येशूको ऐतिहासिक प्रमाण

सन्देहवाद (skepticism): “वस्तुस्थिति र तथ्यहरूको अध्ययनद्वारा वास्तविक स्वरूपको मूल्याङ्कन नगरी अधूरो वा अधकल्चो छोड्ने र जानीजानी कुरा बङ्ग्याएर भिन्न रूपमा प्रचार गरी सन्देह फैलाउने विचार वा सिद्धान्त” (बृहत् शब्दकोष)

न्देहवादीहरूमा पनि त्यस्ता केही उग्र सन्देहवादीहरू छन् जोहरूले येशू एक ऐतिहासिक व्यक्ति हुनुभएको कुरालाई समेत इन्कार गर्छन्। निम्न कारणहरूले गर्दा यो एउटा अशिक्षित अडान हो:

  1. येशूको ऐतिहासिकता सम्बन्धीको विवाद वर्तमान समयमा मात्र उठाइएको नयाँ कुरा हो।
  2. येशूको प्रमुख साक्षी नयाँ नियमको लेखोट हो जसलाई गैर-इसाई दृष्टिकोणबाट मूल्याङ्कन गरिँदा समेत सबैभन्दा गहकिलो ऐतिहासिक अभिलेख ठहरिन्छ।
  3. बाइबलबाहेक, अन्य त्यस्ता गैर-इसाई स्रोतहरू सुरूबाटै अस्तित्वमा छन् जसले येशूको अस्तित्वलाई प्रमाणित गर्दछन्।
  1. येशूको ऐतिहासिकता सम्बन्धीको विवाद वर्तमान समयमा मात्र उठाइएको एउटा नयाँ कुरा हो।

इन्साइक्लोपिडिया ब्रीटानिकाले भन्छ:

“यी अलग-अलग अभिलेखहरूले प्राचीन समयहरूमा इसाईमतका शत्रुहरूले समेत येशूको ऐतिहासिकतालाई कहिल्यै शङ्का गरेनन् भन्ने कुरा प्रमाणित गर्दछन्। यो विवाद पहिलो पटक केही लेखकहरूद्वारा १८ औं शताब्दिको अन्तमा, १९ औं शताब्दिको समयमा र २० औं शताब्दिको सुरुमा उठाइएको थियो, त्यो पनि अपर्याप्त आधारमा” (“Jesus Christ”, Encyclopedia Britannica, १९७४)।

जारोस्लाभ पेलिकन (Jaroslav Pelikan) ले अवलोकन गर्छन्:

“व्यक्तिगत रूपमा उहाँको विषयमा जोसुकैले जेजस्तो सोचे तापनि वा विश्वास गरे तापनि नासरतका येशू झण्डै बीस-बीस शताब्दिहरूसम्म पश्चिमी संस्कृतिको इतिहासमा प्रधान व्यक्ति रहनुभएको छ” (Jesus Through the Centuries, p.1)

डी. जेम्स केनेडी (James Kennedy) ले थप्नुहुन्छ:

“अहिलेसम्म युद्धमा उत्रेका सबै सेनाहरू, महासागर तरेका लडाकु जहाजहरू, बैठक बसेका सबै  सांसदीय सभाहरू, शासन गरेका सबै राजाहरू – ती सबैका संयुक्त प्रभावभन्दा पनि उहाँको एक्लो जीवनले यस पृथ्वीमा मानिसको जीवनलाई अझ बढी प्रभाव पारेको छ।”  (What if Jesus had Never Been Born? p.9)

  1. येशूको प्रमुख साक्षी नयाँ नियमको लेखोट हो जसलाई गैर-इसाई दृष्टिकोणबाट समेत सबैभन्दा गहकिलो ऐतिहासिक अभिलेख मानिन्छ।

नयाँ नियम ख्रीष्टको मृत्युको लगत्तै पछि लेखिएको थियो भन्ने कुराको प्रमाण अकाट्य छ। बाइबलको स्वरूप अध्ययन अन्तर्गत यस कुरालाई हामीले हेरिसक्यौं।

जोन ए टी रोबिन्सन (John A.T. Robinson) ले रिडेटिङ द न्यू टेस्टामेन्ट (Redating the New Testament) मा यो निष्कर्ष निकालेका छन् कि पूरै नयाँ नियम ७० एडीभन्दा अगाडि लेखिएको थियो।

पुरातत्त्व विज्ञानका सर्वोत्कृष्ट अग्रज विलियम राम्से (William Ramsay) ले यो लेखे:

“नयाँ नियमको कुनै पनि पुस्तकको मितिलाई एडी ८० भन्दा पछाडि राख्न अबउसो कुनै ठोस आधार छैन भनेर हामी अब जोडदारसित भन्न सक्दछौं। यो भनेको आजका नयाँ नियमका आलोचकहरूले तोकेको १३० एडी देखि १५० एडीको मितिभन्दा पूरै दुई पुस्ता अगाडिको मिति हो।” (William Ramsay, Recent Discoveries in Bible Lands, 1955, p.136).

“नयाँ नियमको प्रत्येक पुस्तक एक बप्तिस्मा गरिएको यहूदीद्वारा पहिलो शताब्दिको ४० देखि ८० एडीमा लेखिएको हुनुपर्छ भन्ने कुरा म ठान्दछु” (William Ramsay, “Christianity Today”, Jan 18, 1963).

विलियम अल्ब्राइट, अर्को प्रभावशाली पुरातत्त्वविदले लेखे:

“नयाँ नियम जस्तो हो भनेर पहिला विश्वास गरिन्थ्यो ठीक त्यस्तै रहेछ भनेर प्रमाणित भएको छ अर्थात् नयाँ नियम करिब २५ देखि ८० एडीका बीच लेखिएको ख्रीष्ट र उहाँका चेलाहरूका शिक्षाहरू हुन्। कूमरानबाट पत्ता लागेका तथ्यहरूले यो प्रमाणित गर्दछ (William F. Albright, From Stone Age to Christianity, p.23).

जसरी हामीले हेरिसक्यौं, मौलिक लेखोटहरू लेखिएको केही थोरै दशक मात्र बितेपछिको मिति रहेको खण्डहरू हामीसित छन्, अर्थात् पहिलो शताब्दिको अन्तितिरको मिति रहेको र साथै दोस्रो शताब्दिको सुरुतिरको मिति रहेको नयाँ नियमका खण्डहरू अस्तित्वमा छन्। अनि थुप्रै-थुप्रै सङ्ख्यामा तिनका प्रतिलिपिहरू अस्तित्वमा हुनु भनेको इतिहासमै अद्वित्तीय कुरा रहेको छ। पाण्डुलिपिहरूको प्रमाण कतिको बलियो छ भन्ने कुराको सवालमा अर्को कुनै प्राचीन पुस्तक नयाँ नियमको तुलनामा अलिकित नजिक पनि आइपुग्दैन।

  1. येशूको अस्तित्वलाई प्रमाणित गर्ने बाइबलबाहेक अन्य त्यस्ता गैर-इसाई स्रोतहरू पहिलेदेखि नै छन्।

निम्न उदाहरणहरू जोश म्याक्डावेलको पुस्तक द न्यू एभिडेन्स द्‍याट डिमान्ड्स ए भर्डिक्ट (The New Evidence That Demands a Verdict) बाटका हुन्:

कोर्नेलियस ट्यासीटस् (Cornelius Tacitus), पहिलो शताब्दिका एक रोमी इतिहासकार:

“जसबाट [ख्रीष्टियमत भनिने] यो नामको सुरुआत भयो, ती ख्रीष्टसले तिबेरियासको शासनकालमा हाम्रा प्रशासकहरूमध्ये एकजना पोन्टियस पिलातसको अधिकारअन्तर्गत सबैभन्दा अधिकतम नापको सजाय भोगे…” (Annals XV, c. 115 AD).

स्वेतोनियस (Suetonius), हेड्रियन सम्राट (AD 117-138) का प्रमुख मन्त्री:

“ख्रेस्टसको सम्बन्धमा यहूदीहरूले बारम्बार दङ्गा मच्च्याइरहेका हुनाले उनले तिनीहरूलाई रोमबाट निष्कासन गरिदिए” (Life of Claudius, 25:4)

ओरोसियस (Orosius):

“लेखक ओरोसियसले यो निष्कासन कार्य क्लाउडियसको शासनकालको नवौं वर्षमा अर्थात् ४९ एडीमा भएको थियो भनेर उल्लेख गर्छन्। यसले यो गवाही दिइरहेको छ कि क्रूसीकरण भएको १५-२० वर्ष नबित्दै रोममा एउटा ख्रीष्टियन समुदाय थियो। प्रेरितको पुस्तकमा यो रोमी प्रमाणको एउटा अचम्मलाग्दो पुष्टिकरण भेटिन्छ। जब पावल एथेन्सबाट कोरिन्थमा आए उनले त्यहाँ “पोन्टसमा जन्मेका अक्विला नामका एकजना यहूदीलाई भेट्टाए; (तिनी आफ्नी पत्नी प्रिस्किल्लासित भर्खरै इटालीबाट आएका थिए; किनभने क्लाउडयसले सबै यहूदीहरूलाई, रोमबाट निस्कनू भनी हुकुम गरेका थिए” (प्रेरित १८:२)। (Werner Keller, The Bible as History, pp. 390.391)

जोसीफस (Josephus) (AD 37-100)

जोसीफस रोमी सम्राटहरूको मातहतमा रहेर सेवा गर्ने एक यहूदी अगुवा थिए। उनले यहूदीहरूको बारेमा “यहूदी युद्धहरू” नाम गरेको र साथै “यहूदीहरूको इतिहास” नाम गरेको (Jewish Wars, Antiquities of the Jews) दुईटा इतिहासका पुस्तकहरू लेखे। निम्न खण्डहरूमा उनले येशूको अस्तित्वलाई मानिलिएका छन् साथै बप्तिस्मा दिने यूहन्नाको अस्तित्वलाई र उनको बप्तिस्मालाई र येशूका भाइ याकूब र उनी सहीदको रूपमा मारिएको कुरालाई मानिलिएका छन्।

“…उनले [महापूजाहारी हन्नासले] न्यायकर्ताहरूको सन्हेद्रीनलाई भेला गरे र ख्रीष्ट भनिएका येशूको भाइलाई उनीहरूका सामु ल्याए जसको नाम याकूब थियो अनि अरुलाई पनि, अनि उनीहरूको विरुद्धमा व्यवस्था भङ्ग गर्नेहरू भनी दोष फैसला निर्धारण गरेपछि उनीहरूलाई ढुङ्गाले हानेर मारिनका लागि सुम्पिदिए” (Antiquities, 20:9.1)

“अब कतिपय यहूदीहरूले यो सोचे कि हेरोदको सेनाको विनाश परमेश्वरबाटको थियो, अनि उसले यूहन्नाको विरुद्धमा गरेको कामको सजायस्वरूप त्यो न्यायोचित थियो पनि, ती यूहन्ना जसलाई बप्तिस्मा दिनेवाला भनिएको थियो; किनभने हेरोदले उनला‌ई मारे जो एक असल मानिस थिए जसले यहूदीहरूलाई सद्गुण अभ्यास गर्न, एकअर्काप्रति धार्मिकताको व्यवहार गर्न र परमेश्वरप्रति भक्ति गर्न र उनको बप्तिस्मामा आउनलाई आज्ञा गरे” (Antiquities, 28:5.2).

थालस (Thallus)

थालसले ५२ एडी ताका एउटा इतिहास लेखे जसमा उनले ख्रीष्टको मृत्यु र बौरिउठाइको बेलाको अन्धकार र भूकम्पको बयान गरे।

मारा बार-सेरापियोन (Mara Bar-Serapion)

सिरियाका एक दर्शनशास्त्रीले एडी ७० ताका आफ्‍नो छोरालाई एउटा पत्रमा यसरी लेखे:

“उनीहरूको बुद्धिमानी राजालाई मृत्युदण्ड दिएर यहूदीहरूलाई के फाइदा भयो र? त्यसकै पछि त हो उनीहरूको राज्य नै समाप्त भएको” (FF Bruce, The New Testament Documents: Are They Reliable, p.114).

प्लिनी द यङ्गर (Pliny the Younger)

उनी एक रोमी लेखक र प्रशासक थिए। सम्राट ट्राजन (Trajan) लाई एडी ११२ तिर लेख्दा उनले ख्रीष्टलाई उल्लेख गर्छन् र सुरुका ख्रीष्टियनहरूको उपासना गर्ने तरिकालाई बयान गर्छन्:

“एउटा निश्चित तोकिएको दिनमा उज्यालो खस्नु अघि उनीहरूको भेला हुने आदत थियो, जब उनीहरूले क्रमैसङ्ग एउटा भजन ख्रीष्टलाई गाउँथे, एक ईश्वरलाई, अनि आफूहरूलाई एउटा गम्भीर वाचाले बाँध्थे, कुनै दुष्ट कामहरू नगर्न, कहिल्यै झूटो काम नगर्न, चोरी वा व्यभिचार नगर्न, कहिल्यै झूटो वचन नबोल्न, आफूलाई सुम्पिएको भरोसालाई कहिल्यै धोका नदिन जब कसैले त्यो विषय खुलाउनलाई बल गर्ला; त्यसपछि उनीहरू विसर्जन हुने उनीहरूको आदत थियो र त्यसपछि फेरि खानेकुरा खानलाई जम्मा हुन्थे — तर त्यो साधारण र निर्दोष किसिमको खानेकुरा हुन्थ्यो।”

ताल्मूद (Talmud)

एडी ७० देखि २०० का बीच लेखिएका यहूदी ताल्मूदका लेखोटहरूले येशूलाई उल्लेख गर्छन्। यदि उनीहरूलाई येशूको अस्तित्वकै कुनै पनि शङ्का थियो भने ती यहूदी रब्बीहरूले त पक्कै पनि त्यो नभनी छोड्दैनथे!

“यस्तो सिकाइएको छ: निस्तार चाडको पूर्वसंध्यामा येशूलाई झुण्ड्याइयो … उनको पक्षमा कुनै पनि कुरा नभेटिएकोले उनीहरूले उनलाई निस्तारचाडको पूर्वसंध्यामा झुण्ड्याए” (Babylonian Talmud, Sanhedrin 43a).

सामोसाटाका लुसियन (Lucian of Samosata)

लुसियन दोस्रो शताब्दिका एक ग्रीक लेखक थिए जसले ख्रीष्टियनहरूको उपहास गर्थे।

“तपाईंहरूलाई थाहै छ, ख्रीष्टियनहरूले आजसम्म एकजना मान्छेलाई पूज्छन् — ती प्रसिद्ध व्यक्ति जसले उनीहरूका नयाँ रीतिहरू स्थापना गरे जसलाई फलस्वरूप क्रूसमा टाँगियो … उनीहरू क्रूसमा टाँगिएको सन्तलाई पूज्दछन् अनि उहाँका नियमहरूअनुसार हिँड्छन्।” 

नोर्मन गाइस्लर (Norman Geisler) ले यी गैर-इसाई प्रमाणहरूलाई संक्षेपमा यसरी सूचित गरेका छन्:

“ख्रीष्टको जीवनको सम्बन्धमा जानकारी दिने प्राथमिक स्रोतहरू चाहिँ सुसमाचारका चार पुस्तकहरू हुन्। तरैपनि त्यहाँ उल्लेखनीय गैर-ख्रीष्टिय स्रोतहरू पनि छन् जो यी सुसमाचारीय अभिलेखहरूसित मेल खान्छन् र थप जानकारी दिन्छन्। अधिकांश रूपमा यी स्रोतहरू पहिलो शताब्दिका ग्रीक, रोमन, यहूदी र सामरी स्रोतहरूबाट आउँछन्। संक्षेपमा ती गैर-इसाई स्रोतहरूले निम्न कुराका जानकारी दिन्छन्:

  • येशू नासरतबाटका एक ऐतिहासिक व्यक्ति हुनुहुन्थ्यो।
  • उहाँले एक बुद्धिमानी र सद्‍गुणले भरिएको जीवन बिताउनुभयो।
  • उहाँलाई प्यालेस्टाइनमा पोन्तियस पिलातसको प्रशासनले तिबेरियास सिजरको शासनकालमा निस्तारचाडको समयमा यहूदी राजा भनेर क्रूसमा टँगायो।
  • तीन दिनपछि उहाँ  मरेकाहरूबाट बौरनुभएको कुरा उहाँका चेलाहरूद्वारा विश्वास गरिएको थियो।
  • उहाँले असाधरण अद्‍भुत कामहरू गर्नुहुन्थ्यो भनेर शत्रुहरूले स्वीकार गरे र तिनलाई जादुगरीको संज्ञा दिए।
  • उहाँका चेलाहरूको सानो झुण्ड द्रुतगतिले वृद्धि भएर र रोम जति परसम्म पनि फैलियो।
  • उहाँका चेलाहरूले बहूईश्वरवादलाई इन्कार गर्थे, नैतिक जिवन जिउँथे र ख्रीष्टलाई परमेश्वरको रूपमा उपासना गर्थे।

नयाँ नियमका सुसमाचारीय पुस्तकहरूमा ख्रीष्टलाई जसरी दर्शाइएको छ, यो (गैर-इसाई अभिलेखहरूबाटको) तस्वीरले त्यसकै समर्थन गर्दछ” (Geisler, Baker Encyclopedia of Christian Apologetics).

मायामी विश्वविद्यालयका इतिहासका प्राध्यापक एडविन यामाउचीले यो भन्छन् कि अरू कुनै पनि धार्मिक संस्थापक (जोरोआस्तर, बुद्ध, महम्मद) को भन्दा येशूका धेरै र उत्तम ऐतिहासिक अभिलेखहरू छन् (“Jesus Outside the New Testament: What is the Evidence?” Jesus Under Fire, edited by Micahel Wilkins and J.P. Moreland, 1995).

यी सबै प्रमाणहरूलाई इन्कार गरी बस्ने त्यहाँ गिल्ला गर्नेहरू छन्, तर त्यो चाहिँ हठीपनको अन्धोपना हो। मानिसको हृदय यति भ्रष्ट छ र छली छ कि प्रमाणको थुप्रोको पहाडै भएपनि त्यो अविश्वासमा लागिरहन सक्छ। तर अर्कोतिर धेरैजना व्यक्तिहरू छन् जोहरूले बाइबललाई झूटो साबित गर्न र ख्रीष्ट परमेश्वर हुनुहुन्न भन्ने कुरा प्रमाणित गर्न जमर्को गरेका थिए तर बरु अकाट्य प्रमाणहरूलाई स्वीकार गरे र ख्रीष्टका सामु उहाँलाई प्रभु र मुक्तिदाता मान्दै घुँडा टेके। (हेर्नुहोस्, wayoflife.org “Men Who Were Converted Trying to Disprove the Bible”)

 सारांशमा येशूको ऐतिहासिकताको प्रमाण अन्तर्गत प्रमुख बुँदाहरू

  1. येशूको ऐतिहासिकता सम्बन्धी विवाद वर्तमान समयमा मात्र उठाइएको नयाँ कुरा हो
  2. येशूको प्रमुख साक्षी नयाँ नियम, गैर-इसाई दृष्टिकोणबाट समेत सबैभन्दा गहकिलो ऐतिहासिक अभिलेख हो।
  3. बाइबलबाहेक, अन्य त्यस्ता गैर-इसाई स्रोतहरू सुरूबाटै छन् जसले येशूको अस्तित्वलाई प्रमाणित गर्दछन्।

येशुको ऐतिहासिक प्रमाण सम्बन्धी पुनरावलोकन प्रश्नहरू

  1. येशूको ऐतिहासिकतालाई हामी किन शङ्का गर्दैनौ भन्ने कुराका तीन कारण के-के हुन्?
  2. येशूको ऐतिहासिक अस्तित्वको सम्बन्धमा सन्देहवादीहरूले शङ्का व्यक्त गर्न थालेको कुन समयदेखि हो?
  3. पहिलो शताब्दिको अन्त्य नहुँदै येशूलाई उल्लेख गर्ने चारजना गैर-इसाई लेखकहरूको नाम बताउनुहोस्।
साभार: उपर्युक्त सामग्री Way of Life Literature द्वारा प्रकाशिक लेखक डेविड क्लाउडको An Unshakable Faith – A Course in Christian Apologetics पुस्तकबाट उहाँको अनुमतिले नेपालीमा अनुवाद गरी यस वेबसाइटमा प्रकाशन गरिएको हो।