पुरुष र स्त्री बीचको भिन्नता

पुरुष र स्त्री बीचको भिन्नता

 

स्त्रीको नाङ्गोपनाले पुरुषहरूलाई कसरी असर पार्छ भनेर ख्रीष्टियन स्त्रीहरूले बुझ्न खाँचो छ। जब परमेश्‍वरले पुरुष र स्त्रीको सृष्टि गर्नुभयो उहाँले उनीहरूलाई फरक-फरक बनाउनुभयो। अथवा शरीरको बनावट मात्रै होइन तर पुरुष र स्त्रीको हेराइ र मनको सोचाइ पनि भिन्दै बनाउनुभयो। उदहारणको लागि, जब एउटी महिलाले पुरुषलाई धारामा नुहाइरहेको देख्छिन् तब त्यस महिलाको मनमा कस्तो विचार आउला? सायद उनले त्यति वास्तै गर्दिनन् होला। झट्ट मनमा केहि आयो भने यस्तो विचार गर्छिन् होला – “छी! कत्रो ठूलो पेट!” वा “पाखुरा कति सानो रहेछ!” तर त्योभन्दा बढी कुनै साधारण स्त्रीले सोच्दिनन्।

एक क्षण विचार गरौं- यदि पुरुषले कुनै राम्री महिलालाई धारामा नुहाइरहेकी देख्छ भने के हुन्छ? यो त अर्कै कुरा हो! उसको मनमा अनेक बिचारहरू आउन सक्छन्। “चिटिक्क परेको जिउ – उनीसँग सुत्‍न पाए हुन्थ्यो” भनेर सोच्न सक्छ। वा “उनले सबै लुगा फुकालेको देख्‍न पाए कति मज्जा हुन्थ्यो!”

पुरुषहरू उनीहरूले देखेका कुराहरूद्वारा परीक्षामा पर्छन् र पापपूर्ण विचारहरूमा डुब्न सक्छन्। महिलाहरू कुनै सुन्दरलाई देखेर पापपूर्ण कल्पनामा डुब्ने जोखिममा हुँदैनन्। किनभने स्त्री कुनै पुरुषको फोटोलाई हेरेर वा राम्रो पुरुषलाई बाटोमा हिँडेको देखेर उप्रति कुइच्छाले जल्ने सम्भावना कम नै हुन्छ। तर जुनसुकै पुरुषले (चाहे विश्‍वासी होस् वा अविश्‍वासी) बाटोमा एउटी युवती छाडा लुगा लगाएर हिँडिरहेको देख्यो भने त्यो पुरुषको मनमा पापपूर्ण विचारहरू आउन सक्छ र अभिलाषामा फस्न सक्छ। कुनै पनि केटाले नाङ्गो स्त्रीको फोटो देख्छ भने उसलाई त्यो स्त्रीलाई छुन मन लाग्छ, उनीसँग व्यभिचार गर्न मन लाग्छ। त्यति मात्र होइन, उसको मनमा त्यो दृष्य आइरहन सक्छ – व्यभिचार गरेको कल्पना खेलिरहन सक्छ। आफ्नो श्रीमतिलाई बाहेक, जब एउटा पुरुषले अरु कुनै महिलालाई नाङ्गो अवस्थामा देख्छ, तब उसले आफ्नो मन र हृदयमा पाप गर्न सक्छ।

माथि उल्लेखित कुराहरूको कारण हामी यस पुस्तिका लेख्‍न बाध्य भएका छौं। सबै पुरुषहरू महिलाको लुगा लगाउने ढाँचाद्वारा प्रभावित हुन्छन् भनेर विश्‍वासी दिदीबहिनीहरूलाई जानकारी दिलाउन चाहन्छौं। स्त्रीको लुगा लगाउने ढाँचाले पुरुषलाई पापमा डोर्‍याउन सक्छ भनेर ख्रीष्टियान दिदीबहिनीहरूले बुझ्न आवश्‍यक छ। त्यसैले सबै दिदीबहिनीहरू उचित र अनुचित पोशाकलाई छुट्याउन सक्ने हुनुपर्छ र होशियारीपुर्वक आफ्नो लुगा लगाउने ढाँचाको जाँच गर्न सक्ने हुनुपर्छ।

यो पृष्ठ नयाँ सृष्टि प्रकाशनको पुस्तिका बाइबलीय पहिरन – एक चुनौति! (पहिलो संस्करण २०६५) बाट प्रकाशकको अनुमतिले यहाँ समावेश गरिएको हो। प्रकाशकलाई Psalm40verse5@gmail.com मा सम्पर्क गर्न सकिन्छ।

Print Friendly, PDF & Email