मैले कसरी नयाँ जीवन पाएँ – मङ्गल रोकाया

– मङ्गल रोकाया

मेरो जन्म २०४१ सालको जेठ २५ गते हालको धुनीबेसी नगरपालिका वडा नं. ५ को लामिछानेटारमा भएको हो । म सानो हुँदा प्राय: विरामी भइरहने र रोगी खालको थिएँ । त्यो समयमा कतिपटक म विरामी हुँदा बेहोस पनि हुन्थें । ती कुराहरूको मलाई अहिले पनि राम्रै सम्झना छ ।

म सानैदेखि धेरै घमण्डी र रिसाहा खालको मान्छे थिएँ । आफूले भनेका र मागेका कुराहरू पाउनुपर्ने, नपाएमा रोइहाल्ने जिद्दी स्वभावको थिएँ । सानोमा दराज, ट्याङ्कातिरको पैसाहरू चोरेर चाउचाउ किनेर खान्थें, साईकल भाडामा लिएर चलाउने गर्थें, घरमा राखेको दूधको तर, घीउ लुकीलुकी चोरेर खाइदिने गर्थें।

मेरो हालसम्मको शैक्षिक योग्यता चाहिँ ब्याचलर पास हो । मेरो कक्षा १ देखि १० सम्मको पढाइ एकदमै राम्रो थियो, म प्राय: गरेर प्रथम द्वित्तीय र तृत्तीय भित्र पर्थें । उच्च शिक्षा लेवलमा चाहिँ मेरो पढाइ राम्रो भएन किनकि मैले त्यत्ति राम्रो ध्यान दिएर पढिनँ ।

म कक्षा ९ र १० मा पढ्दा मलाई केटासाथीहरू हुँदाहुँदै पनि केटी साथीहरू बनाउन मन लाग्थ्यो र मेरो पढाइ राम्रो भएर होला उनीहरू मसँग पढ्न सिक्‍न आउँथे। एवम् रीतिले मेरो केटी साथीहरूसँग बढी घुलमिल हुने गर्थ्यो। उनीहरू मसँग बसेर फोटो खिचाउन मन पराउँथे, दाँया-बाँया केटीहरू र आफू बीचमा बसेर फोटो खिचिन्थ्यो। अनि केटाहरूले मलाई प्लेब्वाई भनेर जिस्काउँथे । यी कुराहरूले गर्दा ममा आफू सुन्दर र ह्यान्डसम भएकोले केटीहरूले आफूलाई मन पराएको भन्ने घमण्डको भूत चढ्न थाल्यो। तरैपनि मैले केटीसाथीहरूबाट गलत र अनैतिक फाइदा उठाइने काम गरिनँ, किनकि मैले परमेश्वरलाई नचिने पनि उहाँले मेरो हृदयमा राखिदिनुएको विवेकले काम गरिरहेको थियो ।

२०५८ साल माघ महिनाको एक रातको कुरा हो। म १७ वर्षको थिएँ। आर्मीले राती घर घेरा हाली मेरो दाईलाई समातेर लग्यो। सङ्कटकालको समय थियो अनि दाई भूमिगत रूपमा माओवादी पार्टीमा लागेको थियो । दाईलाई समातेर लगेको कारणले गर्दा त्यसको बदला लिने विचार ममा आयो। साथै त्यो समयमा समाजमा छुवाछुत एकदमै गरिन्थ्यो, हेपिन्थ्यो। अब त्यसको पनि बदला लिने मेरो मुख्य लक्ष्य बनाएँ। बदला लिन सक्‍न म शारीरिक रूपमा बलवान हुनुपर्छ र छुवाछुत गर्नेलाई पिटेर, थर्काएरै तह लगाउनुपर्छ भन्ने भावना ममा आउन थाल्यो। साथै  एउटा नाम चलेको हिरो बन्ने सोंच ममा आयो ।

त्यसपछि म घरमै एकदमै कडा कसरत गर्न थालें । म आफैं एक्लै घरमा साँझ-साँझमा कराँते जस्तै सिक्‍न थाले । जिमको एक्सरसाइज पनि घरमै गर्न थालें र आफ्नो जिउडाल विशेष बनाएँ। मैले कम्मर ३१ ईन्च, छाती फुलाउँदा ४० ईन्च र पाखुरा फुलाउँदा १४ ईन्च बनाएँ । त्यसपछि ममा बलको, रूपको शारीरिक घमण्ड बढ्न थाल्यो । त्यो समयमा म हान्ने राँगोजस्तै झम्टिहाल्ने खालको भइसकेको थिएँ । 

त्यसपछि म काठमाण्डौंमा आर. आर. क्याम्पस आई. ए. मा भर्ना भएँ — पत्रकारीता र मेजर नेपाली विषय लिएर।

म सानैदेखि मूर्तिपूजा गर्ने, रीतिथिति मान्ने कट्टर हिन्दू थिएँ । साथै म क्याम्पस जान भनेर निस्कनुअघि विभिन्न कथित देवी-देउताकका नाम लिएर उनीहरूसँग सुरक्षा मागेर मात्र घरबाट निस्कने गर्थें। 

जब म क्याम्पस जानको लागि लोकल बस चढ्थें तब उक्त बस त्यो बेलाको सङ्कट कालको कारणले दुई ठाँउमा प्रहरी चेकिङ्गको लागि रोकिन्थ्यो र सबै पेसिन्जरहरू झारिन्थ्यो । चेकिङ्ग गरिसकेपछि पुनः बस चढिन्थ्यो । अनि म बसेको सिटमा यदि कोही युवा मानिस बस्यो भने ऊसँग मेरो झगडा पर्दथ्यो । उसलाई म जबरजस्ती उठाएर आफू सिटमा बस्थें । तर असक्त, बूढापाका, बच्चा बोकेका सुत्केरी, विरामी छन् भने म आफै आफू बसेको सिट छोडिदिन्थें र बस्‍नुस् भनी आग्रह गर्दथें । मेरो यस्तो व्यवहार चाहिँ राजेश हमालले मेरो हृदय चोरेको प्रमाण थियो । बसमा, माइक्रो बसमा चढ्दा पनि म कहिले भाडा थोरै दिने, माग्यो भने खुद्रा छैन भनी रिसाउने, ड्राइभर र खलासीसँग झगडा गरी थर्काउने बानी थियो मेरो । घरबाट चाहिँ क्याम्पस पढ्न भनी हिँडेको मान्छे, पढ्न नगई डान्स सिक्‍न भोटाहिटी जान्थें। क्याम्पसमा सरले भित्र ढोका ढेपेर पढाइरहेको बेलामा ढोका खोलेर “मे आई कम ईन सर” नभनीकनै म भित्र पस्थें र ढोका एकदमै जोडले हातले पछाडी हुत्याई एक्सन निकालेर  ढोका लगाउँथें। सबै साथीहरू र सर चकित भएर हेर्थे । सबै केटीहरूको ध्यान आफूतिर तान्नको लागि टाइट कपडा लगाउने, आँखीभौं उखेल्ने, क्रिम पाउडर लगाउने, हेराइमा र लवाइमा कामुकता प्रदर्शन गर्ने, हिन्दी फिल्म “तेरेनाम” को सलमान खानको जस्तो कपाल पाल्ने, सानो निहुँमा झगडा गर्न गइहाल्ने, दुईचार जना मान्छेलाई नगन्ने, ठिक पारिहाल्छु नि भन्ने अहमता पालेर हिड्ने दुष्टमा पनि महादुष्ट खालको मान्छे थिएँ म । त्यो बेलाको मेरो व्यवहार हेर्ने हो भने कि त मैले एकदुई जनाको ज्यान लिन्थें होला कि अरूले मेरो ज्यान लिन्थे होला, तर त्यस्तो घटना हुन नपाउँदै मेरो त्यो दादागीरी र घमण्ड लामो समय टिकेन । त्यसैघडी मैले सत्य परमेश्वरलाई नचिनेको भए तापनि उहाँले मलाई चिन्नुहुन्थ्यो र उहाँले तीखा सुइराहरूले मलाई घोच्न थाल्नुभयो। 

त्यसबेला मलाई जण्डिस रोग देखापर्यो । ज्वरो आउने, हातगोडा गल्ने, वाकवाकी लाग्‍ने र खान मन नलाग्‍ने समस्याहरू ममा देखा पर्न थाले । अनजानमा मैले मुख नबार्दा रोगले दिन-प्रतिदिन मलाई गाह्रो बनाउँदै लग्यो । आयुर्वेदिक औषधी खाएको त त्यो एकदमै तीतो थियो र खानेबित्तिकै मलाई उल्टी आउने गर्थ्यो। फेरि घरेलु जडिबुटीहरू प्रयोग गर्न थालें, खासै कम भएन । विभिन्न मानिसहरूले दिएका सुझाव-सल्लाहअनुसार अन्य औषधीहरू पनि प्रयोग गरें । तर खासै उपलब्धी भएन, तागतिला खानेकुराहरू नखाएको कारणले गर्दा म दिनप्रतिदिन कमजोर हुँदै गएँ। फलस्वरूप म लामै समय विरामी भएँ । सलमान खानको जस्तो मेरो जिउडाल सबै गयो, केवल हाड र छाला मात्र थियो मेरो शरीरमा, जसको कारणले म एकदमै आत्तिने र डराउने हुन थालें । मेरो मुटु हल्लिन्थ्यो, र सास फेर्न गाह्रो हुन्थ्यो, प्रेसर चेक गर्दा एकदमै बढी देखायो । तनावको कारणले अब म लामो समय बाँच्दिनँ होला, बढी बाँचे हप्‍ता-दसदिन बाँच्छु होला भनी मेरो मनले हरेश खाइसकेको थियो । त्यो समयमा मलाई एकदमै रुन मन लाग्थ्यो । त्यति बेला मेरो उमेर करिब बीस-एक्काइस बर्ष पुगेको थियो । अब छिट्टै नै मर्दैछु भनी मेरो मनले हार खाइसकेको थियो । मलाई एकदमै बाँच्न मन थियो, मर्न डर लाग्थ्यो। तर म बाँच्ने कसरी होला? कुनै उपचारले काम गरेको थिएन।

एक दिन म विरामी भएर बसिरहेको बेलामा भिनाजु मलाई झाँक्री लगाउनको लागि भनेर लिन आउनुभयो। भिनाजुको घरमा दुईतीन दिन झाँक्री लगाएँ तर मलाई निको हुन्छ जस्तो लागेन । फूपुदिदीले मलाई चारपाँच वर्षअघिदेखि नै येशू ख्रीष्टको बारेमा बताउनुभएको थियो । उहाँले जुनसुकै रोगी बिरामीहरूलाई पनि निको बनाउनुहुन्छ भनी बाइबलका विभिन्न चङ्गाइका विषयमा बताउनुभएको थियो । त्यस कुरालाई त मैले त्यतिखेर चासै दिएको थिइनँ। उहाँको प्रचारमा खाँटी सुसमाचारको सत्यता त केही थिएन, केवल शारीरिक चङ्गाइको प्रचार मात्र थियो ।

झाँक्रीले पनि मलाई निको बनाउन सक्दैन भन्ने भएपछि सास छउन्जेल आश भनेझैं अब म चर्च जान्छु भन्ने निर्णय गरें। अनि मेरो हृदयमा अन्तरद्वन्द्व चल्न थाल्यो । एउटा मनले भन्छ “तँ चर्चमा नजा, चर्चमा गइस् भने तेरो परिवारले तँलाई हेला गर्छ। घरबाट निकाल्छन्। तँलाई सम्पत्ति दिँदैनन्। साथीभाइहरूले त्याग्छन्, तँलाई घृणा गर्छन्।” अनि अर्को मनले भन्छ “तँ चर्च जा, तँ त्यहाँ गएपछि निको हुन पनि सक्छस्, तेरो लागि साथीभाई, धनसम्पत्ति, परिवार, ईज्जत भन्दा ज्यानै ठूलो हो।” अनि मैले चर्चमा जाने निर्णय गरें। भिनाजुले भोलिपल्ट मलाई बिस्तारै हिँडाएर ढुङ्गेअड्डा चर्चमा लगिदिनुभयो । 

त्यहाँ गएपछि पनि २ दिनको बसाइपछि मलाई निको होला जस्तो लागेन । किनकि मेरो मन धेरै नै आत्तिरहेको थियो । अनि म त्यहाँ बस्दै गर्दा बाइबल पल्टाएर हेर्न थालें, बाइबलका पुराना कुराहरू हेर्दाखेरि मलाई डर लाग्‍न थाल्यो । त्यहाँ बस्दै गर्दा प्रार्थना, सङ्गति हुन्थ्यो तर मलाई निको त भइरहेको थिएन । अनि “ग्रहण गरेपछि दुष्ट आत्मा लागेको भएपनि निको हुन्छ” भनी मलाई बताइयो, त्यसपछि मैले “ग्रहण गर्ने” विचार गरें शारीरिक रूपमा निको हुनको लागि । त्यहाँको ग्रहण गराउने अभ्यास बमोजिम पास्टरले अगाडी पुल्पिटबाट जे शब्द भन्यो त्यही शब्दलाई दोहोर्याएर उच्चारण गरेर “ग्रहण गरें” मैले । त्यसबेला मैले सोच्थें म निको त होऊँ न, त्यसपछि हिन्दू धर्ममा नै फर्किन्छु । एक डेढ महिना म त्यहीँ बसेर आयुर्वेदिक औषधी सेवन गरें । केही कम भयो, त्यसपछि म घरमा फर्कें । घरमा आएपछि म धार्के नवजीवन चर्चमा जान थालें । म घर फर्केको लगभग एक डेढ महिनापछि फेरि ज्वरो आउन थाल्यो र जण्डिस बढ्न थाल्यो, त्यसताका पनि मैले जण्डिसको औषधी निरन्तर नै खाइरहेको थिएँ । मैले मनमनै भनें, “मलाई निको बनाउनको लागि कोही पनि छैन, न औषधी, न देवी देउता, नता येशू ख्रीष्टले नै मलाई निको बनाउनु भयो।” मैले फेरि हरेस खाएँ । “यति सानो उमेरमा मलाई किन यति धेरै दुःख आइपरेको होला?” अब फेरि पनि “म मर्छु होला” भनी मेरो मनले हरेस खायो । म धेरै रोएँ । म रोएको देखेर आमाले “तँलाई येशू धर्म फापेन, छोडिदे” भन्नुभयो । म जानी-नजानी रुँदै भन्थें, “मरे पनि बाँचे पनि म उहाँको नै हो, म मरे पनि मर्छु, बाँचे पनि बाँच्छु, म उहाँलाई छोड्दिनँ।”

केही हप्‍तापछि चर्चबाट “बप्तिस्मा लिनुहोस्, भाइ” भनी पास्टर दाईले भन्नुभयो। बप्‍तिस्मा लिनुको मेरो मुख्य उदेश्य जण्डिसबाट निको हुनु थियो र दुष्ट आत्माले दुःख दिएको हो भने त्यसबाट छुटकारा हुन्छ भन्ने सोंच थियो । मलाई बप्‍तिस्मा सम्बन्धी राम्रो जानकारी थिएन र मेरो बुझाइ गलत थियो । त्यसपछि मैले औषधी नै खान छोडिदिएँ, त्यसपछि मैले करिब १ बर्ष फेरि मुख बारें र त्यसपछि मात्र थोरैथोरै मुख बार्नलाई छाड्दै गएँ ।

यति बेलासम्म पहिले ममा भएको शारीरिक सुन्दरताको घमण्ड र बलको घमण्ड सबै पत्तासाफ भइसकेको थियो, ती सबै बेकारकै रहेछन्, जीवित परमेश्वरले चहानुभयो भने मानिसलाई छिनको छिनमै ठाँउको ठाँउमै ल्याउन सक्‍नुहुँदो रहेछ, उहाँको अगाडी हामी त केही पनि होइनौं रहेछ भन्ने मलाई लाग्‍यो ।

केहि समयपछि मलाई चर्चमा क्‍वायर ग्रूपमा गाउनको लागि भनेर राखियो, म अगाडी गएर गाए पनि भित्र हृदयदेखिनै कहिल्यै पनि उहाँलाई महिमा दिन सकिनँ, मेरो प्राय ओंठे भक्ति नै हुन्थ्यो । विभिन्न नाटक, क्यारिकेचर, जवानहरूको ट्यालेन्ट-शोहरूमा भाग लिए तापनि उहाँको महिमा भन्दा पनि आफ्नै महिमाको निम्ति मैले भाग लिइरहेको हुन्थें । जसले मलाई फेरि पनि शैतानले अर्कै जुक्ति प्रयोग गरी पहिलेको जस्तै घमण्डी, हठी बनाउँदै लैजादैँ थियो ।

दिनहरू बित्दै जाने क्रममा २०६६ सालमा मेरो विवाह गजुरी चर्चबाट भयो । अब हामी पेन्टिकोस्टल चर्च जान थालेको लगभग ८/९ बर्ष भइसकेको थियो । पेन्टिकोस्टल चर्चको पास्टरको जीवनशैली लवाइ-खवाइ ठिक थिएन । जसको कारणले मण्डलीमा भद्रगोल अवस्था सृजना हुन पुग्यो । हामी केही व्यक्तिहरू मिलेर हाम्रा सबै परिवारहरू त्यहाँबाट निस्कने योजना बनायौं र छुट्टै झुण्ड सुरु गर्ने सोंच बनायौं । त्यसपछि दिपकजीले प्रदेश अङ्कलसँग शिक्षा सङ्गतिको लागि अनुरोध गर्नुभयो र हामी अहिलेको खाँटी शिक्षामा आउन पायौं । यो घटना हाम्रो आत्मिक जीवनकै ठूलो मोडको रूपमा हुन गयो । अहिले मलाई एकदमै खुसी लाग्छ, सायद यो घटना नघटेको भए हाम्रो आत्मा र स-परिवारकै आत्मा नरकमा तड्पिनु पर्थ्यो। 

सुरुमा पालुङ चर्चबाट दिलिप दाई आएर हामीलाइ सिकाउन थाल्नुभयो तब हामीले शिक्षामा आकाश जमिनको फरक पाउन थाल्यौं ।

  1. ग्रहणको विषयमा
  2. पवित्र आत्माको विषयमा
  3. मुक्तिको विषयमा 
  4. स्त्रीले मण्डलीमा सिकाउन हुन कि नहुने भन्ने विषयमा 
  5. अलगपनताको विषयमा, आदि ।

मलाई नयाँ जन्म पाउनको लागि पनि लामो समय लाग्यो । किनकि म पेन्टिकोस्टलहरूको भद्रगोल शिक्षामा ८/९ बर्ष भिजिसकेको थिएँ । म २०७२ साल चैत महिनाको समयमा ३ पाङ्ग्रे अटो रिक्सा किनेर चलाउनको लागि नारायणगढमा बस्‍न थालें । त्यसपछि म नारायणगढ चर्चमा शनिबार र सोमबार सभाहरूमा बस्‍न थाले। त्यसपछि मैले कसरी मुक्ति पाउने होला भनी मेरो मनमा विभिन्न प्रश्नहरू उब्जन थाले। मैले सुसमाचारलाई व्यक्तिगत रूपमा लिन सकिराखेको थिइनँ । म आज्ञापालनद्वारा मुक्ति पाउने कोशिशमा थिएँ, मैले मुक्ति कमाएर प्राप्‍त गर्न खोजिराखेको थिएँ । तर एक दिन प्रदेश अङ्कलले शनिबारको सभामा एफेसी २:८-९ पद प्रष्ट रूपमा प्रचार गर्नुभयो । “किनकि तिमीहरूले विश्वासद्वारा अनुग्रहले मुक्ति पाएका छौ, अनि यो तिमीहरू आफैंबाटको होइन, यो परमेश्वरको दान हो । कामहरूबाट होइन, नत्रता कसैले घमण्ड गर्नेछ ।” यो पदले मेरो हृदयमा काम गर्न थाल्यो । म कोठामा गएँ, त्यसलाई साँझमा राम्ररी मनन गरें । सुसमाचारका मुख्य-मुख्य सत्यताहरू (१ कोरिन्थी १५:३-४) लाई पनि राम्ररी मनन गरें अर्थात् प्राचीन भविष्यवाणीहरू दुरुस्त पूरा गर्नुहुँदै परमेश्वरका पुत्र निर्दोष प्रभु येशू ख्रीष्ट मेरै पापको लागि क्रूसमा मर्नुभएको कुरालाई, उहाँ मेरो लागि गाडिनुभएको कुरालाई र उहाँ मेरो लागि तेस्रो दिनमा मृत्युबाट फेरि बौरिउठ्नुभएको कुरालाई । प्रभुसित आफू पापी भएको स्वीकार गरें र पश्चात्ताप गर्दै सुसमाचारलाई व्यक्तिगत बनाएँ । त्यसैको भोलिपल्ट रुस्तमको जन्मदिनमा आफूले मुक्ति पाएको कुरा मैले प्रज्वल भाइलाइ बताएँ, धार्केमा दिपकलाई र मेरी पत्‍नी सृजनालाई पनि फोन गरी बताएँ । 

त्यसको केही महिनापछि म अटो रिक्साको व्याट्री विग्रिएको कारणले मैले सस्तैमा अटो बेची घर फर्कें । घरमा आइसकेपछि मलाई दिनप्रतिदिन मानसिक तनावहरू हुन थाले, आर्थिक कमजोरी, पारिवारिक समस्या, बेरोजगार इत्यादि, जसको कारणले गर्दा मेरो जीवन राम्रो देखिएन । म छिट्टै रिसाउने, घमण्डी हुने, बाइबल अध्ययनमा मन नलाग्‍ने, परिवारमा मनमुटाव हुने जस्ता समस्याहरू देखिन थाले । मैले नयाँ जन्म पाएको छैन कि क्या हो? मैले नयाँ जन्म अथवा मुक्ति पाएको भए मेरो जीवन किन ठिक छैन? जस्ता प्रश्नहरूले मलाई अलमल बनायो । त्यो समयताका प्रदेश अङ्कल, प्रज्वल भाइ, पत्रुस भाइ, दिपेन्द्र भाइहरूले मलाई विभिन्न पदहरू देखाईकन त्यो अलमलबाट छुट्नको लागि सहायता गर्नुभयो । मलाई यो अलमलबाट छुट्नको लागि सहायता गर्ने मुख्य खण्ड १ यूहन्ना १:८-१० थियो । यी पदहरूले मेरो जीवनमा पुनः मुक्तिको निश्चयतामा फर्कनको लागि सहायता गर्‍यो । मैले २०७७ पौष २० गते प्रभु येशू ख्रीष्टको आज्ञामुताबिक पानीको बप्‍तिस्मा लिएँ। मैले बप्‍तिस्मा लिएको केही महिनापछि एक दिन मेरी श्रीमति सृजना पनि परमेश्वरतिर आफ्नो मन फर्काइन् र येशू ख्रीष्टको रगतको बलिदानमा विश्वास गरिन् र नयाँ जन्म पाइन्, जसको कारण मलाई एकदमै खुसी लागेको छ । अब छोराछोरीलाई मुक्तिमा डोर्याउने जिम्मा हामी दुईजनामा आइपरेको छ ।

 

मैले मुक्ति पाइकोले आफैंभित्र देखिएका केही प्रमाणहरू:

  1. मैले मुक्ति पाएदेखि यता पाप गर्दा गाह्रो हुनु, तर पाप स्वीकार गर्दा हृदयमा आनन्द हुनु ।
  2. मुक्तिको लागि छोराछोरीप्रतिको प्रेम ।
  3. छोराछोरीलाई प्रभुमा हुर्काउनुपर्ने कारणले रोजगारको लागि विदेश नजाने निर्णय ।
  4. खाँटी शिक्षालाई अँगालिराख्‍ने निर्णय ।
  5. सांसारिक फिल्ममा अभिनय नगर्ने, आदि ।

मुक्ति पाएर बप्‍तिस्मा लिइसकेपछि म निम्‍न शिक्षा तालीममा परमेश्वरको अनुग्रहले सहभागी हुन पाइरहेको छु:

  1. “२ तिमोथी २:२” अनलाइन क्लास
  2. “हल्लाउन नसकिने विश्वास” को अनलाइन क्लास
  3. “विवाह र घर” को अनलाइन क्लास
  4. नारायणगढ पालुङ सेवकाइको मिटिङ प्रार्थना सभा

मेरो जीवनमा घटेका यी सबै घट्नाक्रमहरूका लागि र परमेश्वरले आफ्नो पुत्र येशू ख्रीष्टमा मलाई दिनुभएको नयाँ जीवनको लागि र त्यसको साथमा दिनुभएका सबै आशिषहरूका लागि म मेरा परमेश्वर र मुक्तिदातालाई हृदयदेखि नै धन्यवाद चढाउँदछु ।

समाप्‍त

 

Share on google
Share on facebook
Share on whatsapp
Share on twitter
Share on email
Share on skype
Print Friendly, PDF & Email