फुटेर आउन दिनुपर्छ! प्रार्थना गर्न छोड, आनन्दलाई फुटेर निस्कन देऊ”, आदि।

हावर्ड-ब्राउन प्रेरित २ मा पत्रुसलाई उद्दरण गर्छन्: “तपाईंहरूले सोच्नुभएझैं यिनीहरू मातेका होइनन्…” अगाडिको बेन्चका एक महिलामाथि उनले आफ्नो हात राख्‍छन् फलस्वरुप उनी छारे रोगीले जस्तै हातहरू हल्लाउँदै पटक पटक चिल्लाउँछिन्। यिनीचाहिँ एउटा पास्टरका पत्‍नी हुन् भन्ने उनले बताउँछन्।

उनले फेरि दोहोर्‍याउँछन्, “तपाईंहरूले सोच्नुभएझैं यिनीहरू मातेका होइनन्…”, र त्यसपछि शुरु हुन्छ जँड्याहाको प्रदर्शनी: बेन्चमा बसिरहेकै बेला एकजना व्यक्तिले आफ्नो टाउको झ्वाट्ट पछिल्तिर लग्छन् र एउटा खुट्टाले हावामा लात हान्दै बेसरी हाँस्छन्। एक्कासि उनी आफ्नो आसनबाट फुत्त निस्कन्छन् र रेलगाडी जस्तै गरी साँघुरो घेरामा घुम्न थाल्छन्। त्यसपछि उनी हावर्ड-ब्राउनतिर फर्कन्छन्, एउटा खुट्टाले अघिल्तिर लात हान्छन् र प्ल्यात्त भुइँमा लड्छन्। अर्कोचाहिँ आफ्नो आसनबाट फुत्त निस्कन्छन्, उही रेलगाडीकै तमाशा देखाउँछन्, जथाभावी हात चलाउँछन् र भुइँमा पछारिन्छन्। एकछिनपछि पहिलो व्यक्ति उठ्छन् र आफ्नो अनुहारमा जँड्याहाको मुस्कान देखाउँदै मात लागेको जस्तै गरी यताउता हिँड्न थाल्छन्, हावर्ड-ब्राउनलाई सलाम ठोक्छन् र ढ्याप्प गर्दै आफ्नो आसनमा बस्न पुग्छन्। यो सब बनावटी भएको प्रस्टै देखिन्थ्यो तर हावर्ड-ब्राउन र दर्शकहरूले यसमा बेसरी मज्जा लिन्छन्।

बाँकी साँझभरि क्रियाकलापहरू यस्तै प्रकारले अघि बढ्छन्। हावर्ड-ब्राउन आफूलाई क्यारिज्म्याटिक जोशको “नयाँ मद्य” बाँड्ने “होली गोस्ट बार्टेन्डर” (पवित्र आत्मा पिलाउने भट्टी-मालिक) भनी जनाउन रूचाउँछन्। भौतिक किसिमले मात लाग्न सकिन्छ भने आत्मिक किसिमले पनि मात लाग्न सकिन्छ भन्ने उनी सिकाउँछन्। मानिसहरूलाई आत्मिक मात लगाउनु नै आफ्नो जीवनको उद्देश्य भएको उनले बताउँछन्।

एकपटक हावर्ड-ब्राउनले भने: “एक रात म नरकको प्रचार गर्दैथिएँ, र हाँसै-हाँसोले पूरै ठाउँ भरियो। नरक कस्तो ठाउँ हो भनेर मैले जति बताएँ त्यति बेसी उनीहरू हाँसे।” [Reported in the Calvary Contender, c/o Calvary Baptist Church, 1800 Sparkman Dr., Huntsville, Al 35816] मुक्ति पाएको प्रत्येक व्यक्तिले नरक कुनै हिसाबले पनि हाँस्ने विषय होइन भन्ने त जानेको हुनुपर्छ।

यी सभाहरूमा परमेश्वरको वचनबाट साँचो शिक्षा कमै सिकाइन्छ। अनि सिकाउने काम भयो भने पनि त्यसलाई हाँसोहरूले बीचमै काटिदिन्छ। एकजना क्यारिज्म्याटिक लेखकले भने, “श्रोतागणको ठूलो जमात नै कम्प छुट्ने गरी हाँस्ने कामले पुलपिलबाट भनिएको जुनसुकै कुरालाई पनि असान्दर्भिक तुल्याइदिन्छ भन्ने कुरा कसैले शङ्का गर्दैन।” [Reported in Calvary Contender, c/o Calvary Baptist Church, 1800 Sparkman Dr., Huntsville, Al 35816] आफ्नै स्थानिय मण्डलीको विचार गर्नुहोस्। परमेश्वरको वचन प्रचार हुने क्रममा पाँच-पाँच मीनेटमा मानिसहरू नियन्त्रणबिना र चर्को गरी हाँस्छन् भने त्यहाँ सिक्ने काम कत्तिको हुन सक्ला? यस्तो सर्कस जस्तो वातावरणमा पनि कुनै सिक्ने काम हुन सक्छ र?

सबै कुराहरू शिष्टतापूर्वक र क्रमअनुसार गरिऊन् भनेर परमेश्वरको वचनले बताएको छ। महिला र पुरषहरू भुइँमा पछारिँदै, मात लागेको जस्तै गर्दै, लाटोकोसेरो र पशुका आवाज निकाल्नु निश्चय पनि परमेश्वरको सभालाई सुहाउने शिष्टपूर्ण व्यवहार होइन (दाँज्नुहोस् १ तिमोथी ३:१५)। “पवित्र हाँसो” अपवित्र मात्र नभएर यसले परमेश्वरको नियमवद्ध क्रमलाई अलमल्याउँछ र त्यसको विरोध गर्दछ।