चमेराहरू बसोबास गर्ने अँध्यारो संसारमा दृष्टिको धेरै महत्त्व हुँदैन। करिब दुई सय वर्ष अगाडि एकजना वैज्ञानिकले यो पत्ता लगायो कि उडिरहेको चमेरोलाई स्पर्ष वा दृष्टिको भन्दा श्रवणको संवेदना बढी महत्त्वको हुन्छ।उसले यो पत्ता लगायो कि तिनीहरूका आँखामा पट्टी लगाइँदा समेत चमेराहरू धागै-धागोको जञ्जाललाई एउटै धागो नछोईकन सजिलै पार गर्न सक्छन्। पछि वैज्ञानिकहरूले यो पत्ता लगाए कि चमेराहरूले एउटा उच्च फ्रिक्वेन्सीको ध्वनि प्रसारण गर्छन् जसलाई मान्छेको कानले चाल पाउन सक्दैन। यी ध्वनिका तरङ्गहरू वस्तुहरूमा ठक्कर खाएर फर्कँदा चमेरोले त्यसलाई सुन्दछन्। उक्त ध्वनि फर्केर आउन लाग्ने समयको आधारमा चमेरोले उक्त वस्तुको दुरीलाई निधो गर्छ। (यही सिद्धान्तमा रेडारले काम गर्छ केवल रेडारले ध्वनिको तरङ्ग नभएर रेडियो तरङ्गहरूलाई प्रयोग गर्दछ।)
प्रभु येशू ख्रीष्टमा विश्वास गरेर नयाँ जन्म पाएका हामीहरू पनि एउटा अँध्यारो संसारमा हिँडडुल गरिरहेका छौं। यो संसार पाप र खराब कामहरूले भरिएको संसार हो। यो यस्तो संसार हो जो परमेश्वरदेखि अलग्गिएको छ र परमेश्वरको इच्छा विपरीत हिँडिरहेको छ। आज मानिसहरू आफ्नै इच्छाअनुसार कामकुरा गर्छन् र परमेश्वरलाई बेवास्ता गर्छन्। उनीहरूले परमेश्वरलाई चिन्दैनन् र चिन्न पनि चाहँदैनन्। उहाँलाई चिन्ने र उहाँलाई अझ चिन्न चाहने हामीहरूका निम्ति एउटा निर्देशन प्रणालीको खाँचो छ। हाम्रा साधारण देख्न सक्ने क्षमता र छुन सक्ने क्षमता र सुन्न सक्ने क्षमताहरू हामीलाई परमेश्वरको धार्मिकताका मार्गहरूमा डोर्याउनलाई पर्याप्त छैनन्। परमेश्वरले हामीलाई अर्कै उपाय दिनुभएको छ।
परमेश्वरले उहाँको पुत्र प्रभु येशू ख्रीष्टमाथि विश्वास अथवा भरोसा राख्ने पापी व्यक्तिभित्र आफ्नो पवित्र आत्मा हालिदिनुभएको छ। पवित्र आत्मा परमेश्वरले हामीलाई प्रार्थना गर्न सिकाउनुहुन्छ र खाँचो परेको समयमा सहायताको निम्ति परमेश्वरलाई पुकार्न सघाउनुहुन्छ। परमेश्वर भन्नुहुन्छ, “मलाई पुकार, र म तिमीलाई जवाफ दिनेछु,” (यर्मिया ३३:३) “सङ्कष्टको दिनमा मलाई पुकार; म तिमीलाई छुटकारा दिनेछु र तिमीले मेरो बढाइ गर्नेछौ” (भजनसङ्ग्रह ५०:१५)। विश्वासी जनहरूको एउटा रेडार प्रणाली छ जसद्वारा उनीहरूले आफ्ना प्रार्थनाहरू स्वर्गतिर प्रसारण सक्छन् र तिनका सुनाइ हुन्छन् र उनीहरूले त्यसका जवाफ पनि फिर्ता पाउँछन्।
भरोसा गर्ने विश्वासी जनका लागि जीवनमा आइपर्ने समस्या र बाधाहरू कठिन हुँदैनन्। परमेश्वरले प्रतिज्ञा गर्नुहुन्छ, “आफ्नो सम्पूर्ण हृदयले परमप्रभुमाथि भरोसा राख, र आफ्नै समझमाथि भर नपर! आफ्ना सबै मार्गहरूमा उहाँलाई मान; र उहाँले तिम्रा बाटाहरू सीधा तुल्याउनुहुनेछ।” (हितोपदेश ३:५-६)।
प्रिय मित्र, के परमेश्वरसित तपाईंको यस्तो सम्बन्ध छ?
के तपाईंले उहाँलाई चिन्नुहुन्छ?
Translated and published with permission from bibleline.org