विश्वासीको अनन्त सुरक्षा (१)

विश्वासीको अनन्त सुरक्षा (१)
डेविड क्लाउड
पद कण्ठ: यूहन्ना १०:२७-२८; १ कोरिन्थी १:८; एफेसी १:३,७; फिलिप्पी १:६; १ यूहन्ना ५:११-१२; हिब्रू ६:१९; ९:१२; १०:१४
ख्रीष्टमा विश्वास राखेको व्यक्तिको ओहोदालाई बाइबलमा “अनन्त सुरक्षा” भन्ने शब्दावलीले बयान गरेको नपाइए तापनि यसका लागि “अनन्त जीवन” (यूहन्ना ३:१६) र “अनन्त सान्त्वना” (२ थेस्सलोनिकी २:१६) जस्ता शब्दावली भने प्रयोग भएका छन्। परमेश्वरको सन्तान ख्रीष्टमा अनन्तसम्म सुरक्षित छ भनेर बाइबलले सिकाउँछ।
अनन्त सुरक्षाको शिक्षाले ख्रीष्टियन जीवनलाई स्थिरता प्रदान गर्ने ज्यादै महत्त्वपूर्ण भूमिका खेल्दछ।
हामी देख्नेछौं, अनन्त सुरक्षाको प्रतिज्ञा केवल नयाँ गरी जन्मेकाहरूलाई मात्र दिइएको छ। कपटीहरू, नामधारीहरू वा ख्रीष्टका कुराहरूमा केवल सतही दिलचस्पी राख्नेहरूलाई यो प्रतिज्ञा दिइएको छैन। आफूले एक समय स्वीकारेको विश्वासलाई सधैंका लागि परित्याग गर्नेहरूले कहिल्यै नयाँ जन्म पाएका थिएनन् भनेर हामीले बुझ्नु आवश्यक छ।
१) येशूले हाम्रो निम्ति सम्पन्न गर्नुभएको महान् कार्यले गर्दा विश्वासीहरू सुरक्षित छन्
येशू विश्वासीका पापका लागि मर्नुभयो – सबै पापका लागि। उहाँको रगत नै परमेश्वरको व्यवस्थाले माग गरेको दण्डको पूरा सट्टाभर्ना थियो; त्यो शतप्रतिशत पर्याप्त थियो। विश्वासीले आफ्नो मुक्ति गुमाउन सक्छ भनेर विश्वास गर्नेहरूले येशूले गरिदिनुभएको महान् कार्यलाई बुझ्दैनन्। उनीहरूले सुसमाचारलाई सही ढङ्गले बुझ्दैनन्।
हेर्नू: एफेसी १:७ – “छुटकारा” को माने दाम तिरी किनिएको भन्ने हुन्छ। येशूले हामीलाई पापको दास-बजारबाट किनेर पूर्णरूपमा छुटकारा दिनुभयो।
हेर्नू: रोमी ३:२४-२५ – “धर्मी ठहराइनु” को माने परमेश्वरद्वारा धर्मी भनेर घोषणा गरिनु हो। विश्वासी आफैमा त धर्मी छैन, तर ऊ स्वयम् प्रधानन्यायधीशद्वारा नै धर्मी घोषणा गरिएको छ। यस्तो घोषणाको आधारचाहिँ यो हो कि परमेश्वरका सामु रहेको विश्वासीको पापलाई हटाउन येशूले पूरै सट्टाभर्ना तिरिदिनुभयो।
“प्रायश्चित” भन्ने शब्दले यस सट्टाभर्नालाई जनाउँदछ। यसको माने हो कसैलाई तिर्नुपर्ने कुरा पूरै मात्रामा तिरिदिएर ऋण चुक्ता गर्नु। येशूले गर्नुभएको महान् कार्य यही थियो। पापीले परमेश्वरको व्यवस्था भङ्ग गरेको छ र त्यसको उचित सट्टाभर्ना तिर्न ऊ असमर्थ छ। पापीको सट्टामा येशूले उक्त ऋण तिरिदिनुभयो। तिर्नै नसक्ने ऋण हामीलाई परेको थियो; आफूलाई नलागेको ऋण येशू ख्रीष्टले तिरिदिनुभयो।
२) परमेश्वरका प्रतिज्ञाहरूको कारण विश्वासीहरू सुरक्षित छन्
नयाँ नियममा मुक्तिलाई विभिन्न किसिमले बयान गरिएको छ जसमध्ये केहीको चर्चा यहाँ गरिनेछ। यी प्रतिज्ञाहरू अपरिवर्तनीय छन् किनकि यी त झूट बोल्नै नसक्ने परमेश्वरका प्रतिज्ञा हुन् जसका घोषणाहरू अदलबदल हुन सक्दैनन्। यद्यपि नयाँ नियममा त्यस्ता एकादुई खण्डहरूले विश्वासीले मुक्ति गुमाउन सक्छ भनेर सिकाएको जस्तै सतहमा देखा परे तापनि, त्यहाँ सैयौं खण्डहरूले भने विश्वासीले मुक्ति गुमाउँदैन भनेर प्रस्टै सिकाउँछन्!
“नष्ट नहोस् तर उसले अनन्त जीवन पाओस्” (यूहन्ना ३:१६) — यदि परमेश्वरले विश्वासीलाई अनन्त जीवन दिनुहुन्छ भने र ऊ कहिल्यै नष्ट हुँदैन भनेर प्रतिज्ञा गर्नुहुन्छ भने, उसले आफ्नो मुक्ति कसरी “गुमाउन” सक्छ र? ऊ नष्ट हुँदैन भनेर परमेश्वरले भन्नुभएको छ भने विश्वासी कसरी नष्ट हुन्छ? त्यसो हुन गयो भने त परमेश्वरको प्रतिज्ञा धूलोमा मिल्न जानेथ्यो।
परमेश्वरले “तिमीहरूलाई अन्तसम्म स्थिर पार्नुहुनेछ” (१ कोरिन्थी १:८) — यस्ता-यस्ता प्रतिज्ञाहरूले विश्वासीको मुक्तिलाई सुनिश्चित गर्दछन्।
“सबै आत्मिक आशिषहरूले…आशिषित” (एफेसी १:३) — यदि एक विश्वासी ख्रीष्टमा सबै आत्मिक आशिषहरूले आशिषित पारिसकिएको छ भने, कसरी ऊ यसबाट बञ्चित हुन सक्छ र कसरी उसले आफ्नो मुक्ति गुमाउने सक्छ र? यी आशिषहरू “ख्रीष्टमा” छन् भन्ने कुरालाई ध्यान दिनुहोस्। विश्वासीको मुक्ति ख्रीष्टभित्र सञ्चय गरिएका छन् अनि यो मुक्ति विश्वासीको जीवन वा कामहरूमा कुनै हिसाबले पनि आधारित छैन।
“पवित्र आत्माले छाप मारियौ” (एफेसी १:१२-१४) — पवित्र आत्माले छाप मारिनु चाहिँ उहाँले अनन्त छुटकारा दिनुभएको छ भन्ने परमेश्वरको प्रतिज्ञा पाउनु हो।
पवित्र आत्माले छाप मारिने कार्य स्वामित्वसित सम्बन्धित छ। जब कसैले येशूमा विश्वास गर्दछ ऊ परमेश्वरको निजी सम्पत्ति बन्न पुग्छ। यस स्वामित्वको छाप चाहिँ पवित्र आत्मा हुनुहुन्छ। योचाहिँ एउटा राजाले कुनै चीजमा आफ्नो छाप लगाएजस्तै हो।
पवित्र आत्माले छाप मारिनु एउटा प्रतिज्ञा प्राप्त गर्नु हो। योचाहिँ विश्वासीको अनन्त मुक्तिको बैना वा ग्यारेन्टी हो। योचाहिँ एकजना मान्छेले कुनै जग्गाको निम्ति बैना प्राप्त गरेजस्तै हो। बैना बाँकी रकमको प्रतिज्ञा हो। यो प्लेनको टिकेट जस्तै हो। कसैले तपाईंलाई कुनै ठाउँमा जान प्लेनको टिकट दिन्छ भने तपाईं त्यो टिकट लिएर त्यो ठाउँमा पुग्न सक्नुहुन्छ भनेर तपाईंलाई निश्चय हुन्छ। टिकट त्यसको ग्यारेन्टी हो। त्यसरी नै हाम्रो स्वर्ग-यात्राको लागि येशूले तिरिदिनुभयो र यस यात्राको लागि पवित्र आत्मा नै उहाँको प्रतिज्ञा हुनुहुन्छ।
“स्वर्गीय स्थानहरूमा बसाल्नुभयो” (एफेसी २:५-६) — स्वर्ग जानलाई एउटा विश्वासी मृत्युलाई पर्खनुपर्दैन; परमेश्वरको नजरमा ऊ ख्रीष्टसँग स्वर्गमा बसालिसकिएको छ; यो उसको नयाँ ओहोदा हो। विश्वासीको मुक्ति पूरै ख्रीष्टभित्र सञ्चय गरिएको छ। ऊ उहाँसँग मरिसकेको छ, उहाँसँग बौरेर उठिसकेको छ र उहाँसँग जिउँदछ।
“स्वर्गको लागि योग्य” (कलस्सी १:१२-१४) — विश्वासीलाई स्वर्ग लानको लागि ख्रीष्टले सबै आवश्यक काम गरिसक्नुभयो; यस सम्बन्धमा विश्वासीले गर्नुपर्ने कुनै काम बाँकी छैन; हाम्रा कामहरूले हामीलाई स्वर्गका लागि योग्य बनाउने होइन वा ख्रीष्ट जे गरिसक्नुभयो र प्रबन्ध गर्नुभएको छ त्यसमा एक विन्दु वा एक मात्रा पनि थप्न सक्दैन।
“बलियो सान्त्वना” (हिब्रू ६:१७-१९) — मुक्तिलाई बयान गर्न यस खण्डमा प्रयोग गरिएका शब्दावली उदेकलाग्दा छन्। “कहिल्यै बदलिन नसक्ने कुराहरू” को माने प्रस्ट छ: अपरिवर्तनीय; जब परमेश्वरले घोषणा गर्नुहुन्छ वा प्रतिज्ञा गर्नुहुन्छ त्यो पक्का हुन्छ। “सान्त्वना” को माने हौसला वा उत्साह भन्ने हुन्छ; विश्वासीको सान्त्वना कमजोर छैन, अनिश्चित छैन; त्यो “बलियो” छ। “आशा” भन्नाले कुनै संसारमा जस्तो कुनै अनिश्चित कुरा भन्ने बुझिँदैन। यसको मतलब “म मुक्ति पाउँछु कि भनी आशा गर्दैछु” होइन कि बरु “मैले मुक्ति पाउनेछु भनी म निश्चित छु” भन्ने हो। विश्वासीको आशालाई “प्राणको लङ्गर जो सुरक्षित र दृढ छ” भनेर बयान गरिएको छ। यी सब साँचो हुन सके किनभने ख्रीष्टले पापको पूरै ऋण तिरिदिनुभयो।
निष्कर्ष
ख्रीष्टमा आफू अनन्तसम्म सुरक्षित छु भन्ने ज्ञान विश्वासीको “टोप” हो जसले उसलाई शैतानबाटका शङ्काका अग्निमय वाणहरूदेखि सुरक्षा दिन्छ (१ थेस्सलोनिकी ५:८)।
यो अध्ययन माला वे अफ लाइफ लिटरेचरद्वारा प्रकाशित पुस्तक One Year Discipleship Course – 52 Lessons in Christian Living (Copyright 2010) बाट नेपालीमा अनुवाद गरिएको हो। यी पाठहरूको सँगालो “एक वर्षीय चेलापन: ख्रीष्टिय जीवन सम्बन्धी अत्यावश्यक पाठहरू” शीर्षक गरेको किताबमा प्रकाशन भएको छ। प्रकाशक: जीवनमार्ग, कूल पृष्ठ सङ्ख्या: २२१ (A4), सम्पर्क: 9855071310; मूल्य: नेरू ३०० मात्र।