पवित्र आत्मा परमेश्वरको व्यक्तित्व र कार्य

पवित्र आत्मा परमेश्वरको व्यक्तित्व र कार्य

 

परिचय

पवित्र आत्मा, उहाँको व्यक्तित्व र उहाँको कार्यको बारेमा सिक्नको निम्ति एउटा तत्व अति महत्त्वपूर्ण हुन्छ। पवित्र आत्मा आफैं नै त्यो तत्व हुनुहुन्छ। हामीलाई शिक्षा दिने उहाँको सेवकाइ बिना, हामीले उहाँलाई जसरी जान्नुपर्ने हो त्यसरी जान्न सक्दैनौं। उहाँको प्रकाश बिना, हामी अन्धा छौं। “त्यही प्रकारले परमेश्वरका कुराहरू पनि परमेश्वरकै ____________ बाहेक अरू कुनै मानिसले जान्दैन” (१ कोरिन्थी २:११)। परमेश्वरका आत्माले मात्र परमेश्वरका कुराहरू जान्नुहुन्छ र हामीलाई ती कुराहरूको बारेमा प्रकाश पार्नसक्नुहुन्छ (१ कोरिन्थी २:१०,१२)। “परमेश्वरबाट हामीलाई सित्तैंमा दिइएका कुराहरू ___________ सकौं भनेर” हरेक विश्वासीले पवित्र आत्मा पाएको हुन्छ (१ कोरिन्थी २:१२)। के मुक्ति नपाएको व्यक्तिले परमेश्वरका कुराहरू जान्न सक्छ (१ कोरिन्थी २:१४)? _____________ [नोट: “शारीरिक मानिस” भनेको ऊ हो जसले पवित्र आत्मा पाएको छैन। यसको अक्षरश: अर्थ “प्राणिक मानिस” वा “विलासी” (यहूदा १९) हो। यहूदा १९ मा विलासी मानिसलाई ___________ नभएकाहरू भनी व्याख्या गरिएको छ।]

पवित्र आत्माको बारेमा हाम्रो अध्ययनलाई अगाडि बढाउँदा, उहाँ नै हाम्रो शिक्षक भइदिनुहुन हामी उहाँमा भर पर्नु अति महत्त्वपूर्ण हुन्छ। उहाँबिना हामीले उहाँको बारेमा सिक्न सक्दैनौं। पवित्र आत्मा बिना हामीले ख्रीष्टको बारेमा सिक्न सक्दैनौं। “पवित्र आत्मा सिकाउनुहोस्, रहस्य ख्रीष्टको देखाउनुहोस्” (येशूको ज्ञानमा म बढ्न सकूँ नामक भजनबाट, एलिजा हेविटद्वारा लिखित)। यूहन्ना १५:२६ सित तुलना गर्नुहोस् जहाँ पवित्र आत्माले येशू ख्रीष्टको बारेमा गवाही दिनुहुन्छ भनी हामीलाई बताइएको छ। उहाँले आफैंलाई देखाउनुहुन्न, तर उहाँले ख्रीष्टलाई देखाउनुहुन्छ।

पवित्र आत्माको अध्ययन एक गहिरो विषय हो।

बाइबलले पवित्र आत्माको बारेमा धेरै कुराहरू बताएको छ। सृष्टि कार्यमा उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको उत्पत्ति १:२ (पहिलो उल्लेख) बाट सुरु गरेर प्रकाश २२:१७ मा नयाँ सृष्टि कार्यमा उहाँले खेल्नुहुने चाबी भूमिकासम्म (ढिलो हुनुभन्दा अगाडि नै मानिसहरूलाई ख्रीष्टकहाँ आउन निम्तो दिने कार्य)।

पवित्र आत्माको अध्ययन एक महत्त्वपूर्ण विषय हो।

दु:खलाग्दो कुरा, पवित्र आत्माको विषयमा सठीक बाइबलीय शिक्षालाई आज हाम्रो दिनमा बेवास्ता गरिएको छ। यसको कारणले ठूलो अलमल, गलत बुझाइ र पूर्णतया त्रुटि भित्रिएको छ। यस बेवास्ताको परिणाम दुई पराकाष्ठाहरूमा देखिएको छ। १) मृत अवस्था। नामधारी ख्रीष्टियनहरूको व्यक्तिगत जीवनहरू र उनीहरू उपस्थित हुने मण्डलीहरूमा आत्मिक जीवन, सामर्थ्य, सुसमाचारीय सेवकाइ र ख्रीष्टमा परमेश्वरले गरिदिनुभएको सबै कुराहरूको अनुभवहरूमा कमी छ। २) भावनावाद। यो कुरा पेन्टेकोस्टल, नव-पेन्टेकोस्टल र क्यारिज्म्याटिकक अभियानहरूका अलमलहरूमा देखिन्छ। यी लहरहरू निकै प्रख्यात भएका छन् र तिनीहरूले मृत र उदारवादी मण्डलीहरूबाट थुप्रै मानिसहरू आफूकहाँ ल्याइरहेका छन्। क्यारिज्म्याटिकक अभियानमा रहेका धेरै जनाले आफूहरू यी मृत मण्डलीहरूमा बस्नु र उनीहरूलाई आफ्नो उपस्थितीद्वारा नविकरण गर्नु नै उनीहरूको लक्ष हो भनी विश्वास गर्दछन्।

धेरै मण्डलीहरूमा पाइने आत्मिक मृत अवस्थाको ठीक उल्टो, पेन्टेकोस्टल वा क्यारिज्म्याटिकक अभियानमा भएकाहरू प्राय: जसो जोशिलो विश्वास झैं देखापर्ने किसिमले प्रकट हुन्छन्, र यी मानिसहरूमध्ये धेरैजना साँच्चै नयाँ गरी जन्मिएका हुन्छन् (मुक्तिको निम्ति आफ्नो विश्वास ख्रीष्टमा र उहाँमा मात्रै राखेर)। निष्पक्षतामा हामीले आधुनिक क्यारिज्म्याटिक अभियानका कतिपय सकारात्मक पक्षहरूलाई स्वीकार्नुपर्छ। यद्यपि हाम्रो अध्ययनमा यस अभियानका थुप्रै गलत शिक्षाहरूलाई प्रस्टै देखाउन चाहन्छौं तरैपनि हामी यसका सकारात्मक पक्षहरूप्रति अन्धा बन्न चाहन्नौं। यद्यपि समग्रमा हामी क्यारिज्म्याटिक अभियानलाई स्वीकार गर्दैनौं र क्यारिज्म्याटिक व्यक्तिहरूसँग उनीहरूको गलत शिक्षा र अनुभव-केन्द्रित सिद्धान्तमा लाग्न सक्दैनौं, तरैपनि हामी उनीहरूबाट सिक्न सक्छौं र कतिपय प्रशंसनीय कुराहरूलाई स्वीकार गर्न सक्छौं।

उनीहरूमध्ये कतिजनासँग परमेश्वरका कुराहरूका निम्ति एक प्रकारको उत्साह भएको पाइन्छ। उनीहरू खुल्लमखुल्ला वा व्यक्तिगतरूपमा प्रभुको प्रशंसा गर्न प्रायः धक मान्दैनन्। उनीहरू ख्रीष्टियन या अख्रीष्टियनहरूको बीचमा प्रभुको बारेमा बोल्न लाज मान्दैनन्।

आत्मिक कुराहरूको विषयमा उनीहरू प्रायः उत्तेजित हुन्छन्। आफूले जे पाएका छन् ती विषयमा अरूलाई बताउन उनीहरू प्रायः उत्साहित हुन्छन् — “मित्र, मैले जे पाएको छु सो कुरा तपाईंले पनि पाउनुभएको म चाहन्छु।”

प्रायश: क्यारिज्म्याटिक व्यक्तिहरूले एक किसिमको आनन्द र उमङ्ग प्रदर्शन गर्दछन्। उनीहरू आफ्ना क्रियाकलापहरू रमाहटका साथ गरिरहेका देखिन्छन्। उनीहरूको धर्म एउटा मरेको रीति नभई त्यो उनीहरूका लागि अति व्यक्तिगत र वास्तविक भएको देखिन्छ। उनीहरू जे गर्छन् ती उनीहरूका लागि अर्थपूर्ण भएका हुनाले र उनीहरू तिनमा आनन्दित भएका हुनाले गर्ने गर्छन्।

उनीहरूमध्ये कतिपयले एक अर्काका निम्ति एक प्रकारको न्यानोपना र वास्ता देखाउँछन्। उनीहरू मिलनसार र फरासिलो हुन्छन् अनि साधारणतया: अरूसित प्रभुको विषयमा र उहाँले उनीहरूका निम्ति के गरिदिनुभयो भन्ने बारेमा बताउन डराउँदैनन्।

उनीहरूसित एक प्रकारको आत्मिक गतिशीलता छ जुनचाहिँ, खेदको कुरा, कतिपय बाइबल विश्वासीहरूमा घटी भएको पाइन्छ। तपाईंले क्यारिज्म्याटिकहरूको बारेमा सोच्नुहुँदा तपाईंले प्राय: मृत अवस्थाको बारेमा सोच्नुहुन्न। उनीहरू फुर्तिला, उत्साहित, उत्तेजित, भावुक र स्पन्दनशील हुन्छन्। उनीहरूमा प्रायः प्रभुको सेवा गर्नलाई जोश हुन्छ यद्यपि त्यो जोश ज्ञान अनुसार नभएको पाइन्छ। के बाइबलीय विश्वासीहरू परमेश्वरका कुराहरूका निम्ति उत्तेजित र उत्साहित हुनुपर्ने होइन र? प्रायःजसो हामी शुरूमा यस्तै थियौं जब हामीले ख्रीष्टलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तदाता भनी चिन्यौं, तर समय बित्दै जाँदा जोश घट्दै जाने हाम्रो एउटा स्वभाव छ। हाम्रो पहिलो प्रेम छोड्न सजिलो छ। ज्ञानमा बढ्दै जाने क्रममा ख्रीष्टको निम्ति हाम्रो जोश नहराउन अनि उहाँलाई चिनाउनलाई उत्साह नहराउन हामी सतर्क होऔं।

उनीहरूका निम्ति बाइबल र प्रार्थना महत्त्वपूर्ण हुन्छन्। उनीहरू आफ्ना स-साना प्रार्थना झुण्डहरूमा र बाइबल अध्ययन समयहरूमा सँगै भेला हुन रूचाउँछन्। सङ्गती, प्रार्थना, स्तुति-प्रशंसा र भजनहरूमा सहभागी हुन मन पराउँछन्। यी सबै कुराहरू प्रशंसनीय छन्। पवित्र आत्माको कार्य सम्बन्धि (विशेषगरी आत्मिक दानहरू जस्तै, अन्यभाषा, भविष्यवाणी, चङ्गाइ इत्यादिको शिक्षाहरूमा) गलत बुझाइ नै उनीहरूको मूल समस्या हो। उनीहरूले बाइबलको अर्थ लगाउने काममा आफ्नो आत्मगत र व्यक्तिगत अनुभवलाई नै आधार बनाउने पनि गर्दछन्। प्रभुको वचनद्वारा सबैकुराहरू जाँच्ने प्रयास गर्दा परमेश्वरले हामीलाई खुट्ट्याउनसक्ने बुद्धि दिनुभएको होस् (१ थेस्सलोनिकी ५:२१)। सत्य र ठीक कुरालाई हामीले बलियो गरी पक्रनुपर्छ, तर बाइबलको शिक्षासँग अमेल हुने हरेक कुरालाई हामीले इन्कार गर्नुपर्छ। क्यारिज्म्याटिक लहर नामक हाम्रो विस्तृत पाठ अध्ययन गर्नुहोस्।

एकापट्टि हामीले आत्माले भरिएको जीवनको महत्त्वको बारेमा केही थाह नभएको आत्मिक मृतावस्थाको वातावरणलाई हटाउन चाहन्छौं। अर्कोपट्टि, ठीक बाइबलीय शिक्षामा आधारित नभएको नामधारी आत्मिकपनालाई पनि हामी हटाउन चाहन्छौं।

पवित्र आत्माको अध्ययन व्यवहारीक र जीवन परिवर्तन गराउने विषय हो।

पवित्र आत्मा बिना कोही मानिसले कहिल्यै पनि मुक्ति पाउन सक्दैन (यूहन्ना ३:५; १ कोरिन्थी ६:११)। हामीले एकचोटी मुक्ति पाइसकेपछि, हाम्रो दैनिक विजयी जीवनको चाबी भनेको नै पवित्र आत्मा परमेश्वरसँगको हाम्रो सम्बन्धमा भर पर्ने कुरा हो। रोमी ८ अध्यायलाई विचार गर्नुहोस्। पवित्र आत्माको उल्लेख गर्ने हरेक पदलाई सुचित गर्नुहोस्:

रोमी ८: ____________________________________________
गलाती ५ अध्यायमा पनि यस्तै गर्नुहोस्:
गलाती ५:____________________________________________

“प्रेरितहरूका काम” पुस्तकलाई कतिजनाले “पवित्र आत्माको काम” भनी भनेका छन्। प्रेरितको पुस्तकमा पवित्र आत्मालाई ५० पटक भन्दा बढी उल्लेख गरिएको छ। सुरुको मण्डलीमा उहाँको महत्त्वपूर्ण सेवकाइ थियो। के तपाईंले प्रेरितको पुस्तकमा उहाँको उल्लेख गरिएको पाँचओटा खण्डहरू भेट्टाउन सक्नुहुन?

प्रेरितको पुस्तकबाट कम्तिमा पाँचओटा पदहरू: ______________________________________ गलाती ५:२२-२३ पढ्नुहोस्। के यी कुराहरूले आफ्नो जीवन भरिएको तपाईं चाहनुहुन्छ? _____________ केवल पवित्र आत्मा परमेश्वरले मात्र यी कुराहरू फलाउन सक्नुहुन्छ, त्यसैले यो कसरी हुन्छ भनी हामीले बुझ्नु अति महत्त्वपूर्ण छ।

विचार गर्नुपर्ने केही प्रश्नहरू: यदि पवित्र आत्माले तत्कालै संसारलाई पूर्ण रूपमा छोडेर जानुभयो भने, के यस कुराले तपाईंको दिन व दिनको जीवनमा केही फरक ल्याउँछ? यदि उहाँ अब उसो तपाईंको स्थानीय मण्डलीमा रहनुभएन भने, के यसले त्यहाँ केही भिन्नत ल्याउँछ? के यसले केही कुराहरूमा भिन्नता ल्याउँछ?

यदि पवित्र आत्माले छोडेर जानुभयो र यदि सबै कुराहरू उही तरिकाले अघि बढ्ने हो भने, केही कुराहरू अति भयानक तवरले खराब हुनेथिए। यदि उहाँबिना पनि हामीले उही तरिकाले सञ्चालन गर्न सक्ने हो भने, हामीलाई किन उहाँको खाँचो पर्थ्यो र? यस अध्ययनले यस्तै प्रकारका प्रश्नहरूको जवाफ दिने प्रयास गर्नेछ।

यो अध्ययन माला मीडलटाउन बाइबल चर्चद्वारा प्रकाशित सामग्रीबाट नेपालीमा अनुवाद गरिएको हो। यसलाई अध्ययन गर्दा ट्रिनिटेरियन बाइबल सोसाइटी (TBS) द्वारा प्रकाशित पवित्र बाइबल प्रयोग गर्नुभयो भने तपाईंलाई सहज हुनेछ। तपाईंलाई एकमात्र सत्य परमेश्वर र उहाँका पुत्र प्रभु येशू ख्रीष्टको व्यक्तिगत ज्ञानमा आइपुग्न र त्यसमा बढ्दै-बढ्दै जान पवित्र आत्माले यी अध्ययनहरूलाई प्रयोग गर्नुभएको होस्! (१ पत्रुस २:२; २ पत्रुस ३:१८)

Print Friendly, PDF & Email