बप्तिस्मा के हो?

बप्तिस्मा के हो?
डेविड क्लाउड
पद कण्ठ: मत्ती २८:१८-१९; प्रेरित २:४१; ८:३६-३७; रोमी ६:३-४; १ कोरिन्थी १:१७
यस पाठमा हामी बप्तिस्मा बारेमा ६ ओटा महत्त्वपूर्ण प्रश्नहरूको जवाफ दिनेछौं।
बप्तिस्माको माने के हो?
- विश्वास गरेपछि आज्ञापालनको पहिलो कदम बप्तिस्मा हो (मत्ती २८:१९-२०)। येशूले बप्तिस्मा आज्ञास्वरूप दिनुभयो, त्यसैले विश्वासीले आज्ञापालनको एउटा कदमस्वरूप त्यसको अधीनतामा आफूलाई सुम्पन्छ।
- बप्तिस्मा सुसमाचारको अर्थात् ख्रीष्टको मृत्यु, गडाइ र बौरिउठाइको चित्र हो (१ कोरिन्थी १५:३-४)।
- बप्तिस्माले विश्वासी ख्रीष्टसित सम्मिलीकरण गरिएको कुरालाई चित्रण गर्दछ। बप्तिस्मा विश्वासी ख्रीष्टसित मरेको र ख्रीष्टमा नयाँ जीवनमा ऊ बौरिउठेको कुराको सङ्केत हो। हेर्नू: रोमी ६:३-४।
- बप्तिस्मा संसारको सामु दिइने सार्वजनिक गवाही हो जसअनुसार मैले ख्रीष्टमा विश्वास गरेको छु र म ख्रीष्टमा एउटा नयाँ जीवन जिउने अठोट गरेको छु भन्ने कुरा दर्शाइन्छ। म ख्रीष्टको चेला बनेको छु भन्ने कुराको घोषणा हो यो। नयाँ नियममा प्रत्येक बप्तिस्मा अरूले देख्न सकिने घटना थियो।
के बप्तिस्माले कसैलाई ख्रीष्टियन बनाउँछ?
बप्तिस्माले मान्छेलाई ख्रीष्टियन बनाउँछ भन्ने धारणा राख्ने मानिसहरू थुप्रै छन्। रोमन क्याथोलिकहरू यही विश्वास गर्छन्। ग्रीक अर्थडक्सहरूले यही विश्वास गर्छन्। चर्च अफ क्राइस्टले यही विश्वास गर्दछ। हिन्दुहरू, बुद्ध धर्मावलम्बीहरू र मुसलमानहरूले प्रायः बप्तिस्माले एकजनालाई ख्रीष्टियन बनाउँछ भनेर नै विश्वास गर्छन्। तर बप्तिस्माले ख्रीष्टियन बनाउँदैन। येशू ख्रीष्टमा राखिएको व्यक्तिगत विश्वासले एकजनालाई ख्रीष्टियन बनाउँदछ। सकली इसाईमत कुनै धर्म होइन; यो येशूसितको एउटा व्यक्तिगत सम्बन्ध हो। बप्तिस्मा भनेको उसको विश्वासको चित्र र गवाही मात्र हो। पानीले हामीलाई बचाउँदैन। असल कामहरूले हामीलाई बचाउँदैन। रीतिविधिहरूले हामीलाई बचाउँदैन। यी कुराहरू विश्वासपश्चात् आउँछन्, तर हामीलाई बचाउने कुरा भनेको ख्रीष्टमा राखिएको व्यक्तिगत विश्वास हो। मुक्ति परमेश्वरको अनुग्रहको सित्तैंको वरदान हो (एफेसी २:८-९), तर यदि मैले त्यसमा आफ्नो एउटै मात्र पनि काम थप्न सक्ने भएको भए मुक्ति सित्तैंको वरदान हुन छाड्नेथ्यो।
त्यसो भए मर्कूस १६:१५-१६ र प्रेरित २:३८ को माने के हो?
चर्च अफ क्राइस्ट र कुनै-कुनै अन्य झूटा मण्डलीहरू मुक्ति पाउन बप्तिस्मा अपरिहार्य भएको दाबी गर्छन्। तिनीहरूले प्रमाणस्वरूप अघि सार्ने गरेका मुख्य पदहरू मर्कूस १६:१५-१६ र प्रेरित २:३८ हुन्।
मर्कूस १६:१५-१६ लाई विचार गर्नुहोस्। यस खण्डअनुसार बप्तिस्मा, विश्वास गर्ने कार्यसित सम्बन्धित कुरा त हो तर त्यो मुक्तिसँग भने असम्बन्धित कुरा हो। कोही पनि पापी व्यक्ति बप्तिस्मा नलिएकोले दोषी ठहरिँदैन तर विश्वास नगरेकोले दोषी ठहरिन्छ। शब्दहरू यहाँ ज्यादै निश्चित रूपले रहेका छन् र ती महत्त्वपूर्ण छन्। बप्तिस्मा चाहिँ निजले साँच्चै विश्वास गरेको छ भन्ने कुराको सङ्केत हो। येशूमा विश्वास गरेको दाबी गर्ने तर बप्तिस्मा लिन इन्कार गर्नेहरू साँचो विश्वासीहरू होइनन्। उहाँलाई प्रेम गर्नेहरूले उहाँको आज्ञापालन गर्दछन् भनेर येशूले बताउनुभएको छ (यूहन्ना १४:२३)।
प्रेरित २:३८ लाई विचार गर्नुहोस्। एक विश्वासीले आफ्ना पापहरूको क्षमा पाउन भनी बप्तिस्मा लिँदैन तर आफ्ना पापहरूको क्षमा भइसकेकाले उसले बप्तिस्मा लिन्छ। “पापहरूका क्षमाका निम्ति” भन्ने वाक्यांशको माने कि त “पापहरू क्षमा पाउनका लागि” भन्ने हुन सक्छ, कि त “पापहरू क्षमा भएकाले” भन्ने हुन सक्छ। यस्तै वाक्यांश पछिल्लो अर्थमा लूका ५:१३-१४ मा प्रयोग भएको छ। “आफ्नो शुद्धिका निम्ति” आफूलाई पूजाहारीकहाँ देखाऊ भनेर कोरीलाई बताइयो किनकि ऊ ख्रीष्टद्वारा शुद्ध भइसकेको थियो।
पवित्र शास्त्रको एउटा खण्ड अर्कोसँग तुलना गरेर मर्कूस १६:१५-१६ र प्रेरित २:३८ को माने यही नै हो भनेर हामी जान्दछौं। हामीलाई बचाउनेचाहिँ ख्रीष्टको सुसमाचारले हो भनेर प्रेरित पावलले बताए (रोमी १:१६)। बप्तिस्मा नै सुसमाचार होइन भनेर उनले सिकाए (१ कोरिन्थी १:१७; १५:१-४)।
बप्तिस्मा दिने तरिका कुन हो?
हामीले यहाँ बप्तिस्मा दिने तरिकाको धरि चर्चा गर्न आवश्यक पर्नु दुःखकै कुरा हो किनकि यसबारेमा बाइबलले यति स्पष्ट गरी बताउँछ तरैपनि यसलाई चर्चा गरिनैपर्छ किनभने ख्रीष्टियनको नाउँ लिने धेरैजसोले आफ्नो अभ्यासमा छिट्का दिएर र खन्याएर बप्तिस्मा दिन्छन्। तर बाइबलीय बप्तिस्मा चोपलेर हो अथवा पानीमा “दफन” गरेर। यसका पाँचओटा प्रमाणहरू यस प्रकार छन्:
- शब्दको अर्थ नै यही हो। बप्तिस्मा भन्ने शब्दको माने डुबाउनु वा चोपल्नु भन्ने हुन्छ।
- येशूको बप्तिस्मा यसरी नै भएको थियो। उहाँ “पानीबाट माथि निस्कनासाथ” भनेर लेखिएको छ (मर्कूस १:१०)।
- सुरुका ख्रीष्टियनहरूले हामीलाई यही नमुना छोडेका छन्। प्रेरित ८:३८-३९ मा प्रचार गर्ने र बप्तिस्मा लिने “उनीहरू दुवै पानीभित्र पसे” र “उनीहरू पानीबाट बाहिर निस्के”। यसको एउटै कारण थियो चोपलेर बप्तिस्मा दिने चलन। नत्र भने प्रचारकले अञ्जुलीमा अलिकति पानी लिएर प्रयोग गरे पुग्नेथ्यो, पूरै भिज्नु आवश्यक पर्ने थिएन।
- बप्तिस्माको बाइबलीय अर्थसँग मेल खाने एउटै मात्र तरिका यही नै हो। बप्तिस्मा भनेको ख्रीष्टसित गाडिएको र बौरिउठेको चित्रण हो, र यो प्रतीकसँग मेल खाने तरिका चोपलेर दिएको बप्तिस्मा मात्र हो। छिट्काउ दिने वा खन्याउने कार्यले यसको चित्रण दिँदैन। हेर्नू: रोमी ६:४।
- शताब्दियौंसम्म मण्डलीहरूमा बप्तिस्मा दिइने एउटै मात्र तरिका चोपलेर दिइने बप्तिस्मा थियो। थुप्रै प्राचीन ब्याप्टिस्ट्री (बप्तिस्मा दिनलाई बनाइएको पोखरी) हरूले यसको गवाही दिन्छन्। जस्तै, रोमको सबैभन्दा प्राचीन ब्याप्टिस्ट्री एउटा ठूलो पोखरीको रूपमा बनाइएको छ जुनचाहिँ चोपल्नका लागि प्रयोग हुन्थ्यो भन्ने कुरा स्पष्ट छ। यस ब्याप्टिस्ट्रीमा म आफैं पनि उभिएको छु र त्यो मेरो कम्मरसम्मै आउँछ। मैले एफेससको एउटा चर्चघरमा देखेको प्राचीन ब्याप्टिस्ट्री पनि यस्तै बनोटको छ।
बप्तिस्मा दिने अधिकार कसलाई छ?
नयाँ नियम मण्डलीलाई बप्तिस्मा दिने अधिकार छ। यो नै यस युगका लागि प्रभुको चुनिएको संस्था हो, र यो परमेश्वरको घर हो, सत्यको खाँबो र जग हो (१ तिमोथी ३:१५)। प्रेरितको पुस्तकमा हरेक बप्तिस्मा प्रचारकद्वारा गरिएको थियो।
बप्तिस्मापछि के आउँछ?
बप्तिस्मापछि आउने कुरा ख्रीष्टियन सेवा र पवित्र जीवन हो (प्रेरित २:४१-४२)। बप्तिस्मा लिने व्यक्तिले आफू पुरानो जीवनको लेखि मेरको छु र अब उसले ख्रीष्टलाई आफ्नो जीवनको प्रभुको रूपमा पछ््याउन थालेको छु भन्ने कुराको गवाही दिइरहेको हुन्छ। यो ज्यादै गम्भीर र गहन अभ्यास हो। यरुशलेमको पहिलो मण्डलीका ख्रीष्टियनहरू “प्रेरितहरूका शिक्षामा, सङ्गतिमा, रोटी-भँचाइमा र प्रार्थनाहरूमा दृढतापूर्वक लागिरहे”।
बप्तिस्मा सम्बन्धी पुनरावलोकन प्रश्नहरू
- बप्तिस्मा, विश्वास गरेपछि __________को ________ कदम हो।
- बप्तिस्मा, एकजना व्यक्तिले साँच्चै विश्वास गरेको छ भन्ने कुराको ________ हो।
- बप्तिस्मा, सुसमाचारको _________ हो।
- बप्तिस्माले विश्वासी ख्रीष्टिसित _____________ भएको कुराको चित्रण दिन्छ।
- बप्तिस्मा, संसारको सामु एउटा ___________ हो।
- के बप्तिस्माले व्यक्तिलाई ख्रीष्टियन बनाउँछ?
- विश्वासीले आफ्ना पापहरूको ________________ बप्तिस्मा लिँदैन; उसले बप्तिस्मा लिन्छ किनभने उसले आफ्ना पापहरूको _______________।
- कुन पदमा पावलले उसलाई परमेश्वरले बप्तिस्मा दिन होइन तर सुसमाचार प्रचार गर्नलाई बोलाउनुभयो भनेका छन्?
१ कोरिन्थी १५:१-४ मा पावलले सुसमाचारलाई सारांशमा बताउँदा उनले त्यहाँ बप्तिस्माको बारेमा ________ कुरा भनेनन्।
- “बप्तिस्मा” शब्दको अर्थ ___________ हो।
- येशूलाई डुबुल्की गरी बप्तिस्मा दिइएको थियो भनी हामी कसरी जान्दछौं?
- कुन पुस्तकको कुन अध्यायमा फिलिपले बप्तिस्मा दिँदा पानीभित्र पसेर र निस्के भनिएको छ?
- कुन पुस्तकको कुन अध्यायमा बप्तिस्मालाई दफनसित तुलना गरिएको छ?
- शुरुशुरुमा सबै मण्डलीहरूले बप्तिस्मा कुन तरिकाले दिन्थे?
- शुरुका ख्रीष्टियनहरूले बप्तिस्मा लिएपछि के गरे?
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।