के रोमन क्याथोलिकवाददेखि अलग रहिरहनु पाप हो?

के रोमन क्याथोलिकवाददेखि अलग रहिरहनु पाप हो?

“इभान्जेलिकल्स एण्ड क्याथोलिक्स टुगेदर” (Evangelicals and Catholics Together) नामक औपचारिक दस्तावेजमा निम्न अभिव्यक्ति भेटिन्छ: ‘हामी इभान्जेलिकलहरू र क्याथोलिकहरू सँगै मिली ख्रीष्टले आफ्ना चेलाहरूका निम्ति इच्छा गर्नभएको एकताको विरुद्धमा भएका हाम्रा पापहरू स्वीकार गर्दछौं।’ यस अभिव्यक्तिलाई पढेपछि एउटा प्रश्‍न उठाइनुपर्ने खाँचो देखिन्छ: के क्याथोलिक चर्चसँग आत्मिक सङ्गति गर्नदेखि अलग रहिरहनु पाप हो? के यस्तो अलगपनता अपनाइरहेका हामीहरू आफ्नो पक्षपातदेखि पश्चात्ताप गरी क्याथोलिक चर्चलाई एक साँचो मण्डलीको रूपमा अँगालौं? इभान्जेलिकल एकतावादीहरूले यस्तै गर्नुपर्छ भनेर हामीलाई कर गर्दैछन्।

शताब्दियौंदेखि ब्याप्टिस्टहरू जत्तिकै अन्य कुनै समूह रोमन क्याथोलिकवादसितको सहकार्यको विरुद्धमा प्रबल रूपमा खडा भएको पाइँदैन। तब निम्न अभिलेख पढ्दा हामीलाई ताजुप लाग्नु स्वाभाविक हो:

“आफ्नो आदतअनुसार फ्र्याङ्क रफ (Frank Ruff) गल्लीहरूहुँदो हाँक्दै ‘ब्याप्टिस्ट भ्याटिकन’ (‘Baptist Vatican’) भनी चिनिएको भिमकाय भवन कम्प्लेक्सकै मुटुभित्र आफ्नो गाडी हुल्छन्। ‘गुड मर्निङ्ग, फादर फ्र्याङ्क’ भन्दै रिचार्ड बेनेट नाम गरेका सुरक्षाकर्मी, आफैं पनि एक क्याथोलिक, सदर्न ब्याप्टिस्ट कन्भेन्सन (Southern Baptist Convention) को प्रशासनिक कार्यालयभित्र प्रवेश गर्दै गरेका फ्र्याङ्क रफलाई अभिवादन गर्दछन्। ती पूरोहीतका कालो रङ्गको पूजाहारी-पोशाक र सेतो रङ्गको रोमन कलर (collar) सदर्न ब्याप्टिस्टहरूको भीडमा अलग्गै छुटि्टन्छन्। तर सदर्न ब्याप्टिस्टकै गढीभित्र नेशनल कन्फरेन्स अफ क्याथोलिक विशप्स् (National Conference of Catholic Bishops) का प्रतिनिधिका रूपमा फ्र्याङ्क रफ आफ्ना कामकाजमा यहाँ‍ व्यस्त भई हिँडडुल गर्दा कसैलाई आश्चर्यजनक लागेको देखिँदैन। हिजोआजको ठूलो र नयाँ खबर भनेको बरु यो पो भएको छ: अमेरिकाको ५.९ करोड रोमन क्याथोलिक र १.५ करोड सदर्न ब्याप्टिस्टका अगुवाहरू बीचको सहकार्य अब पुरानो खबर भइसकेको छ।”1

क्याथोलिक-इभान्जेलिकल सहकार्यता सम्बन्धी नीजको धारणा कस्तो छ भनेर बुझ्नलाई सुपरिचित इसाई प्रवक्ता (apologist) नर्मन गाइस्लर (Norman Geisler) सित अन्तर्वार्ता लिइएको थियो। उहाँले निष्कर्षमा भन्नुभयो, “भिन्नताहरू साधारणतया सोचिए जत्तिकै न ठूला छन् न ता महत्त्वपूर्ण (crucial) छन्। मेरो विचारमा पर्खालका दुवै पट्टि झूटा शिक्षा (heresy) को सवाल खडा छैन।”17 उहाँलाई प्रश्‍न गरिएको थियो, “के हाम्रा सह-इभान्जेलिकलहरूले आफूहरू र क्याथोलिकहरूका बीचमा साझा सैद्धान्तिक धरातल रहेको कुरालाई झन्-झन् महसुस गर्दै आएका छन्?” उहाँको जवाफ: “अधिक मात्रामा इभान्जेलिकलहरू सामाजिक र नैतिक क्षेत्रमा सहकार्य गर्नुपर्ने खाँचो देख्छन् भन्ने कुरालाई मैले स्वीकार गर्नुपर्छ। यो राम्रो हो किनकि यसले इभान्जेलिकलहरूलाई रोमन क्याथोलिकहरूसितको आफ्नो सम्बन्धलाई पुनःमूल्याङ्कन गर्न बाध्य तुल्याएको छ। तर साथसाथै म यहाँ सैद्धान्तिक समझदारिताको बढ्दो महसुस भइरहेको पनि देख्दछु। कतिपय चर्चित इभान्जेलिकलहरूसित इभान्जेलिकल थियोलजिकल सोसाइटी (Evangelical Theological Society) को आखिरी बैठकमा मेरो कुराकानी भएको थियो र उहाँहरू मैले यहाँ व्यक्त गरेका कुराहरूसित पूर्णरूपमा सहमत हुनुहुन्थ्यो।”2

यो त साँच्ची नै एउटा डरलाग्दो अभिव्यक्ति हो! इभान्जेलिकल ईश्वरशास्त्रीहरू मध्येका एक अग्रज, रोमन क्याथोलिकवादप्रति हामी खुल्ला हुनुपर्छ भनेर मात्र ठान्नुहुन्न तर उहाँको यस्तो भावनाप्रति सहानुभूति राख्‍ने त्यहाँ उहाँका धेरैजना मित्रहरू छन्। उहाँहरूको प्रभावमनि आइपर्ने हजारौं जवान विद्यार्थीहरू लगायत इभान्जेलिकल मण्डलीहरूका सदस्यहरूका निम्ति यो राम्रो लक्षण होइन। रोमका झूटा शिक्षाहरूलाई हामीहरूले अबदेखि उसो विरोध गर्नु आवश्यक छैन कारण ती शिक्षाहरू वास्तवमा “झूटा” (heresies) होइनन् भन्ने धारणा अब चाँडै नै व्यापक बन्नेछ।


  1. Press release by Baptist Press, March 4, 1994.
  2. “If We Don’t Hang Together, We’re Going to Hang Separately,” Interview with Norman Geisler, The Southern Cross, January 13, 1994.

यी पृष्ठहरू डा. अर्नेस्ट पिकरिङ्गको Holding Hands with the Pope – The Current Evangelical Craze बाट नेपालीमा रूपान्तर गरिएका हुन्।

Print Friendly, PDF & Email