जीवन गवाही – दिपेन्द्र नेपाली

मेरा हजुरबुवाको निम्ति जेठो नातिको रूपमा र मेरा ड्याडी मम्मीको निम्ति एउटै छोरोको रूपमा मिति २०४९-४-९ गते मेरो जन्म भक्तपूर जिल्लामा भएको थियो । शायद मेरो परिवार सानो भएको हुनाले पनि होला परिवारमा हामी सबै एक-अर्कासँग एकदमै नजिक थियौं र प्रभुको अनुग्रहले अहिले पनि छौं । अहिले म प्रभुलाई धन्यवाद दिन्छु कि मेरा ड्याडि मम्मीले मलाई राम्रोसँग वास्ता गर्नुहुन्थ्यो र धेरै प्रेम गर्नुहुन्थ्यो र गर्नुहुन्छ पनि तर प्रभुलाई पाउनुभन्दा अगाडि मैले त्यस कुरालाई राम्ररी बुझ्न सकिरहेको थिइनँ
उमेर बढ्दै जाने क्रममा मेरो घुलमिल हुने ठाउँहरू पनि केही मात्रामा बढ्यो । सानैदेखि मेरा ड्याडिमम्मीले मलाई साथीहरूसँग धेरै घुलमिल भएर यताउता जान दिनुहुन्नथ्यो । समाजमा र स्कूलमा एउटा सोझो केटोको रूपमा म चिनिन्थेँ । अधिकांश मानिसहरूले मलाई असल र राम्रै केटोको रूपमा हेर्थे । सबै मानिसहरूबाटको त्यो गवाही पाएपछि आफूलाई पनि म त राम्रो मान्छे हुँ नि भन्ने महशुस हुन्थ्यो । मेरो हृदय भित्र भएका ती घृणित खराब कुराहरूलाई भने मैले बुझ्न सकिरहेको थिइनँ कारण म आफ्नै मार्गमा आफूले आफैलाई राम्रो ठान्दै अगाडि बढिरहेको थिएँ ।
म ठूलो हुँदै जाने क्रममा मभित्र भएका ती पापपूर्ण कुराहरूले अब आफ्नो असली रूप देखाउन थाले । मलाई प्रेम गर्ने मेरा अभिभावकहरूको प्रेम अब मेरो निम्ति त्यो त एउटा क्रूर शासन जस्तो लाग्न थाल्यो किनभने उहाँहरूले मलाई धेरैचोटी मैले इच्छा गरे अनुसारले साथीहरूसँग यताउति घुम्न जान पनि दिनुहुन्नथ्यो । अनि मैले उहाँहरूलाई मेरो हृदयमा घृणा गर्न थालेँ र म यसरी सोच्थेँ कि ‘एकदिन जब म ठूलो हुन्छु र आफै कमाउन थाल्छु, त्यसपछि म आफै आफ्नो इच्छाअनुसारले जीवन जिउँछु र यिनीहरूलाई एक पैसा पनि दिन्नँ अनि वास्ता पनि गर्दिनँ ।’ मैले उहाँहरूको साँचो मायालाई कत्तिचोटी घृणामा परिणत गरेँ र उहाँहरूका धेरै आज्ञाहरूलाई मैले उलङ्घन गरेँ र उहाँहरूसँग कतिचोटी धेरै रिसाएँ र मन भित्र-भित्रै उहाँहरूप्रति चिढिएँ । अनि कतिचोटी उहाँहरूको आँखा छलेर साथीसँग यताउता पनि गएँ ।

ख्रीष्टमा आउनुअघिको मेरो लवाइ यस्तो थियो
विद्यालयमा पनि बाहिरचाहिँ राम्रो बानीबेहोरा देखाएकोले शिक्षकहरू तथा कति साथीहरूको माझमा राम्रै व्यक्तिको रूपमा परिचित थिएँ । तर ती शिक्षकहरू र साथीहरूलाई के थाहा कि उहाँहरूसँग कतिचोटी मैले झूट बोलेको कुरा र उहाँहरूको कुरा अरूहरूसँग काटेको र उहाँहरूप्रति कतिचोटी खराब विचार गरेको थिएँ भनेर । जब म ८ कक्षामा पुगेँ मेरो मनपर्ने विषय भनेको गणित बन्यो र मैले आफूलाई नै त्यस विषयमा सबैभन्दा माथि ल्याउने खुबै प्रयत्न गरे । जब प्रथम र द्वितीय विद्यार्थीहरूले त्यस विषयमा बढी अङ्क ल्याउँथे तब म उनीहरूप्रति साह्रै चिढिन्थेँ र उनीहरूलाई मैले मेरो मनमा धेरै घृणा गर्थे ।
म सानैदेखि सङ्गीतमा रूची राख्ने व्यक्ति भएकोले केही बाजाहरू पनि बजाउन सिकेको थिएँ र एक सांसारिक सांगीतिक व्याण्डमा पनि आबद्ध भएँ र त्यहाँ अझै सांसारिक सङ्गीतहरू बजाउन सिक्दै गएँ र केही समय पछि क्लारिनेट बजाउन सिकेँ र त्यस व्याण्डमा क्लारिनेट बजाउँथेँ । सामान्यतया त्यो बाजा बजाउनेलाई धेरैले आदर गर्थे र मलाई पनि सानै उमेरमा बजाउन सिकेको भनेर कति मान्छेहरूले वा-वा गर्थे अनि त्यस्तो प्रशंसा सुनेपछि मेरो हृदयको घमण्ड मैयूरको मुजुरसरी फररर फिँजिन्थ्यो ।
खास म ईश्वरहरूप्रति त्यति धेरै लिप्त भएको व्यक्ति त थिइनँ तरै पनि आफ्ना स्वार्थपूर्ण विविध चाहनाहरू प्राप्ति र अरूहरूको देखावटीको लागि समय-समयमा मन्दिरहरूमा जाने गर्थेँ अनि त्यहाँ भएका मूर्तीहरूलाई पूजा गर्थे र तिनीहरूलाई ढोग्थेँ र बेला-बेलामा बर्त पनि बस्थेँ । यसरी मैले साँचो परमेश्वरको विरोधमा ती झूटा कथित ईश्वरहरू भनिने ढुङ्गाका मूर्तिहरूलाई पूजेर जीवित परमेश्वरको विरोधमा पाप गरिरहेथेँ ।
यसरी यस्ता यी हृदयभित्रका खराब कुराहरू रिस, घमण्ड, लोभ, मूर्तिपूजा, चोरी, हृदयमा गरिने हत्या र व्यभिचार, बुवाआमाप्रतिको अनाज्ञाकारिता, खराब बोलीहरू जस्ता कयौं पापपूर्ण कुराहरूमा म बढिरहेको थिएँ र झन् यस शारीरिक जीवनमा जति बढ्दै थिएँ त्यति नै यस्ता कुराहरूमा म झन्-झन् बढ्दै गइरहेको थिएँ ।
मेरो जीवनको उद्देश्य भनेको म समाजमा मानिसहरूले आदर गर्ने स्थानमा रहेर जिउन चाहन्थे र आफू आर्थिक तथा सामाजिक दृष्टिकोणले समाजमा राम्रै स्तरमा रहेर बाँच्नु र केही आदरणीय नाम कमाउनु थियो । त्यो उद्देश्य प्राप्तिको लागि मैले जीवनमा केही अरू उद्देश्यहरू बनाएँ ।
मलाई सानैदेखि गाउन मनपर्ने भएकोले म गायक पनि बन्न चाहन्थेँ जसले गर्दा नाम र आर्थिक कुरा दुवै प्राप्ति हुन्थ्यो ।
कि त म आफ्नै व्यापार व्यवसाय शुरू गर्न चाहन्थे र मेरो उद्देश्य यसमार्फत पूरा गर्न चाहन्थे ।
मेरो गणित पढाउने शिक्षकको जीवनबाट मलाई ठूलो प्रभाव परेको थियो । उहाँले भन्नुहुन्थ्यो कि म यति बजे यो ठाउँमा पढाउँछु, फेरि यति बजे त्यहाँ पढाउँछु भन्ने जस्ता यस्तै विभिन्न कुराहरू कहिलेकाहीँ हाम्रो अतिरिक्त गणित कक्षामा गर्नुहुन्थ्यो र आफ्नो व्यस्त जीवनको बारेमा बताउनुहुन्थ्यो । अनि मलाई पनि त्यस्तै बन्ने ठूलो इच्छा भएर आउँथ्यो र त्यसरी नै गणित राम्ररी सिकेर विभिन्न ठाउँमा पढाउँदै नाम पनि र दाम पनि दुवै कमाउन चाहन्थेँ ।
यसरी मैले मेरो जीवनमा यस्ता लक्ष्यहरू राखेको थिएँ । सामान्य रूपमा हेर्दा यी कुराहरू ठिकै देखिन्थे तर मैले मेरो जीवनमा ठूलो पाप गरिरहेको थिएँ कि मैले मलाई बनाउनुहुने परमेश्वरको खोजी नगरेर सांसारिक र भौतिक कुराहरूको मात्र खोजी गरेर त्यसलाई नै मूर्ति बनाइरहेको थिएँ जबकि ती कुराहरू त एकदिन चाँडै नै नाश भएर जान्छन् !
यसरी जीवनमा अनेकौं सपनाहरू सङ्गाल्दै म मेरो पापपूर्ण इच्छाहरूतर्फ निष्फिक्रीका साथ अघि लम्किरहेको थिएँ । मैले मेरो जीवन सम्बन्धी गम्भीर प्रश्नहरूको बारेमा कहिल्यै सोचिनँ कि म यहाँ किन जन्मे ? कसले मलाई सृष्टि गर्नुभयो ? म एकदिन मर्दैछु अनि त्यसपछि के हुन्छ ? यस्ता कुराहरूको बारेमा मैले विचार नै गरेको थिइनँ ।
२०६३ सालको एक समय मेरो गाउँमा सुसमाचार प्रचार गर्न भनेर क्यारिजम्याटिक चर्चका मानिसहरूको प्रवेश भयो । उहाँहरूको प्रवेशको निरन्तरता बढ्दै गयो । त्यसबेलामा मेरो गाउँका धेरै मानिसहरू हामी पनि ख्रीष्टियान बन्ने भन्दै उहाँहरूको सभाहरूमा जान थाल्नुभएको थियो । अनि हामी पनि कहिलेकहीँ त्यहाँ जान थाल्यौं ।
हाम्रो सानो परिवार हाम्रो आफ्नै दृष्टिमा खुशी र सुखी थियो तर कहिलेकहीँ भने मेरी मम्मीलाई बेलाबेलामा दुष्ट आत्माले दु:ख दिन्थो र मेरी बहिनी पनि धेरैजसो समय बिरामी भइराख्थिन् धेरै उपचारहरू पनि गरियो तर त्यसले काम गरेन अनि झाक्रीहरूकोमा पनि धेरै धाइयो तर त्यसले पनि केही काम गरेन । त्यसकारणले गर्दा हाम्रो परिवारमा कहिलेकाहिँ दु:खद् परिस्थितिहरू पनि आउने गर्थ्यो । अनि हामीले सुन्यौं कि यदि चर्चमा गयो भने त यस्ता दुष्ट आत्माहरूदेखि पनि छुटकारा पाइन्छ र बिरामी पनि निको हुन्छ रे ! अनि त्यसबेलाको सोचाइअनुसार हाम्रो परिवारमा पनि हामीलाई चाहिएको एउटै कुरा भनेको त्यही नै थियो कि दुष्ट आत्माहरूबाट छुटकारा र बिरामीबाट निको ! त्यस पश्चात् हामीले विचार गर्यौं कि हामी त्यसोभए अब चर्चमा नै जानुपर्छ । एकदिन साँझ मेरा ड्याडीले भन्नुभयो: “ल हामी निर्णय गरौं, चर्चमा जाने हो भने सबै परिवार चर्चमा जाने यदि चर्चमा नजाने हो भने हामी कोही पनि चर्चमा नजाने ।” ड्याडिको यो कुरा सुनेपछि हामीले भन्यौँ, ड्याडि हामी सबैजना चर्चमा नै जानुपर्छ यस्ता मूर्तिहरूलाई पूजेर के नै पो हुने रहेछ र ? अनि ड्याडिले पनि त्यस कुरालाई समर्थन गर्नुभयो र भन्नुभयो, “ल ठिक छ त्यसोभए हामी सबैजना चर्चमा नै जाने ।”
प्रभुलाई चिन्नको लागि हामीलाई यो एउटा राम्रो मौका बन्यो । यसरी हामी चर्चमा जान थाल्यौं र त्यहाँका भजनहरू र सभाका प्रणालीहरूमा परिचित हुन थाल्यौं । हामीले सुसमाचारको केही अंशहरू सुन्यौं तर त्यसलाई गहिरो गरी गम्भीर भएर हामीलाई सिकाइएन । पछि मैले यो कुरा बुझेँ कि हामीले त्यत्तिकैमा एउटा धर्म परिवर्तन गरेर ख्रीष्टियान भएका रहेछौँ र पाष्टरले भनेका शब्दहरू दोहोर्याउँदै हामीले केवल मुखले मात्र प्रभुलाई ग्रहण गरेका रहेछौँ ।
यसरी समय बित्दै गयो । त्यहाँको मण्डलीमा हुने व्यक्तिहरूको नराम्रो व्यवहार र गवाहीको कारणले हामीले अर्कै कुनै राम्रो चर्च खोज्नुपर्छ भनेर चर्चको खोजीमा भौतारियौं । कहिले यता चर्चमा गयौं त कहिले उता । यसरी खोज्ने क्रममा तीनचार ओटा चर्चहरूमा गयौं ।
म अहिले आएर बुझ्छु कि परमेश्वरले हाम्रो परिवारमा आफ्नो प्रेमिलो दृष्टि लगाइराख्नुभएको थियो । उहाँले हाम्रो परिवारको खोजी जान्नुहुन्थ्यो । त्यसै समयतिर मेरा ड्याडिले काम गर्नुहुने ठाउँमा एकजना विश्वासी हुनुहुँदो रहेछ अनि मेरा ड्याडि र उहाँको बीचमा परिचय भएछ अनि उहाँले नै मेरा ड्याडिलाई उहाँको चर्चमा आउन निमन्त्रणा दिनुभएछ । अनि त्यस हप्ता ड्याडि उहाँकै चर्चमा जानुभएछ र त्यहाँको चर्चको सभाको प्रणालीहरू देख्दा उहाँलाई साह्रै राम्रो लागेछ कि शान्त वातावरण थियो र प्रायजसो सबै विश्वासीहरूले प्रचारहरू राम्ररी सुनिरहेका र नोट पनि गरिरहेका थिए ।
अनि ड्याडि घरमा आउनुभयो र त्यो चर्चको बारेमा बताउनुभयो खासमा त्यो चर्च सङ्गति चर्च थियो । अनि ड्याडिले भन्नुभयो कि, सङ्गति चर्च राम्रो छ र त्यहाँ हामीले धेरै सिक्न सक्छौं ।
त्यसपछि सङ्गति चर्चमा २०६५ सालको असोजतिर ड्याडिले मलाई लिएर जानुभयो । त्यहाँ गएपिछ मैले त्यहाँको सभाको शैली र भजनहरू त सबै फरक पाएँ अनि कताकता यो त झूटो चर्च पो हो कि के हो ? भन्नेजस्तो भान मलाई पर्यो । तर सभा सकिएपछि हामीजस्ता नयाँ आगन्तुकहरूलाई राजेन्द्र दाइले छुट्टै कोठामा लगेर फेरि बाइबलबाट सिकाउनुभयो अनि उहाँले सिकाउनुभएपछि मैले विचार गरेँ कि यहाँ पो त साँच्चिकै बाइबलमा भएका कुराहरू राम्ररी सिकाइदो रहेछ । त्यसपछि हाम्रो परिवारले सङ्गति चर्चबाट नै परमेश्वरको विषयमा सिक्ने निर्णय गर्यो ।
शुरूका समयहरूमा हामी गाउँमा बस्ने हुँदा र अलिक टाढा भएको र विविध कारणले गर्दा पनि चर्चमा धेरै जाँदैन थियौं त्यसैले चर्चबाट नै दाइहरू हामीलाई सिकाउनको लागि समय-समयमा हाम्रै घरमा आउनुहुन्थ्यो । अनि उहाँहरूले हामीलाई साँचो सुसमाचारको बारेमा, मानिसले परमेश्वरलाई चिन्नु किन खाँचो छ भन्ने बारेमा, परमेश्वरको बारेमा, पापको बारेमा, आत्मिक मृत्युको बारेमा, परमेश्वरको दण्डको बारेमा, परमेश्वरको मुक्तिको प्रबन्धको बारेमा जस्ता आदि एकदमै महत्त्वपूर्ण कुराहरूका बारेमा स्पष्टसँग र गम्भीर भएर सिकाउनुभयो ।
अनि परमेश्वरले बिस्तारै मेरो समझ खोलिदिनुभयो र मैले त साँचोगरी उहाँलाई विश्वास गरेको छैन रहेछु केवल मैले त एउटा ख्रीष्टियान धर्म मात्र पो पछ्याइरहेको रहेछु र म परमेश्वरको दण्डको योग्य छु र मेरा पापहरूले मलाई नरक पुर्याउँदैछ भनेर विचार गर्न थालेँ । लामो समयसम्म दाइहरूले सिकाउनुभएपछि मैले ती सत्यताहरूलाई बिस्तारै बुझ्न थालेँ ।
अनि मेरो जीवनमा एक समय आयो, मेरो गाउँमा एकजना हजुरआमा ज्यादै बिरामी भएर मर्न लाग्दै हुनुहुन्थ्यो अनि म पनि त्यहाँ हेर्न गएको थिएँ र मैले त्यसबेला मृत्युको बारेमा गम्भीर भएर सोँचे र म ज्यादै डराएँ र परमेश्वरको पापप्रतिको पवित्र न्यायलाई सम्झेँ, त्यो नरक आगोको झील ! मैले गरेका पापहरू सम्झेँ अनि मैले परमेश्वरको प्रेम र उहाँको पुत्रको बलिदानलाई सम्झेँ त्यसपछि मैले मेरा विगतका पापहरू जो मैले परमेश्वरको विरोधमा गरेको थिएँ त्यसबाट पश्चात्ताप गरेँ र मेरा पापहरूदेखि मलाई बचाइदिनुहोस् भनेर परमेश्वरसँग पापहरूका क्षमा मागेँ अनि मेरा पापहरूका निम्ति येशू मेरो ठाउँमा रगत बगाइकन मर्नुभयो, गाडिनुभयो र तेस्रो दिनमा बौरेर उठ्नुभयो भनी उहाँमाथि पूर्ण रूपले हृदयदेखि विश्वास गरे यसरी उहाँलाई मात्र मेरा प्रभु र मुक्तिदाताको रूपमा ग्रहण गरेँ । अनि उहाँकै प्रतिज्ञाअनुसार मैले उहाँमा अनन्त जीवन पाएको छु र म मेरा प्रभु जो मेरो लागि बलिदान हुनुभयो उहाँको कारणले नाश हुनु पर्दैन (यूहन्ना ३:१६) । उहाँले मजस्तो पापीलाई पनि बचाउनुभयो र नयाँ जीवन दिनुभयो ।
हाम्रो परिवारले केवल शारीरिक रोगबिमारबाट निको हुन र परिवारमा सबै कुराहरू राम्रो हुनको निम्ति प्रभुलाई खोज्दै थियो तर उहाँको दया कति महान् छ कि उहाँले हामीलाई हाम्रो अनन्तसम्मको पापको कारणले लागेको आत्मिक रोग निको पार्नुभयो र अनन्तसम्मलाई शान्ति र विश्राम दिनुभयो । प्रभुलाई धन्यवाद होस् !
म पापी थिएँ बाँचे अनुग्रहले !!!!!
यसरी प्रभुलाई पाएपछि केही समयको अन्तरालपछि बहिनी र म सकेसम्म हरेक हप्ता नै चर्चमा जान थाल्यौं र प्रभुले हामीलाई उहाँका अद्भुत वचनहरू सिकाउँदै लैजानुभयो । अनि मेरो पहिलाको जीवनका उद्देश्यहरू र सोचाइ र विचारहरू परिवर्तन भए । मेरो जीवन परिवर्तन भयो ।
प्रभुलाई विश्वास गरेपछि कति परिक्षाहरू आए, संसारलाई चुन्ने कि प्रभुलाई चुन्ने भन्ने विषयमा । परमेश्वरको वचनले संसारदेखि अलग हुनु भनेको छ यो कुरा बुझेपछि मैले त्यो सांसारिक व्याण्डको काम पनि छोडेँ । तर कति मानिसहरू मेरो घरमा नै आएर त्यसबेला धेरै पैसाको प्रलोभन देखाएर मलाई त्यही काममा राख्न चाहन्थे तर प्रभुको अनुग्रहले म त्यसमाथि विजयी भएँ ।
अनि जब बाइबल कलेज स्थापना भयो त्यसबेलामा पनि मलाई ठूलो परिक्षा भयो । त्यसबेलामा म BBS 1st Year मा पढ्दै थिएँ । बाइबल कलेज पढ्ने कि सांसारिक कलेज पढ्ने, ठूलो रोजाइ र छनौटको विषय थियो । यदि म बाइबल कलेज गएँ भने मैले BBS को चार वर्षीय कोर्स पूरा गर्न मसँग पर्याप्त समय हुँदैन थियो कारण त्यो चार वर्षको कोर्स बढीमा सात वर्षभित्र सकिसक्नुपर्नेथ्यो । तर जब मेरो BBS 1st Year को Final Exam पनि सकियो ठीक त्यही बेला शरण स्मृति बाइबल कलेज पनि शुरू भयो । म बाइबल सिक्न चाहन्थेँ अझै परमेश्वरका कुराहरू जान्न चाहन्थेँ । म प्रभुको सेवा गर्न चाहन्थेँ तर कसरी गर्ने हो भनेर मलाई थाहा थिएन र एउटा कुराचाहिँ मलाई थाहा थियो कि मैले राम्ररी बाइबल सिक्नुपर्छ । अनि प्रभुको अनुग्रहले मैले BBS पढाइ छोडेँ र प्रभुको निम्ति एक सेवक बन्नको लागि बरू बाइबल कलेज नै पढ्ने निर्णय गरेँ । यसमा मेरा अभिभावकले पनि मलाई समर्थन गर्नुभयो । यसरी मैले प्रभुको निम्ति त्यागेका सांसारिक कुराहरूका निम्ति म कहिले पनि पछुताएको छैन र कहिले पनि पछुताउनु पर्ने पनि छैन । बाइबल कलेज मेरो लागि धेरै सहयोगी बन्यो कि मैले कति कुराहरू व्यवहारिक रूपमा नै सिक्न पाएँ । बाइबल कलेजको पढाइको अवधिमा परिक्षाहरू र गाह्रो अवस्थाहरू नआएका होइनन् र केही पटक त बाइबल कलेज छोड्नुपर्छ कि भन्ने सोच पनि नआएको होइन तर यी सबै कुराहरूमा प्रभुले मलाई अनुग्रह दिनुभयो र उहाँले नै शुरू गर्नुभएको यो काम उहाँले नै पूरा पनि गर्नुभयो ।
म प्रभुलाई अहिले धेरै धन्यवाद दिन्छु किनकि मैले अनन्त सम्म रहिरहने कुराहरू सिक्न पाएको छु र उहाँको काममा सेवा गर्नलाई केही भाग पाएको छु । जुन कुरा अनन्त सम्म रहिरहन्छ । हुन त म धेरै कुराहरूमा कमजोर छु तर उहाँको अनुग्रहले उहाँले मलाई उठाउनुहुन्छ र बल दिनुहुन्छ अनि सेवामा प्रयोग गर्नुहुन्छ ।
प्रभुको सहायताले उहाँले मलाई दिनुभएका कुराहरू प्रयोग गर्दै जीवनभर उहाँको निम्ति सेवा गर्ने इच्छा प्रभुले दिनुभएको छ । उहाँको सामु पुग्दा एकदिन उहाँबाट “स्याबास, असल र विश्वासयोग्य दास !” भन्ने उहाँको आवाज सुन्न ठूलो इच्छा छ !
धन्यवाद!